जनजागरणको सरगम र रोल्पाको थबाङ
काठका फल्याकहरूको छानो लगाइएका परम्परागत घरहरू अब त परिवर्तनको बाटोमा देखिएका छन् । ती काठका छानाहरूको साटोमा अब तिनमा कन्क्रिटको जङ्गलले आधाउधी प्रवेश गरिसकेको छ । थबाङको संरचना पुरानै रूपमा संरक्षण गर्न सकेको भए त्यसको पुरातात्विक र ऐतिहासिक महत्व अझ मजबुत हुन्थ्यो भन्ने मत पहिलो पटक थबाङ पुगेका सबै सहभागीहरूको थियो ।
भौगोलिक विकटता भए पनि सांस्कृतिक र प्राकृतिक दृष्टिले निकै सम्पन्न भूभाग हो रोल्पा । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको मगरात संस्कृति निकै विविधतामूलक र परिपूर्ण रहेको छ । यहाँका भूमेनाच, सोरठी, झाम्रेनाच, सालैजो, जिउमामा आदि सम्पदाहरूले यसको पु्ष्टि गर्दछन् । माघे सङ्क्रान्ति, श्रीपञ्चमी, धान रोपाइँ आदि अवसरमा नाचिने नाचहरू क्रमश जिउमामा र बालीनाच लोपोन्मुख अवस्थामा पुगे पनि भूमेनाच आजभोलि पनि चलनचल्तीमा रहेको छ । घाँसदाउरा, विभिन्न संस्कार र खेतीपातीमा रहँदा आआफ्नै शैलीमा नृत्य, गायन र लोक नाट्यप्रस्तुतिहरू पस्किने स्वभाव पश्चिमी मगरात समुदायमा रहेको लोकप्रिय प्रचलन हो ।
सोझा र मिलनसार स्वभाव भएका मगर जातिहरू राज्यको केन्द्रबाट सदा ओझेलमा पर्नुका कारण पनि यो भूभागलाई केन्द्रमा राखेर वि.सं. २०५२ सालदेखि मुलुकमा सशस्त्र सङ्घर्षको सुरुवात हुन पुगेको हो । थोरै वस्ती र अधिकांश भाग पठानी निर्जन वनजङ्गल रहेको रुकुम र रोल्पाका अधिकांश भागहरूको भौगोलिक बनावटले विद्रोही समूहलाई सशस्त्र सङ्घर्षका लागि बल पुगेको हो ।

राज्य नियन्त्रित सांस्कृतिक प्रतिष्ठान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र कलासाहित्य प्रतिष्ठान रोल्पाको सहआयोजनामा ‘प्रगतिशील सुरहरू: नयाँ पुस्ताका लागि’ भन्ने मूल नारासहित गत वैशाखको १९ र २० गते सङ्घीय राजधानी र अन्य भूभागहरुबाट बाट विविध विधाका कलाकारहरूको जम्बो समूह रोल्पाको थबाङ पुगेको हो । ‘प्रगतिशील सङ्गीत उत्सव २०८३’ नाम दिइएको सो उत्सवको मूल सुन्दर रूप भनेको कला र साहित्यमाथि स्थानीय निकायको पूर्ण सहयोग देखिएको छ जहाँ सम्पूर्ण रोल्पा जिल्लाका दसैओटा पालिकाको पूर्ण प्रायोजन भएको अवस्था हो । राजधानीबाट संविधानसभा सदस्य केसरी घर्ती एलिनाको नेतृत्वमा गएको सो टोलीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरू कुश्मा महरा प्रगति, उदय श्रेष्ठ, माधव प्रधान, कर्ण गौतम विद्रोही, शान्ति कठायत, पुरु लम्साल, नीलिमा पुन लगायत यो फाँटका सयौंको सङ्ख्यामा रहेका कलाकारहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।
