जर्दानो ब्रूनो: ब्रह्माण्डको अनन्तता खोज्ने विद्रोही चिन्तकको गाथा

नोलानोको कोखमा जन्मिएको विद्रोही आत्मा

एआइको सहयोगमा तयार चित्र

सोलहौँ शताब्दीको इटाली, जहाँ कला, साहित्य र विचारका नयाँ लहरहरू चलिरहेका थिए, त्यही समयमा चर्चको कठोर धार्मिक नियमहरूको अदृश्य तर कस्सिएको साङ्लोले समाजलाई बाँधिरहेको थियो। सन् १५४८ को जनवरी महिनामा नेपल्स नजिकैको सानो र रमणीय सहर नोलानोमा एक साधारण परिवारमा फिलिपो ब्रूनोको जन्म भयो। उनका पिता जियोभानी ब्रूनो एक सैनिक थिए । उनले परिवारलाई ठूलो आर्थिक समृद्धि त दिन सकेनन् तर बालक फिलिपोमा जीवनलाई गहिरो ढङ्गले हेर्ने र प्रश्न गर्ने तीखो दृष्टि पहिल्यैदेखि थियो। सानै उमेरदेखि प्रकृतिको काखमा हुर्किएका फिलिपोलाई पहाडका टाकुरा, आकासमा फैलिएका अनन्त ताराहरू र वरिपरिको भूगोलले गहिरो रूपमा आकर्षित गर्थ्यो। उनी वरपरका मानिसहरूले जस्तो आँखै अगाडिको संसारलाई देखेर मात्रै चित्त बुझाउँदैनथे । उनको मनमा अथाहा जिज्ञासा र प्रश्नहरु मडाइरहन्थे । खाली समयमा उनी यो सब कसरी बन्यो र यसको सीमा कहाँ होला भनेर सोच्ने गर्थे।

फिलिपो ती परम्परागत र पुराना ग्रन्थहरूको अन्धाधुन्ध पछि लाग्ने स्वभावका थिएनन्। उनले प्रत्येक विषयमा आफ्नै तरिकाले सोच्न थाले । सबैभन्दा ठूलो कुरा उनी हरेक कुरामा प्रश्न गर्थे र प्राध्यापकहरूले पढाएका कुरामाथि समेत तीखो तर्क गर्न पछि पर्दैनथे।

चौध वर्षका भएपछि ब्रूनोका बुबाले उनलाई उच्च शिक्षा आर्जन गर्नका लागि तत्कालीन समयको बौद्धिक केन्द्र मानिने नेपल्स पठाए। नेपल्सको बसाइले फिलिपोको जीवनको दिशा पूर्णरूपमा बदलियो। त्यहाँ उनले ल्याटिन भाषा, साहित्य, तर्कशास्त्र र दर्शनशास्त्रको गहिरो अध्ययन गरे। त्यो समयको युरोपमा एरिस्टोटलका दर्शन र चर्चका सिद्धान्तहरू नै ज्ञानका एकमात्र आधिकारिक स्रोत मानिन्थे। तर फिलिपो ती परम्परागत र पुराना ग्रन्थहरूको अन्धाधुन्ध पछि लाग्ने स्वभावका थिएनन्। उनले प्रत्येक विषयमा आफ्नै तरिकाले सोच्न थाले । सबैभन्दा ठूलो कुरा उनी हरेक कुरामा प्रश्न गर्थे र प्राध्यापकहरूले पढाएका कुरामाथि समेत तीखो तर्क गर्न पछि पर्दैनथे। उनीभित्रको यो विद्रोही स्वभावले गर्दा कलेजका शिक्षकहरूसँग अक्सर उनी विवादमा पर्थे। आफ्ना जिज्ञासाहरूको चित्तबुझ्दो उत्तर नपाएपछि उनी सत्यको खोजीमा अझ गहिरो यात्रातर्फ अघि बढ्ने निर्णयमा पुगे।

सत्यको तिर्सना र भिक्षुकको चोला

सत्यको यही तिर्सना र परम्परागत शिक्षा प्रणालीप्रतिको वितृष्णाले उनलाई १७ वर्षको कलिलो उमेरमा नेपल्सकै प्रतिष्ठित डोमिनिकन अर्डरको 'मोनास्ट्री अफ सान डोमिनिको म्याग्गोर' मा भिक्षुकको रूपमा प्रवेश गर्न प्रेरित गर्‍यो। उनलाई लागेको थियो कि यो धार्मिक मठ यस्तो ठाउँ हो जहाँ संसारका रहस्यहरू, ब्रह्माण्डको रचना र ईश्वरीय ज्ञानका बारेमा गहिरो र सत्य कुराहरू सिकाइन्छ। मठको शान्त वातावरण, विशाल पुस्तकालय र अध्ययनका अनन्त अवसरहरूले सुरुमा उनलाई निकै आकर्षित गरे। उनले त्यहाँ दिनरात पढेर दर्शनशास्त्र, धर्मशास्त्र र विज्ञानका पुराना ग्रन्थहरूमाथि अधिकार जमाए। तर उनको यो खुसी धेरै लामो समयसम्म टिक्न सकेन। मठभित्रका भिक्षुहरू र उच्च अधिकारीहरूको जीवनशैली, उनीहरूको सङ्कीर्ण मानसिकता र अन्धविश्वासले ब्रूनोलाई भित्रैदेखि झस्कायो। उनीहरू प्रश्न गर्न बन्देज लगाउँथे र चर्चले जे भन्यो, त्यसलाई अन्धो भएर स्वीकार गर्न दबाब दिन्थे।

