सुकुमवासी जनताका शत्रुहरुको भण्डाफोर
पुँजीवादी लोकतान्त्रिक आन्दोलनले पूर्णता प्राप्त गर्न नसक्नु नेपाली समाजमा दु:खको कारण बनेको छ। महान जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई क. प्रचण्ड नेतृत्वको कम्युनिस्ट पार्टीले पुँजीवादी लोकतान्त्रिक आन्दोलनको आधारभूत कार्यभार पूरा भएको र बाँकी कार्यभार उठाउदै समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्ने कार्यदिशा व्यक्त गरिआएको छ। नेपालको संविधान २०७२, धारा ४ ले २०६५ यताको गणतान्त्रिक राज्यलाई समाजवाद उन्मुख भनेको छ।
परन्तु, ऐतिहासिक प्रक्रियाका दृष्टिले पुँजीवादी आन्दोलनको पूर्णता र समाजवाद उन्मुख अर्थराजनीतिक व्यवस्थापन अभावकै कारण देशमा अहिले राष्ट्रिय स्वाधीनता र गणतान्त्रिक जीवन मूल्य, विशेषतः सुकुमवासी जनजीवनमा जटिलता उत्पन्न भइरहेको हो। जसको निरुपण नेपालमा समाजवादका लागि समाजवादी निर्वाचन प्रणाली स्थापनाबाट गर्न सकिन्छ।
उपरोक्त पृष्ठभूमिमा गणतान्त्रिक नेपालमा समेत बसोबास संकटका रुपमा सुकुमवासीलगायत वर्ग, लिङग, जातजातिका मुद्दा सुल्झिनुको सट्टा बल्झिएका हुन। त्यसैमा नङग्रा गाडेका दक्षिणपन्थी अराजकतावादीहरुले "नयाँ" को हौवामा रास्वपा नामक जत्थालाई बहुमत लुटाएका हुन। जसको अर्थात रास्वपा बहुमतको सरकारले २०८३ बैसाख १२/१३ गते संघीय राजधानी, काठामाडौंभित्रका दशौं हजार सुकुमवासी जनतालाई कसरी बलजफ्ति विस्थापित गर्यो? वास्तवमा त्यो मानवता विरुद्ध्वको अपराध थियो, जुन २०८२ भदौ २४ गते संसदभवन, सिंहदरबार, सर्वोच्च अदालत र गणतन्त्र स्थापनार्थ लडेका दलहरुको कार्यालय र नेताहरुको निवासमा आगो झोस्ने विध्वङ्शकै निरन्तरता हो!
विशेषतः हामी अर्थात यो पंक्तिकार किन पुग्यो, सुकुमवासी बस्तीमा र रास्वपा सरकारद्वारा रचित सुकुमवासी काण्डमा कसरी लखेटियो, भन्नेवारे प्रस्तुत आलेख केन्द्रित छ।
निषेधको निषेध नभएको नेपाली राजनीतिक समस्या
विसं २००७ को प्रजातान्त्रिक आन्दोलनदेखि २०६५ को प्रथम संविधानसभाद्वारा गणतन्त्र घोषणायता समेत नेपालको केन्द्रीय राजनीतिमा एक प्रवृत्ति नितन्तर देखिन्छ। त्यो हो, विद्यमान व्यवस्थालाई बेठीक करार गर्ने र परिवर्तनका लागि जनसमक्ष आन्दोलन आव्हान गर्ने। जब जनताले साथ दिन्छन, आंशिक परिवर्तन हुन्छ, आन्दोलनकारी सत्तामा पुग्छन, तर आफू ठीक सावित हुन सक्दैनन्।
घटनाक्रमलाई हेर्दा जहानिया राणाशासनलाई बेठीक भन्दै प्रजातन्त्रका लागि आन्दोलन गर्ने नेपाली कांग्रेस २००७ मा सत्ता संचालनमा पुग्यो। २०१५ को निर्वाचनमा त उसले दुई तिहाई बहुमत पनि हासिल गर्यो। तर, के राणा भन्दा कांग्रेस ठीक सावित हुन सके त? सकेनन्। त्यसैको परिणाम हो, २०१७। जसमा राजा महेन्द्रले कांग्रेस र कम्युनिस्टलाई अराष्ट्रिय तत्व भन्दै बहुदलीय प्रजातन्त्रमाथि सैनिक प्रतिबन्ध लगाउने मौका पाए।
जब जनताले साथ दिन्छन, आंशिक परिवर्तन हुन्छ, आन्दोलनकारी सत्तामा पुग्छन, तर आफू ठीक सावित हुन सक्दैनन्।
कांग्रेस र कम्युनिस्ट पार्टीलाई अराष्ट्रिय तत्व आरोपित गर्नुको अन्तर्य तिनलाई बेठीक करार गर्ने पञ्चायती महेन्द्रको कदम थियो। तर, फेरि राजा र पञ्चहरुले आफुलाई ठीक सावित गर्न सके त? किमार्थ सकेनन्। त्यसको परिणाम हो, प्रथम जनआन्दोलन २०४६। जसले भन्यो- सक्रिय राजतन्त्र र निर्दलीय पञ्चव्यवस्था बेठीक भयो, बहुदलीय प्रजातन्त्र चाहियो। समकालीन जनता जागे। निर्दलीय पञ्चायत खारेज तथा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरियो।
उप्रान्त सत्ता संचालनमा कांग्रेस र एमाले पुगे। प्रश्न कि पुनर्स्थापित बहुदलीय प्रजातन्त्रमा कांग्रेस- एमालेहरु विगत पञ्च भन्दा कत्ति ठीक सावित भए? प्रकारान्तरले ठीक सावित देखिएनन्। तब जनयुद्वको झण्डा उठाउदै माओवादी आए।
राजनीतिक उपलब्धिका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो। उप्रान्त माओवादी नेताहरु राजा भन्दा, कांग्रेस र एमाले भन्दा कत्ति ठीक सावित हुन सकियो?
