पितृसत्ताबाट मुक्ति

पितृसत्ताबाट मुक्ति नारी दुनियाँको पहिलो र अन्तिम उपनिवेश हो। यसको अर्थ मानव इतिहासमा सत्ताको विकृतिको पहिलो स्वरूप पितृसत्ताको रूपमा स्थापित भएको हुनुपर्छ र नारी दासताको पहिलो सिकार बनेकी हुनुपर्छ। यस्तो लाग्छ: सबै प्रकारका सत्ताहरूको विकेन्द्रीकरण पछि मात्र पितृसत्ताको अन्त्य हुनेछ र नारी बाहिरका सबै बन्धनहरूबाट मुक्ति पाउँदापाउँदै अन्तिममा मात्र घरको पितृसत्ताबाट मुक्त हुनेछिन्। तब मात्र वास्तवमा सबै मुक्त हुन सक्नेछन्।

जब मनुष्यले देवत्वको कल्पना गर्‍यो तब देवी नै पहिलो पटक गढिइन्। तर स्वामी बन्नेवित्तिकै सबैभन्दा पहिले पुरुष नारीको स्वामी बन्यो।

त्यसो त मानवको विकास यात्रामा प्रारम्भिक चरणमा नारीको प्रधानता रहेको हुनुपर्छ भन्ने कुरा स्वभाविक लाग्छ किनकि सम्बन्धहरूको शुरुआत त मातृत्वबाटै हुन्छ। कुनै पनि जीवजस्तै मनुष्यले सबैभन्दा पहिले आमालाई नै चिन्दछ। यसैले जब मनुष्यले देवत्वको कल्पना गर्‍यो तब देवी नै पहिलो पटक गढिइन्। तर स्वामी बन्नेवित्तिकै सबैभन्दा पहिले पुरुष नारीको स्वामी बन्यो। त्यसपछि स्वामित्वको विस्तार हुँदै गयो र मनुष्य धर्तीको, अन्य मनुष्यहरूको र विभिन्न प्रकारका सम्पत्तिहरूको स्वामी बन्दै गयो।

नारीको स्वामी बन्ने क्रममा एक विडम्बना र असमञ्जस्य पनि बाधक बन्दै आएको छ। एकतर्फ स्वामित्वको सबैभन्दा अन्तरङ्ग सुख त नारीले नै दिन सक्छिन् किनकि जीवनका अति अन्तरङ्ग पलहरूमा पनि उनैले पुरुषको अहम् र अहंकारको तृप्ति गर्न सक्छिन्, तर अर्कोतर्फ पुरुषको नारीप्रतिको निर्भरता पनि अत्यन्त अन्तरङ्ग छ। उसले नारीको कोखमा जन्म लिन्छ, हुर्कन्छ र उनैको काखमा उसको चेतनाको विकास हुन्छ। त्यसैले ऊ उनको ममतालाई नकार्न पनि सक्दैन र उनलाई दमित राख्ने सुखबाट पनि आफूलाई वञ्चित गर्न सक्दैन। यसैले ऊ उनको गौरवगान पनि गर्छ र उनलाई उपभोग पनि गर्छ।

यो विडम्बना प्राचीन कालको प्राकृतिक जीवनदेखि आजको सभ्य जीवनसम्म कायम रहेको छ। आज दुनियाँमा अधिकांश रूपमा जनतन्त्र स्वीकार्य हुँदै गए तापनि नारीमाथि सहज स्वामित्वको भाव कायम छ र नारीले आफ्नै मुक्तिको सङ्घर्ष जारी राख्नुपरेको छ। प्राचीन कालमै धर्म, दर्शन, नीतिशास्त्र, साहित्य, मर्यादा, मान्यता र आचार-व्यवहारको हरेक स्तरमा नारीलाई अबला, निर्भर र द्वितीयक रूपमा स्थापित गरियो। नारीको पतिपरायणता र मातृत्वलाई आदर्शको रूपमा स्थापित गरियो। यसको बोझमुनि थिचिएर उनले हजारौँ वर्षसम्म पीडाको सुख भोगिरहिन्। तर बोझ त बोझ नै हुन्छ र मुक्ति त जीवनको लक्षण हो, जहाँ जीवन हुन्छ त्यहाँ मुक्तिको कामना हुनैपर्छ।

आज दुनियाँमा अधिकांश रूपमा जनतन्त्र स्वीकार्य हुँदै गए तापनि नारीमाथि सहज स्वामित्वको भाव कायम छ र नारीले आफ्नै मुक्तिको सङ्घर्ष जारी राख्नुपरेको छ।

