धर्म र अन्धविश्वास
उसले धर्मलाई अन्धविश्वास भन्यो
अनि मलाई अर्थ्यायो-
धर्म त अफिम हो नि बुझ्यौ ?
मैले मेरो पेशागत/ व्यावसायिक धर्म सम्झिएँ
मेरो धर्म अन्धविश्वास थिएन
मैले मेरो मानव धर्म सम्झिएँ
मेरो धर्म अफिम थिएन
तोकिएको पेशागत/ व्यावसायिक आचरणभन्दा
मेरो पेशागत/ व्यावसायिक धर्म
अझै बढी विश्वसनीय र भरपर्दो होस्
म कामना गरिरहेको हुन्छु
मानिएका आचार-संहिताभन्दा
मेरो मानव धर्म
अझै उँचो र गर्विलो होस्
म चाहना राखिरहेको हुन्छु
कागले काग हुनुको धर्म निभाउनु
वा हिंस्रक जनावरले हिंस्रक हुनुको धर्म निभाउनु
अन्धविश्वास हो र ?
लाग्छ मानिस कतै अलमलिएको छ
र बेलाबखत
मानिस भएर मानिसको धर्म निभाउन चुक्ने गर्छ
अन्धविश्वास मुक्त भएको हो र ?
अर्को दिन ऊसले
आफ्नाको स्मरणमा‚ चिहानमा
सफा चामल मात्र चढाउने गरेको बताएर
आफुलाई प्रगतिशील भएको दावी गर्यो
अनि आफ्नाको स्मरणमा मैले‚ चिहानमा
चामल पकाएर भात चढाउने गरेको देखेर
उसले मलाई अन्धविश्वासी भन्यो
मैले उसलाई सोधेँ-
आफ्नाको स्मरणमा‚ चिहानमा
फूलको यौटा थुङ्गा मात्र चढाएर फर्कनेलाई
तिमी के भन्छौ ?
ऊसले कुनै जवाफ दिएन।
२०८३ कार्तिक २९
प्रतिक्रिया