माओवादीले तीन बेठीक करार गर्दै भन्यो- राजा बेठीक, कांग्रेस बेठीक र एमाले बेठीक। प्रथम संविधानसभा निर्वाचनमा नेपाली जनताले तीन बेठीक करारलाई सदर गर्दै नेकपा (माओवादी) लाई ठूलो पार्टीको स्थान दिलाइदिए। राजनीतिक उपलब्धिका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो। उप्रान्त माओवादी नेताहरु राजा भन्दा, कांग्रेस र एमाले भन्दा कत्ति ठीक सावित हुन सकियो?
प्रश्न यो हो, जसको नकारात्मक राजनीति २०८२ भदौ २३/२४ को जग बन्यो। त्यस प्रतिगमनकारी विध्वङ्शको प्रशासनिक जिम्मा भने एमाले- कांग्रेस सरकारका उद्दण्ड प्रधानमन्त्री खड्गप्रसाद ओलीको खातामा मूलतः केन्द्रित छ।
उपरोक्त प्रवृत्तिले नेपाली राजनीतिमा निषेधको निषेध प्रक्रिया अवरुद्व गरिआएको छ। तब पुँजीवादी आन्दोलनको पूर्णता र समाजवादी युग प्रारम्भ गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र कार्यान्वयन हेतु मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा विकसित समाजवादी निर्वाचन प्रणालीको लोकतन्त्र यहाँ शख्त जरुरी छ। जुन, पुँजीवादी लोकतान्त्रिक क्रान्तिको बाँकी कार्यभार हासिल गर्दै नेपाली किसिमको समाजवादी राजनीतिक कार्यनीति हो। जसले, गणतान्त्रिक नेपालको अर्थराजनीतिमा निषेधको निषेध प्रक्रिया सम्पन्न गरी गुणात्मक परिवर्तनतर्फको दिशामा हिँडाउने बाध्यात्मक संरचना सृष्टि गर्दछ।
राईहरुको नियतिपूर्ण इतिहास पृष्ठभूमिमा सुकुमवासी आन्दोलन
लेखक तथा विश्लेषक युग पाठककृत "माङगेना: नेपाल मन्थन" पुस्तकमा एमसी रेग्मीको अंग्रेजी पुस्तक "ल्याण्ड ओनर्शिप इन नेपाल" लाई व्यापक उद्धृत गरिएको छ। जस अनुसार तराई-मधेशको जमीन विर्ता र जागिरका नाममा दरबारिया ब्राम्हणहरुलाई दिलाउने शासन कसरी चल्यो, भन्ने विवरण व्यापक दिइएको छ। त्यसरी नै पूर्वी नेपालको किरात- लिम्बुवान क्षेत्रमा जब गोर्खाली सेनाको स्थायी पल्टन राख्ने काम भयो, तब खानगीका नाममा स्थानीय ऊर्वर जमीनहरु सर्वत्र गोर्खा राज्यकरण भए। त्यसको परिणामस्वरुप आदिवासीहरुको हातबाट उत्पादनका परम्परागत साधनहरु खोसिए।
त्यस अघि सैन्य दृष्टिले बताउछ कि जुन दिशाबाट दुस्मन आउँछ, भागदौडका बखत ठीक विपरीत दिशातर्फ मानिस पलायन हुन्छ। पश्चिमबाट भरुवा बन्दुकको धमाकासहित गोर्खाली आए, आदिवासीहरु अझ पूर्वतर्फ केन्द्रित हुँदै गए। परिणाममा पश्चिम नेपालका सबै जातजातिहरु पूर्वी नेपालमा बसोबास गर्न पुगेका छन, तर पूर्वी नेपालका किरातीहरु पश्चिम नेपालमा पाइँदैनन्। २००७ मा राणाशासन अन्त्यबाट मात्र राई, लिम्बू, सुनुवारहरु पश्चिम नेपालमा पुग्न थालेका हुन्।
आदिवासीहरुको ऊर्वर जमीन गोर्खाली सेनाका खानगीमा परिणत भए। त्यसले पनि नपुग्दा, प्राय: युद्ध्वहरु भइरहने स्थितिमा गोर्खा सरकारलाई धनको आवश्यकता बढ्यो। तब सामान्य जमीनका रैतीहरुबाट पनि सरकारले चर्को कर उठाउन थाल्यो। यसरी पहिलो, पश्चिमबाट आएका आक्रमणकारीबाट बच्न र दोस्रो, करको भारीले थिचिएका आदिवासीहरु अझ पूर्वतर्फ पलायन हुँदै गए।
आफ्नो पुर्खौली जमीन कि बन्जर भइसकेको थियो कि त अरुले चर्चिरहेको स्थितिले उनीहरुको जीवनदशा विलखबन्दमा पर्यो। तब भूमिहीन अवस्थामा पुगेका उनीहरुमध्ये कसैले बन्जर पूर्खौली जमीनमा ढालफाँड गर्न थाले भने कसैले पाखाभित्तामा खोरिया फँडानी गरि नयाँ बसोबास सुरुआत गरे।
