कार्ल मार्क्सको सिद्धान्तको ऐतिहासिक नियति

प्रस्तुत आलेख  ‘कार्ल मार्क्सको सिद्धान्तको ऐतिहासिक नियति’ भी. आई. लेनिनले सन् १९१३ मा लेखेका हुन् । त्यस यता भोल्गामा धेरै पानी बगिसकेको छ । रुसी अक्टोवर क्रान्ति, चिनियाँ क्रान्ति, भारतीय स्वतन्त्रता आन्दोलन, विश्वव्यापी रुपमा औपनिवेशिक शासनको विनिर्माण र प्रगौधिक क्रान्ति त्यस पछिका घटना हुन् ।त्यसबेलाको वैश्विक व्यवस्थामा परिवर्तनका विभिन्न चरण पूरा गर्दै यहाँसम्म आई पुग्दा दुनियाँ वहुध्रुवीय विश्वव्यवस्थाको प्रशव पीडाबाट गुज्रँदै छ ।

यति भएर पनि यस कालजयी निबन्धको महत्व कम भएको छैन, यसको सार्वभौमिक महत्त्व अझ बढेको छ । यसले मार्क्सवादलाई बन्द कोठामा सृजित जडसूत्रका रुपमा हैन, वर्गसङ्घर्ष र विश्व इतिहासको भीषण आँधीबेहरीमा खारिएको जीवन्त विज्ञानका रूपमा संश्लेषण गरेको छ। भूमण्डलीकृत नवउदारवाद र एकाधिकार पुँजीको निर्मम दबदबाले निम्त्याएको चरम आर्थिक विषमताका बिच लेनिनले यस निबन्धमा गरेका मार्क्सवादी वर्गीय विश्लेषणको सान्दर्भिकता आज झनै तिखो बन्न पुगेको छ।

यही ऐतिहासिक आलोकमा उभिएर हेर्दा आजको नेपाली वामपन्थी आन्दोलन गम्भीर वैचारिक विचलनको दलदलमा भासिएको देखिन्छ। युगान्तकारी बलिदानको जगबाट उठेको नेपालको कम्युनिष्ट आन्दोलनले वर्गसङ्घर्षको बाटो बिराएर सत्तालिप्सा, अप्राकृतिक गठबन्धन र बुर्जुवा संसदलाई 'मुक्तिको उपकरण'को रुपमा प्रयोग गर्नु पर्नेमा बुर्जुवाहरुले 'धोखाधडीको उपकरण'को रुपमा प्रयोग गरे जस्तै गर्नुमा लिप्त रहेको कुरा आजको तीतो वास्तविकता हो। भित्रभित्रै सडिसकेको उदारवादले मार्क्सवादको खोल ओढेर क्रान्तिलाई तुहाउने लेनिनको कठोर चेतावनीबिच यसको कार्यदिशा, प्रणाली र संरचनामा आमूल पुनर्गठन जरुरी भइसकेको कुरा आज नेपाली राजनीतिको कटु यथार्थ बनेको छ।

तसर्थ, नेपाली वामपन्थीहरूले लेनिनको यस रचनाबाट अवसरवादको कुरूप मुखुण्डो उतार्न र ‘शान्तिपूर्ण’ संसदीय अभ्यासका नाममा क्रान्तिकारी लक्ष्य परित्याग गर्ने आत्मघाती प्रवृत्तिबारे सचेत रहनु जरुरी छ। विश्वभरिकै क्रान्तिकारी शक्तिहरुले उदारवादी तथा प्रतिक्रियावादी शक्तिहरूसँगको सिद्धान्तहीन सम्झौता छोडेर पुनः श्रमजीवी, किसान र उत्पीडित वर्गको सङ्गठित शक्तिमाथि भरोसा गर्नु नै आजको युगिन कार्यभार हो। नेपालको विशिष्ट वस्तुगत धरातल, थिलथिलो अर्थतन्त्र र युवा पलायनको यथार्थलाई सम्बोधन गर्दै क्रान्तिकारी वैचारिक, प्रणालीगत र संरचनात्मक पुनर्गठनको आँधी सिर्जना गर्न सके मात्र मार्क्सवादको सार्थकता साबित हुनेछ भन्ने हामीलाई लाग्छ।

