तिम्रो बासित पैसा छैन
मीठो खान र राम्रो लाउन
पुस्तक च्यापी डटेर हिँड्न,
बाबु, तिमीले पाउन्नौ है
मानिस हौ तर कुक्कुर नै बन,
तिम्रो बासित पैसा छैन ।
दिनभर जोती उद्यम गर्दा
मिल्दछ बाबु जे जति ज्याला,
त्यसैले हाम्रो पेट भरिन्न,
राम्रो केही गर्न सकिन्न,
तिम्रो बासित पैसा छैन ।
जाऊ कलिलो हात खियाई
दुइ चार पैसा जोडी ल्याऊ,
तिम्रो आमा बाको निम्ति
काँचैमा तिमी झरिद्यौ, झरिद्यौ,
तिम्रो बासित पैसा छैन ।
भैंसी, गाई, भैंडा चर्दै,
फाँट बगरमा घुम्दै फिर्दै,
तह नमिलेको नेपालीको
जीवन पुस्तक पढ यै बाबु,
तिम्रो बासित पैसा छैन ।
नाना थरिका ज्ञान र बुद्धि,
नौलो चेतन, ताजा, शुद्धि,
लीकन पस्ने ढोका शिक्षा
तिम्रो निम्ति, बन्द छ बाबु,
तिम्रो बासित पैसा छैन ।
२००९
प्रतिक्रिया