ज्ञान र कौशलको पुस्तान्तरण

अहिले ज्ञानको पुस्तान्तरणमा नेपाललगायत विश्वभरि नै देखिएको सबैभन्दा गम्भीर समस्या राजनीतिक क्षेत्रमा हो । पुस्तान्तरणको नाउँमा राजनीतिक दलहरूभित्र पुरानो पुस्ताको विरूद्ध नयाँ पुस्तामा र समाजमा सबै पुराना (वास्तवमा अनुभवी) राजनीतिज्ञहरूका विरूद्ध नयाँ पुस्तामा वहिष्कारको सोच विकास भएको देखिन्छ ।

ज्ञानको पुस्तान्तरण भन्नाले पुरानो पुस्ताले प्राप्त गरेको ज्ञान, अनुभव, दक्षता, साँस्कृतिक मूल्य र व्यावहारिक क्षमता नयाँ पुस्तामा हस्तान्तरण हो । जुन कुरा पैदा हुन्छ त्यसको अन्त्य निश्चित हुन्छ । यो यस चराचर जगत्को सार्वभौम नियम हो । मानव समाजको सम्बन्धमा पनि यही कुरा सत्य हो । नयाँ पुस्ताको उदय, पुरानो पुस्ताको अन्त्य एउटा यस्तो अनवरत प्रक्रिया हो जसको बिना मानव सभ्यताको निरन्तरताको कल्पनासम्म गर्न सकिन्न । त्यसै गरेर प्रत्येक पुस्ताले व्यवहारको दौरानमा केही न केही समाज उपयोगी ज्ञानआर्जन गरेको हुन्छ । प्रकृतिको सार्वभौम नियमअनुसार त्यो पुस्ता सधैं शारीरिक र मानसिकरूपबाट समाजलाई अघि बढाउन सक्षम रहँदैन । ऊ सक्षम नरहने मात्र होइन एकदिन त्यसले संसारबाट सधैंको निमित्त विदा लिन्छ  र, त्यो ठाउँ नयाँ पुस्ताले लिन्छ । त्यसपछि समाजलाई अगाडि बढाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आउँछ । मानव समाज अस्तित्वमा रहेसम्म यो प्रक्रिया निरन्तर जारी रहन्छ । यसको अर्थ विगतको नयाँ पुस्ता वर्तमान पुरानो पुस्ता बन्दछ । वर्तमानको नयाँ पुस्ता पनि सधैँ नयाँ रहिरहँदैन, भविष्यमा त्यो पनि पुरानो पुस्ता बन्ने छ र त्यसलाई अर्को नयाँ पुस्ताले प्रतिस्थापित गर्नेछ ।

मानव पुस्ताहरू निषेधको प्रक्रियाबाट गुज्रने वास्तविकताले ज्ञान र कौशलको पुस्तान्तरणको महŒव र अनिवार्यताबारे हाम्रो ध्यान आकर्षित गर्दछ । पुरानो पुस्ताले व्यवहारको दौरान्मा आर्जन गरेको ज्ञान नयाँ पुस्ताको निमित्त आधार सामग्री एवं मार्गदर्शक हुन्छ । त्यसैले समाजको निरन्तर अघिबढाइको निमित्त ज्ञानको पनि निरन्तर पुस्तान्तरण अपरिहार्य हुन्छ । अहिलेको वैश्विकरण, प्रविधिको आश्र्चायजनक विकास र तीव्र जनसाङखिकीय परिवर्तनको परिप्रेक्ष्यमा ज्ञानको पुस्तान्तरणको महत्त्व अनुल्लेख्यरूपले बढेर गएको छ ।

ज्ञानको पुस्तान्तरण पुराना ज्ञानहरूको संरक्षण गर्नेसम्म मात्र सीमित हुनुहुँदैन । त्यो पुराना ज्ञान र प्रविधिहरूको आधुनिक विकासबीचको सम्बन्धको सुन्दर नमुना हुनुपर्दछ । यसको अर्थ पुराना ज्ञान म्युजियमको वस्तु होइन, नयाँ ज्ञानको प्रेरक हुनुपर्छ ।

परिवार, शैक्षिक संस्थाहरू, समुदायहरू ज्ञानको पुस्तान्तरणका महŒवपूर्ण इकाइहरू हुन् । त्यसैले ज्ञानको पुस्तान्तरणको निमित्त यी इकाइहरूलाई सक्रिय पारिनु पर्दछ ।

नयाँ पुस्ताले पुरानो पुस्ताबाट ज्ञान ग्रहण गर्दा निरपेक्ष दृष्टिकोण अवलम्बन गर्नुहुन्न । मानिसको ज्ञान सधैं तलबाट माथितिर, छिपछिपेबाट गहिराईतर्फ, स्वतस्फूर्तबाट सचेततर्फ, अवैज्ञानिकबाट वैज्ञानिक दिशातर्फ उन्मुख हुन्छ । हामीले पुर्खाहरूबाट आर्जन गर्ने ज्ञानहरू पनि यस प्रक्रियाबाट गुज्रँदै आएका हुन्छन् । त्यसैले, पुर्खाहरूबाट ग्रहण गर्ने ज्ञानमा सही कुरा के के हुन् र गलत कुरा के के हुन् भन्ने कुरा छुट्याउनुपर्छ । ज्ञानको पुस्तान्तरणको नाउँमा हाम्रा पुस्ताले प्रकृति समाज र मानव चिन्तनप्रति रहेका उनीहरूका अल्प ज्ञानको कारणबाट निकालिएका निष्कर्षहरूलाई ग्रहण गर्न हुँदैन । विज्ञानसम्मत विचार, मूल्यमान्यता निष्कर्षहरूलाई मात्र ग्रहण  गर्नु पर्दछ । त्यसो गरेर मात्र हामीले हाम्रो पुर्खाको गलत विचार, मूल्यमान्यता र निष्कर्षहरूलाई सच्याएर तिनलाई वैज्ञानिक रूप दिन सक्दछौं ।

ज्ञानको पुस्तान्तरणको कुरा गर्दा हामीले यस दौरन्मा सामना गर्नुपर्ने चुनौतीहरूलाई उपेक्षा गर्नुहुन्न । यस सम्बन्धमा हामीले थुप्रै चुनौतीहरूको सामना गर्न परिरहेको छ । पहिलो चुनौति यो हो कि पूँजीवादले मानिस र उसको ज्ञानलाई बजारको वस्तुमा रूपान्तरित गरेको छ । अहिले पुख्र्यौली ज्ञानको उपादेयता त्यसको विज्ञान सम्मतामा होइन, त्यसको बजार मूल्य कति छ भन्ने कुराको आधारमा हेरिन्छ । त्यो ज्ञान सही भएपनि यदि अहिले त्यसको बजार मूल्य छैन भने नयाँ पुस्ताले त्यसलाई अस्वीकार गर्ने र बजार मुल्य राम्रो भएको पुर्खाको गलत विचा मूल्य मान्यतालाई ग्रहण गर्ने खतरनाक प्रवृत्ति सशक्तरूपा अगाडि आइरहेको छ । यो सही ज्ञानको पुस्तान्तरणको निमित्त ठूलो चुनौती हो ।

दोश्रो चुनौती पुस्तागत भिन्नता हो । पुरानो र नयाँ पुस्ताबीच मूल्य मान्यता, सम्वाद शैली र प्राविधिका ज्ञानको दृष्टिबाट थुप्रै भिन्नताहरू छन् । पुरानो पुस्ता आमने–सामने भएर ती कुराहरू हस्तान्तरण गर्न इच्छुक हुन्छ । त्यसमा उसले सजिलो महसूस गर्छ भने नयाँ पुस्ताले प्रविधिको प्रयोगमा जोड दिन्छ, त्यसमा उसले सजिलो महसूस गर्छ । यो भिन्नताले ज्ञानको पुस्तान्तरणमा समस्या पैदा गर्दछ । यद्यपि यो समस्या सधैं रहने कुरा होइन । जब प्रविधिमैत्री अहिलेको नयाँ पुस्ता पुरानो पुस्तामा रूपान्तरित हुनेछ । तब यो समस्याको एक निश्चित हदसम्म समाधान हुनेछ । निश्चयै पनि पूर्णरूपले यो समस्या त्यतिबेला पनि पूर्णरूपले समाधान हुनेछैन किनकि प्रविधिको विकास यति तीव्ररूपमा भइरहेको छ कि आजको प्रविधिविज्ञ पुस्ताको पनि भोलिको प्रविधि विज्ञ पुस्तासित कतिपय अन्तर्विरोध देखिने छ । तैपनि त्यो प्रविधिविज्ञहरूबीच स्तरको भिन्नता हुनेछ न कि प्रविधिको ज्ञान नभएको पुस्ता र प्रविधिको ज्ञान भएको पुस्ताबीचको भिन्नता ।

अहिले ज्ञानको पुस्तान्तरणमा नेपाललगायत विश्वभरि नै देखिएको सबैभन्दा गम्भीर समस्या राजनीतिक क्षेत्रमा हो । पुस्तान्तरणको नाउँमा राजनीतिक दलहरूभित्र पुरानो पुस्ताको विरूद्ध नयाँ पुस्तामा र समाजमा सबै पुराना (वास्तवमा अनुभवी) राजनीतिज्ञहरूका विरूद्ध नयाँ पुस्तामा वहिष्कारको सोच विकास भएको देखिन्छ । यसप्रकारको सोचले ज्ञानको पुस्तान्तरण गर्दैन, त्यसले पुस्ताले आर्जन गरेको ज्ञानलाई सम्पूर्णरूपले बहिष्कार गर्दछ । वास्तवमा यसप्रकारको दृष्टिकोण ज्ञानको पुस्तान्तरण विरोधी हो । यसले समाजलाई सही दिशामा अगाडि बढाउँदैन ।

२०८३ वैशाख २७

योगेन्द्र ढकाल

योगेन्द्र ढकाल अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत हुन् ।