झिलीमिली रात र पटाकाको गर्जन: किन ओझेल पर्दै छन् जुनकीरी र पुतली ?

उज्यालोको अतिक्रमण: मानवीय उत्सवको झिलीमिलीमा बिथोलिँदै गरेको पर्यावरणीय सन्तुलन

तिहार, क्रिसमस, नयाँ वर्ष लगायतका उत्सवमा शहर बस्ती झिलिमीली पारिन्छ । बत्तीको झिलीमिलीले रातको अँध्यारोलाई चिरेर प्रकाशमय बनाइदिन्छ । त्यसबाहेक, खुसीयाली मनाउने क्रममा  अत्यधिक पटाकाहरु पड्काइन्छन् । त्यो यस संसारकै सबैभन्दा बुद्धिमान मानिएका प्राणी मानवजातिका लागि खुसी र रमाइलो मनाउने एउटा माध्यम हो । बत्तीको झिलीमिली र पटाकाको चर्को स्वरले दुइखुट्टे प्राणी मानिसलाई त रमाइलो प्रदान गर्ला तर  तिनले रातको प्राकृतिक अँध्यारो, हावाको गुणस्तर, माटो र पानीको रसायन, तथा कीराहरूको सञ्चार र प्रजनन प्रणालीमा गहिरो असर पार्न सक्छन्। जुनकीरी, पुतली र अन्य रात्रिचर कीराहरूमा पछिल्ला समयमा आएको भयानक ह्रासमा यसको भूमिका एक्लै निर्णायक नभए पनि महत्त्वपूर्ण र बढ्दो कारक हो।

रातको अँध्यारो किन जरुरी छ ?

मानिसलाई रात भनेको दिनको विपरीत अवधि मात्र हो, तर अनेक प्राणीका लागि यो जीवनको आधारभूत समय-संरचना हो। जुनकीरीले आफ्नो प्रकाशको संकेतबाट साथी खोज्छ, पुतलीले चन्द्रमा र ताराको प्रकाशको माध्यमबाट दिशा पहिल्याएर उड्छ, केही कीराहरू रातमा फूलको रस खोज्छन्, भने शिकारी कीरा र चराहरूले त्यही अँध्यारोमा आफ्नो शिकार वा शत्रु पहिचान गर्छन्। यी सबै व्यवहार लाखौँ वर्षको जीव विकासक्रममामा रातको स्वाभाविक अँध्यारोसँग सामञ्जस्य हुँदै आएका हुन्छन्।

तर मानवीय गतिविधिहरुका कारण सृजित कृत्रिम प्रकाश र चर्को स्वरले यो प्राकृतिक तालमा अचानक ठूलो र अस्वाभाविक परिवर्तन ल्याउँछ। घर, बाटो, पसल, मन्दिर, गुम्बा, चर्च, होटल र सार्वजनिक स्थलमा बालिने अत्यधिक उज्यालो बत्तीले प्रकाश प्रदूषण सिर्जना गर्छ। यसले ताराहरूलाई ढाक्नुका साथै कीराहरूको दृश्य-संसारलाई पनि भ्रमित बनाउँछ।

जुनकीरीमा पर्ने असर

जुनकीरी रातको जैविक विविधताका सबैभन्दा संवेदनशील प्रतीकहरूमध्ये एक हो। धेरै जातका जुनकीरीले प्रकाश उत्पन्न गरेर आपसमा संवाद गर्छन्; भाले र पोथीले आफ्नो जात, स्थान र प्रजननको तयारी बताउन विशेष ढाँचामा उज्यालो देखाउँछन्। यो संवाद तिनीहरूको प्रजननको आधार हो।

जब यी कीराको बसोबास क्षेत्र वरिपरि घरायसी बत्ती, स्ट्रिटलाइट, विजुलीका माला, झ्यालका झिलिमिली बत्ती वा पटाकाको तीव्र प्रकाश फैलिन्छ, जुनकीरीको कमजोर प्रकाश-संकेत पृष्ठभूमिको उज्यालोमा लुक्छ। अर्थात्, जुनकीरीले आफ्नो संकेत पठाए पनि साथीले त्यसलाई छुट्याउन सक्दैन। अनुसन्धानले देखाएको छ कि कृत्रिम रात्रि प्रकाशले जुनकीरीको चमकाउने व्यवहार, जोडी बनाउने क्रिया र प्रजनन सफलतामा नकारात्मक असर पार्छ।