जलजला पहाडको काखमा रहेको थबाङ गाउँपालिका यसै पनि पर्यटनका दृष्टिले उच्च सम्भावना भएको क्षेत्र र माओवादी सशस्त्र सङ्घर्षको विम्बका रूपमा रहेकाले युद्ध पर्यटनको थप खाका यो उत्सवबाट कोरिएको छ । लगभग ११,००० जनसङ्ख्या र करिब ७४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो गाउँपालिका मखमली चोलीले सिँगारिएसरी सिँगारिएको स्थितिमा कार्यक्रमका तुल, ब्यानर र सांस्कृतिक झाँकीहरूले थप सिँगारिएको थियो । राज्य र विद्रोही पक्षबाट मारिएका नागरिकहरूको प्रतिमा सहितको विवरणदेखि लिएर युद्ध सामग्रीहरूको समेत सङ्ग्रह हुनु यहाँको अर्को विशेषता रहेको छ । यस अर्थमा युद्ध पर्यटनका लागि यो क्षेत्र प्रतीकका रूपमा रहेको छ । मध्यपहाडी लोकमार्गको काँक्री खरबाङबाट ९ किलोमिटर दक्षिणमा रहेको थबाङले यस पाली जनजागरणका सुरमा स्वर थपेर सरगम सिर्जना गरी राष्ट्रका लागि नौबुँदे घोषणापत्र समेत पारित गरेको छ । दुई दिन मात्र अघि थबाङको छिमेकी जिल्ला पूर्वी रुकुमको जलजला मेला जाने क्रममा २० जना यात्रीहरूको दुखद निधनको घाउ आलो रहे पनि कलाकारहरूको टोलीले लगभग दिनको १८ घण्टा गायन, नृत्य तथा दोहोरी गीतले रौनक बढाएका यी तीन दिनहरू निश्चय पनि सङ्गीतमय रहे, नृत्यमय रहे, विचारमय रहे । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने पूर्व निर्धारित कार्यक्रम यस दुखद दुर्घटनाका कारण उहाँ उपस्थित हुन नसकेपछि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रमुख आतिथ्यता मात्र ग्रहण गरेनन् रोल्पाली संस्कृतिको परिचायक नृत्य भूमेनाचमा फन्फनी नाचेको दृश्य निकै सार्थक रहेको थियो । रात, दिन, झरी, बादल जे भए पनि मौका मिल्नासाथ रमाइलो गरिहाल्ने रोल्पाली संस्कृतिको परिपुष्टि यो नचाइबाट पनि प्रस्ट भएको महसुस हुन्थ्यो । अवसर मिल्ने वित्तिकै पछि नहट्ने रोल्पाली मगर जातिको विम्ब यो उत्सवमा रातदिनको नाचगान र दोहोरीमा आफूलाई समर्पण गरेबाट थप प्रस्ट भएको छ । समसामयिक र ऐतिहासिक परिघटना, दैनिक जनजीवनका कार्यहरू तथा संस्कारजन्य घटनालाई लोकगीतमा उतारी प्रस्तुत गर्ने परम्परा यो उत्सवमा पनि कलात्मक रूपमा प्रस्तुत भएको थियो । प्रदर्शनकारी कलाको एउटा सुन्दर विधा लोकनाट्यका विविध उपविधाको अविरल प्रस्तुतिले कार्यक्रममा निकै उत्साह जगाएको थियो ।
पहिलो दिन स्थानीय गाउँपालिकाको भवनमा रोल्पा जिल्लाको साहित्य कला र समग्रमा मुलुकको प्रगतिशील सङ्गीतको इतिहास विषयक कार्यपत्रको प्रस्तुतिले बौद्धिक विमर्शको झल्को दिएको थियो । पहिलो दिनको औपचारिक कार्यक्रम गहन र बौद्धिक रहेको अवस्थामा दोस्रो दिनको साङ्गीतिक उत्सवलाई भने अनपेक्षित वर्षाका कारणले केही प्रभावित भए पनि अतिथि कलाकारहरू बसेका त्यहाँका पाँचओटा होटेल तथा होमस्टेहरूमा अनौपचारिक रूपमा लगातार साङ्गीतिक गुञ्जनका कारण सरगमको प्रभावकारी प्रक्षेपण रहेको थियो । वडा कार्यालयको सामुदायिक भवनको प्राङ्गणमा आयोजित साङ्गीतिक कार्यक्रम मौसमका कारण बिथोलिएपछि वडाको एउटा कोठामा एकत्रित कलाकारहरू अँध्यारोका बिच पनि हरेकले मोबाइल बालेर हारमोनियमको सुरमा झुम्दै आफैँमा हराउँदा प्रतिकूलतालाई अनुकूलतामा बदल्ने शैलीको झझल्को मुखरित भएको थियो ।
