रुवान्डा नरसंहारको अन्तरकथा

नेपालमा पछिल्लो समय देखिएका जातीय अतिवाद, धार्मिक सहिष्णुतामाथिका प्रहार र साम्प्रदायिक द्वन्द्वका प्रयासहरूले मुलुकलाई गम्भीर दुर्घटनातर्फ धकेलिरहेका छन्। यस असहज परिस्थितिमाथि बाह्य शक्तिहरूको स्वार्थपूर्ण भूराजनीतिक चलखेल र रणनीतिक हस्तक्षेपले आगोमा घ्यू थप्ने काम गरिरहेको छ। सीमित राजनीतिक स्वार्थ र अन्धभक्ति एवं अन्धराष्ट्रवादी सोचका आडमा छेडिने यस्ता द्वन्द्वहरूले समाजमा अविश्वासको बीउ रोप्दै अन्ततः डरलाग्दो मानवीय र सामाजिक विप्लव निम्त्याउने गर्छन्। यसैको ज्वलन्त उदाहरण हो, सन् १९९४ को रुवान्डा नरसंहार, जहाँ आन्तरिक द्वन्द्वलाई बाह्य शक्तिहरूले आफ्नो भूराजनीतिक क्रीडास्थल बनाउँदा दश लाखभन्दा बढी मानिसले ज्यान गुमाउनु परेको थियो। इतिहासको यो कहालीलाग्दो घटनाले कमजोर आन्तरिक सुशासन र साम्प्रदायिक अतिवादमा विदेशी भूराजनीतिक चलखेल मिसिन पुग्दा राज्य भयंकर वितण्डाको ज्वालामा जल्न बाध्य हुने कुरा प्रष्टसँग देखाएको छ ।

विविधतायुक्त जातजाति, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण नेपालजस्तो भूराजनीतिक रूपले संवेदनशील मुलुकका लागि रुवान्डाली त्रासदीबाट सिक्नुपर्ने पाठ अत्यन्तै गम्भीर र दूरगामी छ। नेपालको सार्वभौमिकता, संविधान र जातीय–धार्मिक सहअस्तित्वको संस्कृतिलाई कमजोर पार्दै बाह्य शक्तिहरूबाट हुने रणनीतिक क्रीडा र धार्मिक-जातीय द्वेषलाई समयमै नियन्त्रण गर्न सकिएन भने मुलुकको सामाजिक बनोटलाई त तहसनहस पार्ने नै छ, त्यसले मुलुककै अस्तित्वमाथि समेत भयानक खतरा पैदा गर्ने पक्का छ । तसर्थ, विविधतालाई कमजोरी होइन, राष्ट्रिय सामर्थ्यका रूपमा आत्मसात् गर्दै राज्य, राजनीतिक दल तथा नागरिक समाजले कानुनको शासन, सामाजिक न्याय र सबै समुदायबीचको समान अधिकार सुनिश्चित गर्न सक्रियता देखाउनु जरुरी छ । बाह्य भूराजनीतिक डिजाइन र आन्तरिक प्रतिशोधको जालोलाई चिर्दै धार्मिक, साम्प्रदायिक एवं जातीय द्वन्द्वलाई चिर्न बेलैमा सशक्त हस्तक्षेप बढाउन सकिएन भने रुवान्डाको जस्तो दुःखद् नियति भोग्न हामीलाई पनि बेर लाग्ने छैन।

दायित्वबोध

०००

हाम्रो आजको विषय रुवान्डा हो। यो एक सानो देश हो– यति सानो कि अफ्रिकाका कतिपय नक्साहरूमा यो केवल एउटा थोप्लाले मात्र जनाइएको हुन्छ। महाद्वीपको ठीक मध्यभागमा रहेको यो थोप्लाले रुवान्डालाई सङ्केत गर्छ भन्ने कुरा थाहा पाउन तपाईंले नक्सासाथ दिइएका स्पष्टीकरण नोटहरू पढ्नै पर्छ। यो एक पहाडी देश हो। अफ्रिकाको विशेषता सामान्यतया समथर मैदान र पठारहरू हुन्, जबकि रुवान्डा भनेको डाँडाकाँडा र पहाडै पहाड भएको देश हो। यहाँका पहाडहरू दुई हजार, तीन हजार मिटर वा त्योभन्दा पनि माथिसम्म उठेका छन्। त्यसैले रुवान्डालाई प्रायः 'अफ्रिकाको तिब्बत' भनेर चिनिन्छ। यद्यपि यो उपनाम उसले पहाडका कारण मात्र नभई आफ्नो विशिष्टता, भिन्नता र पृथकताका कारण पनि पाएको हो। यो केवल भौगोलिक रूपमा मात्र नभई सामाजिक रूपमा पनि असाधारण छ। सामान्य नियमअनुसार अफ्रिकी राष्ट्रका जनसङ्ख्याहरू बहुजातीय हुन्छन् (कङ्गोमा ३०० जनजाति बसोबास गर्छन्, नाइजेरियामा २५०, र अन्य देशमा पनि त्यसरी नै), जबकि रुवान्डामा केवल एउटा समूह 'वान्यारुवान्डा' (Banyarwanda) बस्छन्। यो एउटै राष्ट्र तीन वटा जातमा विभाजित छ: पशुपालक तुत्सी (जनसङ्ख्याको १४ प्रतिशत), किसान हुतु (८५ प्रतिशत), र मजदुर तथा सेवक त्वा (१ प्रतिशत)। यो जात व्यवस्था (जसले भारतको जात व्यवस्थासँग केही समानता राख्छ) शताब्दीऔँ पहिले कायम भएको हो।  यस विषयमा कुनै लिखित स्रोत उपलब्ध नभएकाले यो बाह्रौँ शताब्दीमा सुरु भएको थियो वा पन्ध्रौँ शताब्दीसम्म आइपुग्दा भएको थियो भन्नेबारे निरन्तर विवाद जारी छ। यति भन्नु पर्याप्त हुन्छ कि यहाँ सयौँ वर्षदेखि एउटा राज्य अस्तित्वमा थियो, जसलाई ‘म्वामी’ (mwami) भनिने तुत्सी राजाले शासन गर्दथे।

अफ्रिकालाई विभाजन गर्ने बर्लिन सम्मेलनमा औपनिवेशिक शक्तिहरूले रुवान्डा जर्मनहरूलाई सुम्पिएका थिए । त्यसबारेमा राजासमेत कुनै पनि रुवान्डालीलाई पत्तोसम्म थिएन। कैयौँ वर्षसम्म वान्यारुवान्डाहरूलाई आफू उपनिवेश बनेको थाहै नपाई उनीहरू उपनिवेशित प्रजाका रूपमा रहे।

यो पहाडी राज्य एउटा बन्द राज्य थियो, जसले कसैसँग कुनै सम्बन्ध राख्दैनथ्यो। वान्यारुवान्डाहरूले कहिल्यै कुनै अतिक्रमण सुरु गरेनन्, र एक समयका जापानीहरू जस्तै, उनीहरूले विदेशीहरूलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न दिँदैनथे (यसै कारणले गर्दा, उदाहरणका लागि, उनीहरूले अन्य अफ्रिकी जनताको अभिशाप बनेको दास व्यापारको कहिल्यै सामना गर्नु परेन)। सन् १८९४ मा रुवान्डा प्रवेश गर्ने पहिलो युरोपेली जर्मन यात्री तथा सैन्य अधिकृत काउन्ट जी. ए. भोन गोत्जेन थिए। ध्यानयोग्य कुरा के छ भने, यसको आठ वर्षअघि अफ्रिकालाई विभाजन गर्ने बर्लिन सम्मेलनमा औपनिवेशिक शक्तिहरूले रुवान्डा जर्मनहरूलाई सुम्पिएका थिए । त्यसबारेमा राजासमेत कुनै पनि रुवान्डालीलाई पत्तोसम्म थिएन। कैयौँ वर्षसम्म वान्यारुवान्डाहरूलाई आफू उपनिवेश बनेको थाहै नपाई उनीहरू उपनिवेशित प्रजाका रूपमा रहे। पछि पनि जर्मनहरूले यस उपनिवेशमा खासै चासो दिएनन्, र पहिलो विश्वयुद्धपछि उनीहरूले यसलाई बेल्जियमसँग गुमाए। बेल्जियमका शासकहरू पनि यहाँ उति सक्रिय थिएनन्। रुवान्डा समुद्री तटबाट १,५०० किलोमिटरभन्दा बढी टाढा थियो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यहाँ कहिल्यै कुनै महत्त्वपूर्ण कच्चा पदार्थ वा खनिज नभेटिएकाले यसको आर्थिक मूल्य निकै कम थियो। यसरी, शताब्दीऔँ पहिले स्वरूप लिएको वान्यारुवान्डाको सामाजिक व्यवस्था बीसौँ शताब्दीको उत्तरार्धसम्म आफ्नो पहाडी किल्लाभित्र अपरिवर्तित रूपमा टिकिरहन सफल भयो।

यो व्यवस्थाका कतिपय विशेषताहरू युरोपेली सामन्तवादसँग मिल्दाजुल्दा थिए। देशमा एक राजाको शासन थियो, जो सम्भ्रान्त वर्ग र भारदारहरूको समूहबाट घेरिएका हुन्थे। यी सबै मिलेर शासक जाति ‘तुत्सी’को निर्माण गरेका थिए। उनीहरूको सबैभन्दा ठूलो र वास्तवमा एक मात्र सम्पत्ति लामा, सुन्दर र तरबारजस्ता सिङहरू भएका जेबु गाईहरू हुन्थे। यी गाईहरूलाई कहिल्यै मारिँदैनथ्यो, तिनीहरू पवित्र र अस्पृश्य  मानिन्थे। तुत्सीहरू तिनीहरूको दूध र रगत खाएर जीवन चलाउँथे (भालाको चुच्चोले गर्धनको धमनी छेडेर निकालिएको रगतलाई गाईको गहुँतले धोएका भाँडाहरूमा सङ्कलन गरिन्थ्यो)। यी सबै काम पुरुषहरूद्वारा गरिन्थ्यो, किनभने महिलाहरूलाई गाईवस्तुसँग सम्पर्क राख्न मनाही थियो।

गाई नै सबै कुराको मापदण्ड थियो: सम्पत्ति, प्रतिष्ठा र शक्ति। जससँग जति धेरै गाईवस्तु हुन्थे, ऊ त्यति नै धनी हुन्थ्यो।  मानिस जति धनी हुन्थ्यो, उसँग त्यति नै धेरै शक्ति हुन्थ्यो। राजासँग सबैभन्दा धेरै गाईवस्तु हुन्थे, र उनका गोठहरू विशेष सुरक्षामा राखिन्थे। वार्षिक राष्ट्रिय पर्वका अवसरमा आयोजना हुने उत्सवको मुख्य आकर्षण गाईवस्तुको परेड हुन्थ्यो। राजाका अगाडिबाट १० लाख गाईवस्तुहरू गुज्रन्थे। यो क्रम घण्टौँसम्म चलिरहन्थ्यो। ती जनावरहरूले धूलोको यस्तो बादल उढाउँथे, जुन लामो समयसम्म राज्यमाथि मडारिएर रहन्थ्यो। धूलोका ती बादलको आकारले राजतन्त्रको समृद्धिलाई दर्शाउँथ्यो, र यो समारोहको तुत्सी कविताहरूमा अनगिन्ती र भावुक ढङ्गले प्रशंसा गरिन्थ्यो।

गाई नै सबै कुराको मापदण्ड थियो: सम्पत्ति, प्रतिष्ठा र शक्ति। जससँग जति धेरै गाईवस्तु हुन्थे, ऊ त्यति नै धनी हुन्थ्यो।  मानिस जति धनी हुन्थ्यो, उसँग त्यति नै धेरै शक्ति हुन्थ्यो।

तुत्सी?’ मैले रुवान्डामा धेरै पटक सुनेँ। ‘तुत्सी आफ्नो घरको सँघारमा बस्छ र पहाडको भिरालोमा आफ्ना बथानहरू चरिरहेको हेर्छ। त्यो दृश्यले उसलाई गर्व र खुसीले ओतप्रोत तुल्याउँछ।’

तुत्सीहरू गोठाला वा घुमन्ते होइनन्; उनीहरू पशुपालक पनि होइनन्। उनीहरू त बथानका मालिक, शासक जात र सम्भ्रान्त वर्ग हुन्।

अर्कोतर्फ, हुतुहरू भने कृषकहरूको निकै ठूलो जनसङ्ख्या भएको र अधीनस्थ जातका थिए (भारतमा उनीहरूलाई वैश्य भनिन्छ)। तुत्सी र हुतुहरूबीचको सम्बन्ध पूर्ण रूपमा सामन्ती थियो– तुत्सी मालिक हुन्थे भने हुतु उनका रैती। हुतुहरू खेतीपाती गरेर जीविकोपार्जन गर्थे। उनीहरू सुरक्षाको बदलामा र गाईको प्रयोग गर्न पाएवापत आफ्नो उब्जनीको केही हिस्सा आफ्ना मालिकलाई बुझाउँथे (गाईवस्तुमा तुत्सीहरूको एकाधिकार थियो,  हुतुहरूले आफ्ना सामन्तहरूबाट केवल भाडामा मात्र गाई लिन सक्थे)। सबै कुरा सामन्ती व्यवस्था अनुसार नै चल्थ्यो, निर्भरता, रीतिरिवाज र शोषण।

क्रमिकरुपमा बीसौँ शताब्दीको मध्यतिर, यी दुई जातहरूबीच एउटा नाटकीय द्वन्द्व उत्पन्न हुन्छ। विवादको मुख्य विषय जग्गा-जमिन हो। रुवान्डा सानो, सीमित घेराभित्र बाँधिएको र घनावस्ती भएको देश हो। अफ्रिकामा प्रायः हुने गरेजस्तै, पशुपालन गरेर जीवन बिताउनेहरू र जमिन खनजोत गर्ने कृषकहरूबीच भीषण लडाइँ सुरु हुन्छ। तर, सामान्यतया अफ्रिकी महाद्वीपका भूभागहरू यति विशाल हुन्छन् कि एउटा पक्ष कुनै खाली ठाउँमा सर्न सक्छ र युद्धको आगो साम्य हुन्छ। रुवान्डामा भने यस्तो समाधान असम्भव छ– जाने ठाउँ कहीँ छैन, पछि हट्ने ठाउँ नै छैन। यसैबीच, तुत्सीहरूका गोठहरूमा गाईवस्तुको सङ्ख्या बढ्दै जान्छ र उनीहरूलाई अझ धेरै चरीचरनको आवश्यकता पर्छ। नयाँ चरीचरनहरू निर्माण गर्ने एउटै मात्र  उपाय हुन्छ: किसानहरूबाट जमिन खोस्नु, अर्थात् हुतुहरूलाई उनीहरूको भूभागबाट विस्थापित गर्नु। तर हुतुहरू पहिले नै उकुसमुकुसको अवस्थामा छन्। वर्षौँदेखि उनीहरूको जनसङ्ख्या तीव्र रूपमा बढिरहेको छ। स्थितिलाई अझ बिगार्ने कुरा के हो भने, उनीहरूले खेती गर्ने जमिन उब्जाउ थिएन र लगभग लगभग बाँझै थियोरुवाण्डाका पहाडहरू माटोको अत्यन्तै पातलो तहले मात्र ढाकिएका छन्। त्यो तह यति पातलो छ कि हरेक वर्ष वर्षायाम सुरु भएपछि मुसलधारे वर्षाले त्यसको ठूलो हिस्सा बगाएर लैजान्छ, जहाँ कुनै समय हुतुहरूले सिमलतरुल र मकैका साना खेतहरू लगाएका थिए त्यहाँ अहिले नाङ्गा चट्टानहरू टल्किरहेका देखिन्छन्।

अहिलेसम्म बेल्जियमका शासकहरूले तुत्सीहरूलाई हातमा लिएर र उनीहरूलाई प्रयोग गरेर रुवान्डामा शासन गरिरहेका थिए। तर तुत्सीहरू वान्यारुवान्डाका सबैभन्दा शिक्षित र महत्त्वाकांक्षी वर्ग थिए, र उनीहरू नै अहिले स्वतन्त्रताको माग गरिरहेका थिए।

यसरी, एकातिर शक्तिशाली र फैलिँदै गएका गाईवस्तुका बथानहरू– तुत्सीहरूको समृद्धि र शक्तिको प्रतीक  अनि अर्कोतिर पेलिएका, थुप्रिएका र लगातार विस्थापित भइरहेका हुतुहरू। ठाउँ छैन, जमिन छैन। कि कसैले यो ठाउँ छाडेर जानुपर्छ, कि त सकिनुपर्छ। सन् पचासको दशकमा रुवान्डाको स्थिति यस्तै हुन्छ, र यही बेला बेल्जियमका शासकहरू यस दृश्यमा प्रवेश गर्छन्। उनीहरू अचानक निकै सक्रिय हुन्छन्। अफ्रिका त्यतिबेला एउटा गम्भीर मोडमा उभिएको हुन्छ, त्यहाँ मुक्ति र उपनिवेशविरोधी आन्दोलनको तीव्र लहर चलिरहेको हुन्छ, र कदम चाल्न तथा  निर्णय लिन चौतर्फी दबाब हुन्छ। स्वतन्त्रता आन्दोलनले सबैभन्दा बढी अक्कबक्क बनाएका औपनिवेशिक शक्तिहरूमध्ये बेल्जियम पनि एक हुन्छ। त्यसैले, ब्रसेल्ससँग कुनै ठोस योजना हुँदैन, उसका अधिकारीहरूलाई साँच्चै के गर्ने भन्ने थाहै हुँदैन। यस्ता परिस्थितिहरूमा प्रायः हुने गरेजस्तै, उनीहरूको प्रतिक्रिया वास्तविक समाधान खोज्न ढिलाइ गर्नु र समय बिताउनु मात्र हुन्छ। अहिलेसम्म बेल्जियमका शासकहरूले तुत्सीहरूलाई हातमा लिएर र उनीहरूलाई प्रयोग गरेर रुवान्डामा शासन गरिरहेका थिए। तर तुत्सीहरू वान्यारुवान्डाका सबैभन्दा शिक्षित र महत्त्वाकांक्षी वर्ग थिए, र उनीहरू नै अहिले स्वतन्त्रताको माग गरिरहेका थिए। उनीहरू तुरुन्तै स्वतन्त्रता चाहन्थे जसका लागि बेल्जियमका शासकहरू बिल्कुलै तयार थिएनन्। त्यसैले ब्रसेल्सले अचानक आफ्नो रणनीति बदल्छ: यसले तुत्सीहरूको साथ छाड्छ र अझ बढी आज्ञाकारी तथा सीधा देखिएका हुतुहरूलाई समर्थन गर्न थाल्छ। यसले उनीहरूलाई तुत्सीहरूविरुद्ध भड्काउन थाल्छ। यो राजनीतिले द्रुत रूपमा फल दिन्छ। हौसिएका र प्रोत्साहित भएका हुतुहरूले हतियार उठाउँछन्। सन् १९५९ मा रुवान्डामा एउटा किसान विद्रोह भड्किन्छ।

तस्विर: https://www.aljazeera.com

सिङ्गो अफ्रिकामा केवल रुवान्डाले मात्र आफ्नो बास्तिलमाथिको धावा, राजाको गद्दीच्युत, र आफ्नै जिरोन्ड अनि त्रास/आतङ्कको दिन देख्यो। दाउ, कोदालो र भालाले सुसज्जित क्रुद्ध अनि आक्रोशित हुतु किसानहरूका समूह आफ्ना मालिक-शासक तुत्सीहरूका विरुद्ध ओर्लिए। एउटा भीषण नरसंहार सुरु भयो, जस्तो अफ्रिकाले लामो समयदेखि देखेको थिएन।

