बृद्ध बकुल्ला र माछाका भुराहरु

टन्न खाएर पोखरीका माछाहरु

अलि परको बाँसको झ्याङमा उँघिरहेको

बृद्ध बकुल्ला

एकाएक फेरि‚ पुरानै पोखरीमा फर्कियो

 

माछाका भुराहरु

पानीमा डुबेको बकुल्लाको खुट्टा वरिपरी घुम्न थाले

आफ्नो मुखले बकुल्लाको खुट्टा चाट्न थाले

बृद्ध बकुल्लालाई कुतकुति लाग्न थाल्यो

 

माछाका भुराहरु रमाएको देखेर

बृद्ध बकुल्ला भावुक बन्यो र रुन्चे स्वरमा विलौना गर्‍यो-

"मैले कहिल्यै पोखरी बनाउन सकिनँ

अब म पोखरी बनाउँछु‚

हो मलाई थाहा छ मैले थुप्रै वयस्क माछाहरु खाएको छु

अब म माछाका भुराहरुलाई अभिभावकत्व प्रदान गर्छु‚"

विलौना गर्दै‚ भावुक भएर फेरि थप्यो-

"मलाई त पोखरीको लोभ छँदै छैन

लोभ भनेकै अब माछाका भुराहरुको मात्र हो

वास्तवमा म मेरो इच्छाले होइन

यिनै भुराहरुको पीरले मात्रै पोखरीमा फर्किएको हुँ"

 

बाँसको झ्याङमा उँघेर

निद्रा पुर्‍याएर‚ पेट हल्का भएपछि

पोखरीमा फर्किएर

पानीमा आधी खुट्टा डुबाएर

भावुक बनेको बकुल्ला‚ भोक जाग्न थालेपछि

साँच्चै रक्षक नै रहला कि भक्षक ?

थाहा छैन‚ माछाहरुको चेतनाले

बकुल्लाको स्वभाव बुझ्ने

त्यस्तो कुनै समय आउला कि नआउला ?

***

१६ असोज २०८३

 

 

डा. राजेन्द्रप्रसाद अधिकारी

निर्माण व्यवस्थापन विज्ञ डा. अधिकारी मूलतः कवि हुन् र साहित्यका अरु विधामा पनि कलम चलाउने गर्छन्। उनी पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य-सचिव एवम् पूर्व अध्यक्ष हुन्।