प्यालेष्टाइनीहरूलाई मृत्युको सामना गर्न 'ग्यास च्याम्बर'मा धकेलेको छ

इजरायली हमलाविरुद्ध नागरिक समाज र प्रबुद्ध वर्गले बोल्यो !

www.aljazeera.com

हमासले गरेको अतिवादी हमलाको विरुद्धमा सैन्य कारवाही थालेको इजरायल यतिखेर युद्ध अपराधको तहमा उत्रिएको छ । अमेरिकाको बलियो धाप पाएका इजरायलको आक्रमणमा परी यतिखेर ठूलो संख्यामा गैरसैनिक नागरिकहरु हताहती भएका छन् । हताहती हुनेमा बालबच्चा र महिलाहरुको संख्या अत्यधिक छन् । इजरायलको अन्धधुन्ध हवाइ हमलाको निशानमा अस्पतालसमेत परेका छन् । गाजापट्टीमा गरिएको अन्धधुन्ध हवाइ हमला र ‘कार्पेट बम्बिङ’ का कारण गाजापट्टी खण्डहरमा परिणत हुने खतरा बढेको छ । दोस्रो विश्वयुद्धमा हिटलरको नाजी सेनाले रुसको स्टालिनग्राडमा गरेको नाकाबन्दीलाई बिर्साउने गरी इजरायलले गाजापट्टीमा खाद्यान्न, पानी र विजुलीमा नाकाबन्दी लगाएको छ । त्यहाँका नागरिकहरुलाई उक्त क्षेत्र छाडेर जान उसले फरमान नै जारी गरेको छ । त्यसले गर्दा त्यहाँका लाखौं नागरिकहरुको ज्यान जोखिममा परेको छ ।

इजरायलले गरेको यस युद्ध अपराधको विरुद्धमा नेपालमा पनि आवाज उठ्न थालेका छन् । यस मेसोमा बृहत् नागरिक आन्दोलनले प्यालेष्टिनी जनताप्रति ऐक्यबद्धता जनाउँदै कात्तिक ३ गते शुक्रबार इजरायली राजदूतावासतर्फ मार्च पास गर्ने भएको छ । त्यसका लागि आन्दाेलनले २ बजे नारायणगाेपाल चोकमा भेला भई २:३० बजे चण्डोलस्थित इजरायली दूतावासतर्फ मार्चपास गर्ने जानकारी दिएको छ ।  त्यसबारे आन्दोलनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ–

दश जना नेपाली विद्यार्थीसहित सयौँ जना मारिनेगरी हमास नामक प्यालेस्टाइनी अतिवादी समूहले इजरायलमा गरेको आतंककारी हमलाको हामी सख्त भर्त्सना गर्दछौँ । साथै, हमलामा मारिएका सबै जनाप्रति श्रद्धाञ्जलिसँगै पीडित परिवारजनप्रति हामी गहिरो समवेदना प्रकट गर्दछौँ।

त्यस घटनाको निहुँमा प्यालेस्टाइनको गाजा सहरस्थित अल अहली अरब अस्पतालमा गरिएको नरसहारकारी आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र सुरक्षित आश्रय खोजिरहेका सर्वसाधारणको ठूलो हताहतिले न्यायप्रेमी विश्व समुदायलाई पुन: स्तब्ध र आक्रोशित पारेको छ ।

इजरायल-प्यालेस्टाइन संकट सम्यक समाधानको पहलको सट्टा निहत्था प्यालेस्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय तथा विश्व–शक्तिहरूको स्वार्थको हामी कडा शब्दमा निन्दा गर्दछौँ।

प्यालेस्टाइनी जनताले मानवीय मर्यादा र न्यायपूर्ण राष्ट्रिय अस्तित्वका निम्ति दशकौंदेखि गर्दै आएको मागको समुचित सुनुवाइ नहुँदा अतिवादी समूहहरू सक्रिय हुने गरेका छन् । तिनै समूहलाई देखाएर इजरायलले विश्व–शक्तिहरूको आड–भरोसामा प्यालेस्टाइनमा अतिक्रमणसँगै पश्चिम एसियामै युद्धको स्थिति कायम राखेको छ, जसबाट आगामी दिनमा निहत्था प्यालेस्टाइनी जनता थप विध्वंस र हिंसाको चपेटामा पर्ने देखिँदैछ ।

तसर्थ, गाजा क्षेत्रमा अविलम्ब युद्धविरामको आह्वानसहित हाल प्यालेस्टाइनको भूभागमा जारी नरसंहारको विरोध जनाउन हामी काठमाडौंस्थित इजरायली दूतावाससामु शान्तिपूर्ण विरोध प्रदर्शन गर्दैछौं। यसमा सरिक भई युद्धको लप्कोमा परेका प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता जनाउन हामी सबै न्यायप्रेमीजनसँग अपिल गर्दछौँ ।

त्यसै गरी समाजका केही प्रबुद्ध नागरिकहरुले पनि अलग्गै एक विज्ञप्ति जारी गर्दै प्यालेष्टाइनी जनतामाथिको नरसंहार रोक्न माग गरेको छ । त्यसबारेमा एक विज्ञप्ति जारी गर्दै भनिएको छ–

