चीनमा गरिवी निवारण कार्यक्रमको अन्तरकथा

चीनले प्रत्येक विपन्न परिवारका लागि एक सरकारी अधिकारी खटाएको थियो। वास्तवमा यो कस्तो देखिन्थ्यो, यहाँ प्रस्तुत छ।

अधिकांश मानिसहरूलाई चीनले ऐतिहासिक स्तरमा गरिबी निवारण गर्‍यो भन्ने थाहा छ। तर, यसलाई सफल बनाउने विशिष्ट संयन्त्र के थियो भन्ने कुरा भने थोरैले मात्र बुझेका छन्।

जब मानिसहरू चीनको गरिबी निवारण अभियानको बारेमा कुरा गर्छन्, तब संवाद सामान्यतया सिधै ठूला तथ्याङ्कहरूमा पुगेर ठोकिन्छ। जस्तै करोडौँ मानिसहरू चरम गरिबीबाट मुक्त भए, ठूला पूर्वाधारमा लगानी भयो, वा ग्रामीण क्षेत्रको व्यापक विकास भयो।

ती तथ्याङ्कहरू वास्तविक हुन्। तर, तिनले प्रणालीको त्यो हिस्सालाई छुटाउँछन् जुन वास्तवमै चाखलाग्दो छ।

चाखलाग्दो कुरा पैसा होइन। बरु, यसको जगमा रहेको जवाफदेहिताको संरचना हो।

चीनको 'लक्षित गरिबी निवारण कार्यक्रम' अन्तर्गत स्थानीय सरकारहरूले विपन्न परिवारहरूको पहिचान गरेर उनीहरूलाई राहत सामग्री मात्र पठाएनन्। उनीहरूले एउटा दर्ता किताब (रजिस्ट्री) तयार पारे। निश्चित मापदण्डभन्दा मुनि रहेका प्रत्येक परिवारलाई नाम, अवस्था र विशिष्ट समस्याका आधारमा वर्गीकरण गरियो।  न्यून आय भएको परिवार, विशेष कठिनाइमा परेको परिवार, पुनः गरिबीमा फस्ने जोखिममा रहेको परिवार, र निरन्तर निगरानीमा राखिएको भर्खरै सुधारिएको परिवार।

त्यसपछि एउटा असामान्य प्रक्रिया सुरु भयो। दर्ता भएका प्रत्येक परिवारको व्यक्तिगत उत्तरदायित्व साझेदारका रूपमा एकजना विशिष्ट सरकारी अधिकारी तोकियो। यसलाई एक-एक जोडा प्रणाली भनिन्छ। एकजना कार्यकर्ता, एक परिवार। अथवा केही क्षेत्रहरूमा, एकजना कार्यकर्ता र परिवारहरूको एउटा सानो समूह।

ती अधिकारीले नियमित रूपमा ती परिवारको घरमै पुगेर भेटघाट गर्नुपर्थ्यो। वृद्ध आमाबुबाले चिकित्सा सेवा पाएका छन् कि छैनन्, बालबालिकाहरू विद्यालय गइरहेका छन् कि छैनन्, घरको संरचनात्मक अवस्था सुरक्षित छ कि छैन, परिवारका कसैको स्थिर आम्दानी छ कि छैन, वा कतै त्यो परिवार फेरि गरिबीको भुमरीमा फर्किने जोखिममा त छैन यी सबै कुरा बुझ्ने जिम्मेवारी तिनै अधिकारीको हुन्थ्यो।

यी केवल सुझाव मात्र थिएनन्। यी सबै कुराहरूलाई लिखित रूपमा अभिलेख राखिन्थ्यो, ट्र्याक गरिन्थ्यो र समीक्षा गरिन्थ्यो।

यसलाई गम्भीर बनाउने पक्ष

गरिबी निवारण कार्यमा गरिएको प्रदर्शनलाई सिधै करियरको मूल्याङ्कनसँग जोडिएको थियो। चीनको राजनीतिक प्रणालीमा स्थानीय अधिकारीहरूको पदोन्नति मापनयोग्य नतिजाहरूको आधारमा हुन्छ। यदि तपाईंलाई तोकिएका परिवारहरूको अवस्था स्थिर भयो भने, त्यसलाई तपाईंको सफलताको रूपमा गणना गरिन्थ्यो। यदि समस्याहरूलाई रिपोर्ट गरिएन र समाधान पनि गरिएन भने, त्यसले तपाईंको व्यावसायिक जीवनमा नकारात्मक असर पार्थ्यो। यो प्रणाली पूर्ण रूपमा सद्भावना वा इच्छाशक्तिमा मात्र निर्भर थिएन। यसले एउटा सङ्गठनात्मक दबाब सिर्जना गरेको थियो। यसले गरिबी निवारणको नतिजालाई लाखौँ स्थानीय अधिकारीहरूको व्यक्तिगत करियरको एउटा महत्त्वपूर्ण कडी बनाइदियो।

सरकारी तथ्याङ्क अनुसार, यस कार्यक्रम अन्तर्गत ७ लाख ७५ हजारभन्दा बढी क्याडरहरू गाउँगाउँमा खटाइएको थियो। करिब २ लाख अधिकारीहरूले गरिबीको चपेटामा परेका गाउँहरूमा 'प्रथम सचिव' का रूपमा खटिएर सेवा गरे। धेरैजसो त लगातार वर्षौँसम्म त्यहीँ बसे।

"गरिबी अब कुनै संस्थागत अमूर्त विषय रहेन। यसको एउटा नाम थियो, एउटा ठेगाना थियो, र यसका लागि विशेष रूपमा जिम्मेवार एकजना व्यक्ति थियो।"

यो संरचना किन महत्त्वपूर्ण छ?

ठूला सङ्गठनहरूमा 'जिम्मेवारीको बाँडफाँड वा विकेन्द्रीकरण' भनिने एउटा सर्वविदित समस्या हुन्छ। जब सैद्धान्तिक रूपमा कुनै कुराका लागि धेरै मानिसहरू जिम्मेवार हुन्छन्, तब व्यावहारिक नतिजा के निस्कन्छ भने कोही पनि विशेष रूपमा जिम्मेवार हुँदैन। प्रत्येक व्यक्तिले अर्कोतर्फ औंला देखाउँछन्। र, समस्या जस्ताको तस्तै रहन्छ।

चीनको प्रणालीले यसैमा सिधा प्रहार गर्‍यो। निश्चित परिवारका लागि निश्चित नामहरू तोकेर, जवाफदेहिता कुनै विभागभित्र हराउनुको सट्टा सिधै एउटा व्यक्तिसँग जोडिएर रह्यो।

यसको दोस्रो फाइदा भनेको सूचनाको गुणस्तर हो। गरिबी कुनै एउटै स्वरूपको अवस्था होइन। एउटा परिवारको मुख्य समस्या स्वास्थ्योपचारको ऋण हुन सक्छ। अर्कोको अस्थिर रोजगारी हुन सक्छ। फेरि अर्को परिवारको समस्या भत्किन लागेको छानो हुन सक्छ, जसलाई मर्मत गर्ने हैसियत उनीहरूसँग हुँदैन। समग्र तथ्याङ्क मात्र हेर्ने संस्थाले यीमध्ये धेरैजसो कुराहरू ठम्याउन सक्दैन। तर, वर्षौँसम्म एउटै परिवारमा पुगेर भेटघाट गर्ने व्यक्तिले यो कुरा स्पष्टसँग थाहा पाउँछ।

वास्तविक सीमाहरू

 यो प्रणालीमा समस्या नभएका भने होइनन्। नतिजा देखाउनुपर्ने दबाबमा परेका केही अधिकारीहरूले परिणाममुखी काम गर्नुको सट्टा कागजी प्रक्रिया मात्र पूरा गरे। घरदैलो भेटघाटहरू गरिको भनी अभिलेख त राखियो, तर वास्तवमा त्यस्तो भेटघाट भएको थिएन। परिवारहरूको अवस्था स्थिर नभए तापनि उनीहरूलाई 'स्थिर' भएको भनी प्रमाणित गरियो। क्षेत्र र व्यक्ति अनुसार कार्यकर्ताहरूको कार्यक्षमतामा ठूलो भिन्नता थियो। यी वास्तविक र प्रमाणित समस्याहरू हुन्। त्यसैले यो प्रणाली जस्ताको तस्तै नक्कल गर्ने कुनै रेडिमेड खाका होइन। बरु, यो गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने एउटा संयन्त्र हो।

अर्को पाटोबाट हेर्दा यो कस्तो देखिन्छ?

