सफ्राजेट: इतिहास, वर्ग-संघर्ष र उत्पीडित 'पैदल सैनिक' हरूको राजनीतिक महागाथा

इतिहासको गति र मताधिकारको लडाइँ

सिनेमा सफ्राजेट 'Suffragette' (२०१५) २० औं शताब्दीको सुरुवाती बेलायतमा महिला मताधिकार (Right to Vote) का लागि भएको आन्दोलनको ऐतिहासिक दस्तावेज हो । त्यसमाथि थप यो राज्यसत्ताको संरचनागत विभेद र त्यसका विरुद्ध वर्ग, परिवार र पहिचानलाई दाउमा राखेर गरिएको वर्ग-सचेत संघर्षको एउटा सजीव तस्बिर हो। निर्देशक सारा गेभ्रोन र लेखिका एबी मोर्गनले फिल्ममा महिला आन्दोलनलाई 'अधिकार प्राप्ति'को सतही राजनीतिक नारामा मात्र सीमित गरेका छैनन्। उनीहरूले यसभित्र लुकेको श्रम शोषण, लैङ्गिक हिंसा, कानुनी निरंकुशता र तत्कालीन ब्रिटिश साम्राज्यवादको लोकतान्त्रिक ढोंगको गहिरो पाटोलाई बडो संवेदनशीलताका साथ केलाएका छन्।

सन् १९१२ को लन्डनको पृष्ठभूमिमा आधारित यो चलचित्रले इतिहासको त्यो कालखण्डलाई समातेको छ, जहाँ दशकौंदेखिको शान्तिपूर्ण र मध्यमार्गी आन्दोलनलाई राज्यले लगातार उपेक्षा र तिरस्कार गरिरहेको थियो। परिणामस्वरूप, 'विमेन्स सोसल एन्ड पोलिटिकल युनियन' (WSPU) की संस्थापक एमिलिन पान्खर्स्ट (Emmeline Pankhurst) को नेतृत्वमा महिलाहरूले नागरिक अवज्ञा र जुझारू प्रतिरोधको बाटो रोज्न बाध्य भएका थिए। चलचित्रले यही राजनीतिक संक्रमणकालीन मोडलाई आफ्नो कथाको मेरुदण्ड बनाएको छ।

नेतृत्व भर्सेज भुइँमान्छे: आन्दोलनका 'पैदल सैनिक' को वर्गीय खोजी

प्राय: ऐतिहासिक वा राजनीतिक सिनेमाहरू स्थापित र सम्भ्रान्त वर्गका शिक्षित नेतृत्व वा कुनै महानायक–नायिकाको वरिपरि घुम्ने गर्छन्। इतिहासको लेखनमा पनि सम्भ्रान्त वर्गकै वर्चस्व देखिन्छ। तर, सफ्राजेटको सबैभन्दा ठूलो विशेषता र दार्शनिक प्रस्थानविन्दु नै के हो भने–  यसले आन्दोलनको केन्द्रमा एलिट वा उच्च वर्गीय नेतृत्वलाई होइन, लन्डनका गल्लीहरू र असुरक्षित कारखानाहरूमा हाडछाला घोट्ने श्रमजीवी वर्गका 'पैदल सैनिक' (Foot Soldiers) महिलाहरूलाई राखेको छ।

फिल्मले सम्भ्रान्त वर्गको राजनीतिक नेतृत्व र भुइँमान्छेको वास्तविक भोगाइबीचको अन्तरसम्बन्ध र अन्तरविरोधलाई सुन्दर ढंगले उजागर गरेको छ। स्त्री-अधिकारको प्रश्न लैङ्गिक मात्र नभएर वर्गीय सवाल पनि हो भन्ने सन्देश फिल्मले स्पष्ट रूपमा दिन्छ। चलचित्रमा एउटा दृश्य छ, जहाँ उच्च वर्गकी महिला (जस्तै सांसद हटनकी पत्नी एलिस) पक्राउ पर्दा उनको सम्भ्रान्त परिवारले सजिलै जमानत दिएर छुटाउँछ, तर मुख्य पात्र माउड वाट्स वा भायलेट मिलर जस्ता मेहनतकश महिलाहरूले भने जेलको कठोर सजाय भोग्नुपर्छ, रोजगारी गुमाउनुपर्छ र समाजबाट बहिष्कृत हुनुपर्छ। सक्रियताको यो वर्गीय मूल्यलाई फिल्मले निकै गम्भीरतापूर्वक देखाएको छ।

