पश्चिम एशियाको तरल शक्ति सन्तुलन बीच अमेरिका–इरानको अस्थायी ‘युद्धविराम’

एकल ध्रुवीयताको मञ्चमा बहुध्रुवीय छाल: पश्चिम एशियाली द्वन्द्वको भूराजनीतिक पुनर्संरचना

पश्चिम एशियाको जटिल र बारुदले भरिएको भूराजनीतिक मैदानमा विगत केही दिनदेखि सापेक्षित मौनता छाएको छ । अमेरिकाले इरानमाथिको आक्रमणलाई रोकेको छ । फलस्वरुप इरानले पनि आफ्नो प्रत्याक्रमणलाई रोकेको देखिन्छ । पछिल्ला केही दिनहरुमा अचानक विकसित यस घटनाक्रमले विश्वभरका सामरिक रणनीतिकारहरूलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ।

इरान र अमेरिकाबीच केही समययता चर्किएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको शृङ्खला अचानक थामिनु सामान्य कूटनीतिक विश्राम मात्र पक्कै पनि होइन । यसको अन्तर्यमा यस क्षेत्रको शक्ति सन्तुलन, सैन्य रसदको सीमा र बदलिँदो सामरिक बाध्यताहरूले पनि काम गरेको छ । पछिल्ला दिनहरुमा अमेरिकाले पाकिस्तानको विशेष पहलमा दुइ देशबीच कायम सहमतिलाई खारेज गर्दै इरानको सामरिक तथा गैरसैनिक पूर्वाधारहरूलाई निसाना बनाउने काम गर्दै आएको थियो । त्यसको बहानामा इरानले स्ट्रेट अफ हर्मुजमा जहाजहरुमाथि आक्रमण गरेको आरोपलाई अघि सार्दै आएको थियो । उता इरानले पनि आफूहरुसँग समन्वय नगरीकन, सहमतिको उल्लंघन गर्ने जहाजहरु कारवाहीमा परेको जनाउँदै अमेरिकी आक्रमणको सशक्त प्रतिवाद गर्दै आएको थियो ।

यस्तो स्थितिमाअहिले एकाएक यो प्रत्यक्ष द्वन्द्वको पारो ओरालो लाग्नुका पछाडि बहुआयामिक कारणहरू विद्यमान छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प स्वयंले 'हामी राम्रो कुराकानी गरिरहेका छौँ' (we are having good talks) भनी दिएको अभिव्यक्तिले बन्द कोठाभित्रको कूटनीतिक पहल भइरहेको कुरालाई सतहमा ल्याइदिएको छ। यो समग्र परिदृश्यको गहिरो चिरफार गर्दा पश्चिम एशियाको वर्तमान राजनीतिक, कूटनीतिक र सैन्य वृत्तमा देखिएको युद्धविराममा आगामी दिनका लागि ठूला भूराजनीतिक पुनर्संरचनाहरू हुन सक्ने गम्भीर सङ्केत पनि छिपेको छ।

वर्तमान घटनाक्रमको सैन्य पक्षलाई गहिरिएर हेर्दा सतहमा आएको सबैभन्दा ठूलो तथ्य अमेरिकी सैन्य साधनको सीमा र तिनको अपूर्तिको दबाब हो। आधुनिक उच्च प्रविधियुक्त युद्ध प्रणालीहरू, विशेष गरी पेट्रिओट वा थ्याड जस्ता अत्याधुनिक मिसाइल इन्टरसेप्टर प्रणालीहरू, सीमित समयका लागि मात्र अत्यधिक तीव्रतामा प्रयोग गर्न सकिन्छ भन्ने तथ्य यो द्वन्द्वले फेरि एकपटक प्रमाणित गरेको छ। इरानले विकास गरेको विशाल ड्रोन भण्डार र ब्यालिस्टिक क्षेप्यास्त्रहरूको अनवरत सामना गर्दा अमेरिकी तथा उसका क्षेत्रीय सहयोगीहरूको रक्षात्मक कवचमा ठूलो असर परेको छ। इरानले छोटो समयमै हजारौंको संख्यामा प्रहार गर्न सक्ने सस्तो लागतका असीमित अस्त्रहरूको बाढीको सामु महँगा र सीमित संख्यामा उपलब्ध अमेरिकी इन्टरसेप्टर क्षेप्यास्त्रहरू तीव्र गतिमा रित्तिएका छन्। यस्तो अवस्थामा रक्षात्मक क्षमता कमजोर हुनु र नयाँ हतियारहरूको उत्पादन तथा आपूर्ति शृङ्खलामा देखिएको शिथिलताका कारण अमेरिकाले तत्कालका लागि आफ्ना सैनिक कारबाहीलाई रोक्न वा संयमित बनाउनैपर्ने सामरिक बाध्यता सिर्जना भएको एकाथरिको विश्लेषण छ। यसले कागजी रूपमा संसारको सबैभन्दा शक्तिशाली देखिने अमेरिकी सैन्य मेसिनरी पनि आधुनिक असिमित युद्धको लागत र रसदको गणितीय सीमाभन्दा बाहिर छैन भन्ने देखाउँछ।

