इथियोपियामा फेरि गृहयुद्ध: प्रधानमन्त्री अबियको ‘फुटाऊ र शासन गर’ रणनीति उल्टियो

उत्तरी इथियोपियामा लाखौँ मानिसको ज्यान लिएको युद्ध समाप्त भएको चार वर्ष पनि पूरा नहुँदै त्यहाँका तीन राज्य फेरि तीव्र बन्दै गएको सशस्त्र द्वन्द्वको चपेटामा परेका छन्। तर, यो नयाँ युद्ध यसअघि नोभेम्बर २०२० देखि २०२२ सम्म चलेको युद्धभन्दा निकै फरक छ।

इथियोपियाको सबैभन्दा उत्तरी राज्य टिग्रेमा शासन गरिरहेको टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) यसपटक संघीय सरकारसँग मात्र लडिरहेको छैन। अन्य पाँचवटा क्षेत्रीय राज्यमा सक्रिय सशस्त्र समूहहरू—जसमध्ये धेरैजसो अघिल्लो युद्धमा एकअर्काको विपक्षमा लडेका थिए र उनीहरूबीच लामो समयदेखिको पारस्परिक शत्रुता पनि थियो—सबै एकजुट भएर प्रधानमन्त्री अबिय अहमद नेतृत्वको संघीय सरकारलाई सत्ताच्युत गर्ने उद्देश्यले गठबन्धन बनाएका छन्।

टिपिएलएफका उपाध्यक्ष अमानुएल असेफाले ‘पूर्ण रूपमा भड्किएको युद्ध’ भनेर वर्णन गरेको यो युद्ध सेप्टेम्बर २३ मा सुरु भएको हो। त्यस दिन हल्का हतियारले सुसज्जित टिपिएलएफका सेनाले टिग्रे राज्यको राजधानी मेकेलेस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ संघीय सरकारका प्रहरीलाई नियन्त्रणमा लिएपछि विमानस्थल आफ्नो नियन्त्रणमा लिएका थिए। उसले टिग्रेका अक्षुम र शिरे सहरका अन्य विमानस्थलहरू पनि आफ्नो नियन्त्रणमा लियो। इथियोपियन एयरलाइन्सले क्षेत्रीय उडानहरू स्थगित गर्‍यो।

सहर आफैंमाथि अहिलेसम्म आक्रमण भएको छैन। तर, अम्हाराका आसपासका क्षेत्रमा भिडन्त भइरहेको छ, जहाँ अम्हारा फानो नेसनल मुभमेन्ट (एएफएमएन) ले सरकारी सेनासँग लडिरहेको छ।

त्यसको भोलिपल्ट, टिग्रेको दक्षिणी छिमेकी अम्हाराका विभिन्न क्षेत्रमा लडाइँ तीव्र भएपछि संघीय अधिकारीहरूले मध्ययुगीन चर्चहरूका कारण ऐतिहासिक तथा युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पवित्र सहर लालिबेलाका लागि उडानहरू स्थगित गरे। प्राप्त विवरणअनुसार सहर आफैंमाथि अहिलेसम्म आक्रमण भएको छैन। तर, अम्हाराका आसपासका क्षेत्रमा भिडन्त भइरहेको छ, जहाँ अम्हारा फानो नेसनल मुभमेन्ट (एएफएमएन) ले सरकारी सेनासँग लडिरहेको छ।

इथियोपियन नेसनल डिफेन्स फोर्स (इएनडिएफ)ले टिग्रेको दक्षिणपूर्वी छिमेकी अफारमा पनि लडाइँ गरिरहेको छ। त्यहाँ अघि बढिरहेको अफार रिभोलुसनरी डेमोक्रेटिक युनिटी फ्रन्ट (एआरडियुएफ ) ले संघीय सरकारको नियन्त्रणबाट क्षेत्रीय राज्यको करिब आधा भूभाग ‘मुक्त’ गरिसकेको दाबी गरेको छ।

सेप्टेम्बर २८ सम्ममा अफार मोर्चामा विद्रोहीहरू अफदेरातर्फ अघि बढिरहेका थिए। यो सहर आफ्नो नियन्त्रणमा लिन सके उनीहरू सेर्दोबाट केवल ९० किलोमिटर उत्तरमा पुग्नेछन्। सेर्दो एउटा महत्वपूर्ण जंक्शन हो, जहाँबाट इथियोपियाको राष्ट्रिय राजधानी अदिस अबाबालाई जिबूतीसँग जोड्ने मार्ग अवरुद्ध गर्न सकिन्छ। इथियोपियामा खपत हुने अधिकांश इन्धन तथा अन्य आयातित सामग्री जिबूतीको बन्दरगाह हुँदै भित्रिन्छन्।

अब अबियको शासनलाई सत्ताच्युत गरी त्यसको स्थानमा संक्रमणकालीन सरकार स्थापना गर्ने उद्देश्यले एकजुट भएका यी समूहहरूले वर्तमान द्वन्द्व चर्किनुभन्दा तीन दिनअघि, सेप्टेम्बर २० मा आफ्नो गठबन्धनको घोषणा गरेका थिए।

कम्तीमा तीन अन्य सशस्त्र समूह पनि टिपिएलएफ , एएफएमएन  र एआरडियुएफ मा सामेल भएका छन्। उनीहरूले मिलेर ‘एलायन्स फर सर्वाइभल’ अर्थात् ‘अस्तित्वका लागि गठबन्धन’ गठन गरेका छन्। यो एक ऐतिहासिक गठबन्धन हो, जसमा सहभागी धेरै समूहहरूलाई यसअघि अबिय सरकारकै नीतिका कारण एकअर्काको विरुद्ध उभ्याइएको थियो।

अब अबियको शासनलाई सत्ताच्युत गरी त्यसको स्थानमा संक्रमणकालीन सरकार स्थापना गर्ने उद्देश्यले एकजुट भएका यी समूहहरूले वर्तमान द्वन्द्व चर्किनुभन्दा तीन दिनअघि, सेप्टेम्बर २० मा आफ्नो गठबन्धनको घोषणा गरेका थिए।

के इथियोपियाली सेना विद्रोही गठबन्धनविरुद्ध टिक्न सक्छ?