पूरा अफ्रिकाभरिमा केवल रुवान्डामा मात्र मुक्ति आन्दोलनले एउटा सामाजिक, सामन्तवादविरोधी क्रान्तिको रूप लियो। सिङ्गो अफ्रिकामा केवल रुवान्डाले मात्र आफ्नो बास्तिलमाथिको धावा, राजाको गद्दीच्युत, र आफ्नै जिरोन्ड अनि त्रास/आतङ्कको दिन देख्यो। दाउ, कोदालो र भालाले सुसज्जित क्रुद्ध अनि आक्रोशित हुतु किसानहरूका समूह आफ्ना मालिक-शासक तुत्सीहरूका विरुद्ध ओर्लिए। एउटा भीषण नरसंहार सुरु भयो, जस्तो अफ्रिकाले लामो समयदेखि देखेको थिएन। किसानहरूले आफ्ना मालिकहरूका घरबारमा आगो लगाइदिए, उनीहरूको घाँटी रेटे र टाउको फुटाए। रुवान्डा रगतको खोलामा बग्यो, आगोको ज्वालामा जल्यो। गाईवस्तुको व्यापक वध सुरु भयो किसानहरूले, प्रायः आफ्नो जीवनमा पहिलो पटक, आफूले चाहेजति मासु खान पाए। त्यस समयमा, देशको जनसङ्ख्या २६ लाख थियो, जसमा ३ लाख तुत्सीहरू थिए। अनुमान अनुसार दशौँ हजार तुत्सीहरूको हत्या गरियो, र त्यति नै सङ्ख्यामा छिमेकी राज्यहरू– कङ्गो, युगान्डा, टाङ्गानिका र बुरुन्डीतर्फ भागे। राजतन्त्र र सामन्तवादको अन्त्य भयो, र तुत्सी जातले आफ्नो वर्चस्व गुमायो। सत्ता अब हुतु किसानहरूको हातमा आयो। जब सन् १९६२ मा रुवान्डाले स्वतन्त्रता प्राप्त गर्‍यो, पहिलो सरकार बनाउनेहरू त्यही जातका सदस्यहरू थिए। त्यसको नेतृत्वमा एक युवा पत्रकार, ग्रेगोइर कायिबान्डा थिए। म त्यसबेला पहिलो पटक रुवान्डा जादैथिए। राजधानी किगालीको मेरो सम्झना एउटा सानो शहरको जस्तो छ। मैले बस्नका लागि कुनै होटल फेला पार्न सकिनँ। सायद त्यहाँ होटल नै थिएन। अन्ततः केही बेल्जियन ननहरूले मलाई आफ्नो सफासुग्घर सानो अस्पतालको प्रसूति वार्डमा सुत्न दिएर आश्रय दिए।

हुतु र तुत्सीहरू यस्तो क्रान्तिबाट मानौँ एउटा दुःस्वप्नबाट ब्युँझिए। दुवैले विभीषिका भोगेका थिए– पहिलाहरू त्यसका कर्ता थिए भने पछिल्लाहरू त्यसका पीडित। यस्तो अनुभवले पीडादायी र अमिट छाप छोडेर जान्छ।  हुतुहरूमा मिश्रित भावनाहरू थियो। एकातिर, उनीहरूले आफ्ना  मालिकहरूलाई पराजित गरेका थिए, सामन्ती जुवा पन्छाएका थिए, र पहिलो पटक सत्ता प्राप्त गरेका थिए अर्कोतिर, उनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण रूपमा समाप्त पारेका थिएनन्, उनीहरूको सर्वनाश गरेका थिएनन्, र शत्रु पीडादायी रूपमा घाइते भए पनि अझै जीवितै छ र उसले बदला लिनेछ भन्ने यो चेतनाले उनीहरूको मनमा एउटा दबाउन नसकिने र घातक डर रोपिदियो (यहाँ स्मरणीय कुरा के छ भने प्रतिशोधको डर अफ्रिकी समाजमा गहिरोसँग जरा गाडेर बसेको हुन्छ, र प्रतिशोधको परापूर्वकालदेखिको अधिकारले यहाँ सधैँ अन्तरवैयक्तिक, निजी र कबिलागत सम्बन्धहरूलाई नियन्त्रण गर्दै आएको छ)। र डराउनुपर्ने कारणहरू प्रशस्तै थिए। किनभने हुतुहरूले रुवान्डाको पहाडी किल्ला कब्जा गरेर त्यहाँ आफ्नो शासन स्थापना गरे तापनि, करिब १ लाखको सङ्ख्यामा रहेका तुत्सीहरूको 'पाँचौँ दस्ता' अझै देशको सिमानाभित्रै बाँकी थियो। यसका अलावा, र सायद अझ बढी खतरनाक कुरा, त्यो किल्लालाई हिजो मात्रै त्यहाँबाट लखेटिएका तुत्सीहरूका शिविरहरूले घेरेका थिए।

डराउनुपर्ने कारणहरू प्रशस्तै थिए। किनभने हुतुहरूले रुवान्डाको पहाडी किल्ला कब्जा गरेर त्यहाँ आफ्नो शासन स्थापना गरे तापनि, करिब १ लाखको सङ्ख्यामा रहेका तुत्सीहरूको 'पाँचौँ दस्ता' अझै देशको सिमानाभित्रै बाँकी थियो।

किल्लाको यो उपमा केवल काव्यात्मक कल्पना मात्र होइन। तपाईं युगान्डा, तान्जानिया वा जायरे जुनसुकै ठाउँबाट रुवान्डा प्रवेश गर्नुभयो भने पनि, विशाल र भव्य पहाडहरूबाट बनेको र तपाईंको अगाडि ठिङ्ग उभिएको कुनै सुदृढ गढीको ढोकाबाट भित्र छिर्दै हुनुहुन्छ भन्ने एउटै भान सधैँ हुनेछ। अनि भर्खरै निर्वासित र घरबारविहीन भएका घुमन्ते तुत्सीका लागि स्थिति अहिले यस्तै छ।  बिहान शरणार्थी शिविरको आफ्नो फुस्रो त्रिपालमुनिबाट ब्युँझिएर बाहिर निस्कँदा उसले रुवान्डाका पहाडहरू देख्छ। दिनका ती सुरुवाती घण्टामा, ती पहाडहरू आश्चर्यजनक रूपमा सुन्दर देखिन्छन्। म आफैँ पनि केवल त्यो दृश्य हेर्नका लागि बिहानै झस्किएर उठ्ने गर्थेँ। अग्ला तर मनोरम चुचुराहरू तपाईंको अगाडि अनन्तसम्म फैलिएका हुन्छन्। ती पन्ना जस्ता हरिया, बैजनी र घामको प्रकाशमा नुहाएका हुन्छन्। यो यस्तो दृश्य हो जहाँ चट्टानी, हावाहुरी चल्ने चुचुराहरू, भिरपहरा र खडा चट्टानहरूको डर र अँध्यारो हुँदैन।  यहाँ तपाईंलाई कुनै घातक हिमपहिरो, माथिबाट खस्ने ढुङ्गा वा खुकुलो गेग्रानले पर्खेर बसेका हुँदैनन्। होइन। रुवान्डाका यी पहाडहरूले न्यानोपन र उदारताको आभा छर्छन्।, सुन्दरता र शान्ति, स्फटिक जत्तिकै सफा र शान्त हावा, नि आफ्ना रेखा र आकृतिहरूको शान्त तथा अनुपम सौष्ठवले मानिसलाई मोहित बनाउँछन्। बिहानपख, पारदर्शी कुहिरोले हरिया उपत्यकाहरूलाई ढाक्छ। यो घाममा टल्किने उज्यालो, हावादारी र हलुका घुम्टो जस्तै हुन्छ, जसको पारिबाट युकलिप्टस (मसाला) र केराका रूखहरू, अनि बारीमा काम गरिरहेका मानिसहरू धमिलो गरी दृश्यमान हुन्छन्। तर त्यहाँ तुत्सीले सबैभन्दा पहिले र सबैभन्दा स्पष्ट देख्ने कुरा भने उसका चरिरहेका गाईवस्तुका बथान हुन्। ती बथान, जो अब उसका रहेनन्, तर कुनै समय उसका अस्तित्वको आधार र जीवनको अर्थ थिए। अहिले तिनै बथान उसका कल्पनामा मिथक र किंवदन्तीका रूपमा फैलिन्छन्, र उसको सबैभन्दा प्रिय चाहना, सपना र धुन बन्न पुग्छन्।

यसरी रुवान्डाली नाटकको बीजारोपण हुन्छ, वान्यारुवान्डा राष्ट्रको यो वियोगान्त घटना, जुन एउटै सानो र सीमित जमिनको टुक्रामा अधिकार दाबी गर्ने दुई सामाजिक समूहहरूका स्वार्थलाई मिलाउन नसकिने लगभग इजरायली-प्यालेस्टिनी अशक्तताबाट जन्मिएको थियो।  जुन जमिन ती दुवैलाई अटाउनका लागि निकै सानो र साँगुरो थियो। यही दुःखान्तको गर्भबाट सुरुमा अस्पष्ट र कमजोर रूपमा देखापरेको, तर वर्षौं बित्दै जाँदा झन्झन् स्पष्ट, प्रबल र आग्रहपूर्ण बन्दै गएको एउटा प्रलोभन जन्मिन्छ– अन्तिम समाधान’ (Endlösung) को प्रलोभन।

तर यो स्थिति आउन अझै धेरै समय बाँकी छ। हामी अहिले साठ्ठीको दशकमा छौँ– अफ्रिकाका सबैभन्दा आशाजनक र आशावादी वर्षहरूमा। महाद्वीपमा व्याप्त ठूला अपेक्षाहरू र उत्साहले गर्दा रुवान्डामा भएका रक्तपातपूर्ण घटनाहरूमा कसैले धेरै ध्यान दिँदैनन्। त्यहाँ सञ्चार वा पत्रपत्रिका थिएनन्, र फेरि– रुवान्डा? त्यो कहाँ पर्छ? त्यहाँ कसरी जाने? यो देश ईश्वर र मानिस दुवैबाट बिर्सिएजस्तो देखिन्छ। यहाँ शान्त छ, नीरस छ, र तुरुन्तै थाहा पाउन सकिने गरी उराठलाग्दो छ। रुवान्डा भएर कुनै ठूला सडकहरू जाँदैनन्, त्यहाँ कुनै ठूला शहरहरू छैनन्, र यताको बाटो भएर कोही गुज्रनु विरलै हुन्थ्यो। वर्षौँ पहिले, जब मैले मेरो एक जना साथी, ‘डेली टेलिग्राफ’का पत्रकार माइकल फिल्डलाई म रुवान्डा गएको कुरा भनेँ, उनले सोधे: ‘अनि के तिमीले राष्ट्रपतिलाई भेट्यौ?’ ‘छैन,’ मैले जवाफ दिएँ। ‘त्यसोभए तिमी त्यहाँ के गर्न गएका थियौ त?’ उनी अचम्म पर्दै कराए।

