ओमानको ओझेलमा परेको नारीवादी मार्क्सवादी क्रान्ति

जनसमुदायले हतियार उठाउँछन्

यो घटना जुन ९ मा, वाडी अल-कबिरमा भएको थियो। लडाकुहरूको एक महाधिवेशनले सशस्त्र संघर्ष सुरु भएको घोषणा गर्‍यो। यस संघर्षले एक दशकभन्दा बढी समयसम्म धोफारका पहाडहरूलाई आफ्नो चपेटामा लियो। धोफार लिबरेसन फ्रन्ट (Dhofar Liberation Front) यसको केही महिनाअघि मात्र स्थापना भएको थियो। यो जर्ज हब्बाशको प्यान-अरब 'मुभमेन्ट अफ अरब नेसनलिस्ट्स' (Movement of Arab Nationalists) को एउटा शाखा थियो। केही वर्षभित्रै यो अरब प्रायद्वीपले देखेका सबैभन्दा महत्त्वाकांक्षी क्रान्तिकारी परियोजनाहरूमध्ये एक बन्यो। तर पछि, यसलाई यस क्षेत्रको आधिकारिक इतिहासबाट लगभग पूर्ण रूपमा मेटाउने काम गरियो।

यस शासनले दैनिक जीवनमा अनौठा र असम्भव लाग्ने प्रतिबन्धहरू लगाएर नियन्त्रण गर्थ्यो; जस्तै फुटबल खेल्न, सनग्लास लगाउन र १५ मिनेटभन्दा बढी कुराकानी गर्न समेत मनाही थियो।

ब्रिटिस संरक्षणमा सामन्ती निरंकुशता

विद्रोहीहरू जुन व्यवस्थाविरुद्ध उठेका थिए, त्यो जुनसुकै मापदण्डबाट पनि अत्यन्तै पुरातन र अविकसित थियो। सुल्तान सेइद बिन तैमुरले मस्कट र ओमानलाई आफ्नो निजी विर्ता जसरी शासन गर्थे। बेलायतले सन् १९३२ देखि नै उनलाई आर्थिक र सैन्य रूपमा टेवा दिँदै आएको थियो। उनको शासनले अधिकांश विषयहरूका लागि विद्यालयहरूमाथि प्रतिबन्ध लगाएको थियो भने पक्की सडक र आधुनिक औषधिको प्रयोगमा रोक लगाएको थियो। यस शासनले दैनिक जीवनमा अनौठा र असम्भव लाग्ने प्रतिबन्धहरू लगाएर नियन्त्रण गर्थ्यो; जस्तै फुटबल खेल्न, सनग्लास लगाउन र १५ मिनेटभन्दा बढी कुराकानी गर्न समेत मनाही थियो। सुल्तानले बस्नका लागि रोजेको धोफार क्षेत्रलाई एउटा प्रान्तको रूपमा नभई निजी सम्पत्तिका रूपमा सञ्चालन गरिएको थियो। ऐतिहासिक अभिलेखहरूले देखाए अनुसार, त्यहाँका मानिसहरूसँग वास्तवमा कुनै पनि अधिकार थिएन।

राष्ट्रिय मुक्तिदेखि वैज्ञानिक समाजवादसम्म

सन् १९६७ पछि विद्रोहको स्वरूप निर्णायक रूपमा बदलियो। बेलायत एडेनबाट पछि हट्यो र छिमेकमै नेसनल लिबरेसन फ्रन्टले विजय हासिल गर्‍यो। यसको परिणामस्वरूप धोफारको सँघारमै एक मार्क्सवादी राज्य: 'पिपल्स डेमोक्रेटिक रिपब्लिक अफ यमन' को उदय भयो। त्यसपछि सुरक्षित आश्रयस्थल, हतियार र तालिम प्राप्त हुन थाल्यो।