 अमेरिका र क्यानडामा सामाजिक सहायता प्रणालीहरू संस्थाहरू, कार्यक्रमहरू र योग्यताका मापदण्डहरू वरपर निर्माण गरिएका हुन्छन्। त्यहाँ 'केसवर्डर' हरू बदलिरहन्छन्। प्रशासन बदलिन्छ। चुनावी चक्रले नीतिका प्राथमिकताहरू परिवर्तन गरिदिन्छ। कार्यक्रमहरू पुनर्संरचना हुन्छन्, पर्याप्त बजेट पाउँदैनन् वा बन्द हुन्छन्।

गरिबी भोगिरहेको व्यक्ति स्थिर रहन्छ, तर उनको वरपरको प्रणाली स्थिर रहँदैन।

गरिबी विरलै मात्र बाह्र महिनामा समाधान हुन्छ। दिगो परिवर्तन ल्याउन प्रायः वर्षौँको निरन्तर र एकनासको प्रयास आवश्यक पर्छ। यस्तो अवस्थामा, हरेक केही वर्षमा आफ्नो ध्यान र जनशक्ति परिवर्तन गरिरहने प्रणाली— कहिल्यै परिवर्तन नहुने समस्याको समाधानका लागि संरचनात्मक रूपमै अमिल्दो हुन्छ।

करदाताहरूले सामाजिक पूर्वाधारमा ठूलो मात्रामा रकम लगानी गर्छन्, तर यसको नतिजाबाट उनीहरू निराश हुने गर्छन्। त्यो निराशा अस्वाभाविक वा तर्कहीन होइन। यो त सुशासनसँग जोडिएको एउटा प्रश्न हो: जब नतिजाहरू कमजोर आउँछन्, तब यसका लागि विशेष रूपमा को जिम्मेवार हुन्छ? अधिकांश पश्चिमी कल्याणकारी प्रणालीहरूमा यो प्रश्नको कुनै स्पष्ट उत्तर भेटिँदैन। जिम्मेवारी विभिन्न निकाय, सरकारका विभिन्न तह र चुनावी चक्रहरूमा यसरी बाँडिन्छ कि अन्ततः त्यो पूर्ण रूपमा हराएर जान्छ।

समस्या सधैं बजेटको अभाव मात्र होइन। कहिलेकाहीं मुख्य समस्या के भइदिन्छ भने प्राप्त नतिजाका लागि कुनै पनि निश्चित व्यक्ति जिम्मेवार हुँदैन।

यहाँको उद्देश्य कुनै एक देशलाई उत्कृष्ट वा सर्वोपरि घोषणा गर्नु होइन। बरु, ती संरचनात्मक विशेषताहरूको पहिचान गर्नु हो जसले उत्कृष्ट नतिजाहरू दिन्छन्— चाहे ती जहाँसुकैबाट आएका किन नहून्। चीनको प्रणालीले के देखाउँछ भने गरिबी निवारणको कार्यमा व्यक्तिगत उत्तरदायित्वलाई अभिन्न अङ्ग बनाउँदा त्यस्ता नतिजाहरू प्राप्त हुन्छन्, जुन संस्थागत कार्यक्रमहरूले प्रायः दिन सक्दैनन्। यो एउटा संरचनात्मक पाठ हो, कुनै वैचारिक विषय होइन। यी दुवै प्रणालीहरूसँग एकअर्काबाट सिक्नका लागि वास्तविक र व्यावहारिक कुराहरू छन्।

Source: https://www.grumpychineseguy.com/p/china-assigned-a-government-official