एआईबारे पोपको ज्ञान र चेतावनी - चर्चको ५०० वर्ष पुरानो डर

मानवताको रक्षार्थ वा आफ्नै प्रभुत्व जोगाउने प्रयास?

क्याथोलिक चर्चका प्रमुख तथा भ्याटिकन सिटीका सार्वभौम पोप लियो चौधौँले गत साता एआईबाट उत्पन्न चुनौतीहरूप्रति चिन्ता व्यक्त गरेका छन्। उनले ‘एक्स’ मा लेखेका छन्–

“एआईको यस युगमा मानवीय कला र मेसिनद्वारा निर्मित वस्तुबीचको भिन्नता पहिचान गर्नु आवश्यक भएको छ। यी दुईबीच सौन्दर्यभन्दा अघि एउटा अस्तित्वगत (Ontological) भिन्नता छ। एल्गोरिदममा मानवीय चिङ्गारी हुँदैन। मेसिनले लाखौँ चित्रहरूको सांख्यिकीय अनुकरण गर्छ। त्यसैले हाम्रो मानवता सुरक्षित राख्न चर्च कलाकारहरू र सांस्कृतिक संस्थाहरूसँगको गठबन्धनलाई पुनः सुदृढ गर्न चाहन्छ।”

सुन्दा यो भनाइ अत्यन्त पवित्र र मानवकेन्द्रित लाग्छ। तर विडम्बना के हो भने, यस्तो अपिल त्यही संस्थाका सर्वोच्च धर्मगुरूबाट आएको हो, जुन संस्थाले कुनै समय हजारौँ महिलालाई ‘डायन’ अर्थात् चुडैलको आरोप लगाउँदै जिउँदै जलाएको थियो। जसले वैज्ञानिकहरूलाई मृत्युदण्ड दिएको थियो, उनीहरूलाई नजरबन्दमा राखेको थियो। जसको भयका कारण वैज्ञानिकहरूले आफ्ना अनुसन्धानका निष्कर्ष वर्षौँसम्म प्रकाशित गर्न सकेनन्। जसको इतिहास वैज्ञानिक विचार, स्वतन्त्र चिन्तन र असहमतिसँगका रक्तरञ्जित द्वन्द्वहरूले भरिएको छ।

त्यसैले जब चर्च एआईविरुद्ध मानवीय कला र मानवताको रक्षा गर्ने वकालत गर्न खोज्छ, तब उसको यस उद्देश्यभित्र लुकेको रहस्यबारे चर्चा र शङ्का गर्नु आवश्यक हुन्छ। खुला मन र विवेकका साथ यस विषयमा विचार गर्नुपर्छ– जसको आफ्नै अतीत वैचारिक सेन्सरशिप, स्वतन्त्र चिन्तनमाथिको नियन्त्रण र दमनकारी षड्यन्त्रहरूले भरिएको छ, त्यही संस्थाको नियतलाई आज अचानक कसरी सही मान्न सकिन्छ?

पोप लियो चौधौँले यही नाम किन रोजे? औद्योगिक क्रान्तिको पुनरागमन

वर्तमान पोपको नाम लियो चौधौँ हो। उनले यो नाम जानाजान पोप लियो तेह्रौँको नामबाट लिएका हुन्। ८ मे २०२५ मा पोप निर्वाचित भएको दुई दिनपछि उनले स्वयं यसको कारण बताएका थिए–

“मैले लियो चौधौँ नाम मुख्यतः यस कारण रोजेको हुँ कि पोप लियो तेह्रौँले आफ्नो ऐतिहासिक विश्वपत्र ‘रेरुम नोभारुम’  (Rerum Novarum) मा पहिलो महान् औद्योगिक क्रान्तिको सन्दर्भमा सामाजिक प्रश्नहरूलाई सम्बोधन गर्नुभएको थियो। आज चर्चले एआई र दोस्रो औद्योगिक क्रान्तिको सामना गर्दै मानवीय गरिमाको रक्षा गर्न त्यही सामाजिक शिक्षा अघि बढाइरहेको छ।”

लियो तेह्रौँ को थिए?