यसमा मुख्य मोड सेप्टेम्बर १९६८ को हमरिन सम्मेलनमा आयो। त्यहाँ यस आन्दोलनले आफ्नो नाम बदलेर 'पपुलर फ्रन्ट फर द लिबरेसन अफ ओमान एन्ड द अरेबियन गल्फ' (Popular Front for the Liberation of Oman and the Arabian Gulf) राख्यो। यसले औपचारिक रूपमा मार्क्सवाद-लेनिनवाद र महिला मुक्तिको प्रतिबद्धतालाई अङ्गीकार गर्‍यो। यसले एक व्यापक दृष्टिकोण पनि अपनायो। यसको पत्रिका सौत अल-थावरा ले धोफारलाई एशिया, अफ्रिका र ल्याटिन अमेरिकालाई जोड्ने तीन महादेशीय संघर्षको दायराभित्र राख्यो।

महादेशहरू पारिका कमरेडहरू: माओवादी लाइन

यस मोडमा चीनको केन्द्रीय भूमिका थियो। पिएफएलओएजीले माओवादी सिद्धान्तलाई व्यापक रूपमा अपनायो, र बेइजिङले पनि यसको तुरुन्तै प्रतिक्रिया दियो। पहाडी आधार इलाकाबाट दीर्घकालीन संघर्ष गरिरहेको किसानमा आधारित छापामार दस्ता माओवादी मोडलसँग दुरुस्तै मिल्दोजुल्दो थियो। यसले चिनियाँ दृष्टिकोणमा फ्रन्टलाई बलियो विश्वसनीयता प्रदान गर्‍यो।

पिएफएलओएजीले माओवादी सिद्धान्तलाई व्यापक रूपमा अपनायो, र बेइजिङले पनि यसको तुरुन्तै प्रतिक्रिया दियो। पहाडी आधार इलाकाबाट दीर्घकालीन संघर्ष गरिरहेको किसानमा आधारित छापामार दस्ता माओवादी मोडलसँग दुरुस्तै मिल्दोजुल्दो थियो।

चीनले हतियार र सैन्य तालिम उपलब्ध गरायो, र धोफारी लडाकुहरूलाई गैर-पारम्परिक युद्धकौशलको तालिमका लागि चीन र अन्य ठाउँहरूमा विदेश पठाइयो। बेइजिङले एडेनमा दूतावास स्थापना गर्‍यो, र दक्षिण यमनले विद्रोहीहरूसम्म हतियार पुर्‍याउन आफ्नो भूभाग प्रयोग गर्ने अनुमति दियो। चिनियाँ र सोभियत हतियारको नयाँ प्रवाह र राम्रो तालिमले पिएफएलओएजीको सैन्य दस्तालाई एक प्रभावकारी लडाकु बलमा परिणत गर्‍यो।  सन् १९६९ सम्ममा यसले जेबेल पहाडी क्षेत्रका अधिकांश भागहरू कब्जा गरिसकेको थियो। बेइजिङका लागि यसमा शीतयुद्धको रणनीतिक हिसाब-किताब पनि थियो। पिएफएलओएजीलाई दिइएको समर्थनले हिन्द महासागरमा बढ्दो सोभियत प्रभावलाई सन्तुलनमा राख्ने काम गर्थ्यो। यद्यपि, त्यो माओवादी चरण तुलनात्मक रूपमा छोटो रह्यो। सन् १९७१ पछि चिनियाँ संलग्नता घट्दै गयो, र यस क्षेत्रमा चिनियाँ-सोभियत प्रतिस्पर्धा बढेसँगै सिर्जना भएको रिक्तता पूर्तिका लागि सोभियत सहायता विस्तार भयो।

मुक्त क्षेत्रहरूमा नयाँ समाजको निर्माण

पिएफएलओएजीले आफ्ना मुक्त क्षेत्रहरूमा के निर्माण गर्‍यो भन्ने कुरा नै यस कथाको त्यो हिस्सा हो जसलाई प्रायः छुटाइन्छ। सुल्तानले औषधि र सडकमा प्रतिबन्ध लगाएका थिए। फ्रन्टले भने त्यसको ठीक उल्टो गर्‍यो। यसले राज्यले अलपत्र पारेको क्षेत्रको पूर्वाधारमा स्रोतसाधन खन्यायो, जसअन्तर्गत विद्यालय र क्लिनिकहरू खोलिए। यसले जतिसुकै अपूर्ण रूपमा भए पनि, सामाजिक रूपान्तरणको कार्यक्रमलाई व्यवहारमा उतार्यो। त्यो कार्यक्रममा खाडी क्षेत्रले देखेको महिला मुक्तिको सबैभन्दा क्रान्तिकारी प्रयोगहरूमध्ये एक समावेश थियो। केही समयका लागि, क्रान्तिकारीहरूले लगभग सम्पूर्ण जेबेल क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए।

