कम्पनीको नुन

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि भारतीय दक्षिणपन्थले "मार्क्स" शब्दप्रति किन त्यसरी नै प्रतिक्रिया जनाउँछ, जसरी पिचासले लसुन देख्दा जनाउँछ? "वामपन्थी," "अर्बन नक्सल," र "वोक" लाई कुनै सरुवा रोगजस्तै किन व्यवहार गरिन्छ? जसले पनि जात, जमिन, वा सात्विक शाकाहारीहरूको स्वामित्वमा रहेका कम्पनीहरूद्वारा भारतको लुटको कुरा गर्छ, उसलाई तुरुन्तै राष्ट्र-विरोधी किन घोषित गरिन्छ?

सरकारी जवाफ त यो छ कि दक्षिणपन्थ मातृभूमिलाई प्रेम गर्छ। तर, असली जवाफ नुनमा लेखिएको छ।

नुन हलाल, नुन हराम – कसैको नुन खानु भनेको उसप्रति वफादार हुनुको ऋण हो। यो एउटा सुन्दर विचार हो, जबसम्म तपाईं यो सोध्नुहुन्न: कसको नुन? तपाईंको मालिकले गाउँलाई भोकै मारिरहेको छ भने, उसप्रति बफादार हुनुको अर्थ ती सबैप्रति विश्वासघाती हुनु हो जसलाई उसले भोकै मारिरहेको छ। यो उखानले एउटा छनोटलाई लुकाउँछ। यो सद्गुणको भेषमा एउटा प्रश्न हो।

विभीषणलाई हेरौँ। उनले आफ्ना ठूला दाजु रावणलाई देखे, एउटी महिलाको अपहरण भएको र एउटा अहंकारको रक्षाका लागि मात्र सिङ्गो सभ्यतालाई विनाशको खाडलतर्फ धकेलिएको यो सानो कुरालाई नियाले, र यही कुरा उनले व्यक्त गरे। बदलामा उनले गाली पाए, देश निकाला पाए, र अन्ततः उनी रामको पक्षमा लागे। कुनै पनि इमानदार पाठमा उनी महाकाव्यको उत्तरार्धका नैतिक नायक हुन् – त्यस्ता व्यक्ति जसले कुल भन्दा माथि धर्मलाई रोजे।

यति हुँदाहुँदै पनि, आधुनिक हिन्दू दक्षिणपन्थको भाष्यमा विभीषण एउटा गाली हो, 'घरको भेदी' हुन्। अर्कोतर्फ, रावण– अपहरणकारी, अत्याचारीलाई भने एक विद्वान ब्राह्मण, दुःखद विद्धान, र गलत बुझिएका शिव-भक्तका रूपमा पुनः स्थापित गरिन्छ। सीताका अपहरणकारीले त्यो ब्राह्मणवादी छुट पाउँछन्, जुन सिद्धान्तवादी सानो भाइले कहिल्यै पाउँदैनन्।

यो साहित्यिक संयोग होइन। यो एउटा संकेत हो। कुल प्रतिको बफादारी कुनै पनि बाहिरी नैतिक दाबीभन्दा माथि छ – पिँजडामा थुनिएकी महिलाको दाबीभन्दा पनि माथि।

अब कम्पनीको बहीखाता खोलौँ।

सन् १७५७ को प्लासीको युद्ध क्लाइभले जितेका थिएनन्, बरु जगत सेठले जितेका थिए – ती मारवाडी बैंकर जसले कुन नवाबलाई पैसा दिने भनेर तय गर्थे, र ओमीचन्द, राय दुर्लभ, अनि अन्ततः मीर जाफरले जितेका थिए। अंग्रेजहरूले बन्दुक दिए; स्थानीय सम्भ्रान्त वर्गले विश्वासघात दिए। नबकृष्ण देवले वारेन हेस्टिङ्सलाई फारसी सिकाए र क्लाइभका लागि 'धन्यवाद-नृत्य' को आयोजना गरे; उनलाई राजाको उपाधि दिइयो। गङ्गा गोविन्द सिंहले हेस्टिङ्सको राजस्व विभाग चलाए र आफ्नी आमाको श्राद्धमा बीस लाख रुपैयाँ खर्च गरेको विवरण छ । त्यही अनिकालको समयमा, जसलाई उनका मालिकका नीतिहरूले जन्माएका थिए। द्वारकानाथ टैगोर – हो, त्यही टैगोरले पारिवारिक सम्पत्ति अफिम र नीलको व्यापारबाट खडा गरे।