यसको असर केवल एक रातको होइन। यदि प्रजननको मुख्य समयमै बाहिरी प्रकाश बढ्छ भने पोथीले उपयुक्त भाले भेट्न सक्दैन, भाले पनि सही संकेत पहिचान गर्न सक्दैन, र अगलो पुस्ताको संख्या घट्छ। एउटा अध्ययनमा कृत्रिम रात्रि प्रकाशले एक जातको जुनकीरीको चमकाउने क्रिया लगभग ७० प्रतिशतसम्म घटाएको उल्लेख छ।

जुनकीरीका लागि प्रकाश प्रदूषण विशेष खतरनाक बन्छ किनभने तिनीहरूको जीवनचक्र छोटो हुन्छ र धेरै जातका लागि प्रजननको अवसर सीमित हुन्छ। एक पुस्तामा भएको व्यवधानले अर्को वर्षको जनसंख्यालाई पनि असर पार्न सक्छ। विश्वव्यापी समीक्षाले प्रकाश प्रदूषणलाई जुनकीरीको जनसंख्या घट्नुको परिचित खतरामध्ये एक मानेको छ।

पुतली र मोथमा पर्ने असर

पुतली र मोथ (रात्रिचर पुतली) हरू प्रायः प्रकाशको स्रोततर्फ आकर्षित हुन्छन्। प्राकृतिक अवस्थामा चन्द्रमा र ताराहरू टाढा हुने हुँदा तिनीहरूले त्यसैलाई दिशा-पहिल्याउन आधार मानेर सीधा उड्न सक्छन्। तर नजिकैको बत्ती देखिएपछि तिनीहरू त्यही बत्तीतर्फ घुम्दै जान्छन्, बारम्बार चक्कर लगाउँछन्, झ्याल, बत्ती वा पटाकाको वरिपरि थुनिन्छन्।

यसको पहिलो असर ऊर्जाको हानि हो। पुतलीले खाना खोज्ने, जोडी बनाउने, अन्डा पार्ने वा बसोबास गर्ने  जस्ता आफ्नो मूल उद्देश्य त्यागेर बत्तीतर्फ आकर्षित हुने गर्छ। दोस्रो असर शिकारीको जोखिम हो; बत्तीको छेउमा जम्मा भएका कीराहरू चरा, छिचिले, भ्यागुतो र अन्य शिकारीको सजिलो शिकार बन्छन्। तेस्रो सबैभन्दा खराब असर भने परागसेचनमा पर्छ।

रातका पुतलीहरू धेरै वनस्पतिको परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। एक अध्ययनमा बत्ती बालिएको घाँसे मैदानमा प्राकृतिक चन्द्रप्रकाशको तुलनामा झन्डै ६२ प्रतिशत कम कीरा फूलमा आएको पाइयो। अर्को अध्ययनले कृत्रिम प्रकाशले रात्रिकालीन परागसेचन सञ्जाल बिगार्ने र वनस्पतिको प्रजनन सफलता घटाउने देखाएको छ।

यसरी बत्तीले कीरालाई मात्र होइन, त्यसमा निर्भर फूल, बिरुवा, फलफूल र समग्र खाद्य-सञ्जाललाई पनि असर पार्छ। जंगली फूल, तरकारीबाली, फलफूलका बोट र वनस्पतिको प्रजननमा रात्रिचर परागसेचकको भूमिका हुन्छ; तिनीहरू हराउँदा त्यो चक्र खल्बलिन्छ र परागसेचनको प्रक्रिया कमजोर हुन्छ। यसको सोझो असर थुप्रै बोटविरुवाहरु अलप हुन पुग्छ ।

पटाकाको रासायनिक असर

पटाकाको समस्या खालि आवाज र तीव्र प्रकाशमा सीमित छैन। पटाकामा प्रयोग हुने रासायनिक पदार्थले जलेपछि धुँवा, सूक्ष्म कण, धातुका कण र विभिन्न रासायनिक अवशेष उत्पन्न गर्छ। यी कण हावामा फैलिन्छन्, माटोमा बस्छन् र वर्षा हुँदा खोला, ताल, पोखरी तथा भूमिगत पानीसम्म पुग्न सक्छन्।