माउड वाट्सको रूपान्तरण: राजनीतिक चेतनाको प्रस्फुटन

चलचित्रको मुख्य पात्र माउड वाट्स (क्यारी मुलिगन) को रूपान्तरणको प्रक्रिया नै यो फिल्मको वास्तविक प्राण हो। माउड एक औद्योगिक लाउन्ड्री (कपडा धुने कारखाना) मा काम गर्ने सामान्य मजदुर हुन्। उनको जीवन अत्यन्तै सीमित र साधारण छ– श्रीमान् सानी (बेनेश) र ४-५ वर्षको छोरा जर्जको हेरचाह गर्नु र कारखानामा रगत-पसिना बगाउनु नै उनको दिनचर्या हो। माउडकी आमाको पनि सोही कारखानामा काम गर्दागर्दै मृत्यु भएको थियो र माउड आफैं पनि बाल्यकालदेखि नै त्यहाँको विषाक्त र शोषक वातावरणमा हुर्किएकी पात्र हुन्।

सुरुमा माउड राजनीतिक रूपमा उदासीन देखिन्छिन्। तर, उनकी सहकर्मी भायलेट मिलर र एउटा औषधि पसल (फार्मासिस्ट) संचालक एवं आन्दोलनकी सक्रिय कार्यकर्ता एडिथ एलिन (हेलेना बोनह्याम-कार्टर) को सामीप्यले उनको चेतनामा परिवर्तन ल्याउन थाल्छ। तत्कालीन बेलायतका वित्तमन्त्री लोयड जर्जले श्रमजीवी महिलाहरूको गवाही सुन्न संसदीय समिति बनाएपछि युनियनको तर्फबाट माउडले संसद्‌मा उभिएर आफ्नो भोगाइ व्यक्त गर्छिन्। उनले ७ वर्षको उमेरदेखि भोगेको खतरनाक कार्यस्थलको यथार्थ र महिलाहरूका लागि जीवनको अर्को कुनै विकल्प नभएको कारुणिक सत्य ओकल्दा दर्शकको आँखा रसाउँछन्। यो गवाही उनको जीवनको पहिलो राजनीतिक प्रस्फुटन थियो, जहाँ उनले  उनका व्यक्तिगत दुःखहरू केवल उनको भाग्य होइनन्, बरु राज्य र समाजको संरचनागत अन्यायका परिणाम हुन् भन्ने कुरा बुझ्न थाल्छिन् ।

'Deeds not Words': राज्यको दमन र प्रतिरोधको बाध्यता

बेलायती प्रधानमन्त्रीले महिलाहरूलाई मतदानको अधिकार दिन साफ इन्कार गरेपछि शान्तिपूर्ण आन्दोलनको भ्रम टुट्छ। 'शब्द होइन, कर्म गरेर देखाऊ' (Deeds not words) भन्ने WSPU को मूल मन्त्रले उग्र र क्रान्तिकारी रूप लिन्छ। शान्तिपूर्ण माध्यमबाट माग पूरा नभएपछि राज्यसत्तालाई घुँडा टेकाउन गरिने बाध्यकारी प्रतिरोध वा जन-विद्रोहको सिद्धान्तलाई यसले पुष्टि गर्दछ। महिलाहरूले टेलिग्राफका तार काट्ने, सरकारी हुलाकका बक्सहरू जलाउने र सम्भ्रान्तहरूका घरमा बम विस्फोट गर्नेसम्मका उग्र बाटो रोज्छन्।

राज्यले यो आन्दोलनलाई दबाउन आफ्नो सम्पूर्ण शक्ति र गुप्तचर संयन्त्र परिचालन गर्छ। इन्स्पेक्टर स्टिड (ब्रेन्डन ग्लिसन) को नेतृत्वमा पुलिसले महिलाहरूको निगरानी गर्ने, दमन गर्ने र उनीहरूलाई थुन्ने काम गर्छ। जेलभित्र अधिकारका लागि भोक हड्ताल गर्ने महिलाहरूलाई जसरी जबरजस्ती मुखमा पाइप घुसारेर खाना खुवाउने (Force-feeding) गरिन्छ । यस कुराले राज्य कतिसम्म हिंसक र निर्दयी हुन सक्छ भन्ने देखाउँछ। माउडले यो लडाइँमा आफ्नो जागिर मात्र गुमाउँदिनन्, पितृसत्तात्मक कानुन र समाजका कारण आफ्नै छोरा जर्जबाट पनि सधैंका लागि अलग हुनुपर्छ। उनको श्रीमान् सानीले उनलाई घरबाट निकाल्दिन्छ र छोरालाई अर्कैलाई धर्मपुत्र दिन बेचिसक्दा पनि महिला अधिकारविहीन हुनुको कानुनी असहायता फिल्मले मार्मिक ढंगले प्रस्तुत गरेको छ।

