धर्मनिरपेक्षतामाथिको खतरा बढ्यो: प्राडा चैतन्य मिश्र (अडियो सहित)

नेपालमा धर्मनिरपेक्षतामाथि खतरा बढेको र मुलुक धर्मसापेक्षतातिर फर्कन सक्ने सम्भावना बढेको कुरा प्रसिद्ध समाजशास्त्री प्राडा चैतन्य मिश्रले बताएका छन् ।

सरकारकै कामकारवाही र कमजोरीका कारण पनि त्यो सम्भावना बढेको उनले उल्लेख गरेका छन् ।

पद्मकन्या क्याम्पसको समाजशास्त्र विभागसँगको सहकार्यमा प्रोफेसर चैतन्य मिश्र फाउण्डेसन फर सोसियल साइन्सले सोही क्याम्पसमा आयोजना गरेको ‘प्रजातन्त्र र विकासः नेपाली समाजमा सामाजिक परिवर्तन’ शीर्षकमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘प्रजातन्त्र र धर्म’ शीर्षकमा प्राडा मिश्रले करिब ४५ मिनेट लामो व्याख्यान दिएका थिए ।

सो अवसरमा प्राडा मिश्रले धर्मनिरपेक्षता लौकिकताको विषय भएको र धर्म अलौकिकतासँग सम्बद्ध विषय भएकोले राज्य सञ्चालनमा धर्मलाई मिसाउन नपाइने उल्लेख गरे । धर्मनिरपेक्षताको अर्थ राज्य सञ्चालनमा बसेकाहरुले हरेक धर्मलाई रिझ्याउदै त्यस्ता खालका कार्यक्रमहरुमा संलग्न हुने होइन, त्यसबाट पूर्णतः अलग रहनुपर्ने पनि जिकिर गरे । प्राडा मिश्रको भनाइमा व्यक्तिले आफ्ना घर परिवार वा निजी जिन्दगीमा धर्म मान्ने छुृट रहेको तर धर्म र आफ्नो निजी आस्थालाई राज्यको व्यवहार र कामकारवाहीमा संलग्न गराउन मिल्दैन ।

वास्तविक धर्मनिरपेक्षता भनेको राज्यसत्तामा धर्मलाई छिराउँदै नछिराउने हो भन्ने उनको भनाइ थियो । धर्म र राज्य सञ्चालन छुट्टाछुट्टै कुरा रहेको बताउँदै प्राडा मिश्रले अमेरिकाका अदालतहरुबाट धार्मिक चिन्हरुहरु हटाइएको प्रसङ्ग उल्लेख गरे । अमेरिकामा राज्य सञ्चालनमा धर्म छिर्नु हुन्न भन्ने कुरा सिद्धान्तमा रहेको बताउँँदै मिश्रले कतिपय ठाउँमा धर्म छिर्दै गरेको र त्यहाँ पुरातनपन्थी क्रिश्चियनहरु बलियो हुँदै आएको र ट्रम्प त्यसैको उपज रहेको पनि बताए ।

संविधान राज्यको मूल ‘रेफरेन्स’ बन्नुपर्नेमा अहिले राज्य सञ्चालनमा बसेकाहरुलाई त्यसबारे बोल्न छाडेको र संविधानको हैसियत जुत्तामा पुगेको उल्लेख गर्दै प्राडा मिश्रले मुलुकको मूल दस्तावेज त्यस्तो हुनु राम्रो संकेत नभएको पनि बताए । अहिले संविधानलाई रेफरेन्सको रुपमा प्रयोग नगर्नुको अर्थ आफू त्यसबाट बाँधिएको छैन भन्ने कुराको संकेत पनि हुन सक्ने उनले बताए ।

व्याख्यानको क्रममा प्राडा मिश्रले संसारभरि नै दक्षिणपन्थको हावा चलिरहेकोले नेपालमा तत्कालै त्यसले असर नपरे पनि भारतमा चल्ने हावाले नेपालमा तुरुन्तै प्रभाव पर्ने र अहिले हामी दुषित प्रभावको स्थितिमा रहेको कुरा पनि बताए ।

दिनभरि चलेको उक्त छलफल कार्यक्रममा प्रजातन्त्र र विकास शीर्षकमा नारायणी देवकोटा, प्रकाश राई, गिरीबहादुर सुनार, डा. शुक्र अधिकारी, अमिर राजा, अन्जना विशंखे, प्रा. तुल्सीराम पाण्डे, दिल गुरुङ, राजेन्द्र महर्जन लगायतका वक्ताहरुले बोलेका थिए । ‘विकास र प्रजातन्त्र’, ‘विकास र सामाजिक परिवर्तन’, ‘प्रजातन्त्र, राजनीति र सामाजिक परिवर्तन’ तथा ‘प्रजातन्त्र र धर्म’ गरी चार मुख्य शीर्षकमा विभाजित उक्त छलफल कार्यक्रमको अध्यक्षता/संयोजन क्रमशः डा. उद्धव प्याकुरेल, डा. सरोज धिताल, प्रत्युष वन्त र प्रा. तुल्सीराम पाण्डेले गरेका थिए ।

उक्त कार्यक्रममा प्राडा मिश्रले व्यक्त गरेका विचारहरु तल सुन्न सकिन्छ

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।