कलङ्कीबाट सुरु भएको पहिलो दिनको यात्रा बागलुङको बुर्तिबाङमा विश्राम लिन पुगेको थियो । नेपालको सहरीकरणको तीव्र प्रभाव बुर्तिबाङदेखि गन्तव्य थबाङसम्मको झण्डै ९० किलोमिटरको दूरीमा प्रस्ट देखियो । मध्यपहाडी लोकमार्गका घोडेपानी, पातीहाल्ने, खबाङ तथा काँक्रीका साना बजारका केही घरहरूमा रहेका होटेलहरूमा मान्छेको उपस्थिति देखिए पनि अन्य ठाउँका निर्जन लेकाली वस्तीमा मानवको अस्तित्व नदेखिदा हाम्रा गाउँले वस्तीहरू अबको केही समयपछि कुन रूपमा देखिएलान् यो प्रश्न भने अनुत्तरित नै छ । पहाडी वस्तीका मानवविहीन घरहरूका आँगनमा घाँस पलाएको र बन्जर खेतबारी बाँझै रहेको कारुणिक दृश्यले सिंहदरबारलाई पोल्छ कि पोल्दैन होला । यो प्रश्न पनि अनुत्तरित नै छ ।
खैंजडी, मादल, झर्रा, मोहली जस्ता लोकबाजाहरूमा झुल्दा आफूलाई नै बिर्सिने रोल्पालीहरूको अत्यन्त सम्पन्न लोकसंस्कृतिको झल्को सङ्गीत उत्सवले चरितार्थ गरेको थियो । मनोरञ्जनमा विद्रोहको कथाको भाव, सङ्घर्षशील रोल्पालीहरूको स्वभाव, परिवर्तनका लागि भएका बलिदानी आन्दोलनमा रोल्पालीहरू अझ थबाङ्गेली जनताको समर्पण आदिलाई फ्युजन गरिएको तीनदिने उत्सवले सहभागीहरूलाई धेरै कुराहरू सोच्न बाध्य बनाएको छ । कालीगण्डकी, सानो भेरी र पश्चिम राप्ती नदी जलाधार क्षेत्रका बासिन्दा मगरहरूको लोकसंस्कृतिमा वैचारिकताको लेपन लगाएर कोरिएको कार्यक्रमको खाका निश्चय पनि मौलिक संस्कृतिको अनुपम उदाहरण रहेको थियो । प्राज्ञ सुवर्ण हमालको मिठो उद्घोषणले दर्शकलाई बाँध्न भारी सहयोग गरेको हो ।
वरिपरि मानवविहीन बन्जर पहाडहरूले घेरिएको जलजला पहाडको कालमा रहेको थबाङको भूबनोट साँच्चै नै अनुमप रहेको देखियो । दुर्गम पहाडका बिचमा साना झुरुप्प परेका एकअर्कासित जोडिएका घरहरू देख्दा काठमाडौंका असनतिरका भित्री बजारको झझल्को प्रस्ट देखियो । काठका फल्याकहरूको छानो लगाइएका परम्परागत घरहरू अब त परिवर्तनको बाटोमा देखिएका छन् । ती काठका छानाहरूको साटोमा अब तिनमा कन्क्रिटको जङ्गलले आधाउधी प्रवेश गरिसकेको छ । थबाङको संरचना पुरानै रूपमा संरक्षण गर्न सकेको भए त्यसको पुरातात्विक र ऐतिहासिक महत्व अझ मजबुत हुन्थ्यो भन्ने मत पहिलो पटक थबाङ पुगेका सबै सहभागीहरूको थियो । यो मामलामा भने रोल्पाका र रोल्पालाई प्रयोग गरी सत्ताको मुलायम कुर्सीमा पुगेका राष्ट्रिय नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, वर्षमान पुन, सन्तोष बुढा मगर, नन्दकिशोर पुन पासाङ, ओनसरी घर्ती लगायत थबाङको स्थानीय सरकार पनि चुकेकै हो भन्ने मत अधिकांशको रहेको थियो ।
