विद्रोही आत्माहरू
त्यस मानिसको सर्वनाशको कल्पना गर्नुहोस्, जो कुनै कुमारीको प्रेममा पर्छ र उसलाई आफ्नो जीवनसंगिनी बनाउँछ। आफ्नो कडा मिहिनेतको कमाइ र आफ्नो कलेजोको रगत उसैका पाउमा अर्पण गरिदिन्छ। आफ्नो परिश्रमको फल र आफ्ना प्रयासहरूको पुरस्कार आफ्नै हातबाट उम्कन दिन्छ। अनि अचानक उसलाई यो कुरा थाहा हुन्छ कि जुन स्त्रीलाई उसले दिनभरिको कठोर परिश्रम र रातभरिको जागरणबाट प्राप्त गरेको थियो, उसले त आफ्नो हृदय अर्कै पुरुषलाई सुम्पिसकेकी रहेछ; ताकि ऊ त्यस पुरुषको धन-सम्पत्तिको फाइदा उठाउन सकोस् र आफ्नो प्रेमको संसारलाई हराभरा बनाउन सकोस्।
अनि त्यस स्त्रीको विनाशलाई पनि हेर्नुहोस्, जसले जवानीको मातबाट अचानक होसमा आएर आफूलाई एउटा पुरुषको हातमा सुम्पिदिएकी छे। उसकै धन-सम्पत्तिमा मोजमस्ती गरेकी छे, उसकै प्रेम र आदर-सत्कारको फाइदा उठाएकी छे; तर उसको आफ्नो हृदयलाई भने प्रेमको एउटा सानो झिल्कासम्मले स्पर्श गरेको छैन र उसले आफ्नो आत्मालाई त्यस आध्यात्मिक मदिराले तृप्त पार्न सकेकी छैन, जुन पुरुषका आँखाहरूबाट बगेर स्त्रीको हृदयमा थोपा-थोपा भई खस्ने गर्छ।
म रशीद बेग नामानलाई लामो समयदेखि चिन्दथेँ। ऊ लेबनानको बासिन्दा थियो र उसको जन्म बेरुतमा भएको थियो। ऊ एउटा अत्यन्तै पुरानो र धनी घरानासँग सम्बन्ध राख्थ्यो, जहाँ जीवनयापनको परम्परागत शैली अझैसम्म विद्यमान थियो। आफ्ना पूर्वजहरूका ती कथाहरू वर्णन गर्दा ऊ गर्व महसुस गर्थ्यो, जसबाट खानदानको भद्रपन र गौरव झल्कन्थ्यो। रहनसहनको ढाँचा र पुराना विश्वासहरूमा ऊ आफ्ना पूर्वजहरूकै पदचिह्नमा हिँड्ने गर्थ्यो। हो, बानीव्यहोरा र पहिरनमा भने उसले केही परिवर्तन ल्याएको थियो र ऊ पश्चिमी शैलीको पोशाकको पारखी थियो। उसका खानदानका स्त्रीहरू पश्चिमी पोशाकमा हावामा उडिरहेका चराहरूको बथानजस्तै प्रतीत हुन्थे।
रशीद बेग अत्यन्तै कोमल हृदय भएको र भद्र पुरुष थियो। धेरैजसो सिरियाली (शामी) मानिसहरू वस्तुहरूलाई बाहिरी दृष्टिले मात्र हेर्ने गर्छन् र तिनका आन्तरिक तत्त्वहरूको ख्याल पटक्कै गर्दैनन्। तिनीहरू गीतका भित्री भावहरूलाई चिन्ने प्रयास गर्दैनन्, बरु ती सुरिला स्वरहरूबाट मात्र आनन्द लिएर अडिन्छन्, जसले गीतलाई घेरेका हुन्छन्। तिनीहरू आफ्नो ध्यान तिनै बाहिरी कुराहरूमा केन्द्रित गर्छन्, जसले जीवनका गूढ रहस्यहरूबाट दिव्य चक्षुहरूलाई समेत अन्धो बनाइदिन्छन्; र वस्तुहरूका गुप्त रहस्यहरू बुझ्नुको सट्टा आफूलाई क्षणिक सुख-सुविधाका लागि अर्पण गरिदिन्छन्। रशीद बेग ती मानिसहरूमध्ये एक थियो, जो प्रेम प्रकट गर्न वा वस्तु र मानिसहरूका बारेमा अन्दाज लगाउन हतारिन्छन् र पछि आफ्नो त्यही हतारोमा लजाउँछन् अनि पश्चात्ताप गर्छन्। तर यो बोध तिनीहरूलाई तब मात्र हुन्छ, जब समय हातबाट उम्किइसकेको हुन्छ र लज्जा एवं वरदानको सट्टा त्यो उपहास र तिरस्कारको कारण बन्न पुग्छ।
यी तिनै गुण र बानीहरू थिए, जसले रशीद बेगलाई गुलबदनको प्रेमजालमा फसाइदिए। उसले दुवैका हृदय एकाकार हुनु र घर-गृहस्थीको जीवनलाई स्वर्ग बनाउने त्यो वास्तविक प्रेम प्रारम्भ हुनुभन्दा अगावै गुलबदनसँग विवाह गरिहाल्यो।
म केही वर्ष बेरुतभन्दा बाहिर रहेँ र फर्किएपछि रशीद बेगलाई भेट्न गएँ। मैले देखेँ– रशीदको शरीर दुब्लो भइसकेको छ, रूप-रङ बदलिसकेको छ र उसको अनुहारमा दुःख अनि शोकका स्पष्ट चिह्नहरू देखिन्छन्। उसका चिन्ताग्रस्त आँखाहरू र उदास दृष्टिले उसको हृदयको बर्बादी र मनको अन्धकारको कथा मौन भाषामा बयान गरिरहेका थिए। बाहिरबाट उसको पीडाको कुनै कारण नदेखिएकाले मैले प्रश्न गरेँ, “हे भलादमी, तिमीलाई के कष्ट छ? अनि त्यो खुसी कहाँ गयो, जुन तिम्रो अनुहारबाट सूर्यका किरणहरूझैँ प्रस्फुटित हुने गर्थ्यो? त्यो आनन्द कहाँ हरायो, जुन तिम्रो जवानीसँग जोडिएको थियो? के मृत्युले तिम्रो कुनै प्रिय मित्र र तिम्रो बीचमा दूरी ल्याइदिएको हो वा अँध्यारा रातहरूले तिम्रो त्यो सम्पत्ति लुटिदिए, जुन तिमीले समृद्धिका दिनहरूमा साचेका थियौ? हाम्रो मित्रताको खातिर मलाई भन न, आखिर कस्तो विपत्ति तिमीमाथि आइपर्यो?”

