विद्यालय तहबाटै बलियो बन्दै नेपाल-चीन सम्बन्ध

काठमाडौँ नेपाल र चीनबीचको सम्बन्ध अब केवल सरकार र कूटनीतिक तहमा सीमित नरही विद्यालयस्तर हुँदै जनस्तरसम्म विस्तार हुँदै गएको धारणा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा व्यक्त गरिएको छ। विद्यालयस्तरीय चिनियाँ भाषा तथा कला प्रदर्शन प्रतियोगितामा वक्ताहरूले भाषा र संस्कृतिको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप निकट बनाइरहेको बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक ली सुआङ्छेङले विद्यालय तहका बालबालिकामा चिनियाँ भाषा र संस्कृतिबारे ज्ञान विस्तार गर्न पाएकोमा आफूले गौरव महसुस गरेको बताए। उनले यस्ता गतिविधिले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र जनस्तरको सम्बन्धलाई पनि गहिरो बनाउने धारणा राखे।

कार्यक्रममा नेपाल ओभर्सिज चाइनिज एसोसिएसनका उपाध्यक्ष गु यङमिनले भाषा, संस्कृति र शैक्षिक सहकार्य दुई देशबीचको सम्बन्धको दीर्घकालीन आधार बन्दै गएको बताए। उनले विद्यार्थीहरूबीच चिनियाँ भाषाप्रतिको रुचि बढ्नु नेपाल-चीन मित्रताको सकारात्मक संकेत भएको उल्लेख गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिजेन्ट रेसिडेन्सियल स्कुलकी प्रिन्सिपल डा. विद्या पोखरेलले प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिताले नेपालमा चिनियाँ भाषा अध्ययनप्रति बढ्दो चासो झल्काएको बताईन्।

विद्यालयस्तरीय प्रतियोगितामा सहभागी विद्यार्थीहरूले चिनियाँ भाषामा विभिन्न प्रस्तुति दिएका थिए भने चिनियाँ सांस्कृतिक कलासमेत प्रस्तुत गरिएको थियो। आयोजकले यस्ता गतिविधिले बालबालिकालाई अन्तर्राष्ट्रिय सांस्कृतिक परिवेशसँग परिचित गराउने विश्वास व्यक्त गरेको छ।