यो सचिकै हो कि रुवान्डा जस्तो ठाउँमा तपाईंलाई सबैभन्दा बढी प्रहार गर्ने कुरा यसको गहिरो प्रान्तीयता वा एकाकीपन हो। बाहिरबाट हेर्दा विश्वव्यापी देखिने हाम्रो संसार वास्तवमा हजारौँ विविधतायुक्त र कहिल्यै एकापसमा नभेटिने प्रान्तहरू (गाउँ-ठाउँहरू) ले बनेको एउटा ग्रह हो। विश्व भ्रमण भनेको एउटा एकान्त कुनाबाट अर्को एकान्त कुनातर्फको यात्रा हो, जसमध्ये प्रत्येकले आफ्नो अलगावमा आफूलाई एउटा चम्किलो तारा मान्छ। धेरैजसो मानिसहरूका लागि, वास्तविक संसार उनीहरूको घरको सँघारमा, उनीहरूको गाउँको छेउमा, वा बढीमा उनीहरूको उपत्यकाको सिमानामा सकिन्छ। त्योभन्दा बाहिर जे छ, त्यो अवास्तविक, महत्त्वहीन र निरर्थक समेत हुन्छ; जबकि जुन कुरा हाम्रो औँलाको पछाडि छ, हाम्रो दृष्टि क्षेत्रमा छ, त्यो सिङ्गो ब्रह्माण्डजस्तै फैलिन्छ र अरू सबै कुरालाई ओझेलमा पार्छ। प्रायः, स्थानीय बासिन्दा र नयाँ आगन्तुकबीच साझा भाषा भेट्टाउन गाह्रो हुन्छ, किनभने प्रत्येकले एउटै ठाउँलाई फरक लेन्सबाट हेरिरहेका हुन्छन्। नयाँ आगन्तुकसँग वाइड-एन्गल लेन्स हुन्छ, जसले उसलाई लामो क्षितिज रेखासहितको टाढाको र सानो दृश्य दिन्छ; जबकि स्थानीयले सधैँ टेलिस्कोपिक लेन्सको प्रयोग गर्छ, जसले सानाभन्दा साना विवरणहरूलाई पनि ठूलो बनाएर देखाउँछ।

सन् १९५९ को क्रान्तिले वान्यारुवान्डा राष्ट्रलाई दुई विरोधी खेमामा विभाजित गरिदियो। अब उप्रान्त, समयको बहावले केवल कलहका संयन्त्रहरूलाई मजबुत बनाउने, द्वन्द्वलाई अझ तिखार्ने, पटक-पटक रक्तपातपूर्ण भिडन्तहरूतिर लैजाने र अन्ततः सर्वनाश तिर धकेल्ने काम मात्र गर्नेछ।

तर स्थानीयहरूका लागि भने यी नाटकहरू वास्तविक हुन्छन्, र त्रासदीहरू पीडादायी अनि अलिकति पनि बढाइचढाइ नगरिएका हुन्छन्। रुवान्डामा पनि यस्तै भयो। सन् १९५९ को क्रान्तिले वान्यारुवान्डा राष्ट्रलाई दुई विरोधी खेमामा विभाजित गरिदियो। अब उप्रान्त, समयको बहावले केवल कलहका संयन्त्रहरूलाई मजबुत बनाउने, द्वन्द्वलाई अझ तिखार्ने, पटक-पटक रक्तपातपूर्ण भिडन्तहरूतिर लैजाने र अन्ततः सर्वनाश तिर धकेल्ने काम मात्र गर्नेछ।

सिमानाका शिविरहरूमा फैलिएर बसेका तुत्सीहरू षड्यन्त्र र सङ्गठन निर्माणमा जुट्छन्। सन् १९६३ मा उनीहरूले दक्षिणबाट, छिमेकी देश बुरुन्डी भई आक्रमण गर्छन्।जहाँ उनीहरूका दाजुभाइ, बुरुन्डीका तुत्सीहरू सत्तामा हुन्छन्। दुई वर्षपछि अर्को तुत्सी आक्रमण हुन्छ। हुतु सेनाले यसलाई रोक्छ, र बदला स्वरूप रुवान्डाभित्र ठूलो नरसंहारको आयोजना गर्छ। बीस हजार तुत्सीहरू हुतुहरूका दाउ (घरेलु हतियार)बाट काटिएर मारिन्छन्। (अन्य अनुमानहरूले यो सङ्ख्या पचास हजार पुर्‍याउँछन्।) त्यहाँ कुनै बाह्य पर्यवेक्षकहरू, अन्तर्राष्ट्रिय आयोगहरू वा सञ्चारमाध्यमहरू उपस्थित थिएनन्।

अफ्रिकामा धेरै युद्धहरू बिना कुनै प्रत्यक्षदर्शी, गोप्य रूपमा, पहुँचबाहिरका ठाउँहरूमा, मौनतामा, विश्वको जानकारी वा अलिकति पनि चासोबिना लडिन्छन्। रुवान्डाको अवस्था पनि त्यस्तै थियो।

मलाई सम्झना छ, विदेशी संवाददाताहरूको हाम्रो एउटा टोलीले रुवान्डा भित्रिने प्रयास गरेको थियो तर अधिकारीहरूले प्रवेश दिन अस्वीकार गरे। हामी तान्जानियामा शरणार्थीहरूबाट मुख्यतः भयभीत, घाइते र भोका महिला तथा बालबालिकाहरूबाट सकभर सूचना सङ्कलन गर्न बाध्य भयौँ। पुरुषहरूलाई सामान्यतया पहिल्यै मारिन्थ्यो, उनीहरू अभियानहरूबाट घर फर्कँदैनथे। अफ्रिकामा धेरै युद्धहरू बिना कुनै प्रत्यक्षदर्शी, गोप्य रूपमा, पहुँचबाहिरका ठाउँहरूमा, मौनतामा, विश्वको जानकारी वा अलिकति पनि चासोबिना लडिन्छन्। रुवान्डाको अवस्था पनि त्यस्तै थियो। सीमावर्ती भिडन्तहरू, समूहगत हिंसा र नरसंहारहरू वर्षौँसम्म चलिरहन्छन्। तुत्सी छापामारहरू (जसलाई हुतुहरू ‘साङ्ला’ भन्थे) ले गाउँहरू जलाउँछन् र स्थानीयहरुलाई काटमार गर्छन्। बदलामा हुतु गाउँलेहरू, आफ्नो सेनाको समर्थनमा, बलात्कार र नरसंहार मच्चाउछन्।

तुत्सी र हुतुहरू एकसाथ बस्छन्, बाटोमा एक-अर्कालाई भेट्छन्, एउटै ठाउँमा काम गर्छन्। अनि, निजी रूपमा, उनीहरू षड्यन्त्र गर्छन्। शङ्का, तनाव र भयको यस्तो वातावरण भूमिगत गुट, गुप्त सङ्गठन र माफियाहरूको पुरानो, कबीलागत अफ्रिकी परम्पराका लागि उर्वर भूमि बन्छ।

यस्तो देशमा बस्नु गाह्रो हुन्छ। त्यहाँ अझै पनि मिश्रित जनसङ्ख्या भएका धेरै गाउँ र शहरहरू छन्। तुत्सी र हुतुहरू एकसाथ बस्छन्, बाटोमा एक-अर्कालाई भेट्छन्, एउटै ठाउँमा काम गर्छन्। अनि, निजी रूपमा, उनीहरू षड्यन्त्र गर्छन्। शङ्का, तनाव र भयको यस्तो वातावरण भूमिगत गुट, गुप्त सङ्गठन र माफियाहरूको पुरानो, कबीलागत अफ्रिकी परम्पराका लागि उर्वर भूमि बन्छ। वास्तविक र काल्पनिक दुवै। प्रत्येक व्यक्ति गुप्त रूपमा कुनै न कुनै सङ्गठनमा आबद्ध छ र ऊ पूर्ण विश्वस्त छ कि अरूहरू, अर्थात् ती ‘विपक्षीहरू’ पनि कुनै न कुनै सङ्गठनमा आबद्ध छन्। अनि, स्वाभाविक रूपमा, ती विपक्षीहरू आबद्ध भएको सङ्गठन एउटा शत्रुतापूर्ण, विरोधी सङ्गठन नै हो।

रुवान्डाको जुम्ल्याहा देश यसको दक्षिणी छिमेकी बुरुन्डी हो। यी दुवैको भौगोलिक र सामाजिक बनावट उस्तै छ, र शताब्दीऔँ पुरानो साझा इतिहास छ। उनीहरूको भाग्य सन् १९५९ मा मात्र अलग भयो। रुवान्डामा, हुतुहरूको किसान विद्रोह विजयी भयो र उनीहरूका नेताहरूले सत्ता सम्हाले, जबकि बुरुन्डीमा तुत्सीहरूले आफ्नो शासन कायम राखे र अझ बलियो बनाए, सेनाको विस्तार गरे र सामन्ती सैन्य तानाशाही जस्तै केही खडा गरे। तैपनि, यी जुम्ल्याहा देशहरूबीच पहिलेदेखि रहेका, लगभग जैविक जस्तै सम्बन्धहरू निरन्तर चलिरहे, र रुवान्डामा हुतुहरूद्वारा तुत्सीहरूको नरसंहारले बुरुन्डीमा तुत्सीहरूद्वारा हुतुहरूको प्रतिशोधात्मक नरसंहारलाई निम्त्यायो, र यसको उल्टो पनि त्यसरी नै भइरह्यो।

सन् १९७२ मा, रुवान्डाका आफ्ना दाजुभाइहरूको उदाहरणबाट हौसिएका बुरुन्डीका हुतुहरूले एउटा विद्रोहको प्रयास गरे। उनीहरूले सुरुमा नै कैयौँ हजार तुत्सीहरूको हत्या गरे, जसको जवाफमा तुत्सीहरूले एक लाखभन्दा बढी हुतुहरूलाई मारे। केवल नरसंहारको घटनाले मात्र होइन किनभने यी घटनाहरू दुवै देशमा नियमित रूपमा भइरहन्थे। तर यसको स्तब्ध बनाउने परिमाणले रुवान्डाका हुतुहरूमाझ एउटा ठूलो खलबली मचायो, र उनीहरूले यसको प्रतिकार गर्ने निर्णय गरे। बुरुन्डीमा भएको यो दङ्गाका क्रममा कैयौँ लाख (उनीहरू कहिलेकाहीँ १० लाख भन्छन्) हुतुहरूले रुवान्डामा शरण खोजेका थिए, जसले पहिले नै समय-समयमा खाद्यान्नको सङ्कट झेलिरहेको यो गरिब देशका लागि एउटा ठूलो समस्या खडा गरिदिएको थियो। यस तथ्यले उनीहरूलाई अझ बढी प्रेरित गर्‍यो।

