भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति

१६ लाख प्रभावित, ९ सय बढीको मृत्यु, रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति

भदौ १० गते नेपाल–चीन सीमा नजिक गएको हिमपहिरो र त्यसपछिको बाढीले भोटेकोशी–त्रिशूली नदी करिडोरमा जनधनको अकल्पनीय क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १६ गते मंगलबार सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदन अनुसार यस विपद्बाट देशभर करिब १६ लाख नागरिक प्रभावित भएका छन्।

प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको रूपमा सूचीकृत गरेको छ भने धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला घोषणा गरिएको छ। बाढीपहिरोमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ। यसका साथै ६२ जिल्लाबाट ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ, जसमा ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नागरिक, १७ प्रतिशत सरकारी कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेका छन्।

प्रतिवेदनका अनुसार  विपद् क्षेत्रमा सुरक्षा निकायका २१,०११ जनशक्ति (नेपाली सेनाका ८,८९६, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरीका ४,२०३) उद्धारमा खटिएका छन्। भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोलीसमेत संयुक्त रूपमा परिचालित भई हालसम्म २५३ विदेशी नागरिकसहित ११,८१४ जनाको सकुशल उद्धार गरिएको छ। हवाई मार्गबाट मात्रै ५७३ उडानमार्फत ३,७०२ जनाको उद्धार भएको छ। विभिन्न स्वास्थ्य संस्थामा उपचाररत ७९ सहित २७९ जना घाइतेको उपचार गरिएको छ भने सेनाले प्रभावित क्षेत्रमा थप २,७४० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ।

बाढीले ४१ पक्की पुल बगाएको छ भने ४ वटामा क्षति पुगेको छ। नुवाकोटमा मात्रै १,२६७ घर पूर्ण र १,२५३ घर आंशिक क्षतिग्रस्त भएका छन्। स्याटेलाइट म्यापिङअनुसार करिडोर क्षेत्रका ४,६८९ भवन जोखिममा छन्। रसुवाका गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका १४,४६१ नागरिक ६ दिनदेखि सडक, विद्युत् र सञ्चार सम्पर्कबाट विच्छेद छन्। मुख्य राजमार्गहरू अनिश्चितकालका लागि बन्द रहेका छन् भने नेपाल टेलिकमका ११० र एनसेलका ७८ टावरमा क्षति पुगेको छ।

रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ए लगायत विभिन्न जलविद्युत् आयोजना, सबस्टेसन र ट्रान्समिसन लाइन प्रभावित हुँदा कुल ७८३.३८५ मेगावाट क्षमताका ऊर्जा संरचनामा क्षति पुगेको छ। तिन वटा जिल्लाका १९ विद्यालयका ६,९०१ विद्यार्थी प्रभावित भएका छन्, जसमा ८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्। साथै, रसुवाका चार वटा स्वास्थ्य चौकी पूर्ण रूपमा ध्वस्त भएका छन् भने नुवाकोटका फोहोरपानी प्रशोधन केन्द्र र विभिन्न खानेपानी आयोजनामा क्षति पुग्दा हजारौँ घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन्।