https://s00.yaplakal.com

मठभित्रका भिक्षुहरू र उच्च अधिकारीहरूको जीवनशैली, उनीहरूको सङ्कीर्ण मानसिकता र अन्धविश्वासले ब्रूनोलाई भित्रैदेखि झस्कायो। उनीहरू प्रश्न गर्न बन्देज लगाउँथे र चर्चले जे भन्यो, त्यसलाई अन्धो भएर स्वीकार गर्न दबाब दिन्थे।

मठभित्रै बसेर पनि ब्रूनोले आफ्ना मौलिक विचारहरू छाडेनन्। उनले क्याथोलिक चर्चका केही आधारभूत सिद्धान्तहरू जस्तै त्रित्व र येशूको दिव्य स्वरूपमाथि शंका गर्न थाले। उनी चर्चले निषेध गरेका प्रतिबन्धित पुस्तकहरू विशेष गरी ग्रिगोरीका रचनाहरू र इरेसमसका विचारहरू लुकीछिपी पढ्न थाले। उनले आफ्नो कोठाबाट चर्चका केही मूर्तिहरू हटाए र केवल क्राइस्टको क्रूस मात्र राखेर बाँकी सबै कर्मकाण्डको विरोध गर्न थाले। उनका समकक्षी भिक्षुहरूलाई उनको यो विद्रोही र अहङ्कारी लाग्ने स्वभाव पटक्कै मन पर्दैनथ्यो। उनीहरूले ब्रूनोको निगरानी गर्न थाले र उनको पछाडि लागे। सन् १५७६ मा आइपुग्दा स्थिति यतिसम्म बिग्रियो कि ब्रूनोमाथि धर्मविरोधी विचार राखेको र चर्चको अनुशासन भङ्ग गरेको गम्भीर आरोप लाग्यो। आफूमाथि पक्राउ पर्ने र कठोर यातना दिइने खतरा देखेपछि उनले तुरुन्तै मठ छोडेर भाग्ने निर्णय गरे। उनी आफ्नो भिक्षुकको लुगा खोलेर साधारण नागरिकको भेषमा नेपल्सबाट बाहिर निस्किए र युरोपका विभिन्न सहरहरूमा भौंतारिन सुरु गरे। यही बिन्दुबाट उनको जीवनको एक लामो, रोमाञ्चक तर अत्यन्तै कष्टकर निष्कासन र यात्राको सुरुवात भयो, जसले उनलाई आधुनिक विज्ञान र दर्शनको इतिहासमा अमर बनाइदियो।

शरणार्थी चिन्तक र अनन्त ब्रह्माण्डको दिव्य दृष्टि

मठ छोडेर भागेका ब्रूनोका लागि आगामी वर्षहरू कुनै चलचित्रको कथाभन्दा कम थिएनन्। उनी इटालीका विभिन्न सहरहरू जस्तै रोम, जेनेभा, टुरिन र भेनिस पुगे तर कतै पनि लामो समय टिक्न सकेनन्। जहाँ गए पनि उनका तीखा विचार र परम्परागत मान्यताप्रतिको असहिष्णुताले उनलाई तुरुन्तै शङ्काको घेरामा ल्याइहाल्थ्यो। जेनेभा पुगेपछि उनी केही समयका लागि क्याल्भिनवादी प्रोटेस्टेन्टहरूसँग जोडिए। उनलाई लागेको थियो कि प्रोटेस्टेन्टहरू क्याथोलिकभन्दा बढी खुला र उदारवादी होलान्। तर ब्रूनो त यस्ता व्यक्ति थिए जो कसैको पनि अन्धभक्त बन्न सक्दैनथे। जेनेभाका एक जना प्रतिष्ठित प्राध्यापकको व्याख्यानमा उनले सार्वजनिक रूपमै २० वटा गल्तीहरू औंल्याइदिए। यसरी पाहुना भएर गएको ठाउँमा प्राध्यापकको आलोचना गरेपछि प्रोटेस्टेन्ट समाज पनि उनीसँग रुष्ट भयो र उनलाई त्यहाँबाट पनि लखेटियो। उनी एक स्थानबाट अर्को स्थानमा सर्दै, आफ्नो ज्ञानलाई बेच्दै र नयाँ नयाँ विचारहरूको सिर्जना गर्दै हिँडे।

ब्रूनो त यस्ता व्यक्ति थिए जो कसैको पनि अन्धभक्त बन्न सक्दैनथे। जेनेभाका एक जना प्रतिष्ठित प्राध्यापकको व्याख्यानमा उनले सार्वजनिक रूपमै २० वटा गल्तीहरू औंल्याइदिए। यसरी पाहुना भएर गएको ठाउँमा प्राध्यापकको आलोचना गरेपछि प्रोटेस्टेन्ट समाज पनि उनीसँग रुष्ट भयो र उनलाई त्यहाँबाट पनि लखेटियो।