यो गठबन्धनले ५ लाखभन्दा बढी सैनिक रहेको र अफ्रिकाको पाँचौँ शक्तिशाली सेना मानिने इथियोपियन नेसनल डिफेन्स फोर्स (इएनडिएफ) को सामना गरिरहेको छ। तर, संख्यात्मक श्रेष्ठताले युद्धभूमिमा त्यसैअनुसारको परिणाम दिन नसक्ने तर्क गर्छन् हर्न अफ अफ्रिकाका विज्ञ पत्रकार तथा भू–राजनीतिक विश्लेषक एलियास अमारे।

“इएनडिएफ का अधिकांश सैनिकहरू ओरोमिया र दक्षिणी क्षेत्रका गरिब किसान परिवारबाट जबर्जस्ती भर्ती गरिएका हुन्। उनीहरूलाई न्यून पारिश्रमिक दिइन्छ। यस युद्धमा उनीहरूको आफ्नो कुनै स्वार्थ छैन; लड्दै मर्नका लागि उनीहरूसँग राजनीतिक वा वैचारिक प्रेरणा पनि छैन। हामीले पछिल्ला दुई वर्षमा अम्हारामा उनीहरू ठूलो संख्यामा पटक–पटक आत्मसमर्पण गरेको देखेका छौँ,” उनले भने। अम्हारा सन् २०२३ देखि नै सक्रिय द्वन्द्वको क्षेत्र रहँदै आएको छ।

इएनडिएफले आकाशमा नियन्त्रण कायम राखे पनि, “टिग्रे र अम्हाराजस्ता पहाडी क्षेत्रमा केवल हवाई शक्ति आफैंमा पर्याप्त हुँदैन,” उनी तर्क गर्छन्। “यी क्षेत्रका सशस्त्र समूहहरू अनुभवी छन् र उनीहरूले विमान तथा ड्रोनबाट गरिएका हवाई आक्रमणलाई सफलतापूर्वक छल्दै आएका छन्।”

विद्रोही गठबन्धनले यसै सप्ताहन्तमा ओरोमियाको बिशोफ्टु सहरमा रहेको इएनडिएफको प्रमुख वायुसेना अड्डामाथि लामो दूरीको ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

त्यसमाथि, हवाई शक्तिमाथि संघीय सरकारको पूर्ण एकाधिकार रहेको दाबीसमेत विवादित छ। विद्रोही गठबन्धनले यसै सप्ताहन्तमा ओरोमियाको बिशोफ्टु सहरमा रहेको इएनडिएफको प्रमुख वायुसेना अड्डामाथि लामो दूरीको ड्रोन आक्रमण गरेको दाबी गरेको छ। बिशोफ्टु इथियोपियाको राष्ट्रिय राजधानी अदिस अबाबाबाट करिब ४० किलोमिटर दक्षिणपूर्वमा पर्छ। अन्य रिपोर्टहरूले त्यसपछि पनि थप ड्रोन आक्रमणहरू भएको दाबी गरेका छन्। तीमध्ये अम्हारा राज्यको बाहिर दारमा रहेको इएनडिएफको महत्वपूर्ण दोस्रो वायुसेना अड्डामाथिको आक्रमण पनि रहेको बताइएको छ।

शान्ति सम्झौता विघटनको अवस्थामा

सेप्टेम्बर २३ मा टिपिएलएफ  ले टिग्रे क्षेत्रका विमानस्थलहरू आफ्नो नियन्त्रणमा लिएसँगै विभिन्न मोर्चामा एकैपटक लडाइँ सुरु भएपछि अफ्रिकी संघ (एयु) ले “अत्यधिक संयम अपनाउन र तनाव थप बढाउने सबै गतिविधि तत्काल रोक्न” आह्वान गर्‍यो। एयुले टिपिएलएफ  को यो आक्रमणले नोभेम्बर २०२२ मा टिपिएलएफ  र इएनडिएफ बीच दुई वर्षसम्म चलेको युद्ध अन्त्य गर्न गरिएको प्रिटोरिया शान्ति सम्झौताको उल्लङ्घन गरेको जनाएको थियो।

तर, यस सम्झौतामा गरिएका केही महत्वपूर्ण प्रतिबद्धता अझै पूरा भएका छैनन्। तीमध्ये टिग्रेबाट विस्थापित जनसंख्यालाई उनीहरूको घर फर्काउने तथा राज्यमा मानवीय सहायता र अत्यावश्यक सेवाहरू पुनःस्थापित गर्ने प्रतिबद्धता पनि छन्।

सम्झौताले युद्धपछि टिग्रेमा शासन सञ्चालनका लागि नियुक्त गरिएको अन्तरिम प्रशासनलाई निर्वाचित सरकारबाट प्रतिस्थापन गर्नुपर्ने व्यवस्था पनि गरेको थियो। तर, इथियोपियामा जुन १ मा भएको संसदीय तथा क्षेत्रीय राज्य परिषद्को निर्वाचनअघि अबिय सरकारले मे महिनामा टिपिएलएफको राजनीतिक दलको हैसियत रद्द गरिदियो। सुरक्षा चिन्तालाई कारण देखाउँदै उसले टिग्रेलाई नै निर्वाचनबाट पूर्ण रूपमा बाहिर राख्यो। यसका कारण ६० लाख जनसंख्या भएको उक्त राज्यका बासिन्दा राज्य तथा राष्ट्रिय दुवै तहमा निर्वाचित प्रतिनिधिविहीन भए।

