सामाजिक सञ्जाललाई बजारको गोप्य हतियार बनाउने राजनीति
विश्व वित्तीय बजारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरूले तत्कालै प्रभावित गर्ने गरेको कुरा नयाँ होइन। सम्भवत: सबैभन्दा बढी सामाजिक सञ्जलामा पोष्ट गर्ने राष्ट्रपतिको रुपमा देखापर्दै गएका ट्रम्पले कुनै दिन आयात शुल्कबारे टिप्पणी गर्दा सेयर बजार हल्लिन्छ, अर्को दिन इरानसँगको चालु युद्धबारे लेख्दा तेलको मूल्य उकालो वा ओरालो लाग्छ। भलै उनले सामाजिक सञ्जालमा लेख्ने कुराको विश्वसनीयता र आधिकारिकताबारे भने सम्भवत: स्वयं ट्रम्पनै पनि विश्वस्त हुँदैनन् होला । जे होस्, उनले लेखेका कुराहरुले तत्कालै प्रभाव पार्ने गरेको कारण ट्रम्पको सामाजिक सञ्जाल ट्रूथ सोसियल (Truth Social ) लामो समयदेखि लगानीकर्ता, हेज फन्ड र एल्गोरिद्मिक ट्रेडिङ कम्पनीहरूको विशेष रुचि र निगरानीमा रहँदै आएको छ।
यही पृष्ठभूमिमा ट्रम्पको कम्पनी Trump Media & Technology Group (TMTG) ले Truth API नामक नयाँ व्यावसायिक सेवा सार्वजनिक गरेपछि अमेरिकामा ठूलो राजनीतिक, नैतिक र कानुनी बहस सुरु भएको छ। उक्त कम्पनीले यो सेवा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै ल्याएको हो । यस सेवाअन्तर्गत उनीहरूलाई ट्रूथ सोसियलका प्रभावशाली खाताबाट आउने पोस्टहरू सबैभन्दा छिटो प्राप्त गर्ने सुविधा दिने बताएको छ। कम्पनीले आफ्नै विज्ञप्तिमा यसलाई ‘सबैभन्दा प्रभावशाली खाताहरूको वास्तविक समय (real-time) पहुँच’ दिने डेटा सेवा भनेको छ।
सामाजिक सञ्जालका पोस्टहरू बजारलाई प्रभाव पार्न सक्छन् भन्ने कुरा कुनै अनुमानको कुरा मात्र होइन। ट्रम्पका पोस्टहरूले विगतमा सेयर, मुद्रा, तेल, सरकारी ऋणपत्र तथा विभिन्न वस्तु बजारमा तत्काल प्रभाव पारेका अनेक उदाहरण छन्। यही कारण कम्पनीले आफ्ना विज्ञापन सामग्रीमै ‘market-moving Truths’ अर्थात् बजार चलायमान बनाउने पोस्टहरूलाई जोड दिएको थियो।
सबैभन्दा धेरै विवाद भने अर्को विषयले जन्मायो। विभिन्न सञ्चारमाध्यमका अनुसार यो सेवाको मूल्य प्रतिमहिना करिब १ लाख अमेरिकी डलरसम्म हुन सक्ने बताइएको छ। केही सम्भावित ग्राहकलाई लामो अवधिको सम्झौतामा छुट दिने प्रस्तावसमेत गरिएको समाचार बाहिर आएको छ।
यसबाट सामाजिक सञ्जालको एउटा साधारण सेवा मात्र बिक्री भइरहेको छैन। वास्तवमा बिक्री भइरहेको वस्तु ‘समय’ हो। वित्तीय बजारमा कहिलेकाहीँ केही सेकेन्डको अग्रता पनि करोडौं डलरको नाफा वा घाटामा परिणत हुन सक्छ। उच्च आवृत्ति (High Frequency Trading) गर्ने कम्पनीहरूले संसारभर यस्तै सूचना छिटो प्राप्त गर्न करोडौं डलर खर्च गर्दै आएका छन्। त्यसैले Truth API पनि त्यही व्यापारिक मोडेलको नयाँ रूप भएको कम्पनीको दाबी छ।
तर विवादको केन्द्रमा रहेको प्रश्न अझ गम्भीर छ।
यदि अमेरिकाका वर्तमान राष्ट्रपतिले सार्वजनिक नीतिसम्बन्धी महत्वपूर्ण जानकारी आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छन्, र त्यस सामाजिक सञ्जालको सबैभन्दा छिटो पहुँच उनको आफ्नै कम्पनीले धनी वित्तीय संस्थालाई पैसा लिएर बेचिरहेको छ भने, के यसलाई सामान्य व्यवसाय भन्न मिल्छ?
यही प्रश्न अहिले अमेरिकाको राजनीतिक वृत्तमा उठिरहेको छ।
डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेन र एडम शिफले अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (SEC) लाई पत्र लेख्दै Truth API ले बजारको निष्पक्षता कमजोर पार्न सक्ने, धनी लगानीकर्तालाई अनुचित लाभ दिन सक्ने तथा यसको नियामकीय अनुसन्धान आवश्यक रहेको बताएका छन्।
यसै सन्दर्भमा ध्यानयोग्य कुरा के छ भने, सामाजिक सञ्जालमा भाइरल भइरहेको धेरै पोस्टहरूले यो घटनालाई ‘सरकारद्वारा सञ्चालित इनसाइडर ट्रेडिङ’ वा ‘White House ले धनी लगानीकर्तालाई सूचना बेचिरहेको’ भनेर निश्चित तथ्यझैँ प्रस्तुत गरेका छन्। उपलब्ध आधिकारिक प्रमाणका आधारमा यस्तो निष्कर्ष निकाल्नु सही हुँदैन।
यो किनभने Truth API सञ्चालन गर्ने संस्था White House होइन। यो Trump Media & Technology Group नामक सार्वजनिक कम्पनी हो। कम्पनीमा ट्रम्पको ठूलो स्वामित्व रहेको भए पनि सेवा कम्पनीले सञ्चालन गरिरहेको छ। त्यसैले ‘White House ले शुल्क उठाइरहेको छ’ भन्ने दाबी तथ्यगत रूपमा प्रमाणित भएको छैन।
त्यसैगरी ‘यो निश्चित रूपमा इनसाइडर ट्रेडिङ हो’ भन्ने निष्कर्ष पनि अहिले कानुनी रूपमा स्थापित भइसकेको छैन।
अमेरिकी कानुनअनुसार इनसाइडर ट्रेडिङ भन्नका लागि गोप्य, सार्वजनिक नभएको तथा कानुनी रूपमा संरक्षित सूचनाको दुरुपयोग भएको प्रमाण आवश्यक हुन्छ। Truth API को पक्षमा कम्पनीले भनेको कुरा भने फरक छ। कम्पनीका अनुसार उनीहरूले सार्वजनिक रूपमा प्रकाशित हुने पोस्टहरूलाई छिटो, व्यवस्थित र मेसिनले सजिलै पढ्न सक्ने स्वरूपमा उपलब्ध गराइरहेका हुन्, गोप्य सरकारी सूचना बेचिरहेका होइनन्।
यद्यपि आलोचकहरूले यही तर्कलाई पर्याप्त मान्दैनन्।
उनीहरूको भनाइमा सूचना अन्ततः सार्वजनिक हुने भए पनि केही सेकेन्ड वा केही मिनेटको अग्रता नै वित्तीय बजारमा अत्यन्त ठूलो आर्थिक लाभको स्रोत बन्न सक्छ। यदि त्यो अग्रता राष्ट्रपतिका सम्भावित नीति घोषणासँग सम्बन्धित छ भने यसले साधारण लगानीकर्ता र अति धनी संस्थागत लगानीकर्ताबीचको दूरी अझ बढाउनेछ।
यस घटनाले लोकतान्त्रिक शासन व्यवस्थामा सार्वजनिक पद र निजी व्यापारबीचको सीमारेखा कहाँसम्म हुनुपर्छ भन्ने बहसलाई फेरि जीवित बनाएको छ।
अमेरिकी इतिहासमा धेरै राष्ट्रपतिहरूले पद सम्हालेपछि आफ्ना निजी सम्पत्ति ट्रस्टमा राख्ने, प्रत्यक्ष व्यापारिक निर्णयबाट टाढा रहने वा सम्भावित स्वार्थको द्वन्द्व कम गर्ने अभ्यास गरेका थिए। ट्रम्पको हकमा भने आलोचकहरूले लामो समयदेखि यस्ता स्वार्थको द्वन्द्वबारे प्रश्न उठाउँदै आएका छन्। Truth API ले त्यस बहसलाई झन् तीव्र बनाएको छ।
