बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
दानको महिमा
महात्मा बुद्ध पाटलिपुत्रमा जाँदा हरेक व्यक्ति आफ्नो-आफ्नो आर्थिक स्थिति अनुसार उनलाई उपहार दिने योजना बनाउन थाले। राजा बिम्बिसारले पनि बहुमूल्य हीरा, मोती र रत्नहरू उनलाई भेट दिए। बुद्धले सबैलाई एक हातले सहर्ष स्वीकार गरे। त्यसपछि मन्त्रीहरू, सेठहरू र साहुकारहरूले आ-आफ्ना उपहारहरू उनलाई अर्पित गरे र बुद्धले ती सबैलाई एक हातले स्वीकार गरे।
यत्तिकैमा एक वृद्धा लौरो टेक्दै त्यहाँ आइन्। बुद्धलाई प्रणाम गरेर उनले भनिन्, 'भगवान्, जुन समयमा तपाईं आउनुभएको समाचार मैले पाएँ, त्यस समयमा म यो अनार खाइरहेकी थिएँ। मसँग अर्को कुनै थोक नभएका कारण म यो आधा खाएको फल नै लिएर आएकी छु। तपाईंले मेरो यो तुच्छ भेट स्वीकार गरिदिनुभयो भने, म आफूलाई धन्य ठान्ने थिएँ।'
बुद्धले दुवै हात अगाडि सारेर त्यो फल ग्रहण गरे।
राजा बिम्बिसारले जब यो देखे, तब उनले महात्मा बुद्धसँग भने, 'भगवान्, क्षमा गर्नुहोला! म एउटा प्रश्न सोध्न चाहन्छु। हामी सबैले तपाईंलाई बहुमूल्य र ठूला-ठूला उपहार दियौँ जसलाई तपाईंले एक हातले ग्रहण गरे, तर यी वृद्धाद्वारा दिइएको सानो र जुठो फललाई तपाईंले दुवै हातले ग्रहण गरे, यस्तो किन?'
यो सुनेर बुद्ध मुस्कुराए र भने, 'राजन्! तपाईंहरू सबैले निश्चित रूपमा बहुमूल्य उपहार दिनुभएको छ, तर यो सबै तपाईंको सम्पत्तिको दसौँ हिस्सा पनि होइन। तपाईंले यो दान दीन-दुःखी र गरिबहरूको भलाइका लागि गर्नुभएको होइन, त्यसैले तपाईंको यो दान 'सात्त्विक दान' को श्रेणीमा पर्न सक्दैन। यसको विपरीत, यी वृद्धाले आफ्नो गाँस नै मलाई सुम्पिइन्। यद्यपि यी वृद्धा निर्धन छिन्, तर यिनलाई सम्पत्तिको कुनै लालसा छैन। यही कारण हो कि यिनको दान मैले खुला हृदयले, दुवै हातले स्वीकार गरेको हुँ।'
परिश्रम र धैर्य
एक पटक गौतम बुद्ध आफ्ना अनुयायीहरूसँग कुनै गाउँमा उपदेश दिन जाँदै थिए। त्यस गाउँभन्दा अगाडि नै बाटोमा ती गाउँका मानिसहरूले ठाउँ-ठाउँमा धेरै खाडलहरू खनेका भेट्टाए।
बुद्धका एक शिष्यले ती खाडलहरू देखेर जिज्ञासा प्रकट गरे— आखिर यसरी खाडलहरू खनिनुको तात्पर्य के हो?
बुद्धले भने, "पानीको खोजीमा कुनै व्यक्तिले यति धेरै खाडलहरू खनेको हो। धैर्यपूर्वक एउटै स्थानमा खाडल खनेको भए उनले पानी अवश्य फेला पार्ने थिए, तर उनले केही बेर एउटा खाडल खन्थ्यो र पानी नभेटिएपछि अर्को खाडल खन्न सुरु गर्थ्यो।"
बुद्धको तात्पर्य हतारोले परिणाम प्राप्त भइहाल्दैन । व्यक्तिले परिश्रम गर्नुका साथै धैर्य गर्न पनि सक्नुपर्छ ।
अशान्त मन र मौनता
गौतम बुद्ध दैनिक आफ्ना शिष्यहरूलाई उपदेश दिने गर्थे। बुद्धको प्रवचन सुन्न शिष्यहरूका साथै अन्य मानिसहरू पनि पुग्दथे। एक दिन जब बुद्ध प्रवचन दिइरहेका थिए, त्यतिबेलै एक व्यक्ति आइपुगे र भने, "तथागत, म तपाईंसँग धेरै प्रश्नहरू सोध्न चाहन्छु। मेरो मन असाध्यै अशान्त छ। कृपया मेरा प्रश्नहरूको उत्तर दिनुहोस्, ताकि मेरो मन शान्त हुन सकोस्।"
बुद्धले उनलाई भने, "म तिम्रा प्रश्नहरूको उत्तर पक्कै दिनेछु। तर, तिमीले एक वर्षसम्म मौन धारण गर्नुपर्नेछ। एक वर्षपछि तिमीले जे सोध्नेछौ, त्यसको उत्तर तिमीले अवश्य पाउनेछौ।"
ती व्यक्तिले भने, "एक वर्षपछि तपाईंले मेरा प्रश्नहरूको उत्तर पक्कै दिनुहुनेछ नि, होइन त?"
