हिमालयको काखको गर्मीमा बिताएका दुई वर्षहरू

इभान मिखाइलोभिच गोन्छारोभ

(तत्कालीन राजा महेन्द्रको पालामा निर्माण शुरु भएको हो– पूर्व पश्चिम राजमार्ग । नेपालको पूर्वीभागदेखि पश्चिम भागसम्म, तराई क्षेत्रमा लमतन्न परेर तेर्सिएको यो सडकलाई कुनैबेला महेन्द्र राजमार्ग भनिन्थ्यो । नेपालमा गणतन्त्र आएपछि त्यसको नामाकरण लोकमार्ग भयो तर जनताको मुख र मानसपटलबाट त्यसको मूल नाम महेन्द्र राजमार्ग मेटिन सकेन । हालै बालेन नेतृत्वको सरकारले अघि सारेको योजनामा त्यसलाई महेन्द्र राजमार्ग उल्लेख भएपछि चर्को बहस, आलोचना–प्रत्यालोचना चलिरहेको छ ।

यहाँ हामीले सोही राजमार्गको एउटा खण्ड खन्न खटिएका सोभियत इन्जिनयरको स्मरण प्रस्तुत गरेका छौं । यो हामीले जीवा लामिछानेको फेसबुक पेजबाट साभार गरेका हौं ।

दायित्वबोध)

तल झर्दै गरेको हवाईजहाजको सानो झ्यालबाट देखिएका पूर्वदेखि पश्चिमसम्म लमतन्न फैलिएको हिमालयको काखका हरिया फाँटहरूले सबैभन्दा पहिले मलाई नेपालप्रतिको छाप दिलाएका थिए। त्यसपछि काठमाडौंबाट भारतीय सीमा नजिकको सानो सहरसम्म हामीलाई बसमा लगिएको थियो, जसबाट बाटोमा पर्ने जङ्गल, धानका फाँट, चिया बगान र केराका खेतिका रमाइला दृश्यहरू हेर्न पाइएको थियो।

सोभियत संघ र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका कारण संसारको सुदूर कुनामा रहेको यो अधिराज्यमा हामी सोभियत इन्जिनियरहरूको एक समूहलाई काम गर्ने मौका मिलेको थियो। सन् १९६० र १९७० को दशकमा हाम्रो देशको सहयोगमा दर्जनौं अस्पताल, जलविद्युत आयोजना, कारखानाहरू र अन्तमा १०९ किमी लामो "सिमरा-जनकपुर" राजमार्गको निर्माणका कारण हामी संसारको उच्चतम शिखरको फेदीमा पुगेका थियौं। हामीभन्दा अघिल्लो समूहले ५४ किमी बाटो बनाइसकेको थियो र हामीले त्यसमा ५५ किमी थप गरेका थियौं।

"के पहाड खनिरहन्छौ? आराम गर!" शुभचिन्तकहरू भन्ने गर्दथे। तर हामी बौलाहा झैँ बिहान सबेरैदेखि अबेर साँझसम्म काम गरेको गर्‍यै गर्दथ्यौँ। नेपालीहरू साह्रै मेहनती, अनुशासित र बुद्धिमान हुँदारहेछन्। सानैदेखि कडा परिश्रम गर्न बानी परेकोले यस्तो भएको हुन सक्छ। स्थानीय किसानहरू अझै पनि पाखो-भिरमा कोदालो खनेर बालीनाली लगाउँछन्, बाटोघाटो तथा घरहरू नागबेली आकारका ठाडा उकालो-ओरालो बाटाहरूमा काँध र पिठ्यूँमा ढुङ्गा बोकेर अनि सामान्य हाते घनले ढुङ्गा फुटाएर बनाउँछन्।

हाम्रो काम गर्ने ठाउँमा यहाँका केटाहरूले केही दिनमा नै जुनसुकै व्यावसायिक काम–वेल्डिङ गर्ने, ड्राइभिङ गर्ने, सिकर्मी काम–सबै गर्न सिके। त्यसमाथि धेरैजसोले स्कुले शिक्षासमेत पाएका थिएनन्। उदाहरणका लागि, हामीले गङ्गा नदीको एउटा प्रमुख शाखा, बागमती नदी, जसले पुरै हिमालय पर्वतलाई चिरेर बग्थ्यो, त्यसमा एउटा विशाल पुलको डिजाइन गरेका थियौँ। यसका लागि हामीलाई लामा-लामा आरसीसी (RCC) बीमहरू बोक्ने ‘जिल-१३१’ जस्तो २५ मिटर लामो ट्रेलर भएको भारी ट्रक चलाउने ड्राइभर आवश्यक परेको थियो।