दुई प्रतिस्पर्धी शक्ति केन्द्र अस्तित्वमा आएसँगै युद्ध पुनः सुरु हुने जोखिम पहिल्यै देखिन थालेको थियो।

यसैबीच, अबियले आफूले नियुक्त गरेको अन्तरिम प्रशासनको कार्यकाल अप्रिलमा समाप्त हुनुअघि नै त्यसको अवधि थपिसकेका थिए। एकतर्फी रूपमा गरिएको आफ्नो यो निर्णय शान्ति सम्झौताको उल्लङ्घन भएको भन्दै त्यसको विरोधमा टिपिएलएफ  ले अन्तरिम प्रशासनलाई निष्क्रिय बनायो र युद्धपूर्वको क्षेत्रीय राज्य परिषद्लाई पुनःस्थापित गर्‍यो। उक्त परिषद्ले मे ५ मा टिपिएलएफ  का अध्यक्ष देब्रेत्सियोन गेब्रेमाइकललाई पुनः टिग्रेको राष्ट्रपति निर्वाचित गर्‍यो।

यसरी दुई प्रतिस्पर्धी शक्ति केन्द्र अस्तित्वमा आएसँगै युद्ध पुनः सुरु हुने जोखिम पहिल्यै देखिन थालेको थियो। अगस्ट १ मा हिंसा भड्कियो। ड्रोन, भारी तोपखाना र पैदल सेनाको प्रयोग गर्दै इएनडिएफले टिपिएलएफ  नेतृत्वको टिग्रे डिफेन्स फोर्सेस (टिडिएफ) विरुद्ध सुडानी सीमामा रहेको रणनीतिक क्षेत्र शेरेरिनामाथि आक्रमण गर्‍यो। घाइते लडाकुहरूसहित सयौँ टिग्रेली सीमा पार गरेर युद्धग्रस्त सुडानतर्फ भागे।

यी भिडन्तपछि दुवै पक्षले आफ्ना सैनिक परिचालन गर्न र आ–आफ्ना मोर्चा तथा स्थानहरूलाई थप मजबुत बनाउन थाले। संघीय सरकारले त्यसै महिनाको अन्त्यतिर टिग्रेका विभिन्न क्षेत्रमा ड्रोन आक्रमण गर्‍यो, जसबाट सर्वसाधारणसमेत हताहत भए। त्यसपछि सेप्टेम्बर २२ मा इएनडिएफले टिग्रेमा रहेका पाँचवटा विद्यालयमाथि ड्रोन आक्रमण गरेको थियो।

“तर, टिग्रे सरकारले आफ्नोतर्फबाट शत्रुको निरन्तर शत्रुतापूर्ण व्यवहार र उक्साहटको जवाफ दिनबाट आफूलाई रोक्दै आएको थियो। बरु, घटनाक्रमलाई गहिराइपूर्वक नियाल्ने र तनाव कम गर्ने गतिविधि सञ्चालन गर्नुलाई प्राथमिकता दिएको थियो,” टिपिएलएफ  ले सेप्टेम्बर २३ मा जारी गरेको वक्तव्यमा भनेको थियो। तर, त्यसै दिन संघीय सेनाले “पैदल सेनासहित हामीमाथि खुला रूपमा आक्रमण र हस्तक्षेप सुरु गरेपछि” टिपिएलएफ  का सैनिकहरू “रक्षात्मक युद्धमा उत्रिएको” उसले जनाएको थियो।

सेप्टेम्बर २४ मा इथियोपियाली सेनाले आफूले “प्रतिआक्रमण सुरु गरेको र त्यस क्रममा टिपिएलएफका सैनिक तथा सैन्य सामग्रीमा ठूलो क्षति पुर्‍याएको” बतायो। सेनाका अनुसार त्यस क्रममा टिपिएलएफ  का २७२ लडाकु मारिए भने थप २६० जना घाइते भए। भोलिपल्ट सेनाले यो संख्या बढाउँदै अम्हारामात्रै ७०० टिपिएलएफ  लडाकु मारिएको दाबी गर्‍यो। सेनाले सर्वसाधारण वा आफ्ना सैनिकतर्फ भएको मानवीय क्षतिबारे भने कुनै तथ्यांक सार्वजनिक गरेन।

अमेरिका पक्ष परिवर्तन गर्दैछ?

“यस वर्षको सुरुआतमै अमेरिकाले प्रतिबन्ध लगाएको टिपिएलएफको नेतृत्वले ठूलो स्तरको आक्रमण सुरु गर्ने गलत निर्णय गरेको देख्दा म निराश भएको छु,” इथियोपियाका लागि अमेरिकी राजदूत एर्विन मासिङ्गाले भने।

उनले टिपिएलएफ  माथि “जित्न नसकिने युद्धमा होमिएको” आरोप लगाए। वास्तवमै, टिपिएलएफले नोभेम्बर २०२० मा टिग्रेमा रहेका सैन्य अड्डाहरूमाथि आक्रमण गरेर सुरु गरेको अघिल्लो युद्धमा पराजय बेहोरेको थियो। अफ्रिकी संघका अनुसार करिब ६ लाख मानिसको ज्यान गएको उक्त युद्ध यस शताब्दीका सबैभन्दा घातक युद्धहरूमध्ये एक थियो। तर, त्यस युद्धमा अमेरिकाले टिपिएलएफलाई समर्थन गरेको थियो, जुन लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको थियो।

मानवअधिकार उल्लङ्घन र लोकतान्त्रिक स्वतन्त्रताको दमनका कारण विवादित बनेको उसको शासनले इथियोपियालाई विभाजित गर्दै देशलाई जातीय आधारमा संगठित राज्यहरूको एक खुकुलो महासंघमा परिणत गरेको थियो, जहाँ प्रत्येक राज्यसँग आफ्नै सशस्त्र संरचनासमेत थियो।