बुद्धले भन्नुभयो, "म आफ्नो वचनको पक्का छु, तिमीलाई सबै प्रश्नको जवाफ दिनेछु, तर एक वर्षपछि।"
बुद्धको कुरा मानेर ती व्यक्तिले मौन व्रत धारण गरे। बिस्तारै मौनताका कारण उनको मन एकाग्र हुन थाल्यो, उनी ध्यानमा डुब्न थाले। मन पनि शान्त हुन थाल्यो। उनका सबै प्रश्नहरू हराउन थाले। एक वर्ष बित्यो।
समय पूरा भएपछि बुद्धले ती व्यक्तिलाई भने, "अब तिमी आफ्ना सबै प्रश्नहरू मलाई सोध्न सक्छौ।"
यो कुरा सुनेर ती व्यक्ति हाँसे र भने, "एक वर्षअघि मेरो मनमा अनेकौँ प्रश्नहरू थिए, तर अब सबै प्रश्नहरू शान्त भएका छन्। अब मसँग तपाईंसँग सोध्नका लागि कुनै प्रश्न छैन।"
बुद्धले ती व्यक्तिलाई भने, "जबसम्म हाम्रो मन शान्त हुँदैन, मनमा धेरै प्रश्नहरू उब्जिरहन्छन्, त्यसका समस्याहरू कायमै रहन्छन्। अज्ञान र भ्रमका कारण हाम्रो मन प्रश्नहरूको उत्तरसम्म पुग्नै सक्दैन। केही समय मौन धारण गरेर हामीले परिस्थितिलाई बुझ्यौँ भने सबै प्रश्नहरूको उत्तर स्वतः मिल्न थाल्छ।"
मन शान्त भएपछि सबै प्रश्नहरू पनि समाप्त हुन्छन्। सबै कुराहरू हामी सजिलै बुझ्न थाल्छौँ र जीवनमा सुख-शान्ति प्राप्त हुन्छ।
रूखप्रतिको कृतज्ञता
एक पटक महात्मा बुद्धले एउटा वृक्षलाई नमन गरिरहेका थिए मानौँ त्यो उनको गुरु होस् वा कुनै महत्त्वपूर्ण व्यक्ति। टाढा उभिएका उनका एक शिष्यले यो सब हेरिरहेका थिए। उनलाई गौतम बुद्ध जस्ता ज्ञानी व्यक्ति रूखको अगाडि निहुरिएको देखेर निकै अचम्म लागिरहेको थियो। उनी बुद्धको नजिक गए र सोधे, 'भगवन्! तपाईंले यस वृक्षलाई किन नमन गर्नुभयो?'
शिष्यको प्रश्न सुनेर बुद्धले प्रतिप्रशन् गरे— 'के यस वृक्षलाई नमन गर्दा केही अनर्थ भयो र?'
शिष्यले भने— 'होइन भगवन्! त्यस्तो कुरा त होइन, तर मेरा लागि यो अचम्मको कुरा हो कि तपाईं जस्तो ज्ञानी महापुरुष यस वृक्षलाई नमस्कार गर्दै हुनुहुन्छ। यो एउटा साधारण वृक्ष हो। यसले न त तपाईंको कुनै कुरामा प्रतिक्रिया दिन सक्छ, न त तपाईं जस्तो ज्ञानीको सामीप्य पाएर वा तपाईंले नमन गर्दा आफ्नो प्रसन्नता नै व्यक्त गर्न सक्छ।'
बुद्धले मुस्कुराउँदै जवाफ दिए— 'वत्स! तिम्रो सोचाइ पूर्ण रूपमा गलत छ। वृक्षले सायद म वा तिमीजस्तै बोलेर उत्तर दिन सक्दैन होला, तर जसरी प्रत्येक व्यक्तिको एउटा भाषा हुन्छ, त्यसैगरी प्रकृतिको पनि आफ्नै भाषा हुन्छ। वृक्षमा पनि प्राण छ। यो पनि सजग र सजीव छ। वृक्षको मुनि बसेर नै मैले वर्षौँसम्म साधना गरेको छु। वृक्षका बाक्ला पातहरूले मलाई शीतलता प्रदान गरे, प्रचण्ड घाम र वर्षाबाट मेरो बचाउ गरे। प्रत्येक पल यस वृक्षले मेरो सुरक्षा गर्यो। रूखप्रति कृतज्ञता व्यक्त गर्नु मेरो परम कर्तव्य हो। कुरा मेरो वा यस रूखको मात्र होइन, बरु पृथ्वीमा रहेका प्रत्येक जीव प्रकृतिको कृतज्ञ हुनुपर्छ।'
अगाडि बुद्धले भने— 'तिमीले यस वृक्षलाई ध्यान दिएर हेर। यसका हल्लिरहेका हाँगाहरूलाई हेर, यसका हल्लिरहेका पातहरूलाई हेर। के तिमीलाई लागिरहेको छैन कि यसले मेरो धन्यवादको जवाफ निकै सुन्दरताका साथ दिइरहेको छ र आफ्नै भाषामा मसँग कुरा गर्ने कोसिस गरिरहेको छ?'
बुद्धको गहन कुरा सुनेर शिष्य नतमस्तक भए ।
धैर्यको फल
तथागत बुद्धको एक नयाँ शिष्य बने – आनन्द। उनी ज्ञान प्राप्तिका लागि अत्यन्तै उत्सुक थिए। उनी अक्सर तथागतलाई एउटै प्रश्न सोधिरहन्थे, "भगवान्! मलाई ज्ञानको प्राप्ति कहिले होला?"
तथागतले सधैँ "उचित समय आएपछि प्रश्नको उत्तर दिनेछु" भन्दै कुरा टुङ्ग्याइदिने गर्नुहुन्थ्यो।
एक दिन आनन्द र तथागत भिक्षाका लागि एउटा गाउँ जाँदै थिए। उनीहरू एउटा झरना नजिकैबाट गुज्रिए । त्यहाँ भर्खरै केही पशुहरू नुहाएर निस्किएका थिए। तथागत र आनन्द थोरै अगाडि बढे र एउटा रूखको छायामा बसे।
तथागतले भने – "वत्स आनन्द! पछाडिको झरनाबाट अलिकति पानी लिएर आऊ। मलाई निकै तिर्खा लागेको छ।" आनन्दले कमण्डलु उठाए र पानी लिन हिँडे। आनन्द जब झरना नजिक पुगे, तब त्यहाँ बिल्कुलै धमिलो पानी बगिरहेको देखे। आनन्द फर्किएर आए र भने – "भगवान्! झरनाको पानी त एकदमै फोहोर छ। हजुरले आज्ञा दिनुहुन्छ भने म नदीबाट लिएर आऊँ?"
तथागतले भने – "हैन! तिमी झरनाबाटै लेराऊ। अब पानी सङ्गलिइसक्यो होला।" आनन्द फेरि झरनामा गए। यस पटक पानी केही सफा थियो तर अझै पनि पिउन योग्य थिएन। अतः आनन्द फेरि रित्तै हात फर्किए र भने – "भगवान्! पानी त अझै धमिलै छ। म नदीबाटै लिएर आउँछु।"
तथागतले भने – "तिमी थाक्यौ होला, एकछिन आराम गर। त्यसपछि लिएर आउनू।" केही समयपछि तथागतले फेरि उनलाई झरनामा पानी लिन पठाए। उनी केही रिसाए तर गुरुको आज्ञा पालन त गर्नै थियो। उनी जब झरनामा पुगे, यस पटक पानी एकदमै स्वच्छ थियो। उनले आफ्नो कमण्डलुमा पानी भरे र खुसी हुँदै फर्किए।
तथागतले सोधे – "आनन्द, अब पानी कस्तो छ?"
उनले भने – "अहिले त स्वच्छ छ भगवान्, तर यो चमत्कार कसरी भयो?"
तथागतले जवाफ दिए– "आनन्द! यो कुनै चमत्कार होइन, धैर्यको फल हो। जनावरहरूले पानीमा हलचल गरेकाले तलको धुलो र माटो माथि आयो र पानी फोहोर भयो। जब तिमी पहिलो र दोस्रो पटक झरनामा गयौ, त्यस बेला धुलो र माटो पानीमा घोलिएकाले पानी फोहोर देखिएको थियो। जब तेस्रो पटक गयौ, तबसम्म माटो तल सतहमा बसिसकेको थियो र पानी स्वच्छ भयो। तिमीले मलाई अक्सर सोध्ने गर्ने प्रश्नको उत्तर यही हो।"
आनन्दले भने – "कसरी भगवान्?"
तथागतले सहज भावमा उत्तर दिए – "आनन्द! हाम्रो मन पनि त्यही झरना जस्तै हो। जसमा हरेक दिन कति धेरै कुविचारका पशुहरूले उथलपुथल मच्चाउँछन्। यी कुविचार र कुसंस्कारका कारण तिम्रो मन अस्थिर र अपवित्र भइसकेको छ। तप-साधनाको माध्यमबाट हामी ती कुविचार र कुसंस्कारका पशुहरूलाई मनबाट बाहिर निकाल्छौँ र ध्यानद्वारा मनलाई स्थिर, शान्त र पवित्र हुन प्रतीक्षा गर्छौँ। जबसम्म मन स्थिर, शान्त र पवित्र हुँदैन, तबसम्म ज्ञानको प्राप्ति हुन सक्दैन। त्यसैले आनन्द! मन शान्त नभएसम्म तिमीले धैर्य राख्नुपर्छ। जब तिम्रो मन स्थिर भएर समाधिस्थ हुनेछ, तब तिमीलाई स्वतः आत्मज्ञानको उपलब्धि हुनेछ।"
प्रतिक्रिया