कार्ल काउत्स्की: मार्क्सवादका प्रथम भाष्यकार
कार्ल मार्क्सको सन् १८८३ मा देहान्त भयो। त्यसै वर्ष मार्क्सका एक युवा शिष्यले ‘नयाँ युग’ भन्ने नाम राखेर एउटा मासिक पत्रिका प्रकाशन गरे। तिनताका जर्मनीभित्रबाट यस्तो पत्रिकाको प्रकाशन सम्भव थिएन। त्यसैले त्यो काम प्रवासबाट थालियो। जुरिक भन्ने सहरबाट यो पत्रिका प्रकाशन गर्ने अठोट गर्ने ती युवक कार्ल काउत्स्की थिए। उनी एडवर्ड वर्नस्टिनका घनिष्ट मित्र थिए। खासमा एडवर्ड वर्नस्टिनले नै निजलाई मार्क्स र समाजवादप्रति आकृष्ट गराएका थिए। तर छिट्टै नै पछि एडवर्ड वर्नस्टिन र कार्ल काउत्स्कीका बीचमा मार्क्स र एंगेल्सका सिद्धान्त शिक्षाको विषयमा गम्भीर मतान्तर भयो। एडवर्ड वर्नस्टिन संशोधनवादका प्रवर्तक भए। कार्ल काउत्स्कीले शास्त्रसम्मत व्याख्या हुनुपर्ने कुरामा जोड दिए। मार्क्सवादको सहायताले समाजको प्रत्येक समस्याको गाँठो फुकाउन सकिन्छ भन्ने काउत्स्कीको आग्रह थियो। त्यसैले काउत्स्कीलाई शास्त्रसम्मत मार्क्सवाद (orthodox) मार्क्सिज्मको गुरू मानिन्छ। अङ्ग्रेजीको अर्थोडक्स शब्दलाई नेपालीमा भन्दा रूढीवादी भनेर अनुवाद गरिने चलन छ। तर खासमा यस प्रवृत्तिलाई रूढीवादी भन्नुभन्दा पनि शास्त्रसम्मत भन्नु ज्यादा उचित देखिन्छ। अर्थोडक्सको अनुवाद शास्त्रीय भनेर गर्न सकिँदैन। शास्त्रीयलाई अङ्ग्रेजीमा क्लासिकल भन्ने चलन छ। विज्ञहरूले काउत्स्कीलाई त्यो सम्मान दिन चाहदैनन्।
मार्क्सवादको सहायताले समाजको प्रत्येक समस्याको गाँठो फुकाउन सकिन्छ भन्ने काउत्स्कीको आग्रह थियो। त्यसैले काउत्स्कीलाई शास्त्रसम्मत मार्क्सवाद (orthodox) मार्क्सिज्मको गुरू मानिन्छ।
कार्ल मार्क्सले आफ्नो जीवनकालमा प्रयोगलाई निरूत्साहित गरेका थिए। तर मार्क्स मरेपछि मार्क्सवाद एउटा सिङ्गो विचार प्रणालीका रूपमा प्रचारित हुन थाल्यो। कार्ल काउत्स्की यस्तो विचार प्रणालीको प्रमुख व्याख्याता थिए। यूरोपको एउटा सिङ्गो पुस्ताले काउत्स्कीको व्याख्या स्वीकार गर्दथे। अझ लेनिन त काउत्स्कीको विशेष प्रशंसाकार समर्थक थिए। पछि गएर यिनै लेनिनले काउत्स्कीलाई गद्दारको विशेषण दिए। प्रारम्भमा रोजा लक्जमवर्ग र ट्रटस्की पनि काउत्स्कीलाई गुरु मान्थे तर पछि गएर सिङ्गो नयाँ पुस्ता काउत्स्कीका विरुद्धमा एक भएर उभियो। काउत्स्की र वर्नस्टिनका खण्डन-मण्डनका प्रभावमा नयाँ किसिमको मार्क्सवादको सिर्जना भयो। हामी त्यसलाई क्रान्तिकारी मार्क्सवाद भन्न सक्छौँ। यसरी हामी मार्क्सको देहावसान भएको ५० वर्षभित्रैमा ३ स्पष्ट भेद देख्छौँ। पहिलो, संशोधनवादको धार थियो। एडवर्ड वर्नस्टिनले त्यसको नेतृत्व तथा प्रतिनिधित्व गरे। दोस्रो धारा, रूढ वा शास्त्रसम्मत धारा थियो। तेस्रो क्रान्तिकारी धारा भयो। यस क्रान्तिकारी धारालाई लेनिन, रोजा लक्जेमवर्ग, ट्रटस्की, एन्तोनियो ग्राम्स्की, जर्ज लुकासलगायतले विकसित र प्रवर्धित गरे। कुनै पनि धारा