लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले अगुवाइ गर्ने मध्यमवर्गीय सामाजिक आन्दोलन हो फासीवाद

फासीवादविरुद्ध लड्न कार्ल मार्क्सको 'डाउट एभ्रिथिङ' र बुद्धको 'कालाम सुत्त' ब्युँताउनुपर्छ: राजेन्द्र महर्जन

फासीवाद चरम राष्ट्रवाद, अधिनायकवाद र असहिष्णुतामा आधारित एउटा उग्र राजनीतिक विचार र व्यवस्था हो, जसले लोकतान्त्रिक मूल्य, बहुलता र नागरिक स्वतन्त्रतालाई पूर्णतः निषेध गर्छ। विगतमा दोस्रो विश्वयुद्धसँगै परास्त भएको मानिएको यो विचार अहिले परिमार्जित रूपमा पुनः विश्वव्यापी रूपमा ब्युँतिएको छ।

यतिखेर विश्वका विभिन्न मुलुकमा संकीर्ण राष्ट्रवाद, नश्लीय श्रेष्ठता, घृणाको राजनीति र पपुलिजम (लोकरिझ्याइँ) का माध्यमबाट फासीवादी उन्माद फैलिँदो छ। असहमति र भिन्न मत राख्नेहरूमाथि राज्य र समाज दुवै स्तरबाट तीव्र दमन र लाञ्छना लगाउने प्रवृत्ति बढेको छ। नागरिकका आधारभूत अधिकारहरू संकुचित गरिँदै छन्।

यही पृष्ठभूमिमा, नेपाली समाज र राजनीतिमा समेत देखा पर्न थालेको यसै प्रवृत्ति र बढ्दो दक्षिणपन्थी उभारका सन्दर्भमा केन्द्रित भई 'उन्माद: फासीवाद मन्थन' पुस्तकका लेखक/सम्पादक राजेन्द्र महर्जनसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:

तपाईंले आफ्नो पुस्तकको शीर्षक ‘उन्माद: फासीवाद मन्थन’ किन रोज्नु भयो । त्यसलाई यतिखेर प्रकाशित गर्नुको अन्तर्य केही छ कि ?

जब जब उन्माद र आवेगहरु सडकमा पोखिन्छन्, जब जब अन्य जात–जाति, समुदाय, भाषा, धर्म, संस्कृति र राष्ट्रसँगै देशको विरुद्ध भीड उम्लिएर आउँछ, तब तब मेरो मनमस्तिष्क हल्लिन्छ र त्यसको चिरफार गर्न मेरा शब्द पनि पोखिन्छन् । यसरी हल्लिने क्रममै मनमस्तिष्कलाई अलिकति स्थिर बनाएर यस्ता हूल, दंगा, भीडको प्रदर्शनबारे गहन अध्ययन गर्ने जाँगर चल्यो । उन्मादी भीडले सम्मोहक, चामत्कारिक र लोकरञ्जक नेतृत्व निर्माण गर्दैछ कि सम्मोहक, चामत्कारिक र लोकरञ्जक नेतृत्वले उन्मादी भीड सिर्जना गर्दै आएको छ भन्ने प्रश्न उठेको  छ । यस प्रश्नमाथि मेरो घोत्ल्याइँ तीन दशकदेखि जारी रहेको छ ।

उन्मादी भीडले सम्मोहक, चामत्कारिक र लोकरञ्जक नेतृत्व निर्माण गर्दैछ कि सम्मोहक, चामत्कारिक र लोकरञ्जक नेतृत्वले उन्मादी भीड सिर्जना गर्दै आएको छ भन्ने प्रश्न उठेको  छ । यस प्रश्नमाथि मेरो घोत्ल्याइँ तीन दशकदेखि जारी रहेको छ ।

पछिल्लो चरणमा एक्काइसौं शताब्दीमा भारतमा नरेन्द्र मोदी, अमेरिकामा डोनाल्ड ट्रम्प, नेपालमा केपी शर्मा ओलीको उदयसँगै यस्ता घोत्ल्याइँलाई थप विस्तार गरियो । यही समकालीन राजनीतिक सन्दर्भमा भीडको मानसिकता पढ्ने, बुझ्ने प्रयासमा ‘उन्मादः फासीवाद मन्थन’ लेखनलाई थप तीव्र र व्यापक बनाइयो । डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा अमेरिकी भीड र शक्तिको बलमा मनपरी नगरेका भए यो किताब यति छिटो तयार हुने थियो कि थिएन, भन्न गाह्रो छ ।

तपाईंको बुझाइमा फासीवाद भनेको के हो ? फासीवादको अस्तित्व राजकीय सत्तामा मात्रै रहन्छ कि यो समाजको अन्य हिस्सा र अवयवहरुमा पनि विद्यमान हुन्छ ?