तर सैन्य कारबाहीमा देखिएको यो विश्रामलाई केवल हतियारको कमीसँग मात्र जोडेर हेर्नु अधुरो हुन्छ । युद्धका बीचमा पनि पछाडि गम्भीर भूराजनीतिक र कूटनीतिक पहलहरु भइरहेका छन् । खासगरी, अमेरिकी छत्रछायाँमा रहेका खाडी क्षेत्रका मुलुकहरुले अमेरिकालाई इरानविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिनु निक्कैमहंगो परिरहेको छ र उनीहरु इरानी प्रत्याक्रमणको चपेटामा नराम्ररी परेका छन् । यस अर्थमा पनि ती खाडी मुलुकहरुले अमेरिकामाथि कुटनीतिक दवाब बढाएका छन् ।  अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनिक शैली र विदेश नीतिको चरित्र सधैं लेनदेनमा आधारित रहने गरेको छ। सैन्य द्वन्द्वलाई अनन्तकालसम्म लम्ब्याउँदा त्यसले अमेरिकी अर्थतन्त्रमा पार्ने बोझ, घरेलु राजनीतिको दबाब र आउँदो निर्वाचन वा राजनीतिक भविष्यमा पर्ने नकारात्मक प्रभावलाई ट्रम्प प्रशासनले राम्रोसँग बुझेको छ। त्यसैले, प्रत्यक्ष सैन्यवादको सट्टा कूटनीतिक दबाब र वार्ताको टेबुलबाट आफ्ना स्वार्थ हासिल गर्ने पुरानै रणनीतिलाई ट्रम्पले फेरि एकपटक ब्युँताएका छन्। इरानलाई आर्थिक प्रतिबन्धहरूको पासोमा कसिरहँदा पनि सैन्य टकरावले पश्चिम एशियामा अमेरिकी ऊर्जा सुरक्षा र इजरायल जस्ता रणनीतिक साझेदारहरूको सुरक्षामा पार्ने दीर्घकालीन जोखिमलाई अमेरिका बेवास्ता गर्न सक्दैन। ट्रम्पले ‘हामी राम्रो कुराकानी गरिरहेका छौँ’ भनी अभिव्यक्ति दिनुको अर्थ इरानसँग कूटनीतिक च्यानलहरू पूर्ण रूपमा खुला छन् र पर्दापछाडिबाट तेस्रो देशहरूको मध्यस्थतामा गम्भीर सम्झौताका प्रारूपहरूमाथि छलफल भइरहेको छ भन्ने बुझिन्छ।

अर्कातर्फ, इरानको कोणबाट यो परिदृश्यलाई विश्लेषण गर्दा तेहरानले अपनाएको अडान र प्रत्याक्रमणको नीतिले पनि विशेष अर्थ राख्छ। आर्थिक नाकाबन्दी र आन्तरिक असन्तुष्टिले आक्रान्त भए पनि इरानले आफ्नो सार्वभौमिकतामाथिको प्रहारलाई कडा जवाफ दिँदै आएको छ । यस क्रममा उसले  हरेक आक्रमणको ठोस जवाफ फर्काएर अमेरिकालाई एक प्रकारको रणनीतिक असन्तुलनमा धकेल्न सफल हुँदै आएको छ। इरानको यो कडा र प्रतिवादी अडानले नै इरानलाई सैन्य बलको भरमा मात्र घुँडा टेकाउन सम्भव छैन भन्ने कुरा वाशिंगटनलाई महसुस गरायो ।  खुला र लामो समयसम्मको प्रत्यक्ष युद्धले उसको आफ्नै आर्थिक संरचना पूर्ण रूपमा ध्वस्त पार्न सक्छ भन्ने कुरा तेहरानले पनि राम्ररी बुझेको छ । त्यसैले, कूटनीतिक माध्यमबाट अमेरिका झुक्न वा सम्झौता गर्न तयार हुँदा इरानले पनि वार्ताको टेबलमा आफ्नो स्थान सुरक्षित गर्न तत्परता देखाउँदै आएको छ । यो आपसी शक्ति सन्तुलनको बिन्दु नै हाल देखिएको अस्थायी युद्धविरामको प्रमुख कारण हो । यतिखेर जहाँ दुवै पक्षले आफ्ना आन्तरिक कमजोरी र बाह्य दबाबलाई मध्यनजर गर्दै सामरिक विराम (tactical pause) लाई रोजेका छन्।