आफूमा एक्लै परिपूर्ण र बोधगम्य छैन। यिनीहरूलाई एकअर्काका परिप्रेक्ष्यमा राखेर हेरिनु पर्छ, अनिमात्र समाजवादको प्रयास इमानदार हुनेछ। नेपालको त कुरै छोडिदिउँ, सिङ्गो संसारमा नै कार्ल काउत्स्कीका रचना दुर्लभ छन्। लेनिनको महान सफलता र लोकप्रियताले गर्दा कार्ल काउत्स्की आज पनि वेनाम र बदनाम समाजवादी चिन्तक भएका छन्। लेनिनले १८१८ ई. मा एउटा उग्र पुस्तिका लेखे। उक्त पुस्तिका ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’का नामले जानिन्छ। उक्त पुस्तिकाको सयकडौँ संस्करण छापिसकेको छ। लाखौँप्रतिको विक्रिवितरण भएको छ। मानिसलाई खासगरी कम्युनिष्ट कार्यकर्ताहरूलाई काउत्स्कीका बारेमा जो थाहा छ, यसै पुस्तिकाको माध्यमबाट थाहा छ। यसैले पनि काउत्स्कीको आफ्नो पक्षको तर्क के थियो, आज पनि जिज्ञासु अध्येताका निमित्त सुलभ तर्क के थियो, आज पनि जिज्ञासु अध्येता निमित्त सुलभ र उपलब्ध छैन। यसैले पनि काउत्स्कीको दृष्टिको विशेष सहानुभूतिको अपेक्षा राख्दछ। कार्ल काउत्स्कीको र एडवर्ड वर्नस्टिन मार्क्स र एंगेल्सका दुई अनन्यत्तम् विश्वासी शिष्य थिए। मार्क्स र एंगेल्सले आफ्ना सारा कागजपत्र यी दुईलाई संयुक्तरूपमा जिम्मा दिएको कुरा माथि नै उल्लेख भइसकेको छ। दुईमध्ये वर्नस्टिनले त एंगेल्स मर्नसाथ मार्क्सवादको कमीकमजोरीका बारे लेख लेख्न थालिसकेका थिए। ती लेखहरू काउत्स्कीद्वारा सम्पादित माथि उल्लेखित ‘नयाँ युग’ भन्ने पत्रिकामै प्रकाशित भएका थिए। छापापिनासाथ ती लेखको उग्र प्रतिवाद प्रारम्भ भयो। काउत्स्की स्वयंम्ले प्रतिवाद अभियानको नेतृत्व गरे।
लेनिनको महान सफलता र लोकप्रियताले गर्दा कार्ल काउत्स्की आज पनि वेनाम र बदनाम समाजवादी चिन्तक भएका छन्।
एडवर्ड वर्नस्टिनका नाममा समाजवादका पुग्ने लक्ष्य आफूमा महत्त्वपूर्ण थिएन। वर्नस्टिनका निमित्त आमजनता र मजदुरवर्गको जीवनस्तरको विकास नै ज्यादा चासोको विषय थियो। काउत्स्की समाजवादी क्रान्तिका लक्ष्य परित्याग गर्न तयार थिएनन्। उनी ढिलोचाँडो पुँजीवादको अन्त्य हुनेछ भन्ने कुरा दोहोऱ्याएर थाक्दैनथे। पुँजीवादको त्यस्तो अन्त्यको निमित्त समाजवादी पार्टीलाई मजबुत र व्यापक बनाउनु पर्छ भन्ने काउत्स्कीको आग्रह थियो। त्यसका निमित्त मजदुर वर्गलाई समाजवादी सिद्धान्तका प्रति जागरूक बनाउनु पर्छ। मजदुर वर्ग आफैँ आफ्नै सोचविचारको आधारमा समाजवादी लक्ष्यमा पुग्न सक्दैनन्। त्यसका निमित्त समाजवादी नेता र बुद्धिजीवीले अथक प्रयास गर्नुपर्नेछ। कार्ल काउत्स्कीले आफूले यही काम गरिरहेको सार्थक अनुभूति पनि भइरहेको थियो। विस्मार्कको पतनपछि जर्मनीमा समाजवादीहरूको नाङ्गो दमन समाप्त भएको थियो। समाजवादी पार्टी एक वैध संस्था भएको थियो। उनीहरूले ट्रेड युनियनको प्रभावशाली संगठन र विस्तार गरिरहेका थिए। काउत्स्की पनि अब निर्वासनमा थिएनन्। उनी मुलुकभित्र नै सक्रिय थिए। उनको पत्रिका ‘नयाँ युग’ मुलुकभित्र