पटाकामा प्रयोग हुने परक्लोरेटजस्ता रसायन पानीमा घुलनशील हुन्छन् र लामो समयसम्म वातावरणमा रहन सक्छन्। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अध्ययनहरूले पटाका प्रदर्शनपछि माटो र पानीमा परक्लोरेट तथा निश्चित धातुहरूको उपस्थिति बढेको देखाएका छन्।

यसको प्रत्यक्ष असर जलचर र माटोमा बस्ने जीवहरूमा पर्छ। पानीको गुणस्तर बिग्रँदा कीरा, ढाडपाते प्राणी, माछाका लार्भा र अन्य सूक्ष्म जीवहरू असरग्रस्त हुन्छन्। यी जीवहरू खाद्य-सञ्जालको तल्लो तहमा हुने हुँदा तिनीहरूमा पर्ने असर बढेर माछा, चरा, उभयचर र अन्य जन्तुसम्म पुग्छ।

पटाकाको धुँवाले श्वासप्रश्वास गर्ने कीराहरूलाई पनि असर पार्छ। कीराहरूको श्वासनली संवेदनशील हुन्छ; धुँवा र रासायनिक कणले तिनीहरूको चाल, खाना खोज्ने क्षमता र प्रजनन व्यवहारमा बाधा पार्न सक्छ। त्यसैगरी पटाकाको अवशेष जमिनमा परेपछि त्यहीँ बस्ने कीरा, गँडाकोट, माटोमुनि बस्ने जीव र सूक्ष्मजीवहरूको वातावरण बिग्रन्छ।

आवाज र संवेदनशील जीव

पटाकाको तीव्र आवाजले मानिसलाई असर पारे जस्तै वन्यजन्तुलाई पनि असर पार्छ। चरा, खरायो, गैंडा, बाघ, हात्ती जस्ता संवेदनशील जन्तुले अचानक आउने विस्फोटक आवाजलाई खतराको संकेत मान्छन्। तिनीहरू आत्तिन्छन्, बसोबास छोड्छन्, गुँडबाट उड्छन् वा असुरक्षित स्थानतर्फ भाग्छन्।

एक अध्ययनले नयाँ वर्षको रात पटाका विस्फोटको समयमा सामान्य रातको तुलनामा झन्डै हजार गुणा बढी चरा उडेको पाएको छ। यसले चराहरूले आत्तिएर गुँडा छोड्ने, थकान झेल्ने र असुरक्षित स्थानमा पुग्ने सम्भावना देखाउँछ।

तिहार र क्रिसमस जस्ता पटाका पड्काइने तथा अत्यधिक बत्तीहरु बालिने समय धेरै प्राणीका लागि संवेदनशील हुन्छ। कतिपय चराको प्रजनन वा प्रवासको समय हुन्छ, कतिपय स्तनधारीको बच्चा हुर्काउने समय हुन्छ, भने कीराहरूको जीवनचक्र पनि ऋतुअनुसार चलिरहेको हुन्छ। यस्तो समयमा बारम्बार आउने ठूलो आवाज र प्रकाशको झटकाले स्थानीय जनसंख्यामा दीर्घकालीन असर पार्न सक्छ।

जैविक विविधतामा पर्ने बहुस्तरीय असर

यी असरहरू छुट्टाछुट्टै देखिए पनि वास्तवमा एकअर्कासँग जोडिएका हुन्छन्। प्रकाशले कीरालाई भ्रमित बनाउँछ, धुँवाले हावा र पानी प्रदूषित बनाउँछ, आवाजले जन्तुलाई आत्तिन बाध्य बनाउँछ, र रासायनिक अवशेषले माटो तथा पानीको गुणस्तर घटाउँछ। यी सबै मिलेर एउटा संवेदनशील पारिस्थितिक तन्त्रमा थप चाप बनाउँछन्।

जैविक विविधताको ह्रास एकैचोटि देखिँदैन। पहिले केही कीरा बत्तीतर्फ तानिन्छन्, केही भाग्छन्, केहीको प्रजनन रोकिन्छ। त्यसपछि तिनीहरू खाने चरा, उभयचर र अन्य जन्तुको खाना कम हुन्छ। त्यसैगरी परागसेचन घट्दा फूल र फल कम हुन्छ, जसले अर्को पुस्ताका कीरा र चरालाई पनि असर पार्छ।