काम खोज्दै एउटा २० वर्ष जतिको केटो आयो, मेसिनको बारेमा पुरै अनभिज्ञ। यस्ताले के ड्राइभरको काम गर्ला? जस्तो लागेको थियो। तर कुरो अर्कै भयो! यो केटोले जम्मा ३ दिनमा सबै सैद्धान्तिक र व्यावहारिक ज्ञान लिन भ्यायो। काम गर्दा उसले एउटा पनि गल्ती गरेन, जब कि यत्रो जटिल मेसिन चलाउन असाध्यै राम्रो दक्षताको जरुरत पर्दछ।

 

पुलहरु झण्डै हरेक किलोमीटरमा एउटा बनाउनुपर्दथ्यो(१०९ किलोमिटरमा झण्डै सयवटा), किनकि यो बाटो हिमालयको फेदैफेदबाट गुज्रन्छ जहाँ अनेकौँ नदीनालाहरु बग्दछन्।नेपालमा अप्रिलदेखि नोभेम्बरसम्म आउने मुसलधारे मनसुनले समेत यति धेरै पुल पुलेसाहरु मध्ये एउटा पनि भत्काउन सकेन ।

उष्णप्रदेशको भीषण बर्षा गाग्रीले पानी खन्याए झैँ बर्सन्छ, अनि पहाडी नदीहरु तीब्र बेगले आफ्नो बाटोमा पर्ने सबै चिजलाई सफाइ गर्दै बग्छन्।बाढीले ढुंगा, माटो,जरा समेतै उखेलिएका रुखहरु बगाउन बाँकि राख्दैन र बाढीपछि दशौँ मीटरसम्म बाक्लो गेग्रन थुपारेर छोड्छ।यसैले पुलको जग २५ मीटरसम्म गहिरो हाल्नुपरेको थियो, झण्डै पृथ्वीको गर्भैसम्म पुग्ने भन्दा पनि हुने गरी ।

हामीले बनाएका पुलहरु साह्रै हलुका लाग्दथे।अरु देशले बनाएका पुलहरुका बीमहरु १.५ मी बाक्ला हुन्थे भने हामीले बनाएका जम्मा ४० सेन्टिमीटर मात्रै।

जाँच गर्नेहरु शुरुमा शंकालु नजरले हेर्ने गर्दथे, यति हल्का बीमहरु मोटर हिड्दा भाँचिन्छन् होला भनेर। जबाफमा मैले एक्स्काभेटर र बुलडोजरहरु गडगडाउदै पुलमा हिडाएर देखाइदिएँ। त्यसपछि गाडिको लहरै अगाडि पछाडि गरेर पुलमा हिडाइदिएँ। पुललाई के हुन्थ्यो? केही पनि भएन ।

 

पुलहरू झण्डै हरेक किलोमिटरमा एउटा बनाउनुपर्थ्यो (१०९ किलोमिटरमा झण्डै सयवटा), किनकि यो बाटो हिमालयको फेदैफेदबाट गुज्रन्छ, जहाँ अनेकौँ नदीनालाहरू बग्दछन्। नेपालमा अप्रिलदेखि नोभेम्बरसम्म आउने मुसलधारे मनसुनले समेत यति धेरै पुल-पुलेसाहरूमध्ये एउटा पनि भत्काउन सकेन।

उष्णप्रदेशको भीषण वर्षा गाग्रीले पानी खन्याए झैँ बर्सन्छ, अनि पहाडी नदीहरू तीव्र वेगले आफ्नो बाटोमा पर्ने सबै चिजलाई सफा गर्दै बग्छन्। बाढीले ढुङ्गा, माटो, जरासमेत उखेलिएका रुखहरू बगाउन बाँकी राख्दैन र बाढीपछि दशौँ मिटरसम्म बाक्लो गेग्रान थुपारेर छोड्छ। यसैले पुलको जग २५ मिटरसम्म गहिरो हाल्नुपरेको थियो, झण्डै पृथ्वीको गर्भैसम्म पुग्ने भन्दा पनि हुने गरी।