पहिलो कुरा फासीवाद भनेको ‘फाँसीवाद’ होइन, संसारमा फाँसीवाद भन्ने कुनै सिद्धान्त, वाद वा विचार छैन । इटालियन भाषाको फासियो, ल्याटिन पद फासेजबाट बनाइएको हो फासीवाद । फासियो भनेको लठ्ठीहरुको मुठाबीच राखिएको बन्चरो नामक राजदण्ड हो, जसको गुणगान गाउँदै फासीवादी राजनीति अभियान चलाइएको इतिहास छ ।

म फासीवादलाई मध्यमवर्गीय सामाजिक आन्दोलन भन्न चाहन्छु । यस आन्दोलनको अगुवाइ लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले गर्छ, जसमा सामान्यतः सन्देह, तर्क र प्रश्न नगर्ने, सत्यतथ्य नेहेर्ने, आँखा चिम्लेर लोकरञ्जकहरुप्रति भक्तिभाव देखाउने र तिनका लोकरिझ्याइँपूर्ण भाष्य र प्रचारबाजीमाथि विश्वास गर्ने भीडको जुझारुपना देखिने गर्छ । यही जुझारु उन्मादी र अन्धतापूर्ण भीडमाथि सवार भई लोकरञ्जक अगुवाहरुले आम मानिसलाई ह्यामिलिन सहरका पाइडपाइपर (बाँसुरीबादक) ले मुसालाई लठ्ठ पारेजस्तै लठ्याएर आफ्नो निहित स्वार्थ पूरा गर्छ ।

व्यक्ति–व्यक्तिमा उन्मादको रुपमा, सामूहिक र साम्प्रदायिक बहुलट्ठीपनाको रुपमा, भीडको पागलपनको रुपमा प्रकट हुने फासीवाद के हो भनेर ट्वाक्क भन्न सजिलो छैन । किनभने यसको एउटै परिभाषा, बुझाइ र अभ्यास छैन । मैले किताबमा यससम्बन्धी अध्येताहरुका विभिन्न खालका बुझाइ र परिभाषालाई उजागर गर्ने कोसिस गरेको छु । यसको सही परिभाषा खोज्नमा भन्दा मेरो ध्यान यसको गुदी पक्रनेमा रहेको छ । यस आधारमा म यसलाई त्यस्तो मध्यमवर्गीय सामाजिक आन्दोलन भन्न चाहन्छु । यस आन्दोलनको अगुवाइ लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले गर्छ, जसमा सामान्यतः सन्देह, तर्क र प्रश्न नगर्ने, सत्यतथ्य नेहेर्ने, आँखा चिम्लेर लोकरञ्जकहरुप्रति भक्तिभाव देखाउने र तिनका लोकरिझ्याइँपूर्ण भाष्य र प्रचारबाजीमाथि विश्वास गर्ने भीडको जुझारुपना देखिने गर्छ । यही जुझारु उन्मादी र अन्धतापूर्ण भीडमाथि सवार भई लोकरञ्जक अगुवाहरुले आम मानिसलाई ह्यामिलिन सहरका पाइडपाइपर (बाँसुरीबादक) ले मुसालाई लठ्ठ पारेजस्तै लठ्याएर आफ्नो निहित स्वार्थ पूरा गर्छ । यो आन्दोलन नै कुनै बेला चुनाव वा हिंसा वा विद्रोहमार्फत् राज्यमा हावी हुन्छ, कुनै बेला समाज, परिवार र व्यक्तिमा सवार हुन्छ, कुनै बेला सर्वत्र प्रभावशाली हुन्छ । 

फासीवादको स्रोत के हो ? यो किन र कसरी मौलाउँछ, फस्टाउँछ ?

