फुर्सदको समय

काम नगर्ने तर ओभरटायम भत्ता खान खोज्ने” प्रवृत्ति कहिले हट्ने ?

पन्ध्रौँ वर्ष आन्दोलनमा लागेको भइसक्यो तर मार्क्सवादको कुनै सरल पुस्तक पनि एकपल्ट आद्योपान्त नपढेका, माओ वा लेनिन वा गंगालालका जीवनी नपढेका, पल्लो जिल्लासम्मै पनि नपुगेका, आफैले खटेर कुनै संगठनको कुनै इकाई नचलाएका, यस्ता 'वरिष्ठ' कार्यकर्ताहरू आफूलाई 'फुर्सदै नभएको' विषयमा हरेक दिन तीन-तीन घण्टा गफ गरेर समय नष्ट गरिरहेछन्।

० 'काम केही पनि छैन, दिक्क लागिरहेछ। ल्याऊ ल्याऊ साइँला एक कप चिया।'

यो व्यक्ति काठमाडौं शहरनेरको एउटा गाउँको अधबैंशे व्यक्ति हो। यो व्यक्तिको घरमा बिहान चारै बजेदेखि उठेर महिलाहरू घर-गोठको काम गरिरहेका हुन्छन्। धारा-पँधेराको काम गरिरहेका हुन्छन्। यो व्यक्ति सात बजेतिर उठ्छ र गाउँको दोबाटोको चिया पसलमा दुई घण्टा गफ चुटेर बस्छ। तीन कपसम्म चिया खान्छ, अनि 'खाना किन चाँडो नपाकाएको?' भनी घरमा तिनै महिलाहरूलाई गाली गर्न पुग्छ। दिनभर पनि केही काम हुन्न। तास खेल्ने र साल कुर्ने वा गाउँलेहरूको कुरा काटेर दिन कटाउने काम उसको हुन्छ।

यो वास्तविकता हो। तपाईं यो कुरा पत्याउनु हुन्न भने काठमाडौं शहरनेरै केन्द्रबाट दश बाह्र किलोमिटर टाढा जुनसुकै दिशामा गएर पनि हेर्न सक्नु हुनेछ। प्रमाण तपाईं स्वयं पाउनु हुनेछ।

० शहर बजारमा मानिसहरू अलि बढी व्यस्त छन्। तर पनि त्यहाँ पनि यसरी नै फुर्सद मनाउनेहरू प्रशस्त पाइन्छन्।

–आमा, दिदी, बहिनीहरूलाई 'दास' सरह बनाएर, आफ्ना कामहरूमा जोताएर, भाँडा, लुगा, भान्छा आदिको सारा कामको बोझ थोपेर साथीकहाँ गएर गफ चुट्ने, क्यासेट सुन्ने वा भिडियो हेर्ने वा लखरलखर गल्लीमा घुम्ने युवाहरू त्यहाँ थुप्रै पाइन्छन्।

'काम छैन, क्या बोर यार! सुत्दा सुत्दा दिक्क लागेर तिमीकहाँ आएको!'- साथीलाई यसो भन्ने तन्नेरीले आफू घरमा आरामले दिउँसो सुतिरहेकाले त्यही क्षणमा दिदी वा बहिनी वा श्रीमती वा भाइ-बुहारी वा भाउजूलाई आफ्ना लुगा धुने काममा जोताइरहेको हुन्छ। परीक्षाको समय, बिरामी भएको बेला वा हतारो परेको बेला- केही नभनी उनीहरू काममा जोतिइरहेका हुन्छन्।

० शहरमा अचेल राति अबेरसम्म भट्टीमा बसेर रक्सी-मासु खानेहरूको संख्या ठूलो छ। घरमा भात पाकिरहेको हुन्छ, त्यतिखेर सयौँ रूपैयाँ रेष्टुराँमा खर्च गरेर, उडाएर घरमा आएर घरखर्च माग्ने आमा वा श्रीमतीलाई कुट्ने थुत्नुबाहरूको संख्या यहाँ दिनदिनै बढ्दैछ। राति बाह्र बजे घर पुग्ने र त्यसरी ढिलो घर पुग्नुलाई ठूलो 'पराक्रम' मान्नेहरू पनि शहरमा थुप्रै छन्।