मानिसको मनको शान्ति नै नष्ट भयो भने उसले त्यसलाई कहाँ पाउन सक्छ र? अनि त्यसको भरपाइ उसलाई कहाँ मिल्न सक्छ र? मृत्युले आफ्नो हात बढाउनेछ र तिमीलाई आफ्ना निर्दयी पञ्जाहरूमा थिच्नेछ, तर तिमी मर्न सक्नेछैनौ; यहाँसम्म कि हाँसिरहेको जीवनका औँलाहरूले तिमीलाई छोएर तिम्रो अनुहारमा खुसी र मुस्कानका किरणहरू कोरिनेछन्।
रशीदले पीडायुक्त दृष्टिले मतिर हेर्यो र मैले उसका सुखका दिनहरूका बारेमा भनेका शब्दहरूमाथि विचार गर्न थाल्यो। अनि उसले आफ्ना आँखाहरू बन्द गर्यो र निराशा एवं क्लेशले भरिएको स्वरमा भन्यो, “तिम्रो कुनै संरक्षकको मृत्यु भयो र तिमीले आफ्नो वरपर अरू धेरै साथीहरू रहेको देख्यौ भने तिमी धैर्य धारण गर्नेछौ; अनि तिम्रो आर्थिक क्षति भयो र तिमीले जसरी यो सम्पत्ति आएको थियो, त्यसरी नै फेरि पनि आउनेछ भन्ने सोच्यौ भने तिमी त्यस समृद्धिको आनन्दमा क्षतिलाई बिर्सिनेछौ। तर मानिसको मनको शान्ति नै नष्ट भयो भने उसले त्यसलाई कहाँ पाउन सक्छ र? अनि त्यसको भरपाइ उसलाई कहाँ मिल्न सक्छ र? मृत्युले आफ्नो हात बढाउनेछ र तिमीलाई आफ्ना निर्दयी पञ्जाहरूमा थिच्नेछ, तर तिमी मर्न सक्नेछैनौ; यहाँसम्म कि हाँसिरहेको जीवनका औँलाहरूले तिमीलाई छोएर तिम्रो अनुहारमा खुसी र मुस्कानका किरणहरू कोरिनेछन्। अनि होस हराएका क्षणहरूमा कालले आफ्ना भयावह आँखाहरू तिम्रा आँखाहरूमा गाडेर तिमीलाई गर्धनमा समात्नेछ र अत्यन्तै निर्दयतापूर्वक भुइँमा बजारेर आफ्ना फलामे गोडाले कुल्चिदिनेछ अनि तिमीप्रति उपहास गर्दै हिँड्नेछ। केही समयपछि ऊ लज्जित भएर फर्किआउनेछ, आफ्ना सुकोमल हातहरूले तिमीलाई उठाउनेछ र आशाका गीतहरू गाएर तिमीलाई व्याकुल बनाइदिनेछ। रातका कल्पनाहरूसँगै अनगिन्ती विपत्ति र कष्टहरू तिम्रो अगाडि उभिनेछन् र बिहान नहोउन्जेल तिमीलाई उदासीको भुमरीमा राखिरहनेछन्। तिमी आफ्नो विश्वास र दृढ सङ्कल्पलाई बुझेर पनि आशैआशाको जालोमा अल्झिरहनेछौ।
“तर तिम्रो भाग्यमै यो लेखिएको छ कि तिम्रो आफ्नै अस्तित्वका कारण त्यो वस्तु टाढा उडेर जाओस्, जसलाई तिमी अगाध माया गर्छौ, जसलाई तृप्त पार्न तिमीले आफ्नै मुटुको टुक्रा र पिउनका लागि आफ्ना आँखाको ज्योति दिइरह्यौ, जसलाई तिमीले आफ्नो हृदयमा सजाएर राख्यौ र जसको आहार नै तिम्रो कलेजो बन्यो भने तिम्रो के हालत होला? जब तिमीले यो देख्नेछौ कि तिम्रो प्यारी चरी तिम्रो हातबाट उम्किएर उडी बादलहरूसम्म पुगेकी छे, अनि तल ओर्लेर कुनै अर्कैको पिँजडामा गएर बसेकी छे र अब उसको फिर्तीको कुनै आश बाँकी छैन, तब तिमी के गर्नेछौ? ईश्वरका लागि भन, त्यसपछि तिमी के नै गर्न सक्नेछौ र? तिमीले कसरी धैर्य र शान्ति पाउनेछौ अनि तिम्रा आशाहरू कसरी जीवित रहन सक्नेछन्?”
रशीद बेगले अन्तिम वाक्य यसरी भन्यो, मानौं उसको सातो गइरहेको थियो र सासमा अवरोध भइरहेको थियो। ऊ अचानक आफ्ना गोडामा उभियो र हावाको झोक्काले घाँसको सुकेको पात थरथराएझैँ थरथर काँप्न थाल्यो। उसले आफ्ना हातहरू अगाडितिर यसरी फैलायो, मानौं ऊ आफ्ना बाँगिएका औँलाहरूले कुनै वस्तुलाई समातेर टुक्रा-टुक्रा पारिदिन चाहन्छ। उसका आँखाहरूमा रगत उत्रिरहेको थियो र अनुहार रिसले रातोपिरो भइरहेको थियो। आँखाहरू फुल्लिएर बाहिर निस्किएलान् झैँ देखिन्थे र ओठहरू कामिरहेका थिए। उसले यताउति फन्को मार्यो; मानौं उसले आफ्नो सामुन्ने कुनै विशाल अजिङ्गर देखिरहेको छ, जसले उसलाई निल्न खोजिरहेको होस्। यसपछि उसले मतिर हेर्यो र उसको अनुहारको रङ पुनः पहिलेकै अवस्थामा फर्कियो। उसको त्यो आक्रोश र रिस पीडा अनि गहिरो शोकमा परिणत भयो। उसले रुँदै भन्यो, “त्यो स्त्री हो! हो, त्यही स्त्री हो, जसलाई मैले गरिबी र दासताको गहिरो खाडलबाट निकालेर उसका अगाडि सम्पत्तिको भण्डार राखिदिएँ अनि उसलाई यस योग्य बनाएँ कि उसका भव्य वस्त्र, सुन्दर रूप र चाकरहरू देखेर अरू स्त्रीहरूले डाह गरून्।
मेरो प्रेमको बगैँचालाई हराभरा बनाउने त्यस पवित्र देवीले भयानक सैतानको रूप धारण गरी र अँध्यारोमा गएर फँसी, ताकि उसका पाप र काला कुकृत्यहरूले मलाई निरन्तर पीडा दिइरहुन्।
“त्यो स्त्री, जसलाई मेरो हृदयले अगाध प्रेम गर्थ्यो र जसका पाउहरूमा मैले आफ्नो सम्पूर्ण स्नेह र करुणा अर्पण गरिदिएँ, जसलाई मैले आफ्नो उदारता र कृपाले उच्च स्थानमा पुर्याएँ, त्यो स्त्री, जसको म सच्चा सहयात्री, सच्चा मित्र र निष्ठावान् पति थिएँ, ऊ नै पूर्णतः विश्वासघाती र दुष्ट साबित भई। अब ऊ गरिबीको अपमानजनक जीवन बिताउनका लागि अर्कै पुरुषको शरणमा गएकी छे। त्यो स्त्री, जसको म प्रेमी थिएँ; त्यो सुन्दर चरी, जसलाई मैले आफ्नो मुटुको धडकन दिएँ, आफ्ना आँखाहरूको तेज पिलाएँ, आफ्नै छातीलाई उसको पिँजडा बनाएँ र आफ्नो कलेजाको टुक्रा खान दिएँ, त्यो चरी मेरो हातबाट फुत्किएर गइदिई। त्यति मात्र होइन, ऊ उडेर एउटा यस्तो पिँजडामा गएर बसी, जुन काँडाघारीका सिन्काहरूले बनेको छ, जहाँ खानका लागि काँडा र किरा-फट्याङ्ग्राहरू छन् अनि पिउनका लागि विष र तीतो पानी छ। मेरो प्रेमको बगैँचालाई हराभरा बनाउने त्यस पवित्र देवीले भयानक सैतानको रूप धारण गरी र अँध्यारोमा गएर फँसी, ताकि उसका पाप र काला कुकृत्यहरूले मलाई निरन्तर पीडा दिइरहुन्।”
म आफ्नो ठाउँबाट उठेँ। मेरा आँखाहरू रसाएका थिए र मेरो हृदय सहानुभूतिले भरिएको थियो। तैपनि म चुपचाप यसरी बिदा भएँ, मानौं उसका कुराहरू निरर्थक थिए। उसको घाइते हृदय शोकमा डुबेको थियो र प्रकृतिलाई पनि यो मन्जुर थिएन कि कुनै सानो झिल्काले उसको हृदयको अन्धकारलाई प्रकाशित गरोस्।
केही दिनपछि म रुख र फूलहरूले घेरिएको एउटा सानो घरमा गुलबदनलाई भेट्न गएँ। जब गुलबदन रशीद बेग नामानको घरमा थिई, तब उसले मेरो नाम सुनेकी थिई।
जब मैले गुलबदनका सुन्दर आँखाहरू देखेँ र उसको मीठो स्वरको गीत सुनेँ, तब मैले मनमै भनेँ, ‘के यस्तो हुन सक्छ कि यो स्त्री दुष्ट होस्? अनि के यो सम्भव छ कि यो निष्कलङ्क र सफा अनुहारले कुनै पापी हृदयलाई छोपिरहेको छ?’
तर मैले यी विचारहरूलाई त्यागेर आफ्नो हृदयसँग भनेँ, ‘जसले त्यो अभागी पुरुषलाई बर्बाद गर्यो, के त्यो यही सुन्दर अनुहार हुन सक्दैन? अनि के हामीले यो देखे-सुनेका छैनौँ कि बाहिरी सुन्दरता नै आन्तरिक विनाश र गहिरा दुःखहरूको कारण बन्न पुग्छ? के त्यही चन्द्रमा, जुन कविहरूको सूक्ष्म कल्पनामा प्रकट हुन्छ, समुद्रमा छालहरू उत्पन्न गरेर आँधीबेहरीको कारण बन्दैन र?’

जब मैले गुलबदनका सुन्दर आँखाहरू देखेँ र उसको मीठो स्वरको गीत सुनेँ, तब मैले मनमै भनेँ, ‘के यस्तो हुन सक्छ कि यो स्त्री दुष्ट होस्? अनि के यो सम्भव छ कि यो निष्कलङ्क र सफा अनुहारले कुनै पापी हृदयलाई छोपिरहेको छ?’