एमिली डेभिसनको आत्मत्याग र निर्णायक मोड

चलचित्रको अन्तिम र सबैभन्दा प्रभावशाली खण्ड सन् १९१३ को सिंगो विश्व र आन्दोलनको दिशा नै बदलिदिने ऐतिहासिक घटनासँग जोडिन्छ। आन्दोलनकारी एमिली डेभिसनले महिला अधिकारको आवाज राजा र विश्वसामु पुर्‍याउन खतरनाक कदम चाल्छिन् । उनले बेलायतको प्रख्यात 'डर्बी रेस' (Derby Race) को घोडा दौड प्रतियोगिताको ट्र्याकमा हाम्फाल्छिन्। राजा जर्ज पाँचौँको दौडिरहेको घोडाको अगाडि आफ्नो ब्यानर लिएर जाँदा उनी गम्भीर घाइते भई सहिद हुन्छिन्।

यो घटना संसारभरका सञ्चारमाध्यमहरूको मुख्य समाचार बन्छ। एउटा उत्पीडित समूहको आवाजलाई स्थापित गर्न कहिलेकाहीँ कति चरम मूल्य चुकाउनुपर्छ र दमनकारी राज्यलाई आफ्नो जायज मागहरु सुनाउन पनि कस्तो भयानक 'धमाका' को आवश्यकता पर्छ भन्ने इतिहासको कडा यथार्थलाई यस घटनाले संवेगात्मक र राजनीतिक रूपमा स्थापित गरेको छ। एमिलीको अन्त्येष्टिमा उत्रिएका हजारौं महिलाहरूको मौन जुलुसले आन्दोलनलाई निष्कर्षतर्फ डोर्‍याउन ऊर्जा दिन्छ।

अभिनय, निर्देशन र प्राविधिक सक्षमता

अभिनयको दृष्टिले क्यारी मुलिगनले 'माउड वाट्स' को भूमिकामा अब्बल कार्य गरेकी छिन्। एउटा डराएकी-कातर, शोषित मजदुर केटीबाट बिस्तारै दृढ, साहसी र सम्झौताहीन आन्दोलनकारी बन्ने उनको मानसिक र शारीरिक रूपान्तरण निकै स्वभाविक छ। आफ्नो बच्चा गुमाउँदाको पीडा र आन्दोलनमा सहयोद्धा साथीहरू पाउँदाको राजनीतिक गौरवलाई उनले आँखा र अनुहारका भावबाटै व्यक्त गरेकी छिन्।

छोटो तर शक्तिशाली भूमिकामा देखिएकी मेरिल स्ट्रिपले एमिलिन पान्खर्स्टको क्रान्तिकारी छविलाई न्याय गरेकी छिन्। एडिथको भूमिकामा हेलेना बोनह्याम-कार्टर र भायलेटको रूपमा एन-मेरी डफको अभिनय उत्तिकै प्रखर छ। आन्दोलन कुचल्ने राज्यको आदेश र भित्रभित्रै ती महिलाहरूको साहसप्रति पलाएको सहानुभूतिबीचको मानसिक द्वन्द्वलाई इन्स्पेक्टर स्टिडको भूमिकामा ब्रेन्डन ग्लिसनले बडो कुशलताका साथ निर्वाह गरेका छन्।

निर्देशक सारा गेभ्रोनले तत्कालीन लन्डनको औद्योगिक प्रदूषण, कारखानाको अँध्यारो र श्रमजीवी बस्तीको यथार्थलाई सिनेमाटोग्राफी र कलर ग्रेडिङ (Color Grading) मार्फत जीवन्त बनाएकी छिन्। कुनै पनि ठाउँमा ग्ल्यामरको जलप नलगाई इतिहासको खस्रो र वास्तविक रूप पस्कनु यस फिल्मको प्राविधिक सबलता हो।

वैचारिक सीमा र आलोचनात्मक विश्लेषण

यद्यपि यस चलचित्रले ऐतिहासिक सन्दर्भलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ, तर यसका वैचारिक आधारहरू पूर्ण र त्रुटिरहित देखिँदैनन्। चलचित्रको गहिरो विश्लेषण गर्दा यसमा मुख्यतया तीनवटा वैचारिक सीमाहरू उजागर हुन आउँछन्, जसलाई समेट्न सकिएको हुन्थ्यो भने चलचित्रको प्रभावकारिता झनै व्यापक हुने थियो ।

पहिलो, चलचित्रले तत्कालीन महिला आन्दोलनको ऐतिहासिक जटिलतालाई निकै सरलीकृत गरिदिएको छ। ऐतिहासिक यथार्थ के हो भने, त्यस समयको महिला आन्दोलन एउटा एकल ध्येयमा मात्र केन्द्रित थिएन; बरु यो संवैधानिक सुधारवादी, उग्रवादी तथा समाजवादी र श्रमिक आन्दोलनसँग गाँसिएका विभिन्न विचारधाराहरूको एक सङ्घर्षपूर्ण मोर्चा थियो। यस्ता आन्दोलनभित्र रहेका वर्गीय भिन्नता, वैचारिक मतभेद र राजनीतिक प्राथमिकताका खाडलहरूलाई चलचित्रले चित्रण गर्न सकेको छैन। फलस्वरुप, एउटा व्यापक र बहुआयामिक सामाजिक आन्दोलनलाई केवल केही पात्रहरूको सीमित वरिपरि घुमाएर यसले आन्दोलनको वास्तविक राजनीतिक गाम्भीर्यलाई समग्रतामा प्रस्तुत गर्न सकेको छैन ।

दोस्रो, उत्तरऔपनिवेशिक आलोचनात्मक दृष्टिकोणबाट हेर्दा चलचित्रले देखाएको ब्रिटिश लोकतन्त्रको महिमागान एकाङ्की छ। चलचित्रले बेलायतको आन्तरिक लोकतान्त्रिक सुधारको कथा त सुनाउँछ, तर त्यही समयमा बेलायती साम्राज्यले विश्वभरका आफ्ना उपनिवेशहरूमाथि थोपरेको निर्दयी दमन, शोषण र जातीय विभेदको प्रश्नलाई पूर्णतः विस्मृतिमा राखिदिएको छ। केन्द्रमा उभिएर अधिकारको खोजी गर्नेहरूको कथा सुनाउँदा उनीहरूको अधिकार स्थापित गर्नका लागि बाँकी विश्वले चुकाउनु परेको मूल्यलाई नजरअन्दाज गर्नु चलचित्रको गम्भीर सैद्धान्तिक कमजोरी हो। यसले इतिहासलाई समग्रतामा नहेरी केवल विजेता वा शासक वर्गको चश्माबाट हेर्ने प्रवृत्तिलाई निरन्तरता दिएको छ।

तेस्रो, मार्क्सवादी समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्दा चलचित्रको वैचारिक धरातल 'उदार नारीवादी' (Liberal Feminist) सीमामा नै खुम्चिएको देखिन्छ। यद्यपि चलचित्रले सतहमा वर्गीय उत्पीडन र लैङ्गिक उत्पीडनको अन्तरसम्बन्धलाई संकेत गरेको छ, तर अन्त्यमा यसले मताधिकार जस्तो उदार लोकतान्त्रिक अधिकार प्राप्तिलाई नै 'अन्तिम विजय'का रूपमा स्थापित गर्न खोजेको छ। यसले उत्पादनका साधनमाथिको नियन्त्रण, निजी सम्पत्तिको अवधारणा र वर्गसत्ताको निरन्तरता लगायत समाजको आधारभूत संरचनागत प्रश्नहरूको चिरफार गर्न सकेको छैन। अर्थात्, पितृसत्ता र पुँजीवादको जरासम्म पुगेर आलोचना गर्नुको साटो यसले केवल प्रणालीभित्रैको सुधारमा सन्तोष मानेको छ । जसले गर्दा चलचित्रको समग्र सन्देश क्रान्तिकारी हुनुको साटो सुधारवादी मात्र हुन पुगेको छ।

आजको सन्दर्भमा 'सफ्राजेट' को सान्दर्भिकता

त्यसका बाबजूद समग्रमा, 'सफ्राजेट' पक्कै पनि इतिहासको पुनरावृत्ति मात्र होइन । बरु यो उत्पीडन र न्यायको विश्वव्यापी चरित्र बुझ्न चाहने जोकोहीका लागि एउटा महत्त्वपूर्ण र प्रेरणादायी राजनीतिक कलाकृति हो। आज संसारभरका नागरिकले, विशेष गरी महिलाहरूले, सहजै उपभोग गरिरहेको भोट हाल्ने अधिकार कुनै शासकको निगाह वा उपहार थिएन; बरु यो त माउड वाट्स र एमिली डेभिसन जस्ता हजारौं गुमनाम श्रमजीवी महिलाहरूको आँसु, रगत, जेलनेल र बलिदानको जगमा ठडिएको ऐतिहासिक अधिकार हो भन्ने कुरा यस चलचित्रले सशक्त ढंगमा स्थापित गर्दछ।

यसले वर्तमान युगका अधिकारकर्मी र राजनीतिक विश्लेषकहरूलाई पनि भुइँतहका श्रमजीवी वर्गको सुख-दुःखसँग नजोडिएसम्म आन्दोलनले परिणाम हासिल गर्न सक्दैन भन्ने गम्भीर पाठ सिकाउँछ । 'सफ्राजेट' आजको पुस्ताका लागि पनि नागरिक स्वतन्त्रता र सामाजिक न्यायको संघर्षमा सधैं ऊर्जा दिइरहने एउटा सर्वकालीन र मार्गदर्शक सिनेमा हो।