उपरोक्त कारणले, जानकारहरुका अनुसार पूर्वी नेपालमा जनसंख्या तीब्र गतिमा घट्न थाल्यो। भनिन्छ, राजा रणवहादुर शाहको उत्तरार्द्वकालमा त्यसैले भूमिकरको मात्रा घटाएर देश बाहिर पलायन भएका रैतीहरुलाई स्वदेश वापसीको आव्हान गरियो। कतिपय रैतीहरु स्वदेशको पुर्खौली भूमिमा फर्किए। तर, आफ्नो पूर्खौली जमीन कि बन्जर भइसकेको थियो कि त अरुले चर्चिरहेको स्थितिले उनीहरुको जीवनदशा विलखबन्दमा पर्यो। तब भूमिहीन अवस्थामा पुगेका उनीहरुमध्ये कसैले बन्जर पूर्खौली जमीनमा ढालफाँड गर्न थाले भने कसैले पाखाभित्तामा खोरिया फँडानी गरी नयाँ बसोबास सुरुआत गरे।
हो, खास राईकिरातीको हकमा (किनभने लिम्बू समाजमा फरक धारणा सुनिन्छ) त्यसरी स्वदेश फर्किएर विलखबन्दको जीवनदशा भोग्न पुगेका, जो आफ्नै देशमा पनि भूमिहीन बनेका थिए, उनै रैतीहरुलाई नै खस-नेपाली बोलचालमा "सुखिमवासी" भन्न थालियो। त्यही सुखिमवासी शब्द क्रमश: "सुकुमवासी" बन्न पुग्यो। यसरी आदिवासीको मौलिक शब्द नभए पनि राईकिराती पूर्खाहरुको रगत, आँसु र पशिनाको पोखरीमा सुकुमवासी शब्द निर्माण भएको मानिन्छ।
स्वदेश फर्किएर विलखबन्दको जीवनदशा भोग्न पुगेका, जो आफ्नै देशमा पनि भूमिहीन बनेका थिए, उनै रैतीहरुलाई नै खस-नेपाली बोलचालमा "सुखिमवासी" भन्न थालियो। त्यही सुखिमवासी शब्द क्रमश: "सुकुमवासी" बन्न पुग्यो।
प्रश्न छ, सुखिमवासी कसरी बन्यो सुकुमवासी? जवाफ प्रष्टै छ, सिक्किमको इतिहासमा पढ्न सकिन्छ, हाल सिक्किमको नाम सुरुमा सङ्खिम थियो, जो क्रमश: सुखिम बन्यो। त्यही सुखिमलाई अंग्रेजहरुले सिक्किम उच्चारण गरिदिए। जसलाई, रणवहादुर शाहको समयमा सुखिम भनिन्थ्यो। सुखिमबाट आएकाहरुलाई भनियो, सुखिमवासी।
आज नेपालमा स्वदेशी नागरिक, तर जो भूमिहीन अवस्थामा छन, उनीहरुलाई नै भनिएको छ, सुकुमवासी। जसको जनसंख्या दशौं लाख रहिरहेको छ। नेपालको संविधान २०७२, धारा ३७ मा व्यक्त प्रत्यक नेपाली नागरिकको बसोबासको हक हुनेछ, को बर्खिलाफमा गएको छ, रास्वपा सरकार। जसको परिणाम सुकुमवासी जीवनलाई सरकार प्रायोजित इतिहासकै संकटग्रस्त खाल्डोमा जाक्ने राज्य-अपराध थोपरिएको छ।
हामी कसरी पुग्यौं, सुकुमवासी बस्तीमा?
हामी असाध्यै गरिब किसान पृष्ठभूमिका मानिस हौं। त्यसमाथि असोज २०३९ मा बुबा बित्नु भयो। लगत्तै गाउँको प्रधानपञ्चले कचहरी बोलाएर हरहिसाब गरे। बैसाख २०२९ मा बुबाले लिनु भएको ४०० रुपैया ब्याजको स्याज इत्यादि गर्दा २०३९ मा ४,२७९ पुगेको देखाइयो। त्यही ऋण सिलसिलामा जग्गा बेच्नु पर्यो। २०४८ मा सोलुखुम्बूमा जग्गा नापी हुने भयो। हिजो ऋण तिर्न बेचिएको जग्गालाई आफ्नो अंश मानेर बाँकी घरबारी कान्छा भाइको नाममा मञ्जुरीनामा लेखिदिने काम गरियो। किनकि, एकातिर बाँकी घरबारी भाइका लागि पनि अत्यन्त सीमित थियो भने आफ्नो चाहिँ क्रान्तिले जीवन निर्धारण गरोस, भनेर निश्चय गरियो।
तत्कालीन नेकपा (चौम) का निर्मल लामा निकट एक बुद्विजीविको संगतले २०४० देखि शोषकलाई मासेर गारिबको राज्य खडा गर्ने लक्ष्यमा हामी क्रान्तिको खोजीतर्फ मोडियौं।
दाह्रीवाल बाजे (कार्ल मार्क्स) को सानो पुस्तिका पढ्दा त्यसमा लेखिएको रहेछ- जिते संसार, हारे हथकडी!