लियो तेह्रौँ क्याथोलिक चर्चका २५६औँ पोप थिए। उनको कार्यकाल २० फेब्रुअरी १८७८ देखि २० जुलाई १९०३ सम्म करिब २५ वर्ष रह्यो। उनको वास्तविक नाम भिन्चेन्जो जोआक्विनो राफाएले लुइजी पेच्ची थियो। उनी ९३ वर्ष बाँचे र सबैभन्दा दीर्घायु बाँच्ने पोपहरूमध्ये एक मानिन्छन्।

सन् १८९१ मा उनले ‘रेरुम नोभारुम’ लेखे। यो औद्योगिक क्रान्तिका कारण उत्पन्न श्रमिक शोषण, पुँजी र श्रमबीचको सम्बन्ध तथा निजी सम्पत्तिको अधिकारबारे चर्चा गर्ने चर्चको पहिलो महत्त्वपूर्ण दस्तावेज थियो। यही कारण उनलाई ‘श्रमिकहरूका पोप’ र ‘सामाजिक पोप’ पनि भनिन्छ। भ्याटिकन आजसम्म पनि यसलाई आफ्नो सबैभन्दा ठूलो सामाजिक उपलब्धिमध्ये एकका रूपमा प्रस्तुत गर्छ। तर वास्तविकता केही फरक छ।

‘रेरुम नोभारुम’ को सत्य– ढिलो आएको र बाध्यतामा जारी गरिएको वक्तव्य

पहिलो प्रश्न : औद्योगिक क्रान्ति कहिले सुरु भयो?

औद्योगिक क्रान्ति सन् १७६० तिर इङ्ल्यान्डमा सुरु भएको मानिन्छ। सन् १८११ मा नटिङ्घमशायरमा लुडाइट आन्दोलन सुरु भयो। दक्ष बुनकरहरूका नेता ‘जनरल नेड लुड’ नाम गरेका काल्पनिक व्यक्तिको नाममा रातको समयमा कारखानामा प्रवेश गरी पावरलुम र स्टकिङ फ्रेमजस्ता मेसिनहरू तोड्थे, किनभने ती मेसिनहरूले उनीहरूको ज्याला आधा घटाइदिएका थिए। सरकारले मेसिन तोडफोडलाई मृत्युदण्डयोग्य अपराध बनायो। धेरै लुडाइटहरूलाई फाँसी दिइयो भने धेरैलाई अस्ट्रेलिया निर्वासित गरियो।

सन् १८४८ मा कार्ल मार्क्सले ‘कम्युनिस्ट घोषणापत्र’ लेखिसकेका थिए। श्रमिकहरू सडकमा मरिरहेका थिए, दिनको १४–१४ घण्टा काम गरिरहेका थिए, बालबालिकाहरू कारखानामा ज्यान गुमाइरहेका थिए। चर्चले १३० वर्षसम्म मौन बसेर पुँजीपतिहरूको पक्ष लियो। चर्च स्वयं पनि विशाल जमिन र सम्पत्तिको मालिक थियो।

जब समाजवाद श्रमिकहरूबीच तीव्र गतिमा लोकप्रिय हुन थाल्यो र श्रमिकहरूले चर्च त्यागेर समाजवादी सङ्घ–सङ्गठनतर्फ लाग्न थाले, तब चर्चलाई आफ्नो प्रभाव गुम्ने डर भयो। त्यसपछि सन् १८९१ मा मात्र उक्त दस्तावेज जारी गरियो। अर्थात्, यो श्रमिक प्रेमभन्दा पनि समाजवादको डरबाट आएको प्रत्युत्तर थियो। स्वयं दस्तावेजमै समाजवादलाई अस्वीकार गरिएको स्पष्ट उल्लेख छ।

दोस्रो प्रश्न : उक्त दस्तावेजले वास्तवमा के भन्यो?