यसरी एउटा सानो उत्सवको रात्रि पनि लामो समयको पारिस्थितिक असर बन्न सक्छ। विशेषगरी सहर, बजार क्षेत्र, नदीकिनारा, ताल र वन क्षेत्रको नजिक यसको असर बढी हुन्छ, किनभने त्यहाँ प्राकृतिक अँध्यारोको क्षेत्र कम हुन्छ र प्राणीहरूको पलायनको विकल्प पनि सीमित हुन्छ।

अहिले जुनकीरी-पुतलीहरु किन कम देखिन्छन् ?

कुनै बेला रात्रिकालीन समयमा सहजै देखिने जुनकीरीहरु आजभोलि देखिनु दुर्लभ भएको छ । त्यसैगरी पुतलीहरु पनि पहिलेको तुलनामा निक्कै कम देखिन्छन् । यसो हुनुका पछाडी धेरै कारण हुन सक्छन्– वासस्थानको नाश, कीटनाशक, जलवायु परिवर्तन, कृषि रसायन, प्रदूषण र प्रकाश प्रदूषण। तर तिहार, क्रिसमस जस्ता समयमा बढ्ने कृत्रिम प्रकाश र पटाकाले यी कारणहरूलाई थप बल दिन्छ।

प्रकाश प्रदूषणको असर तत्काल देखिन्छ– कीरा बत्तीमा जम्मा हुन्छन्, जुनकीरी चम्किन छोड्छन्, पुतली घुम्दै बत्तीतर्फ जान्छन्। तर यसको वास्तविक असर त्यसै रातमा सकिँदैन। कीराहरूले खाना, जोडी र आश्रय खोज्न सक्दैनन्; परागसेचन घट्छ; अन्डा र लार्भाको संख्या घट्छ; र अर्को वर्ष तिनीहरूको उपस्थिति थप घट्छ।

यसैले अहिले जुनकीरी वा पुतली कम देखिनु एउटा संकेत हो। यो  ‘मानिसले उत्सव मनाएको बेला कीरा कम भए’ भन्ने सामान्य घटना मात्र होइन, बरु पारिस्थितिक तन्त्रको बिग्रँदो अवस्थाको संकेतका रूपमा हेर्नुपर्छ। जुनकीरी र पुतली जस्ता संवेदनशील जीवहरूको उपस्थिति घट्नु भनेको वातावरणमा सन्तुलन बिग्रिरहेको संकेत हो।

गर्ने के ?

यस समस्याको समाधान पूर्ण रूपमा चाडपर्व मनाउन छोड्नु होइन, बरु यसलाई अझ प्रकृतिमैत्री बनाउनु हो। घर र सार्वजनिक स्थलमा अत्यधिक बत्तीको सट्टा कम उर्जाको, न्यानो रङको र सीमित समयको प्रकाश प्रयोग गर्न सकिन्छ। झ्यालका बत्ती, विजुलीका माला र बाहिरी प्रकाशलाई राति निभाउने अभ्यासले पनि ठूलो फरक पार्छ।

पटाकाको प्रयोग घटाउनु, विशेषगरी नदी, ताल, वन र खुला मैदानको नजिक प्रतिबन्ध लगाउनु, र वैकल्पिक उत्सवका रूपमा प्रकाश, संगीत, सांस्कृतिक कार्यक्रम वा समुदायमैत्री कार्यक्रमलाई बढावा दिनु उपयुक्त हुन्छ। पटाकाको रासायनिक असर र आवाजको असर दुवैलाई ध्यानमा राख्दा यो विकल्प वातावरणका लागि अझ सुरक्षित हुन्छ।

समुदाय र स्थानीय निकायले पनि सार्वजनिक स्थलमा प्रकाशको समय र मात्रा नियन्त्रण गर्न सक्छन्। विशेषगरी पुरानो प्रकाश व्यवस्थालाई परिवर्तन गर्दा, बत्तीलाई तलतिर मोड्दा, र अनावश्यक प्रकाश घटाउँदा कीराहरूको आवागमनमा सुधार हुन सक्छ।