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमाथि आक्रमण गर्दै सैनिक तथा गैह्र–सैनिक नागरिकहरूको हत्या गरेको र केहीलाई अपहरण गरेको आतंकवादी हमलाको बदला लिने नाममा इजरायलले युद्धका सबै  नियमहरूको उल्लंघन गर्दै गाजामा नरसंहार मच्चाइरहेको छ। विश्वको अत्याधुनिक हतियारले लैस उच्चस्तरको  तालिमप्राप्त सैनिक प्रयोग गर्दै इजरायलले गाजामा गैरसैनिक नागरिकहरू, बालबालिका, वृद्धवृद्धाको हत्या गरिरहेको छ। पत्रकार, चिकित्सक र मानवीय सहायताकर्मीहरू मारिएका छन् । गैरसैनिक आवास क्षेत्रमा लगातार बमवर्षा  गरेर ध्वस्त पारेको छ। औषधी, पिउने पानी, विद्युत, इन्धनलगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति रोकेको छ। अस्पतालहरू र मानवीय सहायता गर्ने  संस्थाका कार्यालयमा बम वर्षाएको छ। पछिल्लो पटक १७ अक्टोवरमा उत्तरी गाजास्थित अल–अहली अरब अस्पतालमा गरिएको  इजरायली बम आक्रमणमा पनि अस्पतालमा रहेका विरामी, बालबालिका, चिकित्साकर्मी समेत ५ सय जना भन्दा बढी मारिएका छन् जसमा अधिकाँस बालबालिका थिए ।

इजरायलका दक्षिणपन्थी अतिवादीहरुको  यसप्रकारको आतंकवादी हमलाको जति निन्दा गरेपनि कम हुन्छ । आपत्तिको कुरा के छ भने इजरायलले सन् १९४८ देखि प्यालेष्टाइनी जनतामाथि चलाइरहेको आतंकको यो श्रृंखलामा अमेरिका र उसका युरोपेली साझेदारहरुको समर्थन रहिआएको छ ।

इजरायलले गाजा क्षेत्रबाट प्यालेष्टाइनीहरुलाई  सखाप पार्ने घोषणा गर्दै एघार लाख वासिन्दाहरूलाई दक्षिण गाजा क्षेत्र छाडेर जान आदेश दिएको छ तर बाहिरिने हरेक नाकाहरूमा बम बर्षाइरहेको छ । प्यालेष्टाइनीहरूलाई मृत्युको सामना गर्न एकप्रकारको ग्यास च्याम्बरमा धकेलेको छ । जल थल र आकासबाट गरिएको लगातारको बमवर्षा, आवास क्षेत्रहरू माटियामेट गर्ने  र वस्ती तथा शरणार्थी शिविरहरूमा ह्वाइट फसफोरस जस्तो संहारकारी विस्फोटकले आक्रमण गरेको छ । आपतकालीन राहत सामग्री लिएर जानसमेत रोक लगाइएको छ । यो संक ट कमसेकम १९४८ मा प्यालेष्टाइनीहरूलाई राज्यविहिन बनाउँदै इजरायलको स्थापना गरेदेखि नै सुरु भएको हो । प्यालेष्टाइनीहरूले आफ्ना लागि आफ्नै पितृभूमिमा अलग राज्यको माग गरिआएका मात्र हुन् । तर मध्यपूर्वमा आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न अमेरिकाले प्यालेष्टाइनीहरूलाई अलग राज्यका रुपमा रहन दिने कुरामा सहमत नहुन इजरायललाई सहयोग गरिरहेको छ । आफै हिटलरको ग्यास च्याम्वरबाट उम्केको  अनुभवसहित हालको इजरायलमा वसोवास गर्न आइपुगेका यहुदीहरूको दक्षिणपन्थी अतिवाद र गाजामा मच्चाइएको नरसंहारले  सम्पूर्ण मानव समुदायलाई लज्जित बनाइरहेको  छ ।

हामी इजरायलले मच्चाइरहेको यो आतंकवादी हमला र नरसंहारको सिलसिला तत्काल रोक्न माग गर्छौं  ।

तत्काल युद्धविराम गरी गाजा क्षेत्रमा मानवीय सहायता लाने बाटो  खोल्न इजरायललाई दवाव दिन अन्तरराष्ट्रिय समुदायसँग अपिल गर्छौं

हामी आम प्यालेष्टाइनी जनताका अधिकारका पक्षमा छौं  । प्यालेष्टाइनीहरूलाई अलग राज्यका रुपमा संगठित हुने अधिकार बिना त्यस क्षेत्रमा संघर्ष  रहिरहनेछ भन्ने हामीलाई विश्वास छ ।

इजरायल र प्यालेष्टाइनबीच दुई अलग र स्वतन्त्र राज्यको अवधारणाका आधारमा समस्या समाधान गरे मात्र पस्चिम एशियामा दिगो शान्ति स्थापना हुनेमा हामी विश्वास गर्छौं ।

हामी हमास आतंकवादीहरूसँग अपहरण गरिएका सम्पूर्ण गैरसैनिक नागरिकलाई तत्काल बन्धक अवस्थाबाट मुक्त गर्न माग गर्दै  उनीहरूले इजरायलमा गैरसैनिक नागरिकमाथि गरेको आक्रमण, १० जना नेपालीसहित गैरसैनिक नागरिकहरूको  हत्या र अपहरणको भत्सर्ना गर्छौं ।

उक्त विज्ञप्ति जारी गर्नेहरुमा पिताम्वर शर्मा, खगेन्द्र  संग्रौला, सुधिर शर्मा, सुनिल मानन्धर, हरि रोका, नारायण ढकाल, झलक सुवेदी, उषाकिरण तिम्सेना, कोमल भट्टराई, रविन कोइराला, मानुषी यमी भट्टराई, वैजनाथ चौधरी, अरुणदेव जोशी, डा.दिपकप्रकाश भट्ट, अजम्बर राई काङबाङ, हेमराज भण्डारी, सच्चिदानन्द जोशी, गौतम राई, रोहेज खतिवडा, नरेश ज्ञवाली, सागर चन्द, महेश पाण्डेय, अरविन्द सिंह, रामराज रेग्मी, जेवी पुन दिनेश रायामाझी छन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।