ढोँगी बहुपक्षीयतावादको दोबाटोमा क्युबा

"दासलाई धेरै कुरा थाहा हुन्छ, तर उसलाई सबैभन्दा बढी के थाहा हुन्छ भने मालिक के चाहन्छ, भलै मालिक स्वयंलाई त्यो थाहा नहोस्, जुन सामान्य परिस्थिति हो, किनकि अन्यथा ऊ मालिक नै हुने थिएन।"

"वास्तवमा जे बाँकी रहन्छ, त्यो मालिकको सारतत्व नै हो, अर्थात्, उसलाई आफू के चाहन्छ भन्ने थाहा हुँदैन।"

–  ज्याक लाकाँ

पूर्ण घेराबन्दी: जब जब सास फेर्नै नदिनु नै नीति बन्छ

हाल क्युबाले भोगिरहेको ऊर्जा संकट न त कुनै प्राकृतिक प्रकोप हो, न त केवल पूर्वाधारको असफलता नै। यो विगत छ दशकदेखि योजनावद्ध रूपमा रचिएको भू-राजनीतिक घेराबन्दीको चरमोत्कर्ष हो। आज यस टापु राष्ट्रले जे भोगिरहेको छ, त्यो परम्परागत आर्थिक युद्ध, नाकाबन्दी र एउटा यस्तो नयाँ अन्तर्राष्ट्रिय परिवेशको घातक मिलनविन्दु हो, जहाँ शक्ति सन्तुलन कायम गर्नुपर्ने पात्रहरूले न्यूनतम आवश्यकतामाथिको भूराजनीति रोजेका छन्।

क्युबाले साम्राज्यको शत्रुता मात्र होइन, बरु सिद्धान्ततः एकध्रुवीय व्यवस्थालाई चुनौती दिनुपर्नेहरूबाट समेत मौन परित्यागको पनि सामना गरिरहेको छ।

तर यस परिस्थितिको भू-राजनीतिक आयामहरूको विश्लेषण गर्नुअघि, हामीले यसको अन्तर्निहित मनोवैज्ञानिक संरचनाको परीक्षण गर्नुपर्छ। किनभने क्युबाको सन्दर्भमा जे दाउमा लागेको छ, त्यो केवल शक्ति सन्तुलनको प्रश्न मात्र होइन; यो चाहना, राजनीतिक कल्पना र फ्रायडले 'भर्नाइनुङ' (Verneinung) अर्थात् लुकेको स्वीकृतिको एक रूप "अस्वीकारोक्ति" भनेको कुराको पनि प्रश्न हो। क्युबालाई पिठ्युँ फर्काउनेहरूले यसलाई अस्वीकार गर्छन्, तर त्यसो गर्दा उनीहरूले यसलाई स्विकारिरहेका हुन्छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूले आफ्नो भित्रको त्यो पाटोलाई स्विकारिरहेका हुन्छन् जसलाई उनीहरू बाहिर नकार्न खोज्छन्।

क्युबाले साम्राज्यको शत्रुता मात्र होइन, बरु सिद्धान्ततः एकध्रुवीय व्यवस्थालाई चुनौती दिनुपर्नेहरूबाट समेत मौन परित्यागको पनि सामना गरिरहेको छ।

नाकाबन्दी अझै कायम हुनुको कारण क्युबाले अझै पनि यथास्थितिलाई चुनौती दिइरहेको छ र यो वैश्विक पुँजीवादी व्यवस्थाभित्र एउटा असहज लक्षणका रूपमा रहेको छ। यदि क्युबाबाट कुनै वास्तविक खतरा हुन्थेन भने, यसलाई बेवास्ता गर्नु नै पर्याप्त हुने थियो। यसलाई ध्वस्त पार्नैपर्ने तथ्यले नै के देखाउँछ भने, यसको अस्तित्व मात्र पनि मालिकको व्यवस्थाका लागि असह्य छ।

यस लेखमा उठाइएको प्रश्नले केही पाठकहरूलाई चिढ्याउन सक्छ, तर यो आवश्यक छ: जब ठोस कदमको ठाउँ सांकेतिक हाउभाउले लिन्छ, तब अन्तर्राष्ट्रिय ऐक्यबद्धताको के नै बाँकी रहन्छ र? जब घाँटीको पासो कसिँदै जान्छ र निसासिने अवस्था एउटा भौतिक यथार्थ बन्छ, तब क्युबालाई समर्थन गर्नुको वास्तविक अर्थ के हुन्छ? र सबैभन्दा महत्त्वपूर्ण कुरा, एउटा फरक संसारको चाहना राखेको दाबी गर्ने ती तमाम भू-राजनीतिक शक्तिहरूका बारेमा यसले के बताउँछ, जो यो घाँटी थिचिएको दृश्यलाई एउटा औंला समेत नउठाई टुलुटुलु हेरेर बस्न सक्छन्?

जब ठोस कदमको ठाउँ सांकेतिक हाउभाउले लिन्छ, तब अन्तर्राष्ट्रिय ऐक्यबद्धताको के नै बाँकी रहन्छ र? जब घाँटीको पासो कसिँदै जान्छ र निसासिने अवस्था एउटा भौतिक यथार्थ बन्छ, तब क्युबालाई समर्थन गर्नुको वास्तविक अर्थ के हुन्छ?

रणनीतिक साझेदारहरूको अघोषित परित्याग

विश्वव्यापी तनावको यस वर्तमान समयमा, अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरू, विशेष गरी परिधीय यथार्थवाद(peripheral realism) लाई पुनः ब्युँताइँदै छ। यस सिद्धान्तले साम्राज्यको दबाब बढ्दै जाँदा राज्यहरूले आफ्ना वैचारिक वा ऐतिहासिक गठबन्धनहरूलाई दाउमा राखेर आफ्ना हितहरू, जस्तै व्यापार, सीमा स्थिरता र प्रभुत्वशाली शक्तिलाई नचिढ्याउने चाहनालाई प्राथमिकता दिने प्रवृत्तिको व्याख्या गर्छ। तर क्युबाप्रति रूस र चीनको वर्तमान व्यवहारलाई पूर्ण रूपमा बुझ्न परिधीय यथार्थवाद मात्र पर्याप्त छैन। यहाँ अझ गहिरो कुरा सक्रिय छ: आफूले परिवर्तन गर्न चाहेको दाबी गरेको व्यवस्थाभित्रै आफ्नो अस्तित्व जोगाउनका लागि उनीहरूले आफ्नै चाहनाको परित्याग गरिरहेका छन्।

आफ्नो भाषणबाजीमा रूस र चीनले बहुध्रुवीय विश्व, एकध्रुवीयताको अन्त्य र सार्वभौमिकताको सम्मानको आह्वान गर्छन्। तर उनीहरूको चाहना जुन उनीहरूको शव्दले भन्दा पनि कर्मले उजागर गर्छ, त्यो भनेको त्यही व्यवस्थाका नियमहरूमा बिस्तारै समाहित हुनु हो जसलाई उनीहरू चुनौती दिने दाबी गर्छन्।

लाकाँले 'माग' 'चाहना'  बीचको भिन्नता स्पष्ट पारेका छन्। माग त्यो हो जसलाई स्पष्ट रूपमा व्यक्त गरिन्छ; चाहना त्यो हो जुन यसको अन्तरकुन्तरमा लुकेको हुन्छ र जसलाई कुनै न कुनै मूल्य नचुकाई अक्सर व्यक्त गर्न सकिँदैन। आफ्नो भाषणबाजीमा रूस र चीनले बहुध्रुवीय विश्व, एकध्रुवीयताको अन्त्य र सार्वभौमिकताको सम्मानको आह्वान गर्छन्। तर उनीहरूको चाहना जुन उनीहरूको शव्दले भन्दा पनि कर्मले उजागर गर्छ, त्यो भनेको त्यही व्यवस्थाका नियमहरूमा बिस्तारै समाहित हुनु हो जसलाई उनीहरू चुनौती दिने दाबी गर्छन्।

सुन्दा जति नै तितो लागे पनि, क्युबालाई एक्लो छोडेर उनीहरू केवल व्यावहारिक मात्र बनिरहेका छैनन्: उनीहरूले यो कुरा स्वीकार गरिरहेका छन् कि उनीहरूको वास्तविक उद्देश्य विश्व व्यवस्थाको रूपान्तरण होइन, बरु त्यही व्यवस्थाभित्र आफ्नो लागि एउटा अझ बढी सुविधाजनक स्थान सुरक्षित गर्नु हो।

लामो समयदेखिको आफ्नै द्वन्द्वमा फसेका– रूसका लागि युक्रेन, र बेइजिङका लागि ताइवान तथा दक्षिण चीन सागर, यी दुवै शक्तिहरूले रक्षात्मक रणनीति अपनाएका छन्। क्युबाका लागि  उनीहरूको समर्थन धेरै हदसम्म बहुपक्षीय मञ्चहरूमा दिइने वक्तव्य र केही स्रोतसाधनको आपूर्तिमा मात्र सीमित भएको छ, जसले नाकाबन्दीलाई कुनै संरचनात्मक चुनौती दिन सकेको छैन। उनीहरू आवश्यक तेल आपूर्ति गर्न, 'द्वितियक प्रतिबन्धहरू' (secondary sanctions) लाई छल्नका लागि ऋण सुविधाहरू उपलब्ध गराउन र यस टापु राष्ट्रतर्फ आउने सामानहरू बोकेका जहाजहरूलाई आफ्ना नौसैनिक जहाजमार्फत सुरक्षा (escort) प्रदान गर्न हिचकिचाउँछन्। यदि यसको कारण सोधियो भने, उनीहरूको जवाफ एउटा आदर्श यथास्थितिवादीको जस्तै हुन सक्छ: अहिले उपयुक्त समय होइन, यसको मूल्य निकै बढी छ, र मानिस यथार्थवादी हुनुपर्छ।

साम्राज्यद्वारा एउटा सार्वभौम परियोजनालाई विना कुनै परिणाम ध्वस्त पार्न छुट दिएर, उनीहरूले आफ्ना जनता र अन्य सहायक शक्तिहरूलाई एउटा सन्देश दिइरहेका छन्: ऐक्यबद्धता एउटा यस्तो विलासिता हो जुन हामी धान्न सक्दैनौं; र जब तिम्रो पालो आउनेछ, तिमी पूर्ण रूपमा एक्लो हुनेछौ।

तर, यस सन्दर्भमा यथार्थवाद भनेको समय अगावै आत्मसमर्पण तर्फ अघि बढ्ने अर्को बाटो मात्र हो। सायद, अन्तर्मनको कुनै कुनामा उनीहरू यस्तो ठान्छन् कि उनीहरूले सबैभन्दा पहिले ढल्न सक्नेहरूलाई अलपत्र छोडिरहेका छन्, सबैभन्दा अन्त्यमा ढल्नेहरूलाई होइन– अर्थात्, सायद, उनीहरू स्वयं आफूलाई नै उनीहरू आफ्नो ऐतिहासिक सीमामा पुगिसकेका छन् र त्यसलाई तोड्नुको सट्टा, उनीहरूले यसलाई सामान्यीकरण गरेका छन्। यसो गरेर उनीहरूले एउटा यस्तो रणनीतिक त्रुटि गरिरहेका छन् जसलाई इतिहासले पहिले नै सजाय दिइसकेको छ। जब कुनै शक्तिले प्रभुत्वशाली व्यवस्थालाई आफूलाई कुनै क्षति नपुऱ्याई शृङ्खलाको एउटा कडी तोड्न अनुमति दिन्छ, तब त्यो व्यवस्था झन् बलियो भएर निस्कन्छ र आफूलाई सुरक्षित सम्झनेहरूलाई पनि आफ्नो अधीनमा पार्न एक कदम अझ नजिक पुग्छ। साम्राज्यद्वारा एउटा सार्वभौम परियोजनालाई विना कुनै परिणाम ध्वस्त पार्न छुट दिएर, उनीहरूले आफ्ना जनता र अन्य सहायक शक्तिहरूलाई एउटा सन्देश दिइरहेका छन्: ऐक्यबद्धता एउटा यस्तो विलासिता हो जुन हामी धान्न सक्दैनौं; र जब तिम्रो पालो आउनेछ, तिमी पूर्ण रूपमा एक्लो हुनेछौ।

ल्याटिन अमेरिका र क्यारिबियन: खोक्रो अँगालोको कूटनीति

ब्राजिल र कोलम्बियाले अपनाएको दृष्टिकोण सायद समकालीन प्रगतिशीलताको वैचारिक टाटपल्टाईको सबैभन्दा स्पष्ट उदाहरण हो। लुला दा सिल्भा र गुस्ताभो पेट्रो सामाजिक रूपान्तरण र क्षेत्रीय सार्वभौमिकताको भाष्य निर्माण गरेर आफ्नो राजनीतिक उचाइ बनाएका दुई नेताहरू अहिले एक प्रकारको सस्तो साङ्केतिकतामा खुम्चिएका छन्। यस अन्तर्गत केवल नैतिक समर्थनका घोषणाहरू, संवादका लागि आह्वान, र अन्तर्राष्ट्रिय मञ्चहरूमा ओठे उपस्थिति मात्र पर्दछन्। तर यता शव्दहरूको व्यापार भइरहँदा, उता घाँटी थिच्ने संरचनात्मक अवस्थाहरू जस्तै नाकाबन्दी, आतंकवादलाई राज्य-प्रायोजित गर्नेहरूको सूची, र वित्तीय प्रतिबन्धहरू भने जस्ताको त्यस्तै छन्।

ल्याटिन अमेरिकाका केही प्रगतिशील सरकारहरूमा ठ्याक्कै यही भइरहेको छ; उनीहरूले साम्राज्यवादी खेलमैदानको तर्क, यसका संस्थाहरू, यसका बजारहरू, यसका नियमहरूलाई यस हदसम्म अपनाएका छन् कि उनीहरू त्यो घेराभन्दा बाहिर निस्किएर कुनै राजनीतिक कदम चाल्ने कल्पना समेत गर्न सक्दैनन्, भलै उनीहरू आफ्नो भाषणमा यसलाई आवश्यक भनी जोड दिइरहुन्।

यो सबै परिस्थिति हेर्दा यस्तो लाग्छ कि यहाँ 'आक्रमणकारीसँगको तादात्म्यतासक्रिय छ। यो एउटा यस्तो मनोवैज्ञानिक प्रक्रिया हो जसमा कुनै पनि पात्रले एक उच्च शक्तिसामु टिक्नका लागि अन्जानमै त्यही शक्तिको मूल्यमान्यता र तर्कलाई आत्मसात गर्दछ। यो कुनै सचेत धोका होइन, बरु एउटा यस्तो अनुकूलन हो जुन समयक्रममा आफ्नै पहिचानको अभिन्न अङ्ग बन्न पुग्छ। ल्याटिन अमेरिकाका केही प्रगतिशील सरकारहरूमा ठ्याक्कै यही भइरहेको छ; उनीहरूले साम्राज्यवादी खेलमैदानको तर्क, यसका संस्थाहरू, यसका बजारहरू, यसका नियमहरूलाई यस हदसम्म अपनाएका छन् कि उनीहरू त्यो घेराभन्दा बाहिर निस्किएर कुनै राजनीतिक कदम चाल्ने कल्पना समेत गर्न सक्दैनन्, भलै उनीहरू आफ्नो भाषणमा यसलाई आवश्यक भनी जोड दिइरहुन्।

ब्राजिल र कोलम्बियाले के बिर्सिरहेका छन् भने, यदि उनीहरू आज क्युबाका लागि एक सच्चा रणनीतिक रक्षा-पङ्क्ति बन्न सकेका भए, त्यो क्युबामाथि गरिएको कुनै गुन हुने थिएन, बरु उनीहरू आफ्नै लागि एक आवश्यकता हुने थियो। यदि अमेरिकाले आफ्ना प्रतिबन्धहरू, अन्तर्राष्ट्रिय मुद्रा कोष माथिको प्रभुत्व, अमेरिकी राज्यहरूको सङ्गठन (OAS) माथिको नियन्त्रण र स्थानीय दक्षिणपन्थी शक्तिहरूमाथिको प्रभावको बलमा यस क्षेत्रमा सन्तुलन निरन्तर आफ्नो पक्षमा ढल्काउँदै गयो भने, भोलि जब प्रतिक्रियावादी लहर चल्नेछ, तब लुला र पेट्रोले कसको साथ पाउनेछन्? अत्यधिक सतर्कता अपनाउने नाममा उनीहरूले त्यही रक्षा-पङ्क्तिलाई ध्वस्त पारिसकेका हुनेछन्, जसको उनीहरूलाई पछि सबैभन्दा बढी खाँचो पर्नेछ। हालैका दिनहरूमा, लुलाले आफूहरूमाथि 'जुनसुकै दिन' आक्रमण हुन सक्ने बताएका थिए; यसमा हामी जवाफ दिन सक्छौं, 'अनि तपाईं जति बढी एक्लो बन्दै जानुहुन्छ, त्यस्तो हुने वास्तविक सम्भावना त्यति नै बढी हुन्छ।'

भेनेजुएलाले अब क्युबालाई मद्दत गर्न सक्दैन, किनकि उसले मुस्किलले आफूलाई धानिरहेको छ। यदि साम्राज्यले विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भेनेजुएलालाई त आफ्नो नियन्त्रणमा राख्न सक्यो भने, त्यो स्रोत नभएको एउटा सानो देशको के आशा बाँकी रहन्छ र? तैपनि यस क्षेत्रका सरकारहरू यसबाट सही निष्कर्ष निकाल्न असफल भइरहेका छन्। घेराबन्दी तोड्न एकजुट हुनुको सट्टा, उनीहरू तितरबितर भइरहेका छन्, एक्लाएक्लै सम्झौता गरिरहेका छन् र एकपछि अर्को ढल्दै गइरहेका छन्।

भेनेजुएलाको मामला सबैभन्दा पीडादायी छ, किनकि यसले क्षेत्रीय ऐक्यबद्धताको मेरुदण्ड मानिएको एउटा परियोजनाकै विघटनलाई प्रतिनिधित्व गर्दछ। आज, भेनेजुएला व्यवहारिक रूपमा अमेरिकाको भू-राजनीतिक निर्णयहरूको अधीनमा छ। चरम प्रतिबन्धहरूको प्रणाली र वास्तवमै बन्धक जस्तै बनाइएको मादुरो र सिला फ्लोरेसको अवस्थाले आफ्नो उद्देश्य पूरा गरेको छ: भेनेजुएला राज्यलाई घुँडा टेक्न बाध्य पार्नु, उसलाई कमजोरीको स्थितिबाट सम्झौता गर्न लाचार बनाउनु र उसको अन्तर्राष्ट्रिय प्रभावको क्षमतालाई संकुचित गर्नु। भेनेजुएलाले अब क्युबालाई मद्दत गर्न सक्दैन, किनकि उसले मुस्किलले आफूलाई धानिरहेको छ। यदि साम्राज्यले विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भेनेजुएलालाई त आफ्नो नियन्त्रणमा राख्न सक्यो भने, त्यो स्रोत नभएको एउटा सानो देशको के आशा बाँकी रहन्छ र? तैपनि यस क्षेत्रका सरकारहरू यसबाट सही निष्कर्ष निकाल्न असफल भइरहेका छन्। घेराबन्दी तोड्न एकजुट हुनुको सट्टा, उनीहरू तितरबितर भइरहेका छन्, एक्लाएक्लै सम्झौता गरिरहेका छन् र एकपछि अर्को ढल्दै गइरहेका छन्।

https://links.org.au/

कुनै समय क्युबाली ऐक्यबद्धताबाट लाभान्वित भएका केही साना देशहरू– जसका गाउँहरूमा क्युबाली डाक्टरहरू खटिएका थिए, विद्यालयहरूमा शिक्षकहरू थिए र विपद्का बेला सहायता टोलीहरू पुगेका थिए– अहिले क्युबालाई नै नकार्दै उसैबाट टाढा भइरहेका छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा यसलाई 'ब्यान्डवागनिङ' (bandwagoning) भनिन्छ। यो कमजोर पात्रहरूले आफ्नो ऐतिहासिक परोपकारी शक्ति कमजोर हुँदै गएको महसुस गर्दा सबैभन्दा बलियो शक्तिसँग लहसिने प्रवृत्ति हो। यो एक क्रूर तर अनुमानयोग्य तर्क हो।

क्युबालाई पिठ्युँ फर्काएर उनीहरूले ऐक्यबद्धताको त्यही एकमात्र तानाबानालाई ध्वस्त पार्न मद्दत गरिरहेका छन्, जसले भोलि उनीहरूको पालो आउँदा उनीहरूलाई जोगाउन सक्थ्यो। यो 'म आफैं जोगिन्छु' भन्ने यस्तो आत्मकेन्द्रित सोच हो, जसले अन्ततः 'हामी सबै सँगै डुब्छौं' भन्ने स्थितिमा पुऱ्याउँछ। जसले एक्लै जोगिने बाटो रोज्छ, ऊ अन्ततः एक्लो पर्छ र त्यसपछि पराधीन हुन पुग्छ।

उनीहरूले के बुझ्न असफल भइरहेका छन् भने, उनीहरूको दीर्घकालीन अस्तित्व 'मालिक' लाई खुसी पार्नमा होइन, बरु एउटा सार्वभौम क्षेत्रीय पारिस्थितिकी प्रणालीको अस्तित्वमा निर्भर गर्दछ। क्युबालाई पिठ्युँ फर्काएर उनीहरूले ऐक्यबद्धताको त्यही एकमात्र तानाबानालाई ध्वस्त पार्न मद्दत गरिरहेका छन्, जसले भोलि उनीहरूको पालो आउँदा उनीहरूलाई जोगाउन सक्थ्यो। यो 'म आफैं जोगिन्छु' भन्ने यस्तो आत्मकेन्द्रित सोच हो, जसले अन्ततः 'हामी सबै सँगै डुब्छौं' भन्ने स्थितिमा पुऱ्याउँछ। जसले एक्लै जोगिने बाटो रोज्छ, ऊ अन्ततः एक्लो पर्छ र त्यसपछि पराधीन हुन पुग्छ। अन्त्यमा, मृत्यु त उनीहरूका लागि पनि निश्चित नै छ, तर त्यो अरूसँग मिलेर लडेको गौरवबिहिन एउटा नितान्त एक्लो र टिठलाग्दो मृत्यु हुनेछ।

आत्मनिर्भरताको भ्रम: एउटा संकथनीय पासो

यही पृष्ठभूमिमा, उदारवादीहरूको आपत्ति र कहिलेकाहीँ त वामपन्थीहरूकै केही तप्काको टिप्पणी पनि अनुमान गरे जस्तै सुनिन्छ: अरूको मुख किन ताक्ने? के क्युबा आफ्नै खुट्टामा उभिन सक्नु पर्दैन र? यो प्रश्नको भ्रमलाई पूर्ण रूपमा चिर्नु आवश्यक छ, किनकि यसले एउटा यस्तो वाक्पटुताको जालको काम गर्छ जसले नाकाबन्दीको हिंसालाई सामान्यीकरण गर्छ र सारा दोष पीडितमाथि नै थुपारिदिन्छ।

चीन आत्मनिर्भर छैन; ऊ अफ्रिका र ल्याटिन अमेरिकाका कच्चा पदार्थहरूमा तथा आफ्नो औद्योगिक अतिउत्पादनका लागि विश्वव्यापी बजारहरूमा निर्भर छ। रूस आत्मनिर्भर छैन; ग्यास पाइपलाइनहरू र उसको सैन्य प्रविधि खरिद गर्न तयार ग्राहकहरू विना उसको ऊर्जा क्षमता निष्प्रभावी बन्न पुग्छ।

समकालीन विश्व व्यवस्थामा 'पूर्ण आत्मनिर्भरता' एउटा भ्रम मात्र हो। कुनै पनि देश आफैंमा एउटा अलग्गै टापु होइन; टापुहरू पनि एकापसमा जोडिएका हुन्छन्। अमेरिका पनि आफ्नै खुट्टामा मात्र उभिएको छैन; ऊ सैन्य बेसहरूको विश्वव्यापी सञ्जालमा, ब्रेटन वुड्स  सम्झौता र आफ्ना युद्धपोतहरूको दबाबमार्फत विश्वमाथि जबर्जस्ती लादिएको रिजर्भ मुद्रा 'डलर' मा, र आफूले व्यवस्थित रूपमा शोषण गर्ने आपूर्ति शृङ्खलाहरूमा निर्भर छ। चीन आत्मनिर्भर छैन; ऊ अफ्रिका र ल्याटिन अमेरिकाका कच्चा पदार्थहरूमा तथा आफ्नो औद्योगिक अतिउत्पादनका लागि विश्वव्यापी बजारहरूमा निर्भर छ। रूस आत्मनिर्भर छैन; ग्यास पाइपलाइनहरू र उसको सैन्य प्रविधि खरिद गर्न तयार ग्राहकहरू विना उसको ऊर्जा क्षमता निष्प्रभावी बन्न पुग्छ।

अन्तर्राष्ट्रिय प्रणालीमा परनिर्भरता कुनै अपवाद होइन; यो त यसको संरचनात्मक नियम नै हो। केवल परनिर्भरताको प्रकार र त्यसभित्र निर्माण गर्न सकिने स्वायत्तताको मात्रा मात्र फरक हुने हो। लक्जमबर्ग जस्तो देशले उच्च जीवनस्तरको उपभोग गरिरहेको छ किनभने ऊ साम्राज्यवादी गुटको केन्द्रमा बाँधिएको छ। अर्कोतर्फ, क्युबा जस्तो देशले साम्राज्यवादको नाकाबन्दी खेपेर पनि जीवित रहनु परेको छ। त्यसैले, सही प्रश्न त यो हुनुपर्छ कि– क्युबासँग मात्रै किन यस्तो स्तरको आत्मनिर्भरताको माग गरिन्छ जुन अरू कसैसँग गरिँदैन? यो असमान माग नियतवश गरिएको हो; यो एउटा यस्तो कायरतापूर्ण वाक्पटुताको जाल हो जसले यस टापु राष्ट्रलाई अस्तित्वगत रूपमै असम्भव स्थितिमा पुऱ्याउँछ, र पछि त्यही असम्भवतालाई उसको असफलताको प्रमाणका रूपमा पेश गर्दछ।

क्युबा पनि एउटा यस्तो भाषाको चक्रव्यूहमा फसेको छ, जहाँ उसले प्रतिरोध गरे उसलाई 'तानाशाही' भनिन्छ, उसले सम्झौता गरे 'साम्राज्यवादी ब्ल्याकमेलको सिकार' भनिन्छ, र उसले सहयोग मागे असफल राज्यको दर्जा दिइन्छ।

क्युबामाथि एक प्रकारको 'डबल बाइन्ड' (दुवै तर्फबाट उम्किन नसकिने मानसिक पासो) थोपरिएको छ: जहाँ पीडितलाई एउटा यस्तो सर्तको अधीनमा राखिन्छ जसलाई उसले कहिल्यै पूरा गर्न सक्दैन, र पछि त्यही सर्त पूरा गर्न नसकेकोमा उसैलाई दोषी ठहऱ्याइन्छ। यस 'डबल बाइन्ड' मा फसेको एउटा मनोरोगी व्यक्ति उम्कन सक्दैन, किनभने त्यो पासो उसलाई सम्बोधन गर्न प्रयोग गरिने भाषाभित्रै बुनिएको हुन्छ। क्युबा पनि एउटा यस्तो भाषाको चक्रव्यूहमा फसेको छ, जहाँ उसले प्रतिरोध गरे उसलाई 'तानाशाही' भनिन्छ, उसले सम्झौता गरे 'साम्राज्यवादी ब्ल्याकमेलको सिकार' भनिन्छ, र उसले सहयोग मागे असफल राज्यको दर्जा दिइन्छ। 'मालिकको भाष्य' भित्र यसबाट उम्कने कुनै बाटो नै छैन, किनकि मालिकको भाष्य बाटो देखाउनका लागि होइन, बरु धरापमा पार्नका लागि मात्र बुनिएको हुन्छ।

साम्राज्यको कार्यपद्धति: सम्झौता, दमन र दोषारोपण

हामीले माथि उल्लेख गरेका घटनाहरू शून्यमा घटेका होइनन्। यो आत्मसमर्पण गर्न अस्वीकार गर्ने सार्वभौम पात्रहरूसँगको वार्तामा अमेरिकी साम्राज्यवादले प्रयोग गर्ने एउटा स्थापित कार्यपद्धतिको हिस्सा हो। यसको ऐतिहासिक पटकथा अपरिवर्तित छ र यसलाई सामान्य फेरबदलसहित लागू गरिन्छ।

पहिलो, वार्ताको टेबललाई एउटा जालको रूपमा प्रयोग गरिन्छ। उनीहरू सम्झौतामा पुग्नका लागि होइन, बरु समय घर्काउनका लागि वार्तामा बस्छन्। जब अर्को पक्षले कूटनीतिक मार्गमा आफ्नो आशा टिकाइरहेको हुन्छ अर्थात् जब पीडित पक्षले अर्को पक्ष (साम्राज्य) लाई फकाउन सकिन्छ भन्ने विश्वास गरिरहेको हुन्छ त्यही समयमा साम्राज्यले भने प्रतिबन्धहरू थप्न, आन्तरिक विपक्षीहरूलाई बलियो बनाउन र आफ्नो पृष्ठभूमि तयार पार्न जारी राख्छ। यो ठ्याक्कै त्यही व्यवहार हो जसलाई लाकाँले 'विकृत' (perverse) भनी परिभाषित गर्थे: एउटा यस्तो आश्वासन, जसले सम्बन्धको संरचना नै परनिर्भरतालाई निरन्तरता दिनका लागि मात्र तयार पारेको हुन्छ।

यो संयन्त्र आफ्नो तर्कमा निकै दुराशयपूर्ण छ: तपाईं जति बढी झुक्नुहुन्छ, तपाईंले त्यति नै बढी झुक्नुपर्ने हुन्छ। यसरी वार्ता भनेको सार्वभौमिकतालाई बिस्तारै खोक्रो बनाउँदै लैजाने एउटा प्रक्रिया बन्न पुग्छ।

दोस्रो, एकतर्फी सम्झौताका लागि दबाब दिइन्छ। साम्राज्यले कहिल्यै पनि इमानदार नियतका साथ वार्ता गर्दैन; उसले सधैं निरपेक्ष शक्तिको स्थितिबाट वार्ता गर्छ। उसले सुरुमा अर्को पक्षले नै घुँडा टेक्नुपर्ने, परिवर्तनका लागि तत्परता देखाउनुपर्ने र सद्भावको रूपमा आफ्ना रक्षात्मक संरचनाहरू भत्काउनुपर्ने माग राख्छ। कमजोर पक्षले गर्ने प्रत्येक सम्झौता वा लचकतालाई उसको अझ बढी कमजोरीको सङ्केतका रूपमा बुझिन्छ र दबाबलाई झन् बढाइन्छ। यो संयन्त्र आफ्नो तर्कमा निकै दुराशयपूर्ण छ: तपाईं जति बढी झुक्नुहुन्छ, तपाईंले त्यति नै बढी झुक्नुपर्ने हुन्छ। यसरी वार्ता भनेको सार्वभौमिकतालाई बिस्तारै खोक्रो बनाउँदै लैजाने एउटा प्रक्रिया बन्न पुग्छ।

तेस्रो, यदि उनीहरूले चाहेको कुरा प्राप्त भएन भने, उनीहरू आक्रमण गर्छन् वा ध्वस्त पारिदिन्छन्। जब संवादले पूर्ण आत्मसमर्पण गराउन असफल हुन्छ, तब उनीहरू अर्को चरणमा प्रवेश गर्छन्: प्रत्यक्ष आक्रमण जस्तै पनामा, ग्रेनाडा र इराक; सैन्य कू वा सत्ता विप्लव जस्तै होन्डुरस, २००९ र बोलिभिया, २०१९; कम तीव्रताको छद्म युद्ध जस्तै १९८० को दशकमा निकारागुआ; वा व्यवस्थित आर्थिक विनाश जस्तै क्युबा, भेनेजुएला र इरान। कुटनीति त केवल आक्रमण अघिको एउटा भूमिका मात्र हो।

सद्भावका साथ क्युबालाई वासिङ्टनसँग वार्ता गर्न आग्रह गर्नेहरू यो स्थापित चक्र वा ढाँचा) बाट अनभिज्ञ छन्। क्युबालाई वार्ताको टेबलमा संवाद गर्नका लागि होइन, बरु सम्भव भएसम्म सबैभन्दा प्रतिकूल सर्तहरूमा आत्मसमर्पण गराउनका लागि धकेलिँदै छ।

युद्धको हतियारका रूपमा मानवीय संकट

आज क्युबा पुगिरहेको मानवीय सहायता– जस्तै खाद्यान्न, औषधि र जेनरेटरहरूको आपूर्ति– तात्कालिक पीडा कम गर्नका लागि अत्यन्त महत्त्वपूर्ण छ। तर राजनीतिक सन्दर्भमा भन्नुपर्दा, यसले एउटा यस्तो पिडा कम गर्ने उपायको काम गर्छ । जसले संकटको राजनीतिक गम्भीरतालाई नै ओझेलमा पार्ने जोखिम निम्त्याउँछ। यो कोमामा रहेको बिरामीलाई जडान गरिएको 'भेन्टिलेटर' जस्तै हो, जसले बिरामीलाई जीवित त राख्छ तर कोमामा पुऱ्याउने मूल चोट वा रोगलाई निको पार्दैन। बिरामीलाई संरचनात्मक शल्यक्रियाको आवश्यकता छ, संकटपूर्ण अवस्थालाई लम्ब्याइरहनु मात्र समाधान होइन।

नाकाबन्दी कुनै सामान्य प्रतिबन्ध मात्र होइन; यो त भित्रैबाट विस्फोट गराउने उद्देश्यले रचिएको एउटा संघर्षणको संयन्त्र हो। वित्तीय र ऊर्जा घेराबन्दीलाई नतोडीकन मानवीय सहायता उपलब्ध गराउनु भनेको त्यो जतिसुकै मूल्यवान् भए तापनि दुश्मनको प्रहारबाट प्वाल परेको जहाजबाट पानी बाहिर फ्याँक्नु जस्तै हो।

त्यो प्वाल स्थायी रहिरहन्छ, र पानी फ्याँक्ने काम थकावटपूर्ण मात्र हुन्छ। नाकाबन्दीको रणनीतिक उद्देश्य– जसलाई सैन्य शब्दावलीमा 'चौथो पुस्ताको युद्ध' (fourth-generation warfare) वा 'निसास्याएर गरिने सत्ता परिवर्तन' (regime change by suffocation) भनिन्छ– राज्यलाई आफ्ना जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्षमताबाटै वञ्चित गराउनु हो, ताकि जनता स्वयंले आफ्नै सरकारलाई ढाल्न बाध्य हुन्। यस रणनीतिमा कुनै पनि कुरा संयोगवश भएको होइन: यो नियोजित, दस्ताबेजीकरण गरिएको र विगत छ दशकभन्दा बढी समयदेखि विभिन्न तीव्रताका साथ लागू गरिँदै आएको क्रूर यथार्थ हो।

जहाँ दुश्मनलाई एकै प्रहारमा सिध्याउने आनन्द होइन, बरु उसलाई बिस्तारै क्षय हुँदै गएको हेर्ने र उसको जीवनलाई 'प्रतिरोधले केवल पीडा मात्र निम्त्याउँछ' भन्ने निरन्तरको प्रमाणमा बदल्ने आनन्द लुकेको हुन्छ। यो स्वीकार गर्न मलाई निकै पीडा हुन्छ, तर नाकाबन्दीको सबैभन्दा ठूलो क्रूरता यसको शक्तिमा होइन, यसको मन्द गतिमा छ।

ब्ल्याकआउट केवल उज्यालोको अभाव मात्र होइन; यो त डरको एउटा पाठ (pedagogy of fear) हो, जुन मालिकले दिनहुँ सिकाइरहन्छ। बिजुलीविना बितेको प्रत्येक घण्टा, खाद्यान्नका लागि लाग्ने प्रत्येक लाम, र औषधि-उपकरणको अभाव झेलिरहेका प्रत्येक चिकित्सकले प्रतिरोधको कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने कुराको सम्झना गराइरहन्छन्। यो शक्तिको सबैभन्दा क्रूरतम रूपको उपभोग हो । जहाँ दुश्मनलाई एकै प्रहारमा सिध्याउने आनन्द होइन, बरु उसलाई बिस्तारै क्षय हुँदै गएको हेर्ने र उसको जीवनलाई 'प्रतिरोधले केवल पीडा मात्र निम्त्याउँछ' भन्ने निरन्तरको प्रमाणमा बदल्ने आनन्द लुकेको हुन्छ। यो स्वीकार गर्न मलाई निकै पीडा हुन्छ, तर नाकाबन्दीको सबैभन्दा ठूलो क्रूरता यसको शक्तिमा होइन, यसको मन्द गतिमा छ।

'असफल राज्य' को भाष्य, वा पीडित नै सधैं दोषी हुन्छ भन्ने भ्रम

, अब हामी यस सम्पूर्ण खेलको सबैभन्दा विकृत पक्षमा आइपुग्छौं: एउटा यस्तो भाष्यको निर्माण, जसले कार्यकारण सम्बन्ध लाई नै उल्टाइदिन्छ।

साम्राज्यले केवल विनाश मात्र गर्दैन; उसले त्यो विनाशलाई न्यायोचित वा अपरिहार्य देखाउनका लागि एउटा संकथनीय ढाँचा पनि तयार पार्छ।

एउटा यस्तो राज्य– जसलाई खाद्यान्न, औषधि, इन्धन र स्पेयर पार्ट्स आयात गर्ने क्षमताबाट वञ्चित गरिएको छ; जसको अन्तर्राष्ट्रिय वित्तलाई अवरुद्ध गरिएको छ; जसलाई ऋण लिनबाट रोकिएको छ; जुन राज्य मिडिया युद्धको सिकार भएको छ; र जसले आफूले चाहेको राष्ट्रसँग व्यापार गर्दा सजाय भोग्नुपर्छ। त्यो राज्यले स्वाभाविक रूपमा सामान्य कार्यसञ्चालनमा ठूलो कठिनाइको सामना गर्नुपर्ने नै हुन्छ। अनि, जब यी कठिनाइहरू प्रकट हुन्छन् जस्तै बिजुली कटौती, अभाव र बसाइँसराइ तब साम्राज्यवादी टोली र उनीहरूका स्थानीय प्रवक्ताहरू भन्छन्, 'हेर, यो त एउटा असफल राज्य हो; समाजवादले कामै गर्दैन।'

यसरी, बाह्य आक्रमणको परिणामलाई आन्तरिक असफलताको रूपमा प्रस्तुत गरिन्छ।

यहाँ कार्यकारण सम्बन्धलाई उल्टाइन्छ: नाकाबन्दी संकटको कारण होइन; बरु यो संकट त शासन व्यवस्था अक्षम छ भन्ने कुराको प्रमाण हो। यो ठ्याक्कै घरेलु हिंसा वा उत्पीडनको जस्तै तर्क हो: जहाँ पीडितको हात बाँधिन्छ, उसलाई घण्टौंसम्म कुटिन्छ, र पछि उसैमाथि आफ्नो रक्षा गर्न नसकेको आरोप लगाइन्छ। यस संयन्त्रको एउटा नाम छ: 'प्रक्षेपण' । आक्रमणकारीले आफूले गरिरहेको कृत्यको जिम्मेवारी पीडितमाथि नै प्रक्षेपण गरिदिन्छ; यसरी उनीहरू आफ्नो अपराधवोधलाई बाहिर पन्छाउँछन् र व्यवस्था एवं सभ्यताको आफ्नो छवि सग्लो राखिरहन्छन्।

यो एउटका यस्तो अवधारणा हो जसले आगामी दिनमा आउने 'हाइटीकरण' को बाटो खोल्छ। अर्थात्, यस टापु राष्ट्रलाई ह्रास र पतनको यस्तो अवस्थामा पुऱ्याउनु, जहाँ यो एउटा भयानक कुरुप रूपको प्रदर्शनी बनोस्; र सार्वभौम मार्ग रोज्ने आँट गर्नेहरूको कस्तो हविगत हुन्छ भन्ने कुराको एउटा स्थायी दृष्टान्त बनोस्।

'असफल राज्य' को वर्ग वा विधा केवल विवरणात्मक मात्र होइन; यो कृत्यात्मक छ। क्युबालाई असफल राज्यको बिल्ला भिराउनाले कुनै यथार्थ स्थापित गर्दैन ।बरु यसले एउटा यस्तो यथार्थको निर्माण गर्छ जसले उसलाई अलपत्र छोड्नुलाई र अन्ततः बाह्य हस्तक्षेप गर्नुलाई न्यायोचित ठहऱ्याउँछ। क्लाउडियो कात्जले भर्खरै भने जस्तै, यो एउटका यस्तो अवधारणा हो जसले आगामी दिनमा आउने 'हाइटीकरण' को बाटो खोल्छ। अर्थात्, यस टापु राष्ट्रलाई ह्रास र पतनको यस्तो अवस्थामा पुऱ्याउनु, जहाँ यो एउटा भयानक कुरुप रूपको प्रदर्शनी बनोस्; र सार्वभौम मार्ग रोज्ने आँट गर्नेहरूको कस्तो हविगत हुन्छ भन्ने कुराको एउटा स्थायी दृष्टान्त बनोस्।

यो सन्देश आफ्नो पारदर्शितामा निकै दुराशयपूर्ण छ: 'हेर, यदि तिमीले स्वतन्त्र हुने आँट गऱ्यौ भने तिम्रो अवस्था यस्तै हुनेछ।'

तर एउटा साँच्चिकै असफल राज्य ६५ वर्षको नाकाबन्दीसामु टिकिरहन सक्दैन। एउटा साँच्चिकै असफल राज्यमा शिशु मृत्युदर अमेरिकाको भन्दा कम हुँदैन। उसले संसारभरि मानिसको ज्यान जोगाउने डाक्टरहरू उत्पादन गर्दैन। उसले सर्वव्यापी शिक्षा प्रणाली, खोपहरू सहितको आफ्नै वैज्ञानिक क्षेत्र, वा एउटा जीवन्त संस्कृतिलाई धान्न सक्दैन। साम्राज्यले जसलाई 'असफल राज्य' भनिरहेको छ, त्यो वास्तवमा आक्रमणको चपेटामा परेको तर मर्न अस्वीकार गरिरहेको एउटा जीवन्त राज्य हो। असुविधाजनक सत्य यही हो। र, साम्राज्यको यो सारा आक्रोशको कारण पनि ठ्याक्कै यही नै हो। क्युबा वास्तवमा असफल भइरहेको छैन। क्युबा अडिग छ। र, उसको यो अडिगता साम्राज्यका लागि असह्य छ।

क्युबासँग अब के विकल्प बाँकी छन्?