तिहार र क्रिसमस जस्ता उत्सवले हाम्रो सांस्कृतिक पहिचान र सामूहिक खुसीलाई जोड्छन्, तर तिनको उत्सवको ढाँचाले वातावरणमा पर्ने असरलाई पनि विचार गर्नुपर्छ। अत्यधिक बत्ती र पटाकाले केवल केही घण्टाको उज्यालो र आवाज उत्पन्न गर्दैनन्, तर तिनले जुनकीरी, पुतली, परागसेचक, जलचर र वन्यजन्तुको जीवन-ताललाई गम्भीर रूपमा असर पार्छन् भन्ने कुरालाई मनन गरिनु जरुरी छ ।

जुनकीरी र पुतलीको उपस्थिति घट्नु एउटा सामान्य प्राकृतिक घटना होइन; यो हाम्रो वातावरणको स्वास्थ्यको संकेत हो। त्यसैले उत्सवलाई अझ प्रकृतिमैत्री बनाउनु भनेको खालि वातावरण संरक्षणको कुरा मात्र होइन, हाम्रो आफ्नै भविष्यको सुरक्षाको कुरा पनि हो।

ध्वनि प्रदूषणको अदृश्य प्रहारले वन्यजन्तुको अस्तित्व संकटमा पर्दै

मानव सभ्यताको विकाससँगै सहरहरू कोलाहलपूर्ण बन्दै गएका छन्, कारखानाका मेसिनहरू दिनरात गर्जिरहेका छन् अनि विशाल महासागरहरूमा ठूला पानीजहाज र सोनार प्रणालीको कर्कश आवाज गुन्जिरहेको छ । हामी मानिसहरू प्रायः यो होहल्लालाई प्रगतिको सामान्य साइड-इफेक्ट ठानेर बेवास्ता गर्छौं, तर प्रकृतिको काखमा रमाउने निर्दोष प्राणीहरूका लागि यही आवाज यमराज बनेर उभिएको छ ।

बेलायतस्थित क्विन्स युनिभर्सिटी बेलफास्टका प्रसिद्ध इकोलोजिस्टद्वय हान्सजर्ज कुन्क र रुभेन स्मिटले सन् २०२६ मा प्रतिष्ठित वैज्ञानिक जर्नल 'साइन्स' मा प्रकाशित गरेको एक ऐतिहासिक मेटा-एनालाइसिसले ध्वनि प्रदूषणको भयावह तस्बिर बाहिर ल्याएको छ ।

उनीहरूले विश्वका छवटै महादेशमा गरिएका ९३ हजारभन्दा बढी वैज्ञानिक अभिलेखहरूको सूक्ष्म अध्ययन गरी १७७ विभिन्न प्रजातिका जीवजन्तुमाथि गरिएका २१४ वटा प्रयोगात्मक नतिजाहरूलाई एकीकृत गरेका थिए । माछा, चराचुरुङ्गी, भ्यागुता र स्तनधारी प्राणीदेखि लिएर साना कीराफट्याङ्ग्रा, गँगटा, शंखेकीरा र समुद्रको पिँधमा रहने मुगा (कोरल) सम्म समेटिएको यो अहिलेसम्मकै सबैभन्दा बृहत् र आधिकारिक विश्लेषण हो, जसले मानवीय कोलाहलका कारण वन्यजन्तुहरूको मृत्युदरमा अविश्वसनीय रूपमा १३८ प्रतिशतले वृद्धि भएको डरलाग्दो तथ्य उजागर गरेको छ ।

