पारिजातको पदचाप र भत्किएको नेतृत्वको सपना

किनाराको रमितेदेखि जनसांस्कृतिक कर्मसम्म

दिदीहरू सुकन्या, इन्दिरा स्मृति सभाकी विशिष्ट अतिथि अष्टलक्ष्मीज्यू, सम्मानित हुनुभएका साथीहरू र सभामा उपस्थित हुनुभएका आदरणीय जनहरू, अभिवादन!

बोल् भनेर ड्यासमा डाक्नु भएको छ, यतिखेर के के बोल्ने हो ? अनि के के नबोल्ने हो, म स्वयं अलमलमा छु । अर्थोक जेजसो भएपनि निजी पद प्रतिष्ठा सम्मानका लागि कहीँ कतै पनि नधाएको, विज्ञापनहीन हुँदै किनारामा बसेर करिब रमिते जस्तै बसेको, म जस्तो पात्रलाई पनि पारिजात स्मृति केन्द्रले सम्झेछ, सम्झेछ मात्र होइन; सम्मानयोग्य नै ठानेछ, त्यसका लागि म स्मृति केन्द्रप्रति आभारी छु ।

एकसेएक नयाँ नयाँ साँस्कृतिक महारथीहरू अवसरवादी कारखानाबाट उत्पादन भइरहेको आजको समयमा मलाई नै पारिजात स्मृति केन्द्रले कसरी र किन सम्मानयोग्य ठान्यो होला, त्यो स्वयं केन्द्रलाई थाहा होला । तर जतिबेला साथी मातृकाले फोनमार्फत् मसंग यो विषय उठान गर्नु भयो, मलाई भने ठट्यौली र अपत्यारिलो लागेको थियो । जब यो सत्य हो भन्ने बुझें, पारिजात दिदीलाई संझे र दिदीसंगै आफूले जनसाँस्कृतिककर्मीका रूपमा बिताएका विगतहरू भावुक हुँदै झल्झली सम्झे ।

 

यहाँ ड्यासमा बोलाई नै सकेपछि अलिकति त बोल्नै पर्ने होला । मैले संझेसम्म संगठीत रूपमा  मेरो जनसस्कृतिकर्मीको रूपमा यात्राको थालनी २०३६ सालतिरबाट भयो । तिन्ताक म तनहुँ सम्पर्क मन्चमा आवद्ध भएर मन्चको मुखपत्र रक्तिमसूर्यको सम्पादकको रूपमा काम गरिरहेथें । अकविता जस्ता मेरा कविताहरू तिनैताक ज्वाला र चर्चा साप्ताहिकमा छापिन थालेका थिए । २०३६ सालको बिद्यार्थी आन्दोलनको आन्दोलनकारी/ क्रान्तिकारी उन्माद त छँदै थियो,  त्यसकै वरपर छेको पारेर ललितपुरको ठैवमा भएको अनेरास्ववियुको छैठौं राष्ट्रिय सम्मेलन, राष्ट्रिय सभागृहमा रायनदाइको नेतृत्वको बेदनाले प्रस्तुत गरेको कमानजी लिखित एकांकी नाटक सहितको साँस्कृतिक कार्यक्रमले मलाई जनसास्कृतिक कर्ममा लाग्न बेजोड उत्प्रेरणा गरेकै हो ।

त्यसयता बेदना परिवारसंग जोडिएर सुरू भएको यात्रा  विभिन्न उतारचढाव नामाकरण हुँदै आज पर्यन्त आत्मिक सतहमा समाज रूपान्तरणको त्यहि भाव बाकेर म यतिबेला यहाँ  उभिएको छु । साँस्कृतिक कर्मीको रूपमा बेदना मेरो गुरु थियो । बेदनाले नै मलाई उदघोषक बनायो, गायक बनाएर कलेजहरूका अडिटोरीयमका मन्चहरूमा उभ्यायो । बेदनाले नै मलाई सिम्मासम्म पुर्यायो, सिम्माको यौटा लाहूरे बनाएर प्रज्ञामा, दार्जिलिङमा,  विराटनगरमा उभ्यायो । बेदनाले नै मलाई साहित्यिक सांस्कृतिककर्मीहरू दिदी पारिजात, रायनदाइ, निनुदाइ, रंजितदाइ, मेरी साथी सुसन, रश्मि, शम्भु, वदन, रवी, साथी मोहन खड्का, शान्त राई, मोहन लामा, हरि दर्शनधारीहरूसंग भेट गरायो, चिनायो ।