यसै क्रममा उनको जीवनमा एक ठूलो मोड आयो जब उनी फ्रान्सको राजधानी पेरिस पुगे। पेरिस विश्वविद्यालयमा उनका व्याख्यानहरूले ठूलो तहल्का मच्चायो। उनीसँग कुनै औपचारिक डिग्री वा पद नभए पनि उनको बोल्ने कला, स्मरणशक्तिको अचम्मको क्षमता र नयाँ दार्शनिक विचारहरूले फ्रान्सेली युवाहरू र विद्वानहरूलाई मन्त्रमुग्ध बनायो। उनले मानिसहरूको स्मरणशक्ति बढाउने कलामाथि किताब लेखे र त्यसले फ्रान्सका राजा हेन्री तृतीयको समेत ध्यान खिच्न सफल भयो।

राजा हेन्रीले ब्रूनोलाई व्यक्तिगत रूपमा भेटे र उनको स्मरणशक्तिको रहस्य बारे सोधपुछ गरे। राजाको संरक्षण पाएपछि ब्रूनोले पेरिसमा केही समय आरामले बिताए र आफ्ना विचारहरूलाई अझ परिपक्व बनाउने अवसर पाए। तर फ्रान्समा पनि धार्मिक द्वन्द्व चुलिँदै गएपछि उनी त्यहाँबाट पनि हिँड्नुपर्ने अवस्था आयो र उनी सन् १५८३ मा बेलायतको लन्डन सहरतर्फ प्रस्थान गरे।

अक्सफोर्डका प्राध्यापकहरूले सुरुमा उनलाई ठूलो विद्वान ठानेका थिए तर जब ब्रूनोले उनीहरूलाई एरिस्टोटलको अन्धभक्ति छोडेर स्वतन्त्र रूपमा सोच्न चुनौती दिए, तब त्यहाँका विद्वानहरू पनि  उनीसँग चिढिए।

बेलायतको बसाइ ब्रूनोको बौद्धिक जीवनको सबैभन्दा उर्वर र महत्त्वपूर्ण अवधि साबित भयो। लन्डनमा उनी फ्रान्सेली राजदूतमार्फत बेलायती महारानी एलिजाबेथ प्रथमको दरबारसम्म पुग्न सफल भए। त्यहाँ उनले अक्सफोर्ड विश्वविद्यालयमा आफ्ना व्याख्यानहरू दिए। अक्सफोर्डका प्राध्यापकहरूले सुरुमा उनलाई ठूलो विद्वान ठानेका थिए तर जब ब्रूनोले उनीहरूलाई एरिस्टोटलको अन्धभक्ति छोडेर स्वतन्त्र रूपमा सोच्न चुनौती दिए, तब त्यहाँका विद्वानहरू पनि उनीसँग चिढिए। उनीहरूले ब्रूनोलाई घमण्डी र बौलाहाको संज्ञा दिए। तर ब्रूनो आफ्नो बाटोबाट पछि हट्ने मान्छे थिएनन्। अक्सफोर्डमा अपमानित भएपछि उनले लन्डनमै बसेर आफ्नो जीवनका सर्वोत्कृष्ट ग्रन्थहरू रचना गर्न सुरु गरे। उनले इटाली भाषामा आफ्ना प्रसिद्ध संवादहरू लेखे, जसमा ब्रह्माण्डको प्रकृति, आत्मा र इश्वरका बारेमा क्रान्तिकारी विचारहरू प्रस्तुत गरिएका थिए।

यो विचार केवल खगोलशास्त्रको एउटा नयाँ सिद्धान्त मात्रै थिएन, यो त मध्ययुगीन चर्चको त्यो सिंगो साम्राज्यमाथि प्रहार थियो जसले पृथ्वी र मानिसलाई भगवानको सृष्टिको एकमात्र र केन्द्रीय केन्द्र मान्दथ्यो।