यस अध्ययनले प्रस्तुत गरेका तथ्याङ्कहरू खालि सङ्ख्या मात्र होइनन्, बरु पृथ्वीको जैविक विविधतामाथि मडारिरहेको गम्भीर संकटको घण्टी हुन् । अनुसन्धानका अनुसार सवारी साधनको ट्राफिक, औद्योगिक कलकारखाना, समुद्री ढुवानी, भूकम्पीय सर्वेक्षण (सिस्मिक सर्भे) र पनडुब्बीहरूले प्रयोग गर्ने सोनार तरङ्गबाट निस्कने चर्को आवाजले जलचर तथा स्थलचर दुवैथरी प्राणीको जीवनचक्रलाई नराम्ररी खल्बल्याएको छ । कोलाहलपूर्ण वातावरणका कारण प्राणीहरूको बाँच्ने दरमा १९ प्रतिशतले गिरावट आएको छ भने उनीहरूको समग्र शारीरिक तन्दुरुस्ती र प्रजनन क्षमता २७ प्रतिशतले घटेको छ । अझ चिन्ताजनक कुरा त के छ भने, ध्वनि प्रदूषण भएका क्षेत्रहरूमा वन्यजन्तुहरूको कुल जनसङ्ख्या करिब ३७ प्रतिशतले कम पाइएको छ । अध्ययनमा समेटिएका प्रत्येक १० प्रजातिमध्ये ८ प्रजातिले मानवीय आवाजको दबाब थेग्न नसकेर आफ्नो प्राकृतिक स्वभाव, दैनिक व्यवहार वा शारीरिक संरचनामा समेत परिवर्तन गर्न बाध्य भएका छन् । चराहरूले आफ्नो सुमधुर गीतको पिच बदल्नुपरेको छ भने कतिपय जीवहरूले तनावका कारण खाना खान र सन्तान उत्पादन गर्न समेत छोडेका छन् ।

ध्वनि प्रदूषणको असर कुनै एक प्रजातिमा मात्र सीमित नरहेर सिङ्गो पारिस्थितिक प्रणाली (इकोसिस्टम) मै लहरझैँ फैलिएको वैज्ञानिकहरूको निष्कर्ष छ । आहार र शिकारीबीचको प्राकृतिक सन्तुलनमा यसले गहिरो धक्का पुर्‍याएको छ । कोलाहलका कारण शिकारी जनावरहरूले आफ्नो शिकार खोज्न र समात्न सामान्य अवस्थाभन्दा करिब साढे दुई गुणा बढी मिहिनेत र ऊर्जा खर्च गर्नुपरेको छ, तर यति धेरै परिश्रम गर्दा पनि उनीहरूको शिकार सफलता दर करिब एक चौथाइले घटेको छ । चर्को आवाजले शिकारीहरूको सुन्ने र ध्यान केन्द्रित गर्ने क्षमतालाई कमजोर बनाइदिँदा उनीहरू भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । अर्कोतर्फ, शिकार बन्ने साना जनावरहरूका लागि पनि यो आवाज उत्तिकै घातक बनेको छ । जमिनमुनि दुलो बनाएर सुरक्षित बस्ने कतिपय प्राणीहरू चर्को आवाजका कारण आफ्नै बासस्थान छोडेर बाहिर भाग्न बाध्य भएका छन्, किनभने जमिनका दुलोहरूले बाहिरी आवाजको कम्पनलाई अझ चर्को बनाएर प्रतिध्वनित गरिदिन्छन् । यसरी सुरक्षित दुलोबाट बाहिर निस्कँदा ती प्राणीहरू सजिलै अन्य शिकारीको फन्दामा पर्ने वा प्रतिकूल मौसमको शिकार हुने जोखिम ह्वात्तै बढेको छ ।

स्थलमण्डलमा मात्र होइन, महासागरको गहिराइमा बस्ने जीवजन्तुहरूको अवस्था झनै दर्दनाक छ । पानीमा ध्वनिको गति हावामा भन्दा करिब साढे चार गुणा छिटो हुने भएकाले समुद्री जहाजका इन्जिन, तेल तथा ग्यास उत्खननका क्रममा गरिने विस्फोट र सोनार तरङ्गहरूले हजारौँ किलोमिटर टाढासम्मका जलचरहरूलाई आक्रान्त पारेका छन् । उदाहरणका लागि, भूमध्यसागरमा पाइने पाइलट ह्वेलहरूले विशाल पानीजहाजहरूको इन्जिनको गर्जनलाई चिर्दै आफ्नो समूहका अन्य सदस्यहरूसँग संवाद गर्न सामान्यभन्दा निकै चर्को स्वरमा कराउनुपरेको छ । यसरी लगातार चर्को आवाज निकाल्दा उनीहरूको अत्यधिक ऊर्जा खर्च हुन्छ, तनाव हर्मोन बढ्छ र आपसी समन्वय टुट्छ । ह्वेल र डल्फिनजस्ता जीवहरू दिशा पत्ता लगाउन, खाना खोज्न र आफ्ना बच्चाहरूसँग सम्पर्कमा रहन ध्वनि तरङ्ग (इकोलोकेसन) मै पूर्ण रूपमा निर्भर हुन्छन् । मानव सृजित कोलाहलले उनीहरूको यो प्राकृतिक सञ्चार प्रणालीमा अवरोध पुर्‍याउँदा कतिपय ह्वेलहरू बाटो बिराएर समुद्री किनारमा अलपत्र परी मर्ने घटनाहरू समेत बढ्दै गएका छन् ।