–दायित्वबोध

मार्क्सको सिद्धान्तको मुख्य कुरा भनेको समाजवादी समाजको निर्माताका रूपमा सर्वहारा वर्गको ऐतिहासिक भूमिकालाई बाहिर ल्याउनु हो। मार्क्सले यो सिद्धान्त प्रतिपादन गरेदेखि विश्वभरका घटनाक्रमहरूले यसलाई पुष्टि गरेका छन् त?

मार्क्सले यसलाई सर्वप्रथम सन् १८४४ मा अघि सारेका थिए। सन् १८४८ मा प्रकाशित मार्क्स र एङ्गेल्सको कम्युनिष्ट घोषणापत्र ले यस सिद्धान्तको एकीकृत र व्यवस्थित व्याख्या प्रस्तुत गर्‍यो, जुन व्याख्या आजसम्मकै सर्वोत्कृष्ट रहँदै आएको छ। त्यसयता विश्व इतिहास स्पष्ट रूपमा तीन मुख्य कालखण्डमा विभाजित भएको छ: (१) १८४८ को क्रान्तिदेखि पेरिस कम्युन (१८७१) सम्म; (२) पेरिस कम्युनदेखि रुसी क्रान्ति (१९०५) सम्म; (३) रुसी क्रान्तिदेखि यता।

यी प्रत्येक कालखण्डमा मार्क्सको सिद्धान्तको नियति कस्तो रह्यो, हेरौं।

१

पहिलो कालखण्डको सुरुमा मार्क्सको सिद्धान्त पटक्कै हावी थिएन। यो समाजवादका अत्यन्तै धेरै समूह वा प्रवृत्तिहरूमध्ये केवल एक थियो। प्रभावशाली बनेका समाजवादका रूपहरू मूलतः हाम्रो नारोदनिज्म (जनवादी समाजवाद) सँग मिल्दाजुल्दा थिए। तिनमा ऐतिहासिक विकासको भौतिकवादी आधारलाई बुझ्ने क्षमताको अभाव थियो। पुँजीवादी समाजभित्र प्रत्येक वर्गको भूमिका र महत्त्वलाई छुट्याएर पहिचान गर्न पनि ती असमर्थ थिए। साथै, ‘जनता’, ‘न्याय’, ‘अधिकार’ आदि शब्दहरूका विविध छद्मसमाजवादी नाराहरूको आडमा लोकतान्त्रिक सुधारहरूको बुर्जुवा चरित्रलाई ढाकछोप गरिन्थ्यो।

सन् १८४८ को क्रान्तिले पूर्व-मार्क्सवादी समाजवादका यी सबै कोलाहलपूर्ण, बहुरूपी र आडम्बरपूर्ण रूपहरूमाथि घातक प्रहार गर्‍यो। सबै देशहरूमा क्रान्तिले समाजका विभिन्न वर्गहरूलाई सक्रिय रूपमा उजागर गर्‍यो। सन् १८४८ को जुन महिनामा पेरिसमा गणतन्त्रवादी पुँजीपति वर्गले मजदुरहरूमाथि चलाएको गोलीकाण्डले अन्ततः सर्वहारा वर्ग मात्र स्वभावैले समाजवादी हो भन्ने कुरा छर्लङ्ग पारिदियो। उदारवादी पुँजीपति वर्ग कुनै पनि किसिमको प्रतिक्रियावादसँग भन्दा सय गुणा बढी यस वर्गको स्वतन्त्रतासँग डराउँथ्यो। कायर उदारवादीहरू प्रतिक्रियावादको अगाडि लम्पसार परे। किसानहरू सामन्तवादका अवशेषहरूको उन्मूलनबाट सन्तुष्ट भए र अमनचयनका समर्थकहरूसँग सामेल भए, यद्यपि कहिलेकाहीँ मजदुर प्रजातन्त्र र पुँजीवादी उदारवादको बीचमा डगमगाउँथे। गैर-वर्गीय समाजवाद र गैर-वर्गीय राजनीतिका सबै सिद्धान्तहरू सरासर बकवास साबित भए।