बेदना मेरा लागि सास्कृतिक फोरम मात्र बनेन यसकै सदस्यका रूपमा मैले त्यतिबेलाका जल्दाबल्दा राजनीति हस्तिहरू नरबहादुर कर्माचार्य, निर्मल लामा, मोहनबिक्रमहरूलाई भेटें चिनें । कम्युनिस्ट मेनिफेस्टो, आदि मार्क्सीय सैद्धान्तिक रचनाहरूसंग साक्षात्कार हुने मौका पाएँ । बेदनाकै पाेयो समात्दै देशभित्रका बिभिन्न जिल्ला तथा बिदेशमा अभानेविसंघ (जसलाई तेतिखेर बाबुराम, महेश मास्केहरूले नेतृत्व गरिरहनु भएको थियो) का र एकता समाजका राँचि हिसार, दिल्ली जयपुर आदि स्थानमा सम्पन्न भएका सम्मेलनहरूमा साँस्कृतिक कर्मिको रूपमा सहभागीता जनाएँ । हाँस्न नजान्ने रायन दाइको साथमा हिँडेका भएपनि ठट्यौली गरिरहनु पर्ने हामी शान्त, मोहन, हरिदाइ रश्मी अझ पारिजात  दिदी समेत मिसिएर यात्राहरूमा ठट्टा गर्थ्यौं/ हाँस्थ्यौं ।

यात्रा गर्दै जाँने क्रममा सानो आकारको बेदना परिवारमा सदस्यहरू थपिंदै गए, बैनी उर्मिला, ईरादा, कल्पना, शक्तिबल्लभ, रत्तुलामा, प्रदीप लामा, कीर्तिपुरतिरका वीरप्रसाद गुज्जे रमण लगायतका  साथीहरू, ललितपुरका क्षितिज परिवारका साथीहरू, थाङ्का लेख्ने काभ्रे रामेछाप तिरका थुप्रै थुप्रै अरू साथीहरू...!

 

शक्तिबल्लभ र रत्तुहरू मेरा सहपाठी पनि थिए, उनीहरूक्कै साथ संगतमा मैले " जनता र देशको निम्ति कहिल्यै नझुक्ने शीर लीई, निडर भै अघि बढ्नु शुभकामना छ हाम्रो"  भन्ने त्यतिबेलाको चर्चित गीत सिर्जिएँ। यस पछि मभित्रको गीतकार अलिक बौरियो । मलाई म पनि गीत लेख्न सक्छु भन्ने आँट भरियो ।

समय वित्दै जाँदा पार्टी भित्रका झगडाले हामी पनि प्रभावित भयौं, हामीले पनि एकअर्काप्रति बेखुसी असन्तुष्टि  प्रकट गर्यौं । लामै समय बेदना निस्कृय भयो । मेरो गीतकारको रूपमा उदय यही आपसी बेखुसी र निस्कृयता तोड्ने अठोटको जगमा टुसाएको र फैलिएको थियो । बेदनाको निस्कृयता तोड्न म लगायत केही साथीहरूले नया जनगीत संगीतको सिर्जना गर्ने र त्यसलाई रेकर्डिङ गरेर क्यासेट बजारमा ल्याउने काम गरेका थियौं । तर तात्कालिक अवस्थामा आफू सम्वन्धित राजनैतिक दल समेतले त्यसलाई पचाउन सकेन । कामका लागि स्यावासि देला भन्ने थियो तर उल्टो बैठक राखेर मसंग प्रष्टिकरण सोधियो । क्यासेट बेच्न रोक लगाईयो । कलाकारलाई त्यस्ता क्यासेटमा थप गीत गाउन समेत रोक लगाईयो । जनगीति संकलनका दुई भाग र प्रतिबन्ध लगाईएका कलाकारलाई छाडेर थप जनसंगीत यात्राका दुई भाग गरि निकै कष्ट भोगेर त्यो समय चारवटा क्यासेट उत्पादन गरिए । यो समय मलाई यो कर्म गर्न उचित छ भनेर आत्मबल दिने हस्ति वेदनाका सम्पादक सुवास श्रेष्ठ र दिदी पारिजात मात्र हुनुहुन्थ्यो । दिदीले भित्रभित्रै मात्र होईन, यौटा क्यासेटको भूमिकामा आफ्नो स्वरनै दिनु भयो, र जनसंगीत यात्राको पुस्तकमा पनि त्यहिनै दिदीको भूमिका बन्यो । यसरी मेरो गीतकारको यात्रा त अगाडि बढ्यो । तर असल कर्म गर्दागर्दै पनि पार्टीबाट समेत पाएको नकारात्मकताबाट मन भने नराम्ररी दुखेको थियो । डि आर पोखरेल जसले त्यतिबेला सास्कृतिक मोर्चा हेरिरहनु भएको थियो, उहाँको बिनम्रता र समन्वयले पनि काम गरिरहेको थिएन ।

