बुद्धिमान, मूर्ख र दास

एउटा दास सधैँ अरू मानिसहरूको बाटो ढुकेर बस्थ्यो, ताकि उनीहरूलाई आफ्नो दुःख-पीडा सुनाउन सकियोस्। ऊ त्यस्तै थियो र केवल त्यति नै गर्न सक्थ्यो। एक दिन उसले एउटा बुद्धिमान मानिसलाई भेट्टायो।
"महाशय!" उदास स्वरमा रुँदै उसले बोल्यो, उसका गालाहरूमा आँसुको धारा बग्न थाल्यो, "तपाईंलाई थाहा छ, म कुकुरको जस्तो जिन्दगी बाँचिरहेको छु। मलाई दिनभरिमा एक पटक पनि भरपेट खान मिल्दैन, र पाइहाले पनि सुँगुरले समेत नखाने कोदोको भुस मात्र पाउँछु। अनि त्यो पनि एउटा सानो कचौराभरि भन्दा बढी कहाँ पाइन्छ र!"
"यो त वास्तवमै अति नै नराम्रो कुरा हो," बुद्धिमान मानिसले सहानुभूति जतायो।
"अझ के कुरा गर्नु र!" ऊ अलि उत्तेजित हुँदै भन्न थाल्यो, "जबकि म दिन-रात नभनी निरन्तर घोटिइरहन्छु। मिर्मिरे उज्यालो हुनासाथ मैले पानी भर्नुपर्छ, साँझमा खाना पकाउँछु, बिहान अह्राएको काम फ्याट्टै भ्याउँछु, बेलुकी गहुँ पिस्छु, मौसम सफा हुँदा लुगा धुन्छु र पानी पर्दा छाता ओढाएर उभिनुपर्छ, जाडोमा अगेना सल्काउँछु र गर्मीमा पङ्खा हम्किन्छु। आधी रातमा च्याउ उमाल्दै जुवाको अखडामा व्यस्त आफ्ना मालिकको प्रतीक्षा गरिरहन्छु। तर मैले कहिल्यै कुनै बकस वा पुरस्कार पाउँदिनँ, केवल समय-समयमा कोर्राको प्रहार मात्र सहनुपर्छ।"
"मेरो प्रिय..." बुद्धिमान मानिसले लामो सास फेर्यो। उसका आँखाका कुनाहरू अलिअलि राता भइसकेका थिए, मानौं ऊ अहिले नै रुनेवाला छ।
"म यसरी बाँच्न सक्दिनँ, महाशय! मैले कुनै न कुनै उपाय खोज्नैपर्छ, तर म के गरूँ?"
"मलाई विश्वास छ, परिस्थिति पक्कै सुध्रिनेछ..."
"के तपाईं त्यस्तै सोच्नुहुन्छ? निस्सन्देह, म यसको आशा गर्छु। तर अब जब मैले तपाईंलाई आफ्नो दुःख-पीडा सुनाएँ र तपाईंले यत्तिको सहानुभूतिपूर्वक मेरो हौसला बढाउनुभयो, मलाई पहिलेभन्दा अलि हलुका र राम्रो महसुस भइरहेको छ। यसबाट के स्पष्ट हुन्छ भने, यो संसारमा अझै पनि अलिकति न्याय बाँकी नै छ।"
यद्यपि, केही दिनपछि नै ऊ पुनः उदासीले भरियो र आफ्नो दुःखडा सुनाउन अर्कै मानिसलाई भेट्न पुग्यो।
"महाशय!" उसले आँसु बहाउँदै सम्बोधन गर्यो, "तपाईंलाई थाहा छ, म जहाँ बस्छु त्यो ठाउँ सुँगुरको खोरभन्दा पनि बढी अस्तव्यस्त र घिनलाग्दो छ। मेरो मालिकले मलाई मान्छे नै गन्दैन। उसले त आफ्नो कुकुरलाई मभन्दा दस हजार गुणा राम्रो मान्छ..."
"त्यसको सत्यानाश होस्!" अर्को व्यक्तिले यति चर्को स्वरमा गाली गर्यो कि त्यो दास अक्क न बक्क पर्यो। त्यो अर्को मानिस मूर्ख थियो।
"म जहाँ बस्छु, महाशय, त्यो एउटा फुस्रो र ओसिलो जुठेल्नो जस्तो झुपडी हो, जहाँ चिसो र अनगिन्ती उडुसहरू भरिएका छन्। म सुत्न जानेबित्तिकै तिनीहरूले टोक्न थाल्छन्। त्यो ठाउँ दुर्गन्धले गन्हाउँछ र त्यसमा एउटा पनि झ्याल छैन..."
"के तिमी आफ्नो मालिकलाई एउटा झ्याल हालिदेऊ भन्न सक्दैनौ?"
"म कसरी भन्न सक्छु र?"
"ल हिँड, मलाई देखाऊ त्यो ठाउँ कस्तो छ।"
मूर्ख मानिस दासको पछि-पछि उसको झुपडीमा गयो र माटोको पर्खालमा बञ्चरो र धक्काले हिर्काउन थाल्यो।
"यो तपाईं के गर्दै हुनुहुन्छ, महाशय?" दास निकै डरायो।
"म तिम्रो लागि एउटा झ्याल खोलिदिँदै छु।"
"यो पटक्कै ठीक हुनेछैन। मालिकले मलाई कुट्नेछ।"
"कुट्न देऊ।" मूर्ख मानिसले पर्खालमा निरन्तर प्रहार गरिरह्यो।
"छिटो आउनुहोस् ! एउटा डाकाले घर भत्काउँदै छ! चाँडो आउनुहोस्, नत्र यसले पर्खाल ढालिदिनेछ..." चिच्याउँदै र सुक्सुकाउँदै त्यो दास बहुलाझैँ भुइँमा पछारिएर छटपटाउन थाल्यो। दासहरूको एउटा ठूलो हुलमुल नै ओइरिएर आयो र उनीहरूले त्यो मूर्खलाई लखेटे। यो हल्लाखल्ला सुनेर सबैभन्दा पछाडि विस्तारै बाहिर निस्कने व्यक्ति मालिक थियो।
"एउटा डाकाले हाम्रो घर ढालिदिन खोज्दै थियो। मैले नै सबैभन्दा पहिले खतराको सूचना दिएँ, अनि हामी सबै मिलेर त्यो मूर्खलाई लखेट्यौँ," दासले निकै आदरपूर्वक र विजयको गर्वका साथ भन्यो।
"तिम्रो भलो होस्!" मालिकले उसको प्रशंसा गर्यो।
त्यस दिन सहानुभूति देखाउन धेरै मानिसहरू आए, जसमध्ये त्यो बुद्धिमान मानिस पनि एक थियो।
"महाशय, मैले आफूलाई कामलाग्दो साबित गरेकाले मालिकले मेरो प्रशंसा गर्नुभयो। तपाईं त वास्तवमै दूरदर्शी हुनुहुँदो रहेछ, तपाईंले त्यस दिन भन्नुभएको थियो नि परिस्थिति सुध्रिनेछ भनेर," ऊ निकै आशावादी र प्रफुल्लित मुद्रामा बोल्यो।
"हो नि, यो एकदम सही कुरा हो..." बुद्धिमान मानिसले उत्तर दियो, र ऊ पनि आफूप्रति निकै प्रसन्न देखिन्थ्यो।
प्रतिक्रिया