यी सबैलाई 'बोर लागिरहेको हुन्छ। र, यिनीहरू आफूलाई निकै फुर्सदमा भएको घोषणा पनि गर्छन्। 'अहिले साँझ छँदैमा घर गएर के गर्नु?'- उनीहरूको भनाइ यही हुन्छ।

० पहाडी गाउँघरहरूमा पनि समस्या यस्तै छ। स्वरूप मात्र केही फरक छ। दिनभर तास खेलिने अखडाहरू, भट्टी पसलहरू, चिया पसलहरू, धान्नेका अखडाहरू आदिमा धेरै मानिसहरूको समय बितिरहेको हामी प्रष्टै देख्छौँ। तराईका गाउँहरूमा जनजीवन अलि बढी जटिल भएकोले श्रमिकहरू काम खोज्नतिर लागेका पाइन्छन् भने निम्नमध्यम, वर्गदेखि माथिकाको प्रवृत्ति भने पहाडी भेकका अल्छीहरू र ऐयाशीहरूको भन्दा ज्यादा भिन्न छैन।

जम्माजम्मीमा भन्ने हो भने, हामी नेपालीहरूको फुर्सदको समय ज्यादाजसो बेकारमा बितिरहेछ, हानिकारक कुराहरूमा बितिरहेछ। यो कुनै भौतिक सर्वेक्षण गरेर निकालिएको निचोड अवश्य नै हैन। तर सर्वेक्षण बिना नै पनि हामीले देखे, बुझे, जानेका आधारमा यो प्रवृत्तिलाई हामी सहजै अनुभव गर्न सक्छौँ।

आय-आर्जनसँग सम्बन्धित रोजगारीका अवसरहरू कम छन्, बेरोजगारी छ। हाम्रो समाजको यो विशेषतालाई यहाँ बेवास्ता गर्न खोजिएको बिल्कुलै हैन। हो, बेरोजगारी यहाँको ठूलो समस्या हो। तर सांस्कृतिक पक्षमा हेर्ने हो भने- यहाँको समस्या कमजोर प्रवृत्ति र अल्छी प्रवृत्ति पनि हो। यही प्रवृत्तिले पनि फुर्सदको सिर्जना गरिरहेछ र त्यो नोक्सानदायी कुराहरूमा बितिरहेछ, बेठीकमा बितिरहेछ।

–अन्यत्र काम नभए घरको काममा सहभागी हुन त सकिन्छ नि!

तर पुरूषप्रधान सामन्ती अहंको आडमा यहाँ अल्छीहरू, गफाडीहरू आफूलाई कामबाट पृथक राख्छन्। सृजनात्मक रूपमा आफैले कामहरू खोज्ने, सीपहरू खोज्ने र मिहिनेत गर्ने संस्कृति यहाँ कायम हुन नसकेको देखिन्छ। सामन्तहरूले फैलाएको मान्यता अनुसार 'मस्तसँग बसी बसी खान पाउनु' नै यहाँ मान्छे 'ठूलो' हुनुको पर्याय मानिन्छ।

–हरेक बिहान घरमा आफ्ना छोराछोरीहरूलाई उनीहरूको पढाइमा मद्दत गर्ने काम समेत नगरी टोलटोल चाहारेर चिया खाँदै हिँड्ने कथित प्रबुद्ध बाबुहरू पनि यहाँ थुप्रै छन्, जो जब तिनै छोरा वा छोरी परीक्षामा फेल हुन्छन्, तब तिनलाई जंगली पाराले कुट्ने गर्छन्।

–फुर्सदको बेलामा आफूले जुवा खेल्न सिकाएर, पछि छोराहरू जुवाडे हुन गएकोले घरमा गाग्री-कचौरा पनि बाँकी नरहेको गुनासो गर्ने घरमूली बाबुहरू पनि यहाँ प्रशस्त छन्।

अशिक्षित व्यक्तिहरूको कुरा मात्र हैन यो। शिक्षित व्यक्तिहरूमा समेत यो समस्या झन् जटिल रूपमा रहेको पाइन्छ। जुवा र जँड्याहा नयाँ स्वरूपहरूमा उनीहरू पनि डुबेर 'गौरवान्वित' हुन चाहन्छन्।