नाकाबन्दीका यी आयामहरूको विश्लेषण गरिसकेपछि, एउटा प्रश्न अपरिहार्य बन्न पुग्छ: क्युबाको राजनीतिक नेतृत्वसँग वास्तवमा के विकल्पहरू छन् त? वा अझ स्पष्ट रूपमा भन्दा: उसका लागि के विकल्पहरू बाँकी छोडिएका छन्?

पहिलो विकल्प हो– निसासिँदो परिस्थितिमाझ वार्ता।

ऊर्जा र वित्तीय नाकाबन्दीलाई पहिले नतोडीकन आज वार्ताको टेबलमा बस्नु भनेको डूबिरहेको मानिसले सर्त स्वीकार गर्नु जस्तै हो, जसले एक सास ताजा हावाका लागि जस्तोसुकै कडा सर्तमा पनि ल्याप्चे लगाउन तयार हुन्छ। यसको परिणाम एउटा यस्तो सामान्यीकरण हुनेछ जसले क्रान्तिकारी परियोजनालाई बिस्तारै विघटन तर्फ लैजानेछ ।

 यो ती असल नियत भएका मानिसहरूहरूले दिने सुझाव हो जो क्युबाले अमेरिकासँग संवाद र वार्ता गरोस् भन्ने चाहन्छन्। तर आफ्नो घाँटीमा खुट्टाले थिचिराखेको साम्राज्यसँग वार्ता गर्नु संवाद होइन; यो त एक प्रकारको ससर्त आत्मसमर्पण हुन सक्छ। क्युबाले अनगिन्ती अवसरहरूमा ऐतिहासिक संवादका लागि तत्परता देखाएको छ, तर सधैं आत्मसम्मान र गरिमाको जगमा उभिएर। ऊर्जा र वित्तीय नाकाबन्दीलाई पहिले नतोडीकन आज वार्ताको टेबलमा बस्नु भनेको डूबिरहेको मानिसले सर्त स्वीकार गर्नु जस्तै हो, जसले एक सास ताजा हावाका लागि जस्तोसुकै कडा सर्तमा पनि ल्याप्चे लगाउन तयार हुन्छ। यसको परिणाम एउटा यस्तो सामान्यीकरण हुनेछ जसले क्रान्तिकारी परियोजनालाई बिस्तारै विघटन तर्फ लैजानेछ । जसरी बर्लिनको पर्खाल ढलेपछि पूर्वी युरोपमा भएको थियो। तर क्युबाको हकमा भने साम्राज्य मात्र ९० माइलको दूरीमा रहेको हुनाले यो झन् बढी घातक हुनेछ।

दोस्रो विकल्प हो– गौरवमय तर नितान्त एक्लो प्रतिरोध।

क्युबाले दशकौंदेखि पछ्याउँदै आएको बाटो यही हो: नयाँपन ल्याउने, प्रतिरोध गर्ने, छिद्रहरू खोज्ने र सम्बन्धहरूलाई विविधीकरण गर्ने। तर, स्रोतसाधनको प्रवाहलाई निरन्तरता दिन तयार 'समाजवादी गुट' अस्तित्वमा रहँदा जुन विकल्प सम्भव र व्यावहारिक थियो, आज त्यसले एउटा ठोस भौतिक सीमाको सामना गरिरहेको छ। बलियो रणनीतिक रक्षा-पङ्क्ति विनाको गौरवमय प्रतिरोध समयक्रममा छटपटी र मरणान्तक संर्घषमा परिणत हुन पुग्छ। यो क्युबाली जनताले आफ्नो इच्छाशक्ति गुमाएका कारण होइन, बरु केवल इच्छाशक्तिको बलले मात्र न त बिजुलीका टर्बाइनहरू घुम्छन्, न त पसलका र्याकहरू नै भरिन्छन्।

तेस्रो विकल्प त्यो हो जसलाई साम्राज्यले आफ्नो अनुकूल र इच्छित परिदृश्यका रूपमा परिकल्पना गरेको छ: आन्तरिक विस्फोट ।

अब कुनै रूपक वा उपमाहरू बाँकी छैनन्। कि त तेल पठाउनुपर्छ कि त निसास्याएर मर्न दिनुपर्छ। कि त जहाजहरू पठाउनुपर्छ कि त नाकाबन्दी सहनुपर्छ। यो कि त ठोस कदम चाल्ने समय हो, कि त अपराधको मतियार बन्ने।

यस्तो जनविद्रोह, जुन निरन्तरको पीडाको सञ्चयले सिर्जना गर्छ र जसलाई विदेशबाट पोषित विपक्षी सञ्जालहरूले थप उचाल्छन्; जसले अन्ततः मानवीय हस्तक्षेप वा पूर्व-सहमतिमा आधारित सत्ता परिवर्तनको बाटो खोल्नेछ। यो क्युबाका लागि कुनै विकल्प होइन; यो त उसका लागि थापिएको एउटा धराप मात्र हो।

चौथो विकल्प– जसले वास्तवमै यो खेलको दिशा बदल्न सक्छ– त्यो क्युबामाथि निर्भर छैन।

यो त क्युबालाई समर्थन गर्ने दाबी गर्नेहरू आफ्ना शव्दहरूलाई कर्ममा बदल्न कत्तिको तयार छन् भन्ने कुरामा निर्भर गर्दछ। यो उनीहरूले आवश्यक तेल पठाउने, जहाजहरू उपलब्ध गराउने, ती आपूर्तिहरूलाई सुरक्षा दिने र ठोस कदमहरू मार्फत वित्तीय नाकाबन्दी तोड्ने कुरामा निर्भर गर्दछ। क्युबालाई के आवश्यक छ भनेर सोध्ने र त्यसपछि सोही अनुरूप गरिदिने तत्परतामा यो निर्भर गर्दछ।

अब कुनै रूपक वा उपमाहरू बाँकी छैनन्। कि त तेल पठाउनुपर्छ कि त निसास्याएर मर्न दिनुपर्छ। कि त जहाजहरू पठाउनुपर्छ कि त नाकाबन्दी सहनुपर्छ। यो कि त ठोस कदम चाल्ने समय हो, कि त अपराधको मतियार बन्ने।

इतिहासका ती पाठहरू जसलाई संसारले बिर्सन रुचाउँछ

विस्मृति वा बिर्सनु भनेको कुनै निष्क्रिय कृत्य होइन। बिर्सनु आफैंमा एउटा सक्रिय कृत्य हो: कुनै यस्तो कुरालाई सचेत रूपमा दबाउनु वा बिर्सनु, जसलाई यदि सम्झिने हो भने हामीलाई फरक ढंगले कदम चाल्न बाध्य तुल्याउँछ। अन्तर्राष्ट्रिय समुदायले यस्ता ऐतिहासिक समानान्तरताहरूलाई बडो चलाखीपूर्वक बिर्सिदिन्छ, किनभने तिनलाई सम्झिनाले उसको वर्तमान ढोंगी अडानलाई कतै टेक्ने ठाउँ दिँदैन।

https://static.independent.co.uk/

आज क्युबाको रक्षा-पङ्क्ति नै वास्तवमा सिङ्गो संसारको रक्षा-पङ्क्ति हो भन्ने कुरा कसैले बुझेको देखिँदैन। सायद कोही-कोही क्युबालाई गाडिन बाँकी रहेको एउटा राजनीतिक लासका रूपमा देखिरहेका छन् र सोही अनुरूपको व्यवहार गरिरहेका छन्।

सन् १९४१ मा जब जर्मन ट्याङ्कहरू मस्कोको ढोकामै आइपुगेका थिए, तब अरूहरू कतिन्जेलसम्म कुनै प्रतिक्रिया नजनाई चुपचाप बसिरहेका थिए? भोलि उनीहरू तपाईंलाई नै सिध्याउन आउने छैनन् भन्ने के ग्यारेन्टी छ? आज क्युबाको रक्षा-पङ्क्ति नै वास्तवमा सिङ्गो संसारको रक्षा-पङ्क्ति हो भन्ने कुरा कसैले बुझेको देखिँदैन। सायद कोही-कोही क्युबालाई गाडिन बाँकी रहेको एउटा राजनीतिक लासका रूपमा देखिरहेका छन् र सोही अनुरूपको व्यवहार गरिरहेका छन्।

दशकौंसम्म अमेरिकाले ताइवानमा चाङ काई-शेकको शासनलाई पैसा, हतियार र नौसैनिक बेडामार्फत आड भरोसा दिइरह्यो, भलै चिनियाँ गृहयुद्धमा उसको पराजय निश्चित भइसकेको थियो। उनीहरूले त्यसो गरे किनभने ताइवान जनवादी गणतन्त्र चीनविरुद्ध लड्ने एउटा रणनीतिक युद्धपोत जस्तै थियो। अर्को शब्दमा भन्नुपर्दा, साम्राज्यले आफ्ना सहयोगीहरूलाई अन्तिमभन्दा अन्तिम क्षणसम्म पनि साथ दिन्छ, किनभने उसलाई राम्ररी थाहा छ कि आफ्ना मान्छेहरूप्रतिको वफादारी नै उसको शक्तिको पूर्वसर्त हो। तर क्युबाका सहयोगीहरू भने ठीक उल्टो गर्छन्: जब क्युबालाई समर्थन गर्दा लाग्ने राजनीतिक मूल्य, समर्थन नगर्दा हुने फाइदाभन्दा बढी हुन पुग्छ, तब उनीहरू क्युबालाई अलपत्र छोडिदिन्छन्।

