श्रमको सांस्कृतिक अर्थ र सौन्दर्यको जातीय संरचना
सभ्यताको इतिहास लेख्नेले प्रायः राजा महाराजाको महिमा लेखे । साम्राज्यको उत्थान र पतन लेखे । विशालकाय दरबारका वास्तुकला वर्णन गरे ।
तर ती भव्यतम् संरचना निर्माण गर्ने हातहरु कसका थिए ? खेतमा अन्न फलाउने, जुत्ता सिलाउने, फलाम पगाल्ने, काठ कुँद्ने, छाला प्रशोधन गर्ने, कपडा बुन्ने र समाजको दैनिक जीवनलाई सरल सम्भव बनाउने मानिसहरु को थिए ?
इतिहासका भव्य संरचनाको जगमा गाडिएका हातहरूको इतिहास किन लेखिएन ? वास्तवमा यो प्रश्न ज्ञान, सत्ता, संस्कृति, सौन्दर्य र सामाजिक न्यायका दृष्टिले वहसका लागि सान्दर्भिक छ । अझ गहिरिएर हेर्दा यो विषय सभ्यताकै आत्मालोचनासँग सम्बन्धित छ भनेर बुझ्दा हुन्छ ।
जसको श्रमबिना समाजको जीवन सम्भव थिएन, त्यही समुदायलाई सामाजिक–सांस्कृतिक केन्द्रबाट बाहिर राखिएको छ । जसका हातले समाजको सौन्दर्य निर्माण गरे, त्यसलाई अछुतको नाममा अपवित्र घोषित गरिएको छ ।
नेपाली समाजमा दलित समुदायको ‘इतिहास’लाई यही प्रश्नको केन्द्रबाट पुनर्विचार गर्न आवश्यक छ । किनभने दलित समुदायले सामाजिक विभेद मात्रै भोगेर आएको छैन, त्यस्तो क्रुर विभेदकारी समाजलाई पनि निरन्तर श्रममार्फत पालीपोसी ल्याएको छ । विडम्बना के छ भने, जसको श्रमबिना समाजको जीवन सम्भव थिएन, त्यही समुदायलाई सामाजिक–सांस्कृतिक केन्द्रबाट बाहिर राखिएको छ । जसका हातले समाजको सौन्दर्य निर्माण गरे, त्यसलाई अछुतको नाममा अपवित्र घोषित गरिएको छ । जसले मानव जीवनलाई नै उपयोगी, सहज र सुन्दर बनाए, तिनै मानिसलाई सामाजिक प्रतिष्ठा, ज्ञान र सौन्दर्यको परिभाषा निर्माण गर्ने अधिकारबाट वञ्चित गरिएको छ ।
दलित सौन्दर्यबोधको बहस साहित्यका लागि नयाँ विषयवस्तु थप्ने प्रयत्न भनेर बुझ्यो भने त्यो निकै अधुरो हुन्छ । यसलाई सामाजिक सौन्दर्यको परम्परागत परिभाषामाथि प्रश्न उठाउने र सामाजिक सांस्कृतिक पदानुक्रमलाई उल्टो दिशाबाट पढ्ने वैचारिक प्रयत्नका रुपमा बुझ्नुपर्छ । यो प्रयत्न श्रमलाई सभ्यताको परिधिबाट उठाएर सिधै केन्द्रमा स्थापित गर्ने हस्तक्षेप पनि हो ।
मानव सभ्यताको विकास वास्तवमा श्रमको इतिहास नै हो । प्रकृतिसँगको सङ्घर्ष, उत्पादनका साधनको निर्माण, खाद्यान्नको उत्पादन, आवासको विकास, औजारको आविष्कारका लागि भएको श्रम सङ्घर्ष र सामूहिक जीवनको विस्तार, यी सबै प्रक्रियाको आधार वा केन्द्र मानवीय श्रम हो । मानिसले आफ्नो श्रमद्वारा प्रकृतिलाई रूपान्तरण मात्र गरेको छैन, आफूलाई पनि रूपान्तरण गर्दै आएको छ ।
तर समाजमा सबै श्रमको सामाजिक मूल्य समान छैन । कुनै श्रमलाई प्रतिष्ठित बनाइएको छ, कुनैलाई सामान्य । कुनैलाई सिर्जनात्मक भनिन्छ, कुनैलाई शारीरिक । कुनैलाई ज्ञान निर्माणको काम मानिएको छ, भने कुनैलाई जीविकोपार्जनको बाध्यता मात्र । यो विभाजन के श्रमको वास्तविक उपयोगिताबाट मात्र निर्धारित भएको छ ?