बीसौं र एक्काइसौं शताब्दीमा देखिएका फासीवादको आर्थिक स्रोत भनेका पुँजीवादमा आउने संकट हो । यसले मध्यम वर्गमा निम्न वर्गमा खस्ने त्रास पैदा गर्छ र त्यही त्रासबाट  मुक्ति खोज्न मुक्तिदाता वा अवतार वा लोकरञ्जक खोज्न थाल्छ । तीनै मुक्तिदाता वा अवतार वा लोकरञ्जकहरुले जुझारु उन्मादी र अन्धतापूर्ण भीड बनाउन थाल्छन् । र जुझारु उन्मादी र अन्धतापूर्ण भीडले मुक्तिदाता वा अवतार वा लोकरञ्जकहरुको निर्माण गर्छ, यसको ‘सिम्बायोटिक’ सम्बन्ध हुन्छ ।

फासीवादको दार्शनिक आधार खोज्दा हामी फ्रेडरिक नीत्सेसम्म पुग्छौ । नीत्सेले ‘सुपरम्यान’को अवधारणा बनाउँदै फासीवादको सैद्धान्तिक जग हालेका थिए भने उनका पनि गुरु मनुले बाइस सय वर्षअघि नै यसको जग खनेका थिए । मनुस्मृतिमा ब्राह्मण र ब्रह्मको सर्वोच्चता, सर्वश्रेष्ठता कायम गर्दै, चण्डाल (अछूत) र शूद्रहरुको अन्यकरण (अदरिङ) गरिएको सहजै देख्न पाइन्छ, जसको घोर प्रशंसा नीत्सेले गरेका छन् । यहुदीविरोधी हिटलरदेखि श्वेतश्रेष्ठतावादी ट्रम्पसम्मले तिनकै फलोअप गरेका मात्रै हुन् ।

नेपालमा फासीवादको उदयको सम्भवना के कस्तो छ ?

नेपालमा फासीवाद प्रत्येकजसो अन्यकरण (कुनै व्यक्ति, समूह वा समुदायलाई 'आफ्नो' नठानेर 'पराई', 'अर्को' वा 'विजातीय' सम्झने तथा 'हामी' (Us) र 'उनीहरू' (Them) बीच एउटा कृत्रिम वा मानसिक पर्खाल खडा गरी 'हामी' लाई श्रेष्ठ र 'उनीहरू' लाई निम्नस्तरको वा भिन्न रूपमा हेरिने प्रक्रिया) को समर्थनमा उर्लिएका भीडमा देखिएको छ । २०५७ पुस ११ मा भएको ऋत्विक रोशन काण्ड, इराकमा नेपालीहरु मारिँदा २०६१ भाद्र १६ मा भएको भीडको प्रदर्शन, मधेश–तराईमा भएका धार्मिक–साम्प्रदायिक दंगाहरुमा उलिएको भीडले फासीवादी झण्डा फहराएको अनुभूति हुन्छ । त्यस्तै २०७९ फागुन १ गते काठमाडौंको ग्वंगःबुँमा भएको आगजनी लुटपाट र तोडफोडपछि फागुन २४ गते जेन जी विद्रोहको क्रममा आक्रोशित भीडबाट भएको आगजनी र तोडफोडमा यही प्रवृत्ति देखिएको छ ।

मैले ओलीको उदयदेखि रवि लामिछानेसम्म उत्थानसम्ममा उर्लिएको अन्य–द्वेषी अन्ध र जुझारु भीडका विचार र व्यवहारमा फासीवाद देखेको छु र लेखेको छु, जसको पछिल्लो उत्कर्ष जेन जी विद्रोहको दावानलसँगै फैलिएको ‘बालेन फ्याक्टर’मा झन् बेसी देखिँदैछ ।

लामो समयदेखि पहाडी हिन्दु नेपाली भाषाको राष्ट्रवादी झण्डा फैलाएर अन्य समुदायविरुद्ध घृणा, अपमान र उत्पीडन जारी राखेका खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले गरेका हर्कतमा ‘बा बा’ भन्दै ताली ठोकिँदै आएको इतिहास छ, त्यसमा फासीवादी तरंग भरिएको पाइन्छ । मैले ओलीको उदयदेखि रवि लामिछानेसम्म उत्थानसम्ममा उर्लिएको अन्य–द्वेषी अन्ध र जुझारु भीडका विचार र व्यवहारमा फासीवाद देखेको छु र लेखेको छु, जसको पछिल्लो उत्कर्ष जेन जी विद्रोहको दावानलसँगै फैलिएको ‘बालेन फ्याक्टर’मा झन् बेसी देखिँदैछ । हिटलरलाई भीड बनाउने र एकै ढंगले सोच्ने सांस्कृतिक उद्यमका गुरु मान्ने व्यक्तिका विचार र व्यवहारमा, उनलाई पछ्याउने भीडको आचरणमा फासीवाद देखिनु अनौठो होइन ।    


https://miro.medium.com

इतिहासलाई फर्केर हेर्दा मुसोलिनी, हिटलरलाई फासीवादको उदाहरणको रुपमा धेरै उद्दरण दिइने गरिन्छ । हेक्कायोग्य कुरा के देखिन्छ भने हिटलरको फासीवादको मुख्य समर्थकहरुमा समाजका सम्भ्रान्त र उच्च वर्गहरुकै बाहुल्यता रहेको देखिन्छ । यसो हुनुको कारण के होला ?