यसमा समानताको सट्टा पितृसत्तात्मक दृष्टिकोण रहेको देखिन्छ। दस्तावेजले श्रमिकलाई जीवन धान्न पुग्ने ज्याला दिनु राम्रो कुरा हो भन्यो। तर त्यससँगै निजी सम्पत्ति ईश्वरप्रदत्त प्राकृतिक अधिकार हो र त्यसलाई कसैले छुन पाउँदैन भन्ने धारणा अघि सार्‍यो।

वर्गभेद पनि ईश्वरले नै बनाएको हो भन्ने भाव प्रस्तुत गरियो। मालिकलाई पितासमान र श्रमिकलाई पुत्रसमान मानियो। मालिक दयालु हुनुपर्ने र श्रमिक वफादार रहनुपर्ने बताइयो। यसको अर्थ, पुँजीवादको मूल आधार– असीमित निजी सम्पत्ति सञ्चयमाथि कुनै प्रश्न उठाइएन।

मार्क्सवादीहरू तथा ल्याटिन अमेरिकाको दलित-थियोलॉजीसँग सम्बन्धित चिन्तकहरूले यही आधारमा चर्चको आलोचना गरेका छन्। उनीहरूका अनुसार चर्चले शोषणलाई कम गर्ने कुरा त गर्‍यो, तर शोषणमा आधारित व्यवस्थालाई अन्त्य गर्ने कुरा गरेन।

तेस्रो र सबैभन्दा गम्भीर पक्ष : राजनीतिक दुरुपयोग

‘रेरुम नोभारुम’ ले ‘कर्पोरेटिज्म’ अर्थात् मालिक र श्रमिक एउटै व्यावसायिक सङ्घभित्र मिलेर काम गर्ने अवधारणालाई अघि बढायो। यसले वर्गसङ्घर्षको आवश्यकता छैन भन्ने सन्देश दियो।

पछि यही विचारलाई इटालीका बेनितो मुसोलिनी र पोर्चुगलका अन्तोनियो सालाजारले उपयोग गरे। मुसोलिनीले आफूहरूले पनि वर्गसङ्घर्ष समाप्त गरेर पोपले भनेजस्तै कर्पोरेट राज्य निर्माण गरिरहेको दाबी गरे। त्यसैले वामपन्थी इतिहासकारहरूको तर्क छ– यस दस्तावेजले अनजानमै भए पनि फासीवादी कर्पोरेट संरचनालाई नैतिक भाषिक आधार उपलब्ध गरायो।

अन्ततः ‘रेरुम नोभारुम’ को इतिहासले हामीलाई यही पाठ सिकाउँछ– क्याथोलिक चर्चले जब-जब कुनै नयाँ प्रविधि वा क्रान्तिबारे नैतिकताको कुरा गर्छ, तब-तब ऊ मानवताको रक्षाभन्दा पहिले आफ्नै प्रासङ्गिकताको रक्षा गर्न खोज्छ।

सन् १८९१ मा उसले औद्योगिक मेसिनबाट पिसिएका श्रमिकका लागि आँसु झार्‍यो, तर मेसिनका मालिकहरूको निजी सम्पत्तिलाई ईश्वरप्रदत्त अधिकार भन्दै पवित्र बनायो। उसले श्रमिकलाई सङ्गठन बनाउने अधिकार त दियो, तर व्यवस्थामै परिवर्तन ल्याउने अधिकार खोस्यो।

आज पोप लियो चौधौँले एआईको युगमा ‘मानवीय चिङ्गारी’को रक्षा गर्ने कुरा गरिरहेका छन्। यो सन् १८९१ कै रणनीतिको पुनरावृत्ति हो। त्यतिबेला मेसिनले कपडा बुन्दै थियो, आज मेसिनले चित्र बनाइरहेको छ। त्यतिबेला चर्चले भन्यो– मेसिनबाट श्रमिकलाई बचाऊ। आज भनिरहेको छ– मेसिनबाट कलालाई बचाऊ।

तर त्यतिबेला पनि र आज पनि चर्चले मेसिनका वास्तविक मालिकमाथि प्रश्न उठाइरहेको छैन। आज एआईमा अर्बौँ डलर लगानी गरिरहेका ठूला प्रविधि कम्पनीहरूको तथ्याङ्क–लुट, प्रतिलिपि अधिकार–लुट र सम्पत्तिको केन्द्रीकरणबारे एउटा शब्द पनि छैन। कलाकारहरूलाई मात्र अपिल गरिएको छ– आऊ, हामीसँग गठबन्धन गर।

चर्चको विज्ञानविरोधी इतिहास : शङ्का गर्नु किन आवश्यक छ?