नै छापिइरहेको थियो। जर्मन सोसल डेमोक्रेट पार्टीको मतदाताहरूको संख्या नित्य बढ्दो थियो। तदनुरूप सोसल डेमोक्रेटिक पार्टीको सांसदहरूको संख्या पनि बढिरहेको थियो। कार्ल काउत्स्की पनि संसदमा निर्वाचित भएका थिए। पार्टी संसदमा ठूलो संख्यामा उपस्थित थियो। तर पार्टीको प्रभाव संसदमा मात्र सीमित थिएन। पार्टीले मुलुकभर अनेकौँ स्तरमा सांगठनिक संरचना खडा गरेको थियो। पार्टीको आफ्नै पाठशाला र स्कुलहरू थिए। पार्टीले अस्पतालदेखि लिएर शिशु स्याहार केन्द्र र व्यायामशालासमेत चलाइरहेको थियो। पसल, प्रकाशन गृह, पुस्तकालय र पत्रिकाहरू त छदै थिए। यस्तै साधन सम्पन्न र सुसङ्गठित पार्टीका प्रमुख सिद्धान्तकारका रूपमा कार्ल काउत्स्की प्रतिष्ठित थिए। प्रतिष्ठा र प्रभावका बीच काउत्स्कीको व्यक्तित्व र विचार माथिदै गएको थियो। आखिर काउत्स्की एकदिन संसदीय प्रजातन्त्रका पक्षमा स्पष्ट र ढुक्क भावले उभिए। काउत्स्कीका गुरुहरू अर्थात् मार्क्स र एंगेल्स संसदीय प्रजातन्त्रलाई पुँजीवादको राजनीतिक स्वरूप सम्झिन्थे भन्ने रोजा, लेनिन र ट्रटस्कीको धारणा थियो। यसैले उनीहरूले कार्ल काउत्स्कीलाई गद्दारको रूपमा हेरे।
साधन सम्पन्न र सुसङ्गठित पार्टीका प्रमुख सिद्धान्तकारका रूपमा कार्ल काउत्स्की प्रतिष्ठित थिए। प्रतिष्ठा र प्रभावका बीच काउत्स्कीको व्यक्तित्व र विचार माथिदै गएको थियो। आखिर काउत्स्की एकदिन संसदीय प्रजातन्त्रका पक्षमा स्पष्ट र ढुक्क भावले उभिए।
कुरा यति सजिलो छैन। खासमा मार्क्स र एंगेल्स संसदीय व्यवस्था र समाजवादी संक्रमणका विषयमा के सोच्थे भन्ने कुरा विल्कूलै निर्वाद थिएन। जीवनका प्रारम्भिक दशकहरूमा मार्क्स र एंगेल्सले क्रान्ति र उथलपुथलको कुरा गरेको भेटिन्छ। पछि बुढेशकालमा कतिपय देशहरू ‘खास गरेर इल्याण्ड र अमेरिकामा समाजवादका तर्फ शान्तिपूर्ण संक्रमण हुन सक्ने कुरा पनि मार्क्स र एंगेल्सले गरेका छन्। काल् काउत्स्कीले यो सूत्र अँठ्याएको भेटिन्छ। तर मार्क्स र एंगेल्स समाजवादी समाजको आधारभूत चरित्रका बारे भने विल्कूलै स्पष्ट थिए। संक्रमणको बाटो जुनसुकै भएपनि समाजवादी समाज पुँजीवादीभन्दा गुणात्मक रूपमा भिन्न हुनेछ भन्ने कुरा मार्क्सको आँखाबाट कहिले ओझेल भएन। काउत्स्की यस विषयमा स्पष्ट छैनन्। कलकारखाना, उत्पादन र मजदुरवर्गको वृद्धि र विस्तारका साथ समाजवादको स्वतः आदुर्भाव हुनेछ भन्ने उनको मान्यता देखिन्छ। उता वर्नस्टिन भने समाजवादको खाँचो नै देख्दैनन्। मानिसलाई खान-लाउन पुगे, शिक्षा र स्वास्थ्य भए पुग्छ भन्ने उनको ठहर छ। काउत्स्की भने समाजवाद नै चाहन्छन्। तर उनको समाजवाद मजदुर वर्गको प्रभुत्वभन्दा अगाडि जाँदैन। कलकारखानाको राष्ट्रियकरण हुने, मजदुरवर्गले सरकार बनाउने र राज्यको सबै अवयवहरूमा मजदुरवर्गको अग्रगामी भूमिका हुने भन्ने कुरामा काउत्स्की स्पष्ट छन्। तर त्यो समाज र राज्य सर्वथा नयाँ किसिमको हुनु पर्दछ भन्ने उनको सोचाइ देखिँदैन। ठीक त्यस्तै उत्पादनको प्रणाली र मूल्यको सिद्धान्तको बारेमा पनि काउत्स्की मार्क्सको योगदानप्रति इन्साफ गर्दैनन्।
संक्रमणको बाटो जुनसुकै भएपनि समाजवादी समाज पुँजीवादीभन्दा गुणात्मक रूपमा भिन्न हुनेछ भन्ने कुरा मार्क्सको आँखाबाट कहिले ओझेल भएन। काउत्स्की यस विषयमा स्पष्ट छैनन्।
पुँजीवादी समाजको आधारभूत विशेषताका बारेमा मार्क्स स्पष्ट थिए। पुँजीवादी समाजमा मात्र नाफालाई ध्यानमा राखेर वस्तु (commodity) को उत्पादन हुन्छ। नाफाको अन्धानुकरण गर्दा पुँजीवादले मुनष्यलाई समेत वस्तु बनाउँछ। त्यसैले लोभ र हिंसा पुँजीवादको आधारभूत जीवन-मूल्य हुन्। समाजवादले यस परिस्थितिसँग विद्रोह गर्छ। यसैले समाजवादले नाफा र विनिमयमा निमित्त नभएर आवश्यकता र उपयोगका निमित्त उत्पादनको परिपाटी बसाउँछ। सो काम एक दिनमा नहोला, सयकडौँ वर्ष पनि लाग्न सक्नेछ। तर, यति नहुँदासम्म समाजवादको आदुर्भाव भएको मान्न सकिंदैन। यसैकारणले कुनै तथाकथित समाजवादी पार्टी सरकारमा पुग्यो भन्दैमा समाजवादी युग प्रवर्त्तन भयो भन्न सकिंदैन। संसदमा समाजवादी प्रतिनिधिहरू पुग्दैमा समाजवादी समाजको आधारशीला बन्दैन। समाजवादी समाजमा स्वार्थ नयाँ किसिमको संस्कृति र मुनष्यको पूर्वाभ्यास हुनेछ। त्यहाँ नवीन जीवन मूल्यको प्रतिष्ठा हुनेछ। ‘समता, स्वतन्त्रता र बन्धुत्व’ ती जीवन मूल्य हुन्। स्वार्थपरायणता, लोभ र नाफा त्यस समाजमा कल्पनातीत हुनेछन्। कर्म र कर्त्तव्य मजवुरी र मजदुरीको विषय हुने छैन। जीवन निर्वाहाको क्रममा गरिने श्रम आनन्दमूलक एवम् सिर्जनात्मक हुनेछ। मार्क्सले यस्तो समाजको बडो मनोहारी कल्पना गरेका छन्। मार्क्सका अनुसार यस्तो समाजमा एउटा व्यक्तिविशेषले विहान वेदान्त पढ्ने, दिउँसो गाई चराउने, साँझमा लुगा सिउने, राती कालिदास वा सेक्सपियरको नाटकको अध्ययन वा मञ्चन गर्ने प्रचुर सम्भावना रहनेछ। काउत्स्कीको समाजवादको आगमनमा मार्क्सको यावत अनिवार्य तर्क दोहोरिएका छन्। तर सम्पूर्ण व्यक्तित्वको स्वामी रहेको यो मानिस एकैपटक फेरि लेनिनको ‘राज्य र क्रान्तिमा’ देखापर्छ। त्यसै मानिसको खोजीमा वा अन्य कारणले पनि लेनिनले काउत्स्कीलाई गद्दार भन्ने आँट गरेको हुनु पर्छ।
कुनै तथाकथित समाजवादी पार्टी सरकारमा पुग्यो भन्दैमा समाजवादी युग प्रवर्त्तन भयो भन्न सकिंदैन। संसदमा समाजवादी प्रतिनिधिहरू पुग्दैमा समाजवादी समाजको आधारशीला बन्दैन। समाजवादी समाजमा स्वार्थ नयाँ किसिमको संस्कृति र मुनष्यको पूर्वाभ्यास हुनेछ।
मार्क्सवादी विचारधाराको विकास क्रममा पहिले वर्नस्टिन र काउत्स्कीको विवाद भयो। त्यसपछि संघर्षको स्वरूपको सवालमा रोजा लक्जेमवर्गले काउत्स्कीलाई आफ्नो आक्रमणको तारो बनाइन्। कार्ल काउत्स्कीसँग सर्वाधिक मर्मान्तिक कलह भने लेनिनको नै भयो। उनै लेनिनले गद्दारको उपाधि भिराएर काउत्स्कीलाई उक्त अप्रिय प्रचारको प्रसिद्धिसमेत प्रदान गरे।