त्यही बन्यो, हाम्रो जीवनदर्शन।
हाम्रो पुस्ताले आफ्नो क्षेमताले भ्याएको सशस्त्र र शान्तिपूर्ण संघर्ष गरेर आयौं, जुन महान जनयुद्ध्व नेपालको इतिहासमा सर्वोच्चतम् जमर्को हो।
२०६३ मा विस्तृत शान्तिसम्झौता गरिआइयो। त्यहाँदेखि लगातार कार्यकर्ता व्यवस्थापन नीतिको माग पार्टीमा गरियो। संस्थागत नीति बनेपछि आफ्नो पनि कतै व्यवस्था गरौंला, भनेर सोंचिएको थियो। तर, पार्टीले कार्यकर्ता व्यवस्थापन नीति ल्याउदै ल्याएन। बरु पार्टी नै सुरुमा वाम विसर्जनवादले औचित्यहीन विभाजन गर्दियो, पछिल्लो समय दक्षिणपन्थी विसर्जनवादले घर गर्यो।
अर्को, लेनिन क्रान्तिसंग तुलना गर्दा नेपालमा फेव्रुअरी क्रान्ति, जुन पुँजीवादी क्रान्ति हो, भएको र अब अक्टोबर समाजवादी क्रान्ति गर्नुपर्ने कार्यभार आत्मसात गरियो। यसको अर्थ नेपाली क्रान्तिले पूर्णता पाएको छैन, भन्ने हो। त्यसले पनि निजी व्यवस्थापनमा उदासीन रहियो।
केही व्यवसाय गरौं, भन्दा कठिनाई के भने आवश्यक रकमका लागि बैंकमा धितो राख्नलाई निजी सम्पति छैन। साथी भाइसंग सरसापट मात्रले कामदार राख्न सकिने व्यवसाय हुँदैन। अत: सरसापट लिएर व्यवसाय गर्दा रातदिन आफै खट्नु पर्नेछ। अन्यथा आय आर्जनद्वारा सरसापटको ऋण तिर्न सकिन्न। ऋण नतिरे अनुहार देखाएर हिँड्न पाइँन्न।
राजनीतिक दायित्वबोध कि हामीले आज जुन परिचय र अनुभवशिद्व ज्ञान हासिल गरेका छौं, वस्तुतः यो सहिद, बेपत्तायोद्वा, कार्यकर्ता साथीहरु र समस्त जनसमुदायको योगदानबाट हासिल गरेका हौं। जसको प्रयोजन भारी अपेक्षित छ। अत: लेनिनको शब्दमा पेशेवर क्रान्तिकारी जीवनमा हामीले आफुलाई कठोरतापूर्वक जननिर्भर पूर्णकालीन तुल्याइरहेका हौं। जसबाट समाजवादी क्रान्तिको सचेत तयारी, संचालन र अभ्यासमा सर्वोत्तम् योगदान गर्न सकियोस्।
कतिपय खुस्केटहरु चिच्याउने गरेको सुनिन्छ, गाउँमा गएर बस्नु नि! ती जन्तुहरुलाई के थाहा राष्ट्रिय चेतना र कार्यभारको महत्व! दोहर्याएर भनौं- हामी आफु मात्र बाँच्न खोज्ने पशु बन्न सकेनौं, लड्दै आउँदा राष्ट्रियस्तरको कार्यकर्ता बनिहाल्यौं। जसमा देशव्यापी कमरेडहरु र जनताको लगानी छ। अत: राष्ट्रिय कर्तव्य पालनाका दौरान खराव भन्दा खराव स्थिति झेलेर पनि हामीले संघीय राजधानीमा बस्नै परेको छ।
हामी यसरी पुग्यौं, सुकुमवासी बस्तीमा।
मनोहराको सुकुमवासी जीवन
भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, वार्ड नं १ मा पर्दछ, मनोहरा सुकुमवासी बस्ती। जहाँ माघ २०८१ मा डेरा बस्न पुग्यौं।
त्यस अघि हामी ललितपुरको ग्वार्कोमा बस्थ्यौं। भाडा थियो- महिनाको ६ हजार, जुन एक समुहका साथीहरुले तिर्दिने भनेका थिए। पूरै भाडामा लगाइएको घर थियो त्यो। तेस्रो तलामा थियौं, हामी। तर, १० परिवारको एउटै चर्पीखाना, दुई दिनमा एक पटक धारामा आउने पानी इत्यादि हुँदा वातावरण कष्टकर थियो।
मंसीर २०८१ मा सुनसरीबाट क. पदम अधिकारी राजधानी आउँदा हामी त्यही डेरामा दु:खले बास बस्यौं। खाना चाहिँ बाहिर होटलतिर खाने गर्यौं। गाडी चालक (ड्राइभर) हरुले खाने होटलमा सस्तो र ढिँडो पनि पाइने हुन्थ्यो। त्यो स्रोत क. पासाङ मोक्तानले दिलाएका थिए।
थप अप्ठेरो, भाडा तिर्दिने समुहले हामीलाई अप्रत्यक्षबाट मार्क्सवाद त्याग्न लगाए। हामीले बुझेको मार्क्सवाद वर्ग प्रधानता अन्तर्गत समाजमा रहेका सबै खाले अन्याय र उत्पीडन विरुद्ध्व लड्ने विज्ञान हो। अत: आफूले मार्क्सवादी भएरै पहिचान आन्दोलनमा योगदान गरिआएको र त्यसै गरिरहने, जसले आन्दोलनमा कुनै बाधा नपर्ने, बरु थप शक्ति मिल्ने तरफदारी गर्यौं। तर, चरम अन्धजातिवादी त्यस समुहले सुन्न चाहेन, भाडा तिर्न छोड्दिए।
कठिनाईकावीच मोरङका एक साथी र पदमजीले मनोहरामा श्री कर्ण पालुङ्वाको सानो घर खाली रहेको, एक कोठा र बाहिरपट्टि किचेनसहित कलधारा पनि भएको, मासिक ३,५०० भाडा लिने र आफुहरु पनि राजधानी आउदा बस्नेगरी भाडा साझेदारी गरी बसौं, भनी प्रस्ताव गरे। सहर्ष स्वीकार गर्दै पालुङ्वाजीको सुकुमवासी घरमा डेरा बस्न पुग्यौं।
राज्यद्वारा सुरक्षा चुनौति थोपरिएबाट जब हामीले बस्ती छोड्यौं, सत्तासीन दल रास्वपाका मण्डलेहरुले गोपाल किरातीको पाँच तले घर भनी दुस्प्रचार गरे। त्यस विरुद्ध्व पत्रकार टेकमान शाक्यसंग यथार्थता प्रकाश पार्ने उनै देवान राईले आएर हामीलाई भाडा मुक्तिको प्रस्ताव गरे। धन्यवादसहित हामीले अस्वीकार गर्यौं। किनभने, सुकुमवासीहरु आफ्नो वर्गका मानिस हुन् भन्नेमा हामी दृढ छौं, तर हामीलाई प्रत्यक्ष सुकुमवासी जीवनको अनुभव थिएन। त्यसैले भोलि अनावश्यक विवादमा परिएला, झमेलामा फँस्नु पर्ला। त्यसो हुँदा आफ्नो राष्ट्रिय काममा बाधा आइपर्ला, भन्ने ठानियो।
राज्यद्वारा सुरक्षा चुनौति थोपरिएबाट जब हामीले बस्ती छोड्यौं, सत्तासीन दल रास्वपाका मण्डलेहरुले गोपाल किरातीको पाँच तले घर भनी दुस्प्रचार गरे।
अरु पनि दर्जनौं स्थानीय साथीहरु आउदै भाडा मुक्तिको दबाव बोल्दै गर्न थाले। हामीले अस्वीकार गरिरह्यौ। वर्गीय भावनाका अतिरिक्त दशक अघि मनोहरा बस्ती जोगाउन हामीले खेलेको सशक्त भूमिका विशेषले साथीहरु त्यसरी जोड्बल गरिरहेको बताउँथे।
साथीहरुले उप्रान्त पदम अधिकारीलाई दबाव गर्न थालेछन। त्यहाँ बसोबासको दुई महिनातिर पदमजीले भावुक हुँदै भने- दाजू, साथीहरुको कुरा मान्दिनुस्!
