जनगायक दुवाल युद्धप्रसाद मिश्र स्मृति पुरस्कारद्वारा सम्मानित

युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० बाट वरिष्ठ जनगायक एवम् संगीतकार रामकृष्ण दुवाल सम्मानित भएका छन् ।

गणतन्त्रवादी कवि युद्ध प्रसाद मिश्रको ३४ औं स्मृति दिवसको अवसरमा फागुन ६ गते आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दुवाललाई सो सम्मान प्रदान गरिएको हो । त्यस अवसरमा युद्धप्रसाद प्रतिष्ठानका तर्फबाट उनलाई सम्मानस्वरुप रु. ३१ हजारको नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

राणा शासनदेखि पञ्चायती व्यवस्थाको अन्त्यसम्म स्वछन्दतावादी धारा र प्रगतिवादी धारामा कलम चलाएका मिश्रको नाममा स्थापित सो पुरस्कार प्रत्येक वर्ष विशिष्ट साहित्यकार, कलाकार एवं साहित्यिक, सांस्कृतिक संघ संस्थाहरूमध्ये एकलाई प्रदान गरिँदै आएको छ।

 रामकृष्ण दुवाल सो पुरस्कार प्राप्त गर्ने ३० औँ प्रतिभा हुन् । अघिल्लो वर्ष उक्त पुरस्कार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिएको थियो।

हाल सम्मानित दुवाल गीतकार, सङ्गीतकार, गायक, नेवारी लोक सांस्कृतिक संगीत विज्ञ, नेवारी लोकबाजा विज्ञ एवं अनुसन्धानकर्ताका रूपमा परिचित छन् र उनले विभिन्न भाषाभाषीका गीतमा सङ्गीत एवं स्वर दिएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार कान्छाकुमार (केके) कर्मचार्य, कवि एवं गीतकार डा. विजय सुब्बा, कवि बासुदेव अधिकारी, मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फडीन्द्रराज निरौला, वरिष्ठ उपाध्यक्ष प्रा. डा. लेखप्रसाद निरौला र महासचिव नन्दु उप्रेतीले कवि युद्धप्रसाद मिश्र र पुरस्कृत प्रतिभा रामकृष्ण दुवालका व्यक्तित्व र सिर्जनाका विविध आयामका बारेमा चर्चा गरेका थिए । सोही अवसरमा बालकवि विभूति अधिकारीले कवि मिश्रद्वारा रचित कविता वाचन गरेका थिए । डा. बालचन्द्र मिश्रले युद्धप्रसाद मिश्र र रामकृष्ण दुवालसम्बन्धी रचना वाचन गरेका थिए भने पुरस्कृत प्रतिभा दुवाल र उनका सुपुत्र आशिष् दुवालले युद्धप्रसाद मिश्रद्वारा रचित गीतलगायतका केही गीतहरू प्रस्तुत गरेका थिए ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।