मुसोलिन हुन् या हिटलर उनीहरु बीसौं शताब्दीका फासीवादी हुन् । उनीहरु युरोपेली गोराहरुको अन्यकरणसँगै हिंसा र अत्याचारका कारण बेसी बदनाम छन् । जबकि उनीहरुले जस्तै दुष्कर्म विभिन्न युरोपेली र अमेरिकी सामाज्यले काला, गहुँगोरा र राता मानिसहरुविरुद्ध तीन–चार सय वर्षसम्म गरेको इतिहास छँदै छ । ती दुष्कर्ममा मूल रुपमा मध्यम वर्गको व्यापक समर्थन, सहभागिता र स्वीकारोक्ति भएकै कारण सामाजिक आन्दोलनको रुपमा विकास भएको हो । उनीहरुको यही उन्मादी सामाजिक आन्दोलन र शासनलाई ‘क्लासिकल फासीज्म’ भन्ने गरिन्छ ।

यसबीचको दुई तिहाइ शताब्दीमा ‘नियो फासीज्म’का अनेक भेरियन्ट देखिएका छन्, देश, काल र परिस्थितिअनुसार । ती सबै मध्यमवर्गीय उन्मादमा उच्च वर्गदेखि मजदुर वा श्रम गरी खाने वर्गको पनि सहभागिता व्यापक छ । यसको कारण खोतल्दा उनीहरुको जीवनमा आएका आर्थिक, राजनीतिक, सांस्कृतिक संकट मात्रै होइन, मानसिक समस्या पनि देखिएको छ, जुन ‘मास हिस्टेरिया’को रुपमा प्रकट हुने गरेको छ ।  

फासीवादका त्यस्तो के गुरुत्वाकर्षक हुन्छ जसले समाजका कथित उच्च कुलीन वर्ग र जान्नेबुझ्ने–पढेलेखेका भनिएकाहरुलाई समेत एकोहोर्याएर आफ्ना समर्थक बनाउन सक्षम हुन्छ ?

यसमा सम्मोहक र लोकरञ्जक मुक्तिदाताहरुले उत्पादन गर्ने मिथ्या चेतना (फल्स कन्ससनेस)लाई पहिचान गर्नुपर्छ । मिथ्या चेतनाका रुपमा देखिने अन्य–द्वेष (Xenophobia), परायाकरण, देसाहंकार (Chauvinism) जस्ता गलत भाष्यले मध्यम वर्ग र निम्न वर्गका आम मानिसको मात्रै होइन, उनीहरुका बौद्धिक वर्गको चेतन र अवचेतनमा पार्ने प्रभावलाई कम आँक्न मिल्दैन । यसबारे किताबमा ‘सामूहिक उन्मादको मनोविज्ञान’ खण्डमा विशेष रुपमा उल्लेख गरेको छु ।

मिथ्या चेतनाका रुपमा देखिने अन्य–द्वेष, परायाकरण, देसाहंकारजस्ता गलत भाष्यले मध्यम वर्ग र निम्न वर्गका आम मानिसको मात्रै होइन, उनीहरुका बौद्धिक वर्गको चेतन र अवचेतनमा पार्ने प्रभावलाई कम आँक्न मिल्दैन । यसबारे किताबमा ‘सामूहिक उन्मादको मनोविज्ञान’ खण्डमा विशेष रुपमा उल्लेख गरेको छु ।

अधिकांश समाजमा जान्ने बुझ्ने भनिएका मानिसहरुको वर्ग–स्रोत मध्यम वर्ग हुने गरेको छ । उनीहरुमा देशकाल परिस्थितिअनुसार कहिले भयंकर क्रान्तिकारी हुने त कहिले खतरनाक प्रतिक्रान्तिकारी हुने रोग सामान्य नै हो । उनीहरुलाई कहिले राष्ट्रवादले छुन्छ त कहिले अन्तर्राष्ट्रवादले, कहिले सम्मोहक जादुगरले तान्छ त कहिले सामाजिक न्यायका अभियन्ताले । अत्यन्त अस्थिर र अवसरवादी हुने यस तह र तप्का अहिले पनि एक से एक फासीवादी लोकरञ्जकहरुका प्रचारक रहेको दृश्य देख्न पाइन्छ । 

फासीवादलाई उदाउन नदिने र समाजमा देखापर्ने फासीवादी प्रवृत्तिलाई दमन गर्ने सर्वोत्तम प्रभावकारी उपाय के हो ?

हामी बुद्ध अहिलेको नेपाल सरहदमा जन्मेकोमा अचाक्ली गौरव गर्छौं, तर बुद्धको एउटा सूत्र पनि सम्झने, बुझ्ने र अभ्यास गर्ने लेठो गर्दैनौं । बुद्धले आजभन्दा पच्चीस सय वर्षअघि नै कालाम (केसमुत्ति) सुत्तमा आँखा चिम्लेर गरिने विश्वास, भक्तिभाव र अर्चनाको सट्टा सन्देह, प्रश्न, तर्क, जाँचपरख, थाहा र समझदारीको विकास र विस्तारमाथि विशेष जोड दिएका थिए । उनको भनाइ छ:

कुनै पनि कुरालाई सुनिएकै भरमा विश्वास नगर।

पुस्तौंपुस्तादेखि हस्तान्तरण हुँदै आएको परम्परा हुँदैमा विश्वास नगर।

धेरै मान्छेले भनेकै आधारमा वा व्यापक रूपमा प्रचार भएकै आधारमा विश्वास नगर।

तिम्रा धार्मिक पुस्तकमा लेखिएकै आधारमा कुनै शब्दमा विश्वास नगर।

तिम्रा गुरू वा अग्रजजस्ता अधिकारसम्पन्न व्यक्तिले भनेकै आधारमा कुनै कुरामा विश्वास नगर।

तिम्रो बानीसँग जोडिएकै कारण वा तर्क आकर्षक भएकै कारण कुनै कुरामा विश्वास नगर।

तिमी आफैँ बुझ र विश्लेषण गर, ती कुरा एक र सबै व्यक्तिलाई उचित र हितकारी छ कि छैन जाँचेर हेर,

त्यसको पछाडि रहेका तर्क स्वीकार्य लाग्यो भने मात्रै अँगाल र त्यसलाई जीवनमा लागू गर।

म लामो समयदेखि कार्ल मार्क्सलाई मनपर्ने सूत्र ‘डाउट एभ्रिथिङ’बाट प्रभावित भएकै कारण यसको जरो खोतल्ने क्रममा बुद्धसम्म पुगेको छु । नेपाल वा अन्यत्र पनि बुद्धको कालाम सुत्त र मार्क्सको सूत्रको अभ्यास गर्न सकियो भने फासीवादीहरुले फैलाउने ‘अन्धता’, जुझारुपना, भक्तिभाव र अन्य–घृणा, परायाकरण र उत्पीडनविरुद्ध चेतन–अवचेतन रुपमा लड्न सकिन्छ ।

ब्राह्मण परम्पराभन्दा फरक श्रमण परम्परामा सन्देह, प्रश्न, तर्क, जाँचपरख, थाहा र समझदारीका लागि स्पेस बनाइएको छ, यसको कुनै न कुनै रुपमा निरन्तरता छ । यसको सही बुझाइ र आम रुपमा अभ्यास भएको खण्डमा आम मानिस मानवीय, लोकतान्त्रिक र आलोचनात्मक विवेकले युक्त हुन्छ, जसले कुनै पनि खालको फासीवादको प्रतिरोध गर्छ । म लामो समयदेखि कार्ल मार्क्सलाई मनपर्ने सूत्र ‘डाउट एभ्रिथिङ’बाट प्रभावित भएकै कारण यसको जरो खोतल्ने क्रममा बुद्धसम्म पुगेको छु । नेपाल वा अन्यत्र पनि बुद्धको कालाम सुत्त र माक्र्सको सूत्रको अभ्यास गर्न सकियो भने फासीवादीहरुले फैलाउने ‘अन्धता’, जुझारुपना, भक्तिभाव र अन्य–घृणा, परायाकरण र उत्पीडनविरुद्ध चेतन–अवचेतन रुपमा लड्न सकिन्छ ।