अब पदम अधिकारी, ज्ञानवहादुर गुरुङ र स्थानीय सीबी लामासंग गम्भीर छलफल गर्यौं। संविधानमा बसोबासको हकवारे जानकार भए पनि अरु मामिलामा हामी अनभिज्ञ थियौं। तीन जना कमरेडले आवास ऐन, भूमि ऐन र आयोगको नियम इत्यादि विस्तृतमा बताए। निस्कर्ष थियो- जसको यो देशमा कहीँ कतै घरजमीन छैन, राज्यले उसलाई चार आना जमीन दिनुपर्छ। सुनिसकेपछि हामी बोल्यौं- ओहो, त्यसो भए वास्तविक सुकुमवासी त हामी पो रहेछौं?
तर, प्रश्न गर्यौं, त्यो कानून किन लागू भएको छैन त? साथीहरुको जवाफ थियो- कसले श्रेय लिने भन्नेमा सत्तासीन दलहरुवीच मारामार चल्छ र लागू भइरहेको छैन।
जसको यो देशमा कहीँ कतै घरजमीन छैन, राज्यले उसलाई चार आना जमीन दिनुपर्छ। सुनिसकेपछि हामी बोल्यौं- ओहो, त्यसो भए वास्तविक सुकुमवासी त हामी पो रहेछौं?
तब हामीले ठान्यौं, जे होस् हामी जस्ताका लागि पनि कानून रहेछ।
अब देवानजीहरुको प्रस्ताव स्वीकार गरियो र स्थानीय अगुवा भेला बस्यो। भेलामा केहीले नकारात्मक बोल्न थालेपछि प्रतिवाद गर्दै हामीले भन्यौं- यो सर्वहारा क्रान्तिकारी देशको राष्ट्रिय स्वाभिमान र व्यक्तिगत स्वाभिमानमा आँच पुग्ने टिप्पणी सहन सक्दैन।
त्यसरी बोल्दै उठेर हिँड्यौं। फेरि युवा साथीहरुले समातेर फर्काए। उनीहरुको भनाइ थियो- यो छलफल हो, तपाइँले सुनेर बिग्रदैँन, बस्नुस् दाजू। हामी मिलाउछौं।
नकारात्मक बोल्ने मानिसलाई सम्झाउदै युवाहरुले कुरा मिलाए। अब भाडा मुक्तिको व्यवस्था अर्थात मनोहरा सुकुमवासी बस्तीमा हामीलाई छाप्रो मिल्ने भयो।
त्यो छाप्रो हो, दशक अघि सारथि नामक संस्थाले खडा गरेको, जसमा शिशु स्याहार केन्द्र संचालित थिएछ। तर, तीन बर्ष अघिदेखि छोडेर हिँडेको हुँदा छाप्रो रित्तो थियो।
मानिस बस्नका लागि मरम्मत सम्भार एकदम जरुरी थियो। स्थानीय साथीहरुले खर्च जुटाए, कसैले श्रम सहयोग दिलाए। मैले पनि लाजै हुन्छ, भन्ठानेर पाँच हजार रुपैयाँ खोजेर बुझाएँ। खासमा, बर्षात हुँदा पोखरी बन्ने हुनाले व्यापक माटो पुर्नु पर्ने थियो। अरु टोइलेट इत्यादिमा खर्च लाग्यो। जम्मा ८७ हजार खर्च जुट्यो।
२०८१ माघमा हामीलाई टाइफाईड भएछ, साह्रो परियो। औषधोपचारले निको भइयो। तर, चैतमा फेरि बल्झियो। २०८२ चैतसम्ममा सात पटक टाइफाईड बल्झ्यो। जसले गर्दा जीवन स्वास्थ्य लगातार कष्टसाध्य बनिरह्यो।
त्यसको एक कारण टिनको बारबेर र टिनकै छानामुनिको बसाई शरीरले धान्न नसक्ने भइसकेको रहेछ। महिना दिनपछि आतङ्क लाग्न थाल्यो। अर्कोपट्टि केही सानो कोठा थियो। घर जोडिएका श्री इन्द्रवहादुर कार्कीसंग सापटी मागेर स्थानीय मिस्त्री हरि राईको सहयोगमा त्यतापट्टि भेनेस्ट पाता हालेर सुत्ने गरियो।
हुँदै आउदा पत्रकार श्री मदन थामीले अन्तर्वार्ताका लागि एक महिना जत्ति नै फोन गरिरहे। बस्तीमै बोलाइयो, उहाँहरुलाई। २०८२ साउन तेस्रो हप्तातिर वार्ता गरियो। ग्लोबल अनलाईन टिभीमा सुकुमवासी मन्त्रीको अन्तर्वार्ता विष्फोटक प्रचार देखियो।
लगत्तै दमक निवासी क. प्रकाश राईले सम्पर्क गरे। प्रकाशजी हिजो जनमुक्ति सेनाका घाइते कमाण्डर हुन। उनले भने- मेरो काका सिंगपुरबाट पेन्सनमा आउनु भएको छ। तपाइँलाई सहयोग गर्न चाहनु हुन्छ। तपाइँको मोबाईल नम्बर दिँदा कसो होला?
भनियो, राजनीतिक दबाव नपर्ने हो भने ठिकै छ।
साउन अन्ततिर ती सिंगपुरे मित्र मनोहरा आए। आउँदा एक बोरा चामल पनि लिएर आए। वस्तुगत स्थिति हेर्दै उनले भने- दाजू, मरम्मत सम्भार निक्कै गर्नुपर्ने रहेछ। स्टिमेट पाउँ। साथीहरुसंग मिलेर आर्थिक सहयोग गर्छौं।
स्टिमेट पठाइयो। २०८२ कात्तिकमा दुई पटक गरेर ती साथीले सहयोग उपलब्ध गराए।
उक्त रकमले सिमेन्ट बोर्ड इत्यादिको बारबेरबाट कोठा व्यवस्थित गरियो।
* * *
त्यसवीच देवान राईले लट्टे सागको वीऊ ल्याइदिए। छरियो। ज्यादै सप्र्यो। २६ घरलाई साग उपहार दिइयो पनि। इन्द्रवहादुर कार्कीले ड्रागन फल रोप्न खुब हौस्याए। रोपियो, निक्कै सप्रन लाग्दै थियो। रामकाजी राईले बुद्वचित्त रोप्न भने। स्थानीय प्रेम राई माध्यम किर्तिपुरबाट बिरुवा ल्याएर तीन बोट रोपियो। निक्कै राम्रो सप्रदैं थियो।
आफू स्वस्थ भएपछि नियमित वैचारिक प्रशिक्षण संचालन योजना गरिएको थियो। त्यस निमित्त छाप्रोको पूर्वपट्टि बारेको टिनमा कवि चन्द्र रानाहोँछाले ठुल्ठुलो कलात्मक अक्षरमा लेखिदिएका थिए- देशभक्त समाजवादी स्कुल।
बस्तीमा सानो दोकान चलाएर बसेकी बैनी सहस्रा राईले एक बोरा र इलामका मित्र सन्तवहादुर तामाङ्ले पुर्याइदिएको अर्को बोरा चामल बिर्सन मिल्दैन। त्यस्तै राजबल भाउजूले कहाँबाट हो, खोजेर ल्याउने छोकोमा (शिस्नु) को दाल पनि बिर्सन मिल्दैन।
आफू स्वस्थ भएपछि नियमित वैचारिक प्रशिक्षण संचालन योजना गरिएको थियो। त्यस निमित्त छाप्रोको पूर्वपट्टि बारेको टिनमा कवि चन्द्र रानाहोँछाले ठुल्ठुलो कलात्मक अक्षरमा लेखिदिएका थिए- देशभक्त समाजवादी स्कुल।
२०८३ बैसाख ११ गते सबै छोडेर हिँडियो।
* * *
सुकुमवासी बस्तीका बसोबासीको लगत संकलनमा छुटफुट नाम दर्ताका लागि भदौ २०८२ मा आवेदन माग गरेका थिए। स्थानीय रमेश तामाङ, देवान राई, राजन पाण्डे, नवराज बिसंखे मार्फत आवेदन पाराम भरेर पालिकामा बुझाइएको थियो। त्यसको औचित्य रहेन।
सुकुमवासी बस्तीसंगको अन्तिम विदाइ
२०८३ बैसाख १० गते विहान शुभेच्छुकमध्येका सुरक्षा अधिकारीले सम्भव भए प्रतिरोधको तयारी, नभए आफ्ना महत्वपूर्ण सामानहरु सुरक्षित गर्न सुझाए।
राजनीतिक पहलतर्फ क. प्रचण्डसंग अनुरोध गर्न साथीहरुले भने। तर, हामीले यसवारे पार्टी संयोजक कमरेडलाई दु:ख नदिउँ, भन्दै पार्टीका अरु विभिन्न नेतालाई आग्रह गरियो।
केही जिम्मेवारहरु जुटेर छलफल गर्यौं। कानूनी पहलमा पूर्व महान्यायधिवक्तालाई भनियो। उनले तत्काल समय नभएको बताए। राजनीतिक पहलतर्फ क. प्रचण्डसंग अनुरोध गर्न साथीहरुले भने। तर, हामीले यसवारे पार्टी संयोजक कमरेडलाई दु:ख नदिउँ, भन्दै पार्टीका अरु विभिन्न नेतालाई आग्रह गरियो।
१० गते बेलुकासम्ममा करिब पाँच दर्जन युवाहरु वलिदानीपूर्ण प्रतिरोध गर्न आफुहरु तयार रहेको, जसका निमित्त नेतृत्व गरिदिन दबाव गरिरहेका थिए। सो अनुसार प्रतिरोधको पहिलो चरण आफुहरुले सम्हाल्ने, जसमा दर्जनौंको वलिदान हुन सक्छ, दोस्रो चरणमा प्रतिरोधलाई राजनीतिक आन्दोलनमा उठाइदिन पार्टीले भूमिका खेल्नुपर्छ। रास्वपाका आतङ्ककारी बालेन्द्र साहको सरकार ढल्न सक्छ, भनियो। परन्तु, नेताहरुले किन हो, पटक्कै ध्यान दिएनन्।
आफू निरन्तर अस्वस्थ, चाहे जस्तो भागदौडमा समस्या। अरुबाट अपेक्षित साथ पाउने स्थिति देखिएन। त्यहिँ बसिरहँदा उत्पीडित जनताको आक्रोश सामान्य थिएन। जसको कोपभाजन हुनै पर्दथ्यो, त्यसले नकारात्मक सन्देश जान्थ्यो।