हामी दुवै बस्यौँ र गुलबदनले, मानौं उसलाई मेरो चिन्ताको बोध भइसकेको थियो, मेरो आश्चर्य र शङ्काहरूका बीच चलिरहेको द्वन्द्व धेरै बेर रहिरहोस् भन्ने चाहेन। त्यसैले उसले आफ्नो सुन्दर टाउकोलाई आफ्नो गोरो हातको सहारा दिई र सङ्गीतझैँ मधुर स्वरमा भनी, “हे भलादमी! मैले यसअघि कहिल्यै तिमीसँग भेटेकी छैन, तर तिम्रा विचारहरू अरू मानिसहरूको मुखबाट सुनिसकेकी छु। मलाई थाहा छ कि तिमी विपत्तिमा परेका महिलाहरूप्रति दया दृष्टि राख्छौ, तिनीहरूका कमजोरीहरूप्रति तिम्रो सहानुभूति छ र तिनीहरूका दुःखको तिमीलाई राम्रो ज्ञान छ। त्यसैले म चाहन्छु कि आफ्नो मनको व्यथा तिमीलाई सुनाऊँ र आफ्नो मन उघारेर तिम्रो सामुन्ने राखिदिऊँ, ताकि तिमीले मेरा विपत्तिहरूलाई देख्न सकौ र मानिसहरूलाई गुलबदन कुनै कपटी वा दुष्ट स्त्री होइन भनेर भन्न सकौ ।
“मेरो उमेर अठार वर्षको थियो, जब समय र प्रकृतिले मेरो भाग्यलाई रशीद बेग नामानसँग बाँधिदिए। त्यस समय उसको उमेर करिब चालिस वर्षको थियो। उसले प्रेमका कुराहरू बढाउँदै लगेर अन्ततः मलाई आफ्नी पत्नी र आफ्नो भव्य महलकी मालकिन बनायो। मेरो आसपास नोकर-चाकरहरूको ठूलो लस्कर हुन्थ्यो। रशीद बेगले मलाई बहुमूल्य वस्त्रहरू पहिराइदियो, मेरो शिर, पाखुरा र गर्धनलाई रत्न-आभूषणहरूले सजाइदियो र मलाई एउटा उपहार सरह आफ्ना साथीभाइहरूका घरमा घुमाइरह्यो। उसको ओठमा वीरता र विजयको मुस्कान नाचिरहेको हुन्थ्यो। ऊ उत्सुक र लोभी दृष्टिले मतिर हेर्थ्यो र जब स्त्रीहरू मेरो सौन्दर्य र फेसनको प्रशंसा गर्थे, तब उसको शिर गर्वले उच्च हुने गर्थ्यो। तर सायद उसले स्त्रीहरूका ती कानेखुसीहरू सुन्दैनथ्यो, जुन तिनीहरू प्रायः गर्ने गर्थे। एउटीले भन्थी, ‘यो रशीद बेगकी पत्नी हो कि छोरी?’ अर्कीले भन्थी, ‘रशीद बेगले आफ्नो जवानीका दिनहरूमा विवाह गरेको भए उसको छोरीको उमेर पनि गुलबदनको भन्दा बढी हुन्थ्यो।’
जब म ब्युँझिएँ र यी सत्यहरूसँग परिचित भएँ, तब मलाई बोध भयो कि स्त्रीको चरित्र पुरुषको कुलीनता, श्रेष्ठता, सहनशीलता वा कृपामा आधारित हुँदैन; बरु त्यो त उस प्रेममा हुन्छ, जसले उसको आत्मालाई पुरुषको आत्मासँग एकाकार गराइदिन्छ र उसको प्रीतिलाई पुरुषको हृदयसँग बाँधेर दुवैलाई ‘दुई शरीर एक प्राण’ बनाइदिन्छ।
“यो सब त्यतिबेला भयो, जब म जीवनका रहस्यहरूसँग परिचित भएकी थिइनँ। मेरो हृदयमा प्रेमको पवित्र झिल्का चम्केको थिएन र मभित्र सुख-दुःखको बिउ रोपिएको थिएन। हो, यो सब त्यतिबेला भयो, जब म आफूले पहिरिएका सुन्दर वस्त्र र बहुमूल्य गहनाहरूलाई नै सच्चा चरित्र मान्ने गर्थेँ र म चेतनाको निद्राबाट ब्युँझिएकी थिइनँ। तर जब म ब्युँझिएँ र प्रकाशले मेरो हृदयको शून्यतालाई भरिदियो अनि पवित्र आगोले मेरो मनमा एउटा छटपटी पैदा गरिदियो, तब मेरो आत्माले पीडाहरू महसुस गर्न थाल्यो। जब म ब्युँझिएँ, मैले देखेँ कि मेरा पखेटाहरू दायाँ-बायाँ हल्लिरहेका छन् र मलाई उडाएर प्रेमको आकाशतर्फ लैजान चाहन्छन्। तर जब मैले आफूलाई धर्मशास्त्रका ती साङ्ग्लाहरूमा बाँधिएको पाएँ, जसले मेरो शरीरलाई ती बन्धनहरू र धर्मशास्त्र बुझ्नुअघि नै पक्रिसकेका थिए, तब म थरथर काँपेँ। जब म ब्युँझिएँ र यी सत्यहरूसँग परिचित भएँ, तब मलाई बोध भयो कि स्त्रीको चरित्र पुरुषको कुलीनता, श्रेष्ठता, सहनशीलता वा कृपामा आधारित हुँदैन; बरु त्यो त उस प्रेममा हुन्छ, जसले उसको आत्मालाई पुरुषको आत्मासँग एकाकार गराइदिन्छ र उसको प्रीतिलाई पुरुषको हृदयसँग बाँधेर दुवैलाई ‘दुई शरीर एक प्राण’ बनाइदिन्छ। जब यो पीडादायी सत्य मेरो सामुन्ने छर्लङ्ग भयो, तब मैले देखेँ कि म रशीद बेग नामानको घरमा एउटी चोरझैँ बसिरहेकी छु। म उसको अन्न खान्छु र रातको अँध्यारोमा लुक्ने गर्छु। मैले बुझेँ कि मैले हरेक दिन उसको सामीप्यमा बिताइरहेको समय एउटा यस्तो असत्य हो, जुन मेरो निधारमा छलका बलिरहेका अक्षरहरूमा लेखिँदै छ र आकाश अनि धरतीले त्यसलाई हेरिरहेका छन् र म उसको भलाइ अनि कृपाको बदलामा उसलाई साँचो हृदयले प्रेम गर्न सक्दिनँ र न त उसको परोपकार एवं स्नेहको बदलामा आफ्नो माया नै दिन सक्छु। मेरो मनमा एउटा विचार आयो– र त्यो विचार यो थियो कि मैले उसलाई माया गर्न सिक्नुपर्छ। तर मैले उसलाई प्रेम गर्न सिक्नै सकिनँ, किनकि प्रेम एउटा यस्तो शक्ति हो जसलाई हृदयहरूले प्राप्त गर्न सक्दैनन्, बरु जसले स्वयम् हृदयहरूलाई जित्ने गर्छ। मैले ईश्वरसँग प्रार्थना गरेँ र उहाँको सामुन्ने धेरै रोएँ-कराएँ अनि रातको शान्त वातावरणमा आकाशसामु व्यर्थै हारगुहार गरेँ कि ‘हे आकाश! मेरो आत्मालाई त्यस पुरुषको आत्मासँग मिलाइदेऊ, जसलाई मैले आफ्नो जीवनको सहयात्री बनाएकी छु।’ तर आकाशले त्यसो गरेन, किनकि प्रेम हाम्रा आत्माहरूमा ईश्वरको तर्फबाट जन्म लिन्छ, मागेर पाइँदैन।
मेरो मनमा एउटा विचार आयो– र त्यो विचार यो थियो कि मैले उसलाई माया गर्न सिक्नुपर्छ। तर मैले उसलाई प्रेम गर्न सिक्नै सकिनँ, किनकि प्रेम एउटा यस्तो शक्ति हो जसलाई हृदयहरूले प्राप्त गर्न सक्दैनन्, बरु जसले स्वयम् हृदयहरूलाई जित्ने गर्छ।