हामीले बनाएका पुलहरू साह्रै हलुका लाग्थे। अरू देशले बनाएका पुलहरूका बीमहरू १.५ मि. बाक्ला हुन्थे भने हामीले बनाएका जम्मा ४० सेन्टिमिटर मात्रै। जाँच गर्नेहरू सुरुमा शंकालु नजरले हेर्ने गर्थे–यति हल्का बीमहरू मोटर हिँड्दा भाँचिन्छन् होला भनेर। जवाफमा मैले एक्स्काभेटर र बुलडोजरहरू गडगडाउँदै पुलमा हिँडाएर देखाइदिएँ। त्यसपछि गाडीको लहरै अगाडि-पछाडि गरेर पुलमा हिँडाएँ। पुललाई के हुन्थ्यो? केही पनि भएन।

 

जब कि हरेक मनसुनपछि त्यही समयमा चिनियाँहरूले बनाएका ९० प्रतिशत पुलहरू भत्किन्थे र अंग्रेजहरूले बनाएका ७० प्रतिशत भत्किन्थे। हामीले बनाएका मध्ये एउटा पनि भत्केन। हाम्रो डिजाइन अत्यन्तै सही थियो, हाम्रो स्टिल राम्रो थियो, डिजाइन गर्ने मस्कोको “सयुजदोरनिई” (Soyuzdornii) का इन्जिनियरहरूको समूह र स्थानीय गाउँले केटाहरूको काम गर्ने समूह साँच्चिकै उत्कृष्ट थियो।

यी स्थानीय केटाहरू सँग काम गर्न सहज थियो। सबैतिर गरिबीले छाएको देश भएता पनि नेपाल खुसी मानिसहरूको देश हो। सबै मेहनती, खुला हृदयका र हँसिला छन्। दुई वर्षको बसाइमा मैले यिनीहरूबाट एउटा पनि खराब शब्द बोलेको सुनिन, खराब हाउभाउ र खराब नजरले हेरेको कहिल्यै पनि पाइन।

मेरो पद अनुसार मलाई सरकारी मोटर चलाउन भनेर एउटा व्यक्तिगत ड्राइभर दिइएको थियो। उसको नाम रामदेव रौश थियो। हामी दिनभर उज्यालो छउन्जेल काम गर्थ्यौँ, स्थानीय चाडपर्वमा भने आराम गर्थ्यौँ। रामदेव कहिल्यै पनि थकाइ लाग्यो भनेर गुनासो गर्दैनथ्यो, न त लामो समयसम्म घर जान नपाएकोमा नै। म यो कुरा बुझ्थेँ र बलपूर्वक उसलाई केही आराम गर्न र बाबु-आमालाई सघाउन घर पठाइदिन्थेँ।

रामदेवसँग मैले नेपाली भाषा सिक्ने निधो गरेँ (उ आफैँ पनि केही टुटफुट रसियन बोल्न जान्दथ्यो, मभन्दा अघिकाले सिकाए अनुसार)। हुन त हामीसँग अंग्रेजीबाट नेपालीमा अनुवाद गर्ने एउटा दोभाषे हुन्थ्यो, तर उ सधैँ यताउति गइरहन्थ्यो, त्यसैले हामीलाई साइटमा काम गर्न कामदारहरूसँग बोल्ने साझा भाषा खोज्नुपर्थ्यो।

हरेक दिन यो मेरो गुरुले मलाई १०-१५ वटा नयाँ शब्दहरू सिकाउँथ्यो। चाँडै नै मैले अपरिचित वाक्यहरू पनि अन्दाजकै भरमा बुझ्न थालेँ र तीन महिनापछि त मज्जाले नेपालीहरूसँग कुरा गर्न सक्ने भएँ। जोकहरू (ठट्टा) समेत रसियनबाट नेपालीमा अनुवाद गरेर भन्न सक्ने भएँ। एकदिन हामीकहाँ एकजना कामदारको बाबु आयो। उसले मेरो बारेमा छोरालाई सोध्यो।

– "सुन् त छोरा, ऊ यहीँ जन्मेहुर्केको हो?"

– "आबुइ, के भनेको!" छोराले हाँस्दै भन्यो, "ऊ भर्खरै मात्र आएको हो।"

– "हुनै सक्दैन!" बुढाले विश्वास गर्न सकेनन्, "त्यसो भए उसले हाम्रा उखान-टुक्काहरू कसरी जानेको त?"

जब म रसिया फर्केँ, मेरा इष्टमित्रहरूले सोध्न थाले: "भान्या, तँ त अचम्मको देश पुगेर आइस्, अब सुना नेपालीहरू हामीभन्दा के फरक रहेछन्? उनीहरूको चालचलन के फरक रहेछ?" मैले भनेँ, "उनीहरू सबै कुरामा फरक रहेछन्–बिहेवारी, अन्त्येष्टि, धर्म-कर्म, जीवन; सबै फरक छ।"

उदाहरणका लागि, त्यहाँ बजारमा मासु किन्न पाइँदैन–बेच्ने चलन नै छैन त्यहाँ। केही नेपालीहरू भैँसीको मासु खान्छन् भने अरू जनावरको मासु खान त्यहाँ निषेधित छ। कुनै पनि प्राणीको हत्या गर्न त्यहाँ पाइँदैन।

एकदिन जङ्गल फाँड्दै थियौँ। केटाहरू रुख काट्दै थिए। कराएको आवाज आयो। के भयो? एकजना कामदारलाई बिच्छीले टोकेछ। मैले रक्तसञ्चार रोक्न टोकेको ठाउँभन्दा माथितिर बाँधिदिएँ (हामीलाई यस्तो गर्न पहिले नै मस्कोमा सिकाइएको थियो)। बिच्छी हिँडिरहेको मैले देखिहालेँ। "मार त्यसलाई!" म चिच्याएँ। सबैले एकै स्वरमा भने, "मार्न हुँदैन।" मैले आफैँ लट्ठीले हिर्काउन खोजेँ, दिएनन्। ममाथि सबै एकैचोटि खनिए–यो देवता जस्तै हो, यसलाई केही गर्न हुँदैन।

माकुरो मार्न कसैले पाउँदैन। त्यहाँ सबैले ढोग्छन् त्यसलाई, सबैभन्दा अमूल्य किरा मानिँदो रहेछ। म आफैँ पनि यो आठखुट्टे किरालाई मान्न लागेँ; हुन पनि हो, यसले मानिसलाई कुनै नराम्रो गर्दैन, बरु उल्टै सबै किसिमका विषाक्त पदार्थबाट बचाउँछ।

यदि कुनै मान्छे अपराधी छ भने चाहिँ नेपालीहरू उसलाई किरा-फट्याङ्ग्रालाई भन्दा पनि बढी घृणा गर्न पछि पर्दैनन्। अहिले कस्तो छ, थाहा छैन; तर त्यसबेला गाउँघरमा कुनै सुरक्षा निकायहरू थिएनन्। पुरै क्षेत्रभरि एउटा पुलिस र एक-दुई कर्मचारी मात्र हुन्थे त्यसबेला। यदि कुनै अपराधी समातिएमा जेल पठाउने होइन, गाउँमै छिनोफानो गरिन्थ्यो।

एकदिन बाटोमा हिँड्दै थियौँ। एकजना मानिसलाई रुखमा बाँधेर राखिएको रहेछ। के भएको रहेछ भनेर बुझ्न म रोकिएँ। केटाहरूले तँछाड-मछाड गर्दै भने: "चोरलाई सजाय दिन लागेको।"

– "कति भयो यसरी बसेको?" मैले सोधेँ।

– "तेस्रो दिन हो।"

– "भैगो, पुगिहाल्यो त नि! छोडिदेऊ अब त।"

– "हुँदैन, चोर हो नि त!"

एकजना पाको मान्छेलाई बोलाएँ र पाँच रुपैयाँ दिएँ। र भनेँ, "तिमी पर जाऊ र नदेखेझैँ गर, हामी यसको डोरी फुकाइदिन्छौँ।" उसले आफ्ना साथीहरूलाई लिएर जङ्गलतिर गयो, मैले डोरी फुकाइदिएँ, पानी दिएँ र गाउँमा पुर्‍याइदिएँ।

कहिलेकाहीँ पाइने बिदाको दिनमा हामी श्रीमतीहरूसँग नदीमा जान्थ्यौँ, हात्ती चढ्थ्यौँ, निकुञ्जतिर जान्थ्यौँ, गैँडा, बाघ हेर्थ्यौँ। भारततिर पनि जान्थ्यौँ। स्थानीय प्राचीन स्मारकहरूको त कुरै नगरौँ। मन्दिरहरू कति राम्रा छन् नेपालमा, शब्दमा वर्णन गर्न सकिँदैन। हो, त्यहाँ सबै कुरा राम्रा छन्–प्रकृति, वास्तुकला, मानिसहरू।

मलाई विश्वास गर्नुस्, नेपालमा नराम्रा मानिस मैले कहिल्यै देखिनँ। चाडपर्वमा हामीलाई आफ्ना स्थानीय पोशाकमा फूलका माला लगाएका केटीहरूले नाच देखाउँथे। सुरुमा त थाहै भएन, पछि पो थाहा भयो–यी त केटीको लुगा, गहना लगाएका केटाहरू पो रहेछन्! कति राम्रा मिलेको अनुहार भएका यिनीहरू! (हामीलाई साँच्चिकै केटीहरूको प्रदर्शन चाहिँ स्थानीय चलनअनुसार नमिल्ने रहेछ।)

यस्तो बिरानो देशमा बस्न हामी बानी परिसकेका थियौँ। घरपालुवा जनावरहरूको बारेमा त मैले बिर्सिसकेको थिएँ। एकदिन पानी परेपछि आफ्नो "गाज-६९" (GAZ-69) मोटरमा गइरहेको थिएँ, एउटा पानीको दहले मलाई बाटो रोक्यो। एक हुल बाँदर नुहाउँदै रहेछन्। मैले लट्ठीले भुइँमा ठोकेको के थिएँ, सबै गुरुरु रुखमा चढे। एउटा सानो बाँदर चाहिँ झाडीमा लुक्यो, रुख चढ्न पाएन; मैले त्यसलाई समातेर ल्याएँ।

दुई महिनापछि मसँग त्यो बाँदर एकदम रत्तियो, मेरो काँधमा बस्न मन पराउँथ्यो। हामी जङ्गल नजिकैको घरमा बस्थ्यौँ, जहाँ प्रशस्तै बाँदरहरू हुन्थे। मैले पालेको बाँदर देखेर अरू बाँदरहरू मबाट उसलाई खोसेर लान चाहन्थे, तर त्यो मेरो बाँदर चाहिँ भागेर मकहाँ नै आउँथ्यो।

१९७२ को डिसेम्बर महिनामा "सिमरा-जनकपुर" सडकमा पुरै यातायात सञ्चालन खुल्ला गरियो। यस उद्घाटन कार्यक्रममा नेपालका राजा वीरेन्द्र, सोभियत राजदूत बोरिस किर्नासोभ्स्की, निर्माण कार्यका चिफ इन्जिनियर पाबेल क्राभ्चोभ, र सबै निर्माणमा खटिएका नेपाली र रसियनहरूले भाग लिएका थिए।

अब छुट्टिने बेला आइसकेको थियो। नेपालीहरूले हामीलाई बाटोभरि फूलैफूल छरे, माला लगाइदिए र केही उपहार पनि दिए (मलाई पत्थरले सजिएको राष्ट्रिय हतियार खुकुरी दिइएको थियो) र निसंकोच रोए। साँच्चै भन्ने हो भने, हामीहरू पनि कहाँ रोकिन सक्यौँ र? यहाँका मानिसहरू र उनीहरूको देशसँग हामी निकै आत्मीय भइसकेका थियौँ।

हामी सोभियत विशेषज्ञहरू हाम्रा नेपाली साथीहरूसँग छुट्टिएको पनि धेरै वर्षहरू बितिसक्यो। तर अहिले पनि हामीहरू सधैँ एक-आपसमा भेट्दा त्यो बेलाको रमाइलो समय–जब हामी उष्णप्रदेशीय जङ्गलको उखरमाउलो गर्मी, धुलाम्मे समतल सडक र उर्लँदा नदीहरूको किनारामा काम गर्दथ्यौँ–का बारेमा कुरा गर्छौँ।

पैसा भए देखि एकपटक फेरि त्यो हिमालयको काखमा जान पाए हुन्थ्यो भनेर सधैँ सोच्दछु, तर अझै मिलेको छैन।

अहिले हृदयदेखि नै नेपालीहरूको बारेमा साह्रै पीर लागिरहेको छ। यस्तो कठिन परिस्थिति झेल्न उनीहरूलाई बल प्राप्त होस् र जीवनमा खुसियाली छाओस् भनी कामना गरिरहेको छु। रसिया सधैँ नेपालको साथमा रहने छ!

महेन्द्र राजमार्ग  ढल्केबर-पथलैया खण्डको निर्माणमा खटिएका एक सोभियत ईञ्जिनियर इभान मिखाइलोभिच गोन्छारोभले नेपालमा २०१५ को भूकम्प गएपछि लेखेको सम्झनाका केहि पंक्तिहरुको नेपाली अनुवाद ।

अनुवादक: राजेन्द्रराज शर्मा काफ्ले