सुजी थोमस र के. ललिता नामक दुई आधुनिक विदुषीहरूले प्राचीन कालदेखि नै नारी लेखिकाहरूको मुक्तिको कामनाका अभिव्यक्तिहरूलाई बाहिर ल्याएका छन्। हजारौँ वर्ष पहिले सनातन धर्ममा व्याप्त पितृसत्ताबाट मुक्तिको खोजीमा केही महिलाहरू भिक्षुणी बनेर बौद्ध धर्मका अनुयायी बने। घरपरिवारबाट मुक्त एक भिक्षुणीले लेखिन् कि म कति स्वतन्त्र छु, यो स्वतन्त्रता कति अनौठो छ: म ओखली, मूसल र मालिक– यी तीन तुच्छ वस्तुबाट मुक्त भएकी छु तथा पुनर्जन्म र बन्धनबाट पनि मुक्त छु । जसले मलाई दबाइराखेका थिए ती सबै कुरालाई मैले टाढा फ्याँकिदिएकी छु।

यस्ता अभिव्यक्तिहरू दक्षिण भारतको इतिहासको बेजोड स्रोत सङ्गम साहित्यमा पनि पाइन्छन्। दुई हजार वर्षभन्दा पनि पहिले तमिल भाषामा असन्तोष र विद्रोहको भावना उर्लिरहेको थियो। म यिनीहरूको के गरुँ, आक्रमण गरुँ, मारूँ वा कुनै न कुनै बहानामा यो सुतिरहेको सहरलाई जगाऊँ? हावाबाहेक जसले मेरो वरिपरि चक्कर लगाउँछ, मेरो पीडा अरू कसैलाई थाहा छैन।

हाम्रा धार्मिक ग्रन्थ, मिथक, पुराण र रामायण-महाभारत, जसलाई महाकाव्य पनि भनिन्छ, महिलाहरूमाथि भइरहेका अत्याचारहरूमा लाखौँ पर्दा हाल्ने कोसिस गरे पनि उनीहरूको चीत्कार र आक्रोशका अनुगुञ्जले भरिपूर्ण छन्। एउटा उदाहरण नै पर्याप्त छ: जब युधिष्ठिर जुवामा हारेपछि द्रौपदीलाई दाउमा लगाउँछन् तब उनले चिच्याउँदै भनिन् कि जब उनीहरू स्वयं हार खाएर दास बनिसकेका थिए भने मलाई दाउमा लगाउने अधिकार उनीहरूलाई कसरी भयो? पतिपरायण सीता पनि रामको पाखण्डलाई उदाङ्गो पार्न  अलिकति पनि हिच्किचाउँदिनन्।

हाम्रा धार्मिक ग्रन्थ, मिथक, पुराण र रामायण-महाभारत, जसलाई महाकाव्य पनि भनिन्छ, महिलाहरूमाथि भइरहेका अत्याचारहरूमा लाखौँ पर्दा हाल्ने कोसिस गरे पनि उनीहरूको चीत्कार र आक्रोशका अनुगुञ्जले भरिपूर्ण छन्।

सनातन धर्मका स्वर्ण पुरुष सञ्चालकहरूको षड्यन्त्रपूर्ण चालाकीको एउटा साधारण उदाहरण विद्रोहहरूको आध्यात्मिकरण र दैवीकरण गर्नु हो। गौतम बुद्धको विद्रोहलाई पनि गौतमलाई नै अवतार साबित गरेर आत्मसात् गरियो। वृन्दावनका नारीहरूको राधाको नेतृत्वमा र कृष्णको समर्थनमा उठेको विद्रोह मानव इतिहासमा असाधारण छ। यसको आध्यात्मिक रूपान्तरण मात्रै गर्न सकिन्थ्यो र त्यही गरियो। राधाकृष्णको रासलीलालाई आनन्दको उत्कर्षको रूपमा सामान्य मानवका लागि अप्राप्य र दैवी घोषित गरियो। तर मीराले हजारौँ वर्षपछि यस प्रतीकको मर्मलाई दोहोर्‍याइन् र आजको नारी आन्दोलनमा द्रौपदी, राधा र मीराजस्ता नारीहरूलाई ऊर्जाको स्रोतको रूपमा चित्रण गरिएको छ।