“यसरी म त्यस पुरुषको घरमा पूरा दुई वर्षसम्म रोइ-कराइ रहिरहेँ। म चराहरूको स्वतन्त्रता देखेर डाह गर्थेँ र मलाई देख्ने स्त्रीहरू मेरो जेलखानाजस्तै घर देखेर डाह गर्थे। म दिनरात विलाप गरिरहन्थेँ र हरेक दिन भोक र तिर्खाले छटपटिएझैँ मर्थेँ। अन्ततः तिनै अँध्यारा दिनहरूमध्ये एक दिन त्यस अन्धकारको पछाडि प्रकाशको एउटा सुन्दर किरण देखियो, जुन मेरो आफ्नै आँखाबाट निस्किरहेको थियो। मैले देखेँ कि एउटा नवयुवक जीवनको बहावमा एक्लै बगेर गइरहेको छ र त्यस घरमा किताब अनि कागजातहरूको खासमा एक्लो जीवन बिताइरहेको छ। मैले आफ्ना आँखाहरू बन्द गरेँ ताकि म त्यो किरणलाई देख्न नसकूँ। मैले आफूले आफैंलाई भनेँ, ‘तिम्रो भाग्यमा चिहानको अँध्यारो लेखिएको छ भने तिमी प्रकाशको लोभ किन गर्छौ?’ त्यसपछि मैले स्वर्गका देवदूतहरूको एउटा गीत सुनेँ, जसको लयले मलाई तड्पाइदियो। मैले आफ्ना कानहरू थुनेँ र आफैंसँग भनेँ, ‘तिम्रो कर्ममा रुनु–कराउनु नै लेखिएको छ भने तिमी गीतको आशा किन गर्छौ?’ मैले आफ्ना कानहरू बन्द गरेँ ताकि म त्यो गीत सुन्न नसकूँ। तर मेरा आँखाहरू बन्द भएर पनि त्यस किरणलाई नै देखिरहे। म डरले हड्बडाएर उठेँ। एउटा फकिर एउटा धनीको महल अगाडि हीराजस्तै लडिरहेको थियो, तर ममा न त उसलाई उठाउने हिम्मत थियो न त उसलाई त्यागेर जान नै सक्थेँ। मैले रुन सुरु गरेँ। म विपत्तिहरूले घेरिएकी थिएँ! अन्ततः म प्रतीक्षा र बेचैनीको चोटले भुइँमा ढलेँ।”
यो एउटा यस्तो दुःखान्त कथा हो, जुन नारी, रगत र आँसुहरूले लेखिन्छ र यसलाई पढेर मानिसहरू हाँस्ने गर्छन्, किनकि तिनीहरू यसलाई बुझ्न सक्दैनन् र बुझिहाले भने पनि तिनीहरूको हाँसो निर्दयता र व्यभिचारमा परिणत हुन्छ अनि तिनीहरू रिसको ज्वालामा चुलिएर स्त्रीको शिरमाथि जाइलाग्छन् र उसका कानहरूलाई धिक्कार तथा भर्त्सनाहरूले भरिदिन्छन्।
यहाँ पुगेर गुलबदन एक छिनका लागि रोकिई र उसले आफ्ना ठूला-ठूला आँखाहरू बन्द गरी, मानौं विगतको त्यो दृश्य उसको आँखैअगाडि घुमिरहेको थियो। ऊ साहसका साथ आँखा जुधाएर मतिर हेर्न सकिरहेकी थिइन। त्यसपछि उसले आँखाहरू उघारी र भनी, “ती मानिसहरू जो कहिल्यै नमेटिने संसारबाट आउँछन् र वास्तविक जीवनसँग परिचित हुनुअघि नै फर्केर जान्छन्, तिनीहरू त्यस स्त्रीको दुःखसँग परिचित हुन सक्दैनन् जसको एकातिर त्यो पुरुष छ जसको प्रेम उसलाई भगवानको तर्फबाट प्रदान गरिएको हो र अर्कोतर्फ त्यो पुरुष छ, जससँग ऊ यस संसारका धार्मिक बन्धनहरूमा बाँधिएकी छिन्। यो एउटा यस्तो दुःखान्त कथा हो, जुन नारी, रगत र आँसुहरूले लेखिन्छ र यसलाई पढेर मानिसहरू हाँस्ने गर्छन्, किनकि तिनीहरू यसलाई बुझ्न सक्दैनन् र बुझिहाले भने पनि तिनीहरूको हाँसो निर्दयता र व्यभिचारमा परिणत हुन्छ अनि तिनीहरू रिसको ज्वालामा चुलिएर स्त्रीको शिरमाथि जाइलाग्छन् र उसका कानहरूलाई धिक्कार तथा भर्त्सनाहरूले भरिदिन्छन्।
“यो एउटा यस्तो पीडादायी गाथा हो, जुन नाटक रातको अँध्यारोमा ती हरेक स्त्रीको हृदयभित्र मञ्चन भइरहन्छ, जसको शरीर विवाहको वास्तविकता बुझ्नुअघि नै कुनै पुरुषको घर-गृहस्थीको घेराभित्र बन्दी बन्न पुग्छ, तर जसले आफ्नो आत्मालाई अर्कै कुनै पुरुषका लागि छटपटाइरहेको पाउँछिन्, जसलाई ऊ वास्तविक अर्थमा प्रेम गर्छिन्। यो एउटा यस्तो भयानक सङ्घर्ष हो, जसको सुरुवात स्त्रीको कमजोरी प्रकट हुनुबाट हुन्छ र त्यसबेलासम्म यो समाप्त हुँदैन, जबसम्म त्यस कमजोरीलाई सबलताको गुलामीबाट छुटकारा मिल्दैन । मानिसहरूका जीर्ण भइसकेका धर्मशास्त्रहरू र हृदयका पवित्र भावनाहरूका बीच यो एउटा प्राणघातक युद्ध हो–हो, तिनै पवित्र भावनाहरूका बीच, जसका कारण म हिजोसम्म भुइँमा ढलेर मृत्युको कामना गरिरहेकी थिएँ र रगतका आँसु रोइरहेकी थिएँ।
“तर म उठें र मैले आफैंलाई अरू स्त्रीहरूको मूर्खताबाट मुक्त गरेँ, आफ्ना गोडालाई कमजोरी र गुलामीका पासोहरूबाट छुटाएँ र प्रेम एवं स्वतन्त्रताको वायुमण्डलमा उड्न थालेँ। अब म अत्यन्तै भाग्यमानी छु, किनकि मलाई त्यस पुरुषको सामीप्य प्राप्त छ, जसको हृदयबाट प्रेमको लप्का मतिर प्रस्फुटित भएको छ। अब यस संसारमा त्यस्तो कुनै शक्ति शक्तिशाली छैन, जसले मेरो यो सौभाग्यलाई मबाट खोस्न सकोस्, किनकि हाम्रा आत्माहरू समझदारी र प्रीतिको धागोमा एकआपसमा गाँसिएका छन्।”
गुलबदनले मतिर अर्थपूर्ण दृष्टिले हेरी, मानौं ऊ यो चाहन्थी कि मेरा आँखाहरूबाट मेरो हृदयभित्रको स्थितिलाई पढेर यो पत्ता लगाओस् कि मेरो मनमा उसका कुराहरूको कस्तो प्रभाव परेको छ। त्यसपछि ऊ मेरा भित्री मनबाट कुनै प्रतिक्रिया वा स्वर सुन्न चाहन्थी। तर म चुपचाप नै रहेँ, किनकि सायद मैले बोल्नाले उसका कुराहरूको प्रवाहमा कुनै किसिमको बाधा उत्पन्न नहोस्। गुलबदनले आफ्ना कुराहरूलाई निरन्तरता दिई। उसको स्वर अत्यन्तै मनमोहक थियो र त्यसमा पवित्रता तथा स्वतन्त्रताको माधुर्य झल्कन्थ्यो। उसले भनी, “मानिसहरूले तपाईंसँग भन्नेछन् कि गुलबदन एउटा बेइमान र धोकेबाज स्त्री हो, जसले आफ्नो मनको वासनाको गुलामी स्वीकार गरी र त्यस पुरुषलाई छोडेर गई जसले उसको इज्जत बढाएर उसलाई आफ्नै घरकी स्वामिनी बनाएको थियो। मानिसहरूले तपाईंसँग भन्नेछन् कि गुलबदन चरित्रहीन हो, जसले विवाहको पवित्र र धार्मिक विधानलाई तोडेर एउटा यस्तो पिँजडामा प्रवेश गरी, जो नरकका काँडाहरूले बनेको छ। उसले आफ्ना शरीरका वस्त्रहरू उतारेर फ्याँकी दिएकी छिन् र पाप तथा निर्लज्जताका वस्त्रहरू पहिरिएर ऊ धर्मच्युत भइसकेकी छिन् भन्नेछन्। तिनीहरूले तपाईंसँग भन्नेछन् कि गुलबदनले लज्जाको घुम्टोलाई धुँजाधुँजा पारेकी छिन्। तर यी मानिसहरू तिनै रित्ता गुफाहरूजस्तै हुन्, जसले आवाजहरू त प्रतिध्वनित गर्छन्, तर तिनका वास्तविक अर्थ बुझ्दैनन्। तिनीहरू न त यस संसारका जीवहरूको दिव्य विधानसँग परिचित छन् र न त धर्मको वास्तविक लाभ नै बुझ्दछन्। अपराधी को हो र निरपराध को हो भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू आफ्नो अदूरदर्शिताका कारण केवल बाहिरी आचरण मात्र हेर्छन् र तिनका भित्री रहस्यहरूमा कहिल्यै दृष्टि पुर्याउँदैनन्। तिनीहरू मुर्खतापूर्वक निर्णय गर्छन् र सबैका लागि एउटै फैसला सुनाउने गर्छन्। तिनीहरूको नजरमा अपराधी, सदाचारी र दुष्ट सबै समान हुन्छन्।
म त त्यतिबेला चरित्रहीन र पापिनी थिएँ, तर त्यसबेला मानिसहरू मलाई इज्जतदार स्त्री ठान्थे। आज म शीलवती र पवित्र छु, तर मानिसहरू मलाई तुच्छ र नीच ठान्छन्, किनकि तिनीहरू मानिसहरूको व्यक्तित्वको मूल्याङ्कन तिनीहरूको शरीरको आधारमा गर्छन् र आत्माको अनुमान जड वस्तुहरूको नापतौलमा गर्ने गर्छन्।
“म चरित्रहीन र बेइमान थिएँ भने, त्यो रशीद बेग नामानको घरमा थिएँ; जसले प्रकृतिले मलाई आत्मा र प्रेमको सम्बन्धबारे कुनै पाठ सिकाउनुभन्दा अगावै, रीतिरिवाज र अन्धानुकरणको दबाब दिएर मलाई आफ्नी पत्नी बनाएको थियो। त्यहाँ म आफ्नै र ईश्वरको नजरमा समेत नीच र पापिनी थिएँ, किनकि म भीखको टुक्रा खाइरहेकी थिएँ र आफ्नो शरीरद्वारा उसको वासना तृप्त गरिरहेकी थिएँ। तर अब म पवित्र छु, किनकि प्रेमको चरित्रले मलाई स्वतन्त्र बनाएको छ। अब म पवित्र र निष्ठावान् छु, किनकि मैले आफ्नो शरीरलाई अन्नको बदलामा र जीवनलाई वस्त्रको बदलामा बेच्न छोडिसकेकी छु। म त त्यतिबेला चरित्रहीन र पापिनी थिएँ, तर त्यसबेला मानिसहरू मलाई इज्जतदार स्त्री ठान्थे। आज म शीलवती र पवित्र छु, तर मानिसहरू मलाई तुच्छ र नीच ठान्छन्, किनकि तिनीहरू मानिसहरूको व्यक्तित्वको मूल्याङ्कन तिनीहरूको शरीरको आधारमा गर्छन् र आत्माको अनुमान जड वस्तुहरूको नापतौलमा गर्ने गर्छन्।
गुलबदन झ्यालको नजिकै गई र उसले आफ्नै दाहिनेतर्फ सहरतिर सङ्केत गरी। उसको स्वर पहिलेभन्दा निकै ठूलो भयो र उसले यस्तो घृणा र हेयको भावमा बोल्न सुरु गरी, मानौं उसलाई बाटामा, छतहरूमा र झ्यालहरूमा पतन र विकृतिका स्पष्ट चिह्नहरू देखिइरहेका थिए। उसले भनी, “हेर! त्यो भव्य र विशाल महलका भित्ताहरूमा टाँगिएका बुट्टेदार रेशमी पर्दाहरूले बेइमानी र झूटको प्रमाण दिइरहेका छन्। तिनका छानाहरू सुनौलो बुट्टेदार कलाले सजाइएका छन्, तर तिनको भित्री तहमा कपट र असत्य भरिएको छ। ती युवतीहरूलाई हेर, जसको बाहिरबाट भद्रपन र सुशीलता झल्कन्छ, तर वास्तवमा तिनका भित्र पाप, दुष्टता र विनाश लुकेको हुन्छ। यी कलशयुक्त चिहानहरू हुन्, जसमा आँखाहरूको गाजल र ओठहरूको लालीको आडमा स्त्रीहरूको कपट र छलकपट लुकेको हुन्छ, तिनका कानहरूमा पुरुषहरूको घमण्ड र पशुता सुन र चाँदीको चम्किलो आभा बनेर झलमलाइरहेको हुन्छ। त्यो आलीशान महलका पर्खालहरू गर्व र अहङ्कारले आकाशसम्म पुगिरहेका छन्। तर तिनलाई त्यो छलकपट र झूटको वास्तविकता थाहा भयो भने, जुन तिनका वरिपरि छाएको छ, ती च्यातिएर अनि टुक्रा-टुक्रा भएर भुइँमा ढल्नेछन्।
यी तिनै घरहरू हुन्, जसलाई एउटा ग्रामीण मानिसले लोभी दृष्टिले हेर्ने गर्छ, तर उसलाई यो कुरा थाहा भयो भने कि यी घरहरूमा बसोबास गर्नेहरूसँग त्यस साँचो प्रेमको एक थोपा पनि छैन, जसले उसको आफ्नै घरकी पत्नीको हृदय भरिएको छ, भने उसलाई ती मानिसहरूको अवस्थामाथि दया जागेर आउनेछ।
जब उसलाई आफ्नो गल्ती महसुस भयो, तब उसले धैर्य धारण गरी। उसले बुझी कि उसका ती आँसुहरू ती आँसुभन्दा कैयौँ गुणा मूल्यवान् छन्, जुन उसका पतिजस्ता मानिसका लागि बगाइयोस्। अब त्यो स्त्री एक सुन्दर युवकको प्रेममा पसेकी छिन्। उसको प्रीतिले उनको हृदय आनन्दित छ र ऊ आफ्ना पतिको सम्पत्तिबाट, जुन उनको चारैतिर छरिएर रहेको छ, आफ्ना प्रेमीको खल्ती भरिरहन्छिन्।
गुलबदनले मेरो हात समातेर मलाई झ्यालको नजिकै लिएर गई, जहाँबाट महलहरू स्पष्ट देखिइरहेका थिए र उसले भनी, “आऊ, म तिमीलाई ती मानिसहरूको भित्री रहस्य बताउँ, जसको जीवनको अनुकरण गर्न तिमी कदापि चाहँदैनौ। त्यो महलतिर हेर, जसका खम्बाहरू संगमरमरका बनेका छन्, कौसीहरू पित्तलका छन् र झ्यालहरू बिल्लौरीका छन्। त्यस महलमा एक धनाढ्य पुरुष बस्छ, जसले त्यो अपार धन-दौलत आफ्ना कन्जुस बाबुबाट पैतृक सम्पत्तिको रूपमा प्राप्त गरेको हो। दुई वर्ष भयो, उसले यस्ती स्त्रीसँग विवाह गरेको थियो, जसको बारेमा त्यसभन्दा बढी अरू कुनै कुरा थाहा थिएन कि उसका बाबु उच्च कुलका थिए र सहरका प्रतिष्ठित व्यक्तिहरूमा उनको स्थान धेरै माथि थियो। विवाह भएको एक महिना पनि पूरा भएको थिएन, तर उसले आफ्नी पत्नीलाई छटपटाउनका लागि छोडिदियो र आफू चाहिँ भोगविलासमा लिप्त युवतीहरूसँग मोजमस्ती गर्न थाल्यो। उसले त्यस बिचरीलाई यस महलमा त्यसरी छोडिदियो, जसरी कुनै कुलंगार मदिराको रितो सुराहीलाई छाडेर कतै जान्छ। ती स्त्री दिनभरि रुँदै-कराउँदै रही र शोक तथा रिसले श्वास रोकिएलाजस्तो गहिरो दुःखको भुमरीमा फसिरही। तर जब उसलाई आफ्नो गल्ती महसुस भयो, तब उसले धैर्य धारण गरी। उसले बुझी कि उसका ती आँसुहरू ती आँसुभन्दा कैयौँ गुणा मूल्यवान् छन्, जुन उसका पतिजस्ता मानिसका लागि बगाइयोस्। अब त्यो स्त्री एक सुन्दर युवकको प्रेममा पसेकी छिन्। उसको प्रीतिले उनको हृदय आनन्दित छ र ऊ आफ्ना पतिको सम्पत्तिबाट, जुन उनको चारैतिर छरिएर रहेको छ, आफ्ना प्रेमीको खल्ती भरिरहन्छिन्।
