भूराजनीतिक टकरावको नयाँ मोड: समुद्रमा 'पाइरेसी' र वार्ताको अन्योल

पश्चिम एशियाको राजनीति पुनः एकपटक तातिएको छ। इरानको एउटा मालवाहक जहाजलाई अमेरिकाले स्ट्रेट अफ हर्मुजबाट कब्जामा लिएपछि तेहरान र वासिङ्टनबीचको सम्बन्ध थप जटिल बनेको छ। यस घटनाले एकातिर समुद्री सुरक्षामाथि प्रश्न उठाएको छ भने अर्कोतिर कुटनीतिक संवादका सम्भावनाहरूलाई लगभग समाप्त पारिदिएको छ।

इरानी झण्डावाहक जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिनुलाई तेहरानले "सशस्त्र समुद्री डकैती" (Armed Piracy) को संज्ञा दिएको छ। इरानको विदेश मन्त्रालयले यस कार्यलाई अन्तर्राष्ट्रिय कानुनको खुल्ला उल्लंघन भन्दै यसको कडा जवाफ दिने चेतावनी दिएको छ।

स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल पारवहन मार्ग हो। यहाँ हुने कुनै पनि अवरोधले विश्वव्यापी तेलको मूल्य र आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पार्छ। अमेरिकाले जहाज नियन्त्रणमा लिनुको पछाडि इरानमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गर्ने उद्देश्य रहेको बताएको छ । तर इरानले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको प्रहार मानेको छ। इरानबाट आएको प्रतिरोधको कडा चेतावनीले खाडी क्षेत्रमा फेरि सैन्य मुठभेड तीब्र बन्ने त्रास बढाएको छ।

कुटनीतिक विरोधाभास: ट्रम्पको प्रस्ताव र तेहरानको अडान

यो घटना यस्तो समयमा भएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि आफ्नो टोलीलाई पाकिस्तानको इस्लामावाद पठाउने घोषणा गरेका छन्। एकातर्फ वार्ताको प्रस्ताव र अर्कोतर्फ जहाज कब्जाको घटनाले ट्रम्प प्रशासनको ‘दबाब र संवाद’को दोहोरो रणनीतिलाई अङ्गालेको देखिन्छ ।

तर इरानले अमेरिकी प्रस्तावलाई तत्कालै अस्वीकार गरिदिएको छ। इरानी स्रोतहरूका अनुसार जबसम्म अमेरिकाले इरानमाथि लगाएको आर्थिक नाकाबन्दी पूर्ण रूपमा हटाउँदैन, तबसम्म तेहरान वार्ताको टेबुलमा बस्ने छैन। इरानको अडानअनुसार "एकातर्फ घाँटी थिच्ने र अर्कोतर्फ हात मिलाउने प्रयास सफल हुन सक्दैन।" पाकिस्तानको मध्यस्थतामा हुनसक्ने भनिएको यो सम्भावित वार्ता अहिले अन्योलमा परेको छ।

भग्नावशेषमा युद्धविरामको आशा

इरान र अमेरिकाको यो तनावपूर्ण सम्बन्धको छायाँ लेबनान र इजरायलको द्वन्द्वमा पनि देखिन्छ। लेबनानमा १० दिनदेखि जारी युद्धविराम अझै कायम छ। यो यस क्षेत्रका लागि थोरै भए पनि राहतको खबर हो। दक्षिण लेबनानका हजारौँ बासिन्दाहरू आफ्नो गाउँ फर्किएका छन्।

तर, फर्किनेहरूका लागि खुसीभन्दा बढी पीडा छ। बमबारीले भत्किएका घरहरू, उजाडिएका बस्ती र नष्ट भएका पूर्वाधारहरूले युद्धको विभिषिकालाई बताइरहेको छ । युद्धविराम टिकिरहेको भए तापनि मानिसहरूमा "इजरायली आक्रमण फेरि सुरु हुने त होइन?" भन्ने त्रास कायमै छ। लेबनानमा इरान समर्थित समूह हिजबुल्लाहको प्रभाव रहेको हुनाले इरान र अमेरिकाबीचको तनाव बढ्दा यो युद्धविराम धरापमा पर्न सक्ने जोखिम पनि उत्तिकै छ।

क्षेत्रीय र वैश्विक प्रभाव

यो संकटले केवल पश्‍चिम एशियालाई मात्र नभई विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने देखिन्छ। इरानी जहाजलाई कब्जामा लिने अमेरिकी कार्य र त्यसको प्रतिरोध गर्ने इरानी चेतावनीको सोझो असर अब विश्व बजारमा कच्चा तेलको मूल्य बढ्ने निश्चित छ।

अर्कोतिर पाकिस्तान जस्ता देशहरूले मध्यस्थताको प्रयास गरेकोले केही आशा त जगाएको छ । तर अमेरिकाको युद्धलाई प्रधानता दिने नीति र जीवनमरणको यो लडाइँमा कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने इरानको अडानले गर्दा वार्ताले सफलता प्राप्त गर्न कठिन देखिन्छ।

उता तत्कालको लागि इजरायल-लेबनानबीच स्थिरता देखिएको छ । तर लेबनानको शान्ति इरान र इजरायलबीचको अप्रत्यक्ष युद्धको स्थितिमा निर्भर गर्दछ।

युद्धविरामका बीच अमेरिकाले इरानी जहाज कब्जा गर्नुले वासिङ्टनको रणनीति युद्धलाई अन्त्य गर्नेभन्दा पनि इरानलाई पूर्ण रूपमा गलाउने देखिन्छ ।  तर, इरानले पनि आफू जुनसुकै मूल्यमा प्रतिवाद गर्न तयार रहेको सङ्केत दिएको छ। इस्लामावादमा वार्ताको सम्भावना अब क्षीण भएको छ ।

अहिलेको लागि, लेबनानको युद्धविराम र हर्मुजको समुद्री तनाव दुई फरक पाटा देखिए तापनि यिनीहरूको जरा एउटै भूराजनीतिक द्वन्द्वमा जोडिएको छ। कुटनीतिक बाटोको ढोका बन्द हुने अहिलेको स्थितिले पश्चिमा एशियामा अर्को एउटा ठूलो क्षेत्रीय युद्ध चर्किने खतरा बढेर गएको छ ।