७९ वर्षको उमेरमा माओवादी नेता शर्माले बौद्ध दर्शनको अध्ययन थाले

माओवादी नेता दीनानाथ शर्माले बौद्ध दर्शनको औपचारिक अध्ययन थालेका छन् ।

सोही सिलसिलामा शर्मा त्रिविअन्तर्गतको बौद्ध अध्ययन केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर तहमा भर्ना समेत भएका छन् । हाल शर्मा को उमेर ७९ वर्ष रहेको छ ।

अहिले आएर बौद्ध दर्शन पढ्नुको बारेमा प्रष्ट पार्दै शर्माले दायित्वबोधसँगको संक्षिप्त कुराकानीको क्रममा 'सानैदेखि आफूलाई बौद्ध दर्शनको अध्ययन गर्ने इच्छा रहेको र सोही इच्छालाई मूर्तरुप दिन औपचारिक अध्ययन थालेको' बताए ।   'मार्क्सवाद र बुद्ध दर्शन दुवै भौतिकवादी दर्शन रहेको, बुद्ध दर्शनले अनात्मवादलाई मान्ने गरेको' बताउँदै उनले 'मार्क्सवादको अध्ययनमा जीवनको उर्जामय समय खपत गरेको र हाल आएर आफूले बुद्ध दर्शनको औपचारिक अध्ययन थालेको' पनि बताए ।

'ज्ञान आर्जनको लागि उमेर बाधक नबन्ने' बताउँदै शर्माले 'बुद्ध दर्शनको अध्ययन गरेर भविष्यमा मार्क्सवाद र बौद्ध दर्शनबीचको तुलनात्मक अध्ययन गर्ने आफ्नो चाहना रहेको' समेत बताए ।

'उमेरले अध्ययनलाई छेक्न सक्दैन भन्ने कुराको प्रेरणा अरुलाई समेत प्राप्त होस् भन्ने उद्देश्यले समेत आफूले अहिले बौद्ध दर्शनको अध्ययन थालेको' पनि उनले बताए ।

बौद्ध दर्शनको अध्ययनमा दीनानाथ शर्माले देखाएका चासोले आफूहरु एकदमै उत्साहित बनेको प्रतिक्रिया बौद्ध केन्द्रीय अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे दिएकी छिन् । दायित्वबोधसँगको कुराकानीमा ‘बौद्धदर्शन मानिसको मस्तिष्क रुपान्तरणको लागि आवश्यक रहेको बताउदै डा. घिमिरेले ‘यो धर्मभन्दा पनि जीवन पद्दति रहेको र दीनानाथ शर्मा जस्ता राजनीतिको केन्द्रीय व्यक्तित्वले यसको अध्ययनमा देखाएको उत्साहले युवाहरुलाई प्रेरणा प्राप्त हुने' बताइन् ।

‘बौद्ध दर्शनलाई भौतिकवादसँग कसरी जोड्न सकिन्छ भनेर समेत शर्माले बौद्ध अध्ययन थालेको बताएको उल्लेख गर्दैै डा. घिमिरेले ‘अध्ययनका लागि उमेरले छेक्दैन भन्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन् । बौद्ध दर्शनको अध्ययनमा शर्माको सहभागिताले बौद्धदर्शनका विषयवस्तुहरु नेपालको राजनीतिको केन्द्रमा समेत पुग्ने र यसको सीमिततालाई हल गर्ने बारे केन्द्रीय प्रशासनसम्म मुद्दा पुग्ने आशा जागेको प्रतिक्रिया उनले दिएकी छिन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।