काउत्स्कीले समाजवादी क्रान्तिका निमित्त एउटा विशेष पूर्वाधारको परिकल्पना सधैं गरे। पुँजीवादी उत्पादन उच्च अवस्थामा पुगेपछि मात्र समाजवादी क्रान्ति हुन्छ भन्ने उनको जिकीर थियो। यो जिकीर एक प्रकारले कार्ल मार्क्सको शिक्षाको प्रतिध्वनि थियो। यस्तो तर्क दोहोऱ्याउने मानिसकै आज पनि हाम्रा माझमा अभाव छैन। तर काउत्स्कीको यो तर्क तत्कालीन रूसमा कसरी लागु हुने भन्ने विकट प्रश्न थियो। रूसमा मजदुरवर्ग बहुमतमा थिएनन्। त्यहाँ किसानहरूको बाहुल्य थियो। रूसमा फेब्रुअरी क्रान्तिले जारशाहीलाई अपदस्त गर्यो। अब रूस बुर्जुवा प्रजातन्त्र वा लोकतन्त्रात्मक गणतन्त्रतर्फ प्रवृत्त भयो। यहाँसम्म त ठीकै थियो तर रूसमा एक मजबुत राष्ट्रिय प्रजातान्त्रिक पार्टी थिएन। रूसमा बुर्जुवा प्रजातन्त्र बलियो हुने कुनै लक्षण थिएन। यस्ता वेलामा रूसमा रहेका समाजवादी पार्टीले के गर्ने भनी भन्न मुश्किल काम थियो । तिनताका रसियन सोसल डेमोक्रेटिक पार्टी भनिने (बोल्सेविक) का नेता लेनिन खुद थिए। लेनिन रूसमा नयाँ किसिमको क्रान्ति गर्न चाहन्थे। उनमा कुनै अलमल वा धरमर थिएन। तत्कालीन रूसमा विद्यमान रहेको सोभियत संगठनको नाममा लेनिन अक्टुबर क्रान्तिको पृष्ठभूमिमा काउत्स्की र लेनिनबीचमा भीषण विवाद भयो। लेनिनले रूसमा मजदुरवर्गको शासन चलाउने दावा गरे, उनले कार्ल मार्क्सद्वारा प्रयोग गरिएको सर्वहारा वर्गको अधिनायकत्व भन्ने पदावलीका आधारमा मजदुरको तानाशाहीको माग गरे। कार्ल काउत्स्कीलाई यस अवधारणा वा मागप्रति घोर आपत्ति थियो। काउत्स्कीलाई मार्क्स कण्ठाग्र नै थियो। मार्क्सले सर्वहारा वर्गको अधिनायकत्वको कुरा अवश्य उठाएका थिए तर लेनिनले अर्थाएको वा गरेको अर्थमा हुँदै थिएन। लेनिनले मार्क्सको शिक्षाको उपहास गरे भन्ने काउत्स्कीको आरोप थियो। काउत्स्कीले ‘सर्वहारावर्गको तानाशाही’ भन्ने शीर्षकमा एउटा पूरा पुस्तक नै लेखे। यो पुस्तक लेनिन र उनको पार्टीको विचारधाराको आलोचनामा केन्द्रित थियो।
तत्कालीन रूसमा विद्यमान रहेको सोभियत संगठनको नाममा लेनिन अक्टुबर क्रान्तिको पृष्ठभूमिमा काउत्स्की र लेनिनबीचमा भीषण विवाद भयो। लेनिनले रूसमा मजदुरवर्गको शासन चलाउने दावा गरे, उनले कार्ल मार्क्सद्वारा प्रयोग गरिएको सर्वहारा वर्गको अधिनायकत्व भन्ने पदावलीका आधारमा मजदुरको तानाशाहीको माग गरे। कार्ल काउत्स्कीलाई यस अवधारणा वा मागप्रति घोर आपत्ति थियो।
द्रष्टव्य के छ भने कार्ल काउत्स्कीले अक्टुबर क्रान्तिको समेत प्रारम्भमा विरोध गरेका थिएनन्। रूसको तत्कालीन परिस्थितिमा त्यहाँको बुर्जुवा वा प्रजातन्त्रवादी नेताले आफ्नो दायित्व पूरा गर्न नसकेको कुरा बुझेका थिए। बोल्सेविक पार्टीले अनायास राज्य-सत्ता प्राप्त गरेको कुराबाट काउत्स्की अवगत थिए। प्रश्न थियो अब के गर्ने ? स्मरणीय छ, रोजा लक्जेमवर्गले पनि जेलभित्रै रहेर बोल्सेविक क्रान्तिप्रति यस्तै धारणा व्यक्त