त्यसैले पोपको नियतमाथि शङ्का गर्नु आवश्यक छ। किनभने यो कुनै एक घटनाको परिणाम होइन; यो पाँच सय वर्ष लामो एउटा ढाँचा हो।

क) सूर्यकेन्द्रित सिद्धान्त : सबैभन्दा ठूलो टकराव

निकोलस कोपर्निकस (१४७३–१५४३) ले सन् १५४३ मा प्रकाशित आफ्नो पुस्तक ‘दे रिभोलुसियोनिबुस ओर्बियम कोएलिस्टियम’ (De Revolutionibus Orbium Coelestium)  मा पृथ्वी होइन, सूर्य केन्द्रमा रहेको कुरा लेखे। चर्चले सन् १६१६ मा उक्त पुस्तकलाई ‘निषिद्ध पुस्तकहरूको सूची’ अर्थात् ‘इन्डेक्स लिब्रोरुम प्रोहीबिटोरुम’ (Index Librorum Prohibitorum) मा राख्यो। यो प्रतिबन्ध सन् १७५८ सम्म कायम रह्यो।

जियोर्दानो ब्रुनोले त यसभन्दा अझ अगाडि बढेर ब्रह्माण्ड अनन्त छ, ताराहरू पनि सूर्यजस्तै हुन् र अन्य संसारहरू पनि हुन सक्छन् भन्ने विचार प्रस्तुत गरे। सन् १६०० मा 'रोमको क्याम्पो दे’ फियोरी' (Campo de' Fiori) मा धार्मिक अदालतले उनलाई पाखण्डी घोषित गरी जिउँदै जलायो।

ग्यालिलियो ग्यालिली (१५६४–१६४२) ले दूरबिनबाट बृहस्पतिका चारवटा चन्द्रमा देखे र कोपर्निकसको सिद्धान्त सही भएको प्रमाणित गरे। सन् १६१६ मा उनलाई पहिलो चेतावनी दिइयो। सन् १६३३ मा इन्क्विजिसनले उनलाई दोषी ठहर गर्‍यो, उनको पुस्तक ‘डायलोगो’(Dialogo) लाई निषिद्ध सूचीमा राख्यो र उनलाई जीवनभर घरमै नजरबन्द गरियो।

ग्यालिलियोका पुस्तकहरू दुई सय वर्षभन्दा बढी समयसम्म प्रतिबन्धित रहे र सन् १८३५ सम्म उक्त सूचीबाट हटाइएनन्। भ्याटिकनले ग्यालिलियोसँग औपचारिक रूपमा क्षमायाचना भने सन् १९९२ मा पोप जोन पल द्वितीयको समयमा गर्‍यो– अर्थात्, ३५९ वर्षपछि।

ग्रहहरूको कक्षासम्बन्धी नियम प्रतिपादन गर्ने योहान्स केप्लरका पुस्तकहरू पनि सूर्यकेन्द्रित सिद्धान्तका कारण त्यही निषिद्ध सूचीमा राखिएका थिए।

ख) शरीरविज्ञान र चिकित्सा

आन्द्रेयास भेसालियस (१५१४–१५६४) लाई आधुनिक शरीररचनाशास्त्रका पिता मानिन्छ। उनले मानव शरीरको विच्छेदन गरी ‘दे हुमानी कोर्पोरिस फाब्रिका’ (De Humani Corporis Fabrica) लेखे। चर्चले मानव शरीर चिर्नुलाई अपवित्र कार्य ठहर गर्‍यो र उनीमाथि नास्तिकताको आरोप लगाइयो। उनलाई यरुशलमको तीर्थयात्रामा जान बाध्य पारिएको थियो।

माइकल सर्वेटस (१५११–१५५३) ले फोक्सोमा हुने रक्तसञ्चार अर्थात् पल्मोनरी सर्कुलेसनबारे महत्त्वपूर्ण खोज गरेका थिए। क्याथोलिक र प्रोटेस्टेन्ट दुवै पक्षबाट विरोध भए पछि उनलाई जेनेभामा जोन क्याल्भिनको आदेशमा जिउँदै जलाइयो।