प्रतिरोधको पहिलो चरण आफूहरुले सम्हाल्ने, जसमा दर्जनौंको वलिदान हुन सक्छ, दोस्रो चरणमा प्रतिरोधलाई राजनीतिक आन्दोलनमा उठाइदिन पार्टीले भूमिका खेल्नुपर्छ। रास्वपाका आतङ्ककारी बालेन्द्र साहको सरकार ढल्न सक्छ, भनियो। परन्तु, नेताहरुले किन हो, पटक्कै ध्यान दिएनन्।
आवश्यक सामान लिएर हिँड्दा जनताको मनोबल गिर्न सक्ने, अथवा स्थानीयबाटै हातपात पनि हुन सक्ने स्थिति स्वत: थियो। किनभने, एक जना क्रान्तिकारी छविको नेता थियौं, हामी। जसले, बस्तीको रक्षामा लड्न सक्छ, भन्ने जनअपेक्षा हुने नै भयो। तर, लडाकु तयार भएर मात्र पुग्दैनथ्यो, लडाइँलाई राजनीतिक उच्चाइ दिन सक्नु पर्थ्यो। अन्यथा वलिदानलाई कानूनी अपराधमा परिणत गर्थे। त्यस स्थितिमा हामीलाई लाग्यो, पहिचानसहित समाजवादी लोकतान्त्रिक आन्दोलन तयारी अवरुद्व हुन सक्छ।
तब दुई कदम पछि हट्ने आत्मनिर्णय लियौं। फेरफार कपडा झोलामा हालेर छिमेकका देखिजान्नेहरुसंग "भरै आइपुग्ने छु" भन्दै हामी बाटो लाग्यौं।
११ गते अचानक आइपुगेका क. रोशन राईसंग मनोहराबाट हिँडेर कोटेश्वर वार्ड कार्यालय बस बिसौनीसम्म आयौं। बिसौनीबाट एक पटक फर्केर सुकुमवासी बस्तीतिर अन्तिम नजर दौडायौं। त्यसपछि त्यो जीवित बस्ती, जसले यो जिन्दगीलाई बास दियो, वर्गीय मायाँ र साथ समर्थन दियो, कहिल्यै देख्न नपाइनेगरी चिहानघाटमा बदलियो।
सम्झनामा सुकुमवासी बस्तीको समाज
मोटो अवलोकनमा सुकुमवासी बस्तीका बसोबासीमध्ये ९८ प्रतिशत श्रमिक देखिन्थे। बाँकी २ प्रतिशत साना व्यापारी, सीमित व्यवसायी तथा केही सरकारी कर्मचारी। यत्तिसम्म कि नेपाल प्रहरीका बहालवाला र भूतपूर्व कर्मचारीको पनि त्यहाँ घर थियो।
मनोहराको हकमा पहिलो तामाङ, दोस्रो- दलित र तेस्रोमा राईहरुको आवादी थियो। मुस्लिम बाहेक नेपालका सबै जातजातिको बसोबास थियो। त्यसर्थमा मनोहरा बस्ती सानो नेपाल अनुभव हुन्थ्यो।
सुकुमवासी जमीन बेचेर खाने एउटा गिरोह थियो। त्यसमा नेपाली कांग्रेस आवद्वहरु सुनिन्थे। त्यही गिरोहको नाफाखोर क्रियाकलापका कारण जनसमुदायवीच आन्तरिक एकता ज्यादै कमजोर देखिन्थ्यो।
यहाँ बसोबास गरेका मानिसमध्ये ७० प्रतिशतको नेपालभर कहिँ घर जमीन थिएन। बाँकी ३० प्रतिशतमध्येका तुलनात्मक रुपमा नगन्य ठुला घरहरु थिए। सबै भन्दा ठूलो तीन तले, अनुमानित तीन आना जग्गामा बनेको घर नुवाकोटतिरका कांग्रेस नेताको भन्ने थियो। एक आनामा बनेको तीन तले घर खोटाङतिरका एमाले नेताको थियो। पूर्व माओवादी नेताहरु प्राय: एक तले घरमा बसेका थिए।
नकारात्मकतर्फ सुकुमवासी जमीन बेचेर खाने एउटा गिरोह थियो। त्यसमा नेपाली कांग्रेस आवद्वहरु सुनिन्थे। त्यही गिरोहको नाफाखोर क्रियाकलापका कारण जनसमुदायवीच आन्तरिक एकता ज्यादै कमजोर देखिन्थ्यो।
त्यस गिरोह विरुद्ध नेत्री गोमा आचार्यको जमर्को सह्रानीय थियो। फेरि पनि उनलाई जबरजस्ति एक्ल्याउन खोज्थे। गोमाजीले हामीसंग सहयोगको आग्रह गर्थिन। तर, एकातिर आफू नयाँ निवासी भएको र अर्कातिर स्थानीय झमेलामा फँस्नु पर्दा राष्ट्रिय जिम्मेदारी वञ्चित हुनु पर्ने सतर्कताले भने जस्तो साथ दिन सकिएन।
मनोहरामा लिखित लगत संख्या ७७६ परिवारको थियो। तर, वास्तविक उपस्थिति भने ११ सय घरको चर्चा थियो।