गर्छिन्। तर रोजा लक्जमवर्ग निर्मम आलोचनापश्चात पनि लेनिनकै कित्तामा उभिएकी भेटिन्छिन्। तर काउत्स्कीले भने लेनिनसँग मौलिक मतभेद दर्शाउँछन्। लेनिन र ट्रटस्कीको कार्य पद्धतिसँग उनको कुनै सहानुभूति छैन। काउत्स्कीका बुर्जुवा प्रजातन्त्र, संसद र क्रान्तिसम्बन्धी मूलभूत विश्वासका कारण यस्तो हुन गएको हो। अझ ठोस रूपमा भन्ने हो भने संसदीय व्यवस्थाप्रतिको निष्ठाले गर्दा काउत्स्कीलाई उनको ठाउँमा उभ्याएको थियो। जर्मनीको राजनीतिक संस्कृति रूसको भन्दा भिन्न किसिमको थियो। जर्मन पुँजीवाद निकै सबल थियो। यसले गर्दा पनि काउत्स्कीको संसदवादले बल प्राप्त गरेको थियो। काउत्स्की, वर्नस्टिन र रोजा लक्जमवर्ग जर्मन समाजवादका तीन प्रतिनिधित्व थिए। यी तीनैको क्रान्ति र समाजवादका विषयमा आधारभूत मद्भेद थियो। यी तीनै जना तीन भिन्न वैचारिक एवम् राजनीतिक कित्तामा उभिएका थिए।
खासमा सर्वहारा वर्गको अधिनायकत्व भनेको के हो त ? मार्क्सवादको सिङ्गो इतिहासमा यो भन्दा विवादास्पद अर्को पदावली पाइने छैन।
एडवर्ड वर्नस्टिनलाई संशोधनवादी एवम् सुधारवादी भन्न सकिन्छ। काउत्स्की संसदवादी एवम् मध्यमार्गी कहलिन सक्छन्। रोजा वामपन्थी वा क्रान्तिकारी थिइन्। रूसको बोल्सेविक क्रान्तिपछि पनि यी तीनजना तीन थरीको दृष्टिकोण राख्थे। तर यी तीनै जनामा एउटा कुरामा भने मतैक्य छ। यी तीनै जनाले लेनिनको एकदलीय शासन, अल्पमतको तानाशाही र नागरिक अधिकार दमनको स्पष्ट विरोध गरे। रोजा लक्जमवर्गलाई संसदीय व्यवस्थाप्रति कुनै विमोह थिएन। तर कुनै क्रान्ति वा समाजवादको नाममा कुनै नागरिक अधिकारको दमन स्वीकार गर्ने पक्षमा थिइनन्। ठीक त्यस्तै अल्पमतको तानाशाही वा सैनिक शासन पनि रोजालाई मान्य थिएन। तर कुनै वर्गको तानाशाही मान्नु र एउटा दलविशेषको सरकार हुनुमा फरक हुन्छ भन्ने रोजालाई थाहा थियो। कार्ल काउत्स्कीले खासमा यसै विन्दुलाई पक्डेर लेनिनको दलीय तानाशाहीलाई मार्क्सविरोधी विचारको रूपमा चित्रित गरेका छन्। खासमा सर्वहारा वर्गको अधिनायकत्व भनेको के हो त ? मार्क्सवादको सिङ्गो इतिहासमा यो भन्दा विवादास्पद अर्को पदावली पाइने छैन। कार्ल काउत्स्की भने यस प्रश्नमा स्पष्ट देखिन्छन्। उनको विचारमा वर्गको तानाशाही भन्नु एउटा समाजको संरचनाको संकेत हो। आजको पुँजीवादी समाजलाई बुर्जुवा वर्गको तानाशाही हो भनेर सबै मार्क्सवादीहरु भन्छन्। तर समाज वा राज्यमा समेत एक वर्गविशेषको तथा पुँजीपति वर्गको प्रभुत्व रहनु एउटा कुरो हो। उदाहरणको लागि भारतमा अटल बिहारी वा मनमोहन सिंह जोसुकैको सरकार भए पनि त्यहाँ एउटै वर्गविशेषको प्रभुत्व छ भन्दा अत्युक्ति हुँदैन। ठीक त्यस्तै अमेरिकामा डेमोक्रेटिेक वा रिपब्लिकन पार्टी, क्लिन्टन वा बुसको सरकारको हेराफेरि भइरहन्छ। तर सरकार बदलिए पनि पुँजीपति वर्गको प्रभुत्व यथावत रहन्छ । ठीक यसै अर्थमा राज्य र समाज-विशेषमा वर्गको तानाशाहीको कुरो