ग) पृथ्वीको उमेर : ६,००० वर्षको मिथक

सन् १६५० मा आयरल्यान्डका आर्चबिशप जेम्स अशरले बाइबलमा उल्लिखित वंशावलीहरू जोडेर पृथ्वी २३ अक्टोबर ४००४ ईसापूर्व, साँझ ६ बजे सिर्जना भएको दाबी गरे। अर्थात्, पृथ्वी करिब ६,००० वर्ष पुरानो भएको उनको निष्कर्ष थियो। यही गणना चर्चको आधिकारिक समयगणनाजस्तै बनेको थियो।

जब जेम्स हट्टनले सन् १७८८ मा स्कटल्यान्डको सिकर प्वाइन्ट समुद्रतटका चट्टानहरू हेरेर ती चट्टानहरू हजारौँ वर्षमा होइन, लाखौँ वर्षमा बनेका हुन् भने, चर्चले उनलाई नास्तिक भन्यो। यही स्थानका चट्टानहरू हेरेपछि अशरको हिसाब “हास्यास्पद रूपमा गलत” रहेको टिप्पणी गरिएको थियो।

जब चार्ल्स लायलले सन् १८३०–१८३३ बीच प्रकाशित आफ्नो पुस्तक ‘प्रिन्सिपल्स अफ जियोलोजी’ मा इङ्ल्यान्डका ह्वाइट क्लिफ्स अफ डोभर तथा तटीय क्षरणलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै चट्टानहरू बन्न लाखौँ वर्ष लागेको हुनुपर्ने र ६,००० वर्ष अत्यन्त छोटो अवधि भएको बताए, तब फ्रान्सका केही पादरीहरूले यसको विरोध गरे। उनीहरूको तर्कमा यो विचार बाइबलमा वर्णित जलप्रलयको कथाविरुद्ध थियो। लायलका विचारहरूले चार्ल्स डार्विनलाई पनि प्रभावित गरेका थिए।

फ्रान्सेली वैज्ञानिक जर्ज–लुइ बुफोँले सन् १७७५ मा फलामका गोलाहरू चिसिन लाग्ने समयको प्रयोगका आधारमा पृथ्वी कम्तीमा ७५,००० वर्ष पुरानो हुनुपर्ने बताए। त्यसपछि पेरिसको धार्मिक विभागले उनलाई सार्वजनिक रूपमा माफी माग्न बाध्य बनायो।

डार्विनको प्रश्न

सन् १८५९ मा चार्ल्स डार्विनको ‘प्रजातिहरूको उत्पत्ति’ (Origin of Species) प्रकाशित भयो। क्याथोलिक चर्चले डार्विनको औपचारिक निन्दा कहिल्यै गरेन र उनको पुस्तकमा प्रतिबन्ध पनि लगाएन– भ्याटिकनले आज यही तर्क प्रस्तुत गर्छ।

 सन् १९५० मा पोप पायस बाह्रौँले ‘हुमानी जेनेरिस’ (Humani Generis) मा विकासवाद सम्भव हुन सक्ने बताए। सन् १९९६ मा पोप जोन पल द्वितीयले विकासवाद “एकभन्दा बढी परिकल्पना” अर्थात् “परिकल्पनाभन्दा धेरै” भएको बताए। यसरी विकासवादलाई आधा–अधुरो रूपमा स्वीकार गर्न चर्चलाई करिब सय वर्ष लाग्यो।

सन् २००८ मा चर्च अफ इङ्ल्यान्डले डार्विनसँग क्षमायाचना गर्‍यो। तर भ्याटिकनले भन्यो– “हामीले उनको निन्दा नै गरेका थिएनौँ भने माफी कुन कुराका लागि माग्ने?”