नारीमुक्तिको मुद्दा सबैभन्दा विडम्बनापूर्ण ढङ्गले आधुनिकताको आरम्भ मानिने युरोपमै उजागर भयो। त्यहीँ पुनर्जागरण, धर्मसुधार, ज्ञानोदय र क्रान्तिका युगहरू आए र त्यहीँ आधुनिक जनतन्त्रको जग बस्यो। त्यहीँ स्वतन्त्रता, समानता र बन्धुत्वका नाराहरूका साथ एक नयाँ व्यवस्थाको स्थापनाका लागि फ्रान्समा क्रान्ति भयो र मानव तथा नागरिकका अधिकारहरूको घोषणा गरियो। तर त्यहीँ आधुनिक जनतन्त्रको पाखण्ड पनि उदाङ्गो भयो।

मानव अधिकारहरूको घोषणा हुँदा फ्रान्समै ओलम्प डे गूजेसले मानवमा नारी पनि पर्छिन् भन्ने प्रश्न उठाइन् । उनले नारीका अधिकारहरूको अलगै घोषणा गरिन् तर त्यसको कुनै असर परेन। क्रान्तिकारी फ्रान्समा नारीले मताधिकार बीसौँ शताब्दीको मध्यतिर मात्र पाउन सकिन्।

उन्नाइसौँ शताब्दीमै संयुक्त राज्य अमेरिका र युरोपमा नारीहरूमा चेतनाको विस्तार हुँदै गयो। भारतमा पनि त्यसै बेला नारी शिक्षा, सती प्रथाको अन्त र विधवा विवाहजस्ता सुधार आन्दोलनहरू सुरु भइसकेका थिए।

फ्रान्सेली क्रान्ति र औद्योगिक क्रान्तिको बाद पुँजीवाद बलियो बन्दै गयो र त्यही आवश्यकताअनुसार जनतन्त्रको विस्तार आवश्यक हुँदै गयो। त्यसैले उन्नाइसौँ शताब्दीमै संयुक्त राज्य अमेरिका र युरोपमा नारीहरूमा चेतनाको विस्तार हुँदै गयो। भारतमा पनि त्यसै बेला नारी शिक्षा, सती प्रथाको अन्त र विधवा विवाहजस्ता सुधार आन्दोलनहरू सुरु भइसकेका थिए।

वास्तवमा नारीमुक्तिको हावा प्रथम विश्वयुद्धपछि तीब्र भयो। युद्धका आवश्यकताहरूले नै नारीलाई घरको चौघेरा बाहिर आउन बाध्य पारेका थिए। युद्धको दौरानमा महिलाहरूले त्यस्ता थुप्रै कामहरू गर्नुपर्‍यो जुन उनीहरूले परम्परागत रूपमा गर्ने गरेका थिएनन्। उनीहरूले विभिन्न प्रकारका जागिरहरू खानका लागि घरका बन्धनहरूलाई खुकुलो पार्नुपरेको थियो। उनीहरूले लगाउने पहिरनमा समेत परिवर्तन आयो जस्तै शताब्दियौंदेखि ढीला गाउन र लामो कपालको बोझ बोक्ने महिलाहरूले छोटो कपाल र चुस्त लुगाहरू स्वीकार गर्नुपर्‍यो।

इतिहास, समाजशास्त्र र नृशास्त्रमा भएका खोजहरूले कसरी सहज मातृप्रधानताको ठाउँमा पुरुष सत्ता स्थापित भयो र पितृसत्ताका पारिवारिक मात्र होइन, आर्थिक, राजनीतिक र सांस्कृतिक आयामहरू पनि थिए भन्ने कुरा उजागर गरिदिएका थिए ।

यही कालखण्डमा नारीवाद एक आन्दोलनको रूपमा विकसित भयो जसमा वैचारिक हस्तक्षेपको अति निर्णायक भूमिका रहेको छ। केट मिलेट र सिमोन द बोउवारले आफ्ना व्याख्याहरूका माध्यमबाट पितृसत्ताको धज्जी उडाए। यसका पछाडि इतिहास, समाजशास्त्र र नृशास्त्रमा भएका खोजहरूले कसरी सहज मातृप्रधानताको ठाउँमा पुरुष सत्ता स्थापित भयो र पितृसत्ताका पारिवारिक मात्र होइन, आर्थिक, राजनीतिक र सांस्कृतिक आयामहरू पनि थिए भन्ने कुरा उजागर गरिदिएका थिए । सिमोनको यो तर्क कि औरत जन्माइँदैन, बनाइन्छ भन्ने कुराले शिक्षित र संवेदनशील महिलाहरूबीच ठूलै खैलाबैला मच्चाइसकेको थियो।