यी मानिसहरू कम्पनीप्रति अत्यन्तै 'नूनको सोझो गर्ने' खालका थिए, र हरेक बुनकर (कपडा बुन्ने) र किसानप्रति 'नुन हराम' (विश्वासघाती) थिए, जसलाई यो नुनको बन्धनले कुचल्दै थियो। सन् १७९३ को कर्नवालिसको स्थायी बन्दोबस्तले यो व्यवस्थालाई औद्योगिकीकरण गरिदियो । एउटा वंशानुगत जमिन्दार वर्ग, जसमा अधिकांश उच्च जातिका थिए, जसले कम्पनीका तर्फबाट किसानहरूलाई निचोरिरहेका थिए। सन् १८१८ पछि, पेशवाको विशाल चितपावन ब्राह्मण कर्मचारीतन्त्र बम्बई प्रेसिडेन्सीमा सरेर गयो, टेबलहरू उही थिए, केवल छाप परिवर्तन भयो। मद्रासका दुबासीहरूले त्यस्ता सम्पत्तिहरू आर्जन गरे, जसले ती अग्रहारहरू (ब्राह्मण बस्ती) निर्माण गरे जसलाई उनका वंशजहरू आज सनातन धर्मनिष्ठाको प्रमाण मान्दछन्। सन् १८४९ मा सिखहरूलाई आंशिक रूपमा पुरबिया सिपाहीहरूले हराए । गङ्गाको मैदानका उच्च जातिका सैनिकहरू, जसको आफ्नो रोजगारदाताप्रतिको बफादारी छिमेकीसँगको ऐक्यबद्धताभन्दा माथि थियो। राममोहन रायले स्थायी बन्दोबस्तको सुधारविरुद्ध निवेदन दिए किनभने यसले उनको परिवारको लगान (तिरो) मा खतरा पुर्‍याउँथ्यो। बंकिमचन्द्र डेपुटी मजिस्ट्रेट थिए। माथिदेखि तलसम्म नुनै नुन।

त्यसपछि, सन् १८५३ मा, ब्रिटिश सङ्ग्रहालयको रिडिङ रुममा बसेर कार्ल मार्क्सले यो पूरै व्यवस्थाले भारतलाई के गरिरहेको छ भन्ने कुराको वर्णन गर्न सुरु गरे – विऔद्योगिकीकरण (उद्योगहरूको विनाश), कृत्रिम रूपमा सिर्जना गरिएका अनिकालहरू, र किसानहरूलाई निचोर्नकै लागि बनाइएको एउटा राजस्व प्रणाली। उनी कम्पनीका पहिलो युरोपेली आलोचक भने थिएनन्; बर्क र कबेट उनीभन्दा पहिले नै आइसकेका थिए। तर, उनी पहिलो यस्ता व्यक्ति थिए जसले केही 'नबाब' (शासक) हरूको दुर्व्यवहारलाई मात्र नहेरिक, यो पूरै व्यवस्थालाई एउटा नाम दिए – पूँजी, उपनिवेशवाद, र दोहन।

खतरा यहीँनिर छ। जब उपनिवेशवाद कुशासन मात्र नभएर एक योजनाबद्ध दोहन बन्न पुग्छ, तब यो सोध्न जरुरी भइदिन्छ कि अंग्रेजहरूसँग मिलेर यो दोहन कसले गरिरहेको थियो? जमिन्दार, दिवान, दुबासी, र डेपुटी मजिस्ट्रेटहरू अब तटस्थ पूर्वज रहँदैनन्; तिनीहरू शङ्कास्पद बैंक स्टेटमेन्ट भएका पूर्वजजस्ता देखिन थाल्छन्। आम्बेडकरले यो कुरा बुझेका थिए। फुलेले यो देखेका थिए। दक्षिणपन्थी कल्पनामा यीमध्ये प्रत्येक व्यक्ति कुनै विदेशी शत्रु भन्दा बढी खतरनाक छन् । किनभने विदेशी शत्रुले जमिनलाई मात्र खतरा पुर्‍याउँछन्, तर यी आलोचकहरूले त बहीखातालाई नै खतरामा पारिदिन्छन्।

हरेक दलित इतिहासकार, हरेक भूमि-सुधार कार्यकर्ता, हरेक जाति-जनगणना अभियान्ता एक विभीषण हुन्, र उनीहरूसँग त्यस्तै व्यवहार गरिन्छ – देश निकाला, गालीगलौज, र विदेशी बफादारीको आरोप। अर्कोतर्फ, स्वदेशी उद्योगका वास्तविक विनाशकहरूले भने गलत बुझिएका विद्वानका रूपमा मूर्ति र प्राइम-टाइम (सञ्चारमाध्यममा) पुनर्स्थापना पाउँछन्।

जुन वर्गलाई हिजो कम्पनी सहज लागेको थियो, आज त्यही वर्गलाई ट्रम्प र नेतन्याहु सहज लाग्छन्, र कारणहरू पनि उही हुन् । यो गठबन्धनले सम्पत्तिको रक्षा गर्छ, गरिबहरूलाई दण्डित गर्छ, र रणनीतिक आज्ञाकारिताको बदलामा सभ्यतागत प्रशंसा दिन्छ। 'वोक' विरोधी छटपटी, जाति-सम्बन्धी तथ्याङ्कप्रतिको आक्रोश, भूमि पुनर्वितरणप्रतिको डर  यी सबै त्यस वर्गका प्रतिरोधात्मक प्रतिक्रियाहरू हुन्, जो विगत साढे दुई सय वर्षदेखि जसको हातमा पैसाको थैली छ उसैप्रति नमक हलाल रहँदै आएको छ, र जो कोहीले पनि यो बहीखाता नखोलोस् भन्ने चाहन्छ।

कसप्रति नुन हलाल? कुन नुनप्रति बफादार?

स्रोत: लेखकको फेसबुक