खासगरी, रातारात करोडपति बन्ने सपना बोकेर भुइँफुट्टा पुँजीपतिहरूले फैलाएको संस्कृति बोकेर उनीहरू सानातिना कामलाई त काम नै गन्दैनन्। धेरै समयसम्म उत्पादनमूलक काम पटक्कै नगर्ने र थोरै समयमै तस्करी गरी रातारात अन्याय कमाउने दाउमा बस्ने काम उनीहरू गर्छन्। अफिसका कतिपय कर्मचारीहरू पनि बरू फुर्सदै फुर्सदमा गफ गरेर बस्ने गर्छन्, तर जनताको काम समयमा गरिदिँदैनन्। प्रायः घुस खानलाई यस्तो गर्ने गरिन्छ। अफिस टाइममा दिनभर गफ चुटेर बस्ने वा व्यक्तिगत काम गर्न हिँड्ने, फिल्म हेर्न जाने आदि गरेर साँझको ओभरटायम भत्ता खानेहरू पनि यहाँ धेरै पाइन्छन्।

यो 'काम नगर्ने तर ओभरटायम भत्ता खान खोज्ने' प्रवृत्ति राजनीतिक रूपले सचेत भनिएका हामी 'प्रगतिशीलहरूमा' पनि विद्यमान देखिएको छ।

–यति धेरै सामाजिक कामहरू छन्- जनतामा जाने, संगठित गर्ने, आफू सचेत बन्ने, अरूलाई सचेत गराउने, पढ्ने, पढ्न लगाउने, भेला-छलफलको आयोजना गर्ने, अन्तर्क्रिया गर्ने, विचारमा प्रष्ट हुने, बेथितीका विरूद्ध संघर्ष उठाउने, समाजसेवाका कामहरू गर्ने आदि आदि थुप्रै कामहरू गर्न छोडेर जुवाको खालमा वा भट्टी पसलमा वा चिया पसलको गफाडी भेलामा झुम्मिनेहरूमा हामी प्रगतिशील भनिनेहरू पनि थुप्रै छौँ। हामीले देखिरहेका छौँ- हाम्रो आन्दोलनभित्र केही व्यक्तिहरू अत्यन्त सक्रियतापूर्वक खटिरहनु भएको छ। उहाँहरूलाई खाने, सुत्नेसम्मको फुर्सद पनि छैन। तर त्यही समयमा हामीहरू चाहिँ यता र उता हल्लिएर हिँड्छौँ।

–पन्ध्रौँ वर्ष आन्दोलनमा लागेको भइसक्यो तर मार्क्सवादको कुनै सरल पुस्तक पनि एकपल्ट आद्योपान्त नपढेका, माओ वा लेनिन वा गंगालालका जीवनी नपढेका, पल्लो जिल्लासम्मै पनि नपुगेका, आफैले खटेर कुनै संगठनको कुनै इकाई नचलाएका, यस्ता 'वरिष्ठ' कार्यकर्ताहरू आफूलाई 'फुर्सदै नभएको' विषयमा हरेक दिन तीन-तीन घण्टा गफ गरेर समय नष्ट गरिरहेछन्।

समयको सदुपयोग गर्ने र फुर्सदको समयको सर्वोत्तम उपयोग गर्नेतर्फ हामीले मूर्त रूपले सोच्नु र उपाय खोज्नु जरूरी छ कि छैन? हामीले ती अल्छी र हुस्सुहरूलाई कसरी यसबाट सचेत गराउने? विचारणीय विषय बनेको छ।

यस्तो देखिन्छ- हाम्रो नेपालको दुर्गतिको एउटा मुख्य कारण- हाम्रो बेफ्वाँकमा फुर्सद बिताउने ढंग हो। प्रगति गर्ने हो भने, यो ढंग हामीले बदल्नै पर्छ। हाम्रो फुर्सदलाई कुनै न कुनै उत्पादनशील वा उपयोगी काममा लगाउनै पर्छ।

–मूल्याङ्कन २०५३ जेठमा प्रकाशित