०४६ को हुण्डरी आयो, बेदना फेरिएर  ईन्देणी साँस्कृतिक समाज बनिसकेको थियो । आन्दोलन लगत्तै खुलामञ्चमा विशाल साँस्कृतिक कार्यक्रम भयो, यो ऐतिहासिक कार्यक्रममा उदघोषकको भुमिकामा म स्वयं नै थिएँ । कार्यक्रम अभुतपुर्व सफल भयो । जसैजसै दिन बित्दै गयो, ईसासको व्यानरमा काठमाडौमा बिभिन्न कार्यक्रमहरू गरिए । यही समयको सरेफेरोमा पार्टी एकिकरण, नेतृत्वको हेरफर जनबर्गीय संगठनहरूको लथालिङ्गे चालाढालाले साँस्कृतिक संगठन पनि प्रभावित भयो । एकताको केही बर्षमै पार्टी फुट पछि सांस्कृतिक संगठनमा टुटफुट र बिग्रहहरू आए, इसास पनि लथालिङ्ग भयो । सुरूदेखि नै निर्मललामा नेतृत्व समुहको साँस्कृतिक संगठनको रूपमा रहेको ईसास, चौम समुहमा प्रकाशको नेतृत्व र मोहनबिक्रमसमुहको नेकपामसाल पार्टी संगको एकतापछि प्रसास बन्यो । इसासको  पछिल्ला दुईपटक नेतृत्व गरिसक्नु भएको निनु दाइ जो अध्यक्ष भएकै समयमा म‌बाट नै सिर्जना ( गीत/संगीत) गरिएको "बुहारी" गीतिनाटक प्रज्ञामा मन्चन र अरू विभिन्न साँगीतिक कार्यक्रमहरू पनि गरिएको थियो । यसपटक पार्टी र साँस्कृतिक संगठनबीच एकता भएर   "प्रसास" बनेपछि पनि यो  साँस्कृतिक संगठन निनुदाइको नेतृत्वमा बन्यो । दुखद के थियो भने, यो समय साँस्कृतिक हस्ति ठानिएका रायन दाइ भने मन भाँचिएर त होला निस्कृय जस्तै बस्नु भएको थियो ।

प्रसासले पनि प्रारम्भ देखि नै निकै उतारचढाव हरू बेहोर्‍यो । माओवादी युद्ध सुरू भैसकेको यो अवस्थामा प्रसास सम्वद्ध पार्टी भित्र चर्को दुईलाईन संघर्ष थियो । प्रसासले सांस्कृतिक कार्यक्रम गर्ने योजना बनेपछि मलाई जनयुद्ध सम्वन्धित हुँदै सानो अपेरा लेख्न भनियो, लेखियो रेकर्डिङ पनि भयो । तर त्यतिखेर त्यो रेकर्डिङ समेत भैसकेको अपेरा "अयोग्य" माओवादी पार्टीलाई हेर्ने   दुईलाईनको पार्टी संघर्षको कोपभाजनमा पर्‍यो । मन नै त हो, नेतृत्व प्रतिको मेरो मन पनि त्यतिखेर झन् भाँच्चियो ।

अब अलिक प्रसङ्गको कुरा गरौं, खुलामञ्चको साँस्कृतिक कार्यक्रम पछि भने, काठमाडौ छाडेर केही उज्यालो छर्न सकिन्छ कि भन्ने ध्येय  सहित म पर्वत र बागलुङका दलित बस्तीतिर पुगेको थिएँ । मेरो संगीतकारको यात्रा चाहिँ   सामाजिक सांस्कृतिक आर्थिक राजनीतिको घनघोर अँध्यारोमा बाँच्न विवस पारिएको दलित बस्तिमा टेक्नु, टेकेपछिका करिव १२/१४ वर्ष निरन्तर उनिहरूसंग एकाकार हुने कोशिस स्वरूप जन्मेको थियो । दलित जनसमुदायसंग निकट हुन गीतसंगीत उपयुक्त माध्यम थियो, त्यहि माध्यमलाई उपयोग गर्ने सिलसिलामा म गीतकार/ संगीतकार दुबै बनें । दलित बस्तीका अनेकाकानेक दुखलाई टिपें, तिनै दुख सहित तिनबाट उन्मुक्तिका भाव भर्दै गीत लेखें–

रगत चल्छ श्रम चल्छ सीप चल्दछ

तर पनि किन हाम्रो पानी चल्दैन"

संगीत भरें, गीत गाएँ उनीहरूलाई पनि गाउन सिकाएँ । यसरी म उजेलाे खोज्दाखोज्दै स्वयंको अभ्यासले सयौं सयौं गीतका गीतकार र संगीतकार बनें ।  मेरै गीतसंगीतमा विकल्प, दीपशिखा, सुनसंगीनी, अभियान, बुहारी लगायता जनगीतका क्यासेटहरू उत्पादन भए । यीनै गीतसंगीतका मर्म र मुक्तिका सपनालाई आधारमान्दै पर्वत बाग्लुङमा क्रान्तिकारी संगठनको जग थापियो ।

त्यतिमात्र होइन, मैले टेकेको बस्तिमा उज्यालो भर्ने ध्येयबाट नै मैले त्यहीँ बसेर लिखे, सिमाना वारिपारि, तपन जस्ता उपन्यास, बुहारी, गुमा जस्ता गीतिनाटक, बनचरिको गीत, हाम्रा काकाकाकी, अचम्मको गाँठो जस्ता बाल कविताहरू, जीवनगीत जस्ता सचित्र कथाहरू र अरू थुप्रे लेखहरू तयार गरें र सार्वजनिक गरें । उल्लेख्य के छ भने, यहीँको समुदायलाई जगाउनका लागि सहयोगी बन्ला भनेर दिदी पारिजातको "जुठी दमिनी" कवितालाई सचित्र गर्ने संस्थागत प्रयास गरें । श्रवणयोग्य पनि होस भन्ना खातिर दिदीको यो लामो कवितामा संगीत भरें, पछि मेरि साथी सुसनले दिदिको स्मृतिमा "स्वर श्रद्धाञ्जली" क्यासेट तयार गर्दा दिदीका अरू थप कविताहरूमा पनि साथी सुसनकै आग्रहमा संगीत गरें ।

भाषण लामै भयो, अब बिसौनी तिर लाग्छु । आज मौसम बदलिएको छ, अरू सामान्यका त कुरै छाडौं मौका नपाएर ईमानदार जस्ता देखिएका हिजोका हाम्रा धेरै क्रान्ति नायकहरू आज खलनायक बनेका छन् । पार्टीका लागि दुईचार पैसोको जोहो गरिदिन हिजो जस्तै सांस्कृतिक संगठन र प्रतिवद्ध कर्मीहरू पनि राजनैतिक दलहरूलाई चाहिएका छैनन् , त्यो ठाऊँ दलाल पुँजीपतिहरू र बदनाम ठेकेदारले ओगटेका छन् । अबसरवादी महान नौटंकीबाज कथित जनसास्कृतिक कर्मीहरू यताउता नाचिरहेकै छन् । अबसरवाद र पुँजीवादको यस्तो खराव हावा चलेको समयमा, हजार हण्डर ब्यहोरेर पनि एक्लै सहि सतिसाल बनेर उभिनुनै उचित सम्झेकाहरू कुनाकाप्चातिर अझ पक्कै पनि छन् । जी हजुरीमा नलागेका त्यस्ता अविज्ञापित संस्कृतिकर्मीहरूको पारिजात स्मृति केन्द्रले आउँदा दिनहरूमा  अन्वेषण गरोस्, र तिन संसारको न्यायपूर्ण रूपान्तरणमा हिजो गरेका असल कर्महरू प्रति सम्मान गरेर तिन्लाई ढाडस दिन सकोस ।

अब अलिकति आजबारे, गीतसंगीतका हिसाबले आजको समय निकै चुनौतिपूर्ण बनेको देख्छु । कुनै समय गीतसंगीतबाट तात्कालिक व्यवस्था बिरूद्ध आगो ओकल्ने जन कलाकारहरूले जनताका मुक्तिका हिमायती ठानेका दल र तिनका कथित अगुवाहरूले प्रर्दशन गरेका हद दर्जाका /निम्नकोटीका ब्यबहारबाट आजित भएर "बरू महेन्द्र पथनै ठीक रहेछ" भन्ने दुखद अवस्था निर्माण भएको छ । यस्तो तितो सैद्धान्तिक ब्यबहारिक धरातलमा हिजको समय जस्तो जनताका मुक्तिका शव्दमा हारमोनीयका पर्दा र मादल ठोकेर मात्र अबका गीतहरू सुनिन्छन् कि सुनिदैनन् होला, बुझिंन्छन् कि बुझिन्नन् होला  ? आज गीतहरू श्रव्य मात्र भएनन्, बरू गीतहरू दृश्य पनि भएका छन् । अझ, ए आइ को आजको जमाना जनगीतसंगीतकर्मीका लागि चुनौति हो कि होइन होला ?   अब गीतका शव्द के कस्ता हुने होलान् ?रूपान्तरणको प्रमुख पात्र ठानिएको जेन्जी पुस्तालाई हामीले गाउने गरेका हिजोका मुक्तिका गीतसंगीतका शैलीले आकर्षित गर्छ कि गर्दैन होला ? उत्प्रेरणा भर्छ कि भर्दैन होला ? वा अरू थप केही जरुरी छ कि छैन होला ? क्रान्तिवीरहरू स्वय् बिलखमन्द झै् देखिएको यो घडीमा कस्तो क्रान्तिका लागि कसलाई र कसरी आव्हान गर्ने होला ? क्रान्तिका प्रचण्ड नेताहरूलाई साभार गरेर भन्नु पर्दा "कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरूले  घन्टीमा भोट दिने" आजको बिषम परिवेशमा  समाजवाद प्रति मार्क्सवादप्रति पुन आस्था जगाउने हाम्रा गीत/ संगीत र व्यबहारहरू कस्ता हुनुपर्ने होलान् ? यी यस्तै छरपस्ट भएका सैद्धान्तिक व्यवहारिक र शाव्दिक अलमल र चुनौतिहरू नै हाम्रा चुनौति हुन् भन्ने मलाई लाग्छ । जन- साँस्कृतिक मोर्चाहरू र यसका अग्रजहरूको यतातिरको गहन छलफल अलिक कम भएकै हो भन्ने पनि म ठान्छु ।

 

आफूलाई मुक्तिकामी ठान्ने राजनैतिक  दलहरूको चासो संस्कृतिका  यस्ता बिषयहरूमा भन्दा पनि सत्ता (पद/पैसा/प्रतिष्ठा) मा भएको यो घडीमा पारिजात स्मृति केन्द्रले नै भएपनि साहित्य कला र संस्कृतिका यी र यस्तै  विषयहरू उठान गरेर छलफल गरिदिए सान्दर्भिक र वेशै हुनेछ भन्ने पनि मलाई लाग्छ ।

अन्त्यमा दिदी पारिजात । जसले मेरा कोरा रचना हेरिदिनु भयो, लेख्न सिकाउनु भयो, लेख लेख भनेर सदैव उत्प्रेरणा गरिरहनु भयो, जसको अवसानपछि नयाँ पुस्ताले फेरि त्यस्तो उत्प्रेरणा दिनसक्ने अभिभावक पनि गुमायो, ती आदरणीय अग्रज जोसंग दार्जिलिङ, बिराटनगर, दिल्ली, हिसार, जयपुर तिर संगसंगै ठट्यौली गर्दै, आदर भर्दै हिंडने अवसर पाएँ । ती अग्रज दिदीप्रति प्रति उदात्त सम्मान ।

उहाँसंगै यतिखेर म, मेरा गुनिला गुरुहरू निर्मल लामा, रायनदाइ, निनुदाइ, साथी स्वनाम, खगेन्द्र सङ्ग्रौला, रूद्र खरेल, डा महेश, घनश्याम पौडेल, पर्वत /बागलुङका दलित समुदाय र देशभरिका उत्पीडित समुदायलाई पनि प्रणाम भन्न चहान्छु । मेरा सास्कृतिक समकालीनहरू सुसन, रश्मि, राजेन्द्र अधिकारी, हरिगोविन्द, स्नेह सायमी,  आहुति, इश्मालि, शक्तिवल्लभ, रत्तु,  लगायतका साथीहरू र पछिल्लो पुस्ताका मातृका पोखरेल, टेकबहादुर, हिसन, कुस्मिता, लगायतका धेरै साथीहरू, जो संग सास्कृतिक कर्ममा मैले सहकार्य गरे, उहाँहरू सबैप्रति पनि म आभारी छु ।

फेरि पनि अन्त्यमा, दिदी पारिजात श्रद्धा र पारिजात स्मृति केन्द्रलाई धैरै धेरै शुभकामनासहित धेरै धन्यवाद ।

(पारिजात कला सम्मान - २०८२ बाट सम्मानित वरिष्ठ जनसंगीतकर्मी एवम् साहित्यकार शरद पौडेलद्वारा सम्मान समर्पण समारोहमा प्रस्तुत मन्तव्य । शीर्षक हामीले चयन गरेका हौं ।  –दायित्वबोध)

स्रोत: मातृका पोखरेल