सन् १९९१ मा ड्रेग सैन्य सरकारलाई सत्ताच्युत गर्ने गृहयुद्धमा विजय हासिल गरेपछि टिपिएलएफ  नेतृत्वको इथियोपियन पिपुल्स रिभोलुसनरी डेमोक्रेटिक फ्रन्ट (इपिआरडिएफ) ले २७ वर्षसम्म इथियोपियामा शासन गरेको थियो।

मानवअधिकार उल्लङ्घन र लोकतान्त्रिक स्वतन्त्रताको दमनका कारण विवादित बनेको उसको शासनले इथियोपियालाई विभाजित गर्दै देशलाई जातीय आधारमा संगठित राज्यहरूको एक खुकुलो महासंघमा परिणत गरेको थियो, जहाँ प्रत्येक राज्यसँग आफ्नै सशस्त्र संरचनासमेत थियो। यसले हर्न अफ अफ्रिकामा थप विभाजनसमेत निम्त्याएको थियो। इपिआरडिएफले सन् १९९८ देखि २००० सम्म इरिट्रियाविरुद्ध र सन् २००६ मा सोमालियाविरुद्ध युद्ध गरेको थियो। यस अवधिभर टिपिएलएफ  अमेरिकाको क्षेत्रीय स्तरको प्रमुख सहयोगीका रूपमा रह्यो।

तर, सन् २०१८ मा देशव्यापी लोकतन्त्र समर्थक जनप्रदर्शनपछि उसले संघीय सत्ता गुमायो र क्षेत्रीय शासन गर्ने राजनीतिक दलमा सीमित भयो। यही जनआन्दोलनको लहरमा अबिय अहमद इथियोपियाका प्रधानमन्त्री बने।

जातीय पहिचानभन्दा माथि उठ्ने इथियोपियाली राष्ट्रवादको पक्षपोषण गरेका अबियले इथियोपिया तथा त्यहाँबाट बाहिर रहेका इथियोपियाली समुदायबीच ठूलो जनसमर्थन हासिल गरे। सन् २०१८ मा इरिट्रियासँग शान्ति सम्झौता गरे, जसका लागि उनले नोबेल शान्ति पुरस्कारसमेत पाए र सोमालियासँग सहकार्य सम्झौता गरेर उनी हर्न अफ अफ्रिकाको व्यापक क्षेत्रमा पनि लोकप्रिय व्यक्तित्व बने।

इथियोपियाका पूर्व राजदूत तथा इतिहासकार मोहम्मद हसनले सम्झिए- यो हर्न अफ अफ्रिकाका लागि आशाजनक क्षण थियो, क्षेत्रका सरकारहरू र जनताबीच शान्ति र एकताको सम्भावना देखिएको थियो। उनका अनुसार क्षेत्रीय शान्ति र सहकार्यका कारण आफ्ना भू–राजनीतिक हितमा असर पर्न सक्ने आशंकाले अमेरिकाले अबिय सरकारविरुद्ध टिपिएलएफ  ले सुरु गरेको पछिल्लो युद्धलाई समर्थन गरेको थियो।

इरिट्रियाविरुद्ध बदलिँदो रुख

तर, टिपिएलएफ  त्यो युद्धमा पराजित भयो। अबिय सरकारको विजयमा निर्णायक भूमिका इरिट्रियाको थियो। दुई देशबीच भएको शान्ति सम्झौता खतरामा पार्ने टिपिएलएफलाई पराजित गर्न इरिट्रियाले टिग्रेको उत्तरबाट आफ्ना सैनिक पठाएर इएनडिएफसँग मिलेर लडेको थियो।

तर, युद्ध जितेपछि अबिय सरकारले इरिट्रियाविरुद्ध नै रुख परिवर्तन गर्‍यो। भूपरिवेष्ठित इथियोपियाका लागि लाल सागरमा प्रवेश गर्ने द्वार आवश्यक रहेको भन्दै उसले इरिट्रियाको असाब बन्दरगाहमाथि नियन्त्रण माग्न थाल्यो।

“इरिट्रियाले इथियोपियालाई आफ्ना बन्दरगाहहरूमा व्यावसायिक पहुँच दिन कहिल्यै अस्वीकार गरेको थिएन। वास्तवमा, इथियोपियाले पूर्ण रूपमा निर्भर रहनुपरेको जिबूतीको बन्दरगाहसँग भएको सम्झौताभन्दा इरिट्रियाले निकै अनुकूल प्रस्ताव गरेको थियो,” इरिट्रियाका नागरिकसमेत रहेका एलियासले भने। “तर, अबियले बन्दरगाहमाथि सार्वभौम अधिकार नै मागिरहेका थिए, जुन अत्यन्त स्वतन्त्र स्वभावको इरिट्रियाले स्वाभाविक रूपमा हस्तान्तरण गर्न सक्दैनथ्यो।”

यूएईले इरिट्रियाको लाल सागरस्थित एउटा टापुमा नौसैनिक अड्डा स्थापना गर्न खोजेको थियो, जसलाई उसले इजरायलसँग साझेदारी गर्ने योजना बनाएको थियो, तर त्यो प्रयास असफल भएको थियो।

इरिट्रियाको बन्दरगाहमाथि सार्वभौम अधिकार प्राप्त गर्न अबियले गरिरहेको प्रयासबाट इथियोपियाको राष्ट्रिय हित पूरा नहुने उनले तर्क गरे। उनका अनुसार, यूएईले अबियलाई उत्तरी छिमेकी इरिट्रियाविरुद्ध यस्तो शत्रुतापूर्ण बाटोमा अघि बढ्न प्रेरित गरेको थियो। यूएईले इरिट्रियाको लाल सागरस्थित एउटा टापुमा नौसैनिक अड्डा स्थापना गर्न खोजेको थियो, जसलाई उसले इजरायलसँग साझेदारी गर्ने योजना बनाएको थियो, तर त्यो प्रयास असफल भएको थियो।