आज क्युबाले सामना गरिरहेको परिस्थितिको सबैभन्दा सटीक समानान्तरता 'स्पेनिस गणतन्त्र' सँग मिल्न जान्छ। त्यो गणतन्त्र फासीवादविरुद्ध लडिरहेको थियो, तर पश्चिमी लोकतान्त्रिक देशहरू मुख्यतः फ्रान्स र बेलायतले हस्तक्षेप नगर्ने समितिमा हस्ताक्षर गरे जबकि अर्कोतर्फ जर्मनी र इटालीले फ्रान्कोका सेनाहरूलाई मद्दत गर्न आफ्ना सैनिक, विमान र तोपखाना पठाइरहेका थिए। अमेरिकाले भने आफ्नो तर्फबाट हतियार प्रतिबन्धलाई बढावा दियो। वास्तवमा, त्यो 'अहस्तक्षेप' त अपराधको मतियार बन्ने एउटा शिष्ट र आकर्षक नाम मात्र थियो। परिणामस्वरूप, गणतन्त्रलाई अलपत्र पारियो, निसास्याइयो र अन्ततः पराजित गरियो।

आज, केही प्रगतिशील सरकारहरू क्युबाप्रति ठ्याक्कै त्यही 'अहस्तक्षेप' को नीति अभ्यास गरिरहेका छन्, जबकि साम्राज्यले भने नाकाबन्दी मार्फत आफ्नो 'स्थायी हस्तक्षेप' जारी राखेको छ। इतिहासबाट कुनै पाठ सिकिएको छैन।

यसको परिणाम के भयो त? स्पेनले ४० वर्षसम्म फ्रान्कोको तानाशाही भोग्नुपऱ्यो। तर संसारले पनि यसको निकै ठूलो मूल्य चुकाउनुपऱ्यो: स्पेनमा फासीवादले जुन उन्मुक्तिका साथ विजय प्राप्त गर्यो, त्यसले नाजीवादको मनोबल झन् बढायो र अन्ततः दोस्रो विश्वयुद्धको विष्फोट गराउन मद्दत पुऱ्यायो। गणतन्त्रको त्यो परित्याग अञ्जानमा भएको थिएन; त्यो त विनाशकारी ऐतिहासिक परिणामहरू निम्त्याउने एउटा सचेत निर्णय थियो। आज, केही प्रगतिशील सरकारहरू क्युबाप्रति ठ्याक्कै त्यही 'अहस्तक्षेप' को नीति अभ्यास गरिरहेका छन्, जबकि साम्राज्यले भने नाकाबन्दी मार्फत आफ्नो 'स्थायी हस्तक्षेप' जारी राखेको छ। इतिहासबाट कुनै पाठ सिकिएको छैन। यसरी बिर्सने प्रवृत्ति निकै फलदायी भइदिन्छ, जसले इतिहासलाई पुनः दोहोरिने मौका दिन्छ।

साम्राज्यले बिर्सने कुरा: जनताले कहिल्यै हार मान्दैनन्

तैपनि, यस्तो निराशाजनक परिदृश्यका बीच एउटा यस्तो विपरीत पाटो पनि छ, जसलाई परम्परागत भू-राजनीतिक विश्लेषणले अक्सर कम आँक्ने गर्छ। क्युबासँग एउटा यस्तो शक्ति छ जसलाई कुनै पनि नाकाबन्दीले पूर्ण रूपमा निसास्याउन सक्दैन। ऊसँग राज्यहरूको होइन, बरु विश्वका तमाम जनताको समर्थन छ। ऊसँग ऐक्यबद्धताका यस्ता आन्दोलनहरू छन्, जसले प्रत्येक देशमा एकजुट भएर, सङ्गठित हुँदै क्युबाका लागि सहायता सामग्रीहरू तयार पार्छन्। यो संसारका ती लाखौं मानिसहरूको जीवन्त चेतना हो, जसलाई क्युबाले विश्वका लागि के-के दियो भन्ने राम्ररी थाहा छ र उनीहरू क्युबालाई चुपचाप भग्नावशेषमा परिणत हुन दिन कदापि तयार छैनन्।

राज्यहरूले हिसाबकिताब गर्छन्, मूल्य जोख्छन्, जोखिमको मूल्याङ्कन गर्छन् र प्रतिबन्धहरूको विचार गर्छन्। तर जनता जब सङ्गठित र सचेत हुन्छन्, तब उनीहरू आफ्नो दृढ विश्वासका आधारमा कदम चाल्छन्।

विश्वको अरू कुनै पनि देशसँग ऐक्यबद्धता आन्दोलनहरूको यस्तो विस्तृत, अनवरत र पुस्तान्तरणसम्म गहिरो जरा गाडिएको सञ्जाल छैन, जस्तो क्युबासँग छ।

अन्तरसरकारी ऐक्यबद्धता निकै कमजोर हुन्छ किनभने यो सरकारहरू, चुनावी चक्र र बदलिँदा गठबन्धनहरूमा निर्भर हुन्छ, ती गठबन्धनहरू, जुन अहिले निष्प्रभावी भइसकेका छन्। जनस्तरको ऐक्यबद्धता सङ्गठित हुन अलि ढिलो र कठिन त हुन्छ, तर जब यो जुर्मुराउँछ, तब यसको स्वरूप बिल्कुलै फरक हुन्छ: यसलाई न त अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रतिबन्ध लगाउन सक्छ, न त नेटोले नै तर्साउन सक्छ।

विश्वको अरू कुनै पनि देशसँग ऐक्यबद्धता आन्दोलनहरूको यस्तो विस्तृत, अनवरत र पुस्तान्तरणसम्म गहिरो जरा गाडिएको सञ्जाल छैन, जस्तो क्युबासँग छ। मानिसहरूको यो मानवीय तानाबाना नै क्युबाको एउटा यस्तो रणनीतिक सम्पत्ति हो, जुन कुनै पनि परम्परागत वासलातमा देखिँदैन।

विपरीत 'फिफ्थ कोलम’का रूपमा डायस्पोरा

पेन्टागनले एउटा यस्तो पक्षलाई बेवास्ता गरिरहेको देखिन्छ, जुन सायद उसको विश्लेषणात्मक मोडेलहरूमा अटाउँदैन। हालैका दशकहरूमा अमेरिकामा रहेका क्युबाली प्रवासीहरूको जनसाङ्ख्यिकीय बनावटमा ठूलो परिवर्तन आएको छ। सन् १९६० को दशकमा मियामी पुगेका क्युबालीहरू क्रान्तिबाट भागेका सम्भ्रान्त गोरा वर्गका मानिसहरू थिए। जसमा जग्गाजमिन जफत गरिएका जमिन्दारहरू, उच्च वर्गका पेशेवरहरू र भूतपूर्व बाटिस्टा शासनका आबद्ध व्यक्तिहरू थिए। तिनीहरू क्रान्तिविरुद्धका सबैभन्दा उग्र दबाब समूह, नाकाबन्दीका मुख्य संवाहक र कट्टर क्युबाली प्रवासीआन्दोलनका सामाजिक आधार थिए।

तर आज, अमेरिकामा रहेका बहुसंख्यक क्युबालीहरू हालैका दशकहरूमा आएका आर्थिक आप्रवासीहरू हुन्। तिनीहरू काठका साना डुङ्गा चढेर वा तेस्रो मुलुक हुँदै त्यहाँ आइपुगेका हुन्। जसका परिवार अझै पनि टापुमै छन्, जसको भावनात्मक र सांस्कृतिक सम्बन्ध अटुट छ, र जसको क्युबाको यथार्थप्रति धेरै सुक्ष्म एवं व्यावहारिक दृष्टिकोण छ।

यदि साम्राज्यले क्युबामाथि आक्रमण गर्ने दुस्साहस गऱ्यो भने, ती बमहरू उनीहरूकै गाउँठाउँमा, उनीहरूकै हजुरआमाहरू र उनीहरूकै दाजुभाइ-दिदीबहिनीहरूमाथि खस्नेछन्। के कसैले साँच्चिकै यो विश्वास गर्छ कि हजारौं क्युबाली-अमेरिकीहरू, तिनीहरूका छोराछोरी र नातिनातिनाहरूले यस्तो युद्धलाई उत्साहका साथ स्वागत गर्नेछन्?

राजनीतिक हिसाबकिताब यसको ठीक उल्टो छ: साम्राज्यले सामना गर्नुपर्ने कुरा मियामीमा रहेको आफ्नो समर्थक शक्ति होइन, बरु आफ्नै सिमानाभित्र रहेको एउटा 'फिफ्थ कोलम' , मालिककै पङ्क्तिभित्रबाट विद्रोह गर्न तयार रहेको एउटा समुदाय हुनेछ।

यहीँ निर एउटा विशुद्ध संस्थागत विश्लेषण चुक्न पुग्छ; किनकि त्यसले केवल चिसो वर्गीकरणका आधारमा काम गर्छ: जस्तै गठबन्धन, स्वार्थ र स्रोतसाधन। यी वर्गीकरणहरूबाट जे कुरा उम्किन्छ, त्यो हो राजनीतिको 'लिबिडिनल' (libidinal - मनोवेग तथा भावनाजन्य) आयाम: जस्तै प्रेम, शोक र अपनत्व। जनता कुनै भू-राजनीतिक चर (variable) होइनन्। जनताको एउटी आमा हुन्छिन्। र जब बमहरू आमामाथि बर्सिन्छन्, तब सारा तार्किक हिसाबकिताबहरू पग्लिएर हराउँछन् र त्योभन्दा कता हो कता प्राचीन एवं शक्तिशाली भावना जागृत हुन्छ।

इरान र भियतनाम: असमान प्रतिरोधका पाठहरू

साम्राज्यवादका विरुद्ध इरानको गौरवमय प्रतिरोधले हामीलाई बाटो देखाएको छ: जहाँ एउटा व्यक्ति ढल्छ, त्यहाँ मातृभूमिको रक्षाका लागि हतियार उठाउन तयार सयौं मानिसहरू प्रकट हुन्छन्। यो कुनै ओठे भाषणबाजी होइन; यो त एउटा यस्तो समाजको यथार्थ चित्रण हो जसले राष्ट्रको रक्षालाई आफ्नो अकाट्य मूल्यका रूपमा आत्मसात गरिसकेको छ, जसले प्रतिरोधलाई डरभन्दा पनि बलियो एउटा सामूहिक पहिचान बनाएको छ।

क्युबाको त्यही स्वभावगत डीएनए छ: यो हतियारबद्ध रहेको एउटा राष्ट्र हो, कुनै अनिवार्य सैनिक भर्तीका कारणले होइन, बरु ६५ वर्षको घेराबन्दीले भट्टीमा गालेर तयार पारेको ऐतिहासिक चेतनाका कारणले हो।

युद्धहरू भूभाग कब्जा गरेर जितिँदैनन्; युद्ध त आक्रमणकारीको राजनीतिक इच्छाशक्तिलाई गलाएर जितिन्छन्।

