चित्रकलामा साइकल संस्कृति कार्यशाला हुने

साइकल कल्चर कम्युनिटीले मुठ्ठीदान मार्फत चित्रकलामा साइकल संस्कृति विषयक चित्रकला कार्यशाला असोज १३ गते नेपाल पर्यटन बोर्डमा आयोजना गर्ने भएको छ ।  

त्यसबारे जानकारी दिँदै सोसाइटीका संयोजक डा. तारालाल श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छः

नेपालमा साइकलबाटै जीविकोपार्जन गर्ने लाखौँलाख नागरिक छन् । दैनिक यात्रा, स्वास्थ्य, खेलकूद तथा मनोरञ्जनका लागि साइकल प्रयोग गर्ने नागरिक पनि लाखौँ छन् । विश्वका कुनाकाप्चामा हरक्षण सवा अर्व साइकल गुडिरहेको तथ्य छ । सक्रिय गतिशीलतासँगै बहुआयामिक वातावरणीय न्यायको माध्यमका रुपमा स्थापित साइकल संस्कृतिलाई विश्व साइकल दिवससहित सम्मान गर्दै संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको देखिन्छ । साथै, यस वर्षको विश्व पर्यटन दिवस ग्रीन इन्भेष्टमेन्ट शीर्षकमा केन्द्रित छ । यसै अनुरुप कार्यशालामा चित्रकारहरु ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय र के.के. कर्माचार्यसहित गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, मुकेश मल्ल, सरिता डंगोल, रतनकुमार राई, रविन कोइराला, हिमालय देवी शाह, सुनिता राणा, तीर्थ निरौला, कृष्णप्रकाश शाह, राकेशचन्द्र श्रेष्ठ, रमण गुरुङ, एस.सी. सुमन, दिवेशमान प्रधान, दीपेन्द्रमान बनेपाली। सन्तोष सिग्देल, दीपक मेहता, नरबहादुर बिके, गीता कुमारी ठाकुर, हरिजंग बम्जन, छेतेन शेर्पा, अर्जुन बस्नेत, प्रमोद तण्डुकार, सरुना महर्जन, जीतबहादुर रायमाझी, कृतिचन्द्र शाहको संलग्नता रहने छ । 

महिला साइक्लिष्टको नेतृत्वमा पाटन दरबार स्वायरबाट साइकल राइड ६ः३० बजे सुरु भई ७ः०० बजे नेपाल पर्यटन बोर्डमा पुगेर चित्रकलामा साइकल संस्कृति कार्यशालाको समुदघाटनमा संलग्न हुनेछ । सम्भाषणसहित क्यानभासमा बरिष्ठतम कलाकार तथा साहित्यकारले संयुक्त रुपमा पेन्टिङ गरि चित्रकला कार्यशालाको समुदघाटन हुनेछ । विहान ८ः०० बजेदेखि नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहने छ । एक जना कलाकारले बढीमा दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्नुहुने छ । कार्यशालाबाट करिब ५० वटा चित्रकृति तयार गरिने लक्ष्य लिइएको छ ।  

सहभागी कलाकारहरुद्धारा यस कार्यशालामा सिर्जित चित्रकलाहरु निकट भविश्यमै क्याटलग प्रकाशनसहित प्रदर्शनी गरिनेछ । कार्यशालामा सिर्जित चित्रकृति विक्रीको ५० प्रतिशत रकम कलाकारको र बाँकी ५० प्रतिशत रकम आयोजक संस्थाले नेपालमा साइकल कानुन निर्माण तथा साइकल संस्कृति अभियान सञ्चालनमा खर्च गर्नेछ । प्रदर्शनी पश्चात विक्री हुन बाँकी भएका चित्रकृति आयोजकले आफूसँग कम्तीमा ६ महिनासम्म राखि सम्पर्कका आधारमा चित्रकृति विक्रीका लागि व्यवस्था गर्नेछ । उक्त समयअवधिमा पनि विक्री नभएका कलाकृति सर्जक कलाकारलाई नै फिर्ता दिइनेछ (वा कलाकारले दीर्घकालीन रुपमा नेपालको साइकल संस्कृति अभियानमा सहयोग स्वरुप आयोजक संस्थालाई सौहार्दतासहित प्रदान गर्न सक्नुहुन्छ) ।

संयुक्त राष्ट्रसंघको भिजन २०३०, दीगो विकास लक्ष्य र ग्रीन इन्भेष्टमेन्ट शीर्षकसँग साइकल संस्कृति जोडेर साइकल संस्कृति कम्युनिटीले सम्भवतः नेपालमा पहिलो पटक वरिष्ठ कलाकार, अभियान्ता तथा साहित्यकारको सामूहिक योगदानबाट यस किसिमको चित्रकलामा साइकल संस्कृति विषयक विशिष्ट कार्यशाला सम्पन्न हुँदैछ । यसले वातावरणीय न्यायका लागि कलात्मक आर्ट अभियानमार्फत शान्ति (पिस), नागरिक (पिपुल) र पृथ्वी (प्लानेट) जोडेर नेपाली समाजमा बौद्धिक विमर्शको ढोका खोल्ने विश्वास लिइएको छ । 

मुठ्ठीदानबाट सञ्चालन गरिएको यस कार्यशाला पश्चात चित्रकृतिहरुको प्रदर्शनी, चित्रकृतिसहित सांस्कृतिक महत्वका सम्पदा क्षेत्रहरुमा मास भेला, सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियानमार्फत वातावरणीय न्यायका क्षेत्रमा सिर्जनात्मक कार्यक्रमहरु जारी राख्ने आयोजक संस्था साइकल कल्चर कम्युनिटीसहित साझेदार संघसंस्थाले लक्ष्य लिएको छ ।  

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।