लन्डनमै बस्दा ब्रूनोले त्यो हिम्मत गरे, जुन त्यसअघि कसैले पनि गर्न सकेको थिएन। उनले निकोलस कोपर्निकसले केही दशकअघि मात्र प्रतिपादन गरेको सूर्यकेन्द्रित सिद्धान्तलाई लिएर त्यसलाई अझ अगाडि बढाए। कोपर्निकसले त केवल सौर्यमण्डलको केन्द्रमा सूर्य छ भनेका थिए तर ब्रूनोले त्यसलाई तोड्दै यो ब्रह्माण्डको कुनै केन्द्र नै छैन भनेर घोषणा गरे। उनले आफ्नो प्रसिद्ध पुस्तक 'अन द इन्फिनिट युनिभर्स एण्ड वर्ल्ड्स' मा ‘यो ब्रह्माण्ड अनन्त छ, यसको न कुनै सुरु छ न अन्त्य’ भनेर दावी गरे। उनले ‘आकाशमा चम्किने अनगिन्ती ताराहरू अरू केही होइनन्, तिनीहरू हाम्रै सूर्य जस्ता विशाल ताराहरू हुन् जसका वरिपरि अन्य कैयौं पृथ्वीहरू घुमिरहेका छन् र ती ग्रहहरूमा पनि हाम्रै जस्तो वा अझ उन्नत जीवन हुन सक्छ’ भने। यो विचार केवल खगोलशास्त्रको एउटा नयाँ सिद्धान्त मात्रै थिएन, यो त मध्ययुगीन चर्चको त्यो सिंगो साम्राज्यमाथि प्रहार थियो जसले पृथ्वी र मानिसलाई भगवानको सृष्टिको एकमात्र र केन्द्रीय केन्द्र मान्दथ्यो। ब्रूनोले मानिसलाई ब्रह्माण्डको मालिकबाट हटाएर एउटा अनन्त र अथाह सागरको सानो थोपाको रूपमा उभ्याइदिए, जसले आधुनिक खगोल विज्ञानको ढोका खोलेको थियो।

इटालीको पासो र भेनिसको बन्दीगृह

सन् १५९१ को अन्त्यतिरको कुरा हो। लामो समयसम्म युरोपका विभिन्न देशहरू (फ्रान्स, इटाली, बेलायत, जर्मनी) मा भौंतारिएर र आफ्ना विद्रोही विचारका कारण जताबाट पनि लखेटिएर ब्रूनो मानसिक रूपमा थकित भइसकेका थिए। उनी आफ्नो जन्मभूमि इटालीको आसपासमै कुनै सुरक्षित बौद्धिक आश्रयस्थल खोजिरहेका थिए।

ठीक यही समयमा, भेनिसका एक अत्यन्त धनी, कुलीन र सम्मानित घरानाका सदस्य जियोभानी मोचेनिगो (Giovanni Mocenigo) ले ब्रूनोको नाम र उनका ख्यातिप्राप्त ग्रन्थहरूको बारेमा सुनेका थिए। मोचेनिगो ब्रूनोका एक प्रशंसक मात्रै थिएनन्, उनीभित्र एउटा गुप्त र रहस्यमयी लोभ लुकेको थियो। त्यो समयमा ब्रूनोसँग 'मेमोरिया' अर्थात् स्मरणशक्तिको अदभुत कला थियो, जसको मद्दतले मानिसले ब्रह्माण्डका अनकन्टार रहस्य, प्रकृतिलाई कन्ट्रोल गर्ने तौरतरिका र अलौकिक ज्ञान प्राप्त गर्न सक्छ भन्ने भ्रम फैलिएको थियो। मोचेनिगोलाई  ब्रूनोले यो जादुई वा गुप्त ज्ञान आफूलाई मात्र सिकाइदिए भने उनी समाजमा सर्वशक्तिमान र अद्वितीय बन्न सक्छन् भन्ने लागेको थियो ।

लामो समयको निष्कासनबाट वाक्कदिक्क भएका ब्रूनोले मोचेनिगोको यो पत्रलाई एउटा सुनौलो अवसरको रूपमा लिए। उनलाई लाग्यो कि भेनिसमाथिको गणतान्त्रिक शासन प्रणालीले अन्य ठाउँको तुलनामा धार्मिक मामिलामा केही उदारता अपनाउँछ र त्यहाँ आफू सुरक्षित रहन सक्छु।  

यो तिर्सना मेट्न मोचेनिगोले अत्यन्तै आदरभाव र प्रलोभनले भरिएको पत्र लेखेर ब्रूनोलाई भेनिस आउन निम्तो दिए। उनले पत्रमा लेखेका थिए–  "तपाईं मेरो महलामा सुरक्षित बस्नुहोस्, यहाँ तपाईंलाई कुनै किसिमको कमी हुनेछैन र म तपाईंका दर्शन तथा ज्ञानबाट दीक्षित हुन चाहन्छु।" इटालीका राज्यहरूमध्ये भेनिस तुलनात्मक रूपमा केही उदार मानिने हुनाले र लामो समयको निष्कासनबाट वाक्कदिक्क भएका ब्रूनोले मोचेनिगोको यो पत्रलाई एउटा सुनौलो अवसरको रूपमा लिए। उनलाई लाग्यो कि भेनिसमाथिको गणतान्त्रिक शासन प्रणालीले अन्य ठाउँको तुलनामा धार्मिक मामिलामा केही उदारता अपनाउँछ र त्यहाँ आफू सुरक्षित रहन सक्छु।  उनले त्यो पत्रको विश्वास गरेर सन् १५९२ को मार्च महिनामा फ्रान्कफर्टबाट भेनिसको यात्रा तय गरे र सीधै मोचेनिगोको महलामा पुगे।