भियतनामले हामीलाई के सिकाएको छ भने, युद्धको फैसला केवल सैन्य मोर्चामा मात्र हुँदैन। सन् १९६८ को 'टेट अफेन्सिभ' भियत कङ र उत्तर भियतनामी सेनाका लागि एक रणनीतिक पराजय थियो, जसका कारण उनीहरूले ठूलो क्षति ब्यहोर्नुपऱ्यो र कब्जा गरेका स्थानहरूलाई टिकाइराख्न सकेनन्। तर राजनीतिक रूपमा भने यो एक रणनीतिक विजय थियो: यसले उनीहरू दक्षिण भियतनामी सत्ताको केन्द्रबिन्दु लगायत देशको जुनसुकै स्थानमा पनि आक्रमण गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरिदियो, 'युद्ध जित्न लागिएको छ' भन्ने वासिङ्टनको भाष्यलाई ध्वस्त पारिदियो। त्यसपछि, युद्धप्रतिको अमेरिकी जनताको विश्वास डगमगाउन थाल्यो।

युद्धहरू भूभाग कब्जा गरेर जितिँदैनन्; युद्ध त आक्रमणकारीको राजनीतिक इच्छाशक्तिलाई गलाएर जितिन्छन्। अनि जनमत र आवधिक निर्वाचन हुने उदारवादी लोकतन्त्रहरूमा, त्यो इच्छाशक्तिको सीमा बाकसमा भित्रिने लासहरू र राष्ट्रपतिको लोकप्रियता सूचकांक  को आधारमा मापन गर्न सकिन्छ। क्युबाले पनि आफ्नो जटिल भूगोल र क्षेत्रीय प्रतिरक्षाका लागि दशकौंदेखि प्रशिक्षित जनताको बलमा ठ्याक्कै त्यस्तै परिदृश्य दोहोऱ्याउन सक्छ।

क्युबामाथिको आक्रमण ग्रेनाडा जस्तो कुनै 'सर्जकल अपरेसन' हुने छैन, न त पनामा जस्तो सहज नै हुनेछ। यो त वर्षौंसम्म लम्बिने एउटा रक्तपातपूर्ण र दलदल जस्तै हुनेछ, जसले हजारौं अमेरिकीहरूको ज्यान लिनेछ।

निवारक एकान्तवासको विरोधाभास: सामूहिक मृत्युबाट बच्न एक्ल मृत्यु रोज्नु

यस बिन्दुमा आइपुगेर, हामीले त्यो अन्तर्निहित संयन्त्रको परीक्षण गर्नैपर्छ जसका कारण एकध्रुवीय व्यवस्थालाई चुनौती दिनुपर्ने शक्तिहरूले समेत क्युबालाई अलपत्र छोडिरहेका छन्। यसको स्पष्ट जवाफ त नाफा-घाटाको हिसाबकिताबमा देखिन्छ। क्युबालाई समर्थन गर्दा 'द्वितियक प्रतिबन्धहरू' (secondary sanctions), वासिङ्टनसँगको तनाव र व्यापारिक जोखिम जस्ता मूल्य चुकाउनुपर्छ। तर यो व्याख्या मात्र पर्याप्त छैन, किनकि क्युबालाई यसरी अलपत्र छोड्नु केवल तार्किक कदम मात्र होइन; यसमा एक प्रकारको सन्तुष्टि र राहतको भावना पनि जोडिएको छ, जसमाथि सायद केवल मनोविश्लेषणले मात्र प्रकाश पार्न सक्छ।

अन्तर्राष्ट्रिय राजनीतिमा पनि एउटा यस्तो संयन्त्र अवस्थित हुन्छ, जसलाई फ्रायडले व्यक्तिको सन्दर्भमा 'मृत्युको आवेग' (death drive) भनी वर्णन गरेका छन्: अर्थात् आत्मविनाश तर्फको झुकाव, जीवनकै मूल्य चुकाएर भए पनि एउटा अचलता वा सुन्यताको स्थितिमा फर्कने चाहना।

क्युबालाई एक्लो छोड्नु भनेको एउटा फरक र न्यायपूर्ण संसार बन्न सक्ने सम्भावनालाई नै तिलाञ्जली दिनु हो। यो, वास्तवमा, 'मालिकको व्यवस्था' नै एक मात्र सम्भव व्यवस्था हो र वैश्विक पुँजीवाद नै इतिहासको अकाट्य र अन्तिम सीमा हो भन्ने कुरालाई स्वीकार गर्नु हो।

जसले क्युबालाई अलपत्र छोडिरहेका छन्, उनीहरूले केवल आफ्नो स्वार्थको हिसाबकिताब मात्र गरिरहेका छैनन्; बरु उनीहरूले एक अर्थमा रूपान्तरणका लागि आफ्नो भित्री चाहनाकै परित्याग गरिरहेका छन्। क्युबालाई एक्लो छोड्नु भनेको एउटा फरक र न्यायपूर्ण संसार बन्न सक्ने सम्भावनालाई नै तिलाञ्जली दिनु हो। यो, वास्तवमा, 'मालिकको व्यवस्था' नै एक मात्र सम्भव व्यवस्था हो र वैश्विक पुँजीवाद नै इतिहासको अकाट्य र अन्तिम सीमा हो भन्ने कुरालाई स्वीकार गर्नु हो।

यस परित्यागभित्र हर्बर्ट मार्कुसले 'दमनकारी वि-उदात्तीकरण' (repressive desublimation) भनेको कुरा लुकेको छ, जसले कुनै पनि पात्रलाई सानासाना सन्तुष्टिहरूको प्रलोभन देखाएर व्यवस्थाभित्रै समाहित गराइदिन्छ र उसको क्रान्तिकारी वा आमूल परिवर्तनकारी चेतलाई निष्प्रभावी बनाइदिन्छ। ल्याटिन अमेरिकाका प्रगतिशील सरकारहरू, ब्रिक्स शक्तिहरू, युरोपेली वामपन्थी दलहरू, र आज आँखा चिम्लिरहेका ऐक्यबद्धताका सङ्गठनहरू, यी सबैले कुनै न कुनै रूपमा यसै व्यवस्थाभित्र आफ्नो लागि एउटा सुरक्षित र सहज स्थान फेला पारिसकेका छन्। उनीहरूले व्यवस्थाबाट आफ्नो पहिचानको हिस्सा, सुरक्षित मतभेद प्रकट गर्ने ठाउँ र अनुमति प्राप्त सांकेतिक हाउभाउहरू सुनिश्चित गरिसकेका छन्। अनि यसै प्रक्रियामा, उनीहरूले क्युबालाई आफू भोलि कस्तो बन्न सक्थ्यौं भन्ने 'ऐना' को रूपमा हेर्न छोडिसकेका छन्; बरु उनीहरू आज क्युबालाई आफू के हुनबाट चुकेका छौं भन्ने एउटा असहज अनुस्मारकका रूपमा हेर्न पुगेका छन्।

क्युबाले उनीहरूलाई सोध्छ, "तपाईंहरुले ठ्याक्कै कुन क्षणमा संघर्षभन्दा पुँजीवादी सामान्यीकरणलाई  श्रेयस्कर ठहऱ्याउनुभयो?"ठ्याक्कै कुन क्षणमा  तपाईंहरुले क्षणमा आशाको त्याग्नुभयो?

किनभने क्युबाले हामीलाई चुनौती दिन्छ: वास्तवमा यही कुरा सबैका लागि असह्य बनेको हो। क्युबा एउटा असफलता हो भन्ने कुरा असह्य भएको होइन, बरु यो त ती सबैका लागि एउटा निरन्तर उभिरहने प्रश्न हो। जसले कुनै समय अर्को संसार सम्भव छ भन्ने विश्वास गरे र पछि त्यसको मूल्य निकै बढी हुने ठानेर पछि हटे। क्युबाले उनीहरूलाई सोध्छ, "तपाईंहरुले ठ्याक्कै कुन क्षणमा संघर्षभन्दा पुँजीवादी सामान्यीकरणलाई  श्रेयस्कर ठहऱ्याउनुभयो?"ठ्याक्कै कुन क्षणमा  तपाईंहरुले क्षणमा आशाको त्याग्नुभयो? यही प्रश्न नै नाकाबन्दी र क्युबालाई अलपत्र छोडिनुको अन्तर्निहित  कारण हो।

क्युबालाई अलपत्र छोडेर उनीहरूले आफ्नो अन्त्यलाई टारिरहेका छैनन्; उनीहरूले त केवल यसलाई केही समयका लागि पर धकेलेका मात्र हुन्। र उनीहरूले यो निश्चित गरिरहेका छन् कि जब उनीहरूको अन्त्यको समय आउनेछ, उनीहरूले आफूलाई पूर्ण रूपमा एक्लो पाउनेछन्। क्युबाको  चिहानको माटोले आफ्नो हात मैलो नबनाउने बहानामा उनीहरू वास्तवमा आफ्नै चिहान खनिरहेका छन्। किनभने, सामूहिक आँधीबेहरीका बीच जसले एक्लै जोगिने बाटो रोज्छ, ऊ अन्ततः एक्लो पर्छ र त्यसपछि पराधीन हुन पुग्छ। जब 'मालिक' ले एउटा भाइलाई सिध्याउँछ, तब ऊ रमिते बनेर हेरिरहेका अरू भाइहरूसँग शान्ति सम्झौता गर्दैन; बरु उनीहरूलाई आफ्नो अर्को पालोको सूचीमा थपिदिन्छ। उसलाई आफ्नो अस्तित्वलाई वैधता दिनका लागि सधैं नयाँ सिकारहरूको खाँचो परिरहन्छ।

रणनीतिक आवश्यकता र प्रतिष्ठाको कार्यका रूपमा ऐक्यबद्धता

यस विश्लेषणमा हामीले जे देख्यौं, त्यो केवल शृङ्खलाबद्ध रूपमा भएका केही एक्लाएक्लै  रणनीतिक त्रुटिहरू मात्र होइनन्; बरु यो त विश्वव्यापी प्रगतिशीलता भित्र उत्पन्न भएको भू-राजनीतिक र नैतिक चेतनाको एउटा गहिरो संकट हो। आज यो चेतना हराएर गएको छ कि ऐक्यबद्धता भनेको अनुकूल समयका लागि मात्र साँचेर राखिने कुनै नैतिक विलासिता होइन।  यो त एउटा रणनीतिक आवश्यकता हो, र साथै, विद्यमान व्यवस्थाको केवल व्यवस्थापन गर्नुभन्दा माथि उठेर केही फरक प्राप्त गर्ने आकांक्षा राख्ने राजनीतिक परियोजनाको वास्तविक परिभाषा पनि हो।

क्युबा केवल एउटा भूगोल मात्र होइन: यो त विश्वकै सबैभन्दा ठूलो शक्तिको दशकौंसम्मको घेराबन्दीको सामना गर्न र सर्वव्यापी स्वास्थ्य प्रणाली, निःशुल्क शिक्षा, एउटा विशिष्ट संस्कृति एवं अकाट्य गरिमालाई कायम राख्न सम्भव छ भन्ने कुराको जीवित प्रमाण हो।