मार्क्सले श्रमलाई मानिसको आत्मअभिव्यक्ति र प्रकृतिसँगको भौतिक सम्बन्धका रूपमा व्याख्या गरेका छन् । तर समाजमा सबै श्रमको सामाजिक मूल्य समान छैन । कुनै श्रमलाई प्रतिष्ठित बनाइएको छ, कुनैलाई सामान्य । कुनैलाई सिर्जनात्मक भनिन्छ, कुनैलाई शारीरिक । कुनैलाई ज्ञान निर्माणको काम मानिएको छ, भने कुनैलाई जीविकोपार्जनको बाध्यता मात्र । यो विभाजन के श्रमको वास्तविक उपयोगिताबाट मात्र निर्धारित भएको छ ? पक्कै छैन, यसको पछाडि उत्पादन सम्बन्ध, सम्पत्तिमाथिको स्वामित्व, जातीय संरचना र सांस्कृतिक सत्ताको लामो इतिहासले काम गरेको छ ।
नेपाली समाजमा दलित समुदायको श्रमका विषयमा ठिक यही अन्तर्विरोध देखा पर्छ । समाजले यो श्रमको उपयोगिता स्वीकार गरे पनि श्रमिकको मानवीय प्रतिष्ठा स्वीकार गरेन । यहीँनेर नेपाली जातव्यवस्थाको सबैभन्दा कठोर अन्तर्विरोध उपस्थित हुन्छ, श्रम चाहिने, तर श्रमिक नचाहिने । सीप चाहिने, तर सीपधारीको सामाजिक सम्मान नचाहिने । उत्पादन चाहिने, तर उत्पादकलाई समान नागरिकका रूपमा स्वीकार नगर्ने । यो प्रवृत्तिले श्रममाथिको स्वामित्वसँगसँगै श्रमिकको शरीर, पहिचान र सामाजिक अस्तित्वमाथि सांस्कृतिक नियन्त्रण राख्दै आएको छ ।
दलितको श्रमलाई अब समाजको सेवा वा सामान्य पेसाका रुपमा मात्रै बुझेर पुग्दैन, दलित समुदायको श्रमक्षेत्र नै समाज विकासको मूल क्षेत्र हो । निर्माण, अन्वेषण, उत्पादन, कला, सेवाका सम्पूर्ण क्षेत्र, सूचना र मनोरञ्जनका समग्र विधाहरु र मौलिक अर्थतन्त्रका अनेकौँ क्षेत्रमा दलित समुदायको पहिलो योगदान छ । दलितको श्रम समाजको भौतिक पुनरुत्पादनको मुल आधार हो । एउटा किसानले खेती गर्न हलो चाहिन्छ, हलो बनाउन फलामको फाली चाहिन्छ, फाली बनाउन आरन चाहिन्छ । उत्पादन, उपभोग र सामाजिक उत्सवका बीच निरन्तर चलिरहने यो चक्रमा दलित श्रम अनिवार्य छ । र यो परम्परा निकै लामो छ ।
श्रम सौन्दर्यमाथि वहस नगरी दलित सौन्दर्यको चेतनाको मूल्याङ्कन सम्भव छैन । श्रमिकको शरीर, पहिचान र सामाजिक अस्तित्वको सौन्दर्यबारे चर्चा गर्दा हामी सौन्दर्यकै परिभाषामाथि पुनर्विचार गर्नुपर्ने समय संरचनामा उपस्थित छौँ ।
अहिले दलित समुदायको सौन्दर्यबारे गम्भीर वहस छ । दलितको सौन्दर्यको जरो उस्को श्रमका केन्द्रित छ । श्रम सौन्दर्यमाथि वहस नगरी दलित सौन्दर्यको चेतनाको मूल्याङ्कन सम्भव छैन । श्रमिकको शरीर, पहिचान र सामाजिक अस्तित्वको सौन्दर्यबारे चर्चा गर्दा हामी सौन्दर्यकै परिभाषामाथि पुनर्विचार गर्नुपर्ने समय संरचनामा उपस्थित छौँ । सौन्दर्यशास्त्रको परम्परागत बहसमा सुन्दरतालाई प्रायः कला, प्रकृति, रूप, लय, अनुपात, संवेदना र अनुभूतिसँग जोडेर हेरिएको छ । तर सुन्दरता कहिल्यै पूर्णतः निरपेक्ष र सामाजिक सम्बन्धबाट मुक्त अवधारणा होइन । समाजले केलाई सुन्दर मान्छ, केलाई असुन्दर ठान्छ, कुन शरीरलाई आकर्षक ठान्छ र कुन शरीरलाई घृणाको दृष्टिले हेर्छ भन्ने कुरा सांस्कृतिक सत्ता र सामाजिक संरचनाबाट प्रभावित हुने कुरा हो ।
जातव्यवस्थाले सौन्दर्यको एउटा पदानुक्रम निर्माण गरेको छ । त्यो अत्यन्तै रुढग्रस्त छ । त्यहाँ शरीरको शुद्धता र अशुद्धता, स्पर्श र अस्पर्श, पवित्र र अपवित्र, उच्च र नीचजस्ता विभाजनले सौन्दर्यबोध तहसनहस छ । कुनै शरीर पूजनीय र कुनै घृणायोग्य बनाउने प्रक्रिया धार्मिक मान्यतासँगसँगै समाजले निर्माण गरेको सांस्कृतिक अनुशासन हो । ठिक यसको प्रतिवादमा दलित सौन्दर्यबोधको अवधारणा अगाडि आउँछ ।
दलित सौन्दर्यबोध भन्नाले श्रम, अनुभव, प्रतिरोध, स्मृति, शरीर, भाषा, सीप, आत्मसम्मान र मुक्तिको आकाङक्षाबाट निर्मित सौन्दर्यदृष्टि हो । यसलाई बैकल्पिक सौन्दर्यदृष्टिका रुपमा व्याख्या गरेको पाईन्छ, जुन गलत छ । दलित सौन्दर्य चेतनाले समाजले असुन्दर भनेर पन्छाएका जीवनका अनुभवभित्र रहेको मानवीय गरिमा, सिर्जनशीलता र सौन्दर्यलाई पहिचान गर्छ । जस्तो कि फलाम पिट्ने हातले कृषि उत्पादन सम्भव बनाउँछ भने त्यो हात असुन्दर कसरी हुन्छ ? यदि गन्धर्वको सारङ्गीले समाजको इतिहास र संवेदना बोक्छ भने उसको सांस्कृतिक योगदान किन तल्लो दर्जामा पर्छ ? यदि दलित समुदायको सीप र श्रम पुस्तौँसम्म समाजको जीवन सञ्चालन गर्ने ज्ञानआधार बन्छ भने उसलाई ज्ञान र संस्कृतिको निर्माता किन मानिएन ? दलित सौन्दर्यबोधले सुन्दरतालाई हेर्न मिल्ने वस्तु वा कलात्मक संरचनामा सीमित नगरेर जीवनलाई सरल सम्भव बनाउने श्रम, सिर्जना र मानवीय सम्बन्धभित्र सौन्दर्य खोज्ने प्रयत्न गर्छ भने यो बैकल्पिक कसरी हुन्छ ।
यसअर्थमा आरनमा फलाम पिटिरहेको श्रमिकको शरीर सौन्दर्यको विषय हो । उसको निधारबाट बगिरहेको पसिना, फलाममाथि परेको घनको लय, आगोको तापसँग जुधिरहेको उसको सीप र धातुलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षमता यी सम्पूर्ण सौन्दर्यका आयामहरु हुन् ।
धेरै अवस्थामा श्रमको सामाजिक अवमूल्यन श्रमिकको जातीय पहिचानसँग जोडिएर आएको छ । विवाहमा दमाईले बजाएको पञ्चेबाजाले उत्सवलाई सांस्कृतिक पूर्णता दिन्छ, तर बाजा बजाउने कलाकारको सामाजिक स्थान र सम्मान त्यही उत्सवमा उपस्थित अन्य मानिससरह रहँदैन ।
अर्को विषय हो, श्रमको प्रतिष्ठाकै अवमूल्यन । नेपाली समाजमा जातव्यवस्थाले श्रमको सामाजिक प्रतिष्ठालाई असमान रूपमा वितरण गरेको छ । श्रमको प्रकृति, उत्पादनमा त्यसको उपयोगिता र श्रमिकको सामाजिक हैसियतबीच न्यायपूर्ण सम्बन्ध छैन । बरु धेरै अवस्थामा श्रमको सामाजिक अवमूल्यन श्रमिकको जातीय पहिचानसँग जोडिएर आएको छ । विवाहमा दमाईले बजाएको पञ्चेबाजाले उत्सवलाई सांस्कृतिक पूर्णता दिन्छ, तर बाजा बजाउने कलाकारको सामाजिक स्थान र सम्मान त्यही उत्सवमा उपस्थित अन्य मानिससरह रहँदैन ।
यहाँनेर एउटा महत्वपूर्ण प्रश्नको निर्माण गर्नुपर्छ कि श्रमको मूल्य कसले निर्धारण गर्छ ?