यही सङ्कटको फाइदा उठाउँदै (बुरुन्डीमा हाम्रा दाजुभाइहरूको हत्या भइरहेछ; १० लाख आप्रवासीहरूलाई पाल्ने हैसियत हामीसँग छैन भन्दै), रुवान्डाली सेनाका प्रधानसेनापति जनरल जुभेनाल हाब्यारिमानाले सन् १९७३ मा तख्तापलट गरे र आफूलाई राष्ट्रपति घोषणा गरे। यो तख्तापलटले हुतु समुदायभित्रका गम्भीर फुट र द्वन्द्वहरूलाई उजागर गरिदियो। पराजित राष्ट्रपति ग्रेगोइर कायिबान्डा (जसलाई पछि खाना नदिइ भोकभोकै राखेर मारिनेछ) ले देशको मध्य क्षेत्रका एक मध्यम उदारवादी हुतु कुलको प्रतिनिधित्व गर्थे। अर्कातिर, नयाँ शासक रुवान्डाको उत्तर-पश्चिममा बस्ने एउटा कट्टरपन्थी, अन्धराष्ट्रवादी शाखाबाट आएका थिए। (हाब्यारिमानालाई रुवान्डाका हुतुहरूका राडोभान काराजिच भन्न सकिन्छ।)

हाब्यारिमानाले अर्को विभाजन थपेर यो सूत्रलाई अझ समृद्ध बनाउछन्– सत्तामा हुनेहरू विरुद्ध विपक्षमा हुनेहरू। यदि तपाईं निष्ठावान् तुत्सी हुनुहुन्छ भने, तपाईं कुनै बस्ती वा गाउँको प्रमुख बन्न सक्नुहुन्छ (यद्यपि मन्त्री भने बन्न पाउनुहुन्न); तर यदि तपाईंले अधिकारीहरूको आलोचना गर्नुभयो भने, तपाईं शतप्रतिशत हुतु नै भए पनि जेलको पर्खालभित्र वा फाँसीको फन्दामा पुग्नुहुनेछ।

हाब्यारिमानाले सन् १९९४ मा आफ्नो मृत्यु नभएसम्म २१ वर्षसम्म शासन गर्नेछन्। भयंकर ज्यान परेका, शक्तिशाली र ऊर्जावान् उनले आफ्नो सम्पूर्ण ध्यान एउटा फलामे तानाशाही खडा गर्नमा केन्द्रित गर्छन्। उनले एकदलीय व्यवस्था लागू गर्छन्। उनले आफूलाई पार्टीको नेता घोषणा गर्छन्। देशका सम्पूर्ण नागरिकहरू जन्मसिद्ध रूपमा नै पार्टीका सदस्य हुनुपर्थ्यो। जनरलले अब शत्रुताको एकदमै सरल ढाँचा (हुतु विरुद्ध तुत्सी) मा सुधार गर्छन्। उनले अर्को आयाम, अर्थात् अर्को विभाजन थपेर यो सूत्रलाई अझ समृद्ध बनाउछन्– सत्तामा हुनेहरू विरुद्ध विपक्षमा हुनेहरू। यदि तपाईं निष्ठावान् तुत्सी हुनुहुन्छ भने, तपाईं कुनै बस्ती वा गाउँको प्रमुख बन्न सक्नुहुन्छ (यद्यपि मन्त्री भने बन्न पाउनुहुन्न); तर यदि तपाईंले अधिकारीहरूको आलोचना गर्नुभयो भने, तपाईं शतप्रतिशत हुतु नै भए पनि जेलको पर्खालभित्र वा फाँसीको फन्दामा पुग्नुहुनेछ। यसरी अघि बढ्नका लागि जनरल पूर्ण रूपमा सही थिए। तुत्सीहरू मात्र उनको तानाशाहीका विरोधी थिएनन्; त्यहाँ ठूलो सङ्ख्यामा यस्ता हुतुहरू पनि थिए जसले उनलाई साँच्चै घृणा गर्थे र सक्दो तरिकाले उनको प्रतिरोध गर्थे। अन्ततः, रुवान्डाको द्वन्द्व केवल दुई जातीय–सामाजिक समूहबीचको झगडा मात्र थिएन; त्यो त निरंकुशता र लोकतन्त्रबीच भएको एउटा हिंसात्मक टक्कर पनि थियो। यस अर्थमा, जातीय पहिचानको भाषाले र त्यसबाट निर्मित सोचाइले वास्तविकतालाई अत्यन्तै भ्रामक ढङ्गले प्रस्तुत गर्छ। यसले अझ गहिरा सत्यहरूलाई ओझेलमा पारिदिन्छ र बेवास्ता गर्छ– असल र खराबबीचको संघर्ष, सत्य र असत्यबीचको टक्कर, लोकतन्त्र र तानाशाहीबीचको द्वन्द्व। बरु यसले सम्पूर्ण जटिल यथार्थलाई एउटा मात्र, त्यो पनि सतही र गौण विभाजनमा सीमित गरिदिन्छ; एउटै विरोधमा, एउटै द्वैधतामा: ऊ अनन्त मूल्यवान् छ, किनकि ऊ हुतु हो; वा ऊ मूल्यहीन छ, किनकि ऊ तुत्सी हो।

तानाशाहीलाई बलियो बनाउनु हाब्यारिमानाले आफूलाई समर्पित गरेको पहिलो काम थियो भने, एउटा समानान्तर मोर्चामा पनि क्रमिक प्रगति भइरहेको थियो: राज्यको निजीकरण। हरेक बित्दो वर्षसँगै, रुवान्डा द्रुत रूपमा गिसेनयी (जनरलको सानो गृहनगर) को कुलको निजी सम्पत्ति बन्दै गयो; वा अझ स्पष्ट भन्नुपर्दा, राष्ट्रपतिकी पत्नी अगाथे, उनका तीन भाइहरू सगातावा, सेराफिन र जेद, अनि उनीहरूका नातेदारहरूको टोलीको सम्पत्ति बन्यो। अगाथे र उनका भाइहरू 'अकाजु' (Akazu) भनिने कुलका थिए, र यो नाम रुवान्डाका रहस्यमयी चक्रव्यूहहरूभित्रका धेरै ढोकाहरू खोल्न सक्ने पासवर्ड बन्यो। सगातावा, सेराफिन र जेदका गिसेनयी वरपर भव्य महलहरू थिए, जहाँबाट उनीहरू आफ्नी बहिनी र उनका पति जनरलसँग मिलेर रुवान्डाको सेना, प्रहरी, बैंक र कर्मचारीतन्त्रमाथि शासन गर्थे। यसरी, एउटा टाढाको महाद्वीपका पहाडहरूमा रहेको एउटा सानो राष्ट्रमाथि लालची, निरङ्कुश र साना सामन्तहरूको लोभी परिवारले शासन गरिरहेको थियो। आखिर यसले कसरी यस्तो विश्वव्यापी  दुःखद कुख्याति प्राप्त गर्न पुग्यो?

सन् १९५९ मा आफ्ना ज्यान जोगाउन दशौँ हजार तुत्सीहरू कसरी देश छाडेर भागेका थिए भन्ने कुरा मैले अघि नै उल्लेख गरिसकेको छु। त्यसपछिका वर्षहरूमा, हजारौँ-हजार अरूहरूले पनि उनीहरूकै बाटो पछ्याए। उनीहरूका शिविरहरू जायरे, युगान्डा, तान्जानिया र बुरुन्डीका रुवान्डाली सीमाहरूमा फैलिएका थिए। जहाँ केवल एउटै सोच बोकेर दुःखी र अधीर निर्वासितहरूको समुदाय बसोबास गरिरहेको थियो: घर फर्कने, अनि आफ्ना (पहिले नै काल्पनिक/पौराणिक भइसकेका) गाऊँ-बथानहरूतर्फ फर्कने। यस्ता शिविरहरूको जीवन नीरस, दयनीय र निराशाजनक हुन्छ। तर त्यस्ता ठाउँहरूमा जन्मिएर, वयस्क भएर पनि केही हासिल गर्ने चाहना कायम राख्ने र केही कुराका लागि लड्ने प्रयास गर्ने मानिसहरू पनि हुन्छन्। तुत्सीहरूसँग पनि यस्तै भयो। उनीहरूको मुख्य उद्देश्य आफ्ना पुर्खाहरूको भूमिमा फर्कनु नै थियो। पुर्खाको भूमि अफ्रिकामा एउटा पवित्र अवधारणा, गहिरो चाहना भएको अनि चुम्बकीय स्थान र जीवनको स्रोत मानिन्छ। तर शरणार्थी शिविर छोड्नु कुनै साधारण कुरा होइन; यसो गर्न प्रायः स्थानीय अधिकारीहरूले मनाही गरेका हुन्छन्। यसको एउटा मात्र अपवाद युगान्डा थियो, जहाँ वर्षौँदेखि गृहयुद्ध मच्चिरहेको थियो र अराजकता तथा भ्रम व्याप्त थियो। अस्सीको दशकमा, युवा अभियन्ता योवेरी मुसेभेनीले मनोरोगी अनि हत्यारा मिल्टन ओबाटेको भयानक शासनविरुद्ध छापामार युद्ध सुरु गर्छन्। मुसेभेनीलाई लडाकुहरु चाहिएको हुन्छ। र उनले तिनलाई चाँडै नै भेट्टाए। आफ्ना युगान्डाली समर्थकहरूका अतिरिक्त रुवान्डाली शरणार्थी शिविरका युवाहरू पनि स्वेच्छाले उनको सेनामा भर्ती हुन अघि सरे। मुसेभेनीले उनीहरूलाई सहर्ष स्वीकार गरे। युगान्डाका घना वनहरूमा दक्ष सैन्य प्रशिक्षकहरूको निगरानीमा उनीहरूले सैनिक तालिम लिए, र तिनमध्ये धेरैले पछि विदेशका सैनिक अधिकृत प्रशिक्षण संस्थानहरूमा समेत उच्च प्रशिक्षण प्राप्त गरे। सन् १९८६ को जनवरीमा मुसेभेनी आफ्ना सैन्य डिभिजनहरूको नेतृत्व गर्दै कम्पालामा प्रवेश गरे र सत्ता आफ्नो नियन्त्रणमा लिए। ती डिभिजनहरूमध्ये धेरैको नेतृत्व शरणार्थी शिविरमै जन्मिएका तुत्सीहरूले गरिरहेका थिए, वा तिनका पङ्क्तिमा यस्तै तुत्सी लडाकुहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरू त्यही पुस्ताका सन्तान थिए, जसका बाबुहरूलाई वर्षौँअघि रुवान्डाबाट बलपूर्वक लखेटिएको  थियो।