यो सम्पूर्ण घटनाक्रमले पश्चिम एशियाको क्षेत्रीय शक्ति समीकरणमा गहिरो प्रभाव पारेको छ। यस क्षेत्रमा प्रभाव राख्ने रुस र चीन लगायतका अन्य महाशक्तिहरू यो सम्पूर्ण परिदृश्यलाई गहिरो सूक्ष्म दृष्टिले नियालिरहेका छन्। अमेरिका पश्चिम एशियाको सामरिक द्वन्द्वमा फसिरहँदा र आफ्ना स्रोतसाधनहरू यतैतिर केन्द्रित गर्नुपर्दा त्यसले पूर्वी युरोप र इण्डो–प्यासिफिक क्षेत्रमा वाशिंगटनको पकडलाई कमजोर बनाउँदै लगेको छ। चीनको मध्यस्थतामा यसअघि नै साउदी अरेबिया र इरानबीच सम्बन्ध सुधार भएको पृष्ठभूमिमा, पश्चिम एशियामा अमेरिकाको एकलौटी प्रभाव क्रमशः खस्कँदै गएको छ र बहुध्रुवीय भूराजनीतिको उदय भइरहेको छ। इजरायल जस्तो अमेरिकी नजिकको सहयोगी राष्ट्र पनि अहिलेको यो कूटनीतिक मोडबाट पूर्ण रूपमा आश्वस्त हुन सकेको छैन । यसो हुनुको कारण वाशिंगटनको नीतिमा आउने यस्ता अचानक परिवर्तनहरूले क्षेत्रीय सुरक्षाको दीर्घकालीन खाकालाई अस्थिर बनाइदिन्छन्। इरानसँगको वार्ताले कुनै ठोस सम्झौताको रूप लियो भने त्यसले इजरायलको क्षेत्रीय सुरक्षा डक्ट्रिनमा ठूलो धक्का पुग्न सक्छ । यस्तो स्थितिमा पश्चिम एशियाको राजनीतिमा नयाँ आन्तरिक अन्तरविरोधहरू जन्मिने खतरा सधैं रहन्छ।

यो कूटनीतिक र सैन्य समीकरणको अर्को महत्वपूर्ण पाटो तेल र ऊर्जा बजारको अर्थराजनीति हो। पश्चिम एशियामा जरा गाडेको यो द्वन्द्वको प्रत्यक्ष प्रभाव विश्वव्यापी इन्धन आपूर्तिमा पर्ने गर्दछ। स्ट्रेट अफ हर्मुज जस्तो विश्वको सबैभन्दा संवेदनशील तेल ढुवानी मार्गको सुरक्षा यहाँको राजनीतिक स्थिरतासँग सिधै जोडिएको छ। युद्धको खतरा बढ्दा स्वभाविक रुपमा विश्व बजारमा तेलको मूल्य आकाशिन थाल्छ । त्यसले अमेरिकी र युरोपेली अर्थतन्त्रमा मात्र हैन, समग्र विश्वमा नै मुद्रास्फीतिको चाप बढाउँछ। ट्रम्प प्रशासन वा कुनै पनि अमेरिकी सरकारका लागि आफ्ना जनतालाई महँगीबाट बचाउनु राजनीतिक रूपमा अत्यन्तै संवेदनशील विषय हो। तसर्थ, सैन्य आक्रमण रोकिनु र कूटनीतिक वार्तालाई प्राथमिकता दिनुमा आर्थिक सुरक्षाको पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ। इरानले पनि आफ्नो तेल निर्यातलाई सहज बनाउन र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पासोबाट केही हदसम्म भए पनि मुक्त हुन कूटनीतिक मार्ग नै उत्तम विकल्प हो भन्ने ठान्नु स्वभाविक हो ।

अन्तर्राष्ट्रिय सम्बन्धको सैद्धान्तिक परिप्रेक्ष्यमा हेर्दा, अहिले पश्चिमा एशियामा विकसित भइरहेको घटनाक्रम यथार्थवाद र उदारवादी कूटनीतिको अनौठो संगम हो । यसले शक्ति र राष्ट्रिय हितको परिधिभित्र रहेर गरिने सैन्य शक्ति प्रदर्शन र त्यसपछि उत्पन्न हुने परिस्थितिले राज्यहरू कसरी आफ्ना उद्देश्य प्राप्तिका लागि साधनहरूको फेरबदल गर्छन् भन्ने देखाउँछ। अमेरिका र इरानबीचको यो प्रत्यक्ष लडाइँ अब दुई देशको सीमाभित्र मात्र सीमित छैन, यसले समग्र ‘ग्लोबल साउथ’को राजनीतिक मनोविज्ञान र प्रतिरोधको संस्कृतिलाई पनि प्रभावित पारेको छ। तेहरानले अमेरिकाजस्तो महाशक्तिविरुद्ध देखाएको दृढताले साना तथा मध्यम राष्ट्रहरूलाई पनि आफ्नो सार्वभौमिकताको रक्षाका लागि वैकल्पिक प्रतिरोधका मार्गहरू खोज्न प्रेरणा दिएको छ। यद्यपि, यो शान्ति वा प्रहारको रोकाइ कति दीर्घकालीन हुन्छ भन्ने कुरा वाशिंगटन र तेहरानबीच भइरहेका भित्री वार्ताका सर्तहरूले निर्धारण गर्नेछन्। अहिले भित्रभित्रै चलिरहेको कूटनीतिक संवाद समय खरिद गर्ने रणनीतिक नाटक मात्र साबित भयो भने, यो मौनता कुनै पनि बेला फेरि ठूलो सैन्य आँधीमा परिणत हुन सक्ने खतरा ज्यूँका त्यूँ छ।

निचोडमा भन्दा यतिखेर पश्चिम एशियाको वर्तमान राजनीतिक, कूटनीतिक र सैन्य परिवृत्त अत्यन्तै तरल, संवेदनशील र परिवर्तनशील मोडमा उभिएको छ। इरान र अमेरिकाबीच केही दिनयता रोकिएको क्षेप्यास्त्र प्रहार र राष्ट्रपति ट्रम्पले उल्लेख गरेको राम्रो कुराकानीको दाबीले यो क्षेत्रमा बारूद र सम्झौताको दोसाँध खडा गरेको छ। सैन्य रसदको कमी र रणनीतिक सीमाले वाशिंगटनलाई जति मात्रामा कूटनीतिक बाटो समात्न बाध्य बनाएको छ, इरानको प्रतिरोध क्षमताले पनि त्यसलाई उत्तिकै बल पुर्याएको छ। यो अवस्था कुनै स्थायी शान्तिप्रतिको निष्ठा नभई दुवै पक्षका तात्कालिक बाध्यताहरूको मजबूरी हो। आगामी दिनमा यो कूटनीतिक संवादले ठोस सम्झौताको रूप लेला वा फेरि अर्को विनाशकारी द्वन्द्वको बिउ रोप्लाला, त्यो यिनै दुई शक्तिहरूको आगामी चालमा निर्भर गर्नेछ। तर एउटा कुरा भने निश्चित छ : पश्चिम एशियाको यो भूराजनीतिक मञ्चमा चलिरहेको साम्राज्यवादी दम्भ र क्षेत्रीय प्रतिरोधबीचको यो सङ्घर्षले विश्व इतिहासको आगामी दिशा तय गर्नमा निर्णायक भूमिका खेल्नेछ। कम्तिमा यसले यतिखेर एकल ध्रुवीय विश्वको कडीलाई भत्काएर विश्वलाई बहुध्रुवीयतातिर अग्रसर गराएको प्रष्टै संकेत दिएको छ ।