क्युबालाई ध्वस्त पारेर साम्राज्यले कुनै सैन्य खतरालाई समाप्त पारिरहेको छैन; उसले त एउटा प्रमाणलाई नामेट पार्दैछ, एउटा दृष्टान्तलाई मेट्दैछ। ऊ केवल के प्रमाणित गर्न चाहन्छ भने, पुँजीवादी मापदण्डभन्दा बाहिर कुनै पनि जीवन सम्भव छैन।

यसले क्युबाली मोडेल उत्तम छ भनेर प्रमाणित गर्दैन। यसले त बरु के प्रमाणित गर्छ भने, वैश्विक पुँजीवादको विकल्प न त अराजकता हो, न त स्वतः प्राप्त हुने असफलता नै हो; बरु योभन्दा फरक र एउटा सुन्दर समाजको निर्माण गर्न सम्भव छ र त्यसका लागि लड्नु सार्थक छ। क्युबालाई ध्वस्त पारेर साम्राज्यले कुनै सैन्य खतरालाई समाप्त पारिरहेको छैन; उसले त एउटा प्रमाणलाई नामेट पार्दैछ, एउटा दृष्टान्तलाई मेट्दैछ। ऊ केवल के प्रमाणित गर्न चाहन्छ भने, पुँजीवादी मापदण्डभन्दा बाहिर कुनै पनि जीवन सम्भव छैन।

जसले क्युबालाई धोका दिन्छन्, उनीहरूले वास्तवमा आफैंलाई धोका दिइरहेका हुन्छन्। यो कुनै विम्वात्मक अर्थमा मात्र होइन, बरु रणनीतिक रूपमै सत्य हो। एउटा यस्तो विश्व व्यवस्था जसले आफूलाई बहुध्रुवीय दाबी त गर्छ, तर जब मालिकले आफ्नो पकड कसिलो बनाउँछ, तब आफ्नै सबैभन्दा कमजोर सदस्यहरूलाई जोगाउन असफल हुन्छ भने त्यो कुनै वैकल्पिक व्यवस्था होइन। त्यो त त्यही पुरानै प्रभुत्वको एउटा विकेन्द्रित विस्तार मात्र हो, एउटा यस्तो प्रणाली जहाँ बहुध्रुवीयता केवल वास्तविक एकध्रुवीयतालाई ढाक्ने एउटा सजावटी मुखौटो मात्र बन्न पुग्छ। क्युबालाई धोका दिएर उनीहरूले ग्लोबल साउथलाई यो सन्देश दिइरहेका छन्: 'यदि तिमीसँग तेल छैन वा हाम्रा लागि महत्त्वपूर्ण कुनै रणनीतिक भौगोलिक अवस्थिति छैन भने, हामीबाट कुनै आशा नराख।' दीर्घकालीन रूपमा, यस्तो अडानले उनीहरूलाई आफ्ना सच्चा सहयोगीहरूबाट विमुख गराउनेछ र उनीहरूलाई एउटा यस्तो संसारमा एक्लै छोडिदिनेछ जहाँ केवल पाशविक बलको मात्र महत्त्व हुन्छ। एउटा यस्तो संसार जहाँ उनीहरू स्वयं शक्तिशाली भए तापनि उत्तिकै असुरक्षित हुनेछन्।

क्युबालाई धोका दिएर उनीहरूले ग्लोबल साउथलाई यो सन्देश दिइरहेका छन्: 'यदि तिमीसँग तेल छैन वा हाम्रा लागि महत्त्वपूर्ण कुनै रणनीतिक भौगोलिक अवस्थिति छैन भने, हामीबाट कुनै आशा नराख।'

जब साम्राज्यले क्युबालाई हेर्छ, तब उसले एउटा यस्तो सानो टापु देख्छ जसलाई उसले विना कुनै ठूलो परिणाम सजिलै नाकाबन्दी गर्न र निसास्याउन सक्छ। तर उसले जे देख्दैन वा जे देख्न चाहँदैन त्यो के हो भने, यो टापु वास्तवमा एउटा विश्वव्यापी टेक्टोनिक फल्ट लाइन  माथि शान्त बसेको एउटा जीवित ज्वालामुखी हो।

क्युबा केवल यसको भूगोल मात्र होइन; यो यसको इतिहास हो, यसको दृष्टान्त हो र संसारको कुनै न कुनै कुनामा अझै पनि अर्को संसार सम्भव छ भन्ने विश्वास गरिरहेका लाखौं मानिसहरूको सपना हो। र, जबसम्म त्यो सपना जीवित रहन्छ, जबसम्म आफ्नो दैनिक प्रतिरोध मार्फत त्यस सपनालाई साकार पार्ने एउटा जनसमुदाय जीवित रहन्छ, तबसम्म 'मालिकको व्यवस्था' कहिल्यै पूर्ण हुन सक्ने छैन। त्यहाँ सधैं एउटा धाँजा वा दरार रहिरहनेछ। त्यहाँ सधैं एउटा यस्तो प्रश्न जीवित रहनेछ, जसको जवाफ मालिकसँग हुने छैन।

यदि साम्राज्यले भियतनामलाई बिर्सियो भने, इरानलाई बिर्सियो भने, र जनताले कहिल्यै हार मान्दैनन् भन्ने सत्यलाई भुलेर यस टापुमाथि आक्रमण गर्ने दुस्साहस गर्यो भने उसले थाहा पाउनेछ कि युद्धहरू युद्धपोतको भरमा मात्र जितिँदैनन्। आफ्नो ज्यानकै मूल्य चुकाएर भए पनि ' होइन भन्न सक्ने जनताको सामर्थ्यले नै अन्ततः विजय सुनिश्चित गर्छ। अनि क्युबाको त्यो 'होइन, जुन यस टापुभित्र र बाहिर रहेका लाखौं मानिसहरूको आवाज बनेर गुञ्जनेछ, त्यही नै साम्राज्यको चिहान बन्नेछ।

यसैबीच, अहिलेको लडाइँ भने अर्कै प्रकृतिको छ। यो दैनिक जीवनका लागि, उज्यालोका लागि, खाद्यान्नका लागि र आशाका लागि लडिने लडाइँ हो। अनि यस लडाइँमा, संसारका तमाम जनताको एउटा बलियो भूमिका छ। राज्यहरूको विकल्प बन्नका लागि होइन, बरु उनीहरूलाई कदम चाल्न बाध्य पार्नका लागि। इतिहासले सधैं न्याय गर्छ भन्ने कुरा उनीहरूलाई सम्झाउनका लागि। स्पेनिस गणतन्त्रलाई अलपत्र छोड्नेहरूमाथि इतिहासले सुनाएको फैसला निकै कठोर र दीर्घकालीन थियो।

जब मौनतालाई तोड्न सम्भव हुन्छ, तब मौन बस्नु एउटा सचेत छनौट हुन जान्छ। अनि हाम्रा छनौटहरूका आफ्नै परिणामहरू हुन्छन्।

क्युबाले आज ठोस कदमका लागि आह्वान गरिरहेको छ: आवश्यक तेल, जहाजहरू, सुरक्षा, वित्तीय नाकाबन्दीको अन्त्य, आफ्नो सामुद्रिक क्षेत्रको रक्षा र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा वास्तविक दबाब। क्युबालाई समर्थन गर्ने दाबी गर्नेहरूले उसलाई के आवश्यक छ भनी सोधुन् र सोही अनुरूप गरिदिऊन् भन्ने उसको माग छ। यो कुनै दान वा परोपकारका लागि गरिएको याचना होइन । यो त वैचारिक एकरूपता र इमानदारिताको माग हो। अब वक्तव्यबाजीहरू धेरै भए। निष्क्रियता लुकाउने बहानाका रूपमा पठाइने समर्थनका सन्देशहरू अब पर्याप्त भए।

यो अन्तिम प्रश्न क्युबाका लागि होइन। क्युबाले त ६७ वर्षको क्रान्ति मार्फत आफ्नो जवाफ दिइसकेको छ। यो प्रश्न त बाँकी विश्वका लागि हो। एउटा फरक विश्व व्यवस्थाको चाहना राखेको दाबी गर्नेहरूका लागि हो।

तपाईं कसको पक्षमा हुनुहुन्छ? राज्यहरूले कहिले निर्णय गर्लान् भनी पर्खनेहरूको पक्षमा, कि अहिले नै ठोस कदम चालिसकेकाहरूको पक्षमा?

ती तमामका लागि हो जसले ऐक्यबद्धताका घोषणापत्रहरूमा हस्ताक्षर गरे र केवल शुभकामनाका सन्देशहरू पठाए। ती शक्तिहरूका लागि हो जसकोमा तेल र जहाजहरू छन् तर पठाउँदैनन्, वा संयुक्त राष्ट्र संघमा जसको निर्णायक मत छ तर उनीहरू केवल तटस्थ बस्नका लागि मात्र त्यसको प्रयोग गर्छन्।

तपाईं कसको पक्षमा हुनुहुन्छ? राज्यहरूले कहिले निर्णय गर्लान् भनी पर्खनेहरूको पक्षमा, कि अहिले नै ठोस कदम चालिसकेकाहरूको पक्षमा? केवल समर्थनका सन्देशहरू पठाउनेहरूको पक्षमा, कि जहाजहरू पठाएर साम्राज्यवादका दुराशयहरू विरुद्ध सधैंका लागि दृढतापूर्वक उभिनेहरूको पक्षमा?

(जोसुए भेलोज सेरादे अर्जेन्टिनामा कार्यरत क्युबाली मनोवैज्ञानिक, निबन्धकार र अनुसन्धानकर्ता हुन्। उनले पिनार देल रियोस्थित 'युनिभर्सिटी अफ मेडिकल साइन्सेज' बाट मनोविज्ञानमा स्नातक र 'युनिभर्सिटी अफ हवाना' बाट क्लिनिकल मनोविज्ञानमा स्नातकोत्तरको उपाधि हासिल गरेका छन् । हाल उनी अर्जेन्टिनामा सामाजिक विज्ञान र मनोविज्ञानमा विद्यावारिधिको अनुसन्धान गरिरहेका छन्। उनी क्युबाको आलोचनात्मक चेतको जर्नल ला तिज्जा (La Tizza) को सम्पादक मण्डलका सदस्य हुनुका साथै 'जुआन मारिनेलो इन्स्टिच्युट' स्थित ग्राम्सी चेयर (Gramsci Chair) का सदस्य पनि हुन्।)

Source: https://www.cadtm.org/

अनुवादक- केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा अनुवादकको नाम, मूल लेखको स्रोत र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

–विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

–दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/