गंगा दाहालमाथि अमरेश सिंहको गम्भीर आरोप

संसदीय राजनीतिको मैदानमा प्रभावशाली उपस्थिति राख्ने डा. अमरेश कुमार सिंह सर्लाही ४ बाट संघीय संसदमा निर्वाचित स्वतन्त्र सांसद हुन् । कुनै जमानामा नेपाली कांग्रेसमा आबद्ध रहेका तथा प्रधानमन्त्री प्रचण्डसँग निकटतम सम्बन्ध राख्ने सिंहले प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालमाथि ‘व्यापारीहरुसँग पैसा लिने गरेको’ गम्भीर आरोप लगाएका छन् ।

प्रधानमन्त्रीकी छोरी समेत रहेकी दाहालमाथि आफ्नो फेसबुक पेजबाट आरोप लगाउँदै उनले भनेका छन्–

प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङा दहालले कुनकुन व्यापारीसँग कुनकुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।

यो निक्कै गम्भीर आरोप हो । यो कुनै सर्वसाधारणले लगाएको आरोप नभई संघीय संसदमा प्रतिनिधित्व गर्ने बौद्धिक छवि बनाएका जिम्मेवार सांसदले लगाएको आरोप हो । यस अर्थमा यस आरोपलाई ‘आधारहीन’ भनेर प्रधानमन्त्री सचिवालयका सदस्यहरुले अनौपचारिक रुपमा सामाजिक सञ्जाल वा मिडियाहरुबाट गरेका प्रतिवादले मात्रै निरुपण हुन सक्दैन ।

सांसद अमरेश सिंहले जुन आरोप लगाएका छन्, त्यसको औपचारिक निरुपण हुनु आवश्यक छ । यसका लागि अब आरोप लगाउने सिंहले पनि यो आरोप फगत आरोपका लागि आरोप वा आफ्नो कुण्ठाको निस्काशन मात्र होइन, सत्यतथ्य हो भन्ने कुरा प्रमाणित गर्नुपर्छ । यस अर्थमा यस आरोपका सत्यतथ्य पत्ता लगाउने औपचारिक बाटाहरुबाट यसलाई सही वा गलत हो भनेर प्रमाणित गरिनु जरुरी छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव ग‌ंगा दाहाल

स्मरण रहोस्, सांसद सिंहले 'राज्य सञ्चालनको प्रक्रियामा गंगा दाहालको उपस्थितिको औपचारिक हैसियत के हो' भनेर विगतमा बारम्बार प्रश्न उठाउँदै आउने गरेका छन् ।  पछिल्लो पटक पनि उनले मंसिर ४ गते एक स्टाटस पोस्ट गर्दैं गंगा दाहालले सैनिक सलामी लिएको भन्दै आपत्ति जनाएका थिए । त्यसमा उनले भनेका थिए– 'हिजो एअरपोर्टमा प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई नेपाली सेनाले कुन हैसियतले सलामी दियो? प्रधानमन्त्री र नेपाली सेना प्रमुखले यसको स्पष्टीकरण दिनुपर्छ । यो देशमा गणतन्त्र छ कि हुकुमी राजतन्त्र ? नेपाल सेना हो कि दहाल सेना हो?'

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।