तर Trump Media का अनुसार Truth API नयाँ दीर्घकालीन आम्दानीको स्रोत हो। कम्पनीले यसलाई डेटा लाइसेन्सिङ व्यवसायको सुरुवातका रूपमा प्रस्तुत गरेको छ। विश्वभर ब्लुमबर्ग, रिफिनिटिभ तथा अन्य वित्तीय डेटा कम्पनीहरूले पनि छिटो डेटा सेवाबाट आम्दानी गरिरहेका छन्। त्यसैले आफ्ना सार्वजनिक पोस्टहरूको आधिकारिक डेटा सेवा उपलब्ध गराउनु अस्वाभाविक नभएको कम्पनीको तर्क छ।
त्यसो त ब्लुमबर्ग वा अन्य डेटा कम्पनीहरू सरकारी नीतिको प्रत्यक्ष स्रोत होइनन्। उनीहरू सूचना सङ्कलन र वितरण गर्ने व्यवसाय हुन्। Truth API को विवाद भने राष्ट्रपतिका आफ्नै अभिव्यक्तिहरू आर्थिक उत्पादनजस्तै बिक्री हुन थालेका कारण उत्पन्न भएको हो। यही कारण धेरै संवैधानिक तथा नैतिक विज्ञहरूले यसलाई सामान्य डेटा व्यवसायभन्दा फरक प्रकृतिको विषय मानेका छन्।
यस घटनाले आधुनिक पूँजीबजारको अर्को वास्तविकता पनि उजागर गर्छ।
आज सूचना आफैँ सबैभन्दा मूल्यवान् सम्पत्ति बनेको छ। कुनै कम्पनीको वित्तीय प्रतिवेदन, केन्द्रीय बैंकको निर्णय, युद्धविरामको घोषणा वा राष्ट्रपतिको एउटा सन्देश, यी सबैले बजारको दिशा परिवर्तन गर्न सक्छन्। त्यसैले सूचना प्राप्त गर्ने गति नै प्रतिस्पर्धात्मक शक्ति बनिसकेको छ। यस सन्दर्भमा Truth API ले केवल एउटा प्राविधिक सेवा मात्र होइन, ‘सूचनाको असमान पहुँच’ भन्ने गम्भीर प्रश्न पनि उठाएको छ।
सामान्य नागरिकले पोस्ट देख्ने समय र अर्बौं डलर व्यवस्थापन गर्ने संस्थाले पोस्ट प्राप्त गर्ने समय एउटै हुनुपर्छ कि फरक हुन सक्छ? यो नै अहिलेको बहसको केन्द्र हो।
अमेरिकी नियामक निकायहरूले यस विषयमा अन्तिम निर्णय दिएका छैनन्। SEC ले अनुसन्धान सुरु गर्ने वा नगर्ने भन्ने विषय पनि अझै प्रक्रियामै छ। त्यसैले Truth API गैरकानुनी छ अथवा कानुनी रूपमा निर्दोष छ भन्ने बारे अहिले नै ठोकुवाका साथ भन्न सकिने स्थिति छैन ।
ख्याल गर्नुपर्ने कुरा के हो भने यस अर्थमा Truth API केवल एउटा नयाँ व्यापारिक सेवा होइन। तर यसले लोकतन्त्र, सार्वजनिक उत्तरदायित्व, राजनीतिक शक्ति, निजी व्यापार र वित्तीय बजारबीचको सम्बन्ध कति जटिल बन्दै गएको छ भन्ने प्रश्न विश्वसामु पुनः खडा गरेको छ। लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक पदको प्रभावलाई निजी आम्दानीसँग जोड्न मिल्छ कि मिल्दैन भन्ने बहस अझै जारी छ, र यसको उत्तर अन्ततः अमेरिकी नियामक संस्था, न्यायालय तथा राजनीतिक प्रक्रियाले दिनेछ।
भरोसाविनाको अर्थनीति
एलन मस्क अब ट्रिलियनर बनेका छन्: वास्तवमा एक ट्रिलियन भनेको कति हो?
संविधानले निर्देशित गरेको समाजवादको गन्तव्यभन्दा फरक बाटोमा आएको बजेट
आर्थिक विकास भनेको के हो?
डीपसिक भी-४ को प्रभाव र हुवावे चिपको बढ्दो माग
स्ट्रेट अफ हर्मोज र डगमगाउँदो भू-राजनीति
पश्चिम एशियाको युद्धले नेपालमा पार्ने बहुआयामिक संकट
प्रतिक्रिया