साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल

एआइ निर्मित हिंसाविरोधी प्रतिकात्मक तस्विर

देशका विभिन्न स्थानमा भएका साम्प्रदायिक झडप तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रबुद्ध वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासनको संरक्षणका लागि संयुक्त अपिल जारी गरेका छन्।

उनीहरूले सुनसरीको देवानगञ्जबाट सुरु भएको साम्प्रदायिक हिंसा अन्य जिल्लासम्म फैलिँदा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

साउन १६ गते शनिबार जारी उक्त अपिलमा हिंसामा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता, गणेश मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै सरकारले राहत र उपचारका लागि गरेको प्रतिबद्धतालाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

अपिलमा नेपालको धार्मिक, जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै कुनै पनि बहानामा सामाजिक सद्भाव र सहअस्तित्व खलबल्याउने गतिविधि स्वीकार्य नहुने जनाइएको छ। सबै समुदायलाई संयम, संवाद र आपसी विश्वास कायम राख्न आग्रह गरिएको छ।

हस्ताक्षरकर्ताहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग पनि गरेका छन्। उनीहरूले दोषीलाई कुनै पनि प्रभाव वा दबाबबाट मुक्त भई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा संयन्त्र विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अपिलमा नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै स्थानीय तहमा प्रभावकारी 'र्‍यापिड रेस्पोन्स मेकानिज्म' सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

धर्मनिरपेक्षताको मर्म आफ्ना धार्मिक आस्थाको स्वतन्त्र अभ्याससँगै अरूको आस्थाप्रति सम्मान गर्नु रहेको उल्लेख गर्दै धार्मिक वा साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्न सरकारसँग आग्रह गरिएको छ।

त्यसैगरी सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने, साम्प्रदायिक द्वेष फैलाउने, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने व्यक्तिलाई कानुनअनुसार कडा कारबाही गर्न अपिलमा माग गरिएको छ।

संयुक्त अपिलमा निलाम्बर आचार्य, सूर्यप्रसाद श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, महेन्द्रबहादुर पाण्डे, पिताम्बर शर्मा, सुशील प्याकुरेल, चैतन्य मिश्र, दुर्गेशमान सिंह, टङ्क कार्की, महेशकुमार मास्के, लीलामणि पौड्याल र विष्णुपुकार श्रेष्ठलगायतका प्रबुद्ध व्यक्तित्वहरूको हस्ताक्षर रहेको छ।