महिलाले आधा आकाश थाम्छन्

सन् १९६८ को उही सम्मेलनबाट अपनाइएको महिला मुक्तिको प्रतिबद्धता, सम्पूर्ण क्रान्तिको सबैभन्दा उल्लेखनीय विशेषताहरूमध्ये एक थियो। पिएफएलओएजीको मान्यता के थियो भने महिलाको मुक्ति नै संघर्षको सफलताको केन्द्रीय आधार हो। फ्रन्टको तर्क अनुसार यो स्वतः प्राप्त हुनेछैन, बरु समाजको तथाकथित "वस्तुगत पछौटेपन" विरुद्धको निरन्तर लडाइँबाट मात्र सम्भव हुनेछ। यो मार्क्सवादी विचारबाट लिइएको र माओवादद्वारा आकार दिइएको एक भौतिकवादी विश्लेषण थियो । जसमा माओको प्रसिद्ध भनाइ "महिलाहरूले आधा आकाश थाम्छन्" पनि समावेश थियो। पिएफएलओएजीले दोहोरो उत्पीडनलाई स्वीकार गर्‍यो: महिलाहरू पुरुषको तुलनामा महिलाको रूपमा र आर्थिक प्रणालीको तुलनामा श्रमजीवीको रूपमा, दुवै तर्फबाट शोषित थिए।

सन् १९६८ को उही सम्मेलनबाट अपनाइएको महिला मुक्तिको प्रतिबद्धता, सम्पूर्ण क्रान्तिको सबैभन्दा उल्लेखनीय विशेषताहरूमध्ये एक थियो। पिएफएलओएजीको मान्यता के थियो भने महिलाको मुक्ति नै संघर्षको सफलताको केन्द्रीय आधार हो।

यो कार्यक्रम सिद्धान्तमा मात्र सीमित थिएन। जनमुक्ति सेनामा पुरुषहरूसँगै महिलाहरूले पनि काँधमा काँध मिलाएर लडेका थिए, र उनीहरूको राजनीतिक सहभागितालाई क्रान्तिको गम्भीरताको मापदण्डका रूपमा हेरिन्थ्यो। मुक्त क्षेत्रहरूमा फ्रन्टले महिला सुन्नत (Female Circumscription) र बहुविवाहविरुद्ध कदम चाल्यो, र दाइजो/कन्याशुल्कलाई पूर्ण रूपमा उन्मूलन गर्न नसकेपछि त्यसलाई घटाउने काम गर्‍यो। मुख्य कुरा त के भने, यी अभियानहरू स्वयं महिला क्याडरहरूद्वारा नै सञ्चालन गरिएका थिए। बहराइनी आन्दोलनकारी लैला फाख्रो (हुदा सालेम) ले पिएफएलओएजीलाई महिला सुन्नतमाथि प्रतिबन्ध लगाउन र दाइजो/कन्याशुल्कको सीमा तोक्न दबाब दिएकी थिइन्। उनले राजनीतिक शिक्षा, अध्यापन, हेरचाहका कामहरूका साथै फ्रन्टका सञ्चारमाध्यम र वैदेशिक सम्बन्धका क्षेत्रमा पनि काम गरिन्। जुन १९७० मा, उनले अब्देल रहमान अल-नुएमीसँग मिलेर आन्दोलनको मासिक पत्रिका ९ जुन (9 Yunyu) को स्थापना गर्न सहयोग गरिन्। ऐक्यबद्धता अभियानकर्ताहरूद्वारा वितरित एक निबन्धले एक ओमानी महिलाको शब्दमा यसको महत्त्वलाई यसरी प्रस्तुत गरेको थियो– ती महिलाले आफू चार जना सुल्तानहरूको उत्पीडनमा परेको बताएकी थिइन्: मस्कटका सुल्तान, जनजातीय शेख, धार्मिक इमाम, र परिवार- बुबा, भाइ र श्रीमान्।

यो क्रान्तिकारी विचारले बाह्य दुनियाँको ध्यान पनि आकर्षित गर्‍यो। सन् १९७१ मा लेबनानी चलचित्र निर्माता हेइनी सरूरले धोफारको यात्रा गरिन् र महिला लडाकुहरूको भिडियो छायांकन गरिन्, जो पछि उनको १९७४ को वृत्तचित्र द आवर अफ लिबरेसन ह्याज अराइभ्ड (The Hour of Liberation Has Arrived) मा देखिए। लेबनानमा आफूलाई एक पराजित नारीवादी मान्ने सरूर, पिएफएलओएजीका एक प्रतिनिधिले आफ्नै पहलमा महिला उत्पीडनको प्रश्न उठाएको सुनेर दङ्ग परेकी थिइन्– जसले साम्राज्यवाद र वर्ग मात्र नभई बुबा, श्रीमान् र भाइहरूको नाम पनि लिएका थिए।

जुन १९७५ मा, क्रान्तिकारीहरूले वफा यासेरको नेतृत्वमा 'ओमानी महिला संगठन' को स्थापना गरे, जसको आफ्नै साक्षरता अभियान चलाउने र महिलाको सामाजिक स्थितिलाई रूपान्तरण गर्ने कार्यक्रम थियो।

यस आन्दोलनले आफ्ना महिलाहरूलाई सचेत रूपमा एउटा व्यापक क्रान्तिकारी परम्पराभित्र राख्यो। यसको पत्रिका सौत अल-थावरा ले भियतनामी महिला लडाकुहरूसँग तुलना गर्दै, उनीहरूको अन्तर्राष्ट्रियतावादी गतिविधिसँगै ब्रिटिस-समर्थित शासनद्वारा महिला तथा बालिकाहरूमाथि गरिएका गिरफ्तारी र दुर्व्यवहारको दस्तावेज तयार गर्‍यो। जुन १९७५ मा, क्रान्तिकारीहरूले वफा यासेरको नेतृत्वमा 'ओमानी महिला संगठन' को स्थापना गरे, जसको आफ्नै साक्षरता अभियान चलाउने र महिलाको सामाजिक स्थितिलाई रूपान्तरण गर्ने कार्यक्रम थियो। त्यसपछिको महिनामा, पहिलो आधिकारिक ओमानी महिला प्रतिनिधिमण्डल – नादिया खालिद र हुदा मुहद – सोभियत कजाकिस्तानको अल्मा-अटामा सोभियत महिला समितिद्वारा आयोजित एक विचारगोष्ठीमा सहभागी हुन गए। त्यहाँबाट यो प्रतिनिधिमण्डल भियतनामी महिला महासंघको निमन्त्रणामा प्रजातान्त्रिक गणतन्त्र भियतनामतर्फ लाग्यो। यस्ता सम्बन्धहरू केवल उपदेशात्मक मात्र नभई व्यावहारिक थिए। यसले के देखाउँछ भने धोफार खाडीको कुनै टाढाको कुनामा भएको एक्लो विद्रोह मात्र थिएन। यो विश्वव्यापी रूपमा जोडिएको एउटा यस्तो आन्दोलन थियो, जसले महिलाको राजनीतिक सहभागितालाई आफ्नो केन्द्रमा राखेको थियो।