सन् १८४८ को जुन महिनामा पेरिसमा गणतन्त्रवादी पुँजीपति वर्गले मजदुरहरूमाथि चलाएको गोलीकाण्डले अन्ततः सर्वहारा वर्ग मात्र स्वभावैले समाजवादी हो भन्ने कुरा छर्लङ्ग पारिदियो।

सन् १८७१ को पेरिस कम्युनले बुर्जुवा रूपान्तरणको यस विकासक्रमलाई पूर्णता प्रदान गर्‍यो। वर्गीय सम्बन्धहरू सबैभन्दा स्पष्ट र छर्लङ्ग रूपमा प्रकट हुने राजनीतिक सङ्गठनको स्वरूप गणतन्त्रको सुदृढीकरण सर्वहारा वर्गको वीरताकै कारण सम्भव भएको थियो।

युरोपका अन्य सबै देशहरूमा पनि अझ जटिल र कम पूर्ण प्रकृतिको विकासक्रमले अन्ततः यही परिणाम निम्त्यायो, अर्थात् निश्चित स्वरूप ग्रहण गरिसकेको एउटा बुर्जुवा समाजको निर्माण भयो। आँधीबेहरी र क्रान्तिहरूको कालखण्डका रूपमा रहेको पहिलो अवधि (सन् १८४८–१८७१) को अन्त्यतिर आइपुग्दा मार्क्सपूर्व समाजवादको अवसान भइसकेको थियो। स्वतन्त्र सर्वहारा पार्टीहरू अस्तित्वमा आए। तीमध्ये सन् १८६४–१८७२ सम्म सक्रिय रहेको प्रथम अन्तर्राष्ट्रिय (First International) र जर्मन सामाजिक जनवादी पार्टी (German Social-Democratic Party) प्रमुख थिए।

२

दोस्रो अवधि (सन् १८७२–१९०४) पहिलो अवधिभन्दा आफ्नो ‘शान्तिपूर्ण’ चरित्र र क्रान्तिहरूको अभावका कारण भिन्न थियो। पश्चिमले बुर्जुवा क्रान्तिहरूको चरण पार गरिसकेको थियो। पूर्व भने अझै त्यस चरणमा प्रवेश गर्न उठिसकेको थिएन।

इतिहासको द्वन्द्वात्मकता यस्तो थियो कि मार्क्सवादको सैद्धान्तिक विजयले नै त्यसका शत्रुहरूलाई आफूलाई मार्क्सवादीका रूपमा छद्मवेष धारण गर्न बाध्य तुल्यायो। भित्रैदेखि सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूप धारण गरेर आफूलाई पुनर्जीवित गर्ने प्रयास गर्‍यो।

पश्चिममा आगामी परिवर्तनहरूको तयारीका लागि ‘शान्तिपूर्ण’ चरण सुरु भयो। सर्वहारा चरित्र मूलतः बोकेका समाजवादी पार्टीहरू सर्वत्र गठन भए। तिनले बुर्जुवा संसदीय व्यवस्थाको उपयोग गर्न, आफ्नै दैनिक समाचारपत्र प्रकाशित गर्न, शैक्षिक संस्थाहरू स्थापना गर्न, ट्रेड युनियन तथा सहकारी संस्थाहरू निर्माण गर्न र तिनलाई सञ्चालन गर्न सिके। मार्क्सको सिद्धान्तले पूर्ण विजय हासिल गर्‍यो र व्यापक रूपमा फैलिन थाल्यो। सर्वहारा वर्गका शक्तिहरूको छनोट तथा सङ्गठन र आगामी सङ्घर्षहरूका लागि तिनलाई तयार पार्ने कामले सुस्त गतिमा भए पनि निरन्तर प्रगति गर्दै गयो।

