अपरेटर तिमीलाई बधाई‚ छ तिमीलाई धेरै शुभकामना छ !

एआइ निर्मित प्रतीकात्मक तस्विर

अपरेटर हिर्काउन त तिम्रै मुखमा हिर्काउन मन थियो

एक्साभेटरको त्यो बकेटले

जब तिमीले दूधे बच्चा च्यापेकी महिला रुँदै निस्केको

टहरामा हान्नको लागि केबिनमा बसेर स्वीच दबायौ

स्वचालित दास सरहको मेरो बकेट उठिरहँदा

तिमी जसरी र जत्ति खुशी देखिएका थियौ

त्यति नै दुःखी थिएँ म

र मेरा आँखाबाट आँसुका थोपाहरु खसिरहेको थियो

तिमीले ती बच्चा बोकेकी आमा रोएको पनि देखेनौ

ती बुढीमाउ रोएकी सुनेनौं

सोचेको थिएँ तिमी मानिस थियौं

तर खै मलाई शङ्का लागिरहेछ यतिखेर

म मेसिन हुँ र निर्जीव फलामे बकेट‚ तिम्रा लागि

हो रे'छ सत्ता निरङ्कुश र संवेदनाहीन हुँदो रे'छ

तिम्रो के बिग्रन्थ्यो-

घर भत्काउनुको साटो

पैला रोजगारीहरु खोलिदिएको भए ?

के तिम्रो के बिग्रन्थ्यो-

घरबाट निकाल्नु साटो

पैला व्यवस्थित ठाउँमा सारिदिएको भए ?

हुनतः सत्ता र शक्ति चुनाबमा निहुरेर गरिबहरुसँग भोट माग्छ

अनि चुनाबपछि डिनर खान्छ संभ्रान्तहरुसँग

र खेल्छ तिनै गरीबका सपनाहरुसँग

र गौरब गर्छ आफ्नो पुरुषार्थको

ठिक छ बनाऊ यौटा सुन्दर र आकर्षक सहर

अनि ठड्याऊ केही थान हाम्रा उजाडिएका

सपनाका स्तम्भहरु र भित्र्याऊ विदेशबाट पर्यटकहरु

अपरेटर‚ तिमीलाई बधाई छ‚ तिमीलाई धेरै शुभकामना छ !

२०८२ बैशाख १८

डा. राजेन्द्रप्रसाद अधिकारी

निर्माण व्यवस्थापन विज्ञ डा. अधिकारी मूलतः कवि हुन् र साहित्यका अरु विधामा पनि कलम चलाउने गर्छन्। उनी पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य-सचिव एवम् पूर्व अध्यक्ष हुन्।