रातो मासु खाने कि नखाने ?
कस्ता मानिसले रातो मासु खानुहुन्छ, कसले हुँदैन ?
तपाईं हामीले बारम्बार सुन्दै आएको कुरा हो– रातो मासु स्वास्थ्यको लागि हानिकारक हुन्छ । वास्तवमा यो अर्धसत्य कुरा हो । तपाईं निरोगी र स्वस्थ हुनुहुन्छ भने रातो मासु खानै नहुने कुरा होइन । रातो मासुमा पनि धेरै पोषक तत्त्वहरु पाइन्छन् । रातो मासुमा उच्च गुणस्तरको प्रोटिन पाइन्छ । शरीर–विज्ञानबारे जानकारी राख्नेहरुलाई थाहा भएकै कुरा हो, प्रोटिनले मांसपेशीहरुको निर्माण र मर्मतमा सहयोग गर्छ ।
रातो मासुमा पाइने अर्को प्रमुख तत्त्व भनेको हेम आइरन (फलाम) हो । हेम आइरन भनेको शरीरले सजिलै अवशोषण गर्न सक्ने आइरन हो । यो आइरन मुख्य गरेर जनावरजन्य आहार–स्रोतहरु अर्थात् मासुमाछाहरु तथा जनावरजन्य प्रोटिनहरुमा पाइन्छ । यो आइरनको यस्तो रुप हो जुन हेमोग्लोबिन (रगतमा पाइने प्रोटिन) र मायोग्लोबिन (मांसपेशीमा पाइने प्रोटिन)मा आबद्ध हुन्छ । सामान्यत: ननहेमआइरनको अवशोषण दर ((२-२०%)) भन्दा हेमआइरनको अवशोषण दर (१५-३५%) बढी हुने गर्छ ।
हेम आयरन भनेको आयरनको एक यस्तो रूप हो जुन हेमोग्लोबिन (रक्तमा पाइने प्रोटिन) र मायोग्लोबिन (मांसपेशीमा पाइने प्रोटिन) मा आबद्ध हुन्छ।यस अर्थमा रातो मासुमा पाइने हेम आयरन शरीरका लागि बढी उपयोगी हुन्छ। हेमआइरनले शरीरमा हेमोग्लोबिनको उत्पादनलाई सघाउने काम गर्छ, शरीरमा अक्सिजनको आपूर्ति बढाउँछ र रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने काम गर्छ ।
त्यसैगरी रातो मासुमा स्नायु प्रणालीलाई स्वस्थ राख्ने भिटामीन बी१२, रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउने जिङ्क जस्ता भिटामीन र खनिज पदार्थहरु पनि पर्याप्त मात्रामा पाइन्छ ।
कस्तो मानिसले ढुक्क भएर रातो मासु खानु हुन्छ त ?
निश्चितै रुपमा रातो मासुका केही स्वास्थ्य लाभहरू छन् । त्यसैले तपाईंलाई कुनै शारीरिक समस्याहरु छैन वा तपाईं कुनै दीर्घ रोगले पीडित हुनुहुन्न भने ढुक्क भएर रातो मासु खाए हुन्छ । तर यसको अर्थ जथाभावी खाने भन्ने पक्कै होइन । रातो मासुबाट फाइदा लिने हो भने मध्यम मात्रामा रातो मासु खानु उचित मानिन्छ ।
शारीरिक रूपमा सक्रिय, हिँड्डुल गर्ने र नियमित रूपमा व्यायाम गर्ने व्यक्तिहरूले पनि रातो मासु खान मिल्छ । खासगरी, त्यस्ता मानिसहरुलाई सामान्य अवस्थामा भन्दा बढी प्रोटिन र अन्य पोषण तत्वहरूको आवश्यकता पर्ने गर्छ । त्यसैले सन्तुलित मात्रामा रातो मासु खाँदा फाइदा नै गर्छ ।