प्रति-क्रान्ति: ब्रिटिस समर्थित सत्तापलट

यो क्रान्ति अन्ततः असफल हुनुमा सुल्तानको सेनाभन्दा पनि यसका विरुद्धमा उभिएको विदेशी हस्तक्षेपको ठूलो हात थियो। पहिलो कदम दरबारभित्रैबाट चालियो। जुलाई १९७० मा, सेइद बिन तैमुरलाई उनकै छोरा काबुसले पदच्युत गरिदिए। ब्रिटिस सेना र विदेश मन्त्रालयले यो 'कू' लाई खुला रूपमा समर्थन गरेका थिए। लन्डनले के निष्कर्ष निकालेको थियो भने पुराना सुल्तानको हठी स्वभावका कारण विद्रोहीहरू झन् उग्र बन्दै गएका थिए। उनलाई निर्वासनमा पठाइयो र उनले आफ्ना जीवनका अन्तिम दुई वर्ष लन्डनको एउटा होटलमा बिताए। काबुसले आफ्ना बुबाले अस्वीकार गरेका सुधारहरू तुरुन्तै सुरु गरे: विकासका कामहरू, आममाफी, र धोफारलाई मुख्य ओमानमा गाभ्ने निर्णय। यी कदमहरू विद्रोहको जनआधारलाई कमजोर पार्ने स्पष्ट उद्देश्यका साथ रचिएका थिए।

लन्डनले के निष्कर्ष निकालेको थियो भने पुराना सुल्तानको हठी स्वभावका कारण विद्रोहीहरू झन् उग्र बन्दै गएका थिए। उनलाई निर्वासनमा पठाइयो र उनले आफ्ना जीवनका अन्तिम दुई वर्ष लन्डनको एउटा होटलमा बिताए।

प्रतिक्रियावादी शक्तिहरू

सुधारहरूले मात्रै युद्ध जित्न सकेका थिएनन्। यस अभियानको अध्ययन गरेका सैन्य विश्लेषकहरू सहमत छन् कि यो द्वन्द्व उल्लेख्य रूपमा अन्तर्राष्ट्रियकरण भएको थियो। डिसेम्बर १९७३ देखि इरानका शाहले सुल्तानका सेनाहरूसँगै लड्न आफ्ना सैनिकहरू पठाए। उनले स्ट्रेट अफ हर्मुजको सुरक्षालाई यसको कारण बताएका थिए। इरानले अन्ततः हेलिकप्टर, प्याराट्रुपर्स (विमानबाट छाताको सहायताले उत्रने सैनिक) र तोपखानासहित हजारौँको संख्यामा शाही सैनिकहरु उतारेको थियो। जोर्डनका विशेष बल, पाकिस्तानी बलोच सैनिक, साउदीको पैसा, र विवरणहरू अनुसार इजरायली सल्लाहकारहरू पनि यस प्रयासमा सामेल भए। तैपनि, यो गठबन्धनको कमाण्ड भने लगभग पूर्ण रूपमा ब्रिटिस अधिकारीहरूकै हातमा थियो। द टाइम्स अफ लन्डनका एक संवाददाताले विजयको पूर्वसन्ध्यामा यो कुरा अवलोकन गरेका थिए। एक ओमानी जनरलले उनलाई ठाडै भनेका थिए कि ब्रिटिसहरू पछि हटेमा त्यो विनाशकारी हुनेछ।

त्यसै समयमा कूटनीतिक परिस्थिति पनि बदलियो। सन् १९७५ को अल्जियर्स सम्झौतापछि, इराकले फ्रन्टलाई दिँदै आएको आफ्नो समर्थन फिर्ता लियो। खाडीका राजतन्त्रहरूसँग नजिकिँदै गरेको सादातको इजिप्टले पनि त्यसै गर्‍यो। ओमानमा बाह्य सहयोग बढ्दै जाँदा, विद्रोहीहरूका मुख्य आधारहरू एक-एक गरी काटिँदै गए। अक्टोबर १९७५ मा सुल्तानले अन्तिम सैन्य अभियान 'अपरेसन हदफ' (Operation Hadaf) सुरु गरे। यसले पिएफएलओ (त्यतिबेलासम्म फ्रन्टलाई यही नामले चिनिन्थ्यो) लाई यमनी सीमापारिका आफ्ना आधारहरूबाट अलग गरिदियो। पटक-पटकको हारपछि, बाँकी रहेका लडाकुहरू सन् १९७६ मा दक्षिण यमन तर्फ पछि हटे। सोही वर्ष धोफार विद्रोह पराजित भएको घोषणा गरियो।

