बीआरआइबारे प्रम प्रचण्ड: चिनियाँ पक्षले नेपालका लागि अनुदान र सहायताको नीति लिने विश्वास

सर्वप्रथम बीआरआईको एक दशक: व्यापार, लगानी र सम्पर्क सञ्जाल शीर्षकको सेमिनारमा आमन्त्रण गर्नुभई आफ्ना विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

यस कार्यक्रमले हाम्रो छिमेकी एवं असल मित्र चीनका महामहिम राष्ट्रपति सी चीनफिङले सन् २०१३ मा अघि सारेको विभिन्न भूगोल, संस्कृति र सभ्यताबिच सम्पर्क सञ्जालको विस्तार गरी लाभ–लाभको सिद्धान्तमा आधारित समावेशी विकासको बृहत् अवधारणा (बिआरआइ) का बहुआयमिक पक्षबारे सही जानकारी सम्प्रेषण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । नेपाल र चीनबिच  हिमाल छिचोल्ने बहुआयमिक सम्पर्क सञ्जालको बिस्तारबाट साझा चासोको सम्बोधन गर्ने र साझा समृद्धि हासिल गर्ने हाम्रा साझा प्रयत्नबारे बुझ्न, उपर्युक्त उद्देश्य हासिल गर्नका लागि दुवै मुलुकका सरकार र जनताबिच सहकार्यलाई प्रवर्धन गर्न तथा द्विपक्षीय हित र चासोलाई सम्बोधन गर्ने दुवैतर्फका सम्भावना, प्राथमिकताहरू, भूमिका र अपेक्षित उपलब्धिका बारेमा पनि यस कार्यक्रमको निष्कर्ष दुवै सरकार र निजी क्षेत्रका लागिसमेत एक महत्त्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास लिएको छु ।

मैले हालै मात्र मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी नेपाल फर्किएको यहाँहरूलाई विदितै छ । भ्रमणका क्रममा महामहिम राष्ट्रपति सी चीनफिङ, प्रधानमन्त्री लि छ्याङ्गसँग दुई पक्षीय हित तथा चासोका सबै विषयमा वार्ता, छलफल र कुराकानी भएका  छन् । मेरो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबिचको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

यस भ्रमणले नेपाल तथा चीनबिच उच्च राजनीतिक तहमा थप सुदृढ समझदारी विकास गर्न र यस क्षेत्रमै शान्ति, स्थायित्व तथा साझा समृद्धि हासिल गर्न सघाउ पुग्नेमा म विश्वस्त छु । ती सबै सम्झौता र भ्रमणको नतिजा कार्यान्वयन चरणमा गएपछि प्रत्यक्ष अनुभूति हुनेगरि देखिनेछन् । अहिलेको भ्रमणले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा लैजान मद्दत गरेको छ भनेर मैले भ्रमण सम्पन्न गरेर फर्कँदाको समयमा बताएको कुरासमेत यहाँ स्मरण गर्न चाहन्छु ।

यो भ्रमणबाट नेपालको निजी क्षेत्रसँग चिनियाँ पक्षको सहकार्य थप घनिभूत हुनेछ भने थप लगानी भित्राउन मद्दत गर्नेछ । साथै, तुलनात्मक लाभका क्षेत्रमा लगानी तथा प्रविधि विस्तार गरी दुवै मुलुकका जनताले बढीभन्दा बढी प्रतिफल प्राप्त गर्नेगरि चिनियाँ लगानीकर्तासँग सहकार्य गर्न नेपालको निजी क्षेत्रलाई सघाउन सरकार प्रतिबद्ध रहेको कुरा पनि म स्पष्ट गर्दछु ।

महामहिम राष्ट्रपति सी चीनफिङ सन् २०१३ मा चीनको केन्द्रीय नेतृत्वमा आइसकेपछि गरिबी निवारण, अनुसन्धान र विकास (आर एण्ड डी), प्रविधि र अन्य क्षेत्रमा चीनले जुन परिमाणमा फड्को मारेको छ त्यो विश्व इतिहासका लागिसमेत शिक्षाप्रद र नमुनायोग्य छ । विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुवै हो । नेपाल चीनको यो द्रुततर विकास, गरिबी निवारण तथा चीनले अगाडि सारेको दिगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआइ) बाट पूरा लाभान्वित हुन चाहन्छ ।  

हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन । विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पुँजीको खाँचो छ ।  बीआरआई नेपालका लागि त्यस्तो महत्त्वपूर्ण स्रोत हुन सक्छ । विगत १० वर्षमा बीआरआईमार्फत मात्र १००० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सार्वजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन सकेन । अब हामी छिटै कार्य योजना बनाएर समयबद्ध कार्य तालिकाअनुरूप दुवैतर्फका र साझा संयन्त्रहरूलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेछ ।

मैले चिनियाँ नेता, प्राज्ञिक समुदाय र व्यावसायिक समुदायलाई पनि स्पष्ट भनेको छु– नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम नेपाल सरकारले गर्नेछ, चिनिया पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस् ।

मैले चिनियाँ नेता, प्राज्ञिक समुदाय र व्यावसायिक समुदायलाई पनि स्पष्ट भनेको छु– नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम नेपाल सरकारले गर्नेछ, चिनिया पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस् । हामीबिच जीत–जीतको सम्बन्ध विस्तार गरी दुवै मुलुकका हितको प्रवर्धन गर्न सकिने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई पूराका पूरा अवसरमा बदलौँ ।

विगतमा म आफै सरकारको नेतृत्वमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धिलाई संश्लेषण गर्दै बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ । अब बीआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बीआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने छौँ । यो नेपाल सरकारको स्पष्ट धारणा पनि हो ।

यस बीचमा बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रश्नहरू यदाकदा सुनिने गरेका छन् । यसका लागि कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन् । तर नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ ।

नेपाल अब भूपरिवेष्टित देशबाट भू जडित देश हुनेछ भन्ने महामहिम राष्ट्रपति सी चीनफिङको भनाइप्रति मेरो पूर्ण सहमति छ, जुन कुरा मैले केही दशकदेखि दृढतापूर्वक भन्दै पनि आएको छु । अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ ।  तसर्थ, यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौँ । चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ ।

नेपाल विगत देखी नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको छ । हामी वर्तमान र भविष्यमा पनि एक चीन प्रति दृढ नै रहने छौँ । नेपाली भूमि कुनै पनि हालतमा चीन बिरुद्ध हुने गतिविधिमा प्रयोग हुन दिने छैनौँ । यो नेपालको एउटा सोची सम्झी गरेको प्रतिवद्दता हो । नेपालको आर्थिक सामाजिक विकाशमा चीनले पुर्‍याएको मूल्यवान् सहयोगका लागि हाम्रो हार्दिक धन्यवाद पनि म व्यक्त गर्न चाहन्छु ।

संयुक्त राष्ट्रसङ्घको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल चीन सम्बन्ध यस क्षेत्र कै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्त्वपूर्ण छ । हामी यहि उद्देश्य प्राप्तिमा निरन्तर लाग्ने छौँ । यस कार्यक्रममा पनि यी विषयमा गहन छलफल र प्राज्ञिक तथा प्रबुद्ध व्यक्तिहरूबाट यो विषयको सही उठान हुनेछ । नेपाल चीन सम्बन्धका बृहत्तर हितका विषयमा आपसी सहकार्यमा केन्द्रित हुनेछ भन्ने मैले अपेक्षा गरेको छु । र, यसबाट निस्कने निष्कर्ष नेपाल सरकारको लागि पनि महत्त्वपूर्ण पृष्ठपोषक (फिडब्याक) हुने विश्वास पनि मैले लिएको छु । र, चीन भ्रमणका सन्दर्भमा हाम्रो महामहिम राजदूत पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई सबै घटनाक्रमहरू थाहा छ । सबैमा हामी प्रतक्ष्य सहभागी छौँ । त्यसले पनि अब आउने दिनमा दुई पक्षीय सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउन ठूलो मद्दत पुग्ने मैले विश्वास लिएको छु । यो कार्यक्रमको सफलताको कामना गर्दछु ।

‘बीआरआईको एक दशक: व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।