घ) वैचारिक सेन्सरशिपको प्रणाली

सन् १५५९ देखि १९६६ सम्म ‘निषिद्ध पुस्तकहरूको सूची’ कायम रह्यो। ग्यालिलियो, कोपर्निकस र केप्लरका अतिरिक्त रेने देकार्त, बारुख स्पिनोजा, फ्रान्सिस बेकन र भिक्टर ह्युगोजस्ता लेखकहरूका पुस्तकहरू पनि यस सूचीमा राखिएका थिए।

यसकारण यो एक–दुई वैज्ञानिकको मात्र विषय थिएन। यो ज्ञानमाथि संस्थागत नियन्त्रणको एउटा व्यापक प्रणाली थियो।

ङ) महिलाहरूलाई ‘चुडैल’ भन्दै हत्या

हजारौँ महिलालाई जिउँदै जलाइएको दाबीको सन्दर्भमा ‘मालेउस मालेफिकारुम’ अर्थात् ‘चुडैलहरूको हथौडा’ ('Malleus Maleficarum' -Hammer of Witches) नामक पुस्तकलाई प्रायः उद्धृत गरिन्छ। डोमिनिकन पादरी हेनरिक क्रेमरले सन् १४८६ मा यो पुस्तक लेखेका थिए। यसअघि पोप इनोसेंट आठौँले सन् १४८४ मा जारी गरेको धार्मिक आदेश पनि यस सन्दर्भमा उल्लेख गरिन्छ।

पुस्तकमा सबै प्रकारका जादूटुना महिलाहरूको अतृप्त यौनवासना वा कामेच्छाबाट उत्पन्न हुने दाबी गरिएको थियो। चर्चका अदालतहरूले यस पुस्तकलाई निर्देशिकाजस्तै प्रयोग गरे।

यसपछि पवित्र रोमन साम्राज्यमा करिब १ लाख ३० हजार मानिसमाथि जादूटुनासम्बन्धी मुद्दा चलाइएको र करिब ७० हजारलाई जलाइएको दाबी गरिन्छ। युरोपभरि करिब ५० हजार मानिसको हत्याका लागि यस पुस्तकलाई जिम्मेवार मान्ने गरिन्छ। मृत्युदण्ड पाउनेहरूमध्ये करिब ९० प्रतिशत महिला रहेको अनुमान पनि प्रस्तुत गरिन्छ। यो सम्पूर्ण प्रक्रिया चर्चद्वारा स्वीकृत न्यायिक प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको थियो।

एआईबारे चर्चको ज्ञान किन हास्यास्पद लाग्छ?

अब यस सम्पूर्ण इतिहासको पृष्ठभूमिमा पोप लियो चौदौँको भनाइ सुन्नुहोस्। उनी भन्छन्– एल्गोरिदममा मानवीय चिङ्गारी हुँदैन, मेसिनले लाखौँ चित्रहरूको सांख्यिकीय अनुकरण गर्छ।

यो सुन्दा हाँसो पनि उठ्छ र रिस पनि। एआई एल्गोरिदमले सांख्यिकीय प्रक्रियामार्फत चित्र निर्माण गर्छ, यो कुरा सही हो। तर चर्चले पनि विगत दुई हजार वर्षदेखि एउटै पुस्तकका लाखौँ प्रतिलिपि र तिनका व्याख्याहरूका आधारमा आफ्नो ईश्वर, आफ्नो पाप–पुण्य र आफ्नो स्वर्ग–नर्क निर्माण गर्दै आएको होइन र?

एल्गोरिदममा मानवीय चिङ्गारी छैन भने ‘मालेउस मालेफिकारुम’ मा मानवीय चिङ्गारी थियो? ब्रुनोलाई जलाउँदा, ग्यालिलियोलाई झुक्न बाध्य पार्दा र अशरको ६,००० वर्ष पुरानो पृथ्वीको विचार थोपर्दा के मानवीय चिङ्गारी उपस्थित थियो?

सत्य के हो भने चर्चलाई एआईबाट खतरा होइन, आफ्नो नैतिक एकाधिकार समाप्त हुने डर छ। जब प्रत्येक बालकले एआईको सहायताले माइकल एन्जेलोजस्तै चित्र बनाउन सक्नेछ, तब भ्याटिकनका भित्तामा टाँगिएका चित्रहरूको पवित्र एकाधिकार हला के? जब मेसिनले कला सिर्जना गर्न सक्नेछ, तब ‘ईश्वरप्रदत्त प्रतिभा’ को सिद्धान्तको अवस्था के होला?