मार्क्सले गरेका हुन् भन्ने काउत्स्कीको जिकीर छ। यस हिसाबले भोलिको समाजवादी समाजमा मजदुर वर्गको तानाशाहीको धारणा अगाडि सारेर एउटा दलविशेषले राज्य र सरकारका यावत अङ्ग प्रत्याङ्ग उपर निरंकुश कब्जा गर्नु मार्क्सको शिक्षाको पालना होइन। अझ त्यसमाथि आमचुनाव, प्रेस स्वतन्त्रता, कानुनको शासन र सबै प्रकारका नागरिक अधिकारको अपहरण समाजवादको विशेषता हुन सक्दैन। यस्तो त जङ्गली राजमा मात्र हुन्छ। काउत्स्की हदैसम्मको वितृष्णाका साथ लेनिन र ट्रटस्कीको समाजवादी क्रान्तिको विरोध गर्छन्। लेनिनले यसैको जवाफमा गद्दार काउत्स्की लेखे। अरु पनि वादविवाद भए। दुवै पक्षले मार्क्स र एंगेल्सका उद्धरणको ओइरो लगायो। कसैले कसैको चित्त बुझाउन सकेनन् ।
काउत्स्की हदैसम्मको वितृष्णाका साथ लेनिन र ट्रटस्कीको समाजवादी क्रान्तिको विरोध गर्छन्। लेनिनले यसैको जवाफमा गद्दार काउत्स्की लेखे। अरु पनि वादविवाद भए। दुवै पक्षले मार्क्स र एंगेल्सका उद्धरणको ओइरो लगायो। कसैले कसैको चित्त बुझाउन सकेनन् ।
कार्ल काउत्स्कीको उद्धरणबाट चित्त बुझाउने बुभ्ने कुरो पनि थिएन। मार्क्सको विचार प्रणाली बडो जटिल र संश्लिष्ट छ। मार्क्स एकातिर त क्रान्तिकारी थिए, अर्कोतिर समाजको वैज्ञानिक विश्लेषणका आधारमा मात्र क्रान्ति सम्पन्न हुनसक्छ भन्ने उनको अडीग विश्वास थियो। रोजा र लेनिनले मार्क्सको क्रान्तिकारी पक्ष पक्रियो। त्यो क्रान्ति एक मानवीय कर्म थियो। अझ भन्ने हो भने त्यो क्रान्ति राजनीतिक कौशलको अभिव्यक्ति समेत थियो। उता काउत्स्की भने विज्ञानवादी मानसिकताबाट प्रभावित थिए। राजनीतिक, समाज विज्ञान, प्राकृतिक विज्ञानमा समेत अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्ने उनको विश्वास थियो। मार्क्सबाहेक उनी चार्ल्स डार्विनको पनि ठूलो प्रशंसक थिए। यसै प्रभावमा उनका किताबहरू लेखिएका छन्। काउत्स्की आफू मौलिक विचारक भएको दावा गर्दैनथे। उनी आफूलाई मूलतः मार्क्सको भाष्यकारको पनि दावा गर्दैनथे। उनी आफूलाई मार्क्सको भाष्यकार सम्झन्थे। उनको त्यस भाष्यमा प्राकृतिक विज्ञानका निश्चित नियमको खोजी भएको भेटिन्छ। तदनुरूप उनले राजनीतिक कर्मको स्वतन्त्रता र स्वायत्ततालाई कम महत्त्व दिए। वैज्ञानिकताको खोजीको प्रयत्नले उनमा एकप्रकारको ऐतिहासिक नियतिवादतर्फ झुकाव बढ्दै गएको मानिन्छ। यसै कारणले उनी आर्थिक र भौतिक अवस्थाको परिपक्वतापछि मात्र समाजवादी क्रान्ति हुन सक्छ भन्ने निष्कर्षमा पुगेका थिए। समाजवादको उनको समझदारी पनि त्रुटिपूर्ण थियो। साम्राज्यवाद मूलतः नाफा र लोभका निमित्त युद्ध गर्छ। साम्राज्यवादी देशहरूको झगडामा को ठीक को बेठीक, कसले पहिले आक्रमण गर्यो भन्ने जस्ता कुराको खोजी गर्नु हास्यापद र प्रतिक्रियावादी तर्क हो। काउत्स्कीले प्रथम महायुद्धको पूर्वसन्ध्यामा यस्तै तर्कवितर्क गरेको भेटिन्छ। यसैले उनले प्रथम महायुद्धको स्पष्ट र सिद्धान्तनिष्ठ विरोध गर्न सकेनन्। वामपन्थी समाजवादीहरूले प्रत्येक देशमा आफ्ना शासक वर्गको ढुक्क विरोध गरे। त्यसै क्रममा जर्मनीमा लग्जेम्बर्ग र कार्ल् लिवनेक्स्ट सहिद भए। लेनिन र ट्रटस्की भने सोभियत रूसका संस्थापक नेता भए। जर्मनीको सोसल डेमोक्रेटिक पार्टीको मूल संगठनले रोजा र लिवनेक्स्टका हत्यारासित हातेमालो गरे। सोसल डेमोक्रेटिक पार्टीको यस्तो रवैयाले आखिर हिटलरलाई जन्मायो। काउत्स्की यस परिदृश्यका मूकदर्शक भए। मार्क्सको मार्क्सवाद यस्तो निर्वीर्य अवश्य पनि थिएन। तर काउत्स्की र उनीद्वारा शिक्षित पार्टी विशाल जनसमुदायको समर्थन पाएर पनि हिटलरको अगाडि झन्झन् लाचार हुँदै गयो। जीवनको उत्तरार्द्धमा काउत्स्की फेरि निर्वासित भए। उनी भागेर ईल्याण्ड पुगे। एकाकी एवम् लाचार अवस्थामा त्यही उनको देहान्त भयो। उता बर्लिनमा हिटलरका स्वयंसेवक मार्च गरिरहेका थिए।
साम्राज्यवादी देशहरूको झगडामा को ठीक को बेठीक, कसले पहिले आक्रमण गर्यो भन्ने जस्ता कुराको खोजी गर्नु हास्यापद र प्रतिक्रियावादी तर्क हो। काउत्स्कीले प्रथम महायुद्धको पूर्वसन्ध्यामा यस्तै तर्कवितर्क गरेको भेटिन्छ।
कुनै पनि महान् राजनीतिक आन्दोलन वा विचारधाराले शास्त्रको सहायताले मात्रै आफ्नो स्वरूप र लक्ष्य प्राप्त गर्दैन। शास्त्र महत्त्वपूर्ण छन्, तर त्योभन्दा कताकता महत्त्वपूर्ण लोक वा जनता हुन्छ। शास्त्र र लोकको द्वन्द्व चिरन्तर कुरो हो। क्रान्ति सम्पन्न हुनका निमित्त लोक र शास्त्रको द्वन्द्वको समाधान हुनुपर्छ। युरोपको सोसल डेमोक्रेटिक पार्टीले यस्तो गर्न सकेनन्। अन्ततः शास्त्र नै लोकका पछि लाग्यो। सर्वसाधारण मनुष्य जहिले पनि दैहिक र भौतिकतापले ग्रस्त रहन्छन्। युरोपको सोसल डेमोक्रेसी पनि यसै बाटोमा हिँड्यो। वर्नस्टिन र काउत्स्कीका शिष्यले यस्तै तापको सामनामा समाजवादी लक्ष्य बिर्सिए। वर्नस्टिनले त यो कुरो ठोकेर नै भने, काउत्स्कीले मान्न सकेनन्। तर दुवैको नियति मूलतः एउटै रह्यो। नागरिक स्वतन्त्रताका पक्षमा दुवैले आवाज उठाए, त्यो स्तुत्य छ। दुवैले पुँजीवादीको अतिक्रमणको विरुद्ध रणनीति बनाउन सकेनन्। त्यो उनीहरूको कमजोर पक्ष हो। खास गरेर कार्ल काउत्स्कीको यसै कमजोर पक्षलाई पक्रेर लियोन ट्रटस्कीले ठठ्यौली पाराले भनेका थिए- ‘लौ भइहाल्यो, हाम्रो गीत त सुन्नै चाहँदैनन्, गीत गाउनै दिँदैनन्, आफ्नो गीत गाउन पर्यो नि !’ ट्रटस्कीको व्यङ्ग्यमा गुदी नै नभएको होइन।
स्रोत: गिरिको कृति ‘व्यक्तित्व र विचार’
झुक्दै नझुक्ने पहाडको छोरो: रतनलाल ब्राम्हण अर्थात् माइला बाजे
के समाजवादको मृत्यु भएको हो ?
क्रान्तिकारी जनवादी सरकारको सांस्कृतिक नीति
क्रान्ति, सादगी र विचारधारा झल्काउने माओत्सेतुङको पहिरन शैली
भिक्टर जारा: कहिल्यै नटुंगिने धुन
क्रान्तिनायक चे ग्वेभाराका मनपर्ने पाँच पुस्तकहरू
माओ त्सेतुङ ५० वर्षपछि: उनका शिक्षाहरूको सान्दर्भिकता कायमै छ
प्रतिक्रिया