इतिहासको द्वन्द्वात्मकता यस्तो थियो कि मार्क्सवादको सैद्धान्तिक विजयले नै त्यसका शत्रुहरूलाई आफूलाई मार्क्सवादीका रूपमा छद्मवेष धारण गर्न बाध्य तुल्यायो। भित्रैदेखि सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूप धारण गरेर आफूलाई पुनर्जीवित गर्ने प्रयास गर्‍यो।उनीहरूले महान् सङ्घर्षहरूका लागि शक्ति सञ्चय र तयारी गर्ने अवधिलाई नै ती सङ्घर्षहरू परित्याग गर्ने अवधिका रूपमा व्याख्या गरे। ज्यालादारी दासत्वविरुद्ध लड्न दासहरूको अवस्था सुधार गर्नुलाई उनीहरूले केही पैसाका लागि दासहरूले आफ्नो स्वतन्त्रताको अधिकार बेच्नु हो भन्ने अर्थ लगाए। उनीहरूले कायरतापूर्वक ‘सामाजिक शान्ति’ (अर्थात् दासमालिकहरूसँगको शान्ति), वर्गसङ्घर्षको परित्याग आदिको वकालत गरे।समाजवादी सांसदहरू, श्रमिक वर्गको आन्दोलनका विभिन्न पदाधिकारीहरू र श्रमिक आन्दोलनप्रति ‘सहानुभूति’ राख्ने बुद्धिजीवीहरूमाझ उनीहरूका धेरै अनुयायी थिए।

३

तर अवसरवादीहरूले ‘सामाजिक शान्ति’ र ‘लोकतन्त्र’ अन्तर्गत अब आँधीबेहरीपूर्ण क्रान्तिहरूको आवश्यकता नरहेको कुरामा आफूलाई बधाई दिनसमेत भ्याएका थिएनन्, त्यत्तिकैमा एसियामा विश्वव्यापी महाव्यवस्थाका नयाँ आँधीबेहरीहरूको स्रोत खुल्यो। रुसी क्रान्तिपछि टर्की, फारस (पर्सिया) र चीनमा पनि क्रान्तिहरू भए। अहिले हामी यिनै आँधीबेहरीहरू र युरोपमा तिनका ‘प्रतिध्वनि’ हरूको युगमा बाँचिरहेका छौँ।

जनआन्दोलनको सङ्घर्षको तयारी र विकासका आवश्यक सर्तहरूप्रति ध्यान नदिएका केही मानिसहरू युरोपमा पुँजीवादविरुद्धको निर्णायक सङ्घर्ष लामो समयसम्म हुन नसकेको कारण निराशा र अराजकतावादतर्फ धकेलिए।

विभिन्न ‘सभ्य’ भनाउँदा पक्षहरूले अहिले दाँत तिखारिरहेको महान् चिनियाँ गणतन्त्रको भविष्य जे-जस्तो भए पनि, पृथ्वीको कुनै पनि शक्तिले एसियामा पुरानो सामन्ती दासत्व (भूदास प्रथा) पुनःस्थापित गर्न वा एसियाली तथा अर्धएसियाली देशहरूका जनसमुदायको वीरतापूर्ण लोकतान्त्रिक चेतना र आन्दोलनलाई मेटाउन सक्नेछैन।

जनआन्दोलनको सङ्घर्षको तयारी र विकासका आवश्यक सर्तहरूप्रति ध्यान नदिएका केही मानिसहरू युरोपमा पुँजीवादविरुद्धको निर्णायक सङ्घर्ष लामो समयसम्म हुन नसकेको कारण निराशा र अराजकतावादतर्फ धकेलिए।  अराजकतावादीहरूको यो निराशा कति अदूरदर्शी र कायरतापूर्ण रहेछ भन्ने अहिले हामी देख्न सक्छौँ ।

