डेभिड एटनबरो: पृथ्वीका कथावाचकको एक शताब्दीको विरासत
सर डेभिड एटनबरोले आफ्नो जीवनको सय वर्ष पूरा गरेका छन्। यो कुनै प्रसिद्ध वृत्तचित्र निर्माता वा प्रस्तोताको जन्मदिन मात्र होइन; यो त त्यस व्यक्तिको शताब्दी वर्ष हो, जसले करोडौँ मानिसहरूलाई पृथ्वी केवल मानिसहरूको सम्पत्ति मात्र होइन, बरु साझा विरासत हो भन्ने पहिलो पटक यो महसुस गराए ।
जब संसार तीव्र गतिमा कोलाहल, युद्ध, बजार र कृत्रिम बुद्धिमत्ता (AI) तर्फ भागिरहेको छ, यस्तो समयमा एउटा सय वर्षीय आवाज आज पनि हामीलाई जङ्गलको चिसोपन, समुद्रको गहिराइ, चराचुरुङ्गीको आवाज र पृथ्वीको थकान सुनाउन बिर्सेको छैन। यो आवाज सर डेभिड एटनबरोको हो– त्यस व्यक्तिको जसले क्यामेरालाई केवल रेकर्डिङ मेसिन मात्र रहन दिएनन्, बरु त्यसलाई मानिस र प्रकृतिबीचको एउटा नैतिक पुल बनाइदिए।
८ मे २०२६ मा सर डेभिड एटनबरो आफ्नो जीवनको सय वर्ष पूरा गरेका छन्। यो कुनै प्रसिद्ध वृत्तचित्र निर्माताको जन्मदिन मात्र होइन; यो त त्यस व्यक्तिको शताब्दी वर्ष हो जसले करोडौँ मानिसहरूलाई पहिलो पटक यो महसुस गराए कि पृथ्वी केवल मानिसहरूको सम्पत्ति मात्र होइन, बरु साझा विरासत हो।
विश्वभर उनको सयौँ जन्मदिनलाई लिएर विशेष आयोजनाहरू भए । बेलायतमा बीबीसीले उनको जीवन र कार्यमाथि विशेष प्रसारण तयार गरेको छ, लन्डनको रोयल अल्बर्ट हलमा एउटा भव्य कार्यक्रम आयोजना गरिएको छ, र वैज्ञानिकहरूले हालै फेला पारेको एउटा नयाँ परजीवी बारुलोको प्रजातिको नाम पनि उनको सम्मानमा राखेका छन्। यो सबै त्यस व्यक्तिका लागि हो, जसले पछिल्लो सात दशकमा संसारलाई प्रकृतिसँग पुनर्मिलन गराए।
एटनबरोको नाममा अहिलेसम्म दर्जनौँ जीवजन्तु र वनस्पतिका प्रजातिहरूको नाम राखिसकिएको कुरा कमैलाई थाहा होला। यसमा डायनोसर, सामुद्रिक जीव, फूल फुल्ने बिरुवा, माकुरा र यहाँसम्म कि जीवावशेष (Fossil) हरू पनि समावेश छन्। वैज्ञानिक समुदायका लागि यो कुनै नोबेल सम्मानभन्दा कम प्रतीकात्मक महत्त्वको विषय होइन।
एक बालकदेखि पृथ्वीको कथावाचकसम्म
डेभिड फ्रेडरिक एटनबरोको जन्म ८ मे १९२६ मा इङ्ल्यान्डको आइलवर्थमा भएको थियो। बाल्यकालदेखि नै उनलाई जीवावशेष, ढुङ्गा, कीरा र चराचुरुङ्गीमा रुचि थियो। भनिन्छ कि उनी साना-साना जीवहरूलाई घण्टौँसम्म हेरिरहन्थे। यही त्यो जिज्ञासा थियो, जसले पछि उनलाई विश्वकै सबैभन्दा विश्वसनीय प्रकृति कथावाचक बनाइदियो।
उनले क्याम्ब्रिज विश्वविद्यालयबाट प्राकृतिक विज्ञानको अध्ययन गरे। दोस्रो विश्वयुद्धपछि उनले रोयल नेभीमा सेवा पनि गरे। चाखलाग्दो कुरा त के छ भने, बीबीसीले सुरुमा उनलाई जागिर दिन अस्वीकार गरेको थियो किनभने उनलाई क्यामेराका लागि ‘उपयुक्त अनुहार’ मानिएको थिएन। त्यस समयमा टेलिभिजन प्रस्तोताहरूका लागि एक विशेष प्रकारको ‘रेडियो जस्तै’ आवाज र औपचारिक व्यक्तित्वलाई प्राथमिकता दिइन्थ्यो। तर सम्भवतः इतिहास अक्सर तिनै मानिसहरूको पक्षमा उभिन्छ, जसको क्षमता तत्काल देखिँदैन।
आफ्नो सुरुवाती दिनहरूमा एटनबरो सम्पादन, स्क्रिप्टिङ र निर्माण (प्रोडक्सन) का लगभग हरेक पक्षमा स्वयं संलग्न रहन्थे भन्ने कुरा कमैलाई थाहा छ। उनी पर्दामा देखिने अनुहार मात्र थिएनन्; उनी घण्टौँसम्म बसेर फुटेज काट्ने, ध्वनिहरू छान्ने र वैज्ञानिक तथ्यहरूलाई पुन: पुष्टि गर्ने गर्दथे।
सन् १९५० को दशकमा बीबीसीसँग उनको यात्रा सुरु भयो। उनको सुरुवाती शृङ्खला ‘Zoo Quest’ (जु क्वेस्ट) ले उनलाई विश्वका दुर्गम जङ्गलहरूसम्म पुर्यायो। यो अधिकांश मानिसहरू टेलिभिजनमा केवल स्टुडियोमा आधारित कार्यक्रमहरू हेर्ने समय थियो । एटनबरोले पहिलो पटक दर्शकहरूलाई जीवित जङ्गल, आदिम समुदाय र अछुता पारिस्थितिक प्रणालीहरूसँग परिचित गराए।
त्यो आवाज जसले प्रकृतिलाई मानवीय बनाइदियो
संसारमा धेरै वैज्ञानिकहरू भए, धेरै चलचित्रकर्मीहरू पनि भए। तर डेभिड एटनबरो यी दुवै बीचको एउटा दुर्लभ कडी हुन्। उनले विज्ञानलाई निरस हुन दिएनन् र भावनाहरूलाई अवैज्ञानिक बन्न दिएनन्।
उनको सबैभन्दा ठूलो शक्ति भनेकै विस्मय पैदा गर्नु थियो।
उनको आवाजका बारेमा पनि एउटा रोचक तथ्य छ। संसारले जुन शान्त, गहिरो र सम्मोहित पार्ने आवाजलाई चिन्दछ, त्यो पूर्ण रूपमा स्वाभाविक मात्र थिएन। वर्षौँको प्रसारण अनुभव, उच्चारणमाथिको अनुशासन र शब्दहरू बीचको नियन्त्रित विरामले त्यसलाई एक विशिष्ट पहिचान दियो। एटनबरो प्रकृतिलाई बुझाउन चिच्याउनु पर्दैन, बरु कानेखुसी गरेजस्तो संवेदनशीलताको आवश्यकता पर्दछ भन्ने मान्थे ।
जब उनले कुनै हिमनदी फुटेको, कुनै चराको प्रणय नृत्य, कुनै व्हेलको गीत वा कुनै मरुभूमिको छेपारोको सङ्घर्षको वर्णन गर्थे, तब दर्शकले जानकारी मात्र पाउँदैनथे; उनीहरू त्यस जीवसँग भावनात्मक सम्बन्ध गाँस्न पुग्थे।
सन् १९७९ मा प्रसारित ‘Life on Earth’ (लाइफ अन अर्थ) ले प्रकृति वृत्तचित्रको संसार नै बदलिदियो। त्यसपछि ‘The Living Planet’, ‘The Trials of Life’, ‘Planet Earth’, ‘Blue Planet’, ‘Frozen Planet’ र ‘Our Planet’ जस्ता शृङ्खलाहरूले उनलाई लगभग हरेक महाद्वीपका घर-घरसम्म पुर्याए।
आज संसारमा करोडौँ मानिसहरू यस्ता छन्, जसले अमेजनको जङ्गल, अन्टार्कटिकाको हिउँ, अफ्रिकाको सवाना, गहिरो समुद्रका जीव र दुर्लभ चराचुरुङ्गीहरूलाई पहिलो पटक डेभिड एटनबरोकै आवाजमार्फत देखे।
क्यामेरा पछाडिका क्रान्तिकारी
एटनबरो केवल प्रस्तोता मात्र होइनन्; उनी प्राविधिक क्रान्तिका संवाहक पनि रहे। उनले वन्यजन्तु चलचित्र निर्माणलाई नयाँ उचाइसम्म पुर्याए। माइक्रो क्यामेरा, ड्रोन प्रविधि, अल्ट्रा हाई डेफिनिसन फिल्मिङ, डीप सी (गहिरो समुद्र) क्यामेरा र टाइम-ल्याप्स प्रविधिहरूको लोकप्रिय प्रयोगमा उनको टोलीको महत्त्वपूर्ण भूमिका रह्यो।
उनका वृत्तचित्रहरूले पहिलो पटक दर्शकहरूलाई देखाए– कसरी ढुसी (Fungus) हरूले जङ्गलको मुनि संवाद गर्छन्, कसरी चराहरूले पृथ्वीको चुम्बकीय क्षेत्रको प्रयोग गर्छन्, र कसरी समुद्रको गहिराइमा यस्ता जीवहरू रहन्छन् जसलाई मानिसले पहिले कहिल्यै देखेको थिएन।
उनले विज्ञानलाई दृश्य कवितामा रूपान्तरण गरिदिए।
गोरिल्लाको दृश्य र मानिसको विनम्रता
यदि डेभिड एटनबरोको जीवनको कुनै एउटा दृश्य रोज्नुपर्यो, जसले उनको सम्पूर्ण विरासतलाई बुझाउन सकोस्, भने त्यो सम्भवतः रुवान्डाका पर्वतीय गोरिल्लाहरूका बीचमा बिताएको क्षण हुनेछ।
जब साना गोरिल्लाहरू उनका काँधमा चढ्छन् र उनी एउटा बालक जस्तै मुस्कुराउँछन्, तब संसारले यो बुझ्दछ– मानिस र वन्यजन्तुबीचको सम्बन्ध केवल अध्ययनको विषय मात्र होइन, बरु सह-अस्तित्वको अनुभव पनि हो।
त्यो दृश्य यसकारण पनि ऐतिहासिक छ किनकि त्यसमा विजय होइन, विनम्रता छ। एटनबरो प्रकृतिलाई जित्न गएका थिएनन्; उनी त प्रकृतिलाई बुझ्न गएका थिए।
वातावरणीय चेतनाको सबैभन्दा विश्वसनीय अनुहार
डेभिड एटनबरोका सुरुवाती कार्यक्रमहरू प्रकृतिको सुन्दरताको उत्सव जस्ता थिए, तर बिस्तारै उनका चलचित्रहरूमा चिन्ताको स्वर पनि आउन थाल्यो। उनले जलवायु परिवर्तन, समुद्री प्रदूषण, प्लास्टिक सङ्कट, जैविक विविधताको क्षय र प्रजातिहरूको लोप हुने विषयमा खुलेर कुरा गर्न सुरु गरे।
सन् २०१७ मा ‘Blue Planet II’ को प्रसारणपछि विश्वभर प्लास्टिकको प्रयोगलाई लिएर व्यापक सार्वजनिक बहस सुरु भयो। धेरै देशहरूले एकल-प्रयोग प्लास्टिक (Single-use plastic) माथि नीतिगत प्रतिबन्धहरूको सुरुवात गरे। विशेषज्ञहरूले यसलाई ‘एटनबरो इफेक्ट’ (Attenborough Effect) अर्थात् एउटा वृत्तचित्रले सामाजिक व्यवहार नै परिवर्तन गरिदिएको रुपमा लिए।
समुद्री चराहरूको पेटमा प्लास्टिक र व्हेलहरूको आसपास तैरिरहेको फोहोरका दृश्यहरू यति प्रभावशाली थिए– बेलायतसहित धेरै देशहरूमा सुपरमार्केट शृङ्खलाहरूले आफ्नो प्याकेजिङ नीतिहरू नै बदल्नुपर्यो। सायद धेरै कम वृत्तचित्र निर्माताहरूले सार्वजनिक नीतिमा यति प्रत्यक्ष प्रभाव पारेका होलान्।
सन् २०२० मा आएको उनको चलचित्र ‘A Life on Our Planet’ कुनै आत्मकथाभन्दा कम थिएन। त्यसमा उनी भन्छन्: उनले आफ्नो जीवनकालमा पृथ्वी बदलिएको देखेका छन्– जङ्गलहरू खुम्चिएको, प्रजातिहरू हराएको र तापक्रम बढेको। तर त्यो चलचित्रमा निराशा मात्र थिएन; त्यसमा चेतावनीका साथै आशा पनि थियो।
एटनबरो र उपनिवेशवादको आलोचना
हालका वर्षहरूमा एटनबरोका कार्यहरूको आलोचनात्मक समीक्षा पनि भएका छन्। केही विद्वानहरूले सुरुवाती बेलायती प्रकृति वृत्तचित्रहरूमा उपनिवेशवादी दृष्टिकोण देखिने गरेको बताएका छन्, जहाँ प्रकृतिलाई 'अन्वेषण' र 'खोज' को वस्तुका रूपमा प्रस्तुत गरिन्थ्यो। यो आलोचना महत्त्वपूर्ण छ, किनकि आधुनिक वातावरणीय विमर्श केवल वन्यजन्तुको रक्षामा मात्र सीमित छैन, बरु स्थानीय समुदाय, आदिवासी ज्ञान र वातावरणीय न्यायका बारेमा पनि केन्द्रित छ।
तर एटनबरोको विशेषता के रह्यो भने उनी समयसँगै परिवर्तन भए। उनले खुला रूपमा स्वीकार गरे कि मानव सभ्यताले पृथ्वीमा असन्तुलन पैदा गरिरहेको छ र संरक्षण केवल निकुञ्जहरूबाट मात्र सम्भव छैन, बरु यसका लागि सामाजिक र राजनीतिक परिवर्तनहरू पनि आवश्यक छन्।
भारत र एटनबरो
भारतसँग उनको सम्बन्ध निकै गहिरो रहेको छ। उनले भारतीय जङ्गल, मनसुन, गङ्गा, हिमालय र भारतीय वन्यजन्तुका बारेमा धेरै महत्त्वपूर्ण शृङ्खलाहरू बनाएका छन्। भारतका अनेकौँ वन्यजन्तु वैज्ञानिक, चरा विशेषज्ञ र संरक्षणकर्मीहरू स्वीकार गर्छन् कि बाल्यकालमा एटनबरोका कार्यक्रमहरू हेरेर नै उनीहरूमा प्रकृतिप्रति रुचि जागेको थियो।
आज भारतमा जुन युवाहरू क्यामेरा लिएर चराचुरुङ्गी, सर्प, कीरा र जङ्गलको पछि लागिरहेको देखिन्छन्, उनीहरूमा कतै न कतै एटनबरोकै प्रभाव छ। राजस्थानको मरुभूमिदेखि अन्डमानको समुद्रसम्म, भारतको नयाँ प्रकृति प्रेमी पुस्ताले संसारलाई हेर्ने भाषा उनैबाट सिकेका छन्।
अचम्मको कुरा त के छ भने, १०० वर्षको उमेरमा पनि डेभिड एटनबरो सक्रिय छन्। हालका वर्षहरूमा उनले महासागर, जैविक विविधता र जलवायु सङ्कटका नयाँ परियोजनाहरूमा भाग लिएका छन्। उनको सम्मानमा विश्वभरका सङ्ग्रहालय, संरक्षण संस्थाहरू र सञ्चार माध्यमहरूद्वारा विशेष आयोजनाहरू भइरहेका छन्।
एटनबरो प्रविधिलाई लिएर पनि सधैँ उत्सुक रहे। ९० वर्षको उमेर पार गरिसकेपछि पनि उनी नयाँ फिल्मिङ प्रविधि, ड्रोन क्यामेरा र अल्ट्रा-हाई डेफिनिसन सिनेम्याटोग्राफीको परीक्षणमा संलग्न रहन्थे। उनका सहकर्मीहरूका अनुसार सुटिङका क्रममा उनी कार्यस्थल (लोकेसन) मा सबैभन्दा पहिले पुग्ने व्यक्तिहरूमध्ये एक हुन्थे।
आज जब सामाजिक सञ्जालको दुनियाँमा सूचनाहरू सेकेन्डभरमै पुराना हुन्छन्, त्यस्तो बेला एटनबरोको धैर्यले हामीलाई फरक किसिमको पत्रकारिता र कथा वाचनको शैली स्मरण गराउँछ। उनी हामीलाई सिकाउँछन्– कुनै चरालाई बुझ्नका लागि कैयौँ पटक घण्टौँसम्म प्रतीक्षा गर्नुपर्छ; कुनै जङ्गललाई बुझ्नका लागि मौसमहरू परिवर्तन भएको हेर्ने धैर्य चाहिन्छ।
डेभिड एटनबरोको नाममा राखिएका केही उल्लेखनीय प्रजातिहरू
विश्वभरका वैज्ञानिक र ट्याक्सोनोमिस्टहरूले प्रकृति संरक्षण र विज्ञान सञ्चारमा उनको असाधारण योगदानको सम्मान स्वरूप अनेकौँ नयाँ प्रजातिहरूको नाम डेभिड एटनबरोको नाममा राखेका छन्। तीमध्ये केही उल्लेखनीय उदाहरणहरू यस प्रकार छन्:
१. Attenborougharion rubicundus: स्पेनमा फेला पारिएको एक दुर्लभ स्लग (चिप्लेकिरा जस्तै जीव) प्रजाति। २. Materpiscis attenboroughi: अस्ट्रेलियामा फेला पारिएको एक प्राचीन जीवावशेष माछा प्रजाति। ३. Conicofrontia attenboroughi: अफ्रिकामा पाइने एक पुतली (Moth) प्रजाति। ४. Prethopalpus attenboroughi: इन्डोनेसियामा फेला पारिएको सूक्ष्म माकुरा प्रजाति। ५. Euptychia attenboroughi: अमेजन क्षेत्रको एक पुतली प्रजाति। ६. Attenborosaurus conybeari: सामुद्रिक सरिसृपको लोप भइसकेको प्रजाति, जसको नाम उनको सम्मानमा परिवर्तन गरिएको हो। ७. Ctenocheloides attenboroughi: मेडागास्कर क्षेत्रमा फेला पारिएको झिङ्गे माछा जस्तै देखिने सामुद्रिक जीव। ८. Lageniodelphis hosei attenboroughi: डल्फिनको एक उपप्रजाति। ९. Attenboroughnculus tau: २०२६ मा फेला पारिएको एक सूक्ष्म परजीवी बारुलो प्रजाति, जसको नाम उनको १०० औँ जन्मदिनको सम्मानमा राखिएको हो। १०. Attenborough’s pitcher plant: फिलिपिन्समा फेला पारिएको मांसाहारी बिरुवा, जसको वैज्ञानिक नाम Nepenthes attenboroughii हो।
यी प्रजातिहरूको सूची केवल वैज्ञानिक सम्मान मात्र होइन। यो यस कुराको प्रमाण पनि हो कि एक मानिसले आफ्नो जीवनकालमा पृथ्वीका कति विविध संसारहरूलाई छुन सक्छ।
के मानिस पृथ्वीको योग्य छ?
डेभिड एटनबरोको सबैभन्दा ठूलो प्रश्न सम्भवतः यही हो। उनले कहिल्यै आक्रामक राजनीतिक भाषण दिएनन्, तर उनका चलचित्रहरूमा एउटा नैतिक आग्रह सधैँ रह्यो– के हामीले त्यो ग्रहसँग न्याय गरिरहेका छौँ, जसले हामीलाई जीवन दियो?
उनको आवाजमा आदेश हुँदैन, न त कुनै ग्लानि नै हुन्छ। त्यसमा एउटा शान्त आग्रह हुन्छ, मानौँ कुनै अभिभावकले हामीलाई सम्झाइरहनुभएको छ कि यो पृथ्वी हाम्रो मात्र होइन, हाम्रा आउने पुस्ताहरूको पनि हो।
डेभिड एटनबरोले हामीलाई केवल जनावर मात्र देखाएनन्। उनले हामीलाई विनम्र हुन सिकाए। उनले हामीलाई यो महसुस गराए कि एउटा पुतली, एउटा व्हेल, एउटा रुख र एउटा हिमखण्ड– सबै पृथ्वीको साझा कथाका पात्रहरू हुन्।
सायद त्यसैले उनी केवल बेलायतका प्रस्तोता मात्र रहेनन्, बरु पृथ्वीकै कथावाचक बने। उनको सयौँ जन्मदिनमा संसारले उनलाई सम्मान दिइरहेको छ। तर सत्य यो हो कि सबैभन्दा ठूलो सम्मान सम्भवतः तब हुनेछ, जब मानिसले उनले भनेको सबैभन्दा सरल कुरा बुझ्नेछ– प्रकृतिबाट अलग भएर कुनै पनि सभ्यता जीवित रहन सक्दैन।
जब आउने शताब्दीहरूले २० औँ र २१ औँ शताब्दीलाई फर्केर हेर्नेछन्, तब सम्भव छ कि उनीहरूले राजनीतिज्ञहरू, युद्धहरू र प्राविधिक कम्पनीहरूको भीडका बीचमा एउटा शान्त आवाजलाई पनि सम्झनेछन्– एउटा यस्तो आवाज, जसले हामीलाई पृथ्वीसँग प्रेम गर्न सिकायो।
र सम्भवतः यही नै कुनै मानिसको सबैभन्दा ठूलो उपलब्धि हो।
(मृदुल वैभव वन्यजन्तु फोटोग्राफर, सर्प उद्धारकर्ता र वातावरणीय विशेषज्ञ हुन्।)
आदिम जीवविज्ञान, आधुनिक प्रचुरता: मेटाबोलिक रोगका जराहरू
कुकुर र मानिसबीचको सम्बन्धबारे नयाँ तथ्य फेला पर्यो !
एआई, डाटा र प्रविधिको युद्ध: बदलिँदो विश्वव्यापी लडाइँको संरचना
२००० वर्ष पुरानो बीउबाट उमारिएका खजुरका रूखहरू
गुलियो खाँदा किन तीर्खा लाग्छ ?
तारापुञ्जहरुलाई आफूतिर तानिरहेको रहस्यमय ‘द ग्रेट अट्र्याक्टर’
तेस्रो अन्तरतारकीय आगन्तुक – 3I/ATLAS
प्रतिक्रिया