रक्ताल्पता भएका मानिसहरुलाई पनि रातो मासुको सेवनले फाइदा गर्छ । माथि उल्लेख गरिसकिएको छ कि रातो मासुमा शरीरले सजिलै अवशोषित गर्न सक्ने हेम आयरन हुन्छ । यस्तो अवस्थामा रक्ताल्पता भएका तर अन्यथा स्वास्थ समस्या नभएका मानिसहरूले सन्तुलित मात्रामा रातो मासु खान सक्छन्।
शारीरिक र मानसिक विकासको क्रममा रहेका बालबालिका र किशोरकिशोरीहरूको लागि पनि रातो मासुको सेवन फाइदाजनक हुने गर्छ । यसमा पाइने प्रोटिन, आइरन, जिंक, र भिटामिन बी१२ ले शरीरको विकासमा सहयोग गर्छ ।
त्यसैगरी, गर्भावस्थामा महिलाहरूलाई पनि आम अवस्थामा भन्दा ब९ आइरन र प्रोटिनको आवश्यकता हुन्छ। सन्तुलित मात्रामा रातो मासु सेवन गर्दा गर्भवती महिलाहरूले आवश्यक पोषण तत्व प्राप्त गर्न सक्छन्।
शरीरलाई सुढौल र गठिलो बनाउनका लागि नियमित रुपमा व्यायाम गर्ने मानिसहरुलाई पनि सामान्य अवस्थामा भन्दा बढी प्रोटिनको आवश्यकता पर्छ । यसका लागि रातो मासु एक राम्रो स्रोत हुन सक्छ। अन्य सन्तुलित आहारसँगै उचित मात्रामा रातो मासुको सेवन गर्ने हो भने अवश्य पनि फाइदा नै गर्छ ।
रातो मासुका केही वेफाइदाहरु !
सामान्यत: मोटा मानिसहरुलाई रातो मासु नखान सल्लाह दिइन्छ । विशेष गरेर रातो मासुले शरीरमा कोलेस्ट्रोल बढाउने भएकोले यस्तो सल्लाह दिइने गरिन्छ । रातो मासुमा उच्च मात्रामा सन्तृप्त बोसो र कोलेस्ट्रोल पाइन्छ, जसले हृदय रोग, उच्च रक्तचाप, र स्ट्रोकको सम्भावना बढाउँछ।
केही अध्ययनहरूले रातो मासुको अत्यधिक सेवनले कोलोन क्यान्सर, रेक्टल क्यान्सर, र पेटको क्यान्सरको जोखिम बढाउँछ भन्ने देखाएको छ। प्रशोधित मासु (जस्तै ससेज, ह्याम, बेकन) सेवन गर्दा पनि क्यान्सरको जोखिम बढ्ने सम्भावना हुन्छ भन्ने देखिएको छ ।
अहिले बजारमा सजिलै पाइने र पकाइखानका लागि पनि अलि छिटोछरितो हुने प्रशोधित रातो मासुमा नुन र अन्य रासायनिक पदार्थहरू बढी हुन्छन् । त्यस्ता मासुको अत्यधिक सेवनले उच्च रक्तचाप, हृदय रोग, र क्यान्सरको जोखिम बढाउँछ।
रातो मासुमा उच्च क्यालोरी हुन्छ । यसको अर्थ के हो भने रातो मासुको जथाभावी सेवले तौल बढाउने काममा भूमिका खेल्न सक्छ । सबैलाई थाहा भएकै कुरा हो, अत्यधिक तौल बढ्नु मधुमेह, उच्च रक्तचाप, र अन्य मेटाबोलिक रोगहरूको कारण बन्न सक्छ।
स्वास्थ्यकर प्रोटिन विकल्पको अभाव: रातो मासु खाने व्यक्तिहरूले प्रायः स्वास्थ्यकर प्रोटिन स्रोतहरू (जस्तै माछा, कुखुरा, दाल, वा सागसब्जी) कम मात्रामा सेवन गर्छन्, जसले पोषणको सन्तुलन बिग्रन सक्छ।
कस्तो स्वास्थ्य समस्या भएको मानिसले रातो मासु खानु हुन्न ?
शुरुमै उल्लेख गरिसकिएको छ कि स्वस्थ शरीर भएका मानिसहरुले रातो मासु खाँदा फरक पर्दैन । तर केही स्वास्थ्य समस्याहरु भएका मानिसहरुको हकमा भने रातो मासुले फाइदाको सट्टा वेफाइदा पनि गर्न सक्छ ।
रातो मासुमा सन्तृप्त बोसो र कोलेस्ट्रोल धेरै हुने भएकोले हृदय रोगका समस्या भएकाहरुले सकेसम्म रातो मासु नखानु नै राम्रो हुन्छ । हृदय रोग भएका व्यक्तिहरूले खानै परेमा रातो मासुको सेवन सीमित गर्नुपर्छ।
उच्च रक्तचापको समस्यामा पनि रातोमासुले फाइदा गर्दैन । रातो मासु, विशेष गरी प्रशोधित मासुमा नुनको उच्च मात्रामा हुन्छ । फलत: त्यसको सेवन बढी भयो भने रक्तचाप बढाउँछ। त्यसैले उच्च रक्तचाप भएका व्यक्तिहरूले यस्तो मासुबाट टाढा रहनु राम्रो हुन्छ।
केही अध्ययनहरुले पेटको क्यान्सर, भएका व्यक्तिहरूलाई रातो मासुले फाइदा नगर्ने बरु उल्टै क्यान्सरलाई बढावा दिने देखाएको छ । यस अर्थमा क्यान्सरका जोखिम भएका व्यक्तिहरुले रातो मासुको सेवन नगर्नु नै सुरक्षित उपाय हुन सक्छ ।
रातो मासुमा बोसो र क्यालोरी उच्च हुनाले मधुमेह भएका व्यक्तिहरूले यसको सेवन नगर्नु राम्रो हुन्छ । प्रशोधित रातो मासुले इन्सुलिन प्रतिरोधमा असर पार्न सक्छ । त्यस्तो अवस्थामा जसले रक्तचिनी नियन्त्रणमा कठिनाइ उत्पन्न गर्न सक्छ।
रातो मासुको एउटा खराबी भनेको यसमा उच्च मात्रामा प्युरीन (purine) हुन्छ । शरीरमा डीएनए (DNA) र आरएनए (RNA) को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ प्युरीन पच्ने क्रममा युरिक एसिड पैदा हुने भएकोले रातो मासु बढी खाँदा शरीरमा युरिक एसिडको स्तरलाई बढाइदिन सक्छ । त्यसैले युरिक एसिडको समस्या हुनेहरुलाई रातो मासुको सेवनले फाइदा गर्दैन किनभने यसले शरीरमा युरिक एसिडको स्तरलाई बढाइदिएर बाथको समस्यालाई तीब्र पारिदिन सक्छ ।
मृगौलामा समस्याबाट पीडित व्यक्तिहरूले पनि सकेसम्म रातो मासु खानु हुँदैन र खान मन लागे पनि अति कम मात्रामा खाने गर्नुपर्छ । यसो गर्नुको कारण चाहिँ रातो मासुमा पाइने प्रोटिन र फास्फोरसले मृगौलामा बढी तनाव उत्पन्न गर्न सक्छ।
रातो मासुमा पाइने सन्तृप्त बोसोले कोलेस्ट्रोल स्तर बढाउने र जसले हृदय रोगको जोखिम बढाउन सक्छ । त्यसैले उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरूलाई रातो मासुको सेवन कम गर्न सल्लाह दिइन्छ ।
रातो मासुको उच्च क्यालोरी र बोसोजन्य सामग्रीले शरीरको तौल बढाउन सक्छ । त्यसैले सामान्यभन्दा बढी तौल भएका व्यक्तिहरुले पनि मोटोपना घटाउन रातो मासुको सेवन सीमित गर्नु जरुरी हुन्छ ।
यी अवस्थाहरू भएका व्यक्तिहरूले रातो मासुको सेवन गर्नै नहुने भन्ने चाहिँ कदापि होइन । सन्तुलित मात्रामा तथा चिकित्सकको सल्लाहमा रातो मासुको सेवन गर्दा क्षति गर्दैन। स्वस्थ होस् वा दीर्घरोगी, सबैले सन्तुलित खाना खानु जरुरी हुन्छ । त्यसका लागि रातो मासुको स्वास्थ्यकर विकल्पहरू जस्तै माछा, सागसब्जी, गेडागुडी, र कम बोसोयुक्त प्रोटिन स्रोतहरूमा ध्यान दिनु राम्रो हुन्छ।
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
सन्तान सपार्ने कोसिसः सन्तुलन कता बिग्रेको छ त ?
प्रतिक्रिया