धेरै समयसम्म कसैले पनि युगान्डामा राम्रोसँग प्रशिक्षित र युद्धको अनुभव हासिल गरिसकेको तुत्सी प्रतिशोधीहरूको एउटा सेना तयार भइसकेको छ भन्ने कुरा ख्याल गरेन। जसको मनमा एउटा मात्र ध्येय थियो- आफ्ना परिवारमाथि गरिएको अपमान र अन्यायको प्रतिशोध लिनु। उनीहरूले गोप्य बैठकहरू गर्न थाले, रुवान्डान प्याट्रियोटिक फ्रन्ट (Rwandan Patriotic Front– RPF) नामक संगठन गठन गरे, र आक्रमणको तयारीमा जुटे।  सन् १९९० सेप्टेम्बर ३० को रात उनीहरू युगान्डाली सेनाका ब्यारेकहरू र सीमावर्ती शिविरहरूबाट चुपचाप बेपत्ता भए। भोलिपल्ट बिहानै उनीहरू रुवान्डाको भूमिमा प्रवेश गरिसकेका थिए। किगालीस्थित सरकार पूर्णतः अचम्ममा पर्‍यो– अचम्ममा मात्र होइन, भयभीत पनि भयो। हाब्यारिमानासँग कमजोर र मनोबल गुमाइसकेको सेना थियो। युगान्डाको सीमादेखि किगालीसम्मको दूरी पनि करिब १५० किलोमिटरभन्दा धेरै थिएन। त्यसैले छापामार लडाकुहरू एक–दुई दिनमै किगाली पुग्न सक्थे। वास्तवमा हाब्यारिमानाका सैनिकहरूले उल्लेखनीय प्रतिरोध गर्न सकेनन्, र सम्भवतः सन् १९९४ को त्यो भीषण नरसंहार र रक्तपात  कहिल्यै हुने थिएन, यदि एउटा टेलिफोन कल नगरिएको भए।

उनीहरू फ्रान्स केवल एउटा युरोपेली देश मात्र नभई फ्रान्सेली संस्कृति र भाषामा सहभागी हुने सम्पूर्ण मानिसहरूको समुदाय पनि हो भन्ने कुरामा गहिरो विश्वास गर्थे अर्थात्, फ्रान्स एउटा विश्वव्यापी सांस्कृतिक र भाषिक अस्तित्व पनि हो: ‘फ्रान्कोफोनी’ । भूराजनीतिको सरल भाषामा रूपान्तरण गर्दा यो दर्शनको अर्थ हुन्थ्यो: यदि विश्वको कुनै ठाउँमा कसैले फ्रान्सेलीभाषी देशमाथि आक्रमण गरिरहेको छ भने, त्यो लगभग फ्रान्समाथि नै प्रहार गरेसरह हो।

मितराँ माथि फ्रान्सेली अफ्रिका-समर्थक समूहको ठूलो दबाब थियो। जबकि धेरैजसो युरोपेली राजधानीहरूले आफ्नो औपनिवेशिक अतीतसँग पूर्ण रूपमा नाता तोडिसकेका थिए, पेरिसले भने त्यसो गरेको थिएन। फ्रान्सेली समाजमा अझै पनि मानिसहरूको एउटा ठूलो, सक्रिय र सङ्गठित समूह थियो, जसले औपनिवेशिक प्रशासनमा आफ्नो करिअर बनाएका थिए, उपनिवेशहरूमा आफ्नो जीवन (निकै राम्रोसँग!) बिताएका थिए, र अब युरोपमा विदेशी जस्तै महसुस गर्दै आफूलाई निरर्थक र अवांछित ठान्थे। त्यसै समयमा, उनीहरू फ्रान्स केवल एउटा युरोपेली देश मात्र नभई फ्रान्सेली संस्कृति र भाषामा सहभागी हुने सम्पूर्ण मानिसहरूको समुदाय पनि हो भन्ने कुरामा गहिरो विश्वास गर्थे अर्थात्, फ्रान्स एउटा विश्वव्यापी सांस्कृतिक र भाषिक अस्तित्व पनि हो: ‘फ्रान्कोफोनी’ । भूराजनीतिको सरल भाषामा रूपान्तरण गर्दा यो दर्शनको अर्थ हुन्थ्यो: यदि विश्वको कुनै ठाउँमा कसैले फ्रान्सेलीभाषी देशमाथि आक्रमण गरिरहेको छ भने, त्यो लगभग फ्रान्समाथि नै प्रहार गरेसरह हो।

यसबाहेक, अफ्रिका-समर्थक समूहका कर्मचारी र जनरलहरू अझै पनि ‘फाशोदा कम्प्लेक्स’ बाट गम्भीर रूपमा पीडित थिए। यसका बारेमा केही शब्दहरू। उन्नाइसौँ शताब्दीमा, जब युरोपेली देशहरू अफ्रिकालाई आपसमा बाँडिरहेका थिए, लन्डन र पेरिस एउटा अनौठो (यद्यपि त्यतिबेला निकै बोधगम्य) धारणाबाट ग्रसित थिए।  यो महाद्वीपमा उनीहरूका कब्जामा रहेका भूभागहरू क्षेत्रीय निरन्तरतासहित एउटा सीधा रेखामा व्यवस्थित हुनुपर्छ। लन्डन उत्तरदेखि दक्षिणसम्म, अर्थात् कायरोदेखि केप टाउनसम्म त्यस्तो रेखा चाहन्थ्यो, भने पेरिस पश्चिमदेखि पूर्वसम्म, अर्थात् डाकारदेखि जिबुटीसम्म चाहन्थ्यो। अब, यदि हामीले अफ्रिकाको नक्सा लिएर त्यसमा दुई वटा तेर्सो र ठाडो रेखाहरू खिच्यौँ भने, ती रेखाहरू दक्षिणी सुडानमा, नील नदीको किनारमा रहेको एउटा सानो माछा मार्ने गाउँ– फाशोदामा काटिनेछन्। त्यतिबेला युरोप यो कुरामा विश्वस्त थियो कि जसले पहिले फाशोदामा कब्जा जमाउँछ, उसैले अविच्छिन्न औपनिवेशिक साम्राज्यको आफ्नो विस्तारवादी आदर्श पूरा गर्नेछ। लन्डन र पेरिसबीच प्रतिस्पर्धा सुरु भयो। दुवै राजधानीहरूले फाशोदातर्फ सैन्य अभियानहरू पठाए। फ्रान्सेलीहरू त्यहाँ पहिले पुगे। जुलाई १०, १८९८ मा, डाकारबाट कठिन बाटो पैदलै तय गर्दै, क्याप्टेन जे. बी. मार्चान्ड फाशोदा पुगे र फ्रान्सेली झण्डा गाडे। मार्चान्डको टोलीमा १५० जना सेनेगालीहरू थिए, बहादुर र समर्पित मानिसहरू। पेरिस खुसीले उन्मत्त भयो। फ्रान्सेलीहरू गर्वले फुलेका थिए। तर, दुई महिनापछि ब्रिटिसहरू फाशोदा पुगे। त्यस अभियानका कमान्डर, लर्ड किचनरले त्यो गाउँ पहिले नै कब्जा भइसकेको देखेर आश्चर्य माने। यसलाई बेवास्ता गर्दै, उनले ब्रिटिस झण्डा गाडिदिए। लन्डन खुसीले उन्मत्त भयो। ब्रिटिसहरू गर्वले फुलेका थिए। राष्ट्रवादी उन्मादको ज्वरोले दुवै देशलाई गाँस्यो। सुरुमा, कुनै पनि पक्ष पछि हट्न चाहेनन्। सन् १८९८ मा नै फाशोदाको विषयलाई लिएर पहिलो विश्वयुद्ध भड्किन सक्ने धेरै सङ्केतहरू थिए। अन्ततः (किनभने यो एउटा लामो कथा हो), फ्रान्सेलीहरूले पछि हट्नुपर्‍यो। इङ्गल्यान्ड विजयी भयो। पुराना फ्रान्सेली औपनिवेशिकहरूका लागि फाशोदाको यो घटना एउटा पीडादायी घाउका रूपमा रहिरह्यो, र कहिल्यै पनि, जहाँसुकै अङ्ग्रेजीभाषीहरूले कुनै कुरामा हात हालेको खबर पाउने बित्तिकै उनीहरू तुरुन्तै आक्रमणमा उत्रिहाल्थे।

अनि यस पटक पनि परिस्थिति त्यस्तै बन्यो, जब पेरिसले खबर पायो कि अङ्ग्रेजीभाषी युगान्डाको भूभागबाट आएका अङ्ग्रेजीभाषी तुत्सीहरूले फ्रान्सेलीभाषी रुवान्डामाथि आक्रमण गरेका छन्, र यसरी ‘फ्रान्कोफोनी’ को सिमाना उल्लङ्घन गरेका छन्।

रुवान्डीज प्याट्रियोटिक फ्रन्टका सैन्य दस्ताहरू राजधानी किगालीतर्फ नजिकिँदै थिए, र हाब्यारिमानाको सरकार अनि कुलका मानिसहरू आफ्ना पोकापुन्तुरा बाँध्दै थिए, त्यही बेला फ्रान्सका प्याराट्रुपर्स बोकेका विमानहरू किगालीको विमानस्थलमा अवतरण भए। आधिकारिक रूपमा, उनीहरूका दुई वटा कम्पनी मात्र थिए। तर त्यति नै पर्याप्त थियो। छापामारहरू हाब्यारिमानाको सत्तासँग लड्न चाहन्थे, तर उनीहरू फ्रान्ससँग युद्धको जोखिम मोल्न चाहँदैनथे, जसको विरुद्धमा उनीहरूको कुनै सम्भावना नै थिएन। उनीहरूले किगालीतर्फको आक्रमण रद्द गरे तर रुवान्डामै रहेर यसका उत्तर-पूर्वी भूभागहरूमा स्थायी रूपमा कब्जा जमाइरहे। दुवै पक्षले यसलाई अस्थायी वा अल्पकालीन स्थिति मानेका भए तापनि, देश वास्तवमा विभाजित भयो। हाब्यारिमानाले समयक्रममा छापामारहरूलाई धपाउन सक्ने गरी आफू पर्याप्त बलियो हुने आशा राखेका थिए, भने अर्कोतिर छापामारहरू फ्रान्सेलीहरू कुनै न कुनै दिन फिर्ता हुनेछन् र त्यसको लगत्तै अर्को दिन सम्पूर्ण ‘अकाजु’ कुलसहितको त्यो सत्ता ढल्नेछ भन्ने कुरामा विश्वस्त थिए।