वस्तु उत्पादन गर्न सीप, समय, ऊर्जा र पुस्तौँको अनुभव (ज्ञान) जरुरी हुन्छ । तर नेपाली समाजले हुर्काएको परम्परागत बजारमा वस्तुको बजार मूल्य निर्धारण गर्ने प्रक्रियामा उत्पादकको जातीय र सामाजिक अवस्थाले पनि भूमिका खेल्छ । विगतमा गायकीका कारण सिङ्गो गन्धर्व समुदायले उत्पीडन भोग्न बाध्य भयो, तर पुँजीवादले गायन कलालाई उपभोग्य वस्तुमा रुपान्तरण गरेपछि उनै गन्धर्वहरु आफ्नै पेसाबाट किनार लागे ।
यसरी दलितहरुको श्रमको अवमूल्यन सांस्कृतिक अपमान त हुँदै हो, यो आर्थिक असमानताको पुनरुत्पादन गर्ने संयन्त्रका रुपमा पनि स्थापित छ ।
मार्क्सको श्रम र अतिरिक्त मूल्यसम्बन्धी विश्लेषणले उत्पादनमा श्रमिकको योगदान र उसले प्राप्त गर्ने प्रतिफलबीचको अन्तर्विरोध बुझ्न सहयोग गर्छ । तर नेपाली समाजको सन्दर्भमा यस विश्लेषणलाई जातीय संरचनासँग जोडेर पढ्न आवश्यक छ । यहाँ वर्गीय शोषण र जातीय उत्पीडन एकअर्कासँग अन्तक्र्रिया गर्छन् । मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्त र दलितले बाँचेको बालीघरे अर्थतन्त्र बीचमा अध्ययन हुन जरुरी छ । किनकि, जातीय पहिचानका कारण केही श्रमिकले आर्थिक शोषणसँगै सामाजिक बहिष्करण, अपमान र छुवाछुतको थप भार पनि बोक्नुपर्छ ।
जातव्यवस्थाको अर्को विशेषता के हो भने यसले मानिसको श्रमलाई मात्र वर्गीकृत गर्दैन, शरीरलाई समेत वर्गीकृत गर्छ । कसको शरीर पवित्र हो, कसको शरीर अपवित्र । कसले कुन पानीको स्रोत प्रयोग गर्न सक्छ भन्ने कुरा जातीय हैसियतका आधारमा निर्धारण गरिन्छ ।
दलित श्रमिकले आफ्नो श्रमको उचित मूल्य नपाउनु आर्थिक हिंसा हो । सार्वजनिक धारामा पानी भर्न नपाउनु सामाजिक तथा सांस्कृतिक हिंसा हो ।
कुनै दलितले समान ज्याला माग्नु श्रमको न्यायोचित मूल्यको माग हो । तर पुरानो सामाजिक सम्बन्धलाई कायम राख्न चाहने शक्तिले त्यसलाई विद्रोह वा अवज्ञाका रूपमा प्रस्तुत गर्छ । दलित श्रमिकले आफ्नो श्रमको उचित मूल्य नपाउनु आर्थिक हिंसा हो । सार्वजनिक धारामा पानी भर्न नपाउनु सामाजिक तथा सांस्कृतिक हिंसा हो । शिक्षाको अवसरबाट वञ्चित गरिनु संरचनात्मक हिंसा हो । जातीय गाली र अपमानबाट व्यक्तिको आत्मसम्मान नष्ट गरिनु मनोवैज्ञानिक हिंसा हो । दलित महिलामाथि जात र लिङ्ग दुवैका आधारमा गरिने शोषण बहुआयामिक हिंसा हो ।
यसरी अधिकारको मागलाई अपराधको भाषामा अनुवाद गर्ने प्रक्रिया एउटा महत्वपूर्ण रणनीति हो ।
दलित समुदायको श्रमबारे चर्चा गर्दा सांस्कृतिक विस्थापनको विषय अब छुट्याएर राख्न सकिदैन । यो समुदाय अहिले आफ्नो भाषा, गीत, पेसागत सीप, जीवनशैली र स्मृतिमाथि गर्व गर्न नपाउने खालको सांस्कृतिक उत्पीडनमा छ । जब समाजले कुनै समुदायको परम्परागत पेसालाई घृणित ठान्छ, तब त्यस पेसासँग सम्बन्धित सीप र ज्ञानसमेत हीन मानिन्छ । परिणामतः नयाँ पुस्ताले आफ्ना पुर्खाको श्रमसँग सम्बन्धित ज्ञानलाई सम्मानपूर्वक ग्रहण गर्ने वातावरण प्राप्त गर्दैन ।
यसको अर्थ परम्परागत जातीय पेसामा दलितलाई बाँधिराख्नुपर्छ भन्ने होइन । बरु कुनै पेसा जातका आधारमा बाध्यकारी हुनु हुँदैन र कुनै श्रमलाई जातीय कारणले अपमानित पनि गरिनु हुँदैन भन्ने नै हो । मुक्ति भनेको श्रमबाट पलायन नभई, श्रममाथिको जातीय नियन्त्रणबाट मुक्त हुनु हो । दलित समुदायलाई परम्परागत पेसाबाट बाहिर निस्कने स्वतन्त्रता पनि चाहिन्छ र आफ्ना पुर्खाले निर्माण गरेको सीप तथा ज्ञानलाई सम्मानपूर्वक संरक्षण र विकास गर्ने अवसर पनि चाहिन्छ ।
दलित समुदायको श्रमलाई सम्मान गर्नु भनेको कुनै समुदायप्रति सहानुभूति प्रकट गर्ने विषयका रुपमा मात्र हेरिनुहुदैन । यो मानव श्रमको गरिमालाई स्वीकार गर्ने कुरा हो । यो इतिहासमा छुटेका मानिसहरूलाई इतिहासको निर्माता स्वीकार गर्ने सन्दर्भ हो । यो ज्ञान उत्पादन गर्ने अधिकारलाई सामाजिक रूपमा लोकतान्त्रिक बनाउनु हो । र यो सौन्दर्यको परिभाषाबाट जातीय श्रेष्ठताको भ्रम हटाउने कुरा हो ।
अब राष्ट्रको इतिहास लेख्दा दरबारसँगै आरनको इतिहास पनि लेखिनुपर्छ । मन्दिरसँगै त्यसका कालीगढको कथा पनि लेखिनुपर्छ ।
यसैले अब राष्ट्रको इतिहास लेख्दा दरबारसँगै आरनको इतिहास पनि लेखिनुपर्छ । मन्दिरसँगै त्यसका कालीगढको कथा पनि लेखिनुपर्छ । शास्त्रीय संगीतसँगै सारङ्गीको इतिहास पनि लेखिनुपर्छ । राष्ट्रिय अर्थतन्त्रको व्याख्या गर्दा उत्पादनका साधनसँगै उत्पादन गर्ने हातहरूको सामाजिक अवस्था पनि विश्लेषण गरिनुपर्छ ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने सभ्यता भनेको शासकको एकल सिर्जनाले सम्भव हुने कुरा होइन । यो असङ्ख्य असङ्ख्य मानिसका हात, सीप, श्रम, पसिना, कल्पना र सामूहिक अनुभवले दिने परिणाम हो । दलित सौन्दर्यबोधले यही समानताको सांस्कृतिक र दार्शनिक आधार निर्माण गर्न खोजेको हो । यसले सुन्दरतालाई दरबारबाट आरनमा, सिंहासनबाट खेतमा, शास्त्रबाट श्रममा र अभिजात संस्कृतिबाट जनजीवनमा विस्तार गर्न चाहन्छ ।
अन्ततः, प्रश्न यति मात्र होइन कि श्रम गर्ने हातहरू सुन्दर छन् कि छैनन् । प्रश्न यो हो, जुन समाज ती हातको श्रममा बाँचेको छ, उसले ती हातलाई असुन्दर भन्ने नैतिक र सांस्कृतिक अधिकार कहाँबाट प्राप्त गर्छ ? अब सौन्दर्यको परिभाषा बदल्ने समय आएको छ ।
आफैं विरुद्ध धारिलो तरबार चलाउँदै चीनको कम्युनिस्ट पार्टी
डलरको शक्ति कहिल्यै तेलबाट आएको थिएन
जब महाशक्तिका सबै विकल्प समाप्त हुन्छन् : इरान युद्धको रणनीतिक पाठ
लु सुनको निबन्ध ‘चिनियाँहरूले आफ्नो आत्मविश्वास गुमाएका छन्?’ र नेपाली सन्दर्भ
विद्यार्थी आन्दोलनको प्रचण्ड जितपछि सर्बिया : संसद्को बन्द बाकसभित्र के छ?
आफ्नै इतिहासको शिक्षा
जोन रिडको खोज (१९८२)
प्रतिक्रिया