“अब त्यस घरतिर हेर, जसको वरिपरि सुन्दर बगैँचा छ। त्यहाँ एक यस्तो मानिस बस्छ, जसको घराना प्राचीन कालमा राज्य गर्ने गर्थ्यो, तर आजभोलि धनदौलतको अभाव र परिवारका मानिसहरूको मूर्खताका कारण त्यो घराना आफ्नो उच्च ओछ्यानबाट खस्किसकेको छ। केही वर्षअघि यसै मानिसले एक कुरूप तर धनी स्त्रीसँग विवाह गर्यो र उसको सम्पूर्ण सम्पत्ति हडपेपछि उसलाई बिर्सिदियो अनि अर्की सुन्दरीसँग सम्बन्ध जोडेर आफ्नी पत्नीलाई लाजले आफ्नै औँलाहरू टोक्न बाध्य पार्ने गरी अलपत्र छोडिदियो। अब ऊ आफ्ना कपाल कोर्न, आँखाहरूमा गाजल लगाउन, ओठ र गालाहरूमा लाली-पाउडर दल्न तथा आफ्नो शरीरलाई रेशमी वस्त्रहरूले सजाउनका लागि घण्टौँ समय खर्च गरिदिन्छिन्; ताकि कुनै पुरुष उसप्रति मोहित होस्, तर ती बिचरीले त्यस प्रयासमा कहिल्यै सफलता पाउँदिनन्।
“अब त्यस ठूलो घरतिर हेर, जुन बुट्टेदार कला र चित्रहरूले सजाइएको छ। यो एक सुन्दर स्त्रीको घर हो, जसको पहिलो पति मरिसकेका छन् र अथाह धनसम्पत्ति छाडेर गएका छन्। यस स्त्रीले मानिसहरूलाई औँला उठाउने मौका नदिनका लागि एउटा क्षीण शरीर र कमजोर दिमाग भएको पुरुषसँग विवाह गरिन् र अब ऊ फूलहरूबाट रस तानेर हिँड्ने महको मौरीझैँ बाँचिरहेकी छिन्।

ऊ यस्ती स्त्री थिइन्, जो प्रेममै जीवन बिताउँथिन् र प्रेममै मर्थिन्, तर धेरैजसो मानिसहरूको जस्तै उनका पिताले पनि उनी वयस्क हुनुअघि नै उनको घाँटीमा अनुचित र कुरूप विवाहको पासो हालिदिए। अब उनको शरीर दुब्लो-पातलो भएको छ र बन्दी जीवनको छटपटीले ऊ मैनबत्तीझैँ पग्लिरहेकी छिन्।
“र त्यस घरतिर हेर, जसका कोठाहरू ठूला-ठूला र ढोकाका गारोहरू सुन्दर छन्। यो एउटा यस्तो मानिसको घर हो, जो अति नै लोभी र चरित्रहीन छ। उसकी पत्नीको शरीरमा सौन्दर्यका सबै गुणहरू र हृदयमा मिठासका हरेक पक्षहरू विद्यमान छन्। उनको व्यक्तित्वमा शारीरिक र आत्मिक गुणहरूको संयोजन यसरी भएको छ, जसरी कुनै राम्रो कवितामा छन्दको सङ्गीत र अर्थको विशिष्टताको मेल हुन्छ। ऊ यस्ती स्त्री थिइन्, जो प्रेममै जीवन बिताउँथिन् र प्रेममै मर्थिन्, तर धेरैजसो मानिसहरूको जस्तै उनका पिताले पनि उनी वयस्क हुनुअघि नै उनको घाँटीमा अनुचित र कुरूप विवाहको पासो हालिदिए। अब उनको शरीर दुब्लो-पातलो भएको छ र बन्दी जीवनको छटपटीले ऊ मैनबत्तीझैँ पग्लिरहेकी छिन्। ऊ बिस्तारै आँधीबेहरीको सामुन्ने रहेको कुनै सुकोमल सुवासझैँ उदास हुँदैछिन् । ऊ कुनै यस्तो वस्तुलाई प्रेम गर्न चाहन्छिन्, जिसलाई उसले राम्ररी चिनोस्, तर उनले वरिपरि त्यस्तो कोही देख्दिनन्। आफ्नो यो रुखो जीवनबाट छुटकारा पाउन र जसको दिन र रात केवल धन कमाउनमै खर्च हुन्छ, त्यस्ता मानिसको गुलामीबाट मुक्त हुनका लागि ऊ मृत्युलाई नै अँगाल्न चाहन्छिन्। उनका पति चाहिँ त्यसबेला रिसले दाँत किट्छन्, जब उनले यो महसुस गर्छन् कि उनले एउटा यस्ती स्त्रीसँग विवाह गरेका छन् जसबाट उनको सम्पत्ति र जायदादको वारिस बन्ने कोही छोरा जन्मिएको छैन।
“अब बगैँचाबीचमा रहेको त्यस एक्लो घरतिर हेर। यो घर एक प्रतिभावान कविको हो, जसको धर्म आध्यात्मिकता हो। उनकी पत्नी मुर्ख र कठोर छिन्। ऊ कविका कविताहरूमाथि हाँस्छिन्, किनकि उनले तिनलाई बुझ्न सक्दिनन्। ऊ कविका रचनाहरूको खिल्ली उडाउँछिन् र भन्छिन् कि यी एकदमै अनौठा छन्। त्यसैले ती कवि अहिले एक विवाहित स्त्रीको प्रेममा फसेका छन्। उनले कविको विशेष ख्याल राख्छिन् र आफ्नो मुस्कान तथा दृष्टिका माध्यमबाट आफ्ना विचारहरूलाई कविको हृदयसम्म पुर्याउँछिन् ।
गुलबदन केहीबेर चुप लागी र झ्यालको नजिकै राखिएको कुर्सीमा बसै, मानौं ती रहस्यमय घरहरूको झूठ र कपट हेरेर ऊ थकित भइसकेकी थिई। त्यसपछि फेरि बोल्दै उसले भनी, “यी तिनै महलहरू हुन्, जसमा बस्न म कहिल्यै राजी हुनेछैन। यी तिनै चिहानहरू हुन्, जसमा म आफ्नो जीवनलाई गाड्न चाहन्न। यी तिनै मानिसहरू हुन्, जसका पञ्जाबाट मैले मुक्ति पाएकी छु र उनीहरूको समाजबाट छुटकारा हासिल गरेकी छु। यी तिनै मानिसहरू हुन्, जो स्त्रीहरूको शरीरसँग विवाह गर्छन्, तर उनीहरूको आत्मासँग घृणा गर्छन्। म उनीहरूलाई कुनै दोष दिन्नँ, बरु उनीसँग क्षमा माग्दै म उनीहरूको यस कुराप्रति घृणा गर्छु कि तिनीहरू झूट, छलकपट र मैलापनका दास बन्छन्। म तिम्रो सामुन्ने उनीहरूको हृदयका भेदहरू र उनीहरूको समाजको व्यवस्थाका रहस्यहरू यस कारणले खोलिरहेकी छैन कि म लुकामारी खेल्न वा लुकाउने बानी मन पराउँछु, बरु मैले यी सब कुराहरू यसैकारण भनेकी हुँ ताकि म तिमीलाई त्यस वर्गको वास्तविक अवस्था बताउन सकूँ, जस्तो हिजोसम्म म स्वयम् थिएँ र तिमीसामु ती मानिसहरूको वास्तविक स्थिति उजागार गर्न सकूँ, जो मेरो सम्बन्धमा नानाप्रकारका नराम्रा कुराहरू काट्ने गर्छन् र भन्छन् कि मैले आफ्नो शरीरको प्यास मेट्नका लागि उनीहरूका साथ छोडें। म उनीहरूका छलकपटको जालबाट निस्किसकेकी छु र मेरा आँखाहरूले न्याय, सत्य र चरित्रको उज्यालो देख्न थालेका छन्। उनीहरूले अब मलाई आफ्नो सङ्कीर्ण दायराबाट निष्कासन गरिसकेका छन् र म खुसी छु, किनकि घृणा त तिनीहरुलाई नै गर्ने गरिन्छ, जसको आत्मा अन्याय र अत्याचारका विरुद्धमा विद्रोह गर्छ।
जब ममाथि सत्यताको प्रकाश पर्यो, तब मैले गुलामी स्वीकार गर्न इन्कार गरेँ। मैले महसुस गरेँ कि म आफ्नो सम्पूर्ण जीवन एउटा भयानक मूर्तिकै अगाडि शिर झुकाएर बिताउन सक्दिनँ। त्यसैले मैले धर्मशास्त्रलाई त्यागिदिएँ र आफ्ना बन्धनहरू चुँडाले।
“म हिजोसम्म शिष्टाचारयुक्त एउटा भोजनको टेबलजस्तै मात्र थिएँ र रशीद बेग त्यतिबेला मात्र म कहाँ आउँथ्यो, जब उसलाई भोक लाग्थ्यो। तर हामी दुवैका आत्माहरू सामान्य नोकरहरूझैँ एक-अर्काबाट टाढा थिए। जब ममाथि सत्यताको प्रकाश पर्यो, तब मैले गुलामी स्वीकार गर्न इन्कार गरेँ। मैले महसुस गरेँ कि म आफ्नो सम्पूर्ण जीवन एउटा भयानक मूर्तिकै अगाडि शिर झुकाएर बिताउन सक्दिनँ। त्यसैले मैले धर्मशास्त्रलाई त्यागिदिएँ र आफ्ना बन्धनहरू चुँडाले। तर मैले त्यो तबसम्म गरिनँ, जबसम्म प्रेमको त्यो पुकार मेरा कानसम्म पुगेन। म रशीद बेगको घरबाट यसरी बाहिर निस्किएँ, जसरी कुनै बन्दी जेलखानावानबाट भाग्छ। मैले सबै तामझाम, नोकरचाकर, धनदौलत र इज्जत प्रतिष्ठालाई त्याग्दै मेरा प्रियतमको त्यो घरमा प्रवेश गरेँ, जहाँ कुनै किसिमको देखावटी शिष्टाचार छैन। मलाई राम्ररी थाहा थियो कि म जे-जति गरिरहेकी छु, त्यो सत्य र न्यायसङ्गत छ, किनकि भगवानको यो इच्छा कहिल्यै हुन सक्दैन कि म आफ्नै हातले आफ्ना पखेटाहरू काटिदिउँ र घुँडामा शिर राखेर धुलोमा तड्पिरहूँ अनि यो भनिरहूँ कि मेरो भाग्य नै यस्तै थियो। भगवानको पनि यो चाहना हुन सक्दैन कि म रुँदारुँदै आफ्नो सारा जीवन बर्बाद गरूँ र रातभरि दुःखले छटपटिँदै यो सोचिरहूँ कि बिहान कहिले होला र जब बिहान होस् तब यो भनिरहूँ कि यो दिन कहिले बित्ला? प्रकृतिको यो इच्छा कहिल्यै हुन सक्दैन कि कुनै मानिसको सर्वनाश होस्, किनकि प्रकृतिले मानिसको हृदयको गहिराइमा असल कर्मको चाहना लुकाएर राखेको छ र मानिसको भलाइभित्रै ईश्वरको प्रकाश निहित रहेको हुन्छ।
अब मलाई अहिले नै मृत्युले भेट्यो भने पनि मेरो आत्मा आकाशको सामुन्ने बिना कुनै डर र आशङ्का उभिनेछ र त्यो पूर्ण रूपले खुसी तथा आशाले परिपूर्ण हुनेछ। मैले आफ्ना विवेकका पर्दाहरूलाई ठूला-ठूला धर्मशास्त्रीहरूका अगाडि उघारेर राखिदिएकी छु र दृढतापूर्वक भनिदिएकी छु कि म यस्तो कुनै पनि काम गर्नेछैन, जुन मेरो हृदयले चाहँदैन।
“यही हो मेरी कथा, हे भलादमी! र यो आकाश एवं पृथ्वीका सामु मेरी यही पुकार तथा गुनासो छ। म जोड-जोडले पुकारेर भन्छु, तर मानिसहरू आफ्ना कान थुन्छन् र मेरी कुरा सुन्न चाहँदैनन्। तिनीहरू त आफ्नै आत्माको पुकारलाई समेत परवाह गर्दैनन्, किनकि तिनीहरूलाई यो डर हुन्छ कि कतै समाजका जगहरू नै नहल्लियोस्। म यस्तै विपत्तिहरूमा अल्झिरहेँ। अन्ततः मलाई सदाचार र असल कर्मको एक झलक नजर आयो। अब मलाई अहिले नै मृत्युले भेट्यो भने पनि मेरो आत्मा आकाशको सामुन्ने बिना कुनै डर र आशङ्का उभिनेछ र त्यो पूर्ण रूपले खुसी तथा आशाले परिपूर्ण हुनेछ। मैले आफ्ना विवेकका पर्दाहरूलाई ठूला-ठूला धर्मशास्त्रीहरूका अगाडि उघारेर राखिदिएकी छु र दृढतापूर्वक भनिदिएकी छु कि म यस्तो कुनै पनि काम गर्नेछैन, जुन मेरो हृदयले चाहँदैन। मानिसको मन भनेको ईश्वरको व्यक्तित्वको एउटा जादु हो। म आफ्नै मनको आवाज र देवदूतहरूको पुकार बाहेक अरू कसैको पनि आज्ञापालन गर्नेछैन।
“यही हो मेरी कथा, जसलाई बेरुतका बासिन्दाहरू जीवनका लागि एउटा अभिशाप र समाज रूपी शरीरका लागि एउटा पिपयुक्त खटिरा ठान्छन्। तर तिनीहरू त्यतिबेला लज्जित हुनेछन्, जब तिनीहरूले प्रेमको वास्तविकता बुझ्नेछन्—त्यस प्रेमलाई जुन उनीहरूको अन्धकारमय आत्मामा विद्यमान छ। उनीहरूको हृदयमा यो सत्य त्यसरी नै उम्रिनेछ, जसरी मृत शरीरहरूले भरिएको जमिनबाट सूर्यले फूलहरूलाई उम्रन मद्दत गर्छ। त्यो बेला जब तिनीहरू मेरी चिहानको काखबाट गुज्रनेछन्, तब त्यहीँ अडिनेछन् र भन्नेछन् कि यहीं ती गुलबदन सुतिरहेकी छिन्, जसले मानवीय आवश्यकताका कुहिएका-गलेका बन्धनहरूबाट आफूलाई स्वतन्त्र गरेकी थिइन् र यो सब यसैकारण गरेकी थिइन् ताकि साँचो प्रेमको सम्मानलाई अक्षुण्ण राख्न सकून्।
गुलबदनका कुराहरू अझै सकिएका थिएनन्, त्यतिकैमा ढोका खुल्यो र एक सुन्दर एवं सुगठित शरीर भएको युवक भित्र प्रवेश गर्यो। उसका आँखाहरूबाट मोहक किरणहरू निस्किरहेका थिए र ओठमा मुस्कान खेलिरहेको थियो। गुलबदन उठिन् र असीम स्नेहका साथ उसको हात समातेर म भएको ठाउँमा ल्याइन्। उनले त्यस युवकलाई मेरो नाम ठूलो आदरका साथ र उसको नाम मलाई अति नै सहजताका साथ बताइन्। मैले तुरुन्तै बुझिहालेँ कि यो त्यही युवक हो, जसका लागि गुलबदनले यो संसारलाई झुटा साबित गरिदिई र यसका कानुन तथा रूढिवादी परम्पराहरूको डटेर विरोध गरी।
हामी तीनैजना बस्यौँ। त्यहाँ यस्तो गहिरो शान्ति छायो कि मानौँ हाम्रा आत्माहरू देवदूतहरूतर्फ उडिरहेका छन्। मैले उनीहरूतिर हेरें। ती दुवै एक-अर्काको काखमा टाँसिएर बसेका थिए र यस्तो प्रतीत हुन्थ्यो, मानौँ उनीहरूबीच कुनै दूरी नै छैन। मैले गुलबदनको कथाको मर्म तुरुन्तै बुझिहालेँ र चाल पाइनँ कि विद्रोही आत्माहरूसँग घृणा गर्ने त्यो समाजका विरुद्धमा उसको गुनासोको अर्थ के थियो। मैले देखेँ कि मेरा सामुन्ने दुईवटा शरीरहरू छन्, तर तीभित्र एउटै मात्र दिव्य आत्मा बसोबास गरिरहेको छ। ती दुवै यौवन र एकताका सजीव प्रतीक हुन्। उनीहरूका हृदयमा साँचो प्रेमले बास गरेको हुन्छ र उनीहरू मानिसहरूले राम्रो भनून् वा नराम्रो, त्यसको कुनै परवाह गर्दैनन्। उनीहरूमा आत्मिक एकता विद्यमान छ र उनीहरूको निष्कलङ्क तथा पवित्र मुहारमा पवित्रताको एक अद्वितीय आभा झल्कन्छ। मैले आफ्नो जीवनमा पहिलो पटक यस्तो दृश्य देखें कि यस्तो स्त्री–पुरुषहरुको चारैतिर भलाइले चक्कर लगाउने गर्छ, जसलाई धर्मले नीच ठहराएको छ र समाजले आफूमाझबाट बहिष्कृत गरिदिएको छ।
“के त्यो स्त्री अपराधी हो, जसले उसलाई छाडिदिई र आफ्नै स्वतन्त्र इच्छाको निर्णय मानिन् ? अथवा त्यो पुरुष दोषी छ, जसले उससँग त्यतिबेला गृहस्थीको सम्बन्ध जोड्यो, जब उसकी आत्माले प्रेमलाई चिनेको नै थिएन? यी दुवैमा अत्याचारी को हो र अत्याचार-पीडित को हो? दुवैमा अपराधी को हो र निरपराध को हो?”
केहीबेरसम्म म त्यहीँ बसिरहेँ, तर त्यसपछि कुनै किसिमको कुराकानी नगरी त्यहाँबाट बिदा भएँ र प्रेम एवं नीतिको मन्दिर स्वरूप त्यो सानो घरबाट बाहिर निस्किएँ। म ती गल्लीहरू र महलहरूबीच भएर हिँडें, जसका रहस्यहरू गुलबदनले मलाई बताएकी थिइन्। म उनका कुराहरू र तिनका आरम्भ तथा अन्त्यमाथि विचार गर्दै अगाडि बढिरहेको थिएँ, तर म त्यो बस्तीबाट बाहिर निस्किसकेको थिइनँ, जतिबेला मलाई रशीद बेग नामानको याद आयो। मैले मनमनै भनेँ, ‘त्यो विपत्तिमा परेको मानिस बर्बाद भइसकेको छ। तर के आकाशले उसका कुरा सुन्नेछ, जबकि उसका सामुन्ने गुलबदनले पनि आफ्ना उपर गरिएका अत्याचारहरूको गुनासो प्रस्तुत गर्नेछिन्? के त्यो स्त्री अपराधी हो, जसले उसलाई छाडिदिई र आफ्नै स्वतन्त्र इच्छाको निर्णय मानिन् ? अथवा त्यो पुरुष दोषी छ, जसले उससँग त्यतिबेला गृहस्थीको सम्बन्ध जोड्यो, जब उसकी आत्माले प्रेमलाई चिनेको नै थिएन? यी दुवैमा अत्याचारी को हो र अत्याचार-पीडित को हो? दुवैमा अपराधी को हो र निरपराध को हो?’
यसपछि मैले मनमनै सोच्न थालेँ कि यस संसारमा यस्ता स्त्रीहरू धेरै छन्, जो आफ्ना गरिब पतिको साथ छोडेर धनी मानिसहरूसँग सम्बन्ध जोड्ने गर्छन्, किनकि उनीहरूभित्रको भित्री चाहना यो हुन्छ कि ‘आफूले बहुमूल्य वस्त्रहरू लगाऔं र ऐसआरामको जीवन बिताऔँ।’ यो तीव्र इच्छाले उनीहरूलाई अन्धो बनाइदिन्छ र उनीहरू अपमानित तथा कलङ्कित जीवन बिताउनसमेत तयार हुन्छन्। तर के गुलबदनको पनि यस्तै लालसा थियो, जो एउटा धनी व्यक्तिको भव्य महलबाट निस्किएर एक गरिब मानिसको झुपडीमा पुगेकी छिन् र यस्तो ठाउँमा गएकी छिन्, जहाँ पुराना किताबहरूको थुप्रोबाहेक अरू केही छैन? धेरैजसो स्त्रीहरू त्यस्ता हुन्छन्, जसले नारीको स्वाभाविक शील तथा लज्जालाई मारेर आफ्ना वासनाहरूलाई मात्र जीवित राख्छन्। उनीहरू आफ्ना पतिहरूलाई शारीरिक वासनाको तृप्तिका लागि रुँदै-कराउँदै अलपत्र छोडिदिन्छन् र अन्य पुरुषहरूको साथमा जान्छन्। के गुलबदनले आफ्ना वासनाहरूको तृप्तिका लागि मात्रै यसो गरेकी हुन् र आफूलाई आफ्नो मनपर्ने युवकको जिम्मा लगाएकी हुन्? अनि के उनले यो गर्न सक्दिनथिन् कि आफ्ना वासनाहरूलाई पतिको घरमै बसेर पूरा गरिरहन्थिन् र ती मानिसहरूसँग चोरीछिपी सम्बन्ध राख्थिन्, जो उनका सौन्दर्यका उपासक र उनको प्रेमका लागि मर्न तयार थिए? गुलबदन एक समय उपेक्षित र अपमानित नारी थिइन्। ऊ भलाइ र सदाचारको चाहना राख्थिन् र उनले त्यो सत्कर्म प्राप्त गरिन्। यही नै त्यो सत्यता हो, जसका कारण समाजले उनलाई घृणाको दृष्टिले हेर्छ र धर्मशास्त्रले भन्छ कि उनको शिरोच्छेदन गरिदिनुपर्छ।
यसपछि मेरो मनमा विचार आयो कि के कुनै स्त्रीका लागि यो उचित हुन्छ कि उसले आफ्नो सदाचारलाई पतिको विनाशको मूल्य चुकाएर खरिद गरोस्? यसको उत्तर मेरो विवेकले यो दियो कि के पुरुषका लागि यो न्यायसङ्गत छ कि उसले आफ्नो भलाइका लागि आफ्नी पत्नीको इच्छालाई दास बनाओस्?
यस पृथ्वीमा जति पनि वस्तुहरू छन्, ती सबै आफ्नै इच्छा अनुसार जीवन बिताउँछन् र आफ्नो स्वतन्त्रतामा गर्व गर्छन्। तर मानिस चाहिँ वैभव र सुखी जीवनबाट वञ्चित छ, किनकि तिनीहरूका पवित्र आत्माहरू यस संसारका साँघुरा विधानहरूका दास बनेका छन्।

म अगाडि बढिरहेको थिएँ र गुलबदनको स्वर मेरा कानहरूमा गुन्जिरहेको थियो। अन्ततः म सहर नजिक पुगेँ। सूर्य अस्ताउँदैथियो। बगैँचा र वनहरू शान्ति तथा एकान्तको चादरमा लुक्न चाहन्थे र चराहरू साँझको गीत गाइरहेका थिए। म रोकिएँ। मैले आफूलाई भनेँ, ‘स्वतन्त्रताको यो स्वर्गका सामुन्ने यी रुखहरू सुगन्धित हावाका झोकाहरूको आनन्द लिइरहेका छन् र घाम तथा चन्द्रमाका किरणहरूबाट प्रफुल्लित भइरहेका छन्। यी चराहरू स्वतन्त्रताको हावामा विचरण गरिरहेका छन्। यी फूलहरू स्वतन्त्र वातावरणमा सुवास फैलाइरहेका छन्। उनीहरूको आँखैअगाडि आउनेवाला बिहानीको सौन्दर्यले उज्यालो छर्दैछ। यस पृथ्वीमा जति पनि वस्तुहरू छन्, ती सबै आफ्नै इच्छा अनुसार जीवन बिताउँछन् र आफ्नो स्वतन्त्रतामा गर्व गर्छन्। तर मानिस चाहिँ वैभव र सुखी जीवनबाट वञ्चित छ, किनकि तिनीहरूका पवित्र आत्माहरू यस संसारका साँघुरा विधानहरूका दास बनेका छन्। उनीहरूका आत्मा र शरीरका लागि एउटै ढाँचामा ढालिएको कानुन बनाइएको छ र उनीहरूका अभिलाषा तथा चाहनाहरूलाई एउटा गुप्त र साँघुरो जेलखानामा थुनिएको छ। उनीहरूको चेतनाका लागि एउटा गहिरो र अन्धो चिहान खनिएको छ। यदि कोही त्यहाँबाट उठे, उनीहरूको समाज र उसका कर्तुतहरूबाट अलग भए भने, उनीहरू भन्छन् कि यो मानिस विद्रोही र दुष्ट हो। यो समाजबाट बहिष्कृत हुनुपर्ने र मारिन योग्य छ! तर के मानिसले प्रलयसम्म यस्तो जीर्ण समाजको गुलामीमै जीवन बिताइरहनुपर्छ अथवा उसले आफ्नो आत्मालाई यी बन्धनहरूबाट मुक्त गराउनुपर्छ? के मानिस माटोमै लडिरहनुपर्छ अथवा आफ्ना आँखाहरूलाई नै सूर्य बनाउनुपर्छ, ताकि उसका शरीरको छाया फोहोरको थुप्रोमा परेको देखिन नपरोस्?
सस्ता साहित्य मण्डल प्रकाशन, नयाँदिल्लीद्वारा प्रकाशित ‘विद्रोही आत्माएं’ (हिन्दी) तथा The Wisdom Library, New York द्वारा प्रकाशित Spirits Rebellious बाट अनुदित
अनुवाद एवं प्रस्तुति: हर्कबहादुर प्रधान
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
क्रान्तिको रोमान्टिक स्वप्न र शासनको विडम्बना: वामपन्थी पराजयको वैचारिक अन्तर्य
वामपन्थले किन दक्षिणपन्थसँग आफ्नो आधार गुमाउँदै छ ? यसले फेरि कसरी आशा जगाउन…
वामपन्थको पुनरागमन : सम्भावना कति ?
प्रलय अहिले र त्यतिबेला
कसैलाई के कुराले मार्क्सवादी बनाउँछ?
माकुरो र झिँगा
चियाको इतिहासभित्र लुकेको स्वाद, सत्ता र साम्राज्यको कथा
प्रतिक्रिया