आठ करोड होइन, आठ सय मिलियन (अर्थात् ८० करोड) जनसङ्ख्या भएको एसिया पनि यिनै युरोपेली आदर्शहरूका लागि भइरहेको सङ्घर्षमा सामेल भएको तथ्यले हामीमा निराशा होइन, आशावादको भावना जगाउनुपर्छ।

एसियापछि युरोप पनि हलचल गर्न थालेको छ, यद्यपि एसियामा जस्तो तरिकाले होइन। सन् १८७२ देखि १९०४ सम्मको ‘शान्तिपूर्ण’ अवधि अब समाप्त भइसकेको छ र त्यो फेरि कहिल्यै फर्किनेछैन।

एसियाली क्रान्तिहरूले उदारवादको मेरुदण्डहीनता र नीचता, लोकतान्त्रिक जनसमुदायको स्वतन्त्र पहलकदमीको असाधारण महत्त्व तथा सर्वहारा वर्ग र सबै प्रकारका बुर्जुवा वर्गबीच रहेको स्पष्ट वर्गीय विभाजनलाई फेरि एकपटक उजागर गरेका छन्। युरोप र एसिया दुवैको अनुभव प्राप्त भइसकेपछि पनि जसले गैरवर्गीय राजनीति र गैरवर्गीय समाजवादको कुरा गर्छ, त्यस्ता व्यक्तिलाई त अस्ट्रेलियाली कङ्गारू वा त्यस्तै कुनै जीवसँगै पिँजडामा थुनेर प्रदर्शनीमा राख्नुपर्ने हो।

एसियापछि युरोप पनि हलचल गर्न थालेको छ, यद्यपि एसियामा जस्तो तरिकाले होइन। सन् १८७२ देखि १९०४ सम्मको ‘शान्तिपूर्ण’ अवधि अब समाप्त भइसकेको छ र त्यो फेरि कहिल्यै फर्किनेछैन। जीवनयापनको बढ्दो खर्च र ठूला एकाधिकारवादी व्यावसायिक समूहहरूको निरङ्कुशताले आर्थिक सङ्घर्षलाई अभूतपूर्व रूपमा तीव्र बनाइरहेका छन्। यसले उदारवादबाट सबैभन्दा बढी भ्रष्ट बनाइएका बेलायती श्रमिकहरूलाई समेत आन्दोलनमा उतारेको छ।

हामी सबैभन्दा ‘कट्टर’ बुर्जुवा–जङ्कर (जर्मनीको सामन्ती भूस्वामी अभिजात वर्गसँग सम्बन्धित राजनीतिक चरित्र– अनु.) चरित्रको देश जर्मनीमा समेत राजनीतिक सङ्कट विकसित हुँदै गएको देखिरहेका छौँ। अन्धाधुन्ध हतियारको होड र साम्राज्यवादी नीतिले आधुनिक युरोपलाई यस्तो ‘सामाजिक शान्ति’ मा रूपान्तरण गरिरहेका छन्, जुन वास्तवमा बारुदले भरिएको सुरुङजस्तै छ। यसैबीच, सबै बुर्जुवा पार्टीहरूको क्षयीकरण र सर्वहारा वर्गको राजनीतिक परिपक्वता निरन्तर अगाडि बढिरहेको छ।

मार्क्सवादको उदय भएयता विश्व इतिहासका प्रत्येक तीनवटा महान् कालखण्डले मार्क्सवादलाई नयाँ पुष्टि र नयाँ विजयहरू प्रदान गरेका छन्। तर इतिहासको आगामी कालखण्डमा सर्वहारा वर्गको सिद्धान्तका रूपमा अझै ठूलो विजयले पर्खिरहेको छ।

स्रोत: https://www.marxists.org