गठबन्धन जोगाउन चिर्कटोमा लेखिएको सहमतिपत्र

सबैलाई थाहा भएकै कुरा हो– अहिलेको सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी लगायत अन्य दलहरु मिलेर बनेको हो । यो गठबन्धनले यतिखेर संघीय संसदमा ३२ सीट मात्रै भएको नेकपा माओवादीले सरकार सञ्चालनको मौका पाएको हो र तेस्रो पटक प्रधानमन्त्री बनेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् ।

तर यो गठबन्धनमा भूकम्प त्यसबेला आयो, जतिखेर नामाकरणको विवाद चलिरहेको ‘कोशी प्रदेश’मा सरकार बनाउने सवालमा गठबन्धनभित्रै मतभेद देखियो । उक्त प्रदेशको मुख्यमन्त्रीको रुपमा गठबन्धनले अघि सारेका माओवादीका इन्द्र आङ्बोविरुद्ध कांग्रेसका खेमाभित्रका प्रभावशाली नेता शेखर कोइरालाका पक्षधरहरुले विद्रोह गरे । उनीहरुले गठबन्धनका प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेको समर्थनमा आफ्ना विश्वासपत्र केदार कार्कीलाई मुख्यमन्त्रीको रुपमा अघि सारे । कांग्रेसका ८ तथा एमालेका ३९ प्रदेश सांसदहरुको समर्थनमा कार्की  मुख्यमन्त्रीको पदमा विराजमान भए ।

गठबन्धनको लागि यो ठूलो धक्का थियो । शेखर कोइराला पक्षधरको यो विद्रोहले निरन्तरता लिँदै गयो भने त्यसले केन्द्रीय गठबन्धनमा पनि ठूलै पराकम्पन ल्याउने निश्चित थियो ।

तर गठबन्धनमा देखापरेको त्यो संकट हाललाई टरेको देखिएको छ । कोशी प्रदेशको घटनाक्रमपछि बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र कोशीमा मुख्यमन्त्री बनाउने कांग्रेसभित्रकै प्रभावशाली नेता शेखर कोइरालाबीच वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । त्यो सहमतिको दशीका रुपमा उनीहरुले एउटा चिर्कटोमा तीनैजनाले हस्ताक्षर गरेको सहमतिपत्र सार्वजनिक भएको छ, जसमा भनिएको छ–

आज मिति २०८० आश्विन २७ गतेका दिन सम्माननीय प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति सम्माननीय शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता माननीय शेखर कोइरालाका बीच निम्नलिखित सहमति भएको छ ।

(क) हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौ ।

यो चिर्कटो सहमतिपत्रले तत्काललाई गठबन्धनको संकट टारे पनि गठबन्धनमा रहेको संरचनागत समस्यालाई भने सतहमा ल्याइदिएको छ । 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।