मजदुर दिवस : ८ घण्टाको इतिहासबाट ४ घण्टाको भविष्यतर्फ
अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) केवल एउटा पर्व मात्र नभएर श्रमको सम्मान र न्यायका लागि गरिएको ठूलो बलिदानको स्मृति हो। आज हामीले स्वाभाविक मान्ने ८ घण्टाको कार्यतालिका प्राप्त गर्न मजदुरहरूले ठूलो मूल्य चुकाउनु परेको थियो। १९औँ शताब्दीको मध्यतिर औद्योगिक क्रान्ति चरममा थियो। त्यतिबेला मजदुरहरूलाई मेसिन जस्तै व्यवहार गरिन्थ्यो। सूर्योदयदेखि सूर्यास्तसम्म, कहिलेकाहीँ त दिनको १६ देखि १८ घण्टासम्म कलकारखानामा जोतिनुपर्ने बाध्यता थियो। उचित भेन्टिलेसन नभएका, असुरक्षित र अँध्यारो कोठामा बालबालिकादेखि वृद्धसम्मले श्रम शोषण भोग्नुपर्थ्यो।
यही अन्यायको विरुद्ध सन् १८८६ मे १ मा अमेरिकाको शिकागोस्थित हेमार्केट स्क्वायरमा मजदुरहरूले "८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम" को माग राख्दै ऐतिहासिक आन्दोलन सुरु गरे। उक्त आन्दोलनमा प्रहरीको दमन र मजदुरहरूको सहादतले अन्ततः विश्वभरका सरकार र उद्योगीहरूलाई कार्य समय घटाउन बाध्य बनायो। सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को पहिलो महासन्धिले '८ घण्टा कार्यदिन' लाई विश्वव्यापी मान्यता दियो।
बेलायती समाज सुधारक र उद्योगी रोबर्ट ओवेनले सन् १८१७ मै मानवीय श्रमको सन्तुलनका लागि ८-८-८ को क्रान्तिकारी दर्शन दिएका थिए। उनको तर्क थियो कि यदि मानिसले दिनभर काम मात्र गर्छ भने उसको सिर्जनशीलता मर्छ र ऊ केवल 'जैविक मेसिन' मा परिणत हुन्छ। मानिसलाई परिवार, कला, साहित्य र स्वास्थ्यका लागि पर्याप्त समय चाहिन्छ। तर बिडम्वना के छ भने, ओवेनले २०० वर्षअघि दिएको यो सिद्धान्तलाई आजको उन्नत युगमा पनि हामीले 'अन्तिम सत्य' मानेर पछाडि समातिरहेका छौं, जबकि प्रविधि र उत्पादकत्वमा अहिले महापरिवर्तन आइसकेको छ।
हामी अहिले चौथो औद्योगिक क्रान्तिको युगमा छौं, जहाँ प्रविधिले उत्पादनको गतिलाई हजारौं गुणा बढाइदिएको छ। पहिले सयौं मजदुरले महिनौं लगाएर गर्ने काम आज सफ्टवेयर वा मेसिनले केही घण्टामै सम्पन्न गर्छन्। अर्थशास्त्री जोन मेनार्ड किन्सले सन् १९३० मै भविष्यवाणी गरेका थिए कि प्रविधिको विकासले सन् २०३० सम्ममा मानिसले हप्तामा मात्र १५ घण्टा काम गरे पुग्नेछ। प्रविधिले उत्पादन त बढायो, तर मजदुरको काम गर्ने समय भने उस्तै रह्यो। तर यसको अर्थ, प्रविधिबाट भएको अतिरिक्त लाभ केवल मालिक वा कम्पनीहरूको मुनाफामा मात्र सीमित भयो, मजदुरको 'समयको स्वतन्त्रता' मा परिणत हुन सकेन।
आर्टिफिसियल इन्टेलिजेन्स (AI) र ५जी (5G) ले अब कामको परिभाषा नै बदल्दैछ। माइक्रोसफ्टका संस्थापक बिल गेट्स एआईका कारण मानिसले हप्तामा २ वा ३ दिन मात्र काम गर्ने दिन टाढा नभएको तर्क गर्छन्। पहिले रोबोटहरूले कारखानाका भारी काम मात्र गर्थे। अब एआईले चिकित्सकको डायग्नोसिस, कानुनी कागजातको विश्लेषण, सफ्टवेयर कोडिङ र शिक्षकको अध्यापन जस्ता कार्यहरूमा पनि मानिसलाई उछिन्न थालेको छ। स्वचालित सवारी साधन (Autonomous Vehicles) का कारण यातायात क्षेत्रमा भइरहेको विकासले चालकहरूको भूमिका परिवर्तन गर्दैछ। स्वचालित ट्रक र