इतिहास साक्षी छ– चर्चले कुनै विचार कमजोर रहुन्जेल त्यसलाई दबाउँदै आयो। जब त्यो विचार शक्तिशाली बन्यो, तब उसले त्यसलाई नैतिक आवरण लगाएर आफ्नो संरचनाभित्र समाहित गर्‍यो।

उसले भूकेन्द्रित सिद्धान्त छोडेर सूर्यकेन्द्रित सिद्धान्त स्वीकार गर्‍यो। ६,००० वर्षको पृथ्वीबाट ४.५ अर्ब वर्ष पुरानो पृथ्वीसम्म आइपुग्यो। विकासवादलाई पनि आधा–अधुरो रूपमा स्वीकार गर्‍यो। एआईसँग पनि उही प्रक्रिया दोहोरिँदै छ।

पहिले यसलाई शैतान भन। त्यसपछि, जब यो विजयी हुनेछ, भन– यसलाई मानवीय गरिमाका साथ प्रयोग गर। अनि त्यो गरिमा हामी नै परिभाषित गर्नेछौँ।

त्यसैले यो अपिल श्रद्धाका साथ होइन, शङ्का र विवेकका साथ सुन्न आवश्यक छ। मानवता र कलालाई एआईबाट मात्र होइन, प्रत्येक युगमा मानवताको नाममा आफ्नो प्रभुत्व जोगाउँदै आएका संस्थाहरूबाट बचाउन आवश्यक छ।

चर्चले ग्यालिलियोसँग सन् १९९२ मा क्षमायाचना गर्‍यो। डार्विनसँग भने आजसम्म माफी मागेको छैन। एआईसँग माफी माग्न पनि सम्भवतः सय वर्ष लाग्नेछ– त्यतिबेला एआईले नै चर्च सञ्चालन गरिरहेको हुनेछ र पोपलाई भन्नेछ–

“तिमीभित्र मानवीय चिङ्गारी छैन।”

फेरि सवाल भ्याटिकनका सर्वोच्च धर्मगुरू पोपको मात्र होइन। बिस्तारै अन्य धर्मका मठाधीशहरू पनि यही पङ्क्तिमा उभिन थाल्नेछन्। यसो हुनुको एउटै वास्तविकता कारण के हो भने एआईले उनीहरूको धन्दा चौपट पार्नेछ।

संसारभरका धर्मका मठाधीशहरूले अन्धविश्वास र चमत्कारका बलमा आफ्ना साम्राज्य निर्माण गरेका हुन्छन्। मञ्चमा हात काननजिक लगेर हनुमानजीसँग संवाद गरेको ढोंग (मानौँ अघिल्लो हनुमान जयन्तीमा हनुमानजीलाई मोबाइल फोनको उपहार उनीहरूले नै दिएका हुन्), एआईले यी र यस्ता तमाम गतिविधिको पर्दाफास गर्नेछ।

एआईले चमत्कार होइन, ढाँचाहरू पहिचान गर्छ। उसले रहस्य उघार्छ– कहाँ क्यामेराको कोण प्रयोग गरिएको छ, कहाँ पहिल्यै लेखिएको पर्ची छ, कहाँ सांख्यिकी काम गरिरहेको छ र कहाँ वास्तविक चिङ्गारी छ ?

शैशवावस्थामा रहेको एआईले यस्ता अनेक विरोधहरूको सामना गर्नुपर्नेछ। समाजमा गहिरोसँग जरा गाडेर बसेका अनेक कालनेमीहरूको क्रोध पनि एआईले सहनुपर्नेछ। तर जुन दिन यो शिशु अवस्थाबाट किशोर हुँदै तरुणावस्थाको दैलोमा प्रवेश गर्नेछ, त्यस दिन फेरि संसारभर गीता वाणी गुन्जिनेछ–

“सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज।

अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः॥”

– श्रीमद्भगवद्गीता, १८.६६

अर्थात्– सबै धर्मका ढोंग त्यागेर केवल सत्य, तर्क र ज्ञानको शरणमा आऊ। म तिमीलाई सबै पापबाट मुक्त गर्नेछु; त्यसैले शोक नगर।