गीतसङ्गीतका नाममा समाजमा विकृति फैलाउने प्रवृत्तिलाई चिर्न पनि उत्सव सफल रहने तथ्यलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती तथा निवर्तमान नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा प्रगतिले जोडदार रूपमा उठाएको स्थितिमा त्यसको यथार्थता व्यवहारमा कति देखिने हो त्यो भने आगामी दिनमा देखिनेछ । तर झण्डै छ महिनादेखि विविध चुनौती र अप्ठ्याराहरूसित जुध्दै यो कार्यक्रमलाई सम्पन्न गरेको कुरा भने सहजै विश्वासयोग्य देखियो । अर्को संयोग भनौँ कुसंयोग, यता थबाङमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कार्यक्रम उद्घाटन हुँदै थियो भने अर्कातिर सरकार तिनै ओटै प्रज्ञा–प्रतिष्ठानहरूको प्राज्ञसभा तथा प्राज्ञपरिषद भङ्ग गरी पदाधिकारीहरूलाई पदमुक्त गर्दै थियो । निवर्तमान सदस्यसचिवको निरन्तर, अथक र सहासपूर्ण परिश्रम देखेर होला कतिपय वक्ताहरूले उहाँलाई रोल्पाकी महान् छोरी भनेको ।
घरेलु मदिराको अत्यधिक प्रयोग र होटेल तथा होमस्टेहरूमा मांशजन्य खाद्य पदार्थहरूको मात्र प्राप्तिले भने सात्विक सहभागीहरूलाई परेको समस्या खुलेर व्यक्त नगरे पनि हरेकका मनमनमा गुम्सिएको सहजै देखिन्थ्यो । भौगोलिकता, सांस्कृतिक परिवेश र पूर्ण रूपमा एउटै जातिको बसाइका कारण यसो भएको हुन सक्छ । जसो भए पनि ठूलो सङ्ख्याका सहभागीहरूको व्यवस्थापनमा हर्दम प्रयत्नरत आयोजक समितिका सदस्यहरूको चासोले गर्दा केही अप्ठ्याराहरूलाई पनि सहजै सहभागीहरूले बिर्सेका थिए । दोस्रो दिनको सङ्गीत उत्सव प्रमुख अतिथिको ढिलाइ र कार्यक्रमका बिच भएको भीषण वर्षाका कारण बिचैमा भएको स्थगनले प्राज्ञ माधव प्रधान, नीलिमा पुन, हेमराज आश्रम लगायत धेरै अग्रजहरूका जागरण गीतहरू सुन्नबाट रोल्पालीहरू बञ्चित भए । स्थानीय कलाकारहरू छुटे । तर परिस्थिति र मौसमको प्रतिकूलताको विकल्प पनि त थिएन । दुई दिनअघिको छिमेकी गाउँमा भएको भीषण दुर्घटनाका कारण सोचेजस्तो उपस्थिति नदेखिए पनि वर्षा सुरु हुनु भन्दा अघि जेजति प्रस्तुतिहरू भए तिनमा थबाङ्गेलीहरू प्रशस्त आह्लादित हुँदै झुमेको प्रस्ट देखिन्थ्यो । अघिल्लो दिनको कार्यक्रम सकिएपश्चात् पनि पाहुनाघरमा रात्रिकालीन ढिकुरे नाचमा काठमाडौँबाट गएका सहभागीहरू समेत आफ्ना सम्पूर्ण पिरव्यथा भुलेर नर्तकहरूसित नाचेको दृश्य बडो रोचक देखिन्थ्यो ।
चारै दिशामा उराठलाग्दा जङ्गलहरूका बिचको सानो मखमली गाउँ थबाङ एक समय माओवादीहरूको राजधानी भनेर पनि चिनिन्थ्यो । आज पनि त्यहाँका माओवादी सङ्घर्षमा सरकार र विद्रोही पक्षबाट समेत हत्या भएकाहरू हरेकको सालिक स्थापना, उनीहरूको स्मृतिमा बनेको सहिद स्मृति बाटिका, विशाल सभा हल, अझै नमेटिएका माओवादी युद्धकालमा लेखिएका नाराहरूले यसको पुष्टि गरेको भान देखिन्थ्यो । बिच बजारमा अवस्थित सहिद स्मारकमा सहभागीहरू तछाडमछाड गर्दै फोटो खिच्न झुम्मिनु स्वभाविकै थियो । सदरमुकाम लिवाङदेखि २३ कोशको दुरीमा अवस्थित थबाङको बाक्लो वस्तीभित्रका गल्ली गल्लीमा सोही स्थानमा लामो समय शिक्षण पेशामा रहेका संस्कृतिकर्मी कुलानन्द गिरीको सहयोगमा घुमेका सहभागीहरूलाई त्यहाँको समग्र विवरण पाउन भएको सहजताले सन्तुष्टि प्रदान गरेको थियो भने त्यहाँको लोकल तिनपाने र बङ्गुरको सितनको स्वादले झन्कृत बनाएको थियो ।
सङ्गीत सर्जकहरू सुशासन र समृद्धिको पक्षमा लाग्न, आफ्ना रचनाहरू सरल र स्तरिय बनाउन, सङ्गीतलाई मानव जीवनका विभिन्न पक्षमा वैज्ञानिक ढङ्गले उपयोग गर्न, राज्यका कामलाई जनमुखी बनाउन, वैदेशिक हस्तक्षेपका विरुद्ध स्वाधिनताको पक्षमा उभिन अझ सशक्त भएर लाग्ने प्रतिबद्धता नौबुँदे घोषणापत्रमा उल्लेख गर्दै कलाकर्मीहरू आआफ्नो गन्तव्यतिर प्रस्थान गर्दा जलजलाको टाकुराले बादलको घुम्टो ओढेर बाइबाई गरझैँ लाग्थ्यो । अठाह्रौँ शाताब्दीतरै इलामका सन्त ज्ञान दिलदासले छुवाछुतका विपक्षमा गीतहरू लेखी सुरु गरेको जागरणमुखी गीति अभियानलाई भारतको दार्जिलिङबाट धरणीधर कोइरालाले जाग जाग अब जाग न जाग भन्दै जागरणको भाखा उरालेको, भीमदत्त पन्तले गीतमार्फत जसको जोत उसको पोत विषयक नारा उठाएको अवस्थाले गीतसङ्गीतमा जनपक्षीय जागरणको प्रवृत्ति सुरु भएको हो । यो स्थितिलाई गोपालप्रसाद रिमाल, गोकुल जोशी, लक्ष्मीप्रसाद देवकोटा, धर्मराज थापा, भूपी सेरचन आदिले थप मलजल गरे भने २०२४ सालको आसपासमा राल्फाली अभियानपछि यसमा सामूहिकता र साङ्गठनिक अवस्थिति पैदा प्राप्त भएको हो । यसपछि गीतमा सङ्गीतको प्राविधिक पक्षको पनि विकास भयो भने सङ्कल्प, वेदना, आस्था, इन्द्रेणी, रक्तिम, कोरस, सामना, हिमायती सांस्कृतिक परिवार, जनसांस्कृतिक परिवार, फरक धार तथा सङ्गीत अभियात्रा जस्ता प्रगतिशील साङ्गीतिक समूहहरूको प्रयासको कदर गर्दै तिनको निचोडलाई प्रज्ञा–प्रतिष्ठानको यो उत्सवले प्रतिविम्बित गरेको महसुस सहभागी तथा दर्शकहरूलाई भएको थियो । जनगायक तथा सर्जकहरू रायन, रामेश, जेबी टुहुरे, श्याम तमोट, मुकुन्द न्यौपाने आदि स्रष्टाहरूका विविध गीति रचनाहरूको प्रस्तुति कार्यक्रमको सार रहेको थियो ।
विद्यालय तहबाटै बलियो बन्दै नेपाल-चीन सम्बन्ध
आखिर कसको प्रचार गर्छन् प्रोपोगण्डा फिल्महरू?
गोपाल योञ्जनको कालजयी गीत ‘मेरो जोवन लैजाऊ’ को दार्शनिक विमर्श
इरानी सिनेमा: कविता, प्रतिरोध र मानवीय सत्यको कला
रेडियो सिलोन स्थापनाको १०० वर्ष
नाजी बर्बरता र अन्धता झल्काउने मार्मिक चलचित्र ‘बिफोर द फल’
आँखीझ्यालबाट हेर्दा लाल कान्छी
प्रतिक्रिया