बसहरूले सडक दुर्घटना कम गर्ने र ढुवानीलाई सस्तो बनाउने अपेक्षा गरिएको छ। यसको व्याबहारिक प्रयोग चीनमा सुरु भैसकेको पनि छ। चीनमा रहेका "डार्क फ्याक्ट्रीहरू" (Dark Factories) यसका उदाहरण हुन्। डार्क फ्याक्ट्रीहरू पूर्ण रूपमा स्वचालित २४/७ सञ्चालन हुने उत्पादन केन्द्रहरू हुन्, जुन मानव उपस्थिति, बत्ती वा ताप प्रणाली बिना नै सञ्चालन हुन्छन्। यसो गर्नुको मुख्य उद्देश्य कार्यदक्षतालाई अधिकतम बनाउनु र उत्पादन लागत घटाउनु हो। एआईले मानिसले गर्ने पुनरावृत्ति हुने कामहरू छिटो गर्दिन्छ। जसले गर्दा बाँकी रहेको समयलाई मानिसले उच्च स्तरको सिर्जनशीलता वा विश्राममा खर्च गर्न सक्छ।
विश्वका विभिन्न देशहरूमा कार्य समय घटाउने प्रयोगहरू भइरहेका छन् जसले सकारात्मक नतिजा देखाएका छन्। नर्वे, स्वीडेन र आइसल्याण्ड जस्ता देशहरूमा ६ घण्टाको कार्यदिन लागू गर्दा कर्मचारीहरू कम बिरामी पर्ने र काममा बढी केन्द्रित हुने पाइएको छ। हालै बेलायतमा गरिएको परीक्षणमा हप्तामा ४ दिन मात्र काम गर्दा पनि कम्पनीको राजस्व घटेन, बरु कर्मचारीहरूको कार्यक्षमता र सन्तुष्टि बढ्यो। अध्ययनहरूले देखाउँछन् कि मानिसको मस्तिष्क एक दिनमा केवल ३ देखि ४ घण्टा मात्र पूर्ण एकाग्रताका साथ काम गर्न सक्षम हुन्छ, र बाँकी समय केवल व्यस्त देखिने अभिनयमा मात्र खर्च भइरहेको हुन्छ।
हिजोका मजदुरका चुनौती भौतिक सुरक्षा र ८ घण्टाको काममा सीमित थिए भने आजका 'डिजिटल मजदुर' हरूले मानसिक स्वास्थ्य र 'बर्नआउट' जस्ता समस्या भोगिरहेका छन्। डिजिटल पर्दामा बिताइने लामो समयले डिप्रेसन र एन्जाइटी बढाएको छ, त्यसैले ५ घण्टाको कार्य समय अब सुविधा नभई आवश्यकता बन्दैछ। यसका साथै, कामको समय सकिएपछि अफिसको डिजिटल सम्पर्कबाट टाढा रहन पाउने 'Right to Disconnect' को अधिकार पनि अहिलेको प्रमुख माग बनेको छ।
अहिले हामी १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा सन् १८८६ को 'औद्योगिक धङ्धङी' बाट बाहिर निस्कन जरुरी छ। प्रविधिले हाम्रो जीवनलाई सहज बनाएको छ भने त्यसको लाभ काम गर्ने समय छोट्याएर मजदुरलाई पनि दिनुपर्छ। कार्य अवधिलाई १८ घण्टाबाट ८ घण्टामा झार्न मजदुरले लामो संघर्ष गरे। अब ८ घण्टाबाट ४ वा ५ घण्टामा झार्ने समय आएको छ। प्रविधिले ल्याएको उत्पादनशीलताको हिस्सा पुँजीपतिहरूको बैंक ब्यालेन्समा मात्र होइन, मजदुरको 'गुणस्तरीय समय' र 'सुखी जीवन' मा पनि देखिनुपर्छ।
अबको मजदुर आन्दोलन केवल ज्याला वृद्धिका लागि मात्र नभई "कामका लागि बाँच्ने होइन, बाँच्नका लागि काम गर्ने" वातावरण निर्माणका लागि हुनुपर्छ। नयाँ युगका मजदुरहरूले ५ घण्टाको कार्यदिन र हप्तामा ३ दिनको विदाका लागि आवाज उठाउनु नै आजको वास्तविकता हो।
कार्ल स्मिट र कातेखोन
अलाबुगा कसरी संसारभरका युवतीहरूका लागि दोस्रो घर बन्यो
सुकुम्बासी समस्या: भूमिहीनताको पीडा कि सहरी आप्रवासनको चुनौती?
इतिहासका महान् पुस्तक प्रेमी र उनको घुम्ती पुस्तकालय
हिमालयको काखको गर्मीमा बिताएका दुई वर्षहरू
सपथ ग्रहण र धर्मनिरपेक्षता: प्रतीक, राजनीति र पहिचानको बहस
अमेरिकी सिनेमाको साँचोमा ढलिएको डोनाल्ड ट्रम्पको मानस
प्रतिक्रिया