तीन लघुकथा

कुकुर

अन्तिम समयमा पाँच पाण्डव हिमालको यात्रामा निस्किएका थिए । उनीहरुलाई एउटा कुकुरले पछ्याइरहेको थियो । अगाडि पाँच पाण्डव, उनीहरुका पछाडि द्रौपदी र उनको पछाडि त्यही कुकुर थियो ।

पाण्डवहरुले त्यो कुकुरलाई सोधे– ‘तिमी कसको कुकुर हौ र हाम्रो पछाडि किन आइरहेका छौ ?’

कुकुरले भन्यो– ‘म कसैको कुकुर होइन । म एक स्वतन्त्र कुकुर हुँ । र, म हिमालको यात्रामा निस्किएको हुँ । खास कुरा के हो भने एउटा महाभारत हामी कुकुरहरुका बीचमा पनि भएको थियो । त्यो महाभारत युद्धमा सबै कुकुरहरु मरे । म एउटामात्र बाँच्न सफल भएँ । त्यही कारणले म हिमालको यात्रामा आएको हुँ ।’

‘तिम्रोसाथ तिम्री कुकुरनी आइन ?’ द्रौपदीले सोधिन् ।

‘त्यही कुकुरनीकै कारण त त्यत्रो महाभारत भएको थियो ।’ कुकुरले निष्फिक्री ढंगले जवाफ दियो ।

अन्धविश्वास

एउटा बिरालो सडक पार गर्न लागिरहेको थियो । बीच सडकसम्म पुगेर ऊ यथास्थानमै फर्कियो ।

‘तिमी किन फर्कियौ ?’ अर्को बिरालोले सोध्यो ।

‘मान्छेले बाटो काटिदियो ।’ पहिलो बिरालोले बतायो ।

चौथो बाँदर

एकपटक केही पत्रकार र फोटोग्राफर महात्मा गान्धीजीको आश्रममा गएका थिए । त्यहाँ उनीहरुले देखे– गान्धीजीका तीनवटा बाँदर रहेछन् । एउटाले आँखा बन्द गरेको थियो, दोस्रोले कान बन्द गरेको थियो र तेस्रोले मुख बन्द गरेको थियो । पहिलो असत्य नदेख्ने, दोस्रो झूठो नसुन्ने र तेस्रो झूठो नबोल्ने थिए । पत्रकारहरुलाई खुराक मिल्यो, फोटोग्राफरले तस्वीर खिच्यो र उनीहरु आश्रमबाट हिँडे ।

तिनीहरु गएपछि गान्धीजीको चौथो बाँदर आश्रममा आयो । ऊ नजिकैको गाउँमा भाषण गर्न गएको थियो । ऊ झूठो देख्थ्यो, झूठो सुन्थ्यो र झूठो बोल्थ्यो । उसले जब थाहा पायो कि, आश्रममा पत्रकारहरु आएका थिए, फोटोग्राफर आएको थियो । त्यसपछि ऊ धेरै दुःखित भयो र गान्धीजीकहाँ गयो ।

‘सुन्नुस् गान्धीजी, यहाँ पत्रकार र फोटोग्राफर आएका रहेछन् । उनीहरुले थुप्रै तस्वीर लिएर गएछन् । तपाईंले मलाई खबरसम्म गर्नुभएन । मेरो निम्ति तपाईंले ठूलो अन्याय गर्नुभो, बापू ।’ चौथो बाँदरले आपत्ति जनायो ।

 गान्धीजीले चर्खा चलाउँदै बताए– ‘देशलाई स्वतन्त्र हुन देऊ छोरा । त्यसपछि तिम्रो खबर छापिन्छ, तिम्रो फोटो छापिन्छ । यी तीन बाँदरको जीवनमा त यस्तो अवसर केवल एकपटक मात्रै आयो । तिम्रो जीवनमा त यस्तो अवसर दिनहुँ आउँछ ।’

अनुः विवश वस्ती (मूल्याङ्कन मासिकमा प्रकाशित)

शरद जोशी

हिन्दी साहित्यका प्रशिद्ध हास्यव्यंग्यकार र कथाकार