इथियोपियाका पूर्व विदेशमन्त्री गेदु एन्डार्गाचेउले पनि हालैको एउटा अन्तर्वार्तामा अबियले यूएईको लाल सागरका बन्दरगाहहरू कब्जा गर्ने आक्रामक प्रयासलाई सहयोग पुर्‍याउन इरिट्रियासँगको शान्ति सम्झौताको बलि चढाएको बताएका छन्। उनका अनुसार त्यसको बदलामा इथियोपियाले आर्थिक तथा सैन्य सहयोग प्राप्त गरेको थियो।

इथियोपियालाई भूपरिवेष्ठित बनाएको इरिट्रियाको स्वतन्त्रतालाई “तीस वर्षअघि गरिएको गल्ती” भन्दै अबियले सन् २०२५ मा त्यो गल्ती सच्याउन आफ्नो सरकारले इरिट्रियाको असाब बन्दरगाह कब्जा गर्ने समय “केवल समयको कुरा” भएको बताएका थिए। यसरी युद्धको खतराको सामना गरिरहेको इरिट्रिया यसपटक इथियोपियाको रक्षाका लागि अघि आउन तयार छैन।

पछिल्लो युद्धमा इथियोपियाली सरकार आफ्नै घरेलु सहयोगीविरुद्ध उभियो

टिपिएलएफ  विरुद्धको युद्धमा इथियोपियाली सरकारको विजयमा अम्हारा राज्यका विशेष सुरक्षा बल र त्यसको एफएएनओ  मिलिसियाको भूमिका पनि निर्णायक थियो। अम्हारा राज्यको टिग्रेसँग लामो समयदेखिको द्वन्द्व रहँदै आएको छ।

सन् १९९१ मा टिपिएलएफ  नेतृत्वको गठबन्धन सत्तामा आएपछि टिपिएलएफले अम्हाराका वोल्काइट, त्सेगेडे र हुमेरा क्षेत्रलाई टिग्रेमा गाभेको थियो। त्यसपछि ती क्षेत्रबाट अम्हारा समुदायलाई हटाएर उनीहरूको स्थानमा टिग्रे समुदायका मानिसहरू बसाउने उद्देश्यले जातीय सफाया गरिएको संकेत गर्ने धेरै अध्ययनहरूले देखाएका छन्।

पछिल्लो युद्धका क्रममा टिपिएलएफ  दक्षिणतर्फ अदिस अबाबातिर अघि बढ्दा उसका धेरै सैनिक जबर्जस्ती भर्ती गरिएका थिए र उनीहरूले बाटोमा अम्हारा क्षेत्रमा थुप्रै नरसंहार गरेका थिए। यस्तो परिस्थितिमा अम्हाराका विशेष सुरक्षा बल र एफएएनओले संघीय सेनासँग मिलेर टिपिएलएफ  विरुद्ध लडे। उनीहरूले सन् १९९१ मा टिग्रेमा गाभिएका अम्हाराका क्षेत्रहरू पुनः कब्जामा लिए।

तर, युद्ध जितेको केही महिनामै अबियले आफ्नै अम्हारा सहयोगीविरुद्ध रुख परिवर्तन गरे। उनले अप्रिल २०२३ मा अम्हारासहित सबै राज्यका विशेष सुरक्षा बलहरू विघटन गर्ने अभियान सुरु गरे। उता, प्रिटोरिया सम्झौताअनुसार डिसेम्बर २०२२ सम्ममा निःशस्त्र गरिसक्नुपर्ने टिपिएलएफ  भने हतियारसहित कायम रह्यो र अम्हाराबाट विवादित क्षेत्रहरू पुनः कब्जा गर्ने अठोटमा थियो।

युद्ध जितेको केही महिनामै अबियले आफ्नै अम्हारा सहयोगीविरुद्ध रुख परिवर्तन गरे। उनले अप्रिल २०२३ मा अम्हारासहित सबै राज्यका विशेष सुरक्षा बलहरू विघटन गर्ने अभियान सुरु गरे।

हतियार बुझाउन अस्वीकार गर्दै अम्हाराका अधिकांश विशेष सुरक्षा बल एफएएनओ  मिलिसियामा सामेल भए। त्यसपछि इएनडिएफ सँग उनीहरूको भिडन्त सुरु भयो। त्यही वर्षको अगस्टमा अबिय सरकारले अम्हारामा संकटकाल घोषणा गर्‍यो र इथियोपियाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको उक्त क्षेत्रीय राज्यलाई सैन्य शासनअन्तर्गत राख्यो।

इथियोपियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य तथा अबियको गृहप्रदेश ओरोमियाका विशेष सुरक्षा बल पनि एफएएनओ  विरुद्धको उनको लडाइँमा सामेल भए। त्यसैगरी, ओरोमो लिबरेसन आर्मी (ओएलए) पनि अबियको पक्षमा लड्न आयो। ओएलए  यसअघि संघीय सरकारविरुद्धको युद्धमा टिपिएलएफ सँग मिलेर लडेको मिलिसिया हो र उसमाथि ओरोमिया राज्यमा अम्हारा समुदायका मानिसहरूको नरसंहार गरेको आरोपसमेत लागेको छ। अर्कोतर्फ, अम्हारा–ओरोमो सीमावर्ती क्षेत्रमा ओरोमो सर्वसाधारणको नरसंहार गरेको आरोप एफएएनओ  माथि पनि लागेको छ।

सशस्त्र समूहहरूलाई एकअर्काविरुद्ध भिडाउने रणनीति

“अबियले यसलाई चलाख चाल ठानेका थिए—आफ्ना प्रतिद्वन्द्वीहरूलाई एकअर्काविरुद्ध भिडाएर उनीहरूलाई नै एकअर्काको विनाश गर्न लगाउने र आफूले सम्पूर्ण सत्ता आफ्नो हातमा केन्द्रित गर्ने। तर, यो मूर्खतापूर्ण र लापरवाह कदम थियो। यो गलत आकलन थियो,” पछिल्लो युद्धका क्रममा अबिय सरकारलाई दृढतापूर्वक समर्थन गरेका इथियोपियाका पूर्व कूटनीतिज्ञ हसनले सन् २०२४ को सुरुआतमै  चेतावनी दिएका थिए।

उनको चेतावनी सेप्टेम्बर २० मा वास्तविकतामा परिणत भयो, जब इथियोपियाका सातवटा सशस्त्र समूहले ‘एलायन्स फर सर्वाइभल’ अर्थात् ‘अस्तित्वका लागि गठबन्धन’ गठन गर्ने घोषणा गरे। तीमध्ये एउटा, गुमुज पिपुल्स डेमोक्रेटिक मुभमेन्ट (जिपिडिएम) ले पछि वक्तव्य जारी गर्दै आफूले यस गठबन्धनमा सामेल भएका उक्त क्षेत्रका कुनै पनि सशस्त्र युवा समूहसँग सम्बन्ध नरहेको जनाएको छ। तथापि, बाँकी सशस्त्र समूहहरूको प्रभाव टिग्रे, अम्हारा, अफार, ओरोमिया, सोमाली राज्य र बेनिशाङ्गुल–गुमुज गरी इथियोपियाका १२ क्षेत्रीय राज्यहरूमध्ये छवटासम्म फैलिएको छ। हालसम्म सेप्टेम्बर २३ पछि यीमध्ये तीनवटा राज्य—टिग्रे, अम्हारा र अफारमा मात्रै लडाइँ तीव्र भएको छ। युद्ध अघि बढ्दै जाँदा यो द्वन्द्व बाँकी राज्यहरूमा पनि फैलिने जोखिम वास्तविक छ।

सीमावर्ती समुदायबीच इरिट्रियाको शान्ति पहल

यसैबीच, इरिट्रियाले टिग्रे तथा आफ्नो पुरानो शत्रु टिपिएलएफ  सँग ‘खिम्दो’ वा ‘सिम्दो’ नामक प्रक्रियामार्फत सम्बन्ध सुधारको पहल गरेको थियो। इथियोपियाको टिग्रे तथा सीमापार इरिट्रियामा बोलिने टिग्रिन्या भाषामा यो शब्दको अर्थ “सहअस्तित्व र सहकार्य” हुन्छ।

इरिट्रियाली सरकारको प्रोत्साहनमा सीमाको दुवैतर्फका शान्ति अभियन्ताहरूले साझा भाषा र संस्कृतिसहितका समान जरा र परम्परालाई आधार बनाउँदै सीमावर्ती समुदायबीच विश्वास निर्माण र मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धन गर्न यो पहल अघि बढाएका थिए।

टिग्रेबाट सुरु भएको सिम्दोले पछि सीमाको दुवैतर्फ रहेका अफार समुदायलाई पनि एकै ठाउँमा ल्यायो। “यो निकै सफल भयो। अहिले इरिट्रिया र इथियोपियाबीचको सम्पूर्ण सीमाक्षेत्रमा शान्ति छ। समुदायहरूले बारुदी सुरुङमा पर्ने डरबिना खेतीपाती गरिरहेका छन्,” एलियासले भने।

यो प्रक्रिया सन् २०२६ को मे महिनामा थप विस्तार भयो। त्यसबेला टिग्रे, अम्हारा, ओरोमो, गाम्बेला, बेनिशाङ्गुल–गुमुज र सोमाली समुदायका प्रतिनिधिहरूले सिम्दोको ब्यानरमुनि पोर्ट सुडानमा भेटघाट गरे। उक्त भेटवार्ता इथियोपिया, इरिट्रिया र सुडानका सीमावर्ती समुदायबीच शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले जनस्तरको संवादका रूपमा आयोजना गरिएको थियो।

इथियोपियामा विद्रोही गठबन्धनको पृष्ठभूमि

“सिम्दो ‘अस्तित्वका लागि गठबन्धन’को पूर्वाभ्यास थियो। यसले इथियोपियामा एकअर्काविरुद्ध लडिरहेका सशस्त्र समूहहरूलाई के देखायो भने, एकअर्काविरुद्ध उचालिएका समुदायहरूले सीमापारि शान्ति कायम गर्न सक्छन् भने इथियोपियाभित्र पनि त्यसो गर्न सकिन्छ,” एलियासले बताए।

“यो गठबन्धन अचानक भएको विकास होइन। यी सशस्त्र समूहका नेताहरूले वर्षौंदेखि एकअर्कासँग संवाद गरिरहेका थिए। उनीहरूले अबियले उनीहरूलाई एकअर्काविरुद्ध भिडाएर एक–एक गर्दै सबैलाई समाप्त पार्न खोजिरहेको बुझेका थिए। उनीहरूले के महसुस गरे भने, यदि अस्तित्व जोगाउने हो भने एकअर्काविरुद्धको लडाइँ रोक्न र एकजुट हुनैपर्छ।”

‘अस्तित्वका लागि गठबन्धन’ गठनको घोषणा गर्दै सशस्त्र समूहहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ: “हामी, इथियोपियाका जनताको अस्तित्वका लागि चिन्तित जनशक्तिहरू, यो शासनलाई अपदस्थ गर्ने, सबै [इथियोपियाली] राष्ट्रियता र जनताको अस्तित्वको रक्षा गर्ने तथा नयाँ अध्यायको सुरुवात गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्छौँ। जनशक्तिहरूको ऐतिहासिक दायित्व र पहिलो उद्देश्य हामीमाथि थोपरिएको विनाशकारी युद्धविरुद्ध सामूहिक रूपमा आफ्नो रक्षा गर्नु, हाम्रा जनताको अस्तित्व र देशको सुरक्षालाई खतरामा पारेको प्रोस्पेरिटी पार्टीको व्यक्तिवादी तथा तानाशाही प्रणालीलाई अन्त्य गर्नु हो।”