युद्धमा पनि नहुनु र शान्तिमा पनि नहुनुको यो अवस्थाभन्दा नराम्रो अरू केही हुँदैन। एउटा समूह विजयको फल चाख्ने आशामा आक्रमणमा उत्रिएको थियो; तर अब यो सपना मर्दै छ– आक्रमण स्थगित गर्नैपर्छ। आक्रमणको सामना गर्ने पक्षको मनःस्थिति झन् अँध्यारो छ।  हो, उनीहरू बाँचे त, तर उनीहरूले आफ्ना आँखाअगाडि पराजयको भूताहा दृश्य देखेका थिए, उनीहरूले आफ्नो शासनको अन्त्य सम्भव छ भन्ने कुरा महसुस गरेका थिए। अब उनीहरू जुनसुकै मूल्य चुकाएर भए पनि आफूलाई बचाउन चाहन्छन्।

अकाजु समूहको उग्र धडाले छिट्टै र दृढतापूर्वक शक्ति आफ्नो हातमा लियो। त्यस समूहसँग आफ्नै वैचारिक अगुवाहरू पनि थिए। तिनीहरू बुतारेस्थित रुवान्डा विश्वविद्यालयका बुद्धिजीवी, इतिहासकार र दर्शनशास्त्रका प्राध्यापकहरू थिए– फर्डिनान्ड नाहिमाना, कासिमिर बिजिमुंगु, लियोन मुगेसिरा लगायत अन्य केही। उनीहरूले नै यस्तो विचारधारा निर्माण गरे, जसले जनसंहारलाई एक मात्र सम्भव समाधान र हुतुहरूको अस्तित्व सुरक्षित राख्ने एक मात्र उपायका रूपमा वैध ठहराउने प्रयास गर्‍यो।

सन् १९९० को शरद ऋतुमा भएको आक्रमणदेखि सन् १९९४ को अप्रिलको नरसंहारसम्म पुग्न साढे तीन वर्ष लाग्यो। यस अवधिमा रुवान्डा सरकारभित्र तीव्र विवाद चुलियो। एउटा पक्ष राष्ट्रिय शासन गठबन्धन (हाब्यारिमानाको समूह र छापामार लडाकुहरू) गठन गरेर सम्झौतामा पुग्न चाहन्थ्यो। अर्को पक्ष भने अगाथे र उनका दाजुभाइहरूको नेतृत्वमा रहेको कट्टरपन्थी र निरंकुश अकाजु समूह थियो। हाब्यारिमाना स्वयं भने निर्णयहीन अवस्थामा थिए। उनी एकातिर सम्झौताको सम्भावना हेर्थे, अर्कोतिर कट्टरपन्थीहरूको दबाबबाट मुक्त हुन सक्दैनथे। उनी हिचकिचाइरहे, के गर्ने भन्ने निष्कर्षमा पुग्न सकेनन्, र क्रमशः घटनाक्रममाथिको आफ्नो नियन्त्रण गुमाउँदै गए। यसैबीच अकाजु समूहको उग्र धडाले छिट्टै र दृढतापूर्वक शक्ति आफ्नो हातमा लियो। त्यस समूहसँग आफ्नै वैचारिक अगुवाहरू पनि थिए। तिनीहरू बुतारेस्थित रुवान्डा विश्वविद्यालयका बुद्धिजीवी, इतिहासकार र दर्शनशास्त्रका प्राध्यापकहरू थिए– फर्डिनान्ड नाहिमाना, कासिमिर बिजिमुंगु, लियोन मुगेसिरा लगायत अन्य केही। उनीहरूले नै यस्तो विचारधारा निर्माण गरे, जसले जनसंहारलाई एक मात्र सम्भव समाधान र हुतुहरूको अस्तित्व सुरक्षित राख्ने एक मात्र उपायका रूपमा वैध ठहराउने प्रयास गर्‍यो।  नाहिमाना र उनका सहकर्मीहरूले प्रतिपादन गरेको सिद्धान्तअनुसार तुत्सीहरू रुवान्डाका मूल बासिन्दा होइनन्, बरु बाहिरबाट आएका विदेशी जाति हुन्। उनीहरू नाइल नदीको किनारको कुनै ठाउँबाट रुवान्डा आएका निलोटिक मूलका मानिसहरू थिए; जसले रुवान्डाका आदिवासी हुतुहरूलाई पराजित गरे, उनीहरूमाथि शासन गरे, र शोषण तथा दासत्वमार्फत उनीहरूलाई भित्रभित्रै विनाश गर्न थाले। तुत्सीहरूले रुवान्डामा बहुमूल्य रहेका सबै कुरा कब्जा गरे: जमिन, गाईवस्तु, बजार, र समयक्रममा स्वयम् राज्य। हुतुहरूलाई विजेताद्वारा थिचिएका मानिसहरूको भूमिकामा सीमित गरियो, र शताब्दीऔँदेखि गरिबी, भोक र अपमानमा बाच्न बाध्य पारियो। तर हुतु राष्ट्रले आफ्नो पहिचान र गरिमा फिर्ता लिनै पर्छ, र विश्वका अन्य राष्ट्रहरूमाझ एउटा समान हैसियत भएको सदस्यका रूपमा आफ्नो ठाउँ पुनः ओगट्नै पर्छ।

हुतु–तुत्सी सम्बन्धको सम्पूर्ण इतिहास निरन्तर हुने नरसंहार, जातीय हिंसा, एकअर्काको विनाश, जबर्जस्ती विस्थापन र उग्र घृणाले भरिएको अँध्यारो अध्याय मात्र हो। यति सानो रुवान्डामा एकअर्कासँग यति गहिरो वैमनस्य राख्ने दुई समुदायका लागि ठाउँ नै पर्याप्त छैन।

तर नाहिमाना आफ्ना दर्जनौँ भाषण, लेख र पुस्तिकाहरूमा बारम्बार यही प्रश्न उठाउँछन् इतिहासले हामीलाई के सिकाउँछ इतिहासका अनुभवहरू दुःखद छन् र तिनले गहिरो निराशा मात्र जन्माउँछन्। हुतु–तुत्सी सम्बन्धको सम्पूर्ण इतिहास निरन्तर हुने नरसंहार, जातीय हिंसा, एकअर्काको विनाश, जबर्जस्ती विस्थापन र उग्र घृणाले भरिएको अँध्यारो अध्याय मात्र हो। यति सानो रुवान्डामा एकअर्कासँग यति गहिरो वैमनस्य राख्ने दुई समुदायका लागि ठाउँ नै पर्याप्त छैन। त्यसमाथि रुवान्डाको जनसंख्या तीव्र गतिमा बढिरहेको छ। बीसौँ शताब्दीको मध्यतिर यस देशमा करिब २० लाख मानिस थिए; त्यसको पचास वर्षपछि यो संख्या झन्डै ९० लाख पुगेको थियो।  त्यसोभए यो अभिशप्त चक्रबाट उम्कने बाटो के छ, यो क्रूर नियतिबाट बच्ने कस्तो उपाय छ, जसका लागि मुगेसिराले आत्म-आलोचनात्मक रूपमा स्वीकार गरेझैँ हुतुहरू स्वयं जिम्मेवार छन्: १९५९ मा हामीले एउटा घातक भूल गर्‍यौँ। हामीले तुत्सीहरूलाई भाग्न दियौँ। त्यतिबेलै हामीले कदम चाल्नुपर्थ्यो– उनीहरूलाई पृथ्वीको सतहबाटै मेटाइदिनुपर्थ्यो। प्राध्यापकको विश्वास छ कि यो गल्ती सच्याउने अहिले अन्तिम अवसर हो। तुत्सीहरू नाइल नदीको आसपास रहेको आफ्नो वास्तविक मातृभूमिमा फर्कनै पर्छ। ‘हामी उनीहरूलाई त्यतै फिर्ता पठाइदिऊँ,’ उनी आह्वान गर्छन्, ‘जीवित वा मृत।’ बुतारेका विद्वान्हरूले एउटै मात्र जवाफ, अर्थात् अन्तिम समाधानका रूपमा यही कुराको परिकल्पना गर्छन्: कसै न कसैको मृत्यु हुनै पर्छ, कसै न कसैको अस्तित्व स्थायी रूपमा समाप्त हुनै पर्छ।

तयारी सुरु भयो। पहिले करिब पाँच हजार सैनिक रहेको सेनालाई विस्तार गरेर पैंतीस हजार पुर्‍याइयो। प्रेसिडेन्सियल गार्डलाई आधुनिक हतियारहरूले सुसज्जित दोस्रो घातक दस्ता र विशिष्ट एकाइका रूपमा विकसित गरिन्छ (हतियार र सैन्य सामग्रीहरू फ्रान्स, दक्षिण अफ्रिका र इजिप्टद्वारा पठाइन्छ; फ्रान्सले प्रशिक्षकहरू पनि उपलब्ध गराउँछ)। तर सबैभन्दा बढी जोड अर्धसैनिक संगठन इन्टराहाम्वे (Interahamwe) को गठनमा दिइयो, जसको अर्थ हुन्छ हामी सबै मिलेर आक्रमण गरौँ।’ गाउँ र शहरका मानिसहरू, बेरोजगार युवाहरू र गरिब किसानहरू, स्कूली बालबालिकाहरू, विद्यार्थीहरू, कार्यालयका कर्मचारीहरू यसमा सामेल हुन्छन् र सैन्य तथा वैचारिक तालिम लिन्छन्– मानिसहरूको एउटा ठूलो भीड, एउटा वास्तविक जनआन्दोलन, जसको काम यो विनाशलाई कार्यान्वयन गर्नु हुनेछ।

यससँगै प्रिफेक्टहरू (प्रशासक) र सहायक प्रिफेक्टहरूलाई विपक्षीहरूका नाम, साथै ‘सन्देहास्पद’, ‘अनिश्चित’, ‘दुविधाग्रस्त’ व्यक्तिहरू, असन्तुष्टहरू, निराशावादीहरू, संशयवादीहरू र उदारवादीहरूको सूची तयार गर्न आदेश दिइयो। अकाजु समूहको वैचारिक मुखपत्र  काङ्गुरा (Kangura) नामक पत्रिका थियो। तर प्रचारप्रसारका साथै धेरैजसो अशिक्षित सर्वसाधारणसम्म आदेशहरू फैलाउने मुख्य माध्यम ‘रेडियो मिल कोलिन’ (Radio Mille Collines) थियो  जसले सन् १९९४ को जनसंहारका क्रममा यही रेडियोले दिनमा पटक–पटक यस्तो घृणापूर्ण आह्वान प्रसारण गर्थ्यो: ‘मृत्यु! मृत्यु! तुत्सीहरूका शवले भरिएका चिहानहरू अझै आधा मात्र भरिएका छन्। छिटो गरौँ, र तिनलाई माथिसम्म भरौँ!’