जे होस, संघीय राजधानी उपत्यकाभित्रको सबै भन्दा ठूलो सुकुमवासी बस्ती मनोहराको जनजीवन सुचारु थियो।
निस्कर्ष
रास्वपा (तथाकथित राष्ट्रिय स्वतन्तन्त्र पार्टी) को बालेन्द्र साह सरकार विपन्न वर्गीय नेपालीका मूल शत्रु हुन्। काठमाडौं महानगर प्रमुख हुँदा उनले सडक पेटीमा मकै पोलेर बेची साँझ विहान धान्ने विपन्नवर्गलाई निर्मम लखेटेका हुन्।
२०८३ बैसाख १२/१३ गते थापाथली, शान्तिनगर र गैरीगाउँका सुकुमवासीलाई डोजर लाए। दिउँसो डराएका हुनाले नै साँझ पारेर तिनले मनोहरामा आक्रमण गर्न पुगे। तर, स्थानीय युवाहरुले भीषण प्रतिरोध गर्दा समाचार अनुसार २२ जना प्रहरी घाइते पनि भए। त्यसरी १२ गते साँझ ती आक्रमणकारीहरु पछि हट्न बाध्ये भए। फेरि १३ गते दुई हजार प्रहरी र सेनाका गणपति समेतद्वारा आक्रमणमा सुकुमवासी जनतामाथि युद्ध अपराधीको व्यवहार तथा बस्तीलाई राज्यले खरानी तुल्यायो।
बालेन्द्र साह सरकार विपन्न वर्गीय नेपालीका मूल शत्रु हुन्। काठमाडौं महानगर प्रमुख हुँदा उनले सडक पेटीमा मकै पोलेर बेची साँझ विहान धान्ने विपन्नवर्गलाई निर्मम लखेटेका हुन्।
२०८३ बैसाख १८ गते बल्खु, बालाजुलगायत उपत्यकाको सुकुमवासी बस्ती त्यसरी नै ध्वङ्श गरे। त्यस बेलासम्म अभाव, अपमान र पीडा खप्न नसकेर सुकुमवासी रवीन तामाङ र इन्द्रवहादुर राईले आत्महत्या गरिसकेका छन्।
अब एकाध व्यक्तिलाई व्यवस्थित गर्लान् र त्यसको खुब विज्ञापन देखाउलान्। उप्रान्त दशौं हजार सुकुमवासीलाई भने रास्वपा सरकारले जिउँदै मर्न बाध्य तुल्याइसकेको छ। बसोबास र रोजगारीको कुनै विकल्प बेगर राज्य आतङ्क थोपर्ने हत्यारा सरकारको देशव्यापी सडक भण्डाफोर जारी छ।
यसको राजनीतिक अन्तर्य गरिब र श्रमिक वर्गप्रति रास्वपा सरकारको नवउदार पुँजीवादी घृणा र दमन हो। जसबाट जनविरोध फैलियोस्, जुन जनविद्रोहमा परिणत होस र त्यसमाथि रक्तपात मच्चाउदै नेपालमा अमेरिकी सेना थोपर्न पाइयोस्, भन्ने नै हुनुपर्छ। बालेन्द्र साह सरकारको आतङ्ककारी हर्कत जनजीविका र लोकतान्त्रिक गणतन्त्र मात्र होइन, राष्ट्रिय स्वाधीनतासंग समवेदनशील रुपमा यसकारण जोडिन्छ।
अत: जिम्मेवार क्रान्तिकारीले वर्गीय, लैंगिक एवं जातजातिकावीच दीर्घकालीन एकता रणनीतिमा देशभक्त समाजवादी आन्दोलन गम्भीर आवश्यकता बनिरहेको परिस्थितिलाई नजरअन्दाज गर्नु हुँदैन।
ओहदामा पुग्नेहरुले भुइँ छोड्ने र भुइँमा रहेका मानिसले ती ओहदाधारीलाई आकाश बुझ्ने मानसिकता किमार्थ लोकतान्त्रिक होइन, समाजवादी त झन हुँदै होइन।
अन्त्यमा, मन्त्री भएको मानिस सुकुमवासी बस्तीमा रहँदा जिब्रो टोक्ने र बेइज्जत ठान्ने अभिजातवर्गीय चेतप्रति खेद प्रकट गर्नु पर्दछ। मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिको पद एक जना किसान, मजदुर या सिपाही कर्मचारीको जस्तै विशुद्व एउटा जिम्मेदारी मात्र हो। त्यस ओहदामा पुग्नेहरुले भुइँ छोड्ने र भुइँमा रहेका मानिसले ती ओहदाधारीलाई आकाश बुझ्ने मानसिकता किमार्थ लोकतान्त्रिक होइन, समाजवादी त झन हुँदै होइन। व्यक्तिगत रुपमा हामी देशभक्त समाजवादप्रति दृढ प्रतिबद्व कार्यकर्ता हौं। यसर्थमा हाम्रा लागि सर्वहारा जीवन गौरवमय लाग्छ, जो दुनियाँ बदल्ने अन्तिम वर्ग हो।
(लेखक पूर्वमन्त्री किराती नेपाली कम्युनिस्ट पार्टीका नेता तथा देशभक्त समाजवादी स्कुलका अध्यक्ष हुन्)
प्रतिक्रिया