गठबन्धनका सदस्यहरूबीच अझै पनि केही विवाद कायम छन्। तीमध्ये टिग्रे र अम्हाराबीच विवादित भूभागको विषय पनि एक हो। यी दुवै पक्षका सशस्त्र समूहहरू गठबन्धनका सबैभन्दा ठूला र लामो युद्ध अनुभव भएका समूहहरूमध्ये पर्छन्।

अबियको शासनलाई अपदस्थ गरेपछि गठबन्धनले “सबैलाई समेट्ने संक्रमणकालीन सरकार” गठन गर्ने लक्ष्य राखेको छ। यसका घोषित “प्रमुख उद्देश्यहरू”मा “सबै युद्ध रोक्ने; मानव अधिकार तथा लोकतान्त्रिक अधिकारको प्रत्याभूति गर्ने; ... सामाजिक तथा आर्थिक संकटलाई स्थिर बनाउने” र “छिमेकी देशहरूसँगको सम्बन्ध सुधार गर्ने” रहेका छन्। साथै, इथियोपियाभित्रका विभिन्न समुदायबीचका विवाद समाधान गर्न “इमानदार, विश्वसनीय, पूर्ण रूपमा समावेशी र सहभागितामूलक जनसंवादी तथा संवैधानिक संवाद” सञ्चालन गर्ने प्रतिबद्धता पनि गठबन्धनले जनाएको छ।

यो गठबन्धनका सदस्यहरूबीच अझै पनि केही विवाद कायम छन्। तीमध्ये टिग्रे र अम्हाराबीच विवादित भूभागको विषय पनि एक हो। यी दुवै पक्षका सशस्त्र समूहहरू गठबन्धनका सबैभन्दा ठूला र लामो युद्ध अनुभव भएका समूहहरूमध्ये पर्छन्। “तर उनीहरूले यी विवादहरूलाई संवाद र लेनदेनका माध्यमबाट समाधान गर्ने निर्णय गरिसकेका छन्। एकअर्कालाई भिडाउँदै आएको अबियको शासन सत्ताबाट हटेपछि मात्रै यस्तो संवाद र लेनदेन सम्भव हुनेछ,” एलियासले थपे।

इथियोपियाका सशस्त्र समूहहरूले यो गठबन्धनको घोषणा गरेपछि इएनडिएफका चिफ अफ जनरल स्टाफ, फिल्ड मार्सल बिरहानु जुलाले यसमा इरिट्रियाको भूमिका रहेको आरोप लगाए। उनले गठबन्धनलाई “परिवर्तित स्वरूपमा” रहेको सिम्दो गठबन्धनका रूपमा चित्रण गरे।

इरिट्रियाको सहयोगमा पछिल्लो युद्ध जितेको केही समयमै इथियोपियाले इरिट्रियामाथि देशविरुद्ध सशस्त्र विद्रोहलाई सहयोग गरेको आरोप लगाउन थाल्यो। इरिट्रियाले भने यी आरोपहरूलाई पटक–पटक अस्वीकार गर्दै आएको छ।

“यो गठबन्धन गठनमा इरिट्रियाको प्रत्यक्ष भूमिका थिएन,” एलियासले जोड दिँदै भने। उनका अनुसार, “सिम्दो प्रक्रियाको सफलताले मात्र सशस्त्र समूहहरूमा आत्मविश्वास जगाएको हो।” एकअर्काविरुद्ध समुदायहरूलाई भिडाउने शासन सत्ताबाट हटाउन सकिएमा यी समुदायबीचका विवादहरू संवादमार्फत समाधान गर्न सकिन्छ भन्ने विश्वास यस प्रक्रियाले सशस्त्र समूहहरूमा पैदा गरेको उनको तर्क छ।

यूएईको ‘बन्दरगाह साम्राज्यवाद’को सेवामा

“अस्तित्वका लागि गठबन्धन इथियोपियाका आफ्नै आन्तरिक अन्तर्विरोधहरूको स्वाभाविक उपज हो,” जसलाई अबियले गलत ढंगले व्यवस्थापन गरेका छन्, एलियासको भनाइ छ। इरिट्रियाका विदेशमन्त्री ओस्मान सालेहले हालै अफ्रिकाभर यूएईले अघि बढाइरहेको ‘बन्दरगाह साम्राज्यवाद’का रूपमा वर्णन गरेको नीतिको सेवामा, इथियोपियाली सरकारले यो गठबन्धन इरिट्रियाको सिर्जना भएको दाबी गरेर भविष्यमा इरिट्रियाविरुद्ध गरिने कुनै पनि आक्रामक कदमलाई उचित ठहर्‍याउने आधार तयार गरिरहेको एलियास बताउँछन्।

बन्दरगाह प्राप्त गर्ने अबियको प्रयासले इथियोपियाको पूर्वी छिमेकी सोमालियासँगको सम्बन्धमा पनि तनाव उत्पन्न गरेको छ। सन् २०१८ मा सत्तामा आएलगत्तै उनले सोमालियासँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए। तर जनवरी २०२४ मा उनले सोमालियाको सार्वभौमिकताको उल्लङ्घन गर्दै, उत्तरपश्चिमी भूभागमा नियन्त्रण कायम गरिरहेका पृथकतावादी शक्तिहरूबाट उक्त तटीय भूभाग प्राप्त गरी त्यहाँ नौसैनिक अखडा निर्माण गर्न खोजे। त्यसको बदलामा, उनले उक्त प्रशासनले ‘सोमालील्यान्ड’ भनेर दाबी गर्दै आएको क्षेत्रमाथिको सार्वभौमिकताको दाबीलाई मान्यता दिने प्रस्ताव गरे। त्यतिबेला अन्य कुनै पनि देशले यस्तो मान्यता दिएको थिएन।

तर, सोमालील्यान्ड प्रशासनले इथियोपियालाई उपलब्ध गराउन खोजेको आफ्नो तटीय भूभागको रक्षा गर्न औडल क्षेत्रका समुदायहरूले विरोध जनाए र त्यहाँका युवाहरूले हतियार उठाएपछि इथियोपिया र सोमालील्यान्डबीचको यो समझदारीपत्र कार्यान्वयनमा आउन सकेन। त्यसैले इथियोपियाले सोमालील्यान्डलाई मान्यता दिने प्रक्रिया अघि बढाएन।

डिसेम्बर २०२५ मा इजरायलले सोमालील्यान्डलाई सार्वभौम इकाइका रूपमा मान्यता दिने पहिलो देश बन्यो र अहिलेसम्म पनि त्यसो गर्ने एक मात्र देश बनेको छ। यो मान्यता दिलाउन पर्दापछाडि मध्यस्थता गर्ने देश यूएई थियो।

बरु, पछि डिसेम्बर २०२५ मा इजरायलले सोमालील्यान्डलाई सार्वभौम इकाइका रूपमा मान्यता दिने पहिलो देश बन्यो र अहिलेसम्म पनि त्यसो गर्ने एक मात्र देश बनेको छ। यो मान्यता दिलाउन पर्दापछाडि मध्यस्थता गर्ने देश यूएई थियो। यूएईले यसअघि नै सोमालील्यान्डको बर्बेरा बन्दरगाहमाथि नियन्त्रण कायम गरिसकेको छ। रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल–मन्देब जलडमरूमध्य नजिकको तटीय क्षेत्रमा यूएईले अमेरिका र इजरायलका लागि नौसैनिक अखडा निर्माण गरिरहेको बताइएको छ।

युद्धग्रस्त सुडानको मुख्य बन्दरगाह पोर्ट सुडानमाथि पनि यूएईले धेरै वर्षदेखि नियन्त्रण कायम गर्ने प्रयास गर्दै आएको छ। त्यहाँ उसले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) लाई समर्थन गरिरहेको छ। दारफुरमा आरएसएफले सञ्चालन गरेको अभियानलाई संयुक्त राष्ट्रसंघको एक तथ्य–अन्वेषण मिसनले ‘नरसंहारात्मक’ भनेर वर्णन गरेको थियो।

इथियोपियाले सुडानमा नरसंहार गरिरहेको अर्धसैनिक समूहलाई किन समर्थन गरिरहेको छ?

विभिन्न सञ्चारमाध्यमका अनुसन्धानहरूले, साथै अमेरिकास्थित येल विश्वविद्यालयको ह्युम्यानिटेरियन रिसर्च ल्याबले गरेको भू–उपग्रह तस्बिर विश्लेषणले पनि इथियोपियाली सैन्य अखडाहरूबाट आरएसएफलाई हतियार तथा सवारीसाधन आपूर्ति भइरहेको देखाएका छन्।

सन् २०२५ मा आरएसएफले कथित रूपमा आफ्ना हजारौँ लडाकुहरूलाई इथियोपियामा ल्याउँदा, सुडानी सेनाले इथियोपियाली भूभागबाट ड्रोन आक्रमण गरेको आरोप आरएसएफ माथि लगाएको थियो। पछि, अगस्ट २०२६ मा आरएसएफले इथियोपियाली भूभागबाटै सुडानको एक रणनीतिक सीमावर्ती सहरमाथि स्थल आक्रमणसमेत गरेको थियो।

सुडानमा जारी युद्धमा इथियोपियाको कुनै रणनीतिक स्वार्थ नरहेको हसन बताउँछन्। तर, उनका अनुसार “यूएईले अबियलाई किनेको छ” र सुडानमा उसले सञ्चालन गरिरहेको छद्म युद्धमा “अबियलाई प्यादाका रूपमा प्रयोग गरिरहेको छ।”

हर्न अफ अफ्रिकामा क्षेत्रीय युद्धको विस्तार?

अब स्वयं इथियोपिया विस्तार हुँदै गएको गृहयुद्धको सामना गरिरहेको अवस्थामा, यी दुई युद्धहरू एकअर्काको सीमापारि फैलिँदै अन्ततः गाभिन सक्ने र अझ व्यापक तथा निरन्तर युद्धग्रस्त क्षेत्र निर्माण हुने गम्भीर जोखिम देखिएको छ।

“यस्तो अवस्थाबाट कसलाई फाइदा हुन्छ? यूएई र इजरायल चाहन्छन् कि देशहरू कमजोर र विघटित होऊन्,” ताकि उनीहरूले यस क्षेत्रमाथि अझ बढी नियन्त्रण कायम गर्न सकून्। आज यो क्षेत्र यमनमा अन्सार अल्लाहविरुद्ध आफ्नो प्रयास अघि बढाउन र ‘एक्सिस अफ रेजिस्टेन्स’लाई कमजोर पार्न उनीहरूका लागि झन् बढी रणनीतिक महत्त्वको बन्दै गएको छ।

“हर्न अफ अफ्रिकाका विवेकशील शक्तिहरूले यो कुरा बुझ्नुपर्छ र यस क्षेत्रमा यूएई–इजरायलको स्वार्थअनुसार काम गरिरहेका शक्तिहरूविरुद्ध एकजुट हुनुपर्छ, चाहे त्यो सुडानको आरएसएफ होस्, इथियोपियामा अबियको शासन होस् वा पृथकतावादी सोमालील्यान्ड।”

Source: https://breakthroughnews.org

अनुवाद एवं प्रस्तुति: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्