यिनै गम्भीर वैज्ञानिक प्रमाणहरूलाई आधार मान्दै अनुसन्धानकर्ताद्वय कुन्क र स्मिटले अब ध्वनि प्रदूषणलाई पनि वायु प्रदूषण, जल प्रदूषण र प्लास्टिक प्रदूषणजस्तै एक प्रमुख विश्वव्यापी वातावरणीय प्रदूषकको रूपमा कानुनी र नीतिगत मान्यता दिनुपर्ने तर्क अघि सारेका छन् । हालसम्म विश्वभर कुनै पनि ठूला विकास निर्माणका परियोजनाहरू स्वीकृत गर्दा तिनले कति वनजङ्गल फँडानी गर्छन् वा कति जमिन ओगट्छन् भन्ने कुराको मात्र वातावरणीय प्रभाव मूल्याङ्कन गरिन्छ । तर, ती परियोजनाले कति डेसिबल आवाज निकाल्छन् र त्यसले वरपरको जैविक विविधतामा कस्तो असर पार्छ भन्ने पक्षलाई पूर्णतः बेवास्ता गरिँदै आएको छ । वैज्ञानिकहरूका अनुसार अब सडक विस्तार, समुद्री व्यापारिक मार्ग, अपतटीय वायु ऊर्जा केन्द्र (अफसोर विन्ड फार्म) र भूकम्पीय सर्वेक्षणहरूको मूल्याङ्कन गर्दा तिनको आवाजको तीव्रतालाई मुख्य मापदण्ड बनाइनुपर्छ ।

यद्यपि, वैज्ञानिक इमानदारीका साथ अनुसन्धानकर्ताहरूले यस अध्ययनका केही सीमाहरूलाई पनि स्पष्ट पारेका छन् । हालसम्म गरिएका अधिकांश प्रयोगहरू छोटो अवधिका छन्, जसका कारण लामो समयसम्म लगातार ध्वनि प्रदूषणमा रहँदा प्राणीहरूको वंशाणुगत गुण र पुस्तान्तरणमा कस्तो दीर्घकालीन असर पर्छ भन्नेबारे अझै गहिरो अध्ययन हुन बाँकी छ । साथै, मेरुदण्ड नभएका साना जीवहरू (इन्भर्टिब्रेट्स) माथि ध्वनिले पार्ने सूक्ष्म प्रभावहरूको वैज्ञानिक अभिलेख अझै अपर्याप्त छ । तर, यी सीमाहरूका बाबजुद यो अध्ययनले एउटा अत्यन्तै आशावादी र व्यावहारिक समाधान पनि देखाएको छ । अन्य रासायनिक वा प्लास्टिक प्रदूषणहरू प्रकृतिबाट हटाउन दशकौँ वा शताब्दीयौँ लाग्न सक्छ, तर ध्वनि प्रदूषण यस्तो समस्या हो जसको समाधान आवाज बन्द हुने बित्तिकै तुरुन्तै सुरु हुन्छ । जमिन र समुद्रका संवेदनशील क्षेत्रहरूमा 'शान्त क्षेत्र' (क्वाइट जोन्स) घोषणा गर्ने, पानीजहाजहरूको गति सीमित गर्ने, कम आवाज निकाल्ने प्रविधिको प्रयोग गर्ने र निर्माण कार्यमा ध्वनि अवरोधकहरू राख्ने हो भने प्रकृतिले तुरुन्तै राहत महसुस गर्न सक्छ । मानव विकास र प्रकृतिको सहअस्तित्व जोगाउन अब हामीले आफ्नो कोलाहल कम गरेर प्रकृतिको मौनतालाई सम्मान गर्नुको विकल्प छैन ।