तर ब्रूनोको यो निर्णय उनको जीवनको सबैभन्दा ठूलो र घातक भूल साबित भयो। जियोभानी मोचेनिगो बाहिरबाट जति उदार र जिज्ञासु देखिन्थे, भित्रभित्रै उनी चर्चको अन्धभक्त र कट्टर क्याथोलिक थिए।  शुरुका केही हप्तासम्म सबै कुरा ठीकठाक चल्यो। ब्रूनोले मोचेनिगोलाई घरमै ट्युटरझैँ पढाउन थाले। तर समस्या त्यहाँबाट सुरु भयो जहाँ मोचेनिगोले सोचेका थिए कि ब्रूनोले उनलाई कुनै तन्त्रमन्त्र, जादु वा चमत्कार सिकाउनेछन्, तर ब्रूनो त उनलाई विशुद्ध भौतिकशास्त्र, खगोल विज्ञान, ब्रह्माण्डको अनन्तता, ईश्वरको रूप र चर्चका परम्परागत अन्धविश्वासविरोधी वैज्ञानिक दर्शनहरू पो पढाउँदै थिए।

धार्मिक रूपमा कट्टर क्याथोलिक मोचेनिगोलाई येशू कुनै भगवानका एक्ला अद्वितीय पुत्र होइनन्, चर्चका पादरीहरूले मानिसलाई मूर्ख बनाइरहेका छन्, र यो ब्रह्माण्डको कुनै केन्द्र छैन बरु अनन्त ब्रह्माण्डमा करोडौं पृथ्वीहरू छन्” भन्ने कुरा ब्रूनोले सिकाउँदा मोचेनिगोको सातो उड़्यो। यो कुरा बाहिर फैलियो भने उनी आफैं पनि चर्चको इन्कविजिसन (कट्टर धार्मिक अदालत) को नजरमा पर्नेछन् र उनका परिवारको इज्जत माटोमा मिल्नेछ भन्ने उनलाई डर लाग्यो । मोचेनिगोभित्रको त्यो जिज्ञासु विद्यार्थी एकाएक डरलाग्दो र बदलाको भावनाले भरिएको कट्टरपन्थी दुश्मनमा परिणत भयो।

ब्रूनोले भगवान, चर्चका नियमहरू, इसाई धर्मका ग्रन्थहरू र ब्रह्माण्डको अनन्तताका बारेमा जे जस्ता विचारहरू व्यक्त गरेका थिए, ती सबै कुरा मोचेनिगोको धार्मिक चेतनाका लागि सहन गर्नै नसकिने खालका थिए।

उनले ब्रूनोसँग पढेको कुराहरूबाट प्रभावित हुनुको सट्टा डराउन थाले। ब्रूनोले भगवान, चर्चका नियमहरू, इसाई धर्मका ग्रन्थहरू र ब्रह्माण्डको अनन्तताका बारेमा जे जस्ता विचारहरू व्यक्त गरेका थिए, ती सबै कुरा मोचेनिगोको धार्मिक चेतनाका लागि सहन गर्नै नसकिने खालका थिए। ब्रूनोका यी धर्मविरोधी विचारहरू बाहिर आए भने उनी आफैं पनि चर्चको शङ्काको दायरामा पर्नेछन् भन्ने त्रास मोचेनिगोमा पैदा भयो ।  यसबाहेक, मोचेनिगोले ब्रूनोबाट जादुई वा गुप्त ज्ञान खोजेका थिए तर ब्रूनोले तिनलाई कुनै जादु नभई विशुद्ध विज्ञान र दर्शन सिकाइरहेका थिए।

जसरी उनलाई झुक्याएर बन्धक बनाइयो

सन् १५९२ को मे २२ को दिन ब्रूनोले आफ्ना सामानहरू मिलाएर अब भेनिस छोडेर जर्मनीतिर जाने आफ्नो योजना सुनाए, तब मोचेनिगोले आफ्नो असली रूप देखाए। उनी तुरुन्तै भागेर बाहिर गए र घरका ५–६ जना बलिया नोकरहरूलाई बोलाएर सुतिरहेका वा आराम गरिरहेका ब्रूनोमाथि आक्रमण गर्न लगाए। नोकरहरूले ब्रूनोलाई ओछ्यानबाटै जबर्जस्ती उचालेर घरको अन्धकार र चिसो छिँडीमुनिको कोठामा लगेर थुने र साङ्लोले बाँधिदिए। त्यसको लगत्तै मोचेनिगोले भेनिसको धार्मिक अदालत (इन्कविजिसन) का अधिकारीहरूलाई गोप्य रूपमा खबर पठाए र ब्रूनोलाई एक खतरनाक 'धर्मद्रोही (Heretic)' को रूपमा सुम्पिदिए। मोचेनिगोले ‘यो मानिसले इसाई धर्मको गम्भीर अपमान गरेको छ, जिसस क्राइस्टको चमत्कारलाई अस्वीकार गरेको छ, चर्चका पादरीहरूको आलोचना गरेको छ र ब्रम्हाण्डमा भगवानको अस्तित्वलाई नै चुनौती दिएको छ’ भनेर ब्रूनोविरुद्ध लिखित उजुरी दिए । यसरी आफ्नै आश्रयदाताबाट धोका पाएका ब्रूनो तुरुन्तै भेनिसको इन्कविजिसनको जिम्मा लगाइए।

ब्रूनोमाथि चलाइएको अदालती कारबाही र बयानबाजी

यो कुनै साधारण अदालत थिएन, जहाँ प्रमाण वा वकिलको कुरा सुनेर न्याय दिइन्थ्यो; यो चर्चको आस्थामाथि प्रश्न उठाउनेहरूलाई तह लगाउने क्रूर धार्मिक न्याय प्रणाली थियो।

पहिलो चरण (भेनिसको अदालत):

भेनिसको चिसो र अन्धकार कालकोठरीमा ब्रूनोको कठिन दिनहरूको सुरुवात भयो। त्यहाँ उनलाई सोधपुछ गरियो, उनका हातखुट्टामा साङ्लो लगाइयो र आफ्ना विचारहरू फिर्ता लिनका लागि दबाब दिइयो।  तथापि, भेनिसमा चलिरहेको मुद्दाको सुरुवाती चरण ब्रूनोका लागि केही हदसम्म अनुकुल देखिएको थियो। त्यहाँका न्यायाधीशहरूले उनलाई दार्शनिक रूपमा मात्र सोधपुछ गरेका थिए।  

भेनिसका अधिकारीहरू ब्रूनोको अन्तर्राष्ट्रिय ख्याति र उनको बौद्धिक क्षमताबाट प्रभावित थिए, त्यसैले उनीहरू ब्रूनोलाई हल्काफुल्का चेतावनी दिएर वा माफी माग्न लगाएर छोड्ने मुडमा थिए। उनीहरूले ब्रूनोलाई आफ्ना विचारहरू पूर्ण रूपमा सच्याउने र माफी मागेमा छोड्न तयार रहेको सङ्केत दिए।

भेनिसको अदालतमा बयान दिँदा ब्रूनोले ठूलो चतु्याइँ र साहस देखाए। उनले आफूले बोलेका कुराहरू दार्शनिक बहस मात्र भएको र चर्चको धर्मशास्त्रविरुद्ध जाने आफ्नो कुनै नियत नभएको बताएर बच्ने प्रयास गरे।  ब्रूनोले अत्यन्तै चतु्याइँ र बुद्धिमत्तापूर्वक आफ्नो बचाउ गरे। उनले अदालतसामु तर्क दिए कि मैले जे कुरा लेखेको र भनेको छु, ती सबै विशुद्ध दार्शनिक मान्यताहरू हुन्, तिनको बाइबल वा इसाई धर्मशास्त्रको अपमान गर्ने कुनै मनसाय छैन। म चर्चका नियमहरूलाई आदर गर्छु।” भेनिसका अधिकारीहरू ब्रूनोको अन्तर्राष्ट्रिय ख्याति र उनको बौद्धिक क्षमताबाट प्रभावित थिए, त्यसैले उनीहरू ब्रूनोलाई हल्काफुल्का चेतावनी दिएर वा माफी माग्न लगाएर छोड्ने मुडमा थिए। उनीहरूले ब्रूनोलाई आफ्ना विचारहरू पूर्ण रूपमा सच्याउने र माफी मागेमा छोड्न तयार रहेको सङ्केत दिए। तर ब्रूनो आफ्नो दार्शनिक सत्यसँग सम्झौता गर्न तयार थिएनन्। उनले अदालतसामु आफूले सत्य बोलेको र आफूले प्रतिपादन गरेका विचारहरू प्रकृति र विज्ञानमा आधारित रहेको दाबी गरे।

रोमको इन्कविजिसनको हस्तक्षेप र स्थानान्तरण:

तर रोममा बसेको मुख्य भेटिकन चर्च (पोप क्लेमेन्ट आठवींको सरकार) ले जब यो कुरा थाहा पायो, तब रोमको शक्तिशाली भेटिकन चर्चले भेनिसको अदालतलाई पत्र पठाएर ब्रूनोलाई आफूहरूको जिम्मा लगाउन जोडदार माग गर्‍यो। पत्रमा भनिएको थियो–  "यो मानिस साधारण अपराधी होइन, यो चर्चको सबैभन्दा ठूला शत्रुमध्ये एक हो, यसलाई तुरुन्तै रोमको मुख्य अदालतमा जिम्मा लगाऊ।" भेनिसका शासकहरू पोपको दबाबका अगाडि टिक्न सकेनन् र सन् १५९३ को जनवरीमा ब्रूनोलाई फलामको भारी साङ्लोले बाँधेर रोमको कुख्यात 'पिसि एल टोरियो' कालकोठरीमा पठाइयो।त्यहाँ उनको अन्तिम र सबैभन्दा भयानक परीक्षा हुनेवाला थियो ।

रोमको ज्वाला र अमर सत्यको विजय

रोमको इन्कविजिसनको जिम्मामा पुगेपछि ब्रूनोको जीवनको अन्तिम अध्याय सुरु भयो। पिसि एल टोरियोको कालकोठरी युरोपको सबैभन्दा डरलाग्दो र क्रूर ठाउँ थियो । त्यहाँ चर्चका विरोधीहरूलाई शारीरिक र मानसिक यातना दिएर तिनका विचारहरू तोड्ने गरिन्थ्यो।