सन् १९९३ को मध्यतिर, अफ्रिकी राष्ट्रहरूले हाब्यारिमानालाई रुवान्डीज प्याट्रियोटिक फ्रन्ट (RPF) सँग एउटा सम्झौता गर्न बाध्य पार्छन्। सम्झौताअनुसार छापामारहरू सरकार र संसद्‌मा सहभागी हुनुपर्ने र सेनाको ४० प्रतिशत हिस्सा ओगट्नुपर्ने हुन्छ। तर यस्तो सम्झौता अकाजु कुलका लागि बिलकुलै अस्वीकार्य हुन्छ। यसबाट उनीहरूले सत्तामा रहेको आफ्नो एकाधिकार गुमाउनेछन्– जसमा उनीहरू कहिल्यै सहमत हुनेछैनन्। उनीहरूले अन्तिम हिसाबकिताब गर्ने घडी आइपुगेको छ भन्ने घोषणा गरे।

अप्रिल ६, १९९४ मा, ‘अज्ञात समूह’ ले किगालीमा अवतरण गर्नै लागेको राष्ट्रपति हाब्यारिमानाको विमानमा रकेट प्रहार गरी खसालिदिन्छन्। हाब्यारिमाना शत्रुहरूसँग सम्झौता गरेर अपमानित भई विदेशबाट फर्कँदै थिए। उनको विमान खसालिनु सत्ताका विरोधीहरूको पहिलो र मुख्य रूपमा तुत्सीहरू, तर साथै ठूलो सङ्ख्यामा रहेका हुतु विपक्षीहरूको पनि  नरसंहार सुरु गर्ने सङ्केत बन्छ। निहत्था जनसङ्ख्यामाथि आधिकारिक रूपमा रचिएको यो नरसंहार आरपिएफका सैनिकहरूले देशमाथि नियन्त्रण कायम नगरेसम्म र विरोधीहरूलाई भाग्न बाध्य नबनाएसम्म तीन महिनासम्म जारी रहन्छ।

अप्रिल ६, १९९४ मा, ‘अज्ञात समूह’ ले किगालीमा अवतरण गर्नै लागेको राष्ट्रपति हाब्यारिमानाको विमानमा रकेट प्रहार गरी खसालिदिन्छन्। हाब्यारिमाना शत्रुहरूसँग सम्झौता गरेर अपमानित भई विदेशबाट फर्कँदै थिए। उनको विमान खसालिनु सत्ताका विरोधीहरूको पहिलो र मुख्य रूपमा तुत्सीहरू, तर साथै ठूलो सङ्ख्यामा रहेका हुतु विपक्षीहरूको पनि  नरसंहार सुरु गर्ने सङ्केत बन्छ।

पीडितहरूको सङ्ख्याको अनुमान फरक-फरक छ। कसैले पाँच लाख भन्छन् भने कसैले दश लाख। कसैलाई पनि कहिल्यै यकिन थाहा हुनेछैन। सबैभन्दा भयानक तथ्य त के हो भने, जो मानिसहरू हिजोसम्म कुनै अपराधमा दोषी थिएनन्, उनीहरू आज अन्य पूर्ण रूपमा निर्दोष मानिसहरूको हत्या गरिरहेका थिए। त्यसैले पीडितहरूको सङ्ख्या १० लाख नभएर मानौँ केवल ‘एक’ मात्रै भएको भए पनि, के त्यो सैतान हामीमाझ छ र सन् १९९४ को वसन्त ऋतुमा ऊ संयोगले रुवान्डामा थियो भन्ने कुराको पर्याप्त प्रमाण हुने थिएन र?

धेरैजसो बम वा भारी मेसिनगनका कारण मरेनन्; बरु उनीहरूलाई सबैभन्दा आदिम हतियारहरू–  दाउ, हथौडा, भाला र लाठीहरूले हानेर र कुटेर मारियो। किनभने सत्ताका नेताहरूका नेताहरूको मनमा केवल अन्तिम लक्ष्य– अन्तिम समाधान’ मात्र थिएन। उनीहरूको दृष्टिमा त्यो तथाकथित सर्वोच्च आदर्श’ सम्म पुग्ने बाटो, अर्थात् शत्रुको पूर्ण उन्मूलन गर्ने लक्ष्य हासिल गर्ने क्रममा, सम्पूर्ण राष्ट्रलाई अपराधमा सहभागी बनाउनु अत्यन्तै आवश्यक थियो।

पाँच लाखदेखि १० लाखसम्म मारिनु– त्यो अवश्य पनि एक भयानक रूपमा उच्च सङ्ख्या हो। तर, हाब्यारिमानाको सेनाको नर्कतुल्य प्रहार क्षमता, उनीहरूका हेलिकप्टर, भारी मेसिनगन, तोपखाना र बख्तरबन्द गाडीहरूलाई हेर्ने हो भने, तीन महिनाको व्यवस्थित गोलाबारीको क्रममा योभन्दा धेरै मानिस मारिन सक्थे। तर त्यसो भएन। धेरैजसो बम वा भारी मेसिनगनका कारण मरेनन्; बरु उनीहरूलाई सबैभन्दा आदिम हतियारहरू–  दाउ, हथौडा, भाला र लाठीहरूले हानेर र कुटेर मारियो। किनभने सत्ताका नेताहरूका नेताहरूको मनमा केवल अन्तिम लक्ष्य– अन्तिम समाधान’ मात्र थिएन। उनीहरूको दृष्टिमा त्यो तथाकथित सर्वोच्च आदर्श’ सम्म पुग्ने बाटो, अर्थात् शत्रुको पूर्ण उन्मूलन गर्ने लक्ष्य हासिल गर्ने क्रममा, सम्पूर्ण राष्ट्रलाई अपराधमा सहभागी बनाउनु अत्यन्तै आवश्यक थियो। उनीहरूको सोच थियो कि जब जनसमुदायलाई सामूहिक रूपमा अपराधमा संलग्न गराइन्छ, तब साझा अपराधबोधको एउटा सर्वव्यापी भावना जन्मिन्छ। त्यसपछि प्रत्येक नागरिक, आफ्नो अन्तःकरणमा कसैको मृत्युको भार बोकेर, सधैँ अर्को पक्षको प्रतिशोध लिने अविच्छिन्न अधिकारको भयले सताइरहनेछ। र त्यस प्रतिशोधको सम्भावनाभित्र उसले आफ्नै अन्त्यको छायाँ पनि देखिरहनेछ।

नाजी र स्तालिनवादी शासन व्यवस्थामा मृत्युको सजाय विशेष रूपमा त्यसका लागि स्थापित संस्थाहरू  एसएस वा एनकेभिडीका जल्लादहरूले कार्यान्वयन गर्थे। हत्या गोप्य स्थानहरूमा, त्यसका लागि नियुक्त व्यक्तिहरूद्वारा गरिन्थ्यो।  तर रुवान्डामा उद्देश्य फरक थियो। त्यहाँ हरेक व्यक्तिलाई मृत्युको वाहक बनाउनु थियो; अपराधलाई सामूहिक, जनस्तरीय, यहाँसम्म कि स्वाभाविक वा स्वतःस्फूर्त देखिने कार्यमा रूपान्तरण गर्नु थियो। ताकि शासनले शत्रु घोषणा गरेका मानिसहरूको रगतले नलतपतिएको एउटा पनि हात बाँकी नरहोस्।

यही कारणले पछि भयभीत र पराजित हुतुहरू यति ठूलो सङ्ख्यामा जाइरतर्फ भागे। त्यहाँ पुगेपछि पनि उनीहरू आफ्नो थोरै सम्पत्ति टाउकोमा बोकेर एक ठाउँबाट अर्को ठाउँमा भौतारिँदै हिँडिरहे। युरोपमा बसेर टेलिभिजनका पर्दामा शरणार्थीहरूको त्यो अन्तहीन लस्कर हेर्ने मानिसहरू बुझ्न सक्दैनथे– कुन शक्तिले ती कुपोषित र थकित यात्रीहरूलाई अघि बढाइरहेको थियो? कुन अदृश्य आदेशले ती हाडछाला मात्र बाँकी रहेका मानिसहरूलाई बिना रोकावट, बिना विश्राम, बिना खाना–पानी, बिना कुनै संवाद वा मुस्कान, दण्डित सैनिकहरूको पङ्क्तिजस्तै निरन्तर हिँडिरहन बाध्य बनाइरहेको थियो? उनीहरू नम्र, आज्ञाकारी र शून्य दृष्टिका साथ अपराधबोध र पीडाले भरिएको आफ्नै भयावह यात्रापथमा अघि बढिरहेका थिए।

Source: The Shadow of the Sun

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्

रिजार्ड कापुश्चिन्स्की

रिजार्ड कापुश्चिन्स्की विश्व पत्रकारिताका सबैभन्दा प्रभावशाली लेखक तथा युद्ध संवाददातामध्ये एक मानिन्छन्। पोल्यान्डका यी पत्रकारले चार दशकभन्दा बढी समय अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका क्रान्ति, युद्ध, तख्तापलट र सामाजिक उथलपुथललाई प्रत्यक्ष रूपमा रिपोर्ट गरे। उनी केवल घटनाका विवरणकार मात्र थिएनन्; इतिहास, राजनीति, संस्कृति र मानवीय अनुभवलाई गहिरो साहित्यिक शैलीमा प्रस्तुत गर्ने लेखक पनि थिए। The Emperor, Shah of Shahs, Imperium र The Shadow of the Sun उनका चर्चित कृतिहरू हुन्। उनको लेखनले सत्ता, हिंसा, उपनिवेशवाद र मानव जीवनका जटिल आयामहरूलाई सूक्ष्म संवेदनशीलताका साथ उजागर गर्छ ।