भारतमा पहिलो पटक विश्वकै ठूलो पहिरो सम्मेलन हुँदै
भारतमा पहिलो पटक पहिरोसम्बन्धी विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। अमृता विश्व विद्यापीठम् (अमृता युनिभर्सिटी) र अन्तर्राष्ट्रिय पहिरो संघ (आईसीएल) को संयुक्त सहकार्यमा आगामी २०२६ नोभेम्बर २३ देखि २७ (मंसिर ७ देखि ११) सम्म भारतको दिल्ली एनसीआरस्थित फरिदाबाद क्याम्पसमा 'सातौं विश्व पहिरो मञ्च' (डब्लुएलएफ–७) आयोजना हुन लागेको हो।
"सुरक्षित र उत्थानशील समुदायका लागि पहिरो विज्ञान र अभ्यास" मुख्य नारा तय गरिएको पाँच दिने यस सम्मेलनमा ७५ देशका १ हजार ९ सयभन्दा बढी लेखक तथा ७६० संस्थाका ७ सयभन्दा बढी वैज्ञानिक शोधपत्र प्रस्तुत हुनेछन्। सम्मेलनमा १ हजार ३ सयभन्दा बढी विदेशी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।
प्रत्येक तीन वर्षमा आयोजना हुने यो मञ्च भारतमा हुन लागेको पहिलो संस्करण हो भने भारत यो सम्मेलन आयोजना गर्ने पाँचौं राष्ट्र बन्नेछ। यसअघि जापानको टोकियो (२००८) र क्योटो (२०२१), इटालीको रोम (२०११) र फ्लोरेन्स (२०२३), चीनको बेइजिङ (२०१४) तथा स्लोभेनियाको लुब्लियाना (२०१७) मा यो सम्मेलन सम्पन्न भइसकेको छ।
अत्याधुनिक प्रविधि र प्राविधिक सत्रहरू
मुख्य सम्मेलन सुरु हुनुअघि नोभेम्बर २२ मा पूर्व–सम्मेलन कार्यशालाहरू सञ्चालन हुनेछन्। जसमा पहिरो पूर्वानुमानका लागि कृत्रिम बुद्धिमत्ता (एआई), सेन्टिनल–१ र निसार उपग्रहमा आधारित अनुगमन, इन्टरफेरोमेट्रिक सिन्थेटिक अपर्चर राडार (InSAR), डिजिटल ट्विन्स र भूस्थानिक मोडलिङजस्ता अत्याधुनिक प्रविधिबारे छलफल हुनेछ।
मुख्य सम्मेलनमा पहिरो र समाजको सांस्कृतिक, शैक्षिक तथा नीतिगत आयाम, पूर्व चेतावनी प्रणाली र पहिरो सूचीकरण तथा मानकीकरणजस्ता विषयमा विशेष प्राविधिक सत्रहरू चल्नेछन्। यो मञ्च 'क्योटो पहिरो प्रतिबद्धता २०२०', विपद् जोखिम न्यूनीकरणसम्बन्धी सेन्डाइ फ्रेमवर्क र संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरूसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

नेपालका लागि किन महत्त्वपूर्ण ?
वार्षिक मनसुनका कारण घातक पहिरोको उच्च जोखिम व्यहोरिरहेको नेपालका लागि यो सम्मेलन अत्यन्त महत्त्वपूर्ण मानिएको छ। आयोजक अमृता विश्वविद्यालयको अनुसन्धानले 'आईओटी सेन्सर' लाई एआई प्रविधिसँग जोड्दा पहिरो जानु २४ घण्टा अगावै पूर्व चेतावनी दिन सकिने देखाएको छ। सन् २००६ देखि यस क्षेत्रमा अनुसन्धानरत विश्वविद्यालयले केरलाको मुन्नारमा वायरलेस सेन्सर नेटवर्क तथा भारत सरकारको अनुरोधमा सिक्किमका ७० भन्दा बढी स्थानमा ३ सयभन्दा बढी सेन्सरसहितको एआई प्रणाली जडान गरिसकेको छ।
सम्मेलनको उद्देश्यबारे प्रकाश पार्दै अमृता विश्व विद्यापीठम्की उपकुलपति प्रा.डा. मनीषा भी. रमेशले पहिरो विज्ञानमा हुने हरेक प्रगतिले अन्ततः एउटा जीवन, एउटा घर वा जीविकोपार्जन जोगाउन सक्नुपर्ने बताइन्। अमृताको यो कार्यक्रम सन् २०१७ देखि २०२६ सम्म लगातार तीन कार्यकाल 'पहिरो प्रकोप न्यूनीकरणमा विश्व उत्कृष्टता केन्द्र' का रूपमा मान्यता प्राप्त छ।
नेपाली सहभागीलाई विशेष सहुलियत
सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालका सहभागीहरूले प्रारम्भिक (अर्ली बर्ड) दर्ता शुल्कमा विशेष छुट पाउनेछन्। यसका साथै स्वीकृत शोधपत्रका लेखकहरूका लागि कुल २ सय विद्यार्थी अनुदान र पाँच वा सोभन्दा बढी शोधपत्र पेश गर्ने संस्थाहरूका लागि १५ प्रतिशत समूहगत छुटको व्यवस्था गरिएको आयोजक समितिका सदस्य आदित्यन श्रीधरनले जानकारी दिए। इच्छुक सहभागीले मञ्चको आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता तथा शोधपत्रको सारांश पेश गर्न सक्नेछन्। साथै आयोजकहरुलाई थप जानकारीका लागि इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।
भारतीय भूवैज्ञानिक सर्वेक्षण (जीएसआई), भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई) लगायतका प्रमुख अन्तर्राष्ट्रिय निकायहरूले यस सम्मेलनमा संस्थागत साझेदारी गरेका छन् ।
चित्रहरु: एआइको सहयोगमा तयार पारिएका हुन् ।
विश्व मिडिया शिखर सम्मेलनको बेइजिङ सहमति : एआईको जिम्मेवार प्रयोगमा जोड
नेपाल प्रहरीमा नयाँ आईजीपी नियुक्ति
चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
‘नख्खु जेल ब्रेकर’ कम्युनिस्ट नेता घनेन्द्र बस्नेत रहेनन् !
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
प्रतिक्रिया