रोमन इन्क्विजिसनद्वारा जियोर्डानो ब्रुनोमाथिको मुद्दा; इटोर फेरारीद्वारा निर्मित काँस्यको शिल्पकला, काम्पो डे फिओरी, रोम । https://upload.wikimedia.org

चर्चका कार्डिनलहरू र न्यायाधीशहरूले उनलाई बारम्बार सोधपुछ गर्न बोलाउँथे र आफ्ना सबै सिद्धान्तहरू खारेज गरेर लिखित रूपमा क्षमायाचना गर्न आदेश दिन्थे। उनीहरू भन्थे कि यदि ब्रूनोले आफ्नो कुरा फिर्ता लिए भने उनको ज्यान बच्न सक्छ। तर ब्रूनोले सधैं एउटै जवाफ दिए, "मैले जे लेखेको छु र भनेको छु, त्यो सत्य हो। म कुनै झूटो कुराका लागि माफी मागिँदिन र मसँग पछुताउनुपर्ने कुनै कारण छैन।"

ब्रूनोलाई त्यहाँ लगातार आठ वर्षसम्म बन्दी बनाइयो। आठ वर्षको त्यो लामो अवधि कुनै पनि साधारण मानिसका लागि पागल बनाउने खालको थियो। उनी चिसो, अँध्यारो र फोहोर कोठामा एक्लै बस्थे । तर ती सबै शारीरिक र मानसिक यातनाका बाबजुद पनि ब्रूनोको बौद्धिक शक्ति र आन्तरिक दृढता जरादेखि हल्लिएन। उनले कठोर बन्दीकालभरी नै आफ्नो दार्शनिक अडान बदलेनन्। चर्चका कार्डिनलहरू र न्यायाधीशहरूले उनलाई बारम्बार सोधपुछ गर्न बोलाउँथे र आफ्ना सबै सिद्धान्तहरू खारेज गरेर लिखित रूपमा क्षमायाचना गर्न आदेश दिन्थे। उनीहरू भन्थे कि यदि ब्रूनोले आफ्नो कुरा फिर्ता लिए भने उनको ज्यान बच्न सक्छ। तर ब्रूनोले सधैं एउटै जवाफ दिए, "मैले जे लेखेको छु र भनेको छु, त्यो सत्य हो। म कुनै झूटो कुराका लागि माफी मागिँदिन र मसँग पछुताउनुपर्ने कुनै कारण छैन।"

रोमको अदालतमा ब्रूनोमाथि लगातार आठ वर्षसम्म मुद्दा चल्यो। यो अवधिमा उनलाई शारीरिक र मानसिक रूपमा चरम यातना दिइयो। चर्चका कार्डिनल तथा मुख्य न्यायधिपति (जसमा पछि ग्यालिलियोको मुद्दामा जोडिएका कार्डिनल रोबर्ट बेलार्मीन पनि थिए) ले ब्रूनोलाई बारम्बार दबाब दिए। उनीहरूको माग एउटै थियो–  "तिमीले ब्रह्माण्ड अनन्त छ भन्ने सिद्धान्त खारेज गर, पृथ्वी नै ब्रह्माण्डको केन्द्र हो भनी स्वीकार गर, र चर्चको धर्मशास्त्रविरुद्ध बोलेका सबै कुरामा लिखित रूपमा क्षमायाचना माग, तब मात्र तिम्रो ज्यान बच्छ।"

सुरुमा केही महिनासम्म ब्रूनोले आफ्नो ज्यान बचाउनका लागि केही लचिलो हुने प्रयास गरे पनि, जब अदालतले उनका सम्पूर्ण वैज्ञानिक तथा दार्शनिक विचारहरूलाई जड़बाटै मेट्न र पूर्ण रूपमा झुक्न बाध्य पार्‍यो, तब ब्रूनोभित्रको विद्रोही चिन्तक फेरि जागेर आयो। उनले स्पष्ट शब्दमा न्यायाधीशहरूलाई भने–  "मैले जे लेखेको छु, सत्य लेखेको छु। म कुनै पनि झुटा कुराका लागि माफी माग्दिनँ। मलाई पछुताउनुपर्ने कुनै कारण छैन किनकि मेरा विचारहरू प्रकृति र वास्तविकतामा आधारित छन्।"

सन् १६०० को फेब्रुअरी महिनामा पिसि एल टोरियोका न्यायाधीशहरूले औपचारिक रूपमा उनलाई जिउँदै आगोमा जलाएर मार्ने क्रूरतम मृत्युदण्डको फैसला सुनायो । । जब त्यो मृत्युदण्डको आदेश पढेर सुनाइयो, तब ब्रूनोले अदालतका न्यायाधीशहरूको अनुहारमा हेर्दै ऐतिहासिक र अदम्य साहसले भरिएको वाक्य बोले, "संभवतः यो फैसला सुनाउँदा तपाईंजति काँप्दै हुनुहुन्छ, म त्यसलाई सुन्दा त्यति काँपिराखेको छैन।"