ओझेलमा परेको विरासत

यो दोस्रो विश्वयुद्धपछिको मध्यपूर्वमा पश्चिमी नेतृत्वमा भएका प्रति-विद्रोह अभियानहरूमध्ये सफल मानिने सीमित घटनाहरूमध्ये एक हो। संयोगवश, यो सबैभन्दा पूर्ण रूपमा बिर्सिइएको घटना पनि हो। एउटा फरक र प्रगतिशील अरबको लागि लडेका ती पुरुष र महिलाहरू कुनै सुल्तानबाट मात्र पराजित भएका थिएनन्। उनीहरू साम्राज्यहरू, राजतन्त्रहरू र शीतयुद्धको संयुक्त दबाबबाट पेलिएका थिए, जसको उद्देश्य उनीहरूको यो प्रयोगलाई कुनै पनि हालतमा जीवित रहन नदिनु थियो।

उनीहरूले आफ्ना पहाडी गाउँहरूलाई भियतनाम, चीन र फराकिलो तेस्रो विश्वका क्रान्तिकारी धाराहरूसँग जोडे। आज पूर्ण निरंकुश राजतन्त्र र तेलको धनी क्षेत्रका रूपमा परिचित ठाउँमा यो सबै सम्भव भएको थियो भन्ने तथ्य आफैँमा सोच्न बाध्य पार्ने खालको छ।

तथापि, युद्धको मैदानमा भएको हारको अर्थ औचित्यहीन हुनु होइन। एक दशकभन्दा बढी समयसम्म, अरब प्रायद्वीपको सबैभन्दा गरिब कुनाका किसान र मजदुरहरूले सुल्तानले प्रतिबन्ध लगाएका ठाउँहरूमा विद्यालय र क्लिनिकहरू निर्माण गरे। उनीहरूले महिलाहरूलाई लड्न र शासन चलाउन पठाए। उनीहरूले आफ्ना पहाडी गाउँहरूलाई भियतनाम, चीन र फराकिलो तेस्रो विश्वका क्रान्तिकारी धाराहरूसँग जोडे। आज पूर्ण निरंकुश राजतन्त्र र तेलको धनी क्षेत्रका रूपमा परिचित ठाउँमा यो सबै सम्भव भएको थियो भन्ने तथ्य आफैँमा सोच्न बाध्य पार्ने खालको छ। खाडी क्षेत्र सधैँ आज जस्तो देखिन्छ, त्यस्तै हुनका लागि मात्रै बनेको थिएन। त्यहाँ अन्य सम्भावित भविष्यहरूको पनि कल्पना गरिएको थियो, र केही समयका लागि त्यसका निम्ति लडाइँ पनि लडिएको थियो।

यो लेखले कुनै शैक्षिक अनुसन्धान वा विद्वतापूर्ण शोधपत्र भएको दाबी गर्दैन। यो त तल उद्धृत गरिएका इतिहासकारहरू, शोधपत्रहरू र पत्रकारिताबाट लिइएको एउटा परिचय मात्र हो, जसको उद्देश्य दबाएर राखिएको इतिहासलाई पुनः सतहमा ल्याउनु हो। धोफार क्रान्ति संक्षिप्त पुनरावृत्तिभन्दा धेरै गुणा बढी चर्चाको हकदार छ। यसका अभिलेखहरू, पत्रपत्रिका र विशेष गरी यसलाई प्रत्यक्ष भोगेका मानिसहरूका गवाहीहरू अझै पनि पर्याप्त अध्ययन नगरिएका, तितरबितर र पूर्ण रूपमा लोप हुने जोखिममा छन्। यदि यी पृष्ठहरूले केही गर्छन् भने, तिनले जिज्ञासु पाठकलाई मूल स्रोतहरूतर्फ डोऱ्याउने काम गरून्, र यस क्षेत्रको विगतको यो बिर्सिइएको अध्यायलाई पहिलेभन्दा धेरै गम्भीरताका साथ अध्ययन गरिनुपर्छ भन्ने तर्कलाई बलियो बनाऊन्।

Source: https://mronline.org/
 

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस