ओमानको खाडीमा तनाव: इरानद्वारा ट्याङ्कर कब्जा र अमेरिकाको जवाफी कारबाही

तस्विर: अलजजिरा

स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच गोली हानाहान भएको केही घण्टा नबित्दै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले ओमानको खाडीमा एक 'विशेष अपरेशन' मार्फत एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको दाबी गरेको छ। यसैबीच, अमेरिकी सेनाले पनि इरानी बन्दरगाहमा प्रवेश गर्न खोजिरहेका दुईवटा ट्याङ्करहरूलाई 'अक्षम' बनाइदिएको जनाएको छ। शुक्रबार भएका यी घटनाक्रमहरूले हालै कायम भएको नाजुक युद्धविराम र स्थायी शान्ति सम्झौताका लागि भइरहेका प्रयासहरूलाई थप जोखिममा पारेका छन्।

इरानी समाचार एजेन्सी फार्सका अनुसार इरानी नौसेनाले 'ओसन कोइ' नामक ट्याङ्करलाई इरानको तेल निर्यात र राष्ट्रिय हितमा अवरोध पुर्‍याउन खोजेको आरोपमा कब्जा गरेको हो। सरकारी सञ्चारमाध्यम प्रेस टिभीले इरानी सेनाले बार्बाडोसमा दर्ता भएको उक्त जहाजमाथि धावा बोलेको भिडियो सार्वजनिक गरेको छ। अर्कोतर्फ, अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का कमाण्डर एडमिरल ब्राडली कुपरले मध्यपूर्वमा अमेरिकी सेना इरान आउने र जाने जहाजहरूको नाकाबन्दी पूर्ण रूपमा लागू गर्न प्रतिबद्ध रहेको जनाउँदै दुईवटा इरानी ट्याङ्करहरूलाई रोकिएको दावी गरेका छन् ।

यसअघि स्ट्रेट अफ हर्मुजमा भएको सैन्य मुठभेडले युद्धविरामलाई निकै गम्भीर चुनौती दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले तीनवटा अमेरिकी नौसेनाका संहारक जहाजहरू (destroyers) माथि आक्रमण गरेको आरोप लगाएका छन् । उता इरानको संयुक्त सैन्य कमाण्डले अमेरिकाले नै एउटा इरानी तेल ट्याङ्कर र अर्को जहाजलाई निशाना बनाएर युद्धविरामको उल्लंघन गरेको दाबी गरेको छ। उक्त आक्रमणमा १० जना नाविक घाइते भएका र ५ जना बेपत्ता भएको इरानको भनाइ छ। साथै, इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण केशम टापुमा अमेरिकाले हवाई हमला गरेको आरोप लगाउँदै त्यसको जवाफमा चाबहार बन्दरगाह दक्षिणमा अमेरिकी सैन्य जहाजहरूमाथि प्रहार गरेको जनाएको छ। राष्ट्रपति ट्रम्पले यस घटनालाई 'लभ ट्याप' भन्दै सामान्यीकृत गर्न खोजेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले  पनि शान्ति सम्झौताका लागि इरानको प्रतिक्रियाको पर्खाइमा रहेको बताएका छन् ।

राजनीतिक तहमा वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीबीच भेटवार्ता भएको छ। कतारको परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताले पाकिस्तानको मध्यस्थतामा भइरहेको तनाव न्यूनीकरणका प्रयासहरूका बारेमा छलफल गरेका थिए ।  यसैबीच, इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानले अझै पनि शान्तिको प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । उनले  अमेरिकी आक्रमणको कडा निन्दा गर्दै इरानी सेनाले कुनै पनि 'दुस्साहस' को जवाफ दिन पूर्ण तयारी अवस्थामा रहेको चेतावनी समेत दिएका छन् ।

अल जजीराले जनाएअनुसार यो इरानको रणनीतिको एउटा नयाँ मोड हो। इरानले अब यो क्षेत्रमा 'नयाँ सामुद्रिक व्यवस्था' (New Maritime Regime) लागू गर्न खोजिरहेको छ, जसअन्तर्गत 'पर्शियन गल्फ स्ट्रेट अथोरिटी' नामक नयाँ निकाय स्थापना गरिनेछ। नयाँ नियम अनुसार स्ट्रेट अफ हर्मुज भएर जाने जुनसुकै जहाजले इरानी सेनासँग पूर्ण समन्वय र अनुमति लिनुपर्नेछ। विश्वको कुल तेल आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने यस जलमार्गबाट यात्रा गर्ने जहाजहरूले अब आफ्नो उत्पत्ति, सामान र गन्तव्यको विवरण इरानलाई इमेलमार्फत बुझाउनुपर्नेछ र इरानले तोकेको दस्तुर समेत तिर्नुपर्नेछ। अलजजिराका अनुसार इरानले यी रणनीतिक बिन्दुहरूमा आफ्नो सार्वभौमसत्ता र नियन्त्रणलाई पुनः पुष्टि गर्न खोजेको देखिन्छ।

ओमानको खाडीमा जहाज कब्जा गरेर इरानले आफ्नो सैन्य र राजनीतिक प्रभाव प्रदर्शन गर्न खोजिरहेको छ। इरानले यो जलमार्गलाई जोखिमपूर्ण बनाएर वार्ताको टेबुलमा आफ्नो पक्ष बलियो बनाउने रणनीति अपनाएको हो। यदि अमेरिका सम्झौताका सर्तहरूमा लचिलो भएन भने, इरानले यस्ता कारबाहीहरूमार्फत परिस्थितिलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहने विश्लेषकहरूको ठम्याइ छ।