कार्ल स्मिट र कातेखोन

बहुध्रुवीय विश्वमा मित्र र शत्रु

बहुध्रुवीय विश्व व्यवस्थामा मित्र–शत्रु विभाजन गर्दाको संकटबारे रुसी दार्शनिक अलेक्जेन्डर दुगिनको विचार।

मैले जहिले पनि  कार्ल स्मिलाई अत्यन्त गहिरो रुचि र गम्भीरताका साथ अध्ययन गर्दै आएको छु। मैले उनका कृतिहरू अनुवाद पनि गरेको छु। ती मध्ये केही विषयहरू (होब्सको लेभियाथान सम्बन्धी उनको व्याख्या, शेक्सपियरको ह्याम्लेट माथि उनको विश्लेषण, वा राजनीतिक रोमान्टिसिज्मप्रतिको उनको आलोचना) ले मभित्र उनको दृष्टिकोणप्रति केही असहमति पनि पैदा  गराएको छ। तर समग्रमा, मैले उनका अधिकांश विचारहरू र अवधारणाहरूलाई अत्यन्त सान्दर्भिक ठानेको छु र वर्तमानमा पनि त्यस्तै महसुस गर्दछु।

राजनीतिकको परिभाषा भित्र मित्र र शत्रुबीचको भेद छुट्टाउनु निःसन्देह एक शास्त्रीय सिद्धान्त हो। यहाँ मुख्य बिन्दु यथार्थवादी र म्याकियाभेलीय दृष्टिकोणअनुसार दुई अस्तित्वगत क्षेत्रहरूमा विभाजन गर्नु हो। ती हुन् नैतिक र राजनीतिक। मित्र/शत्रु कुनै पनि हिसाबले राम्रो/नराम्रोसँग समानार्थी हुँदैन। नैतिकताको क्षेत्र निरपेक्ष हुन्छ। दुष्टता वा शत्रुता कहिल्यै राम्रो बन्न सक्दैन र यसको पूर्णरूपमा विपरीत हुन पनि सम्भव हुँदैन। तर राजनीतिक क्षेत्र सापेक्षिक हुन्छ। राजनीतिमा हिजोको शत्रु आजको मित्र बन्न सक्छ; सबै कुरा आफ्नो हित वा स्वार्थमा निर्भर हुने गर्दछ।

यो त्यही आधार हो जसमा कार्ल स्मिको सम्पूर्ण राजनीतिक दर्शन आधारित छ। अन्तर्राष्ट्रिय राजनीतिमा यसलाई लागू गर्दा र सार्वभौमिकताको यथार्थवादी दृष्टिकोण व्याख्याको सन्दर्भमा (जसमा स्मिले ठीक त्यस्तै दृष्टिकोणलाई अङ्गीकार गरेका थिए।) यो पूर्णरुपमा सान्दर्भिक मानिन्छ। यही आधारमा स्मिले, र पछि एलेन डे बेनोइस्टले, “बहुविश्व” (Pluriverse) को सिद्धान्त निर्माण गरेका हुन्। यस सिद्धान्तमा मित्र/शत्रु को अवधारणा व्यापक रूपमा क्रियाशील रहेको पाइन्छ साथै यहाँ उदारवादप्रतिको अन्तर्निहित आलोचना पूर्ण रूपले प्रभावकारी प्रमाणित हुन्छ।

यदि हामीले मित्र/शत्रु सिद्धान्तलाई आन्तरिक राजनीतिमा लागू गर्छौँ भने यसले व्यवहारतः उग्र लोकतन्त्र र संसदीय व्यवस्थाका लागि आधार प्रदान गर्छ। जसलाई स्वयं स्मिले अस्वीकार गरेका छन्। आन्तरिक राजनीतिमा मित्र/शत्रु सिद्धान्तको मान्यताले समाजलाई विभाजित र ध्रुवीकृत बनाउँछ। यसको अर्थ स्मिको परिभाषा जब आन्तरिक रूपमा लागू गरिन्छ, आन्तरिक राजनीतिमा मित्र-शत्रुको सिद्धान्तले समाजलाई दुई परस्पर विरोधी ध्रुवमा विभाजन गरी ध्रुवीकृत बनाउँछ।

विदेश नीतिको मित्र–शत्रुको धारणा नजिकबाट जाँच्दा बाहिर देखिनेजति भरपर्दो हुँदैन। यो कार्ल स्मिटको यथार्थवाद र वेस्टफालियन प्रणालीसँग मेल खान्छ। तर बहुध्रुवीय विश्व (राज्य–सभ्यता) तर्फको संक्रमणमा सभ्यतागत सार्वभौमिकता स्वीकार गर्दा पनि विचारधारालाई गौण बनाउने यथार्थवादी दृष्टि अब विश्वसनीय छैन।  राज्य–सभ्यता कातेखोनको सभ्यता ख्रीष्ट विरोधी सभ्यतासँग तटस्थ र केवल औपचारिक रूपले मात्र सम्बन्धित हुन सक्दैन। जबकि शत्रु/मित्र मोडेलमा आधारित ‘राजनीतिक’ को अस्तित्वगत अवधारणाले यस्तै औपचारिक सम्बन्धको अपेक्षा गर्छ। (यहाँ दार्शनिक  दुगिनका अनुसार रूसको भूमिका "कातेखोन" हो, अर्थात पवित्र रूढिवादी इसाई सभ्यता जसले पश्चिमी उदारवादबाट फैलिएको 'ख्रीष्ट–विरोधी' (Antichrist) शक्तिलाई रोक्छ। यो कुनै तटस्थ या केवल औपचारिक सम्बन्ध होइन। एकैपटक कातेखोन (जसले ख्रीष्ट–विरोधीलाई नै रोक्नुपर्छ) हुनु र स्मिटको मित्र/शत्रु मोडेलका आधारमा ख्रीष्ट–विरोधी सभ्यतासँग कुनै प्रकारको तटस्थ या केवल औपचारिक सम्बन्ध राख्नु असम्भव छ। कातेखोनको अस्तित्व नै त्यो 'शत्रु'को विरोधमा परिभाषित हुन्छ।)

यसैले, यसको सम्पूर्ण प्रासंगिकता र प्रभावकारिताका बाबजुद पनि कार्ल स्मिटको सामान्य मोडेलको उपयोगिता प्रश्नको घेरामा पर्छ।

यस विषयमा अझ गहन मनन आवश्यक छ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली