लिबरेशन थियोलोजीका प्रतिपादकको निधन
लिबरेशन थियोलोजीका प्रतिपादकको रूपमा मानिने पेरूका पादरी गुस्ताभो गुटिएरेजको अक्टोबर २२ मा निधन भयो। उनी ९६ वर्षका थिए।
लिबरेशन थियोलोजी सन् १९६० को दशकमा ल्याटिन अमेरिकामा सुरु भएको गरिबपक्षधर र प्रगतिशील इसाई आन्दोलन थियो। यो आन्दोलन त्यो समयमा ल्याटिन अमेरिकाभर व्याप्त गरिबी र सामाजिक असमानताको विरुद्ध सुरु भएको थियो। गुटिएरेजको सन् १९७१ मा प्रकाशित पुस्तक "ए थियोलोजी अफ लिबरेशन" यस आन्दोलनको आधारभूत पुस्तक थियो।
गुस्ताभो गुटिएरेजको जन्म १९२८ मा पेरूमा भएको थियो, र उनले सुरुमा चिकित्सा विज्ञान अध्ययन गरे, त्यसपछि दर्शनशास्त्र, मनोविज्ञान, र धर्मशास्त्रमा ध्यान केन्द्रित गरे। उनी १९५९ मा पादरी बने। उनले दशकौँसम्म पेरूको राजधानी लिमा स्थित कैथोलिक विश्वविद्यालयमा अध्यापन गरे, जहाँ उनले आफ्नो देश र ल्याटिन अमेरिकाभरिका मानिसहरूले सामना गरिरहेका गरिबी, शोषण र अत्याचार जस्ता सामाजिक चुनौतीहरूमा ध्यान केन्द्रित गरे। गुस्ताभो गुटिएरेज भन्ने गर्थे, "इतिहासको भविष्य गरिब र शोषितहरूको हातमा छ।"
लिबरेशन थियोलोजीले ल्याटिन अमेरिकाको वामपन्थी आन्दोलनलाई समेत प्रभावित गरेको थियो। निकारागुवाको सान्डिनिस्टा र कोलम्बियाका वामपन्थी गुरिल्ला समूहमा लिबरेशन थियोलोजी समर्थक पादरीहरू संलग्न भएका थिए। लिबरेशन थियोलोजीलाई भ्याटिकनस्थित रोमन क्याथोलिकले रुचाएको थिएन। यसलाई मार्क्सवादी विचारको रूपमा हेर्ने गरिन्थ्यो। यो विचारधारालाई दबाउन भ्याटिकनले प्रशस्त प्रयास गरेको थियो। तर निकै समयपछि भ्याटिकन पनि लिबरेशन थियोलोजीले उठाएका विषयहरू र मुद्दाहरूको पक्षमा उभिन बाध्य भयो। र सन् २०१४ मा विचारधाराका प्रवर्तक गुस्ताभो गुटिएरेजलाई रोममा भव्य स्वागत गरेकाे थियाे ।
Image: https://www.ncronline.org/
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन
झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…
पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
प्रतिक्रिया