भारतमा पनि सुधार आन्दोलनहरूका क्रममा नारीहरूले उन्नाइसौँ शताब्दीमै आफ्ना उपस्थिति जनाइसकेका थिए तर उनीहरू घरको कैदबाट वास्तवमा बाहिर असहयोग आन्दोलनको दौरानमा निस्किए। यही कालखण्डमा उनीहरूले विदेशी सत्ताबाट मुक्तिका लागि त आवाज उठाउन सक्छन् तर अझैसम्म घरको पितृसत्ताको विरुद्धमा आवाज उठाउने आत्मविश्वास र चेतना विकसित भइसकेको छैन र यो पिछडिएकोपन एक हदसम्म आज पनि जारी नै छ भन्ने विडम्बना पनि उजागर भयो ।

 

सम्बन्धित

मुक्तिको मतलब

मानव सभ्यताको लामो यात्रामा हामी आफैँले निर्माण गरेका कयौँ अदृश्य साङ्ग्लोहरूको कथा

दासताबाट मुक्ति

 

भारतको राष्ट्रिय आन्दोलनमा क्रमशः समाजका सबै समुदायहरू आ-आफ्ना हितहरूको रक्षाका निम्ति आ-आफ्नै ढङ्गले सहभागी हुँदै गएका थिए। अर्कातर्फ द्वितीय विश्वयुद्धको महाविनाशले सत्ताका समीकरणहरूलाई नै बदलिदिएको थियो। पुँजीको चरित्र एकदमै फेरिएको थियो र अब देशहरू र व्यक्तिहरूलाई सोझै दास बनाएर राखिरहनु आवश्यक रहेन। त्यसैले राजनीतिक स्वतन्त्रता प्राप्त हुनेबित्तिकै भारतीय संविधानमा सबैलाई राजनीतिक स्वतन्त्रता प्रदान गरियो र नारीहरू पनि नागरिक बने। तर यो स्वतन्त्रता अनिवार्य भए पनि केवल पहिलो खुट्किलो मात्र थियो किनकि आर्थिक स्वतन्त्रता त देशले नै पाउन सकेको थिएन भने नारीले कसरी पाउँथिन्। जनतन्त्र जब संसद्मै आउन सकेको थिएन भने घरभित्र कसरी आउँथ्यो? समग्रमा भन्नुपर्दा पछिल्लो साठी-सत्तरी वर्षको अवधिमा भारतमा नयाँ स्वतन्त्रताको नयाँ सङ्घर्ष बिस्तारै विकसित हुँदै गइरहेको छ र यसले नै नारीवादी आन्दोलनको चरित्रलाई पनि बदल्नेछ।

आज पनि नारीमुक्ति मुख्य रूपमा नारीहरूको मात्रै समस्या हो तर जब कुनै एक व्यक्तिको मुक्ति अर्को व्यक्तिको मुक्तिसँग अविच्छिन्न रूपमा जोडिएको हुन्छ तब नारीमुक्तिलाई पनि मानवमुक्तिको महासङ्ग्रामको एउटा मोर्चाको रूपमा हेरेपछि मात्र समस्या पूर्ण रूपमा बुझ्न सकिन्छ र त्यसै रूपमा हल पनि हुनेछ।

आज पनि नारीमुक्ति अर्थात् पितृसत्ताबाट मुक्ति मुख्यतया एक मध्यमवर्गीय, शिक्षित र सहरी महिलाहरूको मुद्दा बनेको छ। आज पनि नारीमुक्ति मुख्य रूपमा नारीहरूको मात्रै समस्या हो तर जब कुनै एक व्यक्तिको मुक्ति अर्को व्यक्तिको मुक्तिसँग अविच्छिन्न रूपमा जोडिएको हुन्छ तब नारीमुक्तिलाई पनि मानवमुक्तिको महासङ्ग्रामको एउटा मोर्चाको रूपमा हेरेपछि मात्र समस्या पूर्ण रूपमा बुझ्न सकिन्छ र त्यसै रूपमा हल पनि हुनेछ। आज नारीमुक्तिका अनेकौँ व्याख्याहरू र कार्यक्रमहरू छन् तर बिस्तारै समस्याहरूलाई समग्रतामा हेर्नुपर्ने अनिवार्यता उजागर हुँदै गइरहेको छ।

मानव मुक्ति’बाट अनुदित ।