चर्चका अधिकारीहरूका लागि ब्रूनोको यो अटुट अडान उनीहरूको अख्तियारमाथिको सबैभन्दा ठूलो चुनौती थियो। जब ब्रूनोले आफ्नो कुरा फिर्ता लिन पूर्ण रूपमा अस्वीकार गरे, तब चर्चले उनलाई 'जिद्दी र सुधार नहुने कुधर्मी (Impenitent and Pertinacious Heretic)' घोषित गर्‍यो।  त्यो समयको नियम अनुसार कुनै धर्मद्रोहीले आफ्ना विचारहरू फिर्ता लिन मान्दैनथ्यो र चर्चको शरणमा आउँदैनथ्यो भने उसलाई जिउँदै आगोमा जलाएर मार्ने सजाय दिइन्थ्यो, जसलाई 'अटो दा फे' भनिन्थ्यो। सन् १६०० को फेब्रुअरी महिनामा पिसि एल टोरियोका न्यायाधीशहरूले औपचारिक रूपमा उनलाई जिउँदै आगोमा जलाएर मार्ने क्रूरतम मृत्युदण्डको फैसला सुनायो । । जब त्यो मृत्युदण्डको आदेश पढेर सुनाइयो, तब ब्रूनोले अदालतका न्यायाधीशहरूको अनुहारमा हेर्दै ऐतिहासिक र अदम्य साहसले भरिएको वाक्य बोले, "संभवतः यो फैसला सुनाउँदा तपाईंजति काँप्दै हुनुहुन्छ, म त्यसलाई सुन्दा त्यति काँपिराखेको छैन।"

सन् १६०० को फेब्रुअरी १७ गते बिहान, रोमको व्यस्त र ऐतिहासिक स्क्वायर 'क्याम्पो डेइ फिओरी' मा एउटा डरलाग्दो दृश्य देखियो। त्यहाँ हजारौं मानिसहरूको भीड जम्मा भएको थियो। बीचमा काठका मुढा र दाउरा थुपारेर एउटा ठूलो चिता बनाइएको थियो। ब्रूनोलाई सैनिकहरूको कडा पहरामा नाङ्गो बनाएर, जिब्रो काटेर बोल्न नसक्ने बनाएर त्यो चितासम्म ल्याइयो। चर्चका पादरीहरूले अन्तिम पटक उनलाई क्रूस देखाउँदै अझै पनि माफी मागेमा प्राण बचाइदिने प्रस्ताव राखे। तर ब्रूनोले त्यो क्रूसलाई घृणापूर्वक फर्काए र आफ्ना आँखाहरू आकाशतिर फर्काए। उनी मृत्युको भयानक ज्वालाभन्दा डराएनन्। जल्दाजल्दै पनि उनका ओठहरूबाट निस्किएको चित्कार ब्रह्माण्डको अनन्तता र मानव विवेकको स्वतन्त्रताको पक्षमा थियो। दनदनी दन्किरहेको आगोले उनको शरीरलाई त खरानी बनायो तर उनका विचारहरूलाई नष्ट गर्न सकेन।

https://justmovingaround.com/

जुन कुराका लागि ब्रूनोले आफ्नो ज्यान गुमाएका थिए, त्यो कुरा आज आधुनिक विज्ञानको आधारस्तम्भ बनेको छ। आज रोमको क्याम्पो डेइ फिओरी स्क्वायरमा ब्रूनोको एउटा भव्य सालिक उभिएको छ, जसमा उनी गर्वका साथ विचारको स्वतन्त्रता र सत्यको खोजीको प्रतीक बनेर उभिइरहेका छन्।

ब्रूनोको मृत्युको केही दशकभित्रै ग्यालिलियो ग्यालिली, जोहानेस केप्लर र आइज्याक न्यूटन जस्ता वैज्ञानिकहरूले ब्रूनोले देखेको अनन्त ब्रह्माण्डको सपनालाई गणितीय र भौतिक प्रमाणहरूसँगै प्रमाणित गरेर देखाए। जुन कुराका लागि ब्रूनोले आफ्नो ज्यान गुमाएका थिए, त्यो कुरा आज आधुनिक विज्ञानको आधारस्तम्भ बनेको छ। आज रोमको क्याम्पो डेइ फिओरी स्क्वायरमा ब्रूनोको एउटा भव्य सालिक उभिएको छ, जसमा उनी गर्वका साथ विचारको स्वतन्त्रता र सत्यको खोजीको प्रतीक बनेर उभिइरहेका छन्। आफ्ना वैज्ञानिक विचारहरुको प्रतिरक्षामा ब्रूनोले हाँसीहाँसी जल्न स्वीकार गरे । धार्मिक अन्धताले उनको शरीरलाई त ज्यूँदै जलाएर खरानी बनायो तर उनले बालेको ज्ञानको त्यो सानो दियो आज सिंगो मानवताका लागि अनन्तकालसम्म मार्गदर्शन गर्ने एउटा विशाल मसाल बनेको छ। जर्दानो ब्रूनोको जीवन गाथा एक महान चिन्तक एवं वैज्ञानिकको दुखद अन्त्य मात्र होइन, यो मानव चेतनाको विजय, साहसको पराकाष्ठा र